त्रिवेणीघाटको निशाचर- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवेणीघाटको निशाचर

पनौतीको त्रिवेणीघाटमा माघको पहिलो प्रहरबाटै छिर्दै छ, मकर मेला । १२ वर्षे कुम्भपर्वको स्वागतमा हात फैलाएर तमतयार छ, पनौती सहर । भक्तजनले महिनादिनसम्म रोसी र पद्मावतीको संगममा आस्थाको डुबुल्की मार्दै गर्दा यो घाट स्वयं भने एकपटक फेरि आफ्नै इतिहासले नुहाउनेछ । त्यो इतिहासले त्रिवेणीको कथा मात्र भन्दैन, यसैले सिञ्चन गरी बसाएको पनौती सहर, संस्कृति अनि विकसित मानव–समाजको पनि सविस्तार बयान गर्छ ।
दीपक सापकोटा

त्रिवेणीघाट मान्छेको जिन्दगीजस्तै छ– कहिले सरस, कहिले नीरस, कहिले उज्यालो, कहिले अँध्यारो, कहिले भाव, कहिले अभाव, कहिले गुलजार, कहिले सुनसान ! यो घाटका आफ्नै खुसी छन्, आफ्नै दुःख छन् ।

‘मकरमासमा त्रिवेणीमा दूध बग्छ !,’ ठिहिर्‍याउने माघमा अँगेनावरिपरि बसेका हामी भुरालाई हजुरआमा भन्नुहुन्थ्यो ।

प्रायः सपनामा म उत्तरप्रयाग र शचीतीर्थ पनि भनिने पनौतीको त्रिवेणीघाट पुगिरहेको हुन्थेँ । स्वप्नविचरणमा घाटको बगरमा दौडिरहेको हुन्थेँ । कहिले जलिरहेको चिताअघि टक्क उभिन्थेँ । अर्को क्षणमा देह भस्म भइसकेपछि पानी खन्याइएको भकारीबाट उड्ने बाफको अनौठो गन्ध सुँघिरहेको हुन्थें । कतिपटक म निशाचरझैं राति अबेरसम्म घाटको आसपास घुमिरहेको हुन्थेँ । मेरो आँखाअगाडि त्रिवेणीघाटमा पानीको सट्टा दूध बगिरहेको हुन्थ्यो । मलाई थाहा छ– सपनाको सन्देश हुन्छ, इतिहास हुँदैन ।


सन् २०२० । तस्बिर : प्रशान्त श्रेष्ठ

हजुरआमा भनिरहनुहुन्थ्यो, ‘माघ महिनाभर चल्ने मकर मेलामा त्रिवेणीघाटमा नुहायो भने सबै पाप नष्ट हुन्छन् ।’ विक्रमको २०५४ र २०६६ सालको मकर मेलामा पिताजीको पछि लागेर त्यहाँ पुगेको मैले पनि स्नान गरेको थिएँ । के म पापमुक्त भइसकेँ ?

हजुरआमासँग जिउँदै थिए जादूमय लोकका कथा, मिथक र किवंदन्ती– पुराना मान्छेबाट सुनेका वा गाउँघरमै बुनिएका । अनि अरूलाई (सायद नाति–नातिनालाई) सुनाउन जतनसाथ राख्नुभएको थियो कथाहरूको कुटुरो ! हजुरआमाले सुनाएका कथाको पछिपछि लागेर म निस्किएको छु मिथक र किंवदन्तीको यात्रामा !

धेरैपछि म उस्तै बाल्यभावमा यस घाटको एकछेउ उभिएको छु । कुनै बेला समयको लय व्यर्थ हुनेगर्छ । निकैबेरदेखि नदी बगिरहेको हेरिरहेछु ः बस् नदी त बगिरहेछ । सामुन्नेको कृष्ण मन्दिरका ‘देवता’ ले पनि नदी बगेको हेरिरहेका होलान् । जैविक आनन्द ओढेर मग्न रहनेहरुका लागि घाट र नदीको भाषा केही क्रूर जरुर हुन्छ, तर जीवनान्तर अस्तित्वको आराधना गर्नेका लागि त्यही वातावरणमा अनौठो मन्त्रमुग्धता हुन्छ । नदीको वेगमा प्रतिपल नयाँ कथाले जन्म लिन्छ । मस्तिष्कमा अभिलेख नभएका नयाँ ‘देवता’ ले पनि एकैछिनमै जन्म लिन्छन् ।

त्रिवेणी र पनौती सहरलाई जान्न शताब्दियौँ पुराना आख्यान र किंवदन्तीहरूमा प्रवेश गर्नुपर्छ । तिनमा इतिहास लुकेको छ र इतिहासलाई कब्जा गरिबस्ने राजाहरू यहाँ पनि छन् । तर, पनौतीमा राजाका मात्रै कथा छैनन्, प्रजाका परिश्रमका किस्साहरू पनि छन् । यहाँ आफ्ना तिलस्मी कथाहरू साधेर बसेका ‘देवता’ हरू पनि छन् । त्रिवेणीघाट जिन्दगी र मृत्युको एउटा साँघु हो, जसले अस्तित्व र अनस्तित्वको मैत्रीबाट बनेका रहस्यमय कथा–किंवदन्तीलाई आवागमन गराइरहन्छ ।

रोसी र पुण्यमाता नदीको यो जोड जीवन र मृत्युको संगम पनि हो । यी नदीको उद्गम पहाडबाट खसिरहेको कञ्चन झरना हो । निम्छरो घामको आड लागेर म हेरिरहेछु– पुण्यमाता मिसिएपछि झनै रौसिएको रोसी । रोसी त्रिवेणीघाटबाट थोरै पूर्व लागेर दक्षिणतिर सोझिएको छ । अलिकति पर पूर्वतिर पस्थली र खोपासीका फाँटहरूलाई काटेर यसले गहिरा खोँच बनाएको छ । खोँचमाथि परपरसम्म फैलिएको फाँटको डिलमा घामका पहेँला किरण नाचिरहेका छन् ।

काठमाडौंबाट ३२ किमि दक्षिणपूर्वको काभ्रे जिल्लामा पर्ने पनौती सहर र त्रिवेणीघाटबारे ‘नेपाल महात्म्य’ मा पनि लेखिएको छ । धार्मिक ग्रन्थहरूमा पनौतीको संगमस्थल इन्द्रकी पत्नी शचीका नामबाट शचीतीर्थका रूपमा स्थापित छ । स्थानीय बासिन्दा यसै घाटलाई त्रिवेणीघाट वा त्रिवेणीधाम भन्छन् ।


त्रिवेणीघाट– सन् १९७६ । तस्बिर : जेरार्ड तोफाँ

‘वासिङ सिन्स : द मेकर मेला पिल्ग्रिमेज अफ पनौती, नेपाल’ शीर्षक लेखमा फ्रान्सेली मावनशास्त्री जेरार्ड तोफाँ लेख्छन्, ‘स्थानीय वंशावलीहरूमा यो क्षेत्र भारत, अलाहबादस्थित गंगा, यमुना र सरस्वती नदीको संगमस्थल प्रयाग क्षेत्रझैं पवित्र मानिन्छ । भारतमा प्रयागको जति महत्त्व छ, त्यति नै महत्त्व त्रिवेणीघाटको नेपाली समाजमा छ । नेपाल महात्म्यमा त्रिवेणीघाटलाई १६६ मुख्य तीर्थस्थलमध्ये एकका रूपमा वर्णन गरिएको छ ।’ घाटको ठीक सामुन्नेमा छ– कृष्ण मन्दिर । पारिपट्टि छ– ब्रह्मायणी मन्दिर । यो अद्भुत घाटको सेटिङ, डिजाइन र किंवदन्तीको प्लटले कुनै पनि मानिसलाई मन्त्रमुग्ध पार्न सक्छ ।

पनौतीको त्रिवेणी त्यस्ता घाटमध्ये एक हो, जसले आफ्नो मात्रै कथा सुनाउँदैन, आफूले सिञ्चन गरी बसाएको पनौती सहर, त्यसको इतिहास, संस्कृति, देवस्थल अनि त्यहाँ विकास भएको मानव–समाजबारे सविस्तर बयान गर्छ । यो घाट इतिहासको परिधिमा रहेर पनि समयातीत छ ।

मकरमासका बखत त्रिवेणीघाटको नदीमा पानीको सट्टा दूध बग्ने मिथक–कथा ! घाटमा नुहाएपछि पाप नष्ट हुने विश्वास ! एउटा बालकले झैँ म कहिलेकाहीँ सोच्छु– के कुनै सुदूर अतीतमा यहाँ दूध बग्थ्यो ? लेखक कृष्णप्रकाश श्रेष्ठले ‘स्थाननामकोश’ मा लेखेका छन्, ‘मकरमासमा यस त्रिवेणीमा दूध बग्छ भन्ने जनधारणा छ (पृष्ठ. २३३) ।’

हुन पनि मान्छेको सभ्यता विश्वास, अविश्वास र अन्धविश्वासको त्रिवेणी हो । त्रिवेणीघाट त्यसको प्रमाण हो । कसैको विश्वास, कसैको अविश्वास त कसैको अन्धविश्वास हुनु सभ्यताको निरन्तर सत्य हो । यही सत्यका कारण सभ्यता कहिल्यै समान प्रवाहमा छैन । सभ्यता निर्द्वन्द्व कहिल्यै हुन सक्दैन, त्यसका द्वन्द्वका रहस्यहरूलाई धर्मले मेटाइदिन्छ । त्यसपछि प्रश्नहरू निरञ्जन–निराकार बनेर विलय हुन्छन्, जसरी विश्वास, अविश्वास र अन्धविश्वास सबै बोकेर मानिसको लर्को त्यहाँ पुगेर विलय हुन्छ ।

त्रिवेणी अन्यत्र पनि छन् । तर, यहाँको त्रिवेणीमा एउटा खास रहस्य त यसको नाममै छ । त्रिवेणी भनिए पनि यहाँ दुईवटा नदीको मात्रै संगम देखिन्छ– रोसी (लीलावती) र पुण्यमाता (पद्मावती) । तर, स्थानीय बूढापाका र तान्त्रिकहरू विश्वासका साथ भन्छन्– यहाँ तीनवटा नदी बग्छन् । त्यसो हो भने तेस्रो नदी किन देखिँदैन ? ‘इन्द्रायणीको तपस्याबाट प्रसन्न भएकी पार्वती नदीका रूपमा बग्न थालेको हुनाले रुद्रवती भनिएको अनुश्रुति छ । रोसी र पद्मावतीको संगममा मिल्ने अर्को नदीलाई गुप्तवती पनि भनिन्छ (स्थाननामकोश) । र, मानिसहरू भन्छन्– रुद्रवती अर्थात् गुप्तवती गुप्त रूपमा बगिरहेकी छिन्, जुन सतहमा देखिन्नन् । ‘पनौतीका प्राचीन कथाहरू’ किताबका लेखक तुयुकाजी ताम्राकार भन्छन्, ‘गौतम ऋषिकी सुन्दरी पत्नी अहिल्याको रूपजालमा फसेर स्वर्गका राजा देवराज इन्द्रले हजार योनि हुनुपरेको र त्रिवेणीघाटमा स्नान गरेपछि उनी श्रापयोनिबाट मुक्त भएको कथा पनि यहीँ जोडिन्छ ।’

अनुसन्धाता भोगीराज चाम्लिङका अनुसार, रोसी खोलाले किराती र काठमाडौंलाई जोडेको छ । भन्छन्, ‘किराती भाषाहरूमा र पूर्वी नेपालमा किरातीहरूको थातथलोमा नदीलाई कुसी/कोसी भनिन्छ, जसरी काठमाडौंमा नदीलाई खुसी (जस्तै, सामाखुसी) भनिन्छ । त्यसैले रोसीको आदिम शब्द सम्भवतः रोकुसी वा रोखुसी हो ।’

त्रिवेणीघाटछेवैको पनौती बजारभित्रका पुराना पाटीमा बसेर बूढापाकाहरू कथा हाल्छन्– ‘जवानीमा पेट्रोम्याक्स बोकेर रोसी खोलामा माछा मार्न जाँदा एकै छिनमा निकै माछा जम्मा हुन्थे । अहिले रोसीखोलामा माछा नै हराइसके ।’ त्रिवेणीघाट क्षेत्रको रेखदेख गर्ने स्थानीय रविनभक्त कर्माचार्यलाई लाग्छ, त्रिवेणीघाटका नदीमा अहिले पानी निकै घटेको छ । उनलाई सम्झना छ, पहिले–पहिले रोसी र पद्मावती मिसिएपछिको नदीको भेल हिउँदमा पनि तर्न नसकिने हुन्थ्यो ।

पनौतीमा हालसम्म ढिकीको प्रयोग नगरिने कथामाथि डा. सुमनराज ताम्राकारले ‘पनौतीका चाडपर्वहरू र मकरमेला’ किताबमा स्थानीय अनुश्रुति टिपेका छन्, ‘पनौतीलाई वासुकि नागले संरक्षण र वेष्टित गरेका छन् । त्यसैले राजा आएर यहाँ बास बस्नु हुँदैन । नागलाई चोट लाग्छ भनेर ढिकी नकुट्ने प्रथा छ । एउटै ढुंगामाथि पनौती अडिएकाले पनि यहाँ ढिकी राख्नु हुन्न भनिन्छ ।’ नागराजाको शान्ति भंग नहोस् भनेर मानिसहरू अद्यापि ढिकी प्रयोग गर्दैनन् भनी ‘स्थाननामकोश’ मा लेखिएको छ । भनिन्छ, जसरी पनौतीमा ढिकीमा धान कुटिँदैन उसैगरी काठमाडौंमा गोरु नारेर हलो जोतिँदैन । कृषि जीवनमा आधारित नेपाली समाजमा किन हलो नजोतिएको ? किन ढिकीमा धान नकुटिएको ? रहस्यकै गर्भमा छ ।

...

त्यस वर्ष हिउँदको सुरुमै आरुबखडा फुल्न थालेको थियो । त्यही हिउँदको कुनै एक दिन, रूखबाट भुइँमा झरेका आरुबखडाको फूल अञ्जुलीभरि लिएर म त्रिवेणीघाटतिर गइरहेको थिएँ । घाटमाथिका डाँडा अरूबेला अद्भुत–मनोरम हुन्थे । त्यस दिन ती विरक्तलाग्दा थिए ।

घाट किनारका नाङ्गा–चिसा रूख भुइँतिर हेर्दै मौनी साधिरहेका थिए । सुस्ताउँदै माघको मधुरो घाम तापिरहेको, हजारौँ वर्ष बूढो बजार नजिकैका दक्षिण–पश्चिमपट्टिका पनौती–वनका डाँडा धुलाम्मे मन्डी ओढेर घाट कुरिरहेकी जीर्ण कायाकी वृद्धाजस्तै देखिन्थे । पनौती–वनलाई वन कार्यालयको कागजमा ‘थलपुवन’ लेखिएको छ । बूढाहरू यो वनको किंवदन्ती सुनाउँछन्, ‘विराट राजाको गाईगोठ भनिने थलपुवनका रूखहरू फेदमा घिउ हालेर हुर्काइएका छन्, त्यसैले यहाँका रूखका दाउरा काँचै पनि बल्छन् ।’

नदीको वहाब जाँगर हराएको बटुवाजस्तै थियो । खरानी पखालेपछि बाफ उडिरहेको चिताको भकारीनेर एउटा रूखको हाँगामा बसेको काग उच्चाटलाग्दो सुरमा एकोहोरो काँ–काँ गरिरहेको थियो । ब्रह्मनालमा एउटी मृत्युन्मुख (मुर्मूष) पाको उमेरकी महिलाका गोडा डुबाइएका थिए । त्यहाँ पुर्‍याइएको एक छिनपछि उनले आफ्ना गहिरा इनारझैं आँखा बिस्तारै चिम्लिइन् । चिसो पानीमा डुबाइएका उनका जोर खुट्टा तनक्क तन्किए । त्यति नै बेला उनको देहाशेष भयो अर्थात् देहबाट आत्मा उडेर गयो ।

अन्यत्रका घाटहरूभन्दा त्रिवेणीको ब्रह्मनाल फरक छ भन्छन्, पनौतीका प्रेमबहादुर प्रधान (७२) । उनका अनुसार, त्रिवेणीघाटको यो ९ हाते ढुंगा काशीबाट ल्याइएको हो । ‘ढुंगामा सुनको जलप लागेजस्तै पत्र–पत्र छन्, जसमा सुनका स–साना कण देखिन्छन् ध्यान दिएर हेर्दा । पनौतीका कोही पनि मानिस घरमा मर्दैनन्, अन्तिम बेला नाडी हेरेर अनिवार्य घाट लगिन्छ र ब्रह्मनालमा राखिन्छ’, प्रधान भन्छन्, ‘त्रिवेणीघाट पनौतीका बासिन्दाको मात्रै होइन । वरपरका ३० गाउँबाट दाहसंस्कारका लागि शव ल्याइन्छन् । तर, बाहिरका शव पनौती बजारभित्रबाट ल्याउन पाइँदैन, नमोबुद्धतिर जाने सडक वा रोसीपारिबाट मात्र ल्याइन्छ ।’ काशीदेखि पनौतीसम्म त्यति गह्रुंगो ढुंगा बोकेर ल्याउने सम्भावना उति देखिँदैन । सायद यो रोचक किंवदन्ती हो ।

‘देह–विलय’ माथि इतिहासविद् योगेश राज लेख्छन्, ‘सबैभन्दा पहिले रक्तसञ्चार रोकिन्छ । श्वास–प्रश्वास प्रक्रिया अवरुद्ध हुन्छ । त्यसपछि मुटुले धुकधुक गर्न छोड्छ । अंग–प्रत्यंगमा रक्त–सञ्चार नभएपछि तथा बाह्य–तत्त्वलाई भित्र र भित्री मैलालाई बाहिर लान नसकेपछि जीवन शतत हुन सक्दैन । त्यतिबेला शरीरको सबैभन्दा कमजोर स्थानदेखि जीवनी–शक्ति हराउन थाल्छ । सबैतिरबाट तेज गुँडुल्किएर बसेको अहंकारमा अस्ताउँछ । जीउ चिसिन थाल्छ (सन्ध्या–संरचना– हिन्दुनेवारहरूको मृत्युचेतना, पृष्ठ.९५) ।’ किताबमा वर्णन गरिएको यस्तो मृत्यु प्रक्रिया मैले त्यस चिसो दिन त्रिवेणीघाटमा देखेको थिएँ, ब्रह्मनालमा जीवन बिसाइरहेकी एक वृद्धाको शरीरमा ।

जसरी मेरो अञ्जुलीको आरुबखडाको फूल एक छिनअघि रूखबाट भुइँमा झरेथ्यो, उसैगरी देहबाट ती वृद्धाको श्वास बाहिर निस्केर विशाल शून्यमा विलीन भएको थियो । मेरो अञ्जुलीबाट आरुबखडाको फूल पनि उसै गरी भुइँमा झरेको थियो, जसरी अघि रूखबाट झरेथ्यो ।

...

जान्नेहरू भन्छन्– मसानघाट नै यस्तो एउटा ठाउँ हो, जहाँ बलिरहेको चिताअघि मानिसहरू जीवन र मृत्युसँग जोडिएको शाश्वत सत्यसँग साक्षात्कार गर्छन् वा त्यसको महिमा–बोध गर्छन् । यसो पनि भन्छन्– यस दुनियाँमा भएका सबै वस्तु रंगहीन हुन्छन् । पानी, हावा, अन्तरिक्ष र पूरै जगत् रंगहीन छ । मचाहिँ ‘जीवन र मृत्युको महिमा–बोध’ गरिने घाटलाई खरानी रंगको देख्छु । चितामा डढेका लासबाट खरानी रंगको धूवाँका घना गुच्छा आकाशतिर बढ्छन् । खरानी अर्थात् हलुका सिलेटी, मृत्युको रंग हो, मसानघाटको रंग हो । हावाको पातलो झोक्काले पनि उडाउँछ चिता पखालेपछिको बाँकी खरानी । झरी परेको रात, बिहान र साँझ भेलले पखालेको खरानी नदीसम्म बगेर धमिलो पानीमा मिसिन्छ । मलाई चिता सबै अवस्थामा एउटै रंगको लाग्छ । यो रंग झरी परेपछि भने केही चहकिलो देखिन्छ । हावाको वेगमा अलि धमिलो । रातको नीरवतालाई चोइट्याउने सिरेटो, चट्याङको प्रकाशमय रात वा कुहिरिलो बिहान ! घाट श्वेत–श्याम रंग मिसिएर बनेको गाढा सन्ध्या रंगको देखिन्छ । अतः घाटको रंग अनौठो हुन्छ, खरानीको जस्तो या त मट्मैलो, ध्वाँसे ।

घाट कहिले बरफभन्दा चिसो हुन्छ, जस्तो– म पुगेको माघको त्यस दिन थियो ।

घाट कहिले औधी रापिलो हुन्छ, जस्तो माघको ठन्डीमा भर्खरै ब्रह्मनालमा देह बिसाएकी वृद्ध महिलालाई जलाएपछि हुन्छ ।

तर, हमेसा घाट देखिन्छ, शोकग्रस्त ।

घाट सदियौँदेखि मौन छ, आफ्नो छेवैबाट बगिरहेको नदीका छालहरूलाई हेर्दै बसिरहेको । अर्को किनारमा उभिइरहेको ब्रह्मायणी मन्दिर पनि घाटजस्तै छ चुपचाप ।

म पनौतीको यही त्रिवेणीघाट, ब्रह्मायणी मन्दिरवरपर हलुका कदमले डुलिरहन्छु ।

...

वर्षात्मा कस्तो हुन्छ त्रिवेणीघाट ? पनौती प्रवेशपछि सम्झनाको झटारो हान्दै पुराना स्मृतिले लखेटिरहन्छन् मलाई । बेस्कन उर्लेको थियो रोसी ! २८ वर्षअघि उत्कट वर्षाका बेला बनेपा जान आमाको पछिपछि कुशादेवीबाट पनौती आएको सम्झन्छु– त्यो मानौं ‘आरीघोप्टे’ झरी परिरहेको झमक्क हुनै लागेको साँझ थियो– घार्घार, झार्झार्, दर्दर, सिरसिर...! पिठ्युँमा निदाइरहेको भाइ बोकेर च्यारच्यार आवाज आउने सेतो प्लास्टिक शिरमा ओढेर हिँडिरहेकी आमा र बहिनीका कलिला हात समाएर आमाकै पछिपछि हिँडिरहेको म ! मानौं, मेरो दिमागमा पानीफोटो बनेर थपक्कै बसेको छ त्यो बर्खे साँझ ।

पनौतीमा उत्खनन गरिएको प्राचीन लायकुअघिको ढुंगा छापेको गल्लीमा टेकेका दिनहरूको स्मृति पनि छन् मसँग (इतिहासकार ज्ञानकाजी मानन्धरको किताब ‘बनेपा सातगाउँ’ मा लायकुलाई यसरी अर्थ्याइएको छ– लायकु भनेको राजकुल हो । लायकु शब्द मल्लशासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ) ।

कुशादेवीको एक सज्जनको घरको बुइँगलमा मकैका खोस्टाको डंगुरभित्र पुरिएको जीर्ण अवस्थामा फेला परेको थियो, भूपी शेरचनको किताब ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ । पाइन्टको पछिल्लो खल्तीमा गोलो आकारमा खुम्च्याएर राखिएको त्यस किताब घाम लागेको एक दिन त्रिवेणीघाटमा बसेर खोलेको थिएँ । नवयौवनाको बयान गर्ने ‘शुभ्र शान्त र स्निग्ध शिखा मैनबत्तीको’ यसरी मैले घाटमा बसेर पहिलोपटक पढेको थिएँ । भूपीसँग मेरो पहिलो परिचय यही घाटमा भएको थियो ।

म कुनै जोगी वा निशाचरझैं रात–साँझ बारम्बार पुगिरहेको हुन्थे– त्रिवेणीघाट, यहाँका नसा छाम्न ।

मकरमासमा धुनी जगाएर रातैभर जाग्राम बस्ने निशाचरहरू पनि महिनैभर त्रिवेणीघाटमै भेटिन्छन् । साताअघिको यो चिसो पुसमा म फेरि बाल्यकालको स्मृतितिर पस्दै त्रिवेणीघाट र पनौतीका पुराना गल्लीतिर डुलिहिँडे । २८ वर्षअघि पहिलो पाइला टेकेको लायकु दरबारको ठ्याक्कै अघि अहिले खुलेको छ– क्याफे लाम्पाटी । प्राचीन बजारको ढुंगा छापेको पुरानो गल्लीमा खुलेका छन्– अन्य ‘लिकर सप’ ।

भूपीको कविता पढेका ती दिनमा घाटकिनारको पाटीमा एउटा पुरानो किसिमको बिग्रेको घडी झुन्डिएको हुन्थ्यो । त्यसले पनि समय त दिइरहन्थ्यो– थाहा छैन, त्यो घडीले दिने समय गलत थियो वा सही ! अहिले भित्तामा त्यो घडी थिएन । गर्जिरहेको बाघको अनुहार खोपिएका ढुंगाबाट तिरतिराउने सदियौं पुराना थुप्रै ढुंगेधारा अहिले पनि छन् यहाँ । तर, ती धाराबाट विरलै पानी आउँछन् । पाटीमा भजन चलिरहेकै छ । र, अहिले पाटीमा एक जोगी बस्छन्, २४ घण्टै धुनी जगाइरहेका । उनी रातैभर घाटवरिपरि डुली हिँड्छन् मकरमासका नयाँ निशाचरजस्तै । पुराना एल्बम पल्टाउँदा देखिन्छन्– २० वर्ष पुराना तस्बिर, जसले पनौतीको पुरानो कथा भनिरहेको छ । पुराना मानिस छन् तस्बिरमा, सायद कत्तिको यस सहरमा अब कुनै चिनो बाँकी छैन । त्रिवेणीघाट पनि कैद छ तस्बिरमा– फ्रोजन भएको छ त्यो !

...

पनौती बजार हुँदै त्रिवेणी घाटसम्म पुग्ने बाटोवरपरका चोक–डबली, ढुंगेधारा, पाटीपौवाले मुक उद्घोष गरिरहेका छन्– पनौती शताब्दिऔँ पुरानो बस्ती हो । घाटका भर्‍याङ, वरपर उभिएका पाटी र तिनका भित्तामा कुँदिएका अनेक देवताका अनेक मुद्राका अनेक कला सबैमा एकतमासको प्राचीन ध्वनि अनुगुञ्जित छ । एकछिन प्रवेश गरौं पनौतीको इतिहासमा ।

महाभारत पर्वत शृंखलाको उत्तरी काखको यस नगरलाई विभिन्न कालमा विभिन्न नामले पुकारियो– ‘पूर्णमती’, ‘अश्मपुर’, ‘पूर्णवती’, ‘पुण्यवती’, ‘पानवती’, ‘पाञ्चाल’, ‘पाञ्चाल देश’, पुण्यावतीपुरी’, ‘पलाँती’, ‘पनाती’,‘पनौती ग्राम’, ‘पनौती’ ।

केही किंवदन्ती भन्छन्– राजकुमार महासत्त्वको पाञ्चाल देश नै पुण्यवती हो र यसैको अपभ्रंश भएर पनौती नाम रहेको हो । महासत्त्वले आफ्नो शरीरको रगत–मासु खुवाएर एउटी भोकी बघिनी र उसको डमरुको प्राणरक्षा गरेको आख्यान बौद्ध–साहित्यमा प्रचलित छ । पनौतीबाट ५ किलोमिटरजति सीधा पूर्वमा पर्ने नमोबुद्धको स्तूप महासत्त्वकै अस्तुमाथि उभिएको भनिन्छ ।

‘पनौतीको अगलबगलका बनेपा र खोपासी अहिलेभन्दा १४ सय वर्षअघि नै विकसित अवस्थामा आइसकेका थिए भन्ने लिच्छविकालका अभिलेखबाट बुझिन्छ’, इतिहासकार महेशराज पन्त भन्छन्, ‘पनौती त्यसै कालखण्डमा विकसित भइसकेको थियो भन्ने अनुमान गर्न सकिन्छ । पौने ६ सय वर्षअघिदेखि हामी पनौतीको उल्लेख तात्कालिक अभिलेखहरूमा भएको पाउँछौं ।’

राजा अंशुवर्मा प्रशासनलाई केन्द्रमुखी मात्रै बनाउन चाहँदैनथे । त्यसैले काठमाडौंबाहिरको खोपासी प्रदेशका जनतालाई सानातिना मुद्दा–मामिलाको छिनोफानो गराउनुपर्दा राजकुलको द्वारसम्म धाउनु नपरोस् भनी केही अधिकार स्थानीय अगुवालाई नै दिएको राजाज्ञा जारी गरेका थिए उनले । खोपासीमा भेटिएको अभिलेखबाट यही कुरा प्रस्ट हुन्छ (धनवज्र बज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठ. २७४) ।

‘स्थाननामकोश’ अनुसार, राजा आनन्ददेवले बनेपाबाट ६ किलोमिटरजति दक्षिण–पूर्वतिर पुण्यवती र रोशमतीको मध्यभागमा कलिगत संवत् ४१९७ (विसं ११५३) मा आसपासका गाउँहरू मिलाएर सात सय घरधुरीको बस्ती बसाएका थिए । (आनन्ददेवको शासनकाल विसं १२०३–१२२४ मानिन्छ । त्यसैले उनले विसं ११५३ मा सात सय घरधुरीको बस्ती बसाए भन्ने मिति इतिहासको तथ्यसँग बाझ्छ ।)

ज्ञानकाजी मानन्धरले पनौतीको निर्माण आनन्ददेवले गरेको लेखेका छन्, ‘चार दिशामा चार दिक्पालहरू अनि अष्टमातृकाले परिवेष्टित, कलिगत संवत् ४१९७ मा राजा आनन्ददेवबाट निर्मित यो सहर अति पवित्रस्थल हो । काभ्रेमा अहिले पनि बृहत्तर पनौती क्षेत्रलाई ‘सात सय पनौती’ भन्ने चलन छ । किनभने राजा आनन्ददेवले त्यतिबेला सात सय घरको पनौती सहर निर्माण गरेका थिए ।’ (बनेपा सातगाउँ, पृष्ठ. ९०) ।’

सूर्यप्रसाद लाकोजू भने ज्ञानकाजीभन्दा भिन्न मत राख्छन् । आनन्ददेवले ती सात गाउँको निर्माण होइन, एकीकरण मात्र गरेको उनको विचार छ । ‘पनौतीको स्थापना आनन्द मल्लले गरेको भनिए पनि त्यसभन्दा धेरैअघि नै नगर–बस्तीको रूपमा पनौतीको विकास भइसकेको थाहा हुन्छ (पनौती, पृष्ठ. ६८) ।’

‘प्राचीन नेपाल’ किताबमा साफल्य अमात्यले पनि आनन्ददेव (मल्ल) को कथनलाई सत्य मान्न गाह्रो मानेका छन् । ‘पनौती आसपासका गाउँहरू– खोपासी, बनेपा आदिमा लिच्छविकालीन शिलालेखहरू प्राप्त भएबाट यो प्रमाणित भइसकेको छ कि ती गाउँहरू लिच्छविकालदेखि नै बसोबास तथा गुलजार थिए (पृष्ठ. १०९) ।’

इतिहासकार केदारनाथ प्रधानले चाहिँ पनौती प्रागैतिहासिक कालदेखि मानव सभ्यताको थलो रहेको जनाएका छन् । उनका अनुसार, आनन्ददेवको समयमा पनौतीको स्थापना भएको कथन मान्न कठिन छ । ‘किनभने पनौती वरिपरि– खोपासी, बनेपा, नाला, साँगामा लिच्छविकालीन अभिलेख पाइएका छन् । तेह्रौं शताब्दीदेखि नेपालको इतिहासमा देखिएका ‘भ्वन्तश्री’ (बनेपाली) राजवंशको बोलवाला भएको चौधौं शताब्दीताका बनेपा–इलाकाको सामन्त–शासक रामवर्द्धन परिवारको मूलघर पनौती थियो भन्ने दाबी गरिएको छ (बनेपाको ऐतिहासिक रूपरेखा, पृष्ठ. ३) ।’ प्रधानले पनौती, खोपासी र नजिकैको बल्थलीमा करिब ७ हजार वर्षअघिका ढुंगाका कोदालो, बन्चरो र हँसियाजस्ता हतियार भेटिएको लेखेका छन् ।

२०७७ भदौमा पनौतीमा एक प्राचीन मूर्ति भेटियो । पुरात्तत्वविद्हरूका अनुसार, त्यो मूर्ति कम्तीमा २२०० वर्ष पुरानो हो । ‘ठेट प्रमाण नभए पनि उक्त मूर्ति महिलाको आकृतिजस्तै देखिन्छ । बिहारस्थित पटना संग्रहालयको एक मूर्तिसँग त्यो मूर्ति धेरै समान रहेकाले यसलाई पहिलो शताब्दीतिरको आकलन गरिएको हो । पनौती निकै प्राचीन बस्ती हो भन्ने कुरा यहाँ भेटिएको मूर्तिले बताउँछ,’ सुमनराज ताम्राकार भन्छन् । त्यसैले भन्न सकिन्छ, पनौती कम्तीमा पनि २ हजार वर्ष पुरानो सहर हो ।

केदारनाथ प्रधानले मल्लकालको पनौतीको इतिहासलाई फरक ढंगले प्रस्तुत गरेका छन् । लेख्छन्, ‘भक्तपुरका युवराज भूपतीन्द्र मल्ल सानै छँदा कान्छी आमा र दरबारको भाजुकस मिलेर हत्याको षड्यन्त्र रची उपत्यकाबाहिर लगी मार्नू भनी हत्यारालाई खटाए । तर, उनीहरूले मारेनन्, पनौती नजिकैको कुशादेवीको जंगलमा छोडेर फर्किए । दाउरा खोज्न गएका मानिसले बालकको उद्धार गरे र पनौतीका राजप्रतिनिधि सरदारलाई जिम्मा लगाए । सरदारले बालकको पहिचान गरे र पनौतीको गद्दी उनैलाई सुम्पिए । भूपतीन्द्रले पछि भक्तपुरमा आक्रमण गरे र गद्दी हात पारे । भूपतीन्द्रले नै ब्रह्मायणीको मन्दिर स्थापना गरे । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जित्नुअघि विसं १८२२ तिर पनौती गोरखाको हात परेको थियो, तर सो भेगका तामाङहरूको समर्थन जित्न नसकेको पृथ्वीनारायणको पत्रले भन्छ (पनौतीको ब्रह्मायणी जात्रा, पृष्ठ. ६) ।’

महेशराज पन्तको लेखमा भने पृथ्वीनारायण शाहले पनौती विजय गरेको मिति फरक छ । उनी लेख्छन्, ‘झन्डै ५०० वर्षअगाडि मल्लहरूको राज्य पनि टुक्रियो र यहाँ बनेपा, काठमाडौं, भक्तपुर र पाटन यी ४ राज्य खडा भए । बनेपामा स्वतन्त्र राज्य खडा भएपछि बनेपासँगै रहेको पनौती पनि बनेपाली राज्यको अंग बन्न पुग्यो । तर, बनेपाली राजवंश छिट्टै निःसन्तान भएकाले बनेपा राज्यसँगैको गोतिया राज्य भक्तपुरमा मिल्न गयो र पनौती पनि भक्तपुरकै अंग भई विसं १८२० सम्म रह्यो । विसं १८२० कात्तिक ११ गते पृथ्वीनारायण शाहको सेनाले पनौती विजय गरेपछि पनौती नेपाल राज्यको विशाल अंग हुन पुगेको थियो । (जनैपूर्णिमादेखि रानीपोखरीसम्म, पृष्ठ. ३५) ।’

इतिहासविद्हरूको विश्वास छ– पनौतीको प्राचीन थलो पनौतीभन्दा पश्चिमको जेना वा जेलाँदे भन्ने ठाउँमा थियो । केदारनाथ प्रधानले लेखेका छन्– ‘मल्लकालको पूर्वार्द्धको अन्त्यतिर जेलाँदेमा उडुस, उपियाँहरूले सार्‍है दुःख दिएका कारण त्यहाँका सबै बासिन्दाहरू पुरानो थलो छोडी हालको थलोमा बसाइँ सरे । जेलाँदेको त्यस प्राचीन थलोमा अझै मूर्ति तथा मुद्राहरू पाइन्छन् ।’

मल्लकालको पनौतीबारे ज्ञानकाजी मानन्धर भन्छन्, ‘मल्लकालका लागि पनौती क्वाठ (सिपाही राख्ने ठाउँ) थियो । उत्खननमा यहाँ चारैतर्फ चारवटा इनार फेला परेका थिए ।’

इतिहासविद्हरूले लिच्छविकालका अंशुवर्माको जन्म पनौती क्षेत्रस्थित खोपासीमा भएको अनुमान गरेका छन् । बनेपा सातगाउँ (बनेपा, पनौती, धुलिखेल, नाला, साँगा, श्रीखण्डपुर र चौकोट) मा बसी भोटान्त प्रदेशमा नीलिम वर्मादेखि वसन्त वर्मासम्म जम्मा ४८ जनाले शासन गरेका थिए । पछि विसं ६५० तिर यस भेगका प्रशासक महासामन्त अंशुवर्माले ‘महाराजधिराज’ (बनेपा दक्षुटोलको गोरखनाथ मन्दिरनेरको अभिलेखअनुसार) उपाधि लिएका थिए (श्यामसुन्दर राजवंशी, भोँतः देशका सात गाउँ र त्यहाँका अभिलेखहरू, बनेपा सातगाउँ– स्मारिका) ।’

साफल्य अमात्यले लेखेअनुसार, पनौतीका रामवर्द्धन परिवार सामन्तमध्ये एक थिए । र, पन्ध्रौं शताब्दीमा रामवर्द्धन परिवारले पनौतीवरपर मात्र होइन, सम्पूर्ण नेपाल उपत्यकाको शासन व्यवस्थामा ठूलो भूमिका खेलेको थियो । ‘करिब ६०–६५ वर्षजति नेपाल उपत्यकाको राजनीतिमा पनौतीका रामवर्द्धन परिवारका सामन्तको बोलवाला चल्यो । जयज्योति मल्लका छोरा यक्ष मल्लको उदय (विसं १५१०) सँगै रामवर्द्धन परिवारको इतिहास पनि टुंगिएको छ । यक्षका अगाडि सामन्य रामवर्द्धन परिवारका सदस्यहरू टिक्न सकेनन् र तिनीहरूको दबदबा त्यहीँ बिलाएर गयो ।’ (‘प्राचीन नेपाल’ पृष्ठ. ११०) ।

...

यो सांस्कृतिक सहरमा जसरी जीवनका धेरै विविधता भेटिन्छन्, उसैगरी यहाँबारे कतै अभिलेख नभएका अनेकौँ किंवदन्ती र किस्साकहानी यस भेगका बूढापाकाहरूको स्मृतिमा संगृहीत छन् । किंवदन्तीहरूमा विश्वास गर्नुपर्छ भनेर होइन, तर तिनलाई सांस्कृतिक सम्पदा ठानेर जगेर्ना गर्ने हेतुले त्यस्ता केही जनश्रुतिलाई अभिलेखमा राख्न लिपिबद्ध गरिँदै छ ।

त्रिवेणीघाटनजिकै घर भएका प्रेमबहादुर प्रधानको मस्तिष्कमा यस तीर्थबारे अनेक किंवदन्ती–किस्साहरू खाँदाखाँद छन् । जान्ने भएदेखि हरेक बिहान त्रिवेणीघाट पुगेर नुहाए, ०४१ सालसम्म । त्यसपछि त्यो रुटिनमा ब्रेक लाग्यो । भन्छन्, ‘त्रिवेणीघाट त ऋषिमुनिहरू नुहाउने ठाउँ हो ।’

मैले हजुरआमाबाट सुनेको जनश्रुति उनले पनि सुनाए, ‘मकरमासमा त्रिवेणीमा दूध बगेको कुरा मैले सानो छँदा सुनेको थिएँ, बुबाबाट । मैले देख्न पाइनँ । त्रिवेणीमा दूध बगे देशमै सहकाल आउँछ भन्नुहुन्थ्यो बुबा, अनि रगत बगे देशमै अनिष्ट हुन्छ भन्नुहुन्थ्यो ।’ प्रधान सुनाउँछन्, ‘पद्मावती रातो भएर बगेको मैले आफ्नै जीवनकालमा देखेँ, २०२८ सालमा । सबैले राजा मरे भने । हामी सबैले अचम्म मानेर हेरिरह्यौं । माथिबाट बगेको रातो नदी नागदह पुगेपछि सङ्लो भयो ।’ उनले बुबाले सुनाएकै अनुश्रुति दोहोर्‍याए, ‘नागदहमा बसेका नागले रगत सोस्छन् ।’

‘त्रिवेणीघाटको कृष्ण मन्दिरसँगै संकष्टनारायण देवताको मूर्ति छ’, प्रेमबहादुर जनश्रुति सुनाउँछन्, ‘उहिले ती देवतालाई सुत्केरी हुन लागेकी महिलाका आफन्तजनले तोरीको तेल चढाउँथे । चढाइएको तेल दाहिनेतिर बगे छोरा हुने विश्वास गरिन्थ्यो, देब्रेतिर बगे छोरी । बीचबाट तेलको धारा बग्यो भने गर्भमा संकट आउँछ भनिथ्यो र यथार्थमा हुन्थ्यो पनि त्यस्तै । अब त्यो चलन हराइसक्यो ।’

आस्थाको पछाडि लागेर मानिसहरू मकरस्नान गर्न यो घाटसम्म आइपुग्छन् । पछिल्लोपटक २०६६ मा धुमधामसँग यहाँ मकर मेला लागेको थियो । अरू बेला प्रायः शान्त हुने सहरमा यस वर्षको (माघ–१) को मेलापछि भीडभाड र कोलाहल निकै बढ्नेछ । तर, महामारीको मौसममा कुम्भमेला उस्तै भव्य होला ?

त्रिवेणीघाटनेरैको इन्द्रेश्वर मन्दिरको हाताभित्र दक्षिणपट्टि उन्मत्त भैरवको मन्दिर छ । मन्दिरको टुँडालको कलाकारिता पनि शानदार छ । यहाँ युगलमूर्ति प्रशस्तै छन् । तर, ती कुनैमा कामकला खोपिएको छैन । प्यागोडा शैलीमा बनेको तीनतले इन्द्रेश्वर मन्दिरको स्थापना कहिले भयो भन्नेमा पन्तको खोजबिन छ– कम से कम साढे ६ सय वर्षअगाडि । उनी भन्छन्, ‘जयसिंहरामको पालाको एउटा शिलालेख पढ्दा उनले इन्द्रेश्वरको मन्दिरमा सुनको गजुर र ध्वजा चढाएका थिए भन्ने थाहा हुन्छ । जयसिंहरामको सम्झनामा राखिएको पनौतीको ताम्रपत्रमा विसं.१४५७ मा जयसिंहरामको मृत्यु भएपछि इन्द्रेश्वर महादेवलाई चतुर्मुख सुवर्णकोष चढाइयो भनिएको छ ।’

त्रिवेणीघाटको पाटीमा चारैतिर भव्य चित्र कोरिएका छन्– मत्स्य, कूर्म, बराह, नरसिंह, वामन, पर्शुराम, राम, कृष्ण, बुद्ध, कल्कि अर्थात् विष्णुका दस अवतार । चित्रहरूका रंग खुइलिएका छन् र ती उप्किने तरखरमा छन् । रविनभक्त कर्माचार्य पाकाबाट सुनेका कथा सुनाउँछन्, ‘यी चित्र डेढ सय वर्षअघि भक्तपुरका एक कलाकारले बनाएको इतिहास पाइन्छ । सुनेअनुसार ती कलाकारका आँखा थिएनन् ।’ केदारनाथ, मुक्तेश्वर, संकष्टनारायण, चार नारायण, कृष्ण, सूर्यनारायण, तुलानारायण, अहल्या शिला, शिवलिंग र ढुंगामा कुँदिएका अन्य कलात्मक मूर्तिले त्रिवेणीघाट एक खुला संग्रहालयजस्तो लाग्छ ।

...

पनौतीको इतिहास, मिथक र आख्यानको केन्द्रबिन्दुमा त्रिवेणीघाट नै आउँछ । ज्ञानकाजी भन्छन्, ‘यो घाटले किंवदन्तीमा कति महत्त्व राख्छ भने पशुपतिका विरूपाक्षलाई पापमोचनका लागि नेमुनिले त्रिवेणी गई स्नान गर्न सुझाएका थिए भनी संस्कृतमा लिखित ठ्यासफूमा उल्लेख छ ।’

महेशराज भन्छन्, ‘यी सबै कथा केवल पुराण हुन्, इतिहास होइनन् ।’

त्रिवेणीमा दूध बग्ने कथा केवल किंवदन्ती हो, इतिहास होइन । यस्ता मिथक–कथाहरू हजुरआमाहरूसँगै बाँच्छन्, उनीहरूले अर्को पुस्तालाई सुनाउँछन्, जसरी नदीमा दूध बग्ने कथा मेरी हजुरआमासँगै बाँच्यो र त्यो अहिले मसँग पनि अलिअलि बाँचिरहेको छ ।

प्रकाशित : पुस २४, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

शरद बनेपाको खोजी

कवि मोहन दुवालको कवितासंग्रह ‘चुलिजाःगु स्वां’ ९२०२३० माथि जनकवि दुर्गालाल श्रेष्ठले लेखेका छन्, ‘यस कोपिलाबाट भोलि फक्रिनेछ फूलको सक्कली कथा ।’ दुवाललाई सम्पादक मात्रै भनेर चिन्नेहरू छन्, प्रखर समालोचक मात्रै भनेर चिन्ने पनि छन् र शिक्षक भनेर चिन्नेहरू पनि छन् । असलमा उनी शब्दसाधनाका एउटा शिल्पी हुन्, अपेक्षारहित । जीवनमा जुन मोड आयो त्यही मोडलाई कदर गर्ने, नियतिले जे दियो त्यसैको आस्वाद लिने र समयले जे दिन्छ त्यसलाई सौगात ठानेर स्वीकार गर्ने शान्त, स्निग्ध र शुभ्र !
दीपक सापकोटा

बनेपास्थित पुस्तैनी घरको छिँडीमा मोहन दुवाल (७२) म्हः पूजा गरिरहेका थिए । कोठाको बत्ती मधुरो थियो र परिवारका सबै लहरै पलेंटी कसेर मण्डल सामुन्ने बसेका थिए । कोठामा प्रत्येक सदस्यका लागि फरकफरक मण्डलहरू फल, धूप र फूलले सजाइएका थिए ।

म्हः पूजा सिद्धिनेबित्तिकै दुनोको दही सुरुप्प पारेर कपडामा टाँसिएका गोदावरीका पातसहित दुवाल जुरुक्क उठे । छिँडीकै ‘जनमत’ को डेस्कमा गए र प्रेस पठाउन तयार पारिएको ‘जनमत’ को प्रिन्टआउट सम्पादन गर्न थाले । दुवालको सम्पादनमा ३३ वर्षदेखि निरन्तर छापिइरहेको उक्त प्रिन्टआउट ‘जनमत’ को २८९औं अंक थियो ।

दुवाल मेरै अगाडि थिए, तर जब हुँदैनन् र म उनलाई सम्झिन्छु, तब मेरो कल्पनामा फुर्फुर झरिरहेको हिउँले छोपिएको जमिनमा एकसुरले हिँडिरहेको एक्लो मान्छेको चित्र आउँछ । उनी नयाँ अंकमा एकाग्रचित्त भए, मेरो मस्तिष्क भने पुराना सम्झनाका सडकमा ओहोरदोहोर गर्न थाल्यो ।

...

हठात् बनेपा बजारमास्तिर नयाँबस्तीमा खेतका विराट फाँट याद आयो । त्यही फाँटमा फाट्टफुट्ट घर, घरको लस्करमा रहेको मेरो स्कुल ।

स्कुलमा कविता प्रतियोगिता भइरहन्थ्यो । म कविताजस्तै केही लेख्थेँ । साथीहरू धाप मार्थे । म पुलकित भएर प्रतियोगितामा सामेल हुन्थेँ, तर पुरस्कृत अरू नै हुन्थे । र, घर फर्किन धक लाग्थ्यो । आफूसँग खिन्न हुन्थेँ वा आफूलाई झुर लागेका कविता पुरस्कृत भएकोमा मुर्मुरिन्थेँ– त्योचाहिँ याद छैन ।

ओइलाएको अनुहार लिएर इँटा छापिएका गल्ली हुँदै मयूर सिनेमाहलतिर डोरिन्थेँ, मोमोको बास्नाले पछ्याउँथ्यो । म भने मध्याह्नदेखि साँझैसम्म नजाने कुन औडाहा बोकेर ओहोरदोहोर गरिरहन्थेँ । गर्धनमा धर्के टाई लगाएको कलिलो र न्यास्रो श्वेतश्याम अनुहार अहिले सम्झिन्छु, त्यो मेरै थियो ।

तरंग फेरि प्रतियोगितामै पुगेको छ । सम्झिन्छु– काँचो इँटाले घेरिएको स्कुले चौरमा र स्कुलबाहिर फरकफरक कविता र वक्तृत्वकला प्रतियोगिता । प्रमुख निर्णायकमा चाहिँ एउटै अनुहार हुन्थ्यो, मोहन दुवाल । हातमा किताब वा पत्रिका र ओठमा उबेलाको फिल्टर चुरोट च्यापेर बनेपा बजारका साँघुरा गल्लीमा हिँडिरहने एक पुरुष थिए ती । प्रतियोगिताबाट विरक्तिएको मेरो मन ती पुरुषतर्फ भने सम्मोहित हुन्थ्यो । कारण थियो प्रतियोगितापछि तिनै पुरुषले मन्तव्य दिने तरिका । उनी बडो शालीन शैलीमा कवि र कविताबारे लामो समय बोल्थे । उनको बोलाइले मलाई मोहित तुल्याउँथ्यो ।

...

‘जनमत’ मा अल्झिएका दुवाल अघिल्तिरको भित्तामा टाँसिएका छन् विभिन्न नेपाली साहित्यकारका तस्बिर । र, त्यही लहरमा छ– कार्ल मार्क्सको तस्बिर पनि । बनेपाको त्यो कुन गल्ली थियो, जहाँ दुवाल मार्क्सवादका सिद्धान्त पढ्दै दिन बिताउँथे ? त्यो थियो– बनेपा भोलाखा टोलको पुरानो गल्ली, जहाँ उनका पिता गणेशबहादुरको कपडा पसल थियो । जो आफ्नो जमानामा बनेपाका नामूद व्यापारी थिए । ‘एकबाते साहु’ भनेर कहलिएका उनी एकबेला कार्यवाहक प्रधानपञ्च पनि भएका थिए । उनी तुलसीमेहर र सरदार भीमबहादुर पाँडेका करिबी मित्र थिए ।

बनेपाको व्यापारिक गौँडामा, जहाँ दुवाल बस्छन्, त्यो उनको बाजेले बनाएको घर हो– र, यही घर हो अहिले पनि कविता, संस्मरण लेख्ने उनको थलो । यही थलोमा पुरानो बनेपाको तस्बिर उनको स्मृतिमा ओहोरदोहोर गर्छ । दूरदूरका गाउँहरूबाट उनको यही टोलमा कपडा, नुन, तेल लिन मानिसहरू आउँथे र भीड बन्थ्यो । पुरानो घरको पुरानै झ्यालमा बसेर उनी सम्झिन्छन्, ‘नुन–तेलको भारी बोकेर गइरहेका मानिसहरूको लस्कर टाढाटाढासम्म देखिन्थ्यो ।’

राजमार्गको उत्तर चण्डेश्वरीतिर हिँड्ने बाटो समातेपछि छोइने बनेपाको बजार उहिल्यैकै चिनो हो । तर, अहिले हेरी उबेला यो बजारको शान भिन्नै थियो । ‘अरनिको राजमार्ग बनेपछि मात्रै यहाँको बजार फैलिएको हो,’ उनी भन्छन्, ‘पहिले पूर्वबाट पैदल काठमाडौँ जाने बाटो योबाहेक अर्को कुन थियो र ? बनेपा हुँदैहुँदै काठमाडौँ जान्थे मान्छेहरू ।’

...

भोलाखामै बित्यो दुवालको जीवनको अधिकांश अंश । समयको क्यानभासमा बनेपाको बद्लिँदो तस्बिर सिनेमाको रिलजस्तै घुमिरहन्छ उनको स्मृतिमा । झमझम झरी परिरहेका साँझहरू, गर्मीका उखरमाउला दिनहरू, स्याँठ चलेका बिहानहरू सबै भोगेको छ यस सहरले, र कैद छन् ती दुवालका स्मृतिमा पनि । सम्झनाको मयूरप्वाँखले उनलाई एकान्तमा गरिरहन्छ मृदु स्पर्श र कतिपय क्षणमा उनको स्मृतिको बादलमा झुल्किन्छ– उनकै अनुहार ।

यही बजारमा रमाए उनी– रैथाने जात्रा–पर्वमा, यही सहरमा पढे उनले– महाभारत, कुरान, बाइबल र कम्युनिस्ट मेनिफेस्टो । १ रुपैयाँ टिकट काटेर यही सहरको मयूर सिनेमाहलमा हेरे उनले– साँच्चैजस्तो लाग्ने मानव संवेदनाका कथा–कहानी । यही सहरमा सुने उनले– लामो सुइरोजडित पानासोनिक जापानी रेडियोमा– ‘यो रेडियो नेपाल हो ।’ धरहरा र घण्टाघरको ब्याकड्रप भएको स्टुडियोमा पहिलो पटक यहीँ खिचाए तस्बिर ।

समयको चेतनामा यो सहर डुब्दै, उत्रिँदै गरेको देखेका छन् उनले । सहरका पुराना दरबार, पुराना पुस्तकालय, बाजे–बराजुले बनाएका धारा, कुलो, पाटी र यही सहरमा सुनेका मिथक, कथा र गीत उनका सम्झनामा आउँछन्, आएर/फर्किन्छन् । यो सहरमा आएको सातसाले प्रजातन्त्र, माटो सुहाउँदो पञ्चायत, पुनःस्थापित प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र उनकै जीवनकालमा सम्पन्न भएको छ । तर, यो सहरको किनारामा टहराछेउ बसेर माछा बेच्ने बूढा हाजीहरू कहाँ छन् ? उनी सम्झन खोज्छन् । नीला–पहेँला रङ खुइलिएका पुराना डिजाइनका थोत्रा मिनिबसमा चढिरहेका–ओर्लिरहेका यात्रीहरू कहाँ गए ? उनी सम्झन खोज्छन् । ७० वर्ष पुरानो सहरको तस्बिर उनको मुदित नयनमा झुलुक्क देखा पर्छ– र निमेषमै बिलाउँछ ।

अब सहरमा ती पुराना दिनको चिनो विरलै भेटिन्छ– पुराना धूले गोरेटोको सौन्दर्य हरायो, पक्की इँटाका सडकहरू मासिए, चण्डेश्वरी खोलाछेउको घना जङ्गल पातलियो, पहेँलो टोपी लगाएर ठिङ्ग उभिएको रातो पत्र–मञ्जुषा उखेलियो, गर्जिंदो बाघको अनुहार कुँदिएको ढुङ्गेधाराबाट कल्कल बग्ने पानीले आफ्नो बाटो अन्तै खोज्यो, चारदोबाटो चोकमा लाग्ने घाम छेकियो । बनेपाको बान्की परेका वास्तुकला मेटिएर सिसाले मोरिएका भवन बने । काठका भर्‍याङलाई मार्बलको सिँढीले पाखा लगाइदियो ।

बनेपाको रैथाने वास्तुकला हराउँदै गयो । राजा त्रिभुवनको सेतो सालिक र सालिकनेरैको पाटीमा व्यस्त बाघचालखेलाडीहरूको अब कुनै निसानी बाँकी छैन । कति चिनाहरू नास भइसके । उनलाई लाग्छ– सबै बदलिन्छ । जसरी उनको आफ्नो अनुहार बदलिएको छ, जसरी जन्मसहरले आफ्नो रूप बदलेको छ । र, उनका लागि उनी बाँचेको ‘त्यो बनेपा’ अब नाउँमा मात्र छ, शेष छ स्मृतिमा मात्र ।

...

बनेपामा पहिलोपटक गाडी भित्र्याएका थिए– गोपालदास वादेका भाइ धनदासले, २०१२/१३ सालमा । त्यो लहरी थियो । ड्राइभर आफैँ थिए । उनको गाडी नै थियो, जसले त्यसबेला बनेपालाई काठमाडौँसम्म जोडेको थियो । दक्षुटोलको लाय्कु हुँदै काठमान्डु जान्थ्यो लहरी । खासमा सामान ढुवानी थियो त्यसको काम । तर, मानिस पनि त्यसमै चढ्थे । प्रतिव्यक्ति १ पैसा थियो भाडा । ‘ड्राइभरको निकै चाकडी गरेपछि बल्लबल्ल सिटमा बस्न पाइन्थ्यो,’ दुवाल सम्झिन्छन् ।

बनेपामा बरोबर आइरहन्थे– बीपी कोइराला, शम्भुराम श्रेष्ठहरू । र, उनैको घरमा पनि आउँथे । सात सालताका गणेशमान सिंह पनि उनको घर पुगिरहन्थे । दुम्जातिरबाट हिँड्दै आफ्नो कपडा पसलअघि आइपुगेका बीपीलाई दुवालका पिता गणेशबहादुरले खाडीको कपडा ओछ्याइदिन्थे । सम्झना कन्तुरबाट झिकेर उनी अकस्मात सम्झिन्छन् बनेपाली नेता राजदास वादेलाई । उतिबेला सभासद् उनी २०१४ सालको जहाज दुर्घटनामा बिते । हृदयचन्द्रसिंह प्रधानको किताब ‘कुरा साँचो हो’ छापिदिने पनि राजदासै थिए । किताबको भूमिकामा राजदासले लेखेका थिए, ‘बाउआमाको श्राद्ध गर्ने होइन, दुःखी लेखकहरूको किताब छाप्ने हो ।’

...

२०२३ सालमा एसएलसी दिए दुवालले, आजाद स्कुलबाट । चण्डेश्वरीको पाटीमा आजाद स्कुल सात साल फागुन २५ गते खुलेको थियो । २०१२ सालमा साइँला दाइ हरिप्रसादले फकाउँदै, डोर्‍याउँदै स्कुल पुर्‍याइदिएको हिजैजस्तो लाग्छ उनलाई । भन्छन्, ‘पाटीको स्कुलमा हाम्रो कक्षाकोठा थियो र बस्ने ‘बेन्च’ चाहिँ थोत्रो सुकुल । विद्यार्थीहरूको ठेलमठेल हुन्थ्यो । छडीको डर देखाएर शिक्षकहरू हामीलाई पाठ घोकाउँथे ।’

राजा वीरेन्द्र युवराज छँदै चण्डेश्वरीको वनमा सिकार खेल्न आएका थिए । स्कुलबाट भागेर दुवाल पनि राजाको रमिता हेर्न वनमा पुगेका थिए । भागेको थाहा पाएर मास्टर नेमलाल मुस्याजुले हानेको लठ्ठीको सुम्ला उनी सम्झिरहेकै छन् ।

कृष्णचन्द्र कायस्थमार्फत चिनियाँ पत्रिका ‘चीन–सचित्र’ पढ्ने क्रममा दुवाललाई लाग्यो, बहुजन हितायको काम त कम्युनिस्टले पो गर्नेरहेछ । उनी त्यतै लहसिए । २०२९ सालमा बनेपामा ‘प्रगतिशील कवि सम्मेलन’ गर्ने योजना बन्यो । रमेशनाथ पाण्डेद्वारा सम्पादित ‘नयाँ सन्देश’ ले त्यतिखेर लेख्यो– ‘चीनबाट हातहतियार झिकाएर पूर्वका कम्युनिस्टलाई भेला पार्ने उद्देश्यले कवि सम्मेलन गर्न खोजिएको छ ।’

समाचारकै कारण प्रहरीजत्था बनेपा आइपुग्यो हनुमानढोकाबाट । हरिकृष्ण श्रेष्ठ र जवाहर श्रेष्ठ (राँको समूहका सदस्य) तत्कालै पक्राउ परे । लुकीछिपी काठमाडौं पसे दुवाल र भूमिगत भए एक वर्ष । त्यसअघि उनी स्वंयसेवक शिक्षक पनि थिए । प्राविदेखि–मावि तहसम्मै उनले पढाए– २०२३ देखि २०४९ सालसम्म । तर, पुलिसप्रशासनको कसिंगर भइरहे ।

...

दुवाल २०४९ मा संयुक्त जनमोर्चाबाट बनेपाको मेयरमा उठे, तर हारे । कांग्रेसबाट उठेका उनका हेडमास्टर रामभक्त कोख श्रेष्ठले जिते । दुवाल कम्युनिस्ट राजनीतिसँग नजिक थिए । चौथो महाधिवेशनकालमा नेता मोहन वैद्य र दुवाल सँगै थिए । दुवाल सांस्कृतिक फाँटमा थिए, वैद्य पार्टी–इन्चार्ज । सँगै थिइन् पारिजात पनि । त्यसबेला दुवाल ‘वेदना’ पत्रिका प्रकाशित गर्थे । ‘लामो समयसम्म हामीले सहकार्य गरेका थियौं,’ मोहन वैद्य भन्छन्, ‘उनका पुराना समालोचना राम्रा लाग्छन् । सुरुमा उनी प्रगतिवादी लेखक थिए । अहिले प्रगतिशील छन् ।’

२०२७ साल वैशाखमा उनले ‘विगुल’ साहित्यिक पत्रिका दर्ता गरे । काठमाडौं न्हायकँ टोलमा २०२९ सालमा ‘बिगुल’ छापिँदै थियो । ‘प्रेस थियो तीर्थमान ज्यापूको । त्यो अंकमा राल्फाली गीत छापिएका थिए ३० वटा, तत्कालीन सोभियत संघलाई विस्तारवादी रूपमा प्रस्तुत गरिएको शक्ति लम्सालको लेख पनि थियो । सरकारी टोलीले बिगुलका प्रतिहरू सप्पै जफत गर्‍यो,’ दुवाल भन्छन् । त्यसपछि ‘समयपूर्व समाप्ति’ भयो– ‘बिगुल’ को ।

‘बिगुल’ को समाप्ति भयो, तर बेला रोकिएन । धुलिखेलका दिल वरदान र सुवास श्रेष्ठ आए, दुवाललाई ‘वेदना’ निकाल्न हौस्याए । दुवालले स्विकारे, तर धेरै समय रहेनन् । त्यसपछि ‘उत्साह’ सम्पादन गरे । २०३९ मा ‘जनमत’ पाक्षिक विचारप्रधान पत्रिकाको अर्को बिगुल फुके । सरकारको आँखा छल्न प्रकाशकमा लक्ष्मणसुन्दर सैंजू र सम्पादकमा धर्मपत्नी भारती श्रेष्ठको नाउँ राखे । तर, प्रकाशन भएपिच्छे स्पष्टीकरण दिन जानुपर्थ्यो । अन्ततः यो पनि बन्द भयो ।

२०४२ सालमा अहिलेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ ‘जनमत’ का प्रधानसम्पादकका रूपमा देखा परे । बनेपामा दर्ता भएको ‘जनमत’ छापिन्थ्यो काठमाडौंबाट । नारायणकाजी सम्झिन्छन्, ‘त्यसबेला मलाई विचारप्रधान पत्रिका चलाउनु थियो । दुवालजीले केही नबोली छाप्ने अधिकार दिनुभयो ।’ आठ महिनापछि नारायणकाजीले ‘मूल्यांकन’ सुरु गरे । २०४५ देखि ‘जनमत’ फेरि दुवालकै हातमा आयो । दुवालका अनुसार, एक समय ‘जनमत’ मा नेता बाबुराम भट्टराई पनि संग्लग्न थिए । नारायणकाजी भन्छन्, ‘दुवाल कुनै बेला निरंकुशताविरोधी आन्दोलनका योद्धा थिए । उनीसँग मेरो चिनजान लेखक होइन, योद्धा भएकाले हो ।’

छोरी सिर्जना दुवालले बुबालाई सधैं किताबकै वरिपरि मात्रै देखिन् । सिर्जना सानै छँदा दुवाल साँगास्थित महेन्द्र माविका प्रधानाध्यापक थिए । घरमा मानिसको बाक्लो आवतजावत हुन्थ्यो । उनी सोच्थिन्, ‘किन मेरो घरमा मात्रै धेरै मान्छे आएका ?’

...

दुवालका निम्ति बनेपा केही विशेष हो । यो सहरमा एक प्रकारको नशा छ, त्यसैको मात लाग्यो उनलाई । त्यही मेसोमा उनले कुनै बखत आफ्नो नामै शरद बनेपा राखेका थिए । शरद बनेपा निकै खरा समालोचक मानिन्थे । दौलतविक्रम विष्ट, बैरागी काइँला, मनबहादुर मुखियाका किताबमाथि उनले गरेको समालोचनाले उतिखेरको साहित्यिक वृत्तलाई निकै तताएको थियो । अस्वीकृत जमात र राल्फा संगठनमाथिको कडा समालोचना अझ चर्को थियो । राल्फाप्रति दुवालको प्रतिक्रिया भने पारिजातलाई चित्त बुझेको थिएन । पारिजातले आग्रह पनि गरेकी थिइन्, ‘दुवालजीको यो विद्रोह, बाटो नपाएको विद्रोह त होइन ? प्रगतिवादी समालोचकले प्रतिक्रियावादी लेखकहरूलाई नास नै गरून्, तर जनपक्षीय इमानदार विरुवाहरूप्रति त्यही हतियार नचलाइदिऊन् ।’ समालोचक रविलाल अधिकारी पनि दुवाललाई ‘ज्यादै खरा’ समालोचक मान्छन् ।

खगेन्द्र संग्रौला ‘सम्झनाको कुइनेटाहरू’ मा लेख्छन्, ‘तिनताकका साहित्यकार, तिनका कृति र प्रवृत्तिहरू चर्चा र प्रभावको शिखरमा थिए । त्यस्तो बेलामा तिनमाथि आलोचनात्मक समीक्षा गर्दा शरद बनेपाले साहित्य संसारमा सानोतिनो हुरी नै चलाइदिएका थिए । उनका ती आलोचनाहरू प्रगतिवादी र इतर दुवै शिविरमा पठन, चासो, चर्चा, सर्मथन र विरोधमा बहसको विषय बन्यो ।’ संग्रौलाका विचारमा दुवालको साहित्यिक यात्राको सबैभन्दा सार्थक, सुन्दर र अविस्मरणीय क्षण शायद त्यही हो, शरद बनेपा बौद्धिक मोर्चामा सशक्त रूपमा भिडेको त्यो क्षण ।

शरद बनेपापछि दुवाल ‘बहादुर’ उपनामबाट पनि खरा समालोचना लेख्न थाले । संस्मरणमा संग्रौला लेख्छन्, ‘म शरद बनेपाको असामयिक मृत्युमा शोकाकुल भएँ । अब शरद बनेपा छैनन्, मोहन दुवाल मात्र बाँकी छन् । मलाई शरद बनेपाको उखर्माउलो न्यास्रो लागिरहेको छ ।’

दस कक्षा पढ्दापढ्दै दुवालको कवितासंग्रह प्रकाशित भएको थियो, नेपाल भाषामा ‘चुलिजाःगु स्वां’ (२०२३) अर्थात् ‘टुसाउँदै गरेको फूल’ । किताबको भूमिकामा कवि दुर्गालाल श्रेष्ठले लेखेका छन्, ‘चुलिजाः चुलि हे मखा, कन्हे थुकि हे पिल्वीगु स्वाँया सकलि खँ (टुसाउनु भनेकै यही होइन र ? जसबाट भोलि फक्रिनेछ फूलको सक्कली कथा) ।’ त्यसयता उनका अरु पनि कविता–किताब प्रकाशित भए– ‘मानवीय संवेदनाहरू’, ‘सचेतका धुनहरू’, ‘सिर्जनाका फूलहरू’ आदि । दुवाललाई सशक्त कवि मान्छन् कवि विश्व सिग्देल । भन्छन्, ‘पत्रिकाको सम्पादन र साहित्यिक सक्रियताले दुवालको कवि व्यक्तित्वलाई ओझेल पारिदियो ।’

कमलमणि दीक्षितको शब्दमा ‘बनेपाकै पर्यायवाची’ भएका छन् दुवाल । धुस्वाँ सायमी लेख्छन्, ‘मोहन दुवालका कविता असन्तुष्ट र कुण्ठित मानिसका प्रलाप होइनन् ।’ समीक्षक गुरुङ सुशान्तलाई भने दुवाल राष्ट्रभक्त कवि लाग्छन् । ‘दुवाल सचेत, राष्ट्रभक्त, प्रकृतिप्रेमि गद्यकवि हुन्,’ उनी भन्छन् । तर, दुवालमाथि संग्रौलाको प्रश्न यथावत् छ, ‘के इतिहासमा हराएको मेरो प्रिय शरद बनेपाको अझ प्रौढ र परिष्कृत संस्करणसँग वर्तमानको कुनै क्षणमा मेरो साक्षात्कार हुन सक्ला ? मलाई थाहा छैन । मित्र मोहन दुवालजीलाई थाहा छ कि ?’

तर, मोहन दाइ मौन छन् । जुन सहरमा उनको सपना रोपियो, सपनाको धागोबाट जुन सहरमा उनले विपनाको स्वेटर बुनिरहे, कसलाई थाहा त्यो स्वेटर चुस्त छ वा उध्रियो ? उध्रिएको हो भने अझै सुन्दर तरिकाले बुनिने क्रममा पो छ कि ? के थाहा ? कालको मकलमा विद्रोहको अर्को राँको सल्काउन उनी जिन्दगीको ढुङ्ग्रोबाट कुनै योजनाको सास फुक्दै छन् कि ? के थाहा ?

प्रकाशित : कार्तिक २७, २०७८ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×