इतिहास

दिव्य उपदेशमाथि एक शंका 

पृथ्वीनारायण शाहका सन्तानहरुका लागि ‘दिव्य उपदेश’ न दिव्य थियो, न उपदेश । शाहको निधनपछि सरकारी आदेश र दस्तावेजमा कतै पनि दिव्य उपदेशको चर्चा नगरिनु उदेकलाग्दो छ । न त विदेशी लेखकहरुले नै यो दस्तावेज वा श्रुतिको चर्चा गरेका छन् । जब कि पृथ्वीनारायण शाहको नायकत्वलाई सबैले स्वीकार गरेका थिए ।
चूडामणि बस्नेत

राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम घडीमा टिपाएको भनिएको ग्रन्थलाई ‘दिव्य उपदेश’ को नामले चिनिँदै आएको छ । यसको पाण्डुलिपि काठमाडौंका एक बस्न्यात परिवारसँग थियो र इतिहासकार बाबुराम आचार्यले सन् १९३० को दशकमा यसलाई फेला पारेको बताइएको छ ।

दिव्य उपदेशमाथि एक शंका 

यो ग्रन्थको ऐतिहासिकताबारे कहिलेकाहीँ प्रश्न उठे पनि नेपालको औपचारिक राष्ट्रवादको कथामा पृथ्वीनारायण शाह र ‘दिव्य उपदेश’ को महत्त्वपूर्ण भूमिका रहेको निर्विवाद छ ।

‘दिव्य उपदेश’ मा अर्थव्यवस्था, कूटनीति, युद्ध रणनीतिलगायत विषयको चर्चा छ । तर, नेपाल ‘असली हिन्दुस्तान’ र ‘चार जात र छत्तीस वर्ण’ को फूलबारी हो भन्ने दुई भनाइ सायद सबैभन्दा बढी चर्चित छन् । यो लेखमा असली हिन्दुस्तानको अर्थ चलनचल्तीको अर्थभन्दा फरक हुन सक्ने विचार प्रस्तुत गरिएको छ र ‘दिव्य उपदेश’ को ऐतिहासिकतामाथि समेत प्रश्न उठाइएको छ ।

भूगोल र धर्म

इतिहासकारहरूका अनुसार, हिन्दु धर्मसँग नजिकको सम्बन्ध राख्ने ‘इन्दु’ वा ‘हिन्दुस्तान’ जस्ता शब्दहरू भारतमा लामो समयदेखि प्रयोग हुँदै आएका थिए । यी शब्दहरूले हाल पाकिस्तानस्थित इन्दु नदीभन्दा पूर्वको भूभाग भन्ने बुझाउँथे । भौगोलिक अर्थ यति बलियो थियो कि ईश्वीको अठारौं शताब्दीसम्म ‘हिन्दु क्रिस्चियन’ वा ‘हिन्दु मुसलमान’ जस्ता शब्दहरूसमेत प्रचलित थिए । अर्थात् भौगोलिक अर्थमा र त्यसमा बसोबास गर्ने बासिन्दालाई जनाउने विशेषणका रूपमा ‘हिन्दु’ शब्दको प्रयोग भएको थियो । हिन्दु शब्दले ‘धर्म’ को अर्थ कहिलेदेखि बोक्यो ?

हिन्दु शब्दले भारतीय उपमहाद्वीपमा मानिने विभिन्न सांस्कृतिक अभ्यासलाई धर्मको रूपमा बुझाउन थालेको इस्वीको अठारौं शताब्दीको अन्तिमतिर मात्र हो । यही बेला भारतका अंग्रेज शासकहरू र पश्चिमी अध्येताहरूले हिन्दु शब्दलाई धर्मको अर्थमा प्रयोग गर्न सुरु गरेका थिए । त्यसैबेलादेखि ‘मनुस्मृति’ जस्ता ग्रन्थहरूलाई हिन्दु धर्मको ‘कालजयी’ ग्रन्थका रूपमा चित्रित गरियो । सन् १७७२ मा एउटा ग्रन्थको अंग्रेजी अनुवादमा ‘हिन्दु धर्म’ लाई ‘तन्द्रु’ धर्मका रूपमा चिनाइएको थियो ! एक अध्येताले सन् १८०२ मा मात्रै भारतमा एक धार्मिक अभियन्ताले आफूलाई ‘हिन्दु धर्मावलम्बी’ का रूपमा चिनाएर लेखेका छन् । अर्थात् उन्नाइसौं शताब्दीको सुरुका वर्षहरूमा समेत भारतमा हिन्दु शब्दले ‘धर्म’ बुझाउने अभ्यास व्यापक थिएन ।

सन् १७७५ मा पृथ्वीनारायण शाहको निधन नुवाकोटमा भएको थियो । उसो भए, पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्तान’ भनेर धर्म होइन, तर अरू केहीलाई इंगित गरेका थिए होलान् ?

इतिहासका अन्य पात्र र अभ्यास हेर्दा यो रहस्य झनै बाक्लो देखिन्छ । नेपाली इतिहासकार र अध्येताहरूका अनुसार, पृथ्वीनारायण शाहभन्दा अगाडि नै मकवानपुर र पाल्पाका सेन राजाहरूले आफूलाई ‘हिन्दुपति’ भनेर चिनाउँथे । ‘दिव्य उपदेश’ को परिचयमै पनि पृथ्वीनारायण शाहले हिन्दुपतिको राज्य लिएको उल्लेख छ । रणबहादुर शाहको पालामा जारी भएको एक दस्तावेजमा मकवानपुरका राजाहरूलाई ‘हिन्दुपति’ भनिएको छ । यहाँ अर्को प्रश्न पनि उठाउन सकिन्छ– के भारतमा भन्दा अघि नेपालमा हिन्दु शब्दको प्रयोग धर्मको अर्थमा प्रचलनमा आयो ? सम्भव त छ, तर यदि भारतलाई ‘हिन्दु’ धर्मको उद्गम मान्ने हो भने यस्तो बुझाइ पत्यारलाग्दो देखिँदैन । नेपालमा ‘हिन्दु’ शब्दले धर्मको एकल अर्थ दिनेगरी प्रयोग कहिले सुरु भयो ?

मेरो प्रारम्भिक अध्ययनले के देखाउँछ भने सायद हिन्दु शब्द धर्मको अर्थमा नेपाल र भारतमा एकैसाथजस्तो प्रचलनमा आएको हुनुपर्छ । नेपाल र भारतबीच जारी धार्मिक र शैक्षिक आदानप्रदानले यस्तो अवस्था सृजना भएको हुन सक्छ ।

इस्वीको उन्नाइसौं शताब्दीका सुरुका वर्षहरूमा नेपालमा हिन्दु शब्दको प्रयोग धर्मको अर्थमा भएको छँदै थिएन वा एकदमै कम थियो । पृथ्वीनारायण शाहले लेखेका भनिएका केही पत्रहरूमा हिन्दु शब्दको प्रयोग भएको पाइँदैन । उन्नाइसौं शताब्दीको सुरुवाततिर गोवधविरुद्ध जारी धर्मसँग सरोकार राख्ने सरकारी आदेशहरूमा पनि हिन्दु शब्द प्रयोग भएको देखिँदैन । बरु सन् १८०५ मा राजा गीर्वाणयुद्ध शाहको पालामा जारी भएको जग्गासम्बन्धी एक आदेशमा एक जना ‘हिन्दु सुबेदार’ को उल्लेख गरिएको छ ! समकालीन दृष्टिकोणबाट हेर्दा ‘असली हिन्दुस्तान’ का एक व्यक्तिको नाम ‘हिन्दु’ हुनु एकदमै अस्वाभाविक लाग्छ । यसैगरी, ‘असली हिन्दुस्तान’ का राजा रणबहादुरले सेन राजालाई ‘हिन्दुपति’ भन्नु पनि अनौठो लाग्छ । सन् १८४० को दशकबाट भने हिन्दु शब्द आधुनिक अर्थमा सरकारी दस्तावेज र आदेशहरूमा प्रयोग भएको देखा पर्छ ।

उसोभए पृथ्वीनारायण शाहले वा उनीभन्दा अगाडिका सेन राजाहरूले हिन्दु शब्दलाई भौगोलिक विशेषणका रूपमा प्रयोग गरे होलान्, भारतमा जस्तै ? यो बिलकुलै सम्भव छ । र, यो अर्थमा शाहले आफ्नो भूमिलाई ‘असली हिन्दुस्तान’ भने । शाहले आफूलाई अगाडिका सेन राजाहरू वा दक्षिणी मैदानका राजाहरूभन्दा गतिलो भएको दाबी गर्न ‘असली हिन्दुस्तान’ शब्द प्रयोग गरेका हुन सक्छन् । यसैगरी सेन राजाहरूको राज्य दक्षिणको मैदानसम्म फैलिएकाले उनीहरूले भौगोलिक अर्थमा (भूपतिको रूपमा) आफूलाई हिन्दुपति भनेका हुन सक्छन् । तर, यो विषयलाई अर्को दृष्टिकोणबाट पनि हेर्न सकिन्छ ।

पश्चिमा लेखक र हिन्दु शब्दको प्रयोग

रमाइलो के पनि छ भने उन्नाइसौं शताब्दीका सुरुका दशकहरूमा लेखिएका पुस्तक र दस्तावेजहरूमा कृस्चियन मिसिनरी र अंग्र्रेज कूटनीतिज्ञहरूले नेपालमा ‘पवित्र’ र ‘शुद्ध’ हिन्दु धर्म भएको जिकिर गरेका छन् । मैले माथि उल्लेख गरिसकेँ– भारतमा यसै समयमा हिन्दु शब्दले धर्मको अर्थ दिन थालेको हो । नेपालमा (खासगरी काठमाडौं उपत्यकामा) देखिएका मठ मन्दिर, मानिसहरूको भक्तिभाव र जात्राहरू देखेर विदेशीहरूले त्यस्तो ठानेका हुन सक्छन् । उनीहरूले इस्लाम धर्मले प्रभाव नपारेका हुनाले पनि नेपालको हिन्दु धर्म उच्चकोटीको रहेको तर्क गरेका छन् । नेपालका इतिहासकारहरूले पनि शाहको असली हिन्दुस्तानको भनाइलाई यसरी नै अर्थ्याउने गरेका छन् ।

उसो भए पश्चिमा लेखकहरूको भनाइ र ‘दिव्य उपदेश’ मा शाहको भनाइ कसरी उस्तै हुन आयो भन्ने प्रश्न आउँछ । यो बिलकुलै संयोग पनि हुन सक्छ । तर, मैले माथि भनिसकेँ सन् १७७५ मा शाहको निधन हुँदा भारतमा समेत हिन्दु शब्दले धर्म नबुझाउने वा भर्खरै मात्र बुझाउन सुरु हुन थालेको थियो । यी दुई तथ्यहरूलाई सँगै राखेर हेर्दा ‘दिव्य उपदेश’ को ऐतिहासिकतामा प्रश्न उठाउन सकिन्छ ।

दिव्य उपदेशको ऐतिहासिकता र सामाजिक जीवन

उसो भए के ‘दिव्य उपदेश’ कसैको कल्पनाबाट सिर्जित रचना हो ? के कसैले जानी–बुझीकनै विदेशीहरूले कल्पना गरेको उच्चकोटीको हिन्दु धर्मको चित्रलाई दिव्य उपदेशमा घुसाइदियो ? यसको जवाफ सीधा र सरल छैन, तर यसलाई शंकाको दृष्टिकोणबाट हेर्न भने सकिन्छ ।

केही अध्येताहरूले राम शाहको समयमा जारी चर्चित ‘एतिहासिक’ दस्तावेजहरू उन्नाइसौं शताब्दीमा मात्रै लिपिबद्ध गरिएको बताएका छन् । दिव्य उपदेश कहिले लिपिबद्ध गरियो ? लिपिबद्ध गर्ने क्रममा भूल भयो ? यसको जवाफ इतिहासकारहरूले अहिलेसम्म दिएका छैनन् ।

पृथ्वीनारायण शाहका छोरा र खासगरी नाति ‘स्वामी महाराज’ रणबहादुर शाहको गतिविधि हेर्दा शाहको मृत्युलगत्तै असली हिन्दुस्तानको आदर्श (धर्मको अर्थमा) मानेको देखिँदैन । बरु, हिन्दु धर्मलाई सार्वजनिक रूपमा अपमान गर्ने र दिव्य उपदेशमा नगर्नू भनेका सबै काम गरेको देखिन्छ । शाहका सन्तानहरूलाई दिव्य उपदेश न दिव्य थियो, न उपदेश । पृथ्वीनारायण स्वयंले भारतका मुगल सम्राट्बाट ‘जमिन्दार’ को मान्यता पाउने प्रयास गरेका थिए । शाहको निधनपछि सरकारी आदेशहरू तथा दस्तावेजमा कतै पनि दिव्य उपदेशको चर्चा नगरिनु उदेकलाग्दो देखिन्छ । न त विदेशी लेखकहरूले नै यो दस्तावेज वा श्रुतिको चर्चा गरेको देखिन्छ । जब कि पृथ्वीनारायण शाहको नायकत्वलाई सबैले स्वीकार गरेका थिए ।

दिव्य उपदेशको सामाजिक जीवन र लोकप्रियता बुझ्न भने राजनीतिलाई हेर्नुपर्ने हुन्छ । इस्वीको बीसौं शताब्दीको सुरुका दशकहरूमा नेपालमा राष्ट्रवादको औपचारिक कथा बुन्ने प्रक्रिया सुरु भएको थियो । ठीक यसै समयमा ‘दिव्य उपदेश’ अचानक देखा पर्छ । यही समयमा उत्तरी भारतमा ‘हिन्दु राष्ट्रवाद’ को उदय भएको थियो र त्यहाँका राष्ट्रवादीहरूले हिन्दु नेपालबाट ठूलो आशा राखेका थिए । कसैलाई लाग्न सक्छ, संसारका अन्य देशहरूमा पनि दस्तावेजहरू लामो समयसम्म ‘हराएका’ र ‘भेटिएका’ छन् । सही हो र यो संयोग मात्र पनि हुन सक्छ । तर, फर्जी ऐतिहासिक दस्तावेजहरूको उदारहण पनि संसारभर नै पाइन्छन् । अन्य देशका केही चर्चित घटनामा राष्ट्रवादी र सत्यको खोजीमा लागिपरेका धार्मिक संस्थाहरूको संलग्नतामा फर्जी दस्तावेजको उत्पादन गरिएको पाइएको छ ।

‘असली हिन्दुस्तान’ को भनाइले खासगरी राणा शासनपछि राजाको शासन र गतिविधिहरूलाई देवत्वकरण र वैधानिकता प्रदान गर्न मद्दत पुर्‍यायो । राजा महेन्द्रलाई नेपाललाई हिन्दु राज्य घोषणा गर्न वैचारिक र वैधानिक आधारशिला दियो । र, यो नेपालको औपचारिक राष्ट्रवादको अभिन्न अंग बनेर रह्यो । राजा महेन्द्रकै पालामा यसलाई पटक–पटक मुद्रण गरेर व्यापक प्रचार गरियो र ‘कमन सेन्स’ बनाइयो ।

यसैगरी असली हिन्दुस्तानको भनाइ नेपालको जनजाति आन्दोलनका पक्षधरहरूमाझ पनि उत्तिकै लोकप्रिय छ । नेपालमा पृथ्वीनारायण शाहको पालादेखि ‘हिन्दुकरण’ गरेर अन्य संस्कृतिमाथि थिचोमिचो भयो भन्ने मान्यतालाई स्थापित गराउन दिव्य उपदेशमा उल्लेख भएको उक्त भनाइ प्रयोग गरिँदै आएको छ । यी दुवै समूहहरू असली हिन्दुस्तानको समकालीन अर्थलाई निःसंकोच स्वीकार गर्छन् । तर, हिन्दु शब्दको अर्कै ऐतिहासिक अर्थ पनि हुन सक्छ वा दिव्य उपदेश पूर्ण वा आंशिक रूपमा कसैले राष्ट्रवादको ‘पवित्र’ उद्देश्य राखेर रचना गरेको साहित्य पनि हुन सक्छ । दिव्य उपदेशमा उल्लिखित अरू घटना, पात्र र भनाइहरूलाई पनि शंकाको दृष्टिकोणबाट हेर्न सकिन्छ । तर, यो प्रसंग अर्कै समयका लागि ।

-बस्नेत नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र पढाउँछन् ।

प्रकाशित : पुस २४, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?