‘कसैले साहित्यले केही गर्दैन भन्छ भने भनिदिए हुन्छ- द्याट्स गुड, गुड फर यु !’ [भिडियो]
काठमाडौँ — सम्राट उपाध्याय, अंग्रेजी–भाषी नेपाली लेखक । काठमाडौंमा जन्मे–हुर्केका उपाध्याय पढाइका क्रममा सन् १९८४ मा २१ वर्षे उमेरमा अमेरिका छिरेका थिए । पढाइपछि अध्यापन क्रममा केही वर्ष साउदी अरेबिया र नेपालमै बसोबास गरे पनि ढुक्कै भने अमेरिकामै हराइरहे ।
सन् २००१ मा ‘अरेस्टिङ गड इन काठमाडौं’ (कथासंग्रह) प्रकाशित भएपछि र एकपछि अर्को सृजनात्मक लेखनमा पुरस्कृत हुँदै गएपछि सम्राट यसरी छाए— बाहिरी दुनियाँमा रहे–बसेका अंग्रेजीभाषी नेपाली लेखकका रूपमा उनको चिनारी पूरापूर स्थापित भयो । यो किताब फ्रेन्च र ग्रिक भाषामा पनि अनूदित भयो ।
यसपछि उनका ‘द गुरु अफ लभ (सन् २००३, उपन्यास)’, ‘द रोयल घोस्ट (२००६, कथासंग्रह)’, ‘बुद्धज अर्फायान्ज (२०१०, उपन्यास), ‘द सिटी सन (२०१४, उपन्यास)’ र ‘म्याड कन्ट्री (२०१७, कथासंग्रह) प्रकाशित भइसकेका छन् । पारिवारिक काम लिएर काठमाडौं आएका बखत गत मंगलबार अपराह्न उनी काठमाडौं गेस्टहाउसको प्रांगणमा भेटिए, जहाँ सम्राट उपाध्यायका नाममा समर्पित एउटा कोठा छ । र, गेस्टहाउसकै ड्रिम गार्डेन ‘वाक अफ फेम’ मा सम्राटको नाम ढुंगामा कुँदेर सम्मान जनाइएको छ । लेखक सम्राट उपाध्यायसँग देवेन्द्र भट्टराईले संवाद गरेका छन्–
पछिल्लो समय के–कस्तो विधागत लेखन वा लेखनवस्तुमा जोडिनुभएको छ ?
विगतमा एउटा कथासंग्रह, एउटा उपन्यास गर्दै लेखिरहेको हुन्थें । पछिल्लोपटक भने उपन्यासमै केन्द्रित भएको छु । ६ वर्षअघि छापिएको ‘द सिटी सन’ पछि अहिले ‘डार्क मदरल्यान्ड’ नाममा उपन्यास लेखन सिध्याएको छु, अहिले सम्पादनमा गएको छ । यो उपन्यास लेखिसकेपछि कथा–घटनाको शृङ्खला लम्बिँदै गएर ‘डार्क मदरल्यान्ड’ को दोस्रो–तेस्रो भाग पनि लेख्न थालेको छु । खासमा धार्मिक–आध्यात्मिक अर्थ जोडेर हाम्रो मातृभूमिलाई ‘कालीको भूमि’ का रूपमा लिइने भएकाले पनि प्रतीकात्मक रूपमा ‘डार्क मदरल्यान्ड’ लेखेको हुँ । एउटा ‘डिस्टोपियन’ (काल्पनिक दुःखी समाज) स्वरूपको परिकल्पना हो यो, जहाँ केही अंशमा नेपाल पनि झल्कन्छ । यसबाहेक अरू २ उपन्यासको प्लटमा एकैपटक काम गर्दै छु ।
पहिले त म ‘वन बुक एट अ टाइम अथर’ थिएँ, त्यसै भन्थें । अहिले के खुसी लाग्छ भने लेखन भन्ने कुरा कहिल्यै नसकिने रहेछ, नित्य–निरन्तर हुँदोरहेछ । यसरी एकैचोटि धेरै लेखन प्रोजेक्टमा काम गर्न सकौंला भन्ने थिएन । तर, सकिने रहेछ ।
‘साहित्यले केही हुन्न’, ‘लेखेर के हुन्छ र’ भन्नेहरूको जनमत पनि उत्तिकै छ । तपाईंलाई के लाग्छ ?
साहित्य वा आर्ट भन्ने कुरा अलिक ‘सब्जेक्टिभ’ हुन्छ । यदि कसैले साहित्यले केही गर्दैन भन्छ भने त्यो सुनेर भनिदिए हुन्छ— द्याट्स गुड, गुड फर यु ! तर, मजस्ता धेरैलाई साहित्यले ठूलो काम गरेको छ । म एक दिन पनि नलेखी बस्न सक्दिनँ । एक दिन लेख्न सकिनँ वा पाइनँ भने मेरो दैनिकी, जीवनमा केही अपूरो भएजस्तो ‘फिल’ हुन्छ, एकदमै अपुरो–अधुरो । मजस्तै व्यस्ततामाझ पनि दैनिक १५ मिनेट निकालेर लेख्छु नै । त्यसपछि मात्रै सन्तोष लाग्छ, यो मेरो ‘सब्जेक्टिभ’ अनुभव हो, बुझाइ हो ।
पाठककै कुरा गर्दा पनि, कोहीकसैले नजिकै आएर भन्छन्– ‘तपाईंको यो किताब (वा रचना) पढ्दा यति आनन्द लाग्यो, त्यो म बताउनै सक्दिनँ । आफ्नै कुरा भनिएजस्तो गरेर मलाई छोएको छ ।’ अब यसो भनिरहने पाठक पनि फाइदामै रहेछ, यो ‘सब्जेक्टिभ’ कुरामा गणितीय तर्कको कुरा हुन्न ।
(फेरि कसैले भन्छ— ‘तपाईंको लेखनमा नेपाली कथावस्तु रहे पनि यसको अर्थ र औचित्य देखिन्न ।’ यो एकदमै व्यक्तिगत र ‘सब्जेक्टिभ’ कुरा हो— कसैले आर्टको महत्त्व मान्छन् वा कसैले मान्दैनन् ।)
तपाईं २१ वर्षको उमेरमा अमेरिका जानुभएको थियो । पछि साहित्य–सृजनामा लाग्दै गएपछि अमेरिकावासी भएर नेपाली सन्दर्भ, कथावस्तु, खुराक बटुल्न कत्तिको मुस्किल भयो वा सहजै रह्यो ?
यसो भनेर म बीचमा कहिल्यै नेपाल नआएको अथवा कुनै सम्पर्क नभएको भए बेग्लै कुरा हुने थियो । तर, म त नित्य सम्पर्कमा छु । यसबीच काठमाडौंमा आएको सामाजिक, आर्थिक वा विकासको रूपान्तरण पनि गजबकै देखिन्छ । काठमाडौं मात्रै होइन, बाहिरी भेगमा पनि पछिल्ला ५/७ वर्षमा निकै ‘ट्रान्सफर्मेसन’ भएको देखिन्छ । यी सबै सन्दर्भ वा वस्तुस्थितिबारे मैले प्रत्यक्ष/परोक्ष सूचना लिइरहेकै हुन्छु । माओवादी द्वन्द्व वा दरबार हत्याकाण्डका ठूला सन्दर्भ बुझ्न रुचिअनुसार कहीँकतै रहेर पनि कठिन हुने कुरै रहेन ।
तस्बिरहरू: दीपेन्द्र रोक्का
एउटा यथार्थ के हो भने मैले जन्माउने पात्रहरूको आधारभूत मनोविज्ञान त्यति सजिलै बदलिएको हुन्न, बदलिन सक्दैन । त्यसमा नेपाली ‘फ्लेबर’ आइहाल्छ । प्रविधिगत कुराको मिसमास बढी होला, तर रिसाउने–खुसाउने वा एटिच्युड देखाउने, प्रेम गर्ने, लोभ–डाह देखाउने कुरामा त फेरबदल भएको हुन्न नि ! ‘बाहिर बसेर नेपाली समाजलाई तैंले कसरी चित्रण गर्छस् ?’ भनेर कसैले सोधेको खण्डमा म यसलाई अलिक ‘सुपरफिसियल’ सोधाइ भन्ठान्छु, सतही खालको । अथवा कि त मेरा रचना, किताब पढेर यसमा नेपाली समाज, पात्र, चित्र–चरित्र आएन भनेर कसैले सप्रसंग भनेमा म सोधिएको यस्तो प्रश्नबारे सोच्न सक्छु ।
तपाईंका ‘रोयल घोस्ट’ वा ‘अ रिफ्युजी’ जस्ता कथामा कतै दरबार हत्याकाण्ड वा कतै माओवादी द्वन्द्वको चित्र आएकै छ । ‘गुरु अफ लभ’ मा आफ्नै बाबुको मास्टरी जीवनको प्रभाव र प्रतीकात्मक पात्रहरूको नेपाली समाज उत्रिएकै छ । तर, डायस्पोरामा आफू रहे–बसेका आधारमा उतैको समाजको कथावस्तु लेख्ने, उतैको खुराक रचनामा उतार्ने अभ्यास कहिल्यै हुर्किएन ?
हो, यो प्रश्न धेरैतिरबाट आउने गर्छ । सुरुसुरुमा भने यो मेरो रुचिमा छैन, यो मेरो विषय होइन भनेर जवाफ फर्काउँथे । तर, अहिले भने मैले काम गरिरहेका ५ वटा उपन्यासभित्र र ‘डार्क मदरल्यान्ड’ मा पनि अमेरिकी पात्रहरू (डायस्पोराको कुरा) लाई समेटेको छु । अहिलेको समाज, समय अलि चलायमान छ । कोही बाबुआमा यता छन्, कोही छोराछोरी अमेरिका र बाहिरी विश्वमा । आउने–जाने वा यस्तै गतिशीलता जोडिएकै छ । यही विषयलाई पनि अब आउने उपन्यासमा समेटेको छु ।
जस्तै, आप्रवासी समुदाय, भुटानी शरणार्थीको कथा वा नेपाली डायस्पोरा पनि अब गतिलो लेखनको, सृजनाको सामग्री बन्न सक्ने देखिन्छ । तर, मेरा हकमा भने यो विषय, सामग्रीमा अलि रिसर्च जरुरी छ । नत्र लेख्न खोजिएको कुरामा ‘जस्टिस’ पुग्दैन भन्ने लाग्छ । लेखकले आफ्नो विषयगत रुचिकै आधारमा लेखनमा लाग्नुपर्छ भन्ने लाग्छ । न कि सामुमा नयाँ लहर, विषय आइपर्यो भन्दैमा केही लेखिहाल्नै सकिन्छ ।
नेपाली पुस्तकहरू कत्तिको पढ्ने गर्नुभएको छ ? चर्चामा आएका, पुरस्कृत वा बहसयोग्य नेपाली पुस्तकबारे जानकार हुनुहुन्छ ?
सत्य भन्नैपर्छ, मैले नेपाली पुस्तक त्यति पढ्न पाएको छैन । पुस्तकको चर्चा त सुन्छु, तर पढ्ने अवसर वा उपलब्धता अलि असहज छ । मूलतः प्रोफेसनल रूपमा युनिभर्सिटीमा पढाउने, रिसर्चका काम हेर्ने र विद्यार्थीका अनुसन्धान केलाउने काममै बढी व्यस्त हुन्छु । बरु नेपालीबाट अंग्रेजीमा अनूदित केही पुस्तक भने पढेको छु । अहिले पनि ‘लालित’ म्यागेजिनले संयोजन गरेको छोटा अंग्रेजी कथाको प्रतिस्पर्धामा आएकामध्ये छानिएका ४६ कथा पूरै पढ्ने मौका पाएँ । यी कथामा जेजति विविधता पाएँ, मैले नसोचेको कथा शिल्पी र शैली पाएको छु । असनमा दाजुभाइबीच झगडा भएको वा एउटा बसभित्र एउटी महिलाले बेहोरेको हिंसाजन्य प्रताडना अथवा अर्की महिलाले आफ्नो शरीरमा ‘टाइम–बम चिप्स’ राखिएकोजस्तो अनुभूति गरेर लेखिएका कथा निकै बेजोड लागेका छन् ।
अंग्रेजी लेखनकै कारण तपाईं चिनिनुभएको छ । तपाईंलाई लाग्दैन, केही रचना आफ्नै मातृभाषामा स्वतःस्फूर्त लेख्न सके आफ्नो चिनारी क्षेत्र अलि फराकिलो हुने थियो ?
यो सत्य हो, पहुँच पक्कै बढ्ने थियो । पाठकमा अंग्रेजी भाषाको पहुँच निकै कमजोर छ भन्ने मलाई थाहा छ । तर, मेरो दक्षता र रुचि अंग्रेजीमै छ । अंग्रेजीमा लेख्दा म आनन्द महसुस गर्छु, जुन नेपालीमा मेरा लागि (प्लेजर) रहन्न, नेपाली लेखनमा मेरो आत्मविश्वास पनि छैन । बरु मेरा किताबहरू कसैले नेपालीमा अनुवाद गरेर बाहिर ल्याइदिए यसको अर्थ निकै रहने थियो भन्ने लाग्छ ।
युनिभर्सिटी प्रोफेसरका रूपमा वा अमेरिकी समाजमा घुलमिलमा रहेको नेपाली लेखकका रूपमा, नेपाली समाज, यताको अस्थिर राजनीति वा चित्र–चरित्रबारे कत्तिको बहस हुने गर्छ ? वा नेपालबारे कसैलाई सरोकारै छैन ?
भन्नैपर्छ, धेरैजनालाई नेपालबारे त्यति जानकारी छैन । कहिलेकाहीं त धेरै मिहिनेतसाथ ‘नेपाल यहाँ पर्छ’ भनेर बुझाउनुपर्छ । एकपटक इन्डियाना युनिभर्सिटीमा आएका चिनियाँ प्रोफेसरलाई मैले ‘ह्वी आर नेबर्स, आई एम फ्रम नेपाल’ भनेको थिएँ, ऊ त अलमलमै पर्यो । मैले उसलाई नेपाल कहाँ पर्छ, कसरी चीनको हामी छिमेकी हौं भनेर मिहिनेत गरेरै बुझाउनुपरेको थियो ।
शनिबार प्रकाशित हुने ‘कोसेली’ बाट
प्रकाशित : पुस १६, २०७८ १६:३६