समले भने, मलाई ‘शून्यम्’ मा विश्वास छैन
दार्जिलिङ बसेर नेपाली साहित्यको सेवा गर्दै आएका पारसमणि प्रधानले सन् १९८० को दशकमा ‘मेकर्स अफ नेपाली लिट्रेचर सिरिज’ शीर्षकमा सात नेपाली साहित्यकारबारे बेग्लाबेग्लै किताब प्रकाशित गरेका थिए ।यही मेसोमा सन् १९८० मा प्रधानले साहित्यकार बालकृष्ण समबारे ८० पृष्ठको किताब निकालेका थिए ।
कालिम्पोङको भाग्यलक्ष्मी प्रकाशनले छापेको उक्त अंग्रेजी भाषाको किताब लेखक पारसमणिले सन् १९८० जुन १९ मा चित्रकार/साहित्यकार लैनसिंह बाङ्देललाई पठाएका थिए । हस्ताक्षरसहितको पुस्तकमा लेखिएको छ– विथ काइन्ड रिगार्डस श्री लैनसिंह बाङ्देल । पारसमणि प्रधान, कालिम्पोङ ।
पुस्तकको परिचय खण्डमा लैनसिंह बाङ्देल र आभार खण्डमा कमल दीक्षितले केही शब्द खर्चेका छन् । बाङ्देलले हाइस्कुल छँदा आफूलाई पारसमणिले पढाएको भन्दै गुरुको पुस्तकमा आभार लेख्नपाउनु ‘भाग्यको कुरा’ भएको उल्लेख गरेका छन् ।
साहित्यकार सूर्यविक्रम ज्ञवालीदेखि तत्कालीन कलकत्ता उच्च अदालतका न्यायाधीश रामकृष्ण शर्मा, भारतीय साहित्य अकादमीका पूर्वसभापति सुनीतिकुमार चटर्जी, अमेरिकाका लागि नेपाली राजदूत रहेका हृषिकेश शाह, प्रधानमन्त्रीसमेत भइसकेका मात्रिकाप्रसाद कोइरालालगायतका व्यक्तिको संक्षिप्त भनाइ पनि किताबमा छ ।
पारसमणिले उतिबेला नेपाली लिट्रेचर सिरिजअन्तर्गत लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भानुभक्त आचार्य, रूपनारायण सिंह र मोतीराम भट्टबारे पुस्तक लेखेर छापेका थिए । नौ अध्यायमा बाँडिएको यो पुस्तकमा समको समग्र व्यक्तित्व, साहित्य प्रवृत्ति, उनका कविता, नाटक, लामा कविताको प्रवृत्तिबारे पनि सविस्तार उल्लेख गरिएको छ । समको चित्रकारिताबारे भने पुस्तकमा विस्तृतमा चर्चा गरिएको छैन ।
एक पाना समकै भनाइ पनि छापिएको छ । समले पारसमणिलाई सम्बोधन गर्दै लेखेको आभारमा उनी निराशावादी सुनिन्छन् । समले लेखेका छन्, ‘अहिले म कविताको संग्रह गर्न लागेको छु । टाइप गर्दै छन् । अनि ‘तातो चुल्हो’ लेख्न लागेको छु, कहिले सिद्धिने हो ! संसारको परिस्थिति राम्रो छैन । केको आधारमा लेख्ने हो । किन लेख्ने ? लेख्नकै निम्ति हो कि ? कति क्षणिक !’
नेपाली सेनाको राजदल बटालियनका क्याप्टेन रहेर मासिक ६ सय तनखा बुझ्ने सम शारीरिक सुगठन र सैन्य गतिविधिसँगै करुणा रसले भरिएको सुललित साहित्य र कलामा पनि प्रखर रूपमा रहनुलाई पारसमणिले अद्भुत क्षमता भनी व्याख्या गरेका छन् । तर, किताबमा आफ्नो भनाइ लेख्दै समले उमेर पुगिसकेको र पक्षाघातपछिको आफू फरक महसुस गरिरहेको बताएका छन् ।
समले लेखेका छन्, ‘सम्झन मन लाग्छ, सर्व स्वलक्षणम्–सर्व क्षणिकम्–सर्व अनृतम–सर्व शून्यम । मलाई ‘शून्यम्’ मा विश्वास लाग्दैन, सर्व ‘ब्रह्म’ मा मेरो विश्वास छ– ओं खम ब्रह्म ! यो सब शून्य नभनेर ‘ब्रह्म’ भन्नाले नै हाम्रो अमरत्व रहन्छ भन्नेमा मेरो विश्वास छ । अनि लेख्न मन लाग्दछ, यो छ ।’
प्रकाशित : पुस २४, २०७८ १०:३९