कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेपाली काव्यमा इभान मिनाएभ

बुद्धको भूमिबाट ल्याएको कुनै बुद्धोपदेश भए सुन्न पाऊँ भन्ने टाल्सटायको अनुरोधमा मिनाएभ गोजीबाट सानो टिपोट झिकेर अवलोकितेश्वरको स्तुति पढेर सुनाउँछन्
श्याम उपाध्याय

लामो समयदेखि रुस बसेर नेपाली भाषाको सेवा गरेका साहित्यकार, रेडियो मास्कोको नेपाली कार्यक्रमका पूर्वसञ्चालक कृष्णप्रकाश श्रेष्ठको गत वर्ष ०७७ चैतमा कोरोना संक्रमणबाट निधन भयो । उनकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको र दुई वयस्क छोरीहरू पनि अलग्गै बसेकाले जीवनका अन्तिम घडीमा उनले गरेका सिर्जना उसै हराउने हुन् कि भन्ने चिन्ता साहित्यकारहरूले गरे ।

नेपाली काव्यमा इभान मिनाएभ

चिन्ताको सम्बोधन गर्दै आफन्त र परिवारका निकटतम सदस्य तथा मित्रहरूबाट रुसमा कोरोना संक्रमण उच्च रहेकै अवस्थामा पनि मास्को गएर उनीद्वारा संकलित साहित्य जोगाएर राख्ने, पाण्डुलिपि खोज्ने र तयार अवस्थाका रचना प्रकाशित गर्ने प्रयास भयो । भर्खरै कृष्णप्रकाश श्रेष्ठको अन्तिम काव्य ‘मिनाएभको नेपाल यात्रा’ गैरआवासीय नेपाली संघ, रुस राष्ट्रिय समन्वय परिषद्द्वारा काठमाडौं र मास्कोमा एकैसाथ प्रकाशित भएको छ । पात्रहरूको संवाद अनुष्टुप छन्दमा लेखिएको छ ।

काव्यका चरित्रनायक इभान मिनाएभ नेपाल भ्रमण गर्ने पहिलो रुसी हुन् । उनी विसं १९३२ वैशाखतिर नेपाल आएका थिए । उनी सामान्य यात्री नभएर रुसमा प्राच्यविद्याका धुरन्धर विद्वान् थिए । तत्कालीन रुसी साम्राज्यको जारशाही दरबारमा मिनाएभलाई उच्च भारदारी सम्मान प्राप्त थियो । उनी सेन्ट–पिटर्सबुर्ग विश्वविद्यालयका प्राध्यापक, संस्कृत र पालिलगायत विभिन्न भाषाका विशेषज्ञ र बुद्धधर्मका प्रकाण्ड विद्वान् थिए । उनले नेपाललगायत त्यसबेला ब्रिटिस राजअन्तर्गतको हिन्दुस्तान, लंका र बर्माको भ्रमण गरेका थिए, जसको मुख्य उद्देश्य यी क्षेत्रमा बुद्ध धर्मको अवस्था र भिन्नतासाथै यहाँका भाषा तथा साहित्यबारे जानकारी लिनु थियो । मिनाएभको नेपाल यात्राको सिलसिला एक रोचक कहानी थियो । राणाकालमा युरोपेलीहरूका लागि नेपाल भ्रमण अनुमति पाउन सहज थिएन । उनी भारत आइपुग्दा बेलायत भ्रमणमा निस्केका प्रधानमन्त्री जंगबहादुर राणा घोडाबाट लडेर बम्बईमा नै रोकिएका छन् भन्ने खबर पाए । त्यसै मौकामा उनले जंगबहादुरलाई भेटे र नेपाल भ्रमणको अनुमति प्राप्त गरे ।

यात्राबाट फर्केपछि मिनाएभले ‘भारत तथा लंका वृत्तान्त’ नामक संस्मरण प्रकाशित गरे, जसमा एक अध्याय नेपाल थियो । उनले केही बौद्धग्रन्थ र नेपाली तथा नेवारी साहित्यका कतिपय कृतिको अनुवादसमेत गरेका थिए । तत्कालीन राणा शासनले उनलाई काठमाडौंबाहेक अन्यत्र घुम्ने अनुमति दिएको थिएन, तर काठमाडौं बसाइको छोटो समयमा पनि नेवारी भाषा सिकेर उनले एक शब्दकोश तयार पारेका थिए । आफ्ना अनेक कृतिको माध्यमबाट रुसमा उनले नेपाल विद्याको स्थापना नै गरे । र, रुसीहरूका लागि मिनाएभ नेपाल ‘पत्ता लगाएका’ विद्वान् बने । मिनाएभ नेपाल आइपुग्दाको कालखण्डको चित्रण गर्दै काव्यमा लेखिएको छ :

जतिखेर पुगे घुम्दै नेपालमा मिनाएभ,

चारैतिर अँध्यारोले घेरिएको थियो सब ।

झोमोलुङ्मा त्यतिखेर एभरेस्ट भनिन्नथ्यो,

‘नेपाल बुद्धको जन्मस्थल’ भन्ने गरिन्नथ्यो ।

यस काव्य रचनापूर्व पनि कृष्णप्रकाशले मिनाएभबारे विभिन्न लेख र अनुसन्धानमूलक कार्यपत्र प्रकाशित गरेको पाइन्छ । सम्पूर्ण वयस्क जीवन रुसमा नै बिताएकाले नेपाल भ्रमण गर्ने पहिलो रुसीप्रति उनको विशेष रुचि रहनु स्वाभाविक थियो । उनकै सक्रियतामा विसं २०६७ मा काठमाडौंबाट ‘मिनाएभ र नेपाल’ शीर्षकको लेखसंग्रह प्रकाशित भएको थियो । ‘रुसमा नेपाल विद्याको श्रीगणेश’ नामक अर्को लेखमा कृष्णप्रकाशले नेपालको जनजीवनबारे रुसमा परिचय दिने कार्यमा मिनाएभले पुर्‍याएको अतुलनीय योगदानको चर्चा गरेका छन् । मिनाएभप्रति समर्पित कृष्णप्रकाश श्रेष्ठका लेखमा नेपालका मानवतावादी साहित्यकार जयपृथ्वीबहादुर सिंहको नाम पनि उल्लेख छ, जो रुस–यात्रा गर्ने प्रथम नेपाली थिए । यी दुईको नाम जोडेर मास्कोमा स्थापना भएको ‘जयपृथ्वी–इभान मिनाएभ’ नामक श्रष्टा सम्मान हालसम्म सात जना नेपाली साहित्यकारलाई प्रदान गरिसकिएको तथ्य पनि यसै काव्यको भूमिकामा उल्लेख छ ।

मिनाएभको नेपाल यात्रा ऐतिहासिक काव्य हो । काव्यले चित्रण गरेको कालखण्ड त्यसबेलाको हो, जब भारत बेलायतको उपनिवेश थियो र नेपाल औपचारिक रूपमा स्वतन्त्र भए पनि अंग्रेजसँगको युद्धमा पराजय बेहोरेपछि उसैको प्रभुत्वमा बाँधिएको थियो । नेपालमा राणा शासनको स्थापना भइसकेको थियो र जंगबहादुर आफ्नो शासनको सुरक्षाका लागि हिन्दुस्तानमा रहेको ब्रिटिस शासनसँग मित्रता बढाइरहेका थिए । बाह्य सम्बन्ध बेलायतको नियन्त्रणमा थियो र नेपालबारे बाँकी संसारलाई कमै ज्ञान थियो । देशमा गरिबी, अज्ञानता र निरक्षरता व्याप्त थियो । काठमाडौंभित्र लिच्छविकाल र मल्लकालको अन्त्यपछि आर्थिक तथा सामाजिक विकास शून्य थियो । दास प्रथा, सती प्रथा कायमै थिए । सामाजिक र आर्थिक रूपमा पछौटे देश नेपाल सांस्कृतिक रूपमा सम्पन्न हुनाको कारणबारे काव्यमा काठमाडौंस्थित ब्रिटिस रेजिडेन्टसँगको भेटमा मिनाएभ भन्छन् ः

हो यो स्वाभाविकै, जीत गोर्खालीको यहाँ भयो,

किन्तु संस्कृतिको जीत नेवारजातिमै रह्यो ।

भोट, चीन र जापानसम्म नेवार संस्कृति,

लिएको छ नेवारी वास्तुकला हुँदै कृति ।

यो कुरा बुझी मिनाएभले बाँकी यात्रा काठमाडौं उपत्यकाको वास्तुकला, मठ–मन्दिर, विभिन्न चैत्य र नेवारी भाषा तथा संस्कृतिको अध्ययनमा बिताएका थिए । यसका लागि उनलाई नेपाली पथप्रदर्शक गुणानन्द वैद्यले सघाउँछन्, जो काव्य रचनाकारका अनुसार कुनै काल्पनिक पात्र नभई वास्तवमै एक विद्वान् थिए । उनैले न्यातपोल कहलिएको भक्तपुरको नेपाली वास्तुकलाको अचुक प्रतिनिधि अत्युच्च मन्दिर, ललितपुर राजप्रासाद सामुको कलात्मक कृष्णमन्दिर र काठमाडौंको तलेजु मन्दिरबारे रुसी पाहुनालाई विस्तारमा बताउँछन् । विदेशीका लागि पहिल्यैदेखि रहस्य र आकर्षणको केन्द्रमा रहेकी जीवित देवी कुमारीको उद्गमबारे विद्वान् पात्र गुणानन्दले गरेको वर्णनलाई काव्यमा यसरी उतारिएको छ ः

सिम्रौनगढका राजा भागी नेपाल आउँदा,

साथमा तुलजादेवी आई यहीं रहिन् सदा ।

मल्लराजाहरूकी ती कुलदेवी पनि थिइन्,

भनिन्छ, तिनका साथ पासा समेत खेल्दथिन् ।

यस काव्यमा प्रस्तुत गरिएका एक अर्का पात्र भक्तपुर पुर्खौली घर भई थानकोट आएर बसेका भाजुकुटु अमात्यले मिनाएभलाई काठमाडौं उपत्यकाका विभिन्न स्थान–नामहरू कसरी बने भनेर तिनीहरूको मीठो वर्णन सुनाउँछन् । उदाहरणका लागि नेवारी नाम थक्वाः अर्थात् ‘थव’ – ‘माथि’ र ‘क्वाथ’ – ‘किल्ला’ बाट थानकोट बनेको, अशोक पुत्री चारुमतीले निर्माण गरेको विहार (चारुमती विहार) बाट चाबहिल बनेको र दहोच्चगिरिबाट गोर्खाका राजाको किल्ला दहचोक बनेको जस्ता तथ्यहरू प्रस्तुत गरिएका छन् ।

काव्यका केही दृश्य मिनाएभ यात्राबाट फर्केपछिका छन्, जसमा उनले नेपालबारे रुसमा भनेका–लेखेका कुरा वर्णन गरिएको छ । त्यस खण्डको सबैभन्दा रोचक पक्ष विश्वविख्यात साहित्यकार लियो टाल्सटायसँग उनको भेट र संवाद हो । टाल्सटायले आफू भर्खर बीस वर्षको तन्नेरी हुँदा बुर्‍यातिया (मंगोलियासँग सिमाना जोडिएको पूर्वी साइबेरियामा पर्ने रुसको एक प्रदेश) का एक बौद्ध भिक्षुबाट अमृत समानको बचन सुनेपछि आफ्नो सारा दृष्टिकोणमा परिवर्तन आएको र जीवनभर अहिंसावादी रहेको रहस्य पोख्छन् । हिन्दु धर्मको प्रसंगमा भने जातपातको भेदभाव हुनु कलंकको विषय मान्दै टाल्सटायले नेपालमा जातीय विभेदको अवस्थाबारे मिनाएभबाट जानकारी लिएको काव्यमा उल्लेख छ । बुद्धको भूमिबाट ल्याएको कुनै बुद्धोपदेश भए सुन्न पाऊँ भन्ने टाल्सटायको अनुरोधमा मिनाएभ गोजीबाट सानो टिपोट झिकेर अवलोकितेश्वरको स्तुति पढेर सुनाउँछन् । यो स्तुतिको काव्यात्मक अनुवाद कृष्णप्रकाशबाटै भएको हो ।

काव्यको अर्को एक दृश्यमा मिनाएभले रुसमा नेपाल विद्याको जग बसालेपछि नेपालबारे अध्ययन अनुसन्धान गर्ने विद्वान्हरूको पुस्ता नै हुर्केको र अहिले पनि यस क्षेत्रमा रुसी प्रज्ञाप्रतिष्ठान अन्तर्गतको प्राच्यविद्या संस्थान सक्रिय रहेको देखाइएको छ । ‘मिनाएभको नेपाल यात्रा’ ऐतिहासिक तथ्य, पौराणिक कथा र नेपाली समाजका परम्परागत मान्यता वर्णनले भरिपूर्ण काव्य हो । एक विदेशी विद्वान्को आँखाले देखेको डेढ शताब्दीअघिको नेपालको दृश्यको काव्यात्मक प्रस्तुति नेपाली साहित्यको विविधतामा अवश्य नै एक अनुपम योगदान हुनेछ ।

प्रकाशित : माघ १, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?