कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक युगको पटाक्षेप

लामो रंगमञ्च–यात्रामा प्रचण्ड मल्लले जे–जस्तो शैली र प्रस्तुति भित्र्याए, त्यसका गुरू बालकृष्ण सम नै थिए
रमण घिमिरे

कति दिन बाँचिने हो, थाहा छैन । अब समजीको चेलो म मात्र बाँकी रहेँ,’ त्यस दिन रंगकर्मी हरिप्रसाद रिमालको शवमा माल्यार्पण गरेर छेउको कुर्सीमा बस्दै प्रचण्ड मल्लले भनेका थिए ।

एक युगको पटाक्षेप

१५ भदौ २०७५ को त्यो बिहान प्रचण्डका आँखामा वियोगका आँसु डबडबाइरहेथे । वेलावेला रिमालको शवलाई हेर्थे र कोटको खल्तीबाट रुमाल निकालेर आँसु पुछ्थे । अब प्रचण्डले पनि रिमालकै बाटो पछ्याएपछि नेपाली रंगमञ्चको पुरानो छिमलको अन्त्य भएको छ । प्रचण्ड नेपाली रंगमञ्चका त्यस पुस्ताका अन्तिम पात्र थिए । प्रचण्ड सानैदेखि नाच–नाटकप्रति आकर्षित भए र पढ्ने पाठशालाभन्दा बढी ‘नौटङ्की’ का डबलीमा हाजिर बजाउन थाले । राति अबेर घर फर्किने दिनचर्यामा ढालिन थालेपछि परिवारमा चिन्ता बढ्न थाल्यो । ‘अति भयो’ भनेर उनलाई साहिँला दाइ सुरेन्द्रमानले नाटक–सम्राट् बालकृष्ण समको जिम्मा लगाइदिए । प्रचण्ड यो प्रसंग बेलाबेला कोट्याइरहन्थे ।

यस घटनाको प्रसंग रोचक छ । विसं २००९ को कुरा हो । त्यसबेला प्रचण्ड पढाइ छाडेर दिन नबिराई डबलीतिर धाउन थालेका थिए । नाच–नौटंकीको रसमा डुबेर घर, परिवार र सारा संसारै बिर्सिन थालेका थिए । रात–बिरात घर आएर सुतिसकेकाहरूलाई कष्ट दिने त छँदै थियो । त्यसमाथि दिनभरि डबलीमा सुनेका संवादहरू मध्यरातको नीरवतालाई चिरेर ठूल्ठूलो स्वरमा भट्टयाउने उनको नियमित क्रियाले घरमा अर्को समस्या थपिरहेको थियो । धेरैपटक यो रुटिन दोहोरिएपछि एक दिन दाजु सुरेन्द्रमानले थर्काए– ‘तँ राति अबेर घर आउँछस् र पिताजीको निद्रा खलबल्याउँछस् । त्यसमाथि एक्लै केके बडबडाइरहन्छस्, के हो तेरो चालामाला ? यो काइदा त राम्रो भएन कान्छा !’ तर, पनि प्रचण्डको दिनचर्यामा कुनै सुधार आएन । अनि एक बिहान उनै सुरेन्द्रमानले एक जना ‘ठूला मान्छेकहाँ लैजान्छु’ भनेर प्रचण्डको हात समाउँदै पुर्‍याए ज्ञानेश्वर ।

प्रचण्डले पंक्तिकारलाई त्यो कथा यसरी सुनाएका थिए– ‘मेरा साँल्दाजुले मलाई उहाँले भन्नुभएको प्रभावशाली व्यक्तिअगाडि मेरो परिचय दिँदै भने– आज मैले हजुरकहाँ एउटा जन्तु लिएर आएको छु । ती प्रभावशाली व्यक्तिले भने– कस्तो जन्तु ? दाइले प्रचण्डतिर इसारा गर्दै भने– यी यही हो त्यो जन्तु । मेरो भाइ हो, नाटकमा रुचि राख्छ, हजुरले सेवामा लिनुभए यसको कल्याण हुनेथियो ।’ ‘नाटक खेल्नुहुन्छ ?’ अनि उनले प्रचण्डलाई सोधे । ‘म निःशब्द भएँ’, प्रचण्डले भनेका थिए, ‘तर, दाजुले मेरो बखान गर्न कुनै कसर छोड्नुभएन– ‘यो नाचगान, डबली, गाईजात्रातिर भौँतारिरहन्छ । घरमा पनि नानाभाँतिका संवाद बोलेर डिस्टर्ब गर्छ । हजुरको रेखदेखमा यहीँ रहेर यस क्षेत्रमा केही गर्न पायो भने आफ्नो भविष्य बनाइहाल्छ कि भनेर ल्याएको ।’ सुरेन्द्रमानका कुरा सुनेर तिनले एक छिन गम खाए । दुवै हात कम्मरपछाडि लगेर सोचमग्न भई केही कदम ओहोरदोहोर गरे । अनि भने, ‘हुन्छ । तपाईं भोलि साँझ पाँच बजे आउनुस् !’ ती प्रभावशाली व्यक्ति थिए– नाट्यसम्राट् बालकृष्ण सम ।

यसरी प्रचण्ड समजीको शिष्य भएर उनको ‘नेपाली कलामण्डल’ मार्फत रङमञ्चको संसारमा प्रविष्ट भए । नाटकमा लागेर जीविका चल्ने कुरा थिएन । त्यसैले जागिर खाने क्रममा उनी विसं. २०१६ मा पुरातत्त्व तथा संस्कृति विभागमा संलग्न हुन पुगे । उनी पुरातत्त्व बगैँचा (आर्कोलोजिकल गार्डेन) मा अफिस इन्चार्जको पदमा जागिरे भए । उनका हाकिम थिए, संस्कृतिविद् सत्यमोहन जोशी । यद्यपि उनले त्यहाँ लामो समय काम गर्न पाएनन् । कारण थिए– उनका उनै परम गुरु बालकृष्ण सम । पुरातत्त्वमा काम गर्न थालेको चाल पाएर एक दिन समले डाकेरै प्रचण्डलाई भने– ‘तपाईं रंगमञ्चको मान्छे, पुरातत्त्वमा लागेर कहाँ मूर्ति बटुल्दै हिँड्नुहुन्छ ? त्यताको सारा काम–कुरा छाडेर खुरुक्क एकेडेमीमा आउनूस्, म तपाईंले त्यहाँ खाइपाइ आएको तलब–सुविधामा कमी नहुने गरी व्यवस्था मिलाउँछु ।’ प्रचण्ड त्यहाँ तलबबापत मासिक १ सय ७५ रुपियाँ खान्थे । त्यसमा २५ रुपियाँ थपेर समजीले दुई सय रुपियाँ बनाइदिएपछि प्रचण्ड प्रज्ञा–प्रतिष्ठान आएर र आफ्नो रुचिको क्षेत्रमा उत्साहका पखेटा फडफडाउँदै रंगमञ्चमा चुर्लुम्म डुब्न थाले ।

त्यसपछि नेपाली रंगमञ्चमा उनले आफ्ना योगदानहरूका जग, भित्ता र छाना अति सघन रूपमा थप्दै गए । २०११ मा समको लेखन–निर्देशनको ‘अमर सिंह’ नाटकमा एक सिपाहीको सानो भूमिकाबाट सुरु भएको प्रचण्डको रंगमञ्च–यात्रा अविराम चलिरह्यो । २००९ मा रंगमञ्चमा लाग्दा भर्खरै उनका जुँगाका रेखी बस्दै थिए । २०२१ सालमा प्रज्ञा–प्रतिष्ठानमा प्रवेश गरेर २०५९ सालमा जागिरबाट निवृत्त हुँदा उनका कपाल पनि त्यहीं पाके, त्यहीं झरे र करिब एक सय ५० नाटकहरूको निर्देशन गर्न भ्याए ।

प्रचण्ड मल्लको रंगमञ्च–यात्राबाट बालकृष्ण समको नाम झिकिदियो भने यो चर्चा अपुरो हुन्छ । किनभने उनले रंगमञ्चमा जे–जस्तो शैली र प्रस्तुति भित्र्याए, त्यसका गुरु पनि समजी नै थिए । समजीलाई जस्तै प्रचण्डलाई पनि रंगमञ्चको सम्पूर्ण ज्ञान थियो । उनी नाटकमा अभिनय, निर्देशन गर्ने मात्र होइन नाटक पनि आफैं लेख्थे । यसबाहेक उनी मञ्च–निर्माण कलामा पनि त्यत्तिकै दखल राख्थे । नेपाल प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय नाचघर, तत्कालीन शाही सैनिक व्याख्यालयको नाट्यशाला, महेन्द्र पुलिस क्लब, भृकुटीमण्डपको खुला रंगमञ्चलगायत राजधानीका प्रसिद्ध र प्रायः पुराना सबै मञ्चहरू उनैको परिकल्पनामा निर्माण भएका हुन् ।

जति नै नाम कमाए पनि प्रचण्ड मल्लको विनयशीलता र सहिष्णुतामा कमी आएन । उनी प्राज्ञभवनमा कुनै नाटक या सांस्कृतिक कार्यक्रम हुँदा जति नै व्यस्त भए पनि एक पटक दर्शकदीर्घामा छिर्थे–छिर्थे । उनी के–कस्ता दर्शक आएका छन् भनेर नमस्ते खाँदै र नमस्ते ख्वाउँदै हलको शिर–पुछार चहारेर मात्रै आफ्नो जिम्मेवारी सम्हाल्न जान्थे । कार्यक्रम सकिँदा कहिले त रातिको १० बज्थ्यो, उनी कहिले साइकलमा त कहिले पैदलै मीनभवनसम्म पुग्थे र आफैँ खाना तताएर खाएर सुत्थे । पहिला–पहिला नाटकमा लाग्नुअघि मध्यराति घरमा पसेर डबलीका संवाद भट्ट्याएर हत्तु पारेको तीतो स्मृतिले होला, उनी जति नै राति भए पनि घरभित्र सुटुक्क पसेर चुपचाप खाना खाएर ओछ्यानमा पल्टिन्थे । कार्यालय पनि प्रायःजसो चुरोटको धूवाँ उडाउँदै पैदल या साइकल हाँकेरै पुग्थे ।

उनी पछिल्लो समय दमलगायत बुढ्यौली र अरू पनि धेरैथरी रोगले ग्रसित थिए । डाक्टरकहाँ गइरहन्थे । चुरोट छोडे पनि मापसे छोडेका थिएनन् । नपिउनुस् भन्दा खासै पिउँदिनँ, यसो हप्ता–दस दिनमा एक–दुई चुस्की लिन्छु भनेर हाँसेर टारिदिन्थे । छोरीले हेरचाह गर्थिन् । प्रचण्ड भन्थे, ‘रातबिरात मलाई अप्ठ्यारो परे तपाईं र घिमिरे युवराजसँग सहयोग माग्छु ।’ तर, उनले जीवनको अन्तिम सास लिएको यस पंक्तिकारले थाहै पाएन । यो समाचार रेडियोमा सुनेर थकथकाउनुपर्‍यो ।

प्रचण्ड मल्लले अभिनयमार्फत रंगमञ्चमा प्रवेश गरेका थिए । त्यसपछि उनी निर्देशक भएर रंगमञ्चको आरोहण गर्दै मञ्च शिल्पी भए, नाटककार भए । पछि उनी रंगमञ्चको प्रस्तुति र प्रविधि दुवै पक्षमा दखल राख्ने प्रतिभा हुन पुगे । यति मात्र होइन, उनी रंगमञ्चका समालोचक र इतिहासकार पनि थिए । यसरी मूल्यांकन गर्दा मल्ल रंगमञ्चको पुरानो युगदेखि आधुनिक युगसम्म अविराम यात्रा गर्ने जीवित एक मात्र रंगकर्मी थिए । उनको देहावसानपछि त्यस युगको पनि पटाक्षेप भएको छ ।

प्रकाशित : पुस १०, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?