कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्दो विनाशबीच ‘न्यु होप’

ज्ञान, प्रविधि र विवेकमार्फत जलवायु परिवर्तनलाई लगाम लगाउनेतर्फ संसार चल्नुपर्ने थियो । तर, विडम्बना पृथ्वीका बासिन्दा त्यसबारे सचेत छैनन् । जो सूचित छन् तिनले पृथ्वीवासीलाई सचेत गराउन सकेका छैनन् । हामीसँग केही बाँकी छ भने त्यो आशा मात्रै हो । न्यु होप राख्नु यतिखेर एक विकल्प बनेको छ ।
जलवायु परिवर्तनले एकैपल्ट पृथ्वीलाई निमिट्यान्न पार्दैन, असर लामो समयसम्म रहिरहनेछ ।
अजय दीक्षित

ग्लास्गो सहरमा २६ औं विश्व जलवायु सम्मलेन तयारी हुँदै गर्दा सामाजिक सञ्जालमा अमेरिकाको खबर फैलियो– अमेजन कम्पनीका मालिक धनाढ्य जेफ बेजोसको ‘ब्लु ओरिजिन’ नामको यान दोस्रोपल्ट अन्तरिक्ष जाने भएछ, अभिनेता एवं लेखक विलियम स्याटनर (९०) लाई लिएर । सन् १९६७ मा अमेरिकामा ‘स्टार ट्रेक’ नामक साइन्स फिक्सन टेलिभिजन सिरियलको प्रसारण सुरु भयो । सिरियलमा ‘इन्टरप्राइज’ नामक अन्तरिक्ष–यान मनुष्य नपुगेका ग्रहपुञ्जहरूतर्फ यात्रा गर्छ । स्याटनरले ‘इन्टरप्राइज’ का कप्तान जेम्स कर्कको भूमिका निर्वाह गरेका थिए ।

बढ्दो विनाशबीच ‘न्यु होप’

अन्तरिक्ष दौड

‘स्टार ट्रेक’ ले मलाई सन्‌ १९६० को पुरानो समयतिर लैजान्छ– अमेरिका र तत्कालीन सोभियत युनियनबीचको शीतयुद्धको कालखण्डमा । त्यस पृष्ठभूमिको एउटा खास पक्ष थियो– अन्तरिक्ष यात्रा जित्‍ने दौड । स्पुट्निकलाई १९५७ मा अन्तरिक्ष पठाएको सोभियत युनियनले १९६१ मा युरी गागरिनलाई पठायो । अन्तरिक्ष यात्रा गर्ने पहिलो मानव बने गागरिन । ‘पछि परियो’ भनेर अमेरिकाले १९५८ मा नासा स्थापना गर्‍यो र १९६१ मा एलन सेपर्ड अन्तरिक्ष यात्रा गर्ने पहिलो अमेरिकी (अन्तरिक्षका दोस्रो मानव) बने । १९६१ मा राष्‍ट्रपति जोन केनेडीले घोषणा गरे– १० वर्षमा चन्द्रमामा मान्‍छे पुर्‍याउने । सोभियत युनियनकै भालेन्तिना तेरेसकोभा १९६३ मा अन्तरिक्ष पुग्‍ने पहिलो महिला बनिन् । अमेरिकाका निल आर्मस्‍ट्रङ सन्‌ १९६९मा चन्‍द्रमा टेक्‍ने पहिलो मानिस बने ।

अन्तरिक्ष व्यापार

अहिलेको अवस्था र उहिलेको अवस्थामा आकाश–पातालको अन्तर आइसकेको छ । अन्तरिक्ष–यात्रा अब अमेरिका र रसियाको पकडमा मात्रै रहेन । यसमा चीन, भारत पनि सहभागी भइसकेका छन् । भारतले सन्‌ २०१३ मा मंगलग्रहको कक्षतर्फ यान पठाएको थियो । सन् २०२१ मा चीन र अमेरिकाका यानहरूले मंगलग्रहमा अवतरण गरेका छन् । नासाले पृथ्वीबाट नियन्त्रण गरी मंगल ग्रहमा सानो हेलिकप्टर उडाएको थियो । सन् २०२१ मा पहिलोपल्ट अन्तरिक्षमा पुगेकी चीनकी वांग यपिंगले अन्तरिक्ष स्टेसनबाहिर शून्य गुरुत्वमा हिँडडुल गरिन् । सन्‌ २०२१ को अक्टोबरमा रसियाका सिनेकर्मीहरू आफ्नो मुलुकको अन्तरिक्ष स्टेसनमा पुगे र ४० मिनेट लामो फिल्म खिचे ।

ब्लु ओरिजिनले स्याटनरसहितका यात्रुलाई पृथ्वीबाट १०० किमिमाथि अन्तरिक्षमा पुर्‍यायो । ती त्यहाँ ११ मिनेट रहे र ३ मिनेट तौल नभएको अनुभव गरे । प्यारास्‍युटले यानको क्यापसुललाई सकुशल पृथ्वीमा ल्यायो । फेरि प्रयोग गर्न मिल्ने मुख्य रकेट पहिले नै फर्किइसकेको थियो । अन्य धनाढ्यको पनि अन्तरिक्ष पर्यटनको प्रस्ताव छ । भर्जिन आट्लान्टिकका रिचार्ड ब्रान्सन र टेस्लाका इलन मस्क पनि यही यत्नमा छन् । ब्रान्सनको भर्जिन गालाक्टिक यान पनि चार जना पर्यटक लिएर अन्तरिक्षमा पुगेर फर्किसकेको छ ।

इलन मस्कले भनेका छन्, ‘मेरो उद्देश्य हो कार्स एन मार्स’, अर्थात् टेस्ला बिजुली गाडी र मंगल ग्रहमा ‘बस्ती’ । इलन मस्कको कम्पनी स्पेस एक्स उपग्रह प्रक्षेपणमा पनि सहभागी हुन थालेको छ । अन्तरिक्ष दौडमा लागेका पुराना–नयाँ मुलुकबीच नयाँ दौड सुरु हुने बीबीसीले बताएको छ । गन्तव्य हो–चन्द्रमा र मंगल ग्रह । अन्तरिक्षको यो दौडमा निजी कम्पनी किन पछि पर्थे ? धनाढ्य बेजोसले पृथ्वीमा प्रदूषण गर्ने एकाइ अन्तरिक्ष लैजाने, उतै बस्ती बसाल्ने अनि त्यताका बासिन्दा पृथ्वीमा पर्यटक भई घुम्न आउने ‘फिक्सनल’ कुरासम्म गरेका छन् ।

बेलायतका राजकुमार विलियमले भनेका छन्, ‘त्यताभन्दा घरको चुनौती समाधान जरुरी छ ।’ धनाढ्य बिल गेट्स अन्तरिक्षको दौडमा छैनन् । उनले भनेका छन्, ‘(पृथ्वी) मा रोगव्याधिजस्ता चुनौती नै धेरै छन् ।’ एक ठूलो चुनौती हो– जलवायु परिवर्तन । विज्ञान–प्रविधिको विकासले मंगल ग्रहमा उपग्रह वा रकेट पठाउने काम सहज छ । के मानव जाति अन्तरिक्ष उपनिवेशीकरणको बाटोमा छ ? यो प्राविधिक चुनौती मात्रै होइन । युरोपेली मुलकहरूले अन्य मुलुकलाई उपनिवेश बनाएर गरेको शोषण, हैकमवाद र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको इतिहासले अन्तरिक्ष उपनिवेशीकरणको नैतिक चुनौती अगाडि ल्याउँछ ! यता पृथ्वीमा भने जलवायु परिवर्तनको कारक हरितगृह ग्यास उत्सर्जन कम गर्ने बाटो उति सजिलो देखिएको छैन ।

चुनौतीका चाङमा जलवायु परिवर्तन

म युवा छँदा विश्वमा आर्थिक असमानतालगायत अन्य थुप्रै चुनौती थिए । जलवायु परिवर्तन पनि निरन्‍तर थियो । तर, परिवर्तनको दर हिजोआज जस्तो वेगमा थिएन । प्रभाव झन् विषम बन्ने, आउँदो पुस्ताको जीवन असहज हुने परिदृश्य अब वास्‍तविकता भइसक्यो । बढ्दो सुक्खा–खडेरी, ठूल्ठूला आँधीहुरी, अतिवृष्टिजस्ता घटनाले ल्याउने विनाशको जोखिमको स्तर कस्तो हुनेछ ? विगतका प्रयास कति प्रभावकारी थिए ? अब कस्‍ता सुधार जरुरी छन् ? उत्सर्जन कम गर्ने तात्त्विक पहल कसले गर्ने ? प्रश्नहरू ताँती छन् ।

दुई वर्षयताका प्रतिवेदनहरूले (एसआर १.५, एआर ६) जलवायु संकटको वैज्ञानिक आधार स्थापित गरेका छन् । एक तथ्यांकअनुसार, सन् १९८८ देखि २०१७ सम्म गरिएको कुल कार्बन उत्सर्जनको ७० प्रतिशत १०० ठूला कम्पनीबाट भएका थिए । के कम्पनीले कार्बन उत्सर्जन कम गर्ने अगुवाइ गर्लान् ? ३ वर्षयता जलवायु न्यायका लागि युवाहरूको जबरजस्‍त प्रतिरोध जारी छ । प्रतिरोधले ती कम्पनीलाई रूपान्‍तरणको बाटोतर्फ लैजाला ? हिजो–आज केही कम्पनीहरू वातावरण, सामाजिक र सुशासनका मान्यताले निर्देशित छन्, जसमा उत्सर्जन कम गर्ने काम पनि पर्छ । तिनले गर्न धेरै बाँकी छ । निजी कम्पनीहरूको धर्म नयाँ सिर्जना गर्ने, रोजगारी दिने, सेवा पुर्‍याएर नाफा कमाउने र सरकारलाई कर तिर्ने हो । निजी कम्पनीको उचित अनुगमन नभए तिनले फाइदा निजीकरण गर्छन्‌– घाटा, खर्च समाज, प्रकृति र भविष्यमा स्थानान्तरण गर्छन्‌, गरिएको छ, गरिँदै छ । सन्‌ २०२१ डिसेम्बरमा प्रदर्शित फिल्म ‘डोंट लुक अप’ जारी जलवायु संकटमाथि केन्द्रित छ ।

डोन्ट लुक अप

फिल्ममा लियोनार्डो डिक्याप्रियो (डा. रैन्डल मेन्डी) र जेनिफर लरेन्स (केट डिबियास्की) वैज्ञानिकको भूमिकामा छन्‌ । प्रकृति संरक्षणमा रुचि राख्‍ने लियोनार्डोले सन्‌ २०१० मा बाघ संरक्षणलाई टेवा दिन बर्दिया राष्ट्रिय निकुञ्‍जको भ्रमण गरेका थिए । पीएचडी गर्दै गरेकी डिबियास्कीले ९ किलोमिटर ठूलो उल्का पृथ्वीतर्फ आउँदै गरेको र ६ महिनामा पृथ्‍वीमा ठोकिने कुरा पत्ता लगाउँछिन्‌ । डा. मेन्डीसँग पु‍ष्टि गर्छिन्‌ । नासाले पनि मे‍न्डीको तर्कलाई पुष्टि गर्छ । लोकप्रिय टीभी कार्यक्रमको माध्यमबाट उनीहरू यस अनिष्‍टबारे सबैलाई बताउने प्रयास गर्छन्‌, तर सफल हुँदैनन्‌ ।

अमेरिकी राष्ट्रपति जेनी ओरलियन (मेरिल स्ट्रिप) र उनका छोरा चिफ अफ स्टाफ डा. मे‍न्डी र केटका कुरालाई उडाउँछन् । अर्बपति व्यापारी उल्कामा भएको किमती खनिज उत्खनन गरी खर्बौं डलर कमाउने र पृथ्वीको यावत् समस्या समाधान गर्ने योजना प्रस्तुत गर्छन्‌ । उल्का नष्ट गर्ने र खनिज उत्खनन गर्ने प्रयास सफल हुँदैन । अन्ततोगत्वा उल्का पृथ्‍वीमा ठोकिन्छ । बस्, त्यसपछि सबै अन्धकार !

फिल्मको यो अन्‍त्य जलवायु परिवर्तनले ल्याउने असरको विम्बसित मिल्दैन । जलवायु परिवर्तनले एकैपल्ट पृथ्वीलाई निमिट्यान्न पार्दैन, असर लामो समयसम्म चलिरहनेछ । जलवायु परिवर्तनमा कार्यरत पश्चिमी मुलुकका वैज्ञानिकहरूको भनाइ छ, फिल्मले विज्ञान सम्प्रेषण गर्दा तिनले भोगेका चुनौती प्रतिविम्बित गरेको छ ।

२६ सौं ग्लास्गो सम्मलेनपछि प्रदर्शित यस फिल्मले अमेरिकामा जलवायु परिवर्तनको विज्ञान नकार्ने एउटा राजनीतिक मूलधारको संस्कार, त्यहाँको टीभीे संसार र व्यापारी तप्कामाथि व्यंग्य गरेको चर्चा पाएको छ । सन् २०१६ को चुनावमा पेरिस जलवायु सम्झौताले अमेरिकी अर्थव्यवस्था चकनाचुर हुने नारासहित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेका थिए । जलवायु परिवर्तन चीनले सुरु गरेको छलछाम हो भनेर उनले विज्ञानलाई प्रश्न गरेका थिए । ४ नोभेम्बर सन् २०२० मा अमेरिका पेरिस सम्झौताबाट बाहिरिएको थियो । बुझ्नुपर्ने यथार्थ भनेको एसिया र अफ्रिकाका मुलुकका मुख्य चुनौती जलवायु अन्याय हो, र जलवायु परिवर्तन विज्ञानको विरोध होइन ।

अमेरिकाका पूर्वउपराष्ट्रपति अल गोरको डकुमेन्ट्रिी ‘द इन्‍क‍न्भिनिएन्ट ट्रुथ’ र चलचित्र ‘द डे आफटर टुमरो’ ले यसअघि जलवायु परिवर्तनको प्रसंग समेटेका थिए । ‘द इन्‍क‍न्भिनिएन्ट ट्रुथ’ मा गोरले आफूले चुनाव हारेको राजनीति पनि संलग्न गरेका थिए, अमेरिकीबाहेक अरूको खासै चासो नभएको । ‘द डे आफ्टर टुमरो’ मा पनि तत्‍कालीन राष्‍ट्रपति जर्ज डब्‍लु बुसको जलवायु नीतिको आलोचनाका संकेत छन्‌ ।

महाप्रणालीका बासिन्दा

जलवायु परिवर्तन अध्ययनका क्रममा सन् २००५ तिर मलाई लागेको थियो, ‘विद्वान्हरू लागेका छन्, प्रविधि र तौरतरिका पहिचान भइसक्यो, मानव एजेन्सी जलवायु परिवर्तन समाधानको बाटोमा लाग्नेछ ।’ नयाँ शताब्दीको दोस्रो दशकको अन्त्यमा यसरी उथलपुथल होलाजस्तो लागेको थिएन, तर वास्तविकतामा त्यसो हुन थालेको छ । अझ ठूलो चुनौती जलवायु परिवर्तनको असरसित अनुकूल हुनुको छ । अनुकूल हुनु के हो र कसरी भन्ने विषयमाथि केही जानकारी थिए, प्रस्ट थिएन । बढ्दो असरसँग करोडौं पृथ्वीवासी कसरी अभ्यस्त हुने ? अझै प्रस्ट छैन । उथलपुथल भइरहने हो भने त्यसको असरसँग स्रोत भएका, पढे–लेखेकाहरू र क्षमता भएकाहरू अभ्यस्त हुन सफल होलान्, तर अधिकांश पृथ्वीवासीलाई सहज हुनेछैन । विकासोन्मुख मुलुकवासीलाई त निकै गाह्रो हुनेछ । व्यवस्थापन र संस्थागत कमजोरी, स्रोत र ज्ञानको कमी र विश्व व्यवस्थामा सीमान्त भएको स्थितिले थप गाह्रो पार्नेछ‌ । नेपालको भौगोलिक र सामाजिक भिन्नतामा गरिएका अनुकूलनका अध्ययन–अनुसन्‍धान सबैका लागि उपयोगी हुने मेरो विश्वास छ । तर, अध्ययन–अनुसन्‍धानका सूचना भने छरिएका अवस्थामा छन्, प्रोजेक्ट प्रतिवेदनमा लुकेका छन्, ती ज्ञानपुञ्‍ज बनेका छैनन् ।

हामी जो कोही हौं, जहाँका हौं, एउटै घर पृथ्वीका हौं । १९५ मुलुकमा बाँडिएका हामी पृथ्वीको महाप्रणालीभित्र जोडिएका छौं । तर, मनुष्यसिर्जित जलवायु परिवर्तनलगायत अन्य क्रियाकलापले यो महाप्रणाली क्षतविक्षत हुने क्रममा छ । हुन नदिनुको हामीसँग विकल्प छैन ।

मानवसिर्जित जलवायु परिवर्तन संकटको समाधान स्वैरकल्पना, साइन्स फिक्सन वा चलचित्र होइन, वास्तविकता बन्नुपर्छ । परिवर्तनको घनघोर बादल झन् कालो बन्न नदिन मानव सभ्यता सफल होला ?

अंग्रेजी भाषामा गुड न्युज (राम्रो खबर) एन्ड ब्याड न्युज (नराम्रो खबर) भन्ने चलन छ । पहिले नराम्रो खबर ः खनिज तेल र कोइला दहन, वन फडानी, प्रकृतिको जथाभावी दोहन कम भएकै छैन, झन्‍झन् बढ्दो छ । अब राम्रो खबर ः उत्सर्जन कम गर्ने प्रविधि र तौरतरिका पहिचान भइसक्यो, के गर्नुपर्छ थाहा छ । मैले आफूलाई राम्रो खबरले दिएको ‘न्यु होप’ तिर राखेको छु ।

प्रकाशित : माघ १, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?