२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२१ औं शताब्दीका डार्बिनका नाममा

कार्लमार्क्सको साम्यवादमाथि एडवार्ड विल्सनको टिप्पणी छ– मार्क्सवाद एक उत्कृष्ट अवधारणा हो, तर मार्क्सले गलत प्रजाति रोजे । पूर्ण साम्यवाद कमिलामा मात्रै हुन सक्छ ।
जीवन – जगत्‌को असीमित जटिलता देखेर विल्सनले लेखे, ‘एउटा निकै कम बुझिएको ग्रहको नाम हो– पृथ्वी’

कमिलाको विश्वविख्यात अनुसन्धानकर्ता, जीव वैज्ञानिक, हार्वड विश्वविद्यालयका प्राध्यापक, चर्चित विज्ञान लेखक, चिन्तक र आधा पृथ्वी गैरमानवका लागि छुट्याउनपर्छ भन्ने अभियानकर्ता र संरक्षणवादी ! उनको परिचय यतिमै सीमित गरिदिँदा उनीमाथि अन्याय हुन सक्छ । उनले जीवविज्ञानमा ‘आइल्यान्ड बायोजियोग्राफी’ को नयाँ सिद्घान्त कोरे । ‘संरक्षण विज्ञान’ विधालाई स्थापित गराए । बत्तीस पुस्तकसहित सयौं महत्त्वपूर्ण लेख लेखे । दुई पुलिट्जर, सात विज्ञान पुरस्कार र ‘टाइम’ म्यागेजिनको ‘२५ प्रभावशाली अमेरिकी’ को सूचीसहित १५० भन्दा बढी प्रतिष्ठित पुरस्कार र सम्मानबाट विभूषित भए ।

२१ औं शताब्दीका डार्बिनका नाममा

‘डार्बिनको सच्चा उत्तराधिकारी’, ‘२१ औं शताब्दीका डार्बिन’, ‘जीव विज्ञानका पितामह’ जस्ता उपनामहरूले चिनिने उनको वास्तविक नाम थियो– एडवार्ड अस्वर्न विल्सन । ती एओ विल्सन अब भूतकाल बनेका छन् । ९२ वर्षको उमेरमा गत २६ डिसेम्बर, २०२१ मा उनले देहत्याग गरे ।

२०१० को शरद । मोलिक्युलर एन्ड सेलुलर बायोलोजी (एमसीबी) विभाग, हार्वडका अनुसन्धानकर्ता, पोस्टडक, पीएचडीका विद्यार्थीहरू लन्चब्रेकमा भलिबल खेल्थे । उक्त विभागको द्वारमा राखिएका दुई गैंडाका मूर्तिसँग जोडेर प्रतियोगिताको नाम राखिएको थियो– ‘राइनोकप’ । त्यतिबेला म हार्वड हर्वेरियममा काम गर्थें । फाइनल खेलको दर्शकदीर्घामा विल्सनलाई देख्दा म सुखद आश्चर्यमा परेँ । किनभने विल्सन र म्याकआर्थरको ‘द थेउरी अफ आइल्यान्ड बायोजियोग्राफी’ हाम्रो इकोलोजीको पाठ्यक्रममा थियो । उनको ‘द फ्युचर अफ लाइफ’ पुस्तक मैले भर्खरै पढेर सकेको थिएँ । र, म उनले सन् २००८ मा सुरु गरेको ‘इन्साक्लोपेडिया अफ लाइफ (एओएलडटअर्ग)’ बाट प्रभावित थिएँ । मैले मेरो बोससमक्ष विल्सनसँग भेटाइदिन अनुरोध गरेँ । खेल समाप्तिपछि हामी विल्सन बसेको ठाउँमा गयौं, मेरो परिचय गराउँदै उनले भने, ‘म तपार्इंको एउटा नेपाली फ्यानलाई भेटाउँछु ।’ मेरो परिचयसँगै जोडिएको ‘नेपाल’ सुन्नासाथ ठट्यौली पारामा विल्सनले भने, ‘यहाँ त गैंडाको मूर्ति मात्रै पाइन्छ, तिमीहरूको देशमा त साँच्चै गैंडा छ, त्यसलाई जसरी पनि जोगाउनु ।’

जीवविज्ञानको एक चम्किलो नक्षत्रलाई प्रत्यक्ष भेट्दाको रोमाञ्चक सम्झना बोकेर म काममा फर्किएँ । दोस्रोपटक उक्त विभागले आयोजना गरेको एउटा प्रवचनमा उनीसँग प्रत्यक्ष भेट्ने अर्को मौका जुर्‍यो । उनलाई भेट्न त्योबेला सजिलो किन भयो भने प्रवचन दिने वक्ता मेरो पीएचडीका सुपरभाइजर थिए । परिचय दोहोर्‍याएँ । ‘नेपाल’ सुन्नासाथ उनले फेरि गैंडा र त्यसको बासस्थान जोगाउन भने । विल्सनलाई मैले भेट्दा उनको उमेरले ८० छिचोलेको थियो । बुढ्यौलीको छाप स्पष्ट देखिने खिरौटे शरीर, मुजा परेको अनुहार, दाहिने जुल्फी लर्काएको सेतो कपाल, बुझ्न अलि गाह्रो हुने बोली ! तर, उनको सक्रियता लोभलाग्दो थियो । भेटपछिको ११ वर्षमा उनले १२ वटा पुस्तक लेखेछन् र ती सबै ८०–९० वर्षको उमेरमा । जसमध्ये मैले ‘लेटर्स टु अ योङ साइन्टिस्ट’, ‘द सोसल कन्क्वोस्ट अफ अर्थ’, ‘द मिनिङ अफ ह्युमन एक्जिस्टेन्स’ र ‘हाफ अर्थ’ का केही च्याप्टर पढें ।

कमिलाको साम्यवाद !

नौ वर्षको उमेरदेखि जन्मथलो अलावामामा पाइने कमिलाहरूसँग नजिकिएका विल्सनले पीएचडी नै कमिलामाथि गरे । सन् १९५३ मा हार्वड विश्वविद्यालयबाट गरिएको उनको पीएचडी शोध विश्वभरका कमिलाहरूको जैविक विविधताको अध्ययन थियो । कमिलाप्रति उनको लगाब र रुचि यति गहिरो थियो कि उनले ‘एन्टहिल’ नामक उपन्यास नै लेखेका छन् । कमिलामाथि लेखिएका उनका पाँचमध्ये उनी र वर्ट हल्डोब्लर मिलेर लेखेको गैरआख्यान पुस्तक ‘द एन्टस्’

(१९९०) ले सन् १९९१ को पुलिट्जर पुरस्कार पाएको थियो । उक्त पुस्तकले पृथ्वीको सबैभन्दा धेरै विविधता भएको कीरो, कमिलाको प्राकृतिक इतिहास, तन्तुविज्ञान, सामाजिक सम्बन्धदेखि जैविक विविधतासम्मका हरेक पक्षलाई समेटेको छ साथै पर्यावरणीय चक्रमा कमिलाको महत्त्वबारे पनि प्रकाश पारेको छ । पुलिट्जर पुरस्कारकै इतिहासमा सयौं कमिलाका चित्र, फोटो भएको विज्ञानका विद्यार्थीहरूको (न कि साहित्यिक फाँटका लागि) पाठ्यक्रमको रूपमा लेखिएको उक्त पुस्तक नै एक मात्र र पहिलो पुस्तक हो, जसले पुलिट्जर प्राप्त गर्‍यो ।

उनका अनुसन्धानहरूले कमिलाको जैविक र सामाजिक स्वभाव, उत्पत्ति र विकाससम्बन्धी थुप्रै रोचक तथ्य उजागार गरेका छन् । नजिकैको खानाको, मरेको साथीको, शत्रु आगमनको सूचना बोली र इसाराविहीन कमिलाहरूले फेर्मोन्स (रसायन) मार्फत गर्ने उनले पत्ता लगाए । कमिलाको सामाजिक जीवनभित्र लुकेको रसायन थाहा भएपछि उनीहरूले रेडियो एक्टिभ चिनी कमिलाको गोलोमा छरेर अनुसन्धान गरे । मात्र १० प्रतिशत कामदार कमिलाले खाना ओसार्ने गोलोमा सबै सदस्यहरूको पेटमा बराबर तौलको खाना (चिनी) भेटियो । पाएको खाना सबैमा बराबर बाँडेर खाने कमिलाको स्वभावलाई उनले ‘साम्यवादी भुँडी’ को नाम दिएका छन् । तर, मानिसमा कमिलाको जस्तै सामाजिक चरित्र विद्यमान भए पनि व्यक्तिगत गुण हावी हुन्छ । मानिस एकैसाथ परोपकारी/लोभी, कायर/साहसी, बलिदानी/स्वार्थी हुन सक्छ । त्यसैले कार्लमार्क्सको साम्यवादसम्बन्धी विल्सनको घतलाग्दो टिप्पणी छ, ‘मार्क्सवाद एक उत्कृष्ट अवधारणा हो, तर मार्क्सले गलत प्रजाति रोजे । पूर्ण साम्यवाद कमिलामा मात्रै हुन सक्छ ।’

उनले कमिलामा पाइने सहकार्य संस्कृतिका कारण त्यसभित्रको जैविक तत्त्व भएको निचोडलाई अर्को सामाजिक प्राणी मानिससम्म विस्तार गरे । मानिसलगायतका प्राणीको केही स्वभावजन्य आनीबानी उसको अनुवंश (जैविक तत्त्व) बाट निर्देशित हुन्छ र त्यसलाई प्रकृतिले छनोट गर्छ भन्दै ‘सोसियोवायोलोजी ः द न्यु सिन्थेसिस’ पुस्तक लेखे । उक्त पुस्तक र विचार निकै विवादास्पद बन्यो । सत्तरीको दशकको प्राज्ञिक जगत् उनको समर्थन र विरोधमा बाँडियो । विरोधीहरू यतिसम्म उग्र भए कि उनलाई प्रतिष्ठित वैज्ञानिक संस्थाका ‘अमेरिकन एसोसिएसन फर द एडभान्समेन्ट अफ साइन्स’ को वैज्ञानिक सम्मेलनमा प्रवचन दिइरहँदा चिसो बरफ–पानी खन्याएर हुर्मत लिन खोजियो । पानी पुछ्दै उनले भाषण जारी राखेर भने, ‘सायद म नै पछिल्लो पुस्ताको पहिलो वैज्ञानिक हुँला, जसलाई विचार प्रकट गरेको निहुँमा शारीरिक आक्रमण गरियो ।’

उक्त पुस्तकले जातिवाद, यौनवाद र नरसंहारवादलाई मलजल गरेको आरोप लगाइयो । तर, उनले आफूले नभनेका कुराहरू जोडेर लगाइएका आरोपको प्रतिवाद त्यतिबेलै गरे । तर, पछि जीव विज्ञानको कुरालाई राजनीतिक कुरासँग जोड्दा आफू त्यसको परिणामप्रति सजग हुन नसकेको स्विकारे । तर, वर्तमानमा नयाँ वैज्ञानिक तथ्यहरूले विल्सनको अवधारणालाई सघाउने भेटिए तापनि यो अवधारणालाई ठूलो संख्याका समाजशास्त्रीहरूले खारेज गर्दै आइरहेका छन् ।

चर्चा र विवादसँगै उनले प्राज्ञिक कर्मलाई निरन्तरता दिए । नयाँ तथ्यसँगै आफ्ना कतिपय पुराना मान्यता त्यागे । जस्तै उत्पत्ति र विकासको सिद्घान्तमा प्रकृति छनोट व्यक्ति (किन् सेलेक्सन) मा हावी हुन्छ कि समूह (ग्रुप सेलेक्सन) मा भन्ने दुई भिन्न मत थिए । उनले सुरुमा प्राकृतिक छनोट समूहमा होइन, व्यक्तिमा लागू हुने (किन् सेलेक्सन) स्विकारेको पाइन्छ भने पछिल्लो समयमा उनले त्यसबाट विमुख भई प्रकृति छनोट व्यक्ति र समूहको बहुचरणमा हुने कुरालाई स्विकारेको पाइन्छ । पछिल्ला तथ्यले त्यसलाई थप आधार दिएको छ ।

अध्येतादेखि अभियन्तासम्म

प्राध्यापनबाट निवृत्त भएपछि उनी लेखनसँगै जैविक विविधता संरक्षणको अभियानमा संलग्न भए । सन् २००८ मा उनको अगुवाइमा ‘इन्साक्लोपेडिया अफ लाइफ’ अर्थात् एओएलडटअर्ग सुरु गरियो । एओएलले पृथ्वीभरका पहिचान भएका सबै प्रजातिको सूचना, फोटो, नक्सालगायत सामग्री १० वर्षभित्र एउटै वेभपोर्टलमा राख्ने महत्त्वाकांक्षी लक्ष्य लिएको थियो । उक्त वेभपोर्टलमा यस पृथ्वीमा पहिचान भएका प्रत्येक प्रजातिको सबै किसिमका सूचना समेटिएको छुट्टै वेभपेज राखिएको छ । हाल त्यसमा करिब २० लाख प्रजाति सूचीकृत छन् ।

सन् २०१६ मा उनको पुस्तक ‘हाफ अर्थ ः आवर प्लानेटस् फाइट फर लाइफ’ प्रकाशित भयो । पुस्तकमा बढ्दो जैविक विविधता ह्रासप्रति चिन्ता जाहेर गरिएको छ । हुन पनि यतिखेर विश्वभर जैविक विविधताको ह्रास यति तीव्र र उच्च छ कि वैज्ञानिकहरूले त्यसलाई छैटौं सामूहिक विलोपन (सिक्स्थ मास एस्टिङ्सन) भन्न थालेका छन् । गएको ५०० वर्षमा पृथ्वीमा (स्तनधारी, चरा, सरिसृप र उभयचर वर्गमा पर्ने ६१७ प्रजाति लोप भइसकेका छन् । प्रकृति दोहनको यही सिलसिला कायम रहने हो भने आगामी केही दशकभित्रै दस लाख प्रजाति यस संसारबाट लोप हुने संयुक्त राष्ट्रसंघीय प्रतिवेदनमा अनुमान गरिएको छ । त्यो भनेको प्रतिदिन १५० देखि २०० प्रजाति लोप हुने अवस्था हो । हाम्रो पुस्ताको कारण भइरहेको बढ्दो जैविक विविधता ह्रासप्रति विल्सन भन्छन्, ‘भविष्यका पुस्ताहरूले हामीले गरेका आम नरसंहारलाई माफी दिनेछन्, उनीहरूले पुराना पुस्ताका मुर्ख्याइँहरूलाई पनि भुल्नेछन् तर हाम्रो कारणले हामीजस्तै प्रजातिहरूको विनाशलाई भने माफ गर्ने छैनन् ।’

उत्पत्तिक्रममा परेको चिठ्ठाले पाइमेट्सबाट मानवमा फेरिएको मानिस यतिखेर यस पृथ्वीकै इतिहासको सबैभन्दा विध्वंसकारी प्रजाति बनेको छ । मानिसलाई पृथ्वीमा बस्ने उजस्तै अन्य प्रजातिलाई थप हानि पुर्‍याउने अधिकार नभएको भन्दै पृथ्वीको आधा भाग गैरमानवका लागि छोडिदिन उनले पुस्तकमार्फत अपिल गरेका छन् । पुस्तकमा उनी लेख्छन्, ‘गैरमानवको लागि आधा पृथ्वी छोड्नु मानव अस्तित्व बचाउनु हो ।’

त्यसो त उनको आधा पृथ्वी गैरमानवलाई छोडिदिनुपर्छ भन्ने कुरा हचुवामा गरिएको होइन । त्यसभित्र उनले पत्ता लगाएको आइल्यान्ड बायोजियोग्राफीको सिद्घान्तको आधार छ । उनको सिद्घान्तलाई संरक्षण क्षेत्रको आकारसँग तुलना गर्दा जब संरक्षण क्षेत्रको आकार बढ्छ, त्यसमा पाइने प्रजातिको संख्या पनि बढ्छ र आकार घट्दा प्रजातिगत विविधता पनि घट्छ । यदि जैविक बासस्थानको ९० प्रतिशत भूभाग मासिदिने हो भने त्यसमा पाइने प्रजातिको संख्या आधाले घट्छ । बाँकी १० प्रतिशत पनि समाप्त पार्दा त्यहाँ भएका सबै प्रजाति लोप हुन्छन् । त्यसैले यदि हामीले यस पृथ्वीको ५० प्रतिशत भूभाग संरक्षण गर्ने हो भने यहाँका लगभग ८५ प्रजाति नाश हुनबाट जोगिन्छन् । त्यसकारण आधा पृथ्वीलाई संरक्षण विज्ञानको हिसाबले उपयुक्त मानिएको छ । यदि यही हिसाबले प्रकृति र जैविक विविधताको विनाश गर्ने हो भने हामी विकासको नयाँ चरणमा पुग्नेछौं । त्यतिबेला यस पृथ्वीमा मानिसले खेती गर्ने, मन पराउने घरेलु जनावर, खेतबारी र मानिस मात्र हुनेछन्, जसलाई उनले एकांकीपनको युग (द एज अफ लोन्लिनेस) अर्थात् इरिमोसिन भनेका छन् । विल्सनको सफलता यस्तै मसिना तथ्यहरूलाई उधिनेर त्यसलाई बृहत्तर मानवजाति र पृथ्वीको भविष्यसँग जोड्न सक्नु थियो ।

जीवनभर वैज्ञानिक अध्ययन–अनुसन्धान, त्यसको प्रचार–प्रसार र जैविक संरक्षणमा बिताएका विल्सन हरेक वर्गसँग संवाद गर्थे– राष्ट्रपतिदेखि स्कुले बच्चासम्म ! पछिल्लो समय उनले युवा वैज्ञानिकहरूका लागि ‘लेटर्स टु अ योङ साइन्टिस्ट’ लेखे, जसमा आफ्नो ६ दशक लामो वैज्ञानिक यात्रामा पाएका सफलता र असफलताका अनुभवलाई पाठकसमक्ष पस्केका छन् । ताकि युवा अध्येताले विल्सनको सफलता—असफलता, उनको सीमितता र उनले पाएका अवसरबाट सिकून् ।

मानव अस्तित्व नै विज्ञानको सफलतासँग जोडिएको वर्तमानमा नयाँ पुस्तालाई वैज्ञानिक बन्न अपिल गर्ने विल्सनको व्यावहारिक सुझाव भने सामान्य हुन्थ्यो । पीएचडी कुन विषयमा गर्ने भनेर अलमलमा परेका युवाहरूका लागि विल्सनको सल्लाह हुन्थ्यो, ‘एक छिन कक्षाबाट बाहिर निस्क, बाहिर जुन जीव भेट्टाउँछौ, त्यसैमा अनुसन्धान गर ।’ आफ्ना बीसौं पीएचडी विद्यार्थीलाई त्यसरी दिएको सुझाव सफल भएको र त्यो विधि जहाँ पनि लागू गर्न सकिने उनले लेखेका छन् । पृथ्वीमा पाइने लगभग १ करोड प्रजातिमध्ये २० लाख मात्रै पत्ता लागेको र बाँकी अन्वेषण अधुरै रहेको भन्दै युवाहरूलाई अन्वेषणमा उक्साउँथे उनी । भन्थे, ‘गहिरो अज्ञानतालाई राम्रोसँग सम्हाल्ने हो भने त्यो ठूलो अवसरमा बदलिन्छ ।’ जीवन र जगत्को असीमित जटिलता देखेर विल्सनले लेखे, ‘एउटा निकै कम बुझिएको ग्रहको नाम हो– पृथ्वी’ । विराट् पृथ्वीको सानो कुनामा बसेर सूक्ष्म जीवन बुझ्ने कोसिस गर्दागर्दै उनी अस्ताए ।

अलविदा !

प्रकाशित : पुस १७, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?