कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
एल्बम

मत्स्यांगनाको तस्बिर

रुचि श्रेष्ठ

छुट्टीको दिन पाँच वर्षकी मेरी भदै बिहानको न्यानो घाममा पिङमा झुल्दै थिई । मलाई देख्नेबित्तिकै ह्वाइटबोर्डतिर देखाउँदै भनी, ‘निनी, हेर्नू त, मैले के बनाएको छु त्यहाँ ?’

मत्स्यांगनाको तस्बिर

‘खोइ, के बनाइछ मेरो छोरीले ?’

ह्वाइटबोर्डतिर हेर्दै मैले भनें ।

उसले भनी, ‘त्यो त मरमेड हो नि ।’

‘हो रै छ । यो त कस्तो राम्रो मरमेड, मत्स्यांगना, बनाएछ छोरुले ।’

त्यो हेरेर, झ्वाट्ट मलाई डेनमार्कको राजधानी कोपनहेगनमा देखेको मरमेडको मूर्ति याद आयो । मैले उत्साहित हुँदै भने, ‘तिमीलाई थाहा छ ? निनीले मरमेडसँग फोटो खिंचेको छु नि ।’

उसले अचम्म मान्दै भनी, ‘हो र ?’

‘तिमीलाई हेर्न मन छ ?’

‘छ, नि ।’

मैले तल कोठामा जाने इसारा गर्दै भनें, ‘त्यो त एकदम पहिलेको फोटो हो । जाऊँ हिँड । हामी पुरानो फोटो एल्बममा त्यो फोटो खोज्न जाऊँ... ।’

‘त्यो फोटो त म जन्मनुभन्दा पहिलेको होला नि । है निनी ?’

‘हो बेटा, तिमी जन्मनुभन्दा धेरै वर्षपहिलाको फोटो हो त्यो ।’

त्यो एउटा फोटो भेट्टाउन हामीले बिभिन्न एल्बमहरू पल्टाइसकेका थियौं । फोटो हेर्दै गर्दा जन्मिएका उसका कौतूहल र टिप्पणी निकै रहरलाग्दा थिए । प्रत्येक नयाँ फोटो पल्टाउँदाको उसको उत्सुक र कल्पनाशील हेराइलाई

पछ्याउने कोसिस गर्दै थिएँ । त्यति नै बेला

ठ्याक्कै मरमेडको फोटो पल्टियो ।

‘यी, ल हेर त मरमेड ।’

‘तर, यो त कस्तो अर्कै खालको छ त निनी ?’

उसले जिउँदो मरमेडको तस्बिरको कल्पना गरेको हुनुपर्छ । यो त कांसको मरमेडको तस्बिर थियो । त्यो पनि अक्सिडाइज भएर हरियो–हरियो पत्र लागेको ।

‘यो मरमेडको मूर्ति हो नि छोरु ।’

उसको उत्सुक र कौतूहल मस्तिष्क अन्योलमा परिसकेको थियो । मैले फ्याट्ट उसलाई अर्को एल्बमको फोटो देखाउँदै भनें, ‘यो फोटो हेर त । को होला यो ? यो त निनी, तिमीजस्तै बच्चा हुँदाको फोटो हो नि ।’

उसको अन्योल मस्तिष्क फेरि उत्सुक हुन थाल्यो । मैले उबाटै सिकेको बचाव–नीति हो यो । आफूसँग उत्तर र तर्क नभएपछि अगाडिको मान्छेले सोच्न नभ्याउँदै विषय परिवर्तन गरिदिने ।

धेरै पहिलेको कुरा होइन । पन्ध्र वर्षअगाडिसम्म घरमा आएका पाहुनाको सत्कारमा उनीहरूलाई फोटो–एल्बम देखाउने चलन थियो । ती एल्बमका पुराना–नयाँ फोटोहरू पल्टिरहँदा तीसँगै घरका नयाँ–पुराना कथाहरू पनि पल्टिन्थे । फोटो देखाउने र हेर्नेहरू, सबैको आ–आफ्नै प्रयोजन हुन्छ । ती फोटोहरू पल्टिरहँदा म भने त्यसको वरिपरि नै भुनभुनाइरहेकी हुन्थेँ । नयाँ फोटोमा गरिने टिप्पणीभन्दा पुरानो फोटोहरूको विस्तृत वर्णनहरूमा बढी चासो हुन्थ्यो मलाई । ती वर्णनहरूमा टेकेर फोटोको सीमित चार कुनाभित्र देखिएका मूर्त आकृतिहरूलाई फैलाउँदै म आफ्नै आलंकारिक चित्र बनाइरहेको हुन्थेँ ।

फोटोको विवरणबारे मेरो माताजी र पिताजीको स्मरण–शक्ति र त्यसलाई वर्णन गर्ने उत्साह पनि गजबकै छ । चालीस वर्षपहिले घरको आँगनमा खिचेको फोटोको पृष्ठभूमिमा देखिएको ठूल्ठूलो पातवाला मनिप्लान्टमा झुन्डिएको गोमन सर्प देखेर भागाभाग भएको वर्णन उहाँहरूको मुखबाट सुन्दा आङ नै सिरिंग भएको थियो । त्यतिबेला मलाई पनि लागेको थियो, त्यो भागाभागमा म पनि त्यतै थिएँ कि ?

आँगनमा दुईवटा अग्लो नरिवल, त्यसपछि, आँप, अम्बा र खजुरका रूखहरू– मेरो सम्झनाको सुरुआतदेखि नै धेरैजसोमा फूल र फल लागेको थियो । एल्बमको चाङमा मैले ती रूखका बिरुवाहरू रोप्दा र रोप्नुअघिका फोटोहरू भेट्टाएको थिएँ । ती फोटोहरूले मेरो सम्झना र कल्पनामा रहेको मेरो घर–आँगनको स्थायित्वलाई चुनौती दिएको थियो । मेरो चेतन मस्तिष्कले बुझ्न नभ्याउँदै स्थापित भइसकेको अस्थायित्वको सत्यले नयाँ कथन निर्माण गरिसकेको थियो ।

कल्पना र स्मृतिले समयको विपरीत धारहरूको लेखाजोखा राख्ने गरे पनि यी दुबै एक–अर्कामा आश्रित हुन्छन् ः एक–अर्काका पूरक हुन्छन् वा भनौं, सहअस्तित्वमा कायम रहन्छन् दुवै । जसरी कल्पना कुन बेला पखेटा निकालेर स्मृतिबाट फुत्किसकेको हुन्छ थाहै हुँदैन त्यसैगरी, कल्पनाले उड्दाउड्दै बनाएका आकृतिहरू कुन बेला स्मृतिको पानामा अंकित भइसकेको हुन्छ त्यो पनि थाहा हुँदैन । र, त्यसले एउटा बेग्लै कथनको सृजना गरिसकेको हुन्छ । हामीलाई त्यसको पत्तै हुँदैन ।

हो, कथन । हाम्रा स्मृति, कल्पना, अनुभव अनि अनुभूति । यी सबैका सूत्रधार र सार हाम्रा कथन र कथाहरू नै हुन । कविता, उपन्यास, इतिहास, धर्मग्रन्थ, लोककथा र दन्त्यकथाहरू, यी सबैमा हामीले खोज्ने पनि कथा र कथनहरू नै हो । मूर्तिकार, चित्रकार र संगीतकारले

आफ्ना कृतिमा केही न केही कथन नै अभिव्यक्त गरिरहेका हुन्छन् । कथा र कथनको प्रभावकारिता जति ब्यापक छ, यी त्यति नै सूक्ष्म र संवेदनशील छन् । यही सूक्ष्म र व्यापकबीचको द्वैधतामा म आफ्नै कथन खोज्ने गर्छु क्यामराका लेन्स र फोटोको चार कुनाभित्र ।

करिब पैंतालीस वर्षपहिले पिताजीले हङकङबाट यासिका क्यामरा मगाउनुभएको थियो । अन्दाजी सात–आठ सय रुपैयाँ परेको थियो रे । त्यो क्यामराले फोटो खिच्न त्यसमा रिल लोड गर्नुपर्थ्यो । रिल बेग्लै किनेर ल्याउनुपर्थ्यो । घाम नलाग्ने, अँध्यारो कुनामा गएर रिल लोड गर्नुपर्थ्यो । संख्या गनी–गनी खिच्नुपर्थ्यो । त्यसपछि रिल ल्याबमा सफा गर्न दिनुपर्थ्यो । खिचिएका तस्बिर हेर्न कम्तीमा एक घण्टा, बढीमा दुई दिनसम्म कुर्नुपर्थ्यो । यति मिहिनेत लागेको फोटोमा एउटा फोटो हेर्न पाँच–दस मिनेट समय दिनु एकदम जायज ठहरिन्थ्यो ।

अहिले परिस्थिति बदलिएको छ । प्रविधि सुलभ छ र सबैको पहुँचमा छ । अझ भनौं, प्रविधिले रातारात फड्को मारेको छ । फोटो खिच्न कुनै अवसर कुर्नै पर्दैन । तर, जति छिटो फोटो तयार हुन्छ, त्यति नै छिटो फोटोबाट हाम्रो ध्यान भंग भइसकेको हुन्छ । म अहिले नै एक मिनेटमा दसवटा फोटो सजिलै सर्सर्ती स्क्यान गरिदिन्छु ।

हामी चाहन्छौं, कसैले हामीलाई सुनिदेओस्, हेरिदेओस्, कसैले हामीलाई बुझिदेओस् । यस्तो चाहना हुनु मानवीय प्रकृति तथा मानव सभ्यताको संवेदनशील आधार र आवश्यकता नै हो । यही मूलभूत मानवीय आवश्यकताको आधारमा हाम्रा अभिव्यक्ति, प्रदर्शनका प्रविधि र माध्यमहरू झन्झन् गतिशील र आकर्षक बन्दै गएका छन् । तर, तिनीहरू जति आकर्षक बन्दै छन्, तिनको क्षमतामा क्षय हुँदै गएको छ । जताततै व्याप्त भएका यी स्रोत र साधनहरूको चमक र कोलाहलमा हाम्रो ज्ञानेन्द्रियहरू गुम्सिँदै गएका छन् । हाम्रो ग्रहण गर्ने क्षमता र त्यसका लागि आवश्यक धैर्य हामीले गुमाउँदै गएका छौं । कथा, कथन र विचारहरूको सूक्ष्मता कतै अलमलिइरहेको छ ।

समस्या यो होइन कि प्रविधि दिन दुई गुना, रात चौगुनाको गतिमा दौडिइरहको छ । समस्या त यो हो कि प्राविधिक विकासको दाँजोमा हाम्रो सुन्न सक्ने, हेर्न सक्ने, बोल्न सक्ने, सोच्न सक्ने र महसुस गर्न सक्ने क्षमतामा रातारात वृद्धि हुन सक्दैन ।

यसले गर्दा मानव सभ्यतामै एक प्रकारको भ्रामक सोच आएको छ । हामी प्राविधिक उत्कृष्टतामै आफ्नो श्रेष्ठताको परिचय खोज्न थालेका छौं । प्रविधिसँग दाँजिएर आफूमा हीनताबोध महसुस गर्न थालेका छौं । प्रविधिको व्यापकतालाई हामीले मानवीय परिमितताको अर्थमा बुझ्न थालेका छौं । हामीले बिर्सनु हुँदैन– प्रविधि जति नै सामर्थ्यवान भए पनि यो मात्र साधन हो । यो कदाचित साध्य हुन सक्दैन । प्रविधिले हाम्रा लागि तथ्य–सामग्रीको जगेर्ना गर्न सक्छ । तर, ती तथ्यमा विचार र कथन खोज्ने त हामी र हाम्रा असीम अनि रहस्यमयी कल्पनाहरूले नै हो ।

पछिल्लोपल्टको कोरोना–आतंकका समयमा घर बसेको निकै दिन भइसकेको थियो । एक दिन म टीभी हेर्दै थिएँ । हजुरआमाले नातिनीलाई, उही मेरी पाँच वर्षकी भदैलाई, आफूहरू विदेश घुम्दाका फोटाहरू देखाउँदै हुनुहुन्थ्यो । नातिनीले सोधी, ‘तपाईंहरू म जन्मनुभन्दा पहिला नै यो सब्बै ठाउँमा जानुभएको होला है ?’

‘हो नि ।’ उसले फेरि सोधी, ‘म कहिले जाने होला यो सब्बै ठाउँहरूमा ?’

जवाफमा हजुरआमाले भन्नुभयो, ‘भोलिपर्सि । तिमी ठूली भएपछि । आफ्नो सबै काम आफैं गर्न सक्ने भएपछि जाने नि ।’

सुनेर नातिनीको अनुहार केही न्यास्रियो । उसले मसिनो आवाजमा भनी, ‘अनि, त्यतिबेला त तपार्इंहरू सब्बै जना बूढो भइसक्नुहुनेछ ।’

प्रकाशित : पुस २४, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?