शुभकामना : फोहोरको नयाँ प्रजाति
नियालिरहेको छु
घीनलाग्दा शुभकामनाहरुको
चारपाटे दिगमिग–कुण्ड
धडविहीन इमोजीहरुले
बित्थामा गरिदिएका छन् ट्राफिक जाम
फसेको छ, सिकिस्त भावना बोकेको एम्बुलेन्स
एउटा वाहियात मान्छे
अर्को वाहियात मान्छेको
महिमामण्डन गरिरहेको छ
यो धर्तीमा थप एक वर्ष घिसिपिटी बाँच्नुमा
के छ हौ त्यस्तो उत्सवी कुरा ?
आमाको जन्मदिनमा
सुकाइएकी छन् उनी बिस्कुनसरि फेसबुकमा
तर, (अरु बेला) जब–जब आमा बिरामी पर्छिन्
छोराको जरूरी काम पर्छ
छोरीलाई चटारो पर्छ
आमालाई सुगर छ कि प्रेसर
दम छ कि बाथ
शुभकामनाहरु केही जान्दैनन्
हैरान छन् सफाइ–शिल्पीहरु
प्लास्टिक, कन्डम, बान्ता, बिष्टा, थोत्रा लुगा, बासी भात,
ब्रोइलरका हड्डी...
बदनियत, क्रूरता, बेइमानी, हृदयहीनता...
र, अब
फोहोरको दुनियाँमा
थपिएको छ नयाँ प्रजाति—
शुभकामना
अरुभन्दा भिन्न छ यो
यस मानेमा कि
चढाउँछ यसले आफूमाथि जलप
सफाइ–शिल्पीहरु हैरान छन्
तिनका खरेटा र साबेल
घिनाइरहेका छन् शुभकामनाहरु उठाउन
संसार यसै त छ रद्दीघाट
त्यसमाथि फोहोरको थप एक प्रजाति...
छन् हैरान सफाइ–शिल्पीहरु
ट्याम–कुट्याम
याम–बेयाम
गरिरहेका छन् शुभकामनाहरु ओहोरदोहोर
एक चुली अहंकार धारण गरेर
भलादमीहरु बाँडिरहेका छन्
टोपी दिवसको शुभकामना
कि—
‘हामी त हौं नि देशमा
हामी त छौं नि देशमा’
विहत मायालुहरुको हाडखोर–निकुञ्जमा
वनभोज खाइरहने थितिको
हिस्सा भइरहनुमा छैन कुनै खेद
बस्, बेलुनको मुटुको गहिराइदेखि
फलाक्नु छ प्रेम दिवसको शुभकामना
लोक र शौचकागजमा
जो देख्दैन अन्तर
उसैलाई हतार हुन्छ
लोकतन्त्र दिवसको शुभकामना टक्य्राउन
सारा रसिला शब्दहरुको सलादका बीचमा
सजाएर आफ्नो टाउको
कार्यकर्ताहरु
नेताका पाउमा अर्पण गरिरहेका छन् शुभकामना
जसको धमनीमा बग्दैन
उदात्त सपनाको कुनै रसायन
उही छ अगाडि
सहिद दिवसको शुभकामना बाँड्न
जरूरी भइसकेको छ अब
एउटा स्व–भर्त्सना दिवस
कि-
आफैंमाथि थुकको वर्षात
जरूरी, एकदम जरूरी भइसकेको छ ।
प्रकाशित : पुस २४, २०७८ १०:३८