कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बीपीको नाममा महेन्द्रको कविता 

बीपीलाई महेन्द्रले कविता सुनाए– अब तिमी हामीलाई छाडेर जान्छौ/हामीहरू त यही नदी, कन्दरा र चौतारीमा सुस्ताउँला/र, तिमीलाई सम्झौंला ।
अभि सुवेदी

बीपी कोइराला र राजा महेन्द्रबीच साहित्य एउटा सम्बन्धको कडी थियो भन्ने साहित्य समालोचना लेख्नेहरूले चर्चा गरेको कतै पढ्न पाएको छैन । बीपी र महेन्द्रको सम्बन्ध पछिल्लो नेपाली इतिहासको सबैभन्दा चर्चित र परिणामहरू भएको विषय भए पनि साहित्य त्यसमा आउँदैन ।

बीपीको नाममा महेन्द्रको कविता 

बीपीका साहित्यिक कृति र उनका संस्मरणबारे अनेकौं लेख लेखिआएको भए पनि अनि महेन्द्र–बीपीबीच एउटा साहित्यिक महत्त्वको सम्बन्धको प्रसंग भेटिन्छ भन्ने कुरालाई साधारण अर्थमा बुझे पनि मैले यसमाथि कहिल्यै लेखेको छैन । यस छोटो लेखमा बीपी कोइरालाका संस्मरण र अरू केही छलफललाई लिएर चर्चा नगरिएको यस पक्षका केही उदाहरण प्रस्तुत गरिएको छ ।

नेपालका शासक, राजनीतिज्ञ र शक्तिमा आसीन मानिसमा साहित्यको, खासगरी कविताको तरलता, त्यसको माध्यमबाट शक्तिमा बाँधिएका मानिसले मानवीय भावनाको आधार राखेर आफूलाई बाहिर ल्याएर प्रस्तुत गर्न चाहने मनोग्रन्थिको उल्लेखसम्म गरिएको छ । बीपीले साहित्य लेख्नु र महेन्द्रले कविता लेख्नुको बीचमा कुनै पनि समानता छैनन् । तर, बीपी र महेन्द्रबीच साहित्य विषय आएको उदाहरणले धेरै कुरा भन्छ भन्ने ठान्छु ।

विश्वेश्वरप्रसाद कोइराला (१९७१–२०३९) उर्फ बीपी र महेन्द्रवीरविक्रम शाह (१९७७–२०२९) उर्फ मवीवि शाहका संम्बन्धका मूलतः राजनैतिक आयाम छन् । यो अत्यन्त सर्वविदित विषय हो, नेपाली इतिहासको । त्यो आधुनिक नेपालको इतिहासमा सवैभन्दा धेरै चर्चित अनि परिचित विषय पनि हो । संवत् २०१५ मा पहिलो आम निर्वाचनबाट स्थापित संसद्लाई २०१७ पुस १ गते भंग गरेर पहिलोपटक जनताले चुनेका प्रधानमन्त्री बीपी र अरू नेतालाई आठ वर्ष सुन्दरीजल बन्दीगृहमा राखेका राजा महेन्द्र उनले ल्याएको पञ्चायती व्यवस्था र निर्दलीय शासन पद्धतिका इतिहाससँग जोडिएका पात्र हुन् । तर, त्यो इतिहासको कालखण्डमा सबैभन्दा बढी चर्चित व्यक्ति बीपी हुन् । तिनलाई गणेशमान सिंह र अरू नेताहरूसहित जेलमा राखिएको विषयका अनेकौं राजनैतिक, मनोगत र नैतिक आयाम छन् ।

जेल जीवनमा बीपीले एउटा अर्कै शक्तिको अभ्यास गरे । विश्वेश्वरप्रसाद कोइरालाले त्यो कालमा जेलभित्रै महत्त्वपूर्ण साहित्यिक कृति लेखे, जुन सवै प्रकाशित भए । त्यो एउटा सिर्जनशील साहित्यिक शक्ति थियो, जसको प्रयोग बीपीले सहज र शक्तिशाली ढंगले गरे । उनले डायरी, उपन्यास र कथा लेखे । जेलमा बसेका बेला इटालीका वामपन्थी चिन्तक आन्टोनियो ग्राम्ची (सन् १८९१–१९३७) ले जेल डायरी लेखे, जुन अहिले अनेकौं विचार र सिद्धान्तको स्रोत भएको छ । सबाल्टर्न, हेजिमोनीजस्ता विषयका स्रोत हुन् ती डायरी । बीपी कोइरालाको राजनीतिक प्रतिभा र त्यो कर्मलाई लिएर विचारका आधार बनाउन सक्ने क्षमता भए पनि उनले साहित्य रचना मात्र गरे । जर्मनका लेखक एरिख अर्बाखले यहुदी भएको कारण हिटलरको शासनकालमा टर्कीको विश्वविद्यालयमा निर्वासनमा बस्दा साहित्यिक कृति ‘माइमेसिस’ (१९४६) लेखे, राजनीति लेखेनन् । मैले बीपी र एरिखको त्यो लेखकीय अवस्थाको विषयमाथि एकेडेमीको अंग्रेजी जर्नल ‘नेपलिज् लिटरेचर, आर्ट एन्ड कल्चर’ (२०१५:१) मा लामो लेख लेखिसकेको छु ।

महेन्द्रले पनि बीपीलाई राजनीतिक भाष्यभन्दा साहित्यिक त्यसमा पनि कविताको भाष्यमा सम्बोधन गर्न चाहेका उदाहरणले बीपीको एक साहित्यिक र उज्यालो व्यक्तित्वले महेन्द्रलाई सधैं खिचिबसेको देखिन्छ । त्यो आकर्षणपछि महेन्द्रका मनमा शंका र भयमा परिणत भयो । उनले गरेको ‘कु’ लाई जोडेर हेर्दा त्यसका मनोगत आयामका अनेकौं पक्ष खुल्छन् । बीपीले आफ्ना संस्मरणमा महेन्द्रलाई अनेकौं ढंगले चित्रण गरेका छन् । साहित्यको प्रसंग आउने सन्दर्भमा उनको महेन्द्रसँग न्यानो सम्बन्ध देखिन्छ । ‘आत्मवृत्तान्त’ (२०५५) बाट केही प्रसंग राख्छु । यो संस्मरण बीपीका अन्तिम दिनमा तयार पारिएको हुनाले यसमा बीपीले भनेका कुराको महत्त्व धेरै छ । उनले भनेका छन्, ‘बाहिर देखाउँदा जे गरे पनि राजाले जहिले पनि मलाई बडो सम्मान गर्थे ।’ ‘मेरो एउटा सानो घर बनेको छ, बंगलो छ, फेवातालको किनारमा । त्यहाँ तपाईं जानुपर्‍यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर, भनेर राजाले भने ।’ यही बंगलोमा राजा महेन्द्र र रानी रत्नाका अतिथि भएर ‘६/७ दिन’ बसेका बेला बीपीले महेन्द्रको साहित्यमा रुचि, संगीत साधना आदि विषयमा कुरा उठाइदिए ।

महेन्द्रले सरल किसिमले आफ्ना साहित्य रुचिको विषयमा बीपीसँग कुरा गर्न पाएको देखिन्छ । राजाले बाल्यकालदेखि नै ‘मेरो त बडो एक्लो जीवन थियो’ भनेर बीपीलाई सुनाए । ‘होइन, सरकारको बारेमा सुन्दछु, पढ्नमा खुब अभिरुचि छ,’ बीपीले ‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटाले राजालाई भनेर कामुहरूका किताब लैजाँदा उनले सोधेका थिए, ‘राजाले यो कामु बुझ्छन् र ?’ अनि बीपीले त्यही कुरा सोध्दा राजा महेन्द्रले भने, ‘अहँ, मैले कामु पढेको छैन । सार्त्र पढेको छैन । र, मैले अलिकति हिन्दीका साधारण किताबहरू हेरेको छु । त्यसो हुनाले, मैले पढ्ने मौका कहाँ पाएँ र ?’

मवीवि शाहका केही गीतका शीर्षकहरूबाट पनि यो बुझ्न सकिन्छ । ती शीर्षकका गीतहरू नेपाली, भारतीय र पाकिस्तानी गायकहरूले पनि गाएका छन् । त्यो बेलाका मार्क्सवादी समालोचकहरू, खासगरी तारानाथ शर्मा र एक जना चीनमा क्षयरोगको औषधि गरेर बसेकी स्नेहलता पन्तले ‘बगैंचा’ पत्रिकामा कडा आलोचना गर्दै महेन्द्रका कवितामा हिन्दी गीतको सोझो प्रभाव छ भनेर लेखेका थिए ।

तर, बीपीले महेन्द्रको कविता लेख्ने र शास्त्रीय गीत सुनाउने चाहनालाई सहानुभूतिपूर्वक लिए, जुन उनका यो भनाइबाट प्रस्ट हुन्छ, ‘यत्रो एउटा सुगमता रहेछ सरकारलाई आत्माभिव्यक्तिको माध्यमबाट । ...सरकारले कविता पनि लेखिबक्सिन्छ । यसलाई पनि सरकारले अघि बढाइबक्सनुपर्‍यो ।’ राजा महेन्द्रको बीपीसँगको कुराकानीमा साहित्य खास गरी कविता आउनु महेन्द्रले त्यो आफ्नो एक्लो जिन्दगीको एउटा अभिव्यक्ति हो भनेर बीपीलाई सुनाउन चाहने उत्कण्ठाको परिणाम थियो । बीपीले राजा महेन्द्रको कवितामा कुनै राजनीतिक उथलपुथल र शक्ति लोलुपता देखेनन् ।

राजा महेन्द्र उनका कवितामा माथि भनेजस्तो उनको एक्लोपन र रिक्ततालाई जीवन र अर्थमा रूपान्तरण गर्न लेख्ने रहेछन् भन्ने कुरा उनको पूरै लगनशीलता, त्यसैबाट कवि कहलाउँने चाहनामा देखियो । बीपीलाई कविताको माध्यमबाट सम्बोधन गर्ने राजा महेन्द्रको चाहना थियो भन्ने एउटा उदाहरणमा पनि देखिन्छ । प्रधानमन्त्री बीपी कोइराला भारतको भ्रमणमा जाने एक दिन अघि टुरको सवारी क्याम्पमा महेन्द्रले बोलाए । त्यहाँ राजाले एउटा यस्तो कविता सुनाए–

‘अब तिमी हामीलाई छाडेर जान्छौ

तिमी ठूला–ठूला सहरमा विदेशमा घुम्न जान्छौ

रमाइलो तिमीलाई होला

हामीहरू त यही नदी, कन्दरा र चौतारीमा सुस्ताउँला

र, तिमीलाई सम्झौंला

हामीहरूलाई नबिर्सिनू

र हामीहरू त तिमीलाई बिर्सन सक्तैनौं

जब थाकेर चौतारीमा पसिना पुछौंला

त्यसबखतमा म तिमीलाई सम्झौंला ।’

हामीबाट ‘म सम्झौंला’ भनेर उनले लेखेको अर्थपूर्ण छ । यस कवितालाई समालोचकहरूले एउटा बनावटी भावना भने । मैले पनि त्यस्तै लेखें । तर, बीपीले अर्कै भनेका छन्, ‘यस्तो सुन्दर कविता उनले सुनाए, मलाई सम्बोधन गरेर ...त्यो कविता सुन्दर र भावुक थियो ।’

राजा महेन्द्रको भावुकताको अनि उनको मनोगत गम्भीर कमजोरीको चित्रण बीपीले जस्तो अरूले गर्न नसक्नुमा पनि उनको र महेन्द्रको सम्बन्धको यही पक्ष थियो । शक्तिका सपना र कविताको माध्यम एउटा बलियो विषय हो । राजा महेन्द्रको पञ्चायत युटोपिया उनको शक्तिसपना थियो, जसलाई बीपीले ‘अदालतको बयान’ मा जरैदेखि भत्काइदिएका छन् ।

प्रकाशित : पुस १०, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?