तब हामीलाई चैन कसरी हुन्छ ?

बालबालिकालाई हामीले के सिकाइरहेका छौं ? उनीहरुले देखाएका साना व्यवहारप्रति हाम्रो प्रतिक्रिया कस्तो छ ? यस विषयमा गम्भीर विमर्श गरौं न ।

जबसम्म बालबालिकाले घरमा पिटाइ खान्छन्
गल्ली गल्लीको फोहोरमा लडीबुडी गर्छन् 
विद्यालयमा गाली, चुटाई भेट्छन् 
तबसम्म मलाई चैन कसरी हुन्छ ? 
– गिजुभाई (भारतीय शिक्षाविद्) 

तब हामीलाई चैन कसरी हुन्छ ?

जापानी सुप्रसिद्ध कलाकार तेच्चुको कुरोयानागी सानो छँदा स्कुलमा दिनहुँ गाली र सजाय पाउँथिन् । अरू बालबालिकाले गर्नेजस्तै प्राकृतिक चकचकका कारण उनलाई सजाय दिइन्थ्यो । धेरै चकचक गरेको आरोपमै उनी स्कुलबाटै निष्कासित पनि भएकी थिइन् ।

उनले जस्तै सजाय हामी धेरैले बाल्यकालमा पाएका छौं । सजाय दिनेलाई त्यो कुनै गम्भीर विषय लाग्दैन । तर, जो बालबालिकाले सजाय भोगिरहेका छन्, उनीहरूको कलिलो मस्तिष्कमा त्यसको असर कस्तो पर्ला ? अब हामीले सोच्ने कि नसोच्ने ?

बालबालिकाका लागि तोत्तो–चान फाउन्डेसन चलाएर विश्वभरिका बालबालिकाका हितमा काम गरिरहेकी तेच्चुकोले आफूले चकचक गरेकै कारण स्कुलबाट निष्कासित भएको घटना २० वर्षपछि मात्रै थाहा पाइछिन्, आमामार्फत । धन्य ती आमा जसले तेच्चुकोलाई बीस वर्ष नपुगुन्जेल त्यो कुरा सुनाइनन् । यदि आमाले उक्त कुरा भनिदिएको भए उनी अर्को स्कुल पुग्दा के सोच्थिन् होला ? कति हीनताबोध हुन्थ्यो होला ? के उनी शिर उठाएर स्कुलको गेटबाट भित्र छिर्न सक्थिन् होला ?

हामीले बालबालिकालाई कति र कुन कुरामा गाली, सजाय दिन्छौँ ? कति कुरा लुकाइदिँदा उनीहरूको भविष्य उज्ज्वल हुन्छ ? बाल्यकालमा अनेक गल्ती हुन्छन्, हामीले ती गल्तीहरूलाई तोकेरै गाली गर्ने कि सम्झाउने ? कुन कुराले उनीहरूमा हीनताबोध उत्पन्न हुन सक्छ ? हामीले थोरै तारिफ गरिदिँदा उनीहरूको आत्मबल बढ्छ भने किन तारिफ नगरिदिने ? किन उत्साहित नबनाउने ?

उनीहरूले रहरले गर्ने कामलाई हामी आफैँ बिथोल्न पुग्छौँ र उनीहरू केही जान्दैनन् अथवा गर्न सक्दैनन् भन्ने बनाइदिन्छौँ ।

जस्तै – भाँडा माझ्ने ठाउँमा गएर एउटा ग्लास समात्दा हामी कराउन थाल्छौँ ‘गिलास झरेर फुट्ने भयो । भाँडा बजेर कान खाने भए । धेरै चकचक नगर्, जा उता गएर बस् ।’

फूलबारीमा गएर यसो फूलहरूसँग खेल्न खोज्यो भने ठूलाको बचन आइहाल्छ ‘सबै फूल माडेर अब केही नरहने भयो ।’

कोठामा गएर लुगा पट्याउन खोज्यो भने हामी कराउन थाल्छौँ ‘आइरन गरेर राखेका लुगा कोचेर अब सबै बर्बाद गरिदिने भयो ।’

फलफूल काटेर खान खोज्यो ‘बाठो भएर किन चक्कु चलाएको ? अहिले हात काट्छ ।’

आफूलाई केही कुरा गर्न मन नलागेर नाइँ भन्यो सबै एकधुर लागेर कराउँछन् ‘यो कस्तो जिद्धी छ, भनेकै मान्दैन ।’

खेल्दा खेल्दै लड्यो भने गाली उल्टै पाइन्छ ‘तँलाई मैले धेरै नउफ्री भनेको हैन ? भनेको मान्न पर्‍यो नि !’

बाहिर निस्केर खेल्न खोज्यो ‘कति बाहिर निस्केको ? घरमै खेले हुन्न ?’

घरमा खेल्न थाल्यो, ‘कति हल्ला गरेको ? कति उफ्रेको ? एकैछिन आरामले बस्न पाइन्न ।’

यी कामहरू हामीले दुईचार पटक आफ्नो उपस्थितिमा गराउन पनि त सक्छौँ । उनीहरूले काम गर्न रुचि देखाएको बेला हामीले साथ दियौँ भने उनीहरू पक्कै सिक्न सफल हुनेछन् ।

बाल्यकालको गल्ती हो पछि आफैँ सुध्रिन्छन् भनेर यसै छोडिदिनु पनि हुँदैन । हाम्रा नानीबाबुहरू कुन बाटोमा लाग्दै छन् ? हामीले नजिकबाट ध्यान दिइरहनुपर्छ ।

यो विषयमा लेख्दै गर्दा मलाई महाभारतको कथाको याद आयो । यदि धृतराष्ट्रले बालक दुर्योधनका हरेक गल्तीलाई बेवास्ता नगरेर सही बाटो देखाइदिएको भए यत्रो युद्ध हुने थिएन कि ? धृतराष्ट्रलाई दुर्योधनका सबै आनीबानी थाहा थियो । तर, पुत्रमोहले सही बाटो देखाउन नसक्दा त्यत्रो विनाशको अवस्था आयो । प्रत्येक आमाबुबालाई आफ्ना छोराछोरीको उत्तिकै माया हुन्छ । तर, सही बाटो देखाएका छौं त ? आफैंप्रति प्रश्न जरुरी छ ।

बालबालिकालाई हामीले के सिकाइरहेका छौं ? उनीहरूले देखाएका साना व्यवहारप्रति हाम्रो प्रतिक्रिया कस्तो छ ? यस विषयमा गम्भीर विमर्श गर्नुपर्ने बेला आएको छ । गिजुभाईले भनेझैं जबसम्म बालबालिकाले गाली र चुटाइ भेटिरहन्छन्, तबसम्म हामीलाई चैन कसरी हुन्छ ?

प्रकाशित : पुस १०, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?