२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जाबी

गोरूको घाँटीमा बाँधिएको घण्टी रातैभरि बजिरह्यो । रामविलासलाई निद्राले लठ्याउादै जाँदा उसको आाखामा छटपटाउँदै गरेको जिलेबियाको जाबीमा थुनिएको अनुहार आउँथ्यो ।
पितरपक्षको दिन पुरोहितले उसको उत्री च्यातिदियो ।त्यसदिनदेखि ऊ बुवाको काजकिरियाबाट मात्रै मुक्त भएन सुरुज महतोबाट पनि उन्मुक्ति पायो ।
श्याम साह

राति डरलाग्दो सपना देख्यो, रामविलास सदाले !

जाबी

पहिले त उसले सपनामा गोरु देख्यो । गिरहत सुरुज महतोको दुरामा दौनी (दाईं) गरिरहेको गोरु । खेतमा जोतीरहेको गोरु । त्यसको केही क्षणपछि गोरुको अनुहार मात्र आयो– जाबीले थुनिएको । बेतले बनेको जालीदार जाबी । जोतिरहेको वा दौनी गरिरहको समयमा गोरुले केही नखाओस् वा काममा बाधा नआओस् भनेर मुखमा लगाइएको हुन्थ्यो– जाबी ।

केही क्षणपछि गोरुको अनुहारको ठाउँमा बुवा जिलेबियाको अनुहार देखिन थाल्यो ।

जाबीभित्र जिलेबियाको अनुहारमा निकै सकस थियो । सास फेर्न गाह्रो हुँदै थियो । केही बोल्न खोज्दै थियो । सायद ‘रामविलास’ भनेर उसैलाई बोलाउन खोज्दै थियो । तर, जाबीले उसको मुख थुनिएको थियो । त्यहाँबाट कुनै आवाज नै आएन । आँखा भने रातो हुँदै गयो । जिलेबियाको मुखबाट र्‍याल र नाकबाट सिँगान बग्न थाल्यो । जाबीभित्र ऊ निस्सासिएको थियो । जोडसँग सास लिइरहेको थियो । लगत्तै ऊ ढल्यो ।

‘बाउ हौ ?...’

राति चिच्याउँदै उठ्यो रामविलास ।

उसको चिच्याईले गोहाली (गोठ) भित्र थोरै हलचल भयो । जम्मा दुईवटा गोरु, एउटा भैँसी, एउटा पाडी र केही बाख्रा बाख्रीहरू थिए गोहालीमा । गोहालीभित्रै छानोमा टाउको नठोक्किने गरी काठका फल्याक राखेर मचान बनाइएको थियो । त्यहीँ थियो रामविलासको ओछ्यान । ओछ्यानको नाममा खासै केही थिएन । ओछ्याउन सुरुज महतोले दिएको जुटको बोरा थियो । ओढ्न उसकी आमाले च्यात्तिएको साडीहरूको खेन्द्रा बनाएर दिएकी थिइन् । वस्तुभाउलाई लामखुट्टेबाट जोगाउन बालेको घुर निभिसकेको थियो । लामखुट्टेले टोकेर होला, गोरुहरू चल्दा घाँटीमा बाँधिएको घण्टी हल्लिएर आवाज आइरहेको थियो ।

‘रामविलास ?... रे रामविलास, सब ठीक त हौ ?’

सुरुज महतो ओछ्यानबाट करायो । गर्मीमा ऊ घरभित्र सुत्दैनथ्यो । आँगनमा चौकी राखेको थियो, जहाँ झुल टाँगेर ऊ र उसको छोरा सुत्ने गर्थ्यो । राति पानी पर्‍यो भने त्यो ओछ्यान असोरामा (बरन्डा) सर्थ्यो । गोहालीको ढोका बाहिर भए पनि अरू भाग आँगनसँगै टाँसिएको थियो । गोहालीभित्रको समान्य आवाज आँगनसम्म सुनिन्थ्यो ।

‘सब ठीक है मालिक,’ रामविलासले उत्तर फर्कायो । सुरुज महतो कोल्टो फेरेर मस्तसँग निदायो । रामविलासको आँखाबाट भने निद्रा गायब भयो । जाबीले थुनिएको र सास फेर्न सकस भएको बुवाको अनुहार उसको आँखाबाट हटेन ।

दुई वर्षअगाडि चरवाहका लागि रामविलास शीतलहर चलिहेको कुनै दिन सुरुज महतोको घर आइपुगेको थियो । ऊसँग साथमा थियो शीतलहरबाट बच्न आमाले बाँधिदिएको धोती गाँती र सुत्दा ओढ्न पुरानो सारीबाट बनेको खेन्द्रा । त्यसबेला रामविलास जम्मा नौ वर्षको थियो । सुरुज महतोको घरमा रामविलास बस्न थालेको भैँसी चराउन नै हो । गोरु र बाख्रा खासै चराउनु पर्दैनथ्यो । गोरुको दिन यसै पनि जोतिएरै बित्थ्यो । बिहान–बेलुका नाइधमा कुट्टी (घाँस, पराललाई वस्तुभाउले खान मिल्ने गरी काटिएको) काटेर सानी लगाइदिएपछि पुग्थ्यो । तर, भैँसीलाई दिनैभर चराउनुपर्थ्यो । अर्काको खेतभित्र नजाओस् भनेर प्रायःजसो चरवाहहरू भैँसीमाथि नै बस्ने गर्थे । सुरुज महतोको भैँसी गाभिन (गर्भवती) थियो । ऊ आएको पहिलो दिन नै सुरुज महतोले भैँसीलाई नकुट्न र भैँसीमाथि नचढ्न चेताएको थियो ।

रामविलास सानै थियो । छोरालाई एकैपटक गाभिन भैँसीसँग पठाउँदा जिलेबिया डराएको थियो । नयाँ मान्छेले लिएर जाँदा भैँसी बिच्केर भाग्यो वा केही गर्‍यो भने के गर्ने भन्ने पीर थियो उसलाई । तर, त्यस्तो केही भएन । रामविलास बिस्तारै भैँसीनजिक पुगेको थियो । भैँसीले एक नजर उसलाई हेरेको थियो । त्यसपछि जोडले सास फेरेको थियो । रामविलासले बिस्तारै भैँसीको निधारमा हात राख्यो । र, बिस्तारै सुमसुम्यायो । भैँसीले नयाँ मान्छेले समात्दाजस्तो बिच्केको प्रतिक्रिया दिएन । त्यसको विपरीत टाउको झुकायो । जिलेबिया ढुक्क भएको थियो । रामविलासले बिस्तारै भैँसीको सिङमा हात हाल्यो । भैँसीको नाथमा समात्यो । र, डोर्‍याउँदै बाहिर निस्क्यो । छोराले भैँसी लिएर गएको निकै परसम्म जिलेबियाले पछ्याइरहेको थियो ।

सुरुज महतोको घर खासै नौलो थिएन रामविलासका निम्ति । जिलेबिया सुरुज महतोको घरमा पहिलेदेखि नै हरवाही गर्थ्यो । जिलेबियाको अनुसार उसको बुवा अर्थात् रामविलासको हजुरबुवा पनि सुरुज महतोको बुवाको हरवाह थियो । जिलेबिया रामविलासकै उमेरको हुँदा लामो समय सुरुज महतोको घरमा हरवाहको काम गरेको थियो । जिलेबिया सुरुज महतोभन्दा अलि बूढो देखिए पनि दुवैको उमेर उस्तै हो । जसरी अहिले रामविलास र सुरुज महतोको छोरा अमरेन्दर महतो उस्तै छन् । जिलेबियासँग रामविलास उसले थाहा पाउने भएदेखि आउन थालेको हो । जिलेबिया हरवाहीका लागि बिहानै घरबाट निस्कँदा रामविलासलाई बोकेर निस्कन्थ्यो । अमरेन्दरकी आमा अर्थात् सुरुज महतोकी स्वास्नी, जसको नाम त उसलाई थाहा थिएन, धेरैले उसलाई ‘औरहीवाली’ भन्थे, ऊ जलखैका लागि मरुवा (कोदो) को रोटी र पिँधेको नुन–खुर्सानी लिएर आउँथी । धान काटेर, बोकेर लैजाँदा रामविलास सँगै जान्थ्यो । धान ओसार्ने काम सकेपछि दौनी सुरुज महतोकै दुरामा गरिन्थ्यो । दुराको बिच्चमा बाँसको खाँबोमा गोरुहरू नारिन्थ्यो । दुराभरि परालसहितको धान ओछ्याएर दिनभरि गोरुहरूलाई त्यसमाथि हिँडाइन्थ्यो । गोरुलाई लगातार हिँडाउन एक जनाले पछिपछि चक्कर लगाइरहनुपर्थ्यो ।

गोरुहरू पटकपटक धानमा मुख जोत्न खोज्थे । तर, मुखमा लगाइएको जाबीका कारण धानको कुनै पनि अंश मुखमा आउँदैनथ्यो । त्यसले रामविलासको ध्यान तानेको थियो । ‘बाउ हौ ? बैलके मुहमे कथी लगेने छै ?’ (बुवा ? गोरुको मुखमा के लगाएको हो ?)

‘जाबी ।’

‘कैला लगेने छै ?’ (किन लगाएको छ ?)

‘दुगो कारण है । पहिल कारण बैल धान नैखाय पावतै । दोसर यदि धान खाय लगतै त दौनी केना हेतै । दौनी नै रुके, तै खातिर जाबी लगाब परै छै ।’ (दुईवटा कारण छ । पहिलो कारण त गोरुले धान नखाओस् भन्ने हो । दोस्रो यदि गोरु धान खान थाल्यो भने दाईं कसरी हुन्छ ? दाईं नरुकोस्, त्यसैले जाबी लगाएको हो ।) दौनीको बेला धान खान संघर्षरत गोरु र त्यसको मुखमा लगाएको जाबीको दृश्य रामविलासको दिमागमा पछिसम्मै आइरहेको थियो ।

सुरुज महतोको गोठमा जाबी लगाइने चौपाया गोरु मात्र थिए । भैँसी तथा बाख्रा बाख्रीहरूलाई जाबी लगाइन्थेन । किनकि यिनीहरूको काम नै चर्ने हुन्थ्यो । भैँसीको उपयोग दूधका लागि हुन्थ्यो । बाख्रा–बाख्री बजारमा बेचिन्थ्यो । उनीहरूलाई दिनभरि चर्न छुट हुन्थ्यो । त्यही छुट गोरुलाई थिएन । बिहान हलो जोतेर आएपछि गोरुको मुखबाट जाबी झिकिन्थ्यो । रामविलासले परालको कुट्टी काटेर तयार पारेको हुन्थ्यो । त्यसलाई नाइधमा थोरै पिठो वा धानको भुसा पानीमा मिसाएर खान्की तयार पारेपछि गोरुलाई त्यहाँ लगेर बाँधिन्थ्यो । गोरुहरू पूरै नाइधको खान्की नसकुन्जेलसम्म टाउको उठाउँदैनथे ।

रामविलासलाई बुवा जिलेबिया र सुरुज महतोको गोरुको जिन्दगी उस्तै लाग्न थालेको थियो । जिलेबिया दिनभरि गोरुजस्तै जोतिन्थ्यो । मुखमा जाबी नभए पनि दिनको एक समय ‘औरही वाली’ ले बनाएर दिएको जलखै मरुवा (कोदो) को रोटी पिँधेको नुन खुर्सानीसँग खान्थ्यो । साँझ सुरुज महतोले दिएको चामल लिएर जान्थ्यो । यो एक प्रकारको नियमितताजस्तै भएको थियो । जिलेबियाले सुरुज महतोसँग कुनै माग वा गुनासो गरेको रामविलासले कहिल्यै थाहा पाएन । बरु सुरुज महतोले थुप्रै पटक बिनासित्ती गाली गरेको उसले सुनेको थियो ।

...

सपना देखेको बिहान जिलेबिया काम गर्न आइपुगेन । ऊ आउने समयमा रामविलासकी बहिनी फुलन आइपुगी । उसैले रामविलासलाई भनी, ‘बाबुके बोखार लगल है । मालिकके कैह दह, आइ नै आव सकतै ।’ (बुवालाई ज्वरो आएको छ । मालिकलाई भनिदिनू, आज आउन सक्नुहुन्न ।)

यति भनेर फुलन गई । रामविलासले सुरुज महतोलाई भन्यो ।

रोपाइँ सुरु हुने बेला भएको थियो । समयमा जोत्न सकिएन भने रोपहारहरू पाउन गाह्रो हुन्थ्यो । यस्तो बेला हरवाह बिरामी पर्नु उसलाई सह्य थिएन । मानौ जिलेबिया बिरामी पर्नु ठूलै अपराध थियो ।

‘तोहर बाप कते कामचोर हौ से हमरा निकसे पता हौ । जल्दी से जो आ बापके बोलाके ला । नै त हमरासे खराब आदमी दुनु बापबेटाके कोइ नै भेटतौ ।’ (तेरो बुवा कति कामचोर हो भन्ने कुरा मलाई राम्ररी थाहा छ । छिटो गएर बाउलाई बोलाएर आइज । नत्र दुवै बाउछोराले म जतिको खराब मान्छे कहिल्यै भेट्नेछैनौ ।)

रामविलास डरायो । जिलेबियालाई कामचोर भनेको उसलाई फिटिक्कै मन परेको थिएन । दिनरात दुईवटा मरुवाको रोटीको भरमा गोरुजसरी जोतिएर काम गर्ने उसको बुवा कामचोर कसरी हुन सक्छ ? चित्त नबुझे पनि सुरुज महतोको कुराको प्रतिवाद गर्ने उसको हिम्मत थिएन ।

रामविलास दौडँदै घर गयो । जिलेबिया ओछ्यानमै थियो । आमा सोनावती चुल्होमा आगो सल्काउन खोज्दै थिई । घरभित्र धूवाँ व्याप्त थियो । त्यसैको पिरोले हो वा जिलेबियाको पिरले उसको आँखाबाट आँसु आइरहेको थियो । ऊ आएको फुलनले देखी । दौड्दै जिलेबिया नजिक पुगी ।

‘भैया आयल ह ।’ (दाइ आउनुभएको छ ।)

छोरा किन आयो ? जिलेबियालाई अनुमान गर्न गाह्रो भएन । ऊ उठेर बस्यो ।

‘मालिक खिसियाल ह । केनाहियोक आबैला कहलक ।’ (मालिक रिसाएको छ । जसरी पनि आउन भनेको छ ।) ‘गिरहत है कि कसाई ? एहन बोखारमे केनाके खेत जोत सकतै ?’ (गिरहत हो कि कसाई ? यस्तो ज्वरो लागेको बेला कसरी खेत जोत्न सक्छ ?)

सोनावती धूवाँ आउँदै गरेको चुल्हो छाडेर बाहिर निस्किई । कसाई भने पनि अन्नदाता हो । अन्नदाताको आदेश नमान्ने छुट जिलेबियालाई थिएन । ऊ नजाँदा, यही विषयले पुस्तौंदेखि पाइरहेको गिरहतको आश्रय गुमाउन ऊ चाहँदैनथ्यो ।

जिलेबिया रामविलाससँगै गयो ।

...

जिलेबिया सुरुज महतोको घर पुग्यो । उसले प्रणाम गर्दा सुरुज महतोले अनदेखा गर्‍यो । उसले चुपचाप गोरु फुकायो । र, हलो काँधमा राखेर खेततिर लाग्यो । ऊ हिँडेको केही क्षणपछि सुरुज महतो उसको पछि लाग्यो । केही दिनदेखि पानी लगातार परेकाले खेतमा कदबा (हिलो) धेरै नै थियो । त्यस दिन घाम पनि चर्को थियो । ज्वरोले थिलिएको थियो उसको शरीर । केहीबेर हलो समातेर गोरुको पछिपछि हिँडिरह्यो । बिस्तारै उसका आँखा धमिला हुँदै गए । घाँटी सुक्न थाल्यो । ऊ हिलोमै लड्यो । उसको हातको हलो छुट्यो । ऊ लडेपछि फुक्का भएको गोरु हलो लिएर दौडन थाल्यो । हलोको फालीले लागेर एउटा गोरुको खुट्टा काटियो ।

‘हे देखि, जिलेबिया गिर पर्लै ।’ (हेर ! जिलेबिया लड्यो ।)

वरिपरि खेतमा काम गर्नेहरू अरू पनि थिए । जोतिसकेका खेतमा रोपाइँको काम पनि हुँदै थियो । एउटा खेतमा रोपाइँ गर्न सोनावती पनि आएकी थिई । सबै दौडँदै खेततिर आए । केहीले जिलेबियालाई उठाए । केहीले हलोसँगै दगुर्दै गरेको घाइते गोरुलाई समाते । बेहोस जिलेबियालाई होसमा ल्याउन अुनहारमा पानी छम्किन थाले । सोनावती जोडसँग रुन थाली । आफ्नो खेतमा भीड लागेको देखेर सुरुज महतो आइपुग्यो । उसलाई देखेर सोनावती चिच्याउन थाली, ‘सब यी गिरहतके कारण भेलै । बोखारसे उठ नै सकैछेलै तेक्रा बोलाक खेत जोताब लगलै ।’ (सबै यो गिरहतले गर्दा भयो । ज्वरोले उठ्न सकेको थिएन । त्यसलाई बोलाएर खेत जोताउन लगायो ।)

सुरुज महतोको ध्यान जिलेबियामा भन्दा गोरुमा पुग्यो । जिलेबिया नभए पनि खेत ऊ आफैँ जोत्न सक्थ्यो । तर, बिनागोरु ऊ कसरी जोतोस् ? गोरु त उसको आफ्नो सम्पत्ति हो, जसलाई किन्न उसले पैसा खर्च गरेको थियो । रगतपच्छे गोरु देखेपछि उसले

आफ्नो दुवै टाउको समात्यो ।

‘बाप रे बाप । ई बैलके जे नोक्सानी भेलै । यी के तिरतै ?’ (यो गोरुको जुन क्षति भयो, त्यो कसले तिर्छ ?)

सुरुज महतोको चिन्ता देखेर त्यहाँ उभिएका सबैले दिक्क माने ।

‘अहाँ आदमी छी कि कसाई ? आदमीके जानसे किमत आरो किछु के है ?’ (तपाईं मान्छे हो कि कसाई ? मान्छेको ज्यानभन्दा नि किमत अरू केहीको हुन्छ ?)

त्यहाँ आएका अर्को गिरहतले हप्काएपछि सुरुज महतो चुप लाग्यो । बिस्तारै जिलेबियालाई होस आयो । तर, ज्वरो झन् बढेको थियो । ‘जल्दी से एकरा असपताल लजो ।’ (यसलाई छिटो अस्पताल लैजाऊ ।)

सुरुज महतोलाई हप्काउने गिरहतले भनेपछि केही मानिसहरू जिलेबियालाई बोकेर अस्पताल लागे ।

...

गोरुको हालत दिनदिनै खराब हुन थाल्यो । त्यसो त सुरुज महतोले गोलबजारबाट भेटनेरी डाक्टर कासिन्दर कर्णसँग देखाएको थियो । डाक्टरले आएर घाउमा ब्यान्डेज गरिदिएको थियो । हिलो, गोबर र पानीमा लगातार भिजिरहने भएकाले घाउ कहिल्यै सुकेन । र, बढ्दै गयो । गोरुको घाउ निको नहुनुको रिस सुरुज महतोले रामविलासमाथि पोख्न थालेको थियो । खेत जोत्न उसले एउटा गोरु सापटमा ल्याएको थियो । आफैंले जोत्नुपरेपछि यसै रिसले भुनभुनिएको थियो ।

त्यस रात गोरु निकै छटपटायो । रातभरि गोरुको घाँटीमा बाँधिएको घण्टी बजिरह्यो । रातभरि पानी परेकाले सुरुज महतो थाहा पाए पनि आएन । नजिकै सुत्ने रामविलासले रात निद्रा र अनिद्राको बीचमा बितायो । निद्राले लठ्याउँदै जाँदा उसको आँखामा छटपटाउँदै गरेको जिलेबियाको जाबीमा थुनिएको अनुहार आउँथ्यो । आँखा खोल्दा जोडसँग सास फेर्दै गरेको गोरु र उसको घाँटीमा बज्दै गरेको घण्टीको आवाज निरन्तर आइरहेको हुन्थ्यो ।

त्यही बिहान गोरु मर्‍यो ।

बिस्तारै गोरुको घाँटीको घण्टी बज्न छोडेको थियो । रातभरि नसुतेर होला, आवाज शान्त भएसँगै रामविलास निदाएको थियो । र, बिहानको निद्रामा उसले अगाडिजस्तो सपना पनि देखेन । बिहान पानी पर्न रोकिए पनि मौसममा चिसोपना व्याप्त थियो । आमाले दिएको खेन्द्रा ओढेर ऊ मस्त निदाएको थियो ।

यता रातभर सुते पनि सुरुज महतो बिहानै उठ्यो । राति गोरुको घाँटीको घण्टी–आवाज सुने पनि नसुनेझैं गरी सुतेको थियो । यसको पहिलो कारण त दिनभरि हलो जोतेकाले लागेको थकाइ थियो । अर्को पानी परिरहेको थियो । राति बेला न कुबेला रुझेर आफूलाई बिरामी पार्न चाहँदैनथ्यो । यद्यपि गोरुको चिन्ता भने उसलाई भएको थियो ।

ऊ गोठभित्र पस्दा उभिइरहेका वस्तुभाउ चलमलाए । बसेको भैँसी उठ्यो । उघ्राउँदै गरेको एउटा गोरुले टाउको उठायो । बाख्राबाख्रीहरू चलमलाए । तर, एउटा गोरु खुट्टा फिँजाएर सुतिरह्यो । सुरुज महतो हतारिँदै गोरुको नजिक गयो । गोरुको मुखबाट जिब्रो बटारिएर बाहिर निस्केको थियो । उसलाई बुझ्न गाह्रो भएन– गोरु मरिसकेको थियो । यी सबै घटना भइरहँदा रामविलास सुतिरहेको थियो । सुरुज महतोलाई योभन्दा असह्य कुरा अरू केही भएन । ऊ मचानमाथि चढ्यो । रामविलासले ओढेको खेन्द्रा तानेर फाल्यो ।

‘उठ माधर...’

सुरुज महतोले मचानबाट भुइँमा फाल्यो खेन्द्रा । भुइँभरि गोबर थियो । यसै पनि रामविलासको आँखा बिहान मात्रै लागेको थियो । सजिलो गरी खुल्न मानेन । आँखा मिच्दै बिस्तारै खोल्यो । अगाडि खाउँला जसरी सुरुज महतोले उसलाई हेरिरहेको थियो । उसले पनि सुरुज महतोको आँखामा पुलुक्क हेर्‍यो ।

‘बापके ... देखैछी ? बैल मैर गेलै हमर । तु आब कथी करबही ? निकल यतसे ?’ (गोरु मरिसक्यो मेरो । तँ अब के गर्छस् ? निस्की यहाँबाट ।)

त्यसपछि रामविलासले थाहा पायो, रातभरि छटपटाएको गोरु बिहान किन शान्त भयो ? उसले गोरुतिर हेर्‍यो । चारवटै खुट्टा फट्याएर गोरु लडिरहेको थियो । ऊ मचानबाट ओर्लन थाल्यो । सुरुज महतोको रिस शान्त भएको थिएन । उसले रामविलासलाई धक्का दियो । रामविलास गोबरमा पछारियो । त्यस बेलासम्म औरहीवाली आइपुगेकी थिई । उसले रामविलासलाई उठाई ।

‘एकरा प कथिके खिस झारैछियै ? यी बेचारा कथी केल ग ?’ (ऊ माथि किन रिस पोख्नुहुन्छ ? यो बिचराले के गर्‍यो ?)

रामविलासले सोच्यो, साँच्चै उसले गरेको के थियो ? उसले के नै गर्न सक्थ्यो र यो गोरु बाँच्थ्यो ? आफूले सकेको त सुरुज महतोले आफैं पनि गरेको थियो । भेटनरी डाक्टर कासिन्दर कर्णले पनि सक्दो गरेको थियो । र, पनि गोरु बाँचेन ।

‘सब ई आ एकर बापके करल धरल है ।’ (सब यो र यसको बुवाले गर्दा हो ।)

सुरुज महतोको रिस अझै थामिएन । ऊ रामविलासलाई कुट्न अगाडि बढ्यो । रामविलास त्यहाँ बसिरहेन । आमाले बनाएको खेन्द्रा भुइँबाट टिप्यो । र, त्यहाँबाट भाग्यो ।

...

डेंगु भएको थियो जिलेबियालाई । त्यसैको ज्वरोले थिलिएको थियो ऊ । उनीहरूको अवस्थाबारे अस्पतालको अहेब बिषुणियाँलाई थाहा थियो । त्यसैले उसलाई बाहिर लैजाने सिफारिस गरेन । अस्पतालमा सित्तैमा पाइने केही औषधिका चक्कीहरू दियो । र, तागतिलो खानेकुरा खुवाउनू भन्ने नुस्खा दिएर घर पठाइदियो ।

दुई छाक खान नपाउने घरमा तागतिलो के पाउनु ? सोनावती पोखरीबाट घोंघी टिपेर ल्याउँथी । त्यही उमालेर दिन्थिन् जिलेबियालाई । तर, जिलेबियामा त्यही घोंघी पनि सुर्केर तान्ने तागत थिएन । छोरी फुलनले सिन्काले घोचेर निकाल्थी । उसको शरीर बिस्तारै क्षीण हुँदै थियो ।

रामविलास घर पुग्दा आमा सोनावती घरमा थिइन । फुलनका अनुसार, घोंघी टिप्न गएकी थिई । ऊ जिलेबिया सुत्ने ठाउँमा गयो । कुनै बेला बलिष्ठ र कसिलो देखिने जिलेबियाको शरीर थिलिएको थियो । ज्वरोले ऊ बर्बराउन थालेको थियो । बिहानदेखिका घटनाहरूले गुम्सिएर बसेको थियो रामविलास । जिलेबियाको अवस्था देखेर आफूलाई रोक्न सकेन । ऊ भक्कानिएर रुन थाल्यो । उसको रुवाइ सुनेर जिलेबियाले आँखा खोल्यो ।

‘के रामविलास ?’ (को रामविलास ?)

रामविलास नजिक गयो । जिलेबियाले उसको अनुहारमा हात फेर्‍यो । आँसुले निथ्रुक्क भिजेको गाला छाम्यो ।

‘नै कान । किछो नै होते हमरा ।’ (नरोऊ । केही पनि हुँदैन मलाई ।)

जिलेबिया फेरि निदायो ।

...

त्यही साँझ जिलेबिया सधैँका लागि निदायो । त्योभन्दा अघि धेरैपटक कामेर

उठेको थियो ऊ । उठ्दा पनि बेहोसीमै हुन्थ्यो । कसैले नबुझ्ने गरी बर्बराउँथ्यो । दिन जति ढल्न थाल्यो, उसको शरीरको छटपटाहट अझै बढिरहेको थियो । सुरुज महतोको गोरु पनि त्यसरी नै छटपटाएको थियो । उसको छटपटाहट देखेर सबै आत्तिएका थिए । सोनावती छाती पिटीपिटी रुन थाली । आमा त्यसरी रोएको देखेर फुलन पनि रुँदै थिई । ‘बेटा रै, देखी न ! जाके कोनो डाक्टरके बोलालेन !’ (ए छोरा, हेर न ! गएर कुनै डाक्टरलाई बोलाएर ल्याऊ !)

रामविलासले आफ्नी आमालाई यति निरीह कहिल्यै देखेको थिएन । उसलाई के गर्नुपर्छ ? आफैँ पनि थाहा थिएन । ऊलगायत पूरै मुसहरटोलका मानिसले चिनेको एउटै डाक्टर थियो, स्वास्थ्य चौकीको अहेब बिषुणियाँ डाक्टर । ऊ स्वास्थ्य चौकीतिर दौड्यो । साँझ परेको थियो । मुसहरटोलका प्रायः मानिस कामबाट फर्किसकेका थिए । सोनावती र फुलन कराएको सुनेर प्रायःजसो मानिस घरमा जम्मा भए । महिलाहरूले सोनावतीलाई सान्त्वना दिन थाले । लोग्नेमान्छेहरू, जो जिलेबियासँगै हुर्किएका थिए, उसलाई बोलाउन खोजिरहेका थिए । बेलाबेला थकित आँखा उसले उघार्थ्यो, बोलाउने मान्छेतिर हेर्थ्यो र फेरि आँखा चिम्म गर्थ्यो । त्यहाँ आएकामध्ये प्रायःजसोका आँखामा आँसु आउन थालेको थियो । बिषुणियाँ डाक्टर आइपुग्दा उसको ढुकढुकी अझै बाँकी थियो । उसले जिलेबियाको नाडी छाम्यो । उसलाई थाहा थियो, उसका कुनै पनि प्रयासले जिलेबियालाई फर्काउन सक्दैन । तर, पनि उसले डाक्टरको भूमिका निभाउनै पर्‍थ्यो । उसले सिरिन्जमा ल्याएको औषधि भर्‍यो र जिलेबियाको पाखुरामा लगाइदियो ।

त्यसको केही क्षणपछि जिलेबिया मर्‍यो ।

...

जिलेबिया मरेको दसौं दिन अर्थात् पितरपक्षको दिन सुरुज महतो घरमै आइपुग्यो । गाउँभरिका मानिस त्यहीँ थिए । उसलाई देख्नेबित्तिकै सोनावती चिच्याउँदै उठी । ‘खा त गेला हमर मरदके । आव कथी लैला यलह ?’ (खाई त सक्यो मेरो लोग्नेलाई । अब के लिन आएको ?)

अरूहरूले सोनावतीलाई समाते । कामको घरमा त्यसरी आएको मानिसलाई लखेट्नु पनि त भएन । आखिर ऊ त गिरहत हो । मानिसहरूले सम्झाए । उसको बुवाको तेह्र दिनको काम पनि सकिएको थिएन । सराद हुन बाँकी नै थियो । मानिसहरूले सोचे, जे भए पनि गिरहत हो । यसो मरण–हरणमा सहयोग गर्न आएको होला ।

खासमा सुरुज महतो जिलेबियाको किरिया सकेपछि रामविलासलाई काममा फर्कोस् भन्न आएको थियो । उसका छोराहरू बजारमै बसेर पढ्न थालेका थिए । बूढाबूढी भएर सबै काम गर्न गाह्रो थियो । भैँसीलाई त एक जना मानिस ढुक्कै चाहिन्थ्यो । त्यसका लागि रामविलासभन्दा अर्को मान्छे उनीहरूले सोचेका पनि थिएनन् । यसबेला केही लोभ देखाएर भए पनि रामविलासलाई फर्काउन चाहन्थ्यो ऊ ।

‘हम नै आब सकब मालिक ।’ (म अब आउन सक्दिनँ मालिक ।)

रामविलासले आफ्नो मन बनाइसकेको थियो । जाबीले निस्सासिएको गोरुको जिन्दगी बाँच्ने रहर थिएन उसलाई ।

‘कथी करबही त ?’ (के गर्छौ त ?), सुरुज महतोले सोध्यो । ‘किछो कलेबै । गोलबजारके इँटा भट्टामे जाक काम कैर लेबै । नै हेतै त जंगलसे जरना लायब के बेचबै । किछो नै होतै त पन्जाब हरियाना चैलजेबै । मगर अहाँल काम कर नै जेबै ।’ (जे पनि गर्छु । गोलबजारको इँटा भट्टामा गएर काम गर्छु । भएन भने जंगलबाट दाउरा ल्याएर बेच्छु । केही भएन भने पन्जाब हरियाणा जान्छु । तर, तपाईंकोमा काम गर्न जान्नँ ।)

प्रस्टसँग भन्यो रामविलासले । ऊ त्यसरी बोलेपछि सुरुज महतो केही बोल्न सकेन । कसैले रामविलासलाई सम्झाइदिन्छ कि आशाले उसले नजर उठायो,

‘एना कहला स केना हेतै ? यति दिनस जे चैल आइल छै, केना छोडैला पाबही ?’ (यसरी भनेर कहाँ हुन्छ ? यतिका दिनदेखि चलिरहेको कुरा कसरी छोड्न पाउँछस् तैंले ?)

तर, उसले भने जसरी कसैले उसको साथ दिएन । बरु उल्टै आक्रोश पोखे ।

‘एकर माने की । अहाँके लात जुता सैहके मैर जाऊ लोग । आब काम नै करतै त नै करतै । कोनो जोर जबरजस्ती से अहाँ करा लेबै ?’ (यसको मतलब के ? तपाईंको लात जुत्ता सहेर मरोस् मान्छे ? अब काम गर्दैन भने गर्दैन । तपाईं अब जोर जबरजस्ती गरेर काम गराउनुहुन्छ ?)

सबैले ऊमाथि आक्रोश पोख्न थालेपछि सुरुज महतो त्यहाँबाट हिँड्यो । सुरुज महतो हिँडेसँगै पितरपक्ष पनि सुरु भयो । बुवाको चितामा आगो बालेको दिनदेखि उसले घाँटीमा ‘उत्री’ बेरेको थियो । पितरपक्षको दिन पुरोहितले त्यो उत्री च्यातिदियो । उसलाई त्यसदिन बुवाको काजकिरियादेखि मात्रै मुक्ति भएन सँगै उसले सुरुज महतोबाट उन्मुक्ति पाएको अनुभव गर्‍यो ।

प्रकाशित : माघ १, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?