सर पिन्टोको केश सफारी - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर पिन्टोको केश सफारी 

उमेरले छ दशक पुग्नै लागेका सर पिन्टोको असाध्यै सुन्दर कपालमाथि धेरैका धेरैथरी अनुमान थिए । केही भन्थे– सरको केश परमेश्वरको उपहार हो । केहीको तर्क थियो– अमला र तेलकै कारण सरको केश सप्रिएको हो । केहीको विचारमा नियमित योगाभ्यास र आपसमा नङको रगडाइ नै त्यो सुन्दर केशको रहस्य हो । 
शैलिका छेत्री

अरस्तु भन्छन्, ‘जीवनयात्राका निम्ति शिक्षा सबैभन्दा राम्रो प्रावधान हो ।’ हुन पनि शिक्षालाई ‘भविष्यको पासपोर्ट’ मान्न सकिन्छ । कारण विद्यार्थीको आउँदो भविष्यको तयारी यस्तै स्कुल वा कलेज शिक्षाबाटै हुनेगर्छ । त्यसैले भन्न मन लाग्छ– शिक्षालय विद्यार्थीका निम्ति ज्ञानको फोहरा हो, जहाँ विद्यार्थी ज्ञान पिउन भेला हुन्छन् ।

तर, जस्तै परिपक्व कुरा गरे पनि व्यक्तिगत रूपमा भने म कलेजियन जीवनमा अपरिपक्व नै थिएँ । अपरिपक्व उमेरमा जीवनप्रतिको कुनै सचेतना नलिईकन बाँच्ने सिद्धान्तले कैयौं भूल पनि भए । त्यसबेला ती भूल औंल्याउने कोही भएनन् । तर, अहिले बितेका तिनै कुरालाई परिपक्व दिमागले खुट्याउँदा मनभित्र लाजले लिप्त अजबको हाँंसो जागेर आउँछ । यस्तै हास्यास्पद एउटा घटना छ सर पिन्टोको ।

स्नातक तहमा सर पिन्टो जीव–विज्ञानका हाम्रा दक्ष प्राध्यापक थिए । ५९ वसन्त पार गरेका उनी, तर घमण्डले प्रचुर भरिएका । सधैँजसो टाईसुटले चिरिच्याँट्ट सजिएका, अनुहार चाउरी परेको भए पनि केश विन्यासचाहिँ सत्तर–असीका दशकका चलचित्रका नायकजस्तै ठूलो पप उठाएर चिटिक्क मिलाइएको, कालो, बाक्लो अनि चम्किलो !

सरको चर्चित सिद्धान्त थियो– ‘कठोर परिश्रमबिनाको सफलता, आफूले नरोपेको बीउबाट सुन्दर फसल काट्ने रहर राखेजस्तो हो । सफलताका निम्ति लिफ्ट होइन सिँढी चढ्नु जरुरी छ ।’

सरको पढाउने पद्धति पनि अरू सबैभन्दा बेग्लै थियो । सरले पढाउँदा न कहिल्यै ब्ल्याकबोर्ड र चकको कृत्रिम सहारा लिए न जीव विज्ञानका कठिन विषयलाई हामी विद्यार्थीमाझ परिभाषित गर्ने प्रयत्नै गरे । उनले सधैँ समयको चपेटामा परेर पुरानो र पहेँलो बन्दै फाटिसकेको पाठ्य सामग्रीको प्रतिलिपि आफूसित लिएर आएका हुन्थे । उनी पुरानो किताब खोल्थे अनि ‘आवश्यक हरफहरू यिनै हुन्’ भनेर सार्न लगाउँथे । सरको पैंतालीस मिनेटको दिक्कलाग्दो क्लासमा आँखालाई निद्रारानीले अँगाल्न खोजिरहेको हुन्थ्यो । प्रायः सबै विद्यार्थी झप्की लिन थाल्थे– त्यसरी झप्की लिनेमध्ये म पनि एक थिएँ ।

मेरो अधिक ध्यान भने सर पिन्टोको लेक्चरमा भन्दा उनको सुन्दर केशमा अल्झिरहेको हुन्थ्यो । मभित्र एउटै प्रश्न उठिरहन्थ्यो, ‘सरले ५९ वर्षको उमेरमा पनि कसरी केशलाई त्यसरी कालो र बाक्लो राख्न सकेका होलान् ?’ विधाताको कस्तो खेल ! मेरो भने उमेरले बाइस वर्ष मात्रै पार गर्दा–नगर्दै शीतकालले कमजोर बनेका पातहरू झरेजस्तै केशहरू लगातार उखेलिँदै झर्न थालिसकेको थियो । बरु सरले जीव–विज्ञानभन्दा केश विन्यासमाथि क्लास लिनु नि भन्ने म अनौठो कल्पना पनि गर्थें । कल्पनामा डुबिरहेकै बेला अघिल्लो दिन लेखाएका नोटबाट प्रश्नहरू सोध्ने क्रम आरम्भ हुन्थ्यो ।

मध्यमस्तरीय विद्यार्थी भएका हुँदा सरको प्रश्नको जवाफ दिनु मेरा लागि निकै गाह्रो हुन्थ्यो । म प्रायः लाजले गुलाबी बन्दै मौन उभिरहन्थेँ । उत्साहित विद्यार्थीहरूचाहिँ सरले दिएका नोट रातैभरि रटेर आउँथे र प्रश्नको सही जवाफ दिएर गमक्क बन्थे । अनि उत्तर दिन असमर्थ विद्यार्थीलाई खिसीको दृष्टिले हेर्थे ।

लज्जित विद्यार्थीमाथि सर पिन्टोको सजाय पनि अनौठो हुन्थ्यो । असमर्थ विद्यार्थीले सरका निम्ति पुरानो च्यातिएको खाताको पाठलाई कुनै नयाँ रङबिरङका खातामा सार्नुपर्थ्यो । हामी मध्यमस्तरीय विद्यार्थी प्रायः त्यस्तो उच्चाटिलो सजायको सिकार बनेका हुन्थ्यौँ ।

तर, जस्तै सजाय पाए पनि सरको व्यक्तित्वलाई सुहाउने सुन्दर केश विन्यासचाहिँ हामी विद्यार्थीमाझ उत्सुकता र चर्चाको विषय बनेको थियो । प्राक्टिकल परीक्षा हुँदासमेत परीक्षास्थलमा सरको आगमन हुँदा सबैको दृष्टि प्रथमतः सोझै केशमा पर्थ्यो । तर, हामीले केशतर्फ हेर्दाहेर्दै सर जीव विज्ञानको कठिन प्रश्न गर्नुहुन्थ्यो । र, हामी उत्तर नजानेर लज्जित हुन्थ्यौं ।

एक मध्यान्तरमा जलपानका निम्ति एकत्रित बन्दा जीव विज्ञानका कतिपय कठिन विषयमा चर्चा गरिरहेका थियौं । अचानक सर पिन्टोको केशबारे बहस हुन थाल्यो । ५९ वर्षमा पनि सरको कपाल सुन्दर हुनुमा सबैले आ–आफ्ना प्रकारका विचार जाहेर गरिरहेका थिए । बीस प्रतिशत विद्यार्थीको मतानुसार, सरको केश परमेश्वरको उपहार हो । चालीस प्रतिशत विद्यार्थीले सरलाई अमला र विशुद्ध तोरीको तेल किनिरहेको देखेका थिए । उनीहरूको तर्क थियो– अमला र तेलकै कारण केश सप्रिएको हो । केहीको रायमा नियमित योगाभ्यास र आपसमा नङको रगडाइ नै सरको सुन्दर केश–रहस्य थियो ।

त्यसपछि धेरजसो विद्यार्थी केश सुन्दर पार्ने ध्येयमा लागे । उनीहरूले अमला सेवन, कपालमा विशुद्ध तोरी तेलको मर्दन, योगाभ्यास आरम्भ गर्न थालिसकेका थिए । मैले पनि यी अभ्यास खुबै ध्यान दिएर पालन गरेकी थिएँ ।

एक दिन सर पिन्टोको बिदाइको बेला आइपुग्यो । अवकाशप्राप्त प्यारो पिन्टो सरको बिदाइ–उपलक्ष्यमा कलेजका सम्पूर्ण स्टाफ–विद्यार्थी मिलेर एउटा भव्य समारोह आयोजना गरेका थिए । कलेजको प्रांगणमै आयोजित सो कार्यक्रममा आरम्भमा सरलाई सम्मान गर्न विद्यार्थीहरू पुष्पमाला अर्पण गरिरहेका थिए । तर, माला ग्रहण गर्दा पिन्टो सर निकै सतर्क देखिन्थे, प्रत्येकपल्ट माल्यार्पण गरिँदा सर दाहिने हातले केश मिलाइरहेका हुन्थे । अन्त्यमा सरको सारगर्भित भाषणपछि चियाचमेनाका बेला स्टाफ र विद्यार्थीले ठूलो आँट गरेर उनलाई केशको रहस्य सोधे । सरले मुसुक्क हाँसेर भनेका थिए– ‘दिस इज इन माई जिन ।’

सरको कुरा बुझ्न कठिन भएको थियो । सोचें– सरको सुन्दर केश उनको आमा–बाबाको बलियो जिनको उपहार थियो । तर, अहिलेको तनावपूर्ण जीवनमा पनि तरुण केटाहरूजस्तै केश रहनु अचम्मकै विषय थियो । कारण अनुवांशिकताले केश झर्नु जीवनको सामान्य हिस्सा नै भइसकेको छ, जसलाई ‘एड्रोजेनेटिक एलोपेसिया’ भनिन्छ । वंशानुगत चिन्डोपनमा कपाल बिस्तारै पातलो हुँदै जान्छ र बढ्दो उमेरसित चिन्डोपन पनि बढ्दै जान्छ । विज्ञान भन्छ– वंशानुगत प्याटर्नको चिन्डोपन परिवारमा आमाबाट विरासतमा आउँछ भने कपाल झर्ने समस्या पिताबाट आउँछ । जे–जस्तै वैज्ञानिक तथ्य होस्, म पनि त्यसबेला यस्तै समस्यासित लडिरहेको थिएँ । र, मेरो ध्यान केवल केशमै केन्द्रित हुन्थ्यो । र, नै म सर पिन्टोको केशको फ्यान थिएँ ।

बिस्तारै कलेजको अन्तिम सत्र पनि शेष भयो । समयचक्रमा हामी सहपाठी छुट्टिएर कता–कता पुग्यौँ । म पनि समयको हावामा ठेलिँदै रायगन्ज कलेजमा ‘सिमुलियर अफ दार्जिलिङ हिल्स’ नामक वैज्ञानिक प्रोजेक्टअन्तर्गत काम गर्न थालें ।

एक दिन रायगन्ज जाँदा ट्रेनमा मैले सर पिन्टोजस्तै व्यक्तिलाई अचानक देखेँ । तर, तिनको तालुमा कपाल थिएन । उनी पूरै चिन्डे थिए । त्यसपछि केही हाँसेर नजिकै सिटमा बस्दै नम्र भएर सोधेँ– ‘के तपाईं दार्जिलिङ सरकारी कलेजको भूतपूर्व जीव विज्ञानका प्राध्यापक सर पिन्टो होइन ?’

आश्चर्यचकित तिनले भने, ‘यस... यस... यस... चिनेनौ र ? म नै त हो सर पिन्टो, जीव विज्ञानका भूतपूर्व प्राध्यापक ।’

एक क्षण उनलाई नियालेपछि सोधें, ‘सरको त कालो, बाक्लो, सुन्दर केश थियो । त्यसबारे तपाईंले दिस इज इन माई जिन भन्नुभएको थियो, खोई त सर केश ? कसरी यस्तो परिवर्तन ?’

प्रत्युत्तरमा गम्भीर बन्दै सरले विस्तारपूर्वक भने– ‘नानी बहुतै दुर्भाग्यको कुरा हो, एक प्रकारको अज्ञात तथा उपचार असम्भव वंशानुगत विकार– ‘जेनेटिक डिसअर्डर’ अर्थात् ‘एड्रोजेनेटिक एलोपेसिया’ को प्रकोपमा हाम्रा पुर्खाहरू सानै उमेरमै केशरहित बन्थे । मानिसहरू मेरा पुर्खा तथा बाबु–बाजेलाई तालुचिन्डे भनेर उपहास गर्थे । म पनि युवावस्थामा पुग्दानपुग्दै त्यही विकारको सिकार बनें । र, जापाननिर्मित कृत्रिम केशको आवरणको सहारा लिएँ । तसर्थ बिदाइ समारोहमा केशबारे प्रश्न गर्दा मैले सत्यवचन बोलेको थिएँ– ‘दिस इज इन माई जिन’ । केश लगातार झरेर चाँडै चिन्डे बन्नु मेरो वंशानुगत विकार नै हो, जसलाई कुनै विद्यार्थीसमक्ष सतहत्तर वसन्त पार गरेपछि आज मात्रै स्पष्ट रूपमा स्विकारें ।’

सरले यति भनिसक्दा–नसक्दै स्टेसन आइपुग्यो । सर मलाई आशीर्वाद दिँदै हिँडिसकेका थिए । म ट्रेनमा बसेर झ्यालबाट बाहिर हेर्दै सोचिरहेकी थिएँ– यो कस्तो मिल्दो संयोग थियो ! आजसम्म सैयौं उपचार गरे पनि म वंशानुगत केश झर्ने विकारको प्रभावबाट कहिल्यै मुक्त हुन सकिनँ । म पनि कतिपय कृत्रिम केश आवरणको सहारामै बाँचिरहेको थिएँ । बाँच्नु जीवन हो, तर कृत्रिम वस्तुको परतन्त्रको ढकनीमा बाँच्नु साह्रै गाह्रो हुँदोरहेछ । गहिरो तर्कमा बुझ्ने हो भने सम्पूर्ण रूपले कमजोरीलाई स्वीकार गर्नु नै जीवनलाई उत्सवसरह मनाउनु हो, जसलाई सर पिन्टोले सतहत्तर वसन्त पार गरेपछि स्वीकार गरे । अनि त्यस दिनदेखि मैले पनि मेरो कमजोरीलाई सहर्ष स्वीकार गरेकी थिएँ ।

सोच्नुस् त समाजमा उपहासको डरले कृत्रिम प्रसाधनको परतन्त्रमुनि बाँचिरहेका भोक्ता कति होलान् ! मजस्तै यी भोक्तामध्ये कतै तपाईं पनि त एक होइन ?

प्रकाशित : पुस २४, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

शुभकामना : फोहोरको नयाँ प्रजाति 

विनोदविक्रम केसी

नियालिरहेको छु घीनलाग्दा शुभकामनाहरुको चारपाटे दिगमिग–कुण्ड 

धडविहीन इमोजीहरुले

बित्थामा गरिदिएका छन् ट्राफिक जाम

फसेको छ, सिकिस्त भावना बोकेको एम्बुलेन्स


एउटा वाहियात मान्छे

अर्को वाहियात मान्छेको

महिमामण्डन गरिरहेको छ

यो धर्तीमा थप एक वर्ष घिसिपिटी बाँच्नुमा

के छ हौ त्यस्तो उत्सवी कुरा ?


आमाको जन्मदिनमा

सुकाइएकी छन् उनी बिस्कुनसरि फेसबुकमा

तर, (अरु बेला) जब–जब आमा बिरामी पर्छिन्

छोराको जरूरी काम पर्छ

छोरीलाई चटारो पर्छ

आमालाई सुगर छ कि प्रेसर

दम छ कि बाथ

शुभकामनाहरु केही जान्दैनन्


हैरान छन् सफाइ–शिल्पीहरु

प्लास्टिक, कन्डम, बान्ता, बिष्टा, थोत्रा लुगा, बासी भात,

ब्रोइलरका हड्डी...

बदनियत, क्रूरता, बेइमानी, हृदयहीनता...

र, अब

फोहोरको दुनियाँमा

थपिएको छ नयाँ प्रजाति—

शुभकामना


अरुभन्दा भिन्न छ यो

यस मानेमा कि

चढाउँछ यसले आफूमाथि जलप


सफाइ–शिल्पीहरु हैरान छन्

तिनका खरेटा र साबेल

घिनाइरहेका छन् शुभकामनाहरु उठाउन


संसार यसै त छ रद्दीघाट

त्यसमाथि फोहोरको थप एक प्रजाति...

छन् हैरान सफाइ–शिल्पीहरु


ट्याम–कुट्याम

याम–बेयाम

गरिरहेका छन् शुभकामनाहरु ओहोरदोहोर


एक चुली अहंकार धारण गरेर

भलादमीहरु बाँडिरहेका छन्

टोपी दिवसको शुभकामना

कि—

‘हामी त हौं नि देशमा

हामी त छौं नि देशमा’


विहत मायालुहरुको हाडखोर–निकुञ्जमा

वनभोज खाइरहने थितिको

हिस्सा भइरहनुमा छैन कुनै खेद

बस्, बेलुनको मुटुको गहिराइदेखि

फलाक्नु छ प्रेम दिवसको शुभकामना


लोक र शौचकागजमा

जो देख्दैन अन्तर

उसैलाई हतार हुन्छ

लोकतन्त्र दिवसको शुभकामना टक्य्राउन


सारा रसिला शब्दहरुको सलादका बीचमा

सजाएर आफ्नो टाउको

कार्यकर्ताहरु

नेताका पाउमा अर्पण गरिरहेका छन् शुभकामना


जसको धमनीमा बग्दैन

उदात्त सपनाको कुनै रसायन

उही छ अगाडि

सहिद दिवसको शुभकामना बाँड्न

जरूरी भइसकेको छ अब

एउटा स्व–भर्त्सना दिवस

कि-

आफैंमाथि थुकको वर्षात

जरूरी, एकदम जरूरी भइसकेको छ ।

प्रकाशित : पुस २४, २०७८ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×