२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नयाँ ‘घाट’ मा धोबीहरू

पूर्वराजा ज्ञानेन्द्रको कपडा धुन हरेक साता निर्मलनिवास पुग्छिन् रेनु । तर, आजभोलि उनको शरीर फतक्कै गलेको छ । एकैछिन पानीमा बस्दा पनि खुट्टा सुन्निन्छ, ढाड दुख्छ । ‘सरकार’ लाई रेनु कहिलेसम्म रिझाउलिन्, उनैलाई थाहा छैन !

जात व्यवस्थाको सोपानतन्त्रबाट पीँधमा पारिएको धोबी समुदाय अझै सहर–समाज–देशको शासन–केन्द्रमा रहेकाहरुका लागि श्रम खर्चिरहेको छ । धोबीहरुले धोएका लुगा लगाउनेका गाथा सहरमा धेरै सुनाइन्छ/सुनिन्छ । धोबीहरुकै इतिहास, योगदानका कथा भने विरलै सुनिन्छन् । शासक र समाजलाई सुकिला बनाइरहेका घोबीहरु इतिहासका पाठमा उति भेटिँदैनन्, तर धारा, ढुंगा, खोलाहरुमा उनीहरुको इतिहास जीवित छ ।

नयाँ ‘घाट’ मा धोबीहरू

बोलीपिच्छे बढ्ने ‘दम’ दिलमायाको रोग होइन, तत्कालीन राजाहरूले दिएको ‘बक्सिस’ हो । राजपरिवारका कपडा मिच्दामिच्दै उनका औंलाहरू मुर्झाइसके । धोबीधाराको ढुंगामाथि चिसा लुगा चुट्दाचुट्दै उनी कमजोर भइसकिन् । कठ्यांग्रिने चिसोमा होस् वा टन्टलापुर घाममा, ढाडैसम्म पानी आउने तलाउमा कपडा पखाल्दा–पखाल्दै उनको जीवन फिक्का–फिक्का बनिसक्यो । यस्तो लाग्छ, उनका छाला उमेरले चाउरिएका होइनन्, पानी र साबुनले बूढो बनाएका हुन् । तीनपुस्ते राजसंस्थाका प्रत्यक्षदर्शी हुन्, दिलमाया रजक (८४) ।

दरबारका मैला कपडासँग दिलमायाको साइनो टुटेको पनि दशक नाघिसक्यो । अब उनी ललितपुर धोबीघाटसँगैको बूढो पीपलबोटमुनि बसेर बूढा आँखाले बूढै ढुंगेधाराबाट सुक्दै गएको तिरतिरे पानीमा नजर दौडाउन मात्रै सक्छिन् । या उनी घरको कौसीमा उभिएर घरै तल्तिरको धारासँगैको चौरमा लमतन्न फिँजिएका कपडा हेर्दै स्मृतिहरूमा पस्न सक्छिन् ।

जसै दिलमायाको उमेरले दरबारसँगको साइनो टुटायो, बुहारी रेनु (६३) को जोडियो । जसरी तत्कालीन राजा महेन्द्रको कपडा धुँदाधुँदै दिलमायाका ससुरा शुक्रमानको जीवन टुटेपछि दिलमाया–रामलाल दम्पतीको जोडिएको थियो । दिलमायालाई ससुराको उति सम्झना छैन । रेनुलाई भने ससुरा रामलालको सम्झना छ । ‘सरकारको पोसाक पखाल्ने बेला त मेरो ससुराले कसैलाई इलाकामै आउन दिँदैन । तिमीहरूको खुट्टामा हानेर मारौँं ? भन्छ । धारामा पानी लिन आउनेहरू त डराएर भाग्छ,’ आफ्नै लवजमा उनी सुनाउँछिन्, ‘ससुरा त तीन बजे उठेर काम गर्छ । भिजाउने, पखाल्ने, सुकाउने आइरन गर्ने, पट्याउने, क...त्ति काम हुन्छ । चार दिन त पूरै लाग्छ ।’

सानो झुप्रोमा साबुन–पानीले कक्रिएका रामलाल रजकका हातले चिरिच्याट्ट परेका कपडा दरबार पुग्थे । ती कपडा राजा महेन्द्रको सुकिलो शरीरमा उनिन्थे । एकतले परम्परागत झिंगटीको घर थियो रामलालको । खनीखोस्री गर्ने खेत थिएन । दरबारको सेवा नै उनको खास रोजीरोटी थियो, पुस्तौनी पेसा थियो । किनकि उनी धोबी थिए । हेर्नुस् त दरबार र झुप्रोबीचको विरोधाभासपूर्ण क्यानभास !

अहिले दिलमायाका पति रामलाल छैनन् । उनले चोला बिताएको झुप्रो पनि छैन । श्रीमती दिलमाया कंक्रिटको चारतले घरमा बसेर समय नाप्छिन् । तर, यो घर राजदरबारको सेवाको परिणाम होइन । छोरा–नातिले परदेशमा सिञ्चित पसिनाको आर्जन हो ।

...

वैशाख ०५८ मा रेनुले नारायणहिटी राजदरबारको गेट टेकेकी थिइन्– महारानी ऐश्वर्य, युवराज दीपेन्द्र, निराजन र दुई सन्तानको ‘पोसाके’ का रूपमा (धोबीहरूलाई दरबारले पोसाके भन्थ्यो) । बिहान तीनै बजेदेखि रेनुको ढुंगेधारा–दैनिकी सुरु भइसकेको हुन्थ्यो । सातापिच्छे भारीका–भारी कपडा दरबारबाट आउन थालिसकेका थिए ।

रेनुलाई महारानी ऐश्वर्यको दर्शन भेटको साइत भने एक महिनापछि मात्रै जुर्‍यो । मोटो ढ्याक (सिक्का) रानीको पाउनजिकै राखिन् र घुँडा खुम्च्याएर शिरले जमिन चुमिन् । उठ्दै गर्दा रानीका औंला तल–माथि हल्लिरहेका थिए । रेनुले पैसा उठाइन् । फेरि उसैगरी रानीले बाहिरिनुपर्ने बाटोतर्फ संकेत गरिन् । ‘हामी राजा रानीसँग बोल्नै पाउँदैन, दुःख बिसाउँन पाउँदैन । ठाडो शिरले अनुहार हेर्ने आदेश पनि छैन’, आफ्नै अन्दाजमा रेनु भन्छिन् । अहिले रेनुलाई रानीका औंलाहरू मात्रै याद छन् ।

तर, दर्शनभेटको तीन दिनपछि रेनुको कानमा परेको कर्कश ध्वनिले उनको शरीर झंकृत पार्‍यो । त्यो ध्वनि थियो– १९ जेठको राजदरबार हत्याकाण्ड । राजा वीरेन्द्रको वंश–नाश ।

...

रेनुको मात्रै होइन, ललितपुर–३, पाटन धोबीघाट वरिपरिका सबै धोबीहरू राजपरिवारका कुनै न कुनै सदस्य वा राणा परिवारका कपडा धुन्थे, जसका लागि धोबीघाटमा दुईवटा ढुंगेधारा थिए, कपडा सुकाउन फराकिला चौर थिए । तर, चौरलाई घेरेको थियो धोबी परिवारका करिब आधा दर्जन झिंगटीका घरले । पाटन मात्रै होइन चिकँमुगल, कालधारा, लाजिम्पाट, ताम्सीपाखा, टुकुचा, चाबहिलगायत ठाउँमा धोबी बस्ती छ । धोबी बस्तीसँगैका ढुंगेधारा र कपडा सुकाउने चौर अहिले पनि छ, जुन उनीहरूका लागि रक्तसञ्चार हो । पानी भने धोबीघाटको धाराबाट मात्रै खस्छ । धोबीबारेका अध्येता राजेन्द्र रजक भन्छन्, ‘धोबी समुदायको काम भनेकै राजा, राणाहरूको कपडा धुनु हो । अहिले पनि अधिकांश धोबी कपडा धुने कामै गर्छन् । पर्यटनको विकास भएपछि लन्ड्रीमार्फत कपडा धुन थालिएको छ ।’

काठमाडौं, भक्तपुर र ललितपुरको नेवार समुदायभित्रका धोबीको जनसंख्या निकै सानो छ । २०६८ को जनगणनाअनुसार, मैथली धोबीको जनसंख्या १ लाख ९ हजार ७९ छ । तर, काठमाडौंमा ६००, ललितपुरमा २०० र भक्तपुरमा ८० जना धोबी रहेको उक्त तथ्यांकले देखाउँछ । रजक समुदाय विकास संघ काठमाडौंका अध्यक्ष किरण मगैया भने उपत्यकामा अहिले ८ देखि १० हजारको संख्यामा धोबीहरू रहेको बताउँछन् । नेपालको तराई र भारतका धोबीहरू पीछडा वर्ग अर्थात् दलित समुदायमा वर्गीकृत भए पनि उपत्यकाका धोबीहरू भने नेवार समुदायअन्तर्गत पर्छन् । ‘नेवाः दे दबु’ ले नेवारका १९ जातिभित्र धोबीलाई पनि सूचीकृत गरेको छ । यति सानो संख्याका धोबी उपत्यकामा कसरी आइपुगे ?

इतिहासकार ईश्वरराज अर्यालले नेपाल संवत् ३४० मा सिमरौनगढका राजा हरिसिंह देव मल्लको राज्यमा मुस्लिमले आक्रमण गर्दा ज्यान जोगाएर धोबीहरू काठमाडौं प्रवेश गरेको उल्लेख गरेका छन् (नेवा समाज, पृ. १४८) । तर, लेखक तथा अध्येता आहुतिको मत फरक छ । आहुति भन्छन्, ‘मल्लकालीन समयको अन्त्यतिर कपडा धुनकै लागि सम्मानजनक ढंगबाट राज्यले धोबीलाई बोलाएको हो । राज्य समृद्ध भइसकेपछि अर्थात् राज्यलाई कपडा धुने मानिसको आवश्यकता परेपछि धोबीहरूलाई उपत्यका बोलाइयो ।’

आहुतिले ‘मल्लकालीन समयको अन्त्यतिर’ भन्नुपछाडि कारण छ । नेवार समुदायको प्रमुख परिकारमध्ये एक हो– राँगाको मासु । तर, धोबी समुदायमा परम्परागत रूपमा राँगाको मासु खाने संस्कार छैन । यसलाई आहुति तराईका धोबीसँग तुलना गर्छन्, ‘ठीक उसै गरी तराईका धोबीहरू पनि राँगाको मासु चलाउँदैनन् ।’ धोबीहरू मिथिला र भोजपुराबाट उपत्यका प्रवेश गरेको बताउँछन् आहुति । उनको तर्क छ, ‘यो कसरी प्रमाणित हुन्छ भने उनीहरूको थर र छालाको रङ दुवै मिल्छ ।’ राजेन्द्र रजक पनि आफूहरू मैथली संस्कृतिको हिन्दु भएको बताउँछन् । ‘नेवार समाजको पहिचान अजिमा कुमारूपी मातृ सन्ता पूजन र तान्त्रिक पद्धतिको राँगाबलि प्रथा भनिन्छ, तर धोबी नेवार समुदाय मातृसत्ता पूजक तान्त्रिक भए पनि यहाँ राँगा र कुखुराको बलि पूजा चल्दैन, पीठ पुजा गर्दा हाँस र बोका बलि दिई आफ्नो कर्म चलाइन्छ’ (नेवा समाज, पृ. १४८) ।

धोबीहरूलाई तत्कालीन शासकले मुख्य सहरभन्दा टाढा अर्थात् किनारामा राखेको आहुति बताउँछन् । ‘तत्कालीन समयमा धोबीचौर, धोबीघाट मुख्य सहरको तुलनामा अनकन्टार ठाउँ हो’, आहुति भन्छन्, ‘राज्यसत्ताले त्यस्तो अनकन्टार ठाउँमा त्यतिबेलाको सबैभन्दा महँगो पर्ने ढुंगेधारा धोबी समुदायकै प्रयोजनका लागि निर्माण गरेको हो ।’ विसं १९१० को मुलुकी ऐनले धोबी समुदायलाई ‘पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने’ जातमा राखेको छ । धोबीसँगै मुसलमान, मधेसका तेली, कसाई, कुसल्या, कुलु, म्लेछ, चुर्‍याडा समुदायलाई पनि उही जातमा वर्गीकरण गरेको छ । उपत्यकाका धोबीले आफ्नो थर कनैया, रञ्जन, मघैया, कनौजिया, राजकर, रजक लेख्दै आएका छन् । पछिल्लो समय भने धोबीले आफूलाई रजक समुदायको रूपमा चिनाउँदै आएका छन् ।

सुरुमा राज्यले एक/दुईवटा ढुंगेधारा बनाए पनि पछि धोबी समुदाय आफैंले ढुंगेधारा निर्माण गरेको ढुंगेधारा विषयमै विद्यावारिधि गरेकी त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक सन्ध्या खनाल पराजुली बताउँछिन् । ‘पुतलीसडकमा तीनवटा धोबीधारा थिए । उक्त ढुंगेधारा माइला धोबीले विसं १९२४ मा निर्माण गरेको अभिलेख नै भेटेकी छु,’ सहप्राध्यापक सन्ध्याले भनिन्, ‘धोबीहरूको व्यक्तिगत ढुंगेधारा हुन्थ्यो । ढल्कोमा त १४ वटा ढुंगेधारा थिए ।’

जयस्थिति मल्लको बस्ती व्यवस्थापनअनुसार नै दरबारवरिपरि कथित उच्च जात, अर्को घेरामा व्यापारी (बैश्य) र सबैभन्दा बाहिरी घेरामा धोबीहरूलाई राखिएको पराजुली बताउँछिन् । मुलुकी ऐनले पुनःसंरचना गरेको जात व्यवस्थाको तहगत विभाजनमा पनि नेवार समुदायभित्र सबैभन्दा तल च्याम्हखलः (च्यामे), प्वः (पोडे), खड्गी र कपालीपछि क्रमशः धोबीलाई माथि राखिएको छ । नेपालमण्डलमा आएका

धोबीहरू रजक, राजक (राजिक) का रुपमा इतिहासमाउल्लेखित छन् । उपत्यका प्रवेशसँगै धोबीहरू तत्कालीन राजा, राणा परिवार र उनीहरूका भारदारमा समर्पित भए । साताको एक दिन पुरुषहरू कपडाको भारी बोकेर घर आउँथे भने महिलाहरू पानीसँगै दैनिकी गुजार्थे । धोबी महिलाहरूका दुःख झन् न गनीसाध्य थिए न भनीसाध्य । रजक समुदाय विकास संघ ललितपुरका अध्यक्ष विनोद रजक भन्छन्, ‘पानीसँग बढी खेल्ने भएकाले होला बहुसंख्यक धोबीको आयु मैले उति लामो देखेको छैन ।’

कपडाको जति नै ठूलो भारी भए पनि धोबीहरू कहिल्यै झिज्जिएनन् । कहिल्यै सुर्ताएनन् । किनकि उनीहरूको एउटै ध्यय हुन्थ्यो– सरकार रिझाउने । त्यसैले धोबीहरूले कठिन, तर आफ्नै शैलीले आफैंलाई बिर्सेर ‘सरकार’ को पोसाक पखालिरहे । खै आफ्नै पोसक बरु कति धोए !

उबेला साबुनको प्रचलन थिएन । धोबीहरू रिठ्ठाको गेडा जम्मा पार्थे र त्यसलाई पानीमा पकाउँथे । अनि रिठ्ठालाई कपडामा पोको पारेर राख्थे । घरमा कपडा ल्याएको अर्को दिन त्यही रिठ्ठा–कपडा उमाल्थे । रिठ्ठाको ठाउँमा खरानी र गोबर पनि प्रयोग हुन्थ्यो । अनि दिनैभरि उनीहरू कपडालाई घाममा सुकाउँथे । त्यसपछि ढुंगामाथि कपडालाई मज्जाले चुट्थे, जसलाई सामुदायिक भाषामा ‘हाइओराम’ गर्ने भनिन्छ । त्यसरी चुटेपछि कपडाको चिल्लो र दाग गायब हुन्थ्यो । अनि मात्रै उनीहरू कपडा पखाल्थे । तर, यतिमै चक्र पूरा हुँदैनथ्यो ।

कपडालाई आइरन गर्न एकाबिहानै शीतमा फिँजाउँथे । राजेन्द्र भन्छन्, ‘त्यतिबेला अहिलेजस्तो आइरन थिएन । शीतमा भिजेका कपडालाई काठको मुढाले कुटिन्थ्यो र सिनित्त पारिन्थ्यो ।’ राजेन्द्रका अनुसार, धोबीहरू कपडा धुनुअलवा कुस्ती खेल, धोबी मठ, पाटी, देवालय, गुठी निर्माणमा पनि अब्बल थिए । राजेन्द्र भन्छन्, ‘परिश्रमी भएकाले शारीरिक बनावट सुगठित हुन्थ्यो, यस जातिको बस्तीमा पहिले कुस्ती अखडाहरू हुन्थे ।’ अहिले पनि ‘धोबी पछाड’ र ‘धोबी हान्ने’ जनबोलीमा प्रचलित छ । कपडा धुने प्रचलन भने पुस्तान्तरण हुँदै आयो । लैनचौरका खड्गबहादुर नेपाली (८३) (विसं २०१९ को शिक्षक आन्दोलन क्रममा विद्यालयमै सुरक्षाकर्मीले पक्राउ गर्न आएपछि जोगिन रजकबाट नेपाली थर राखेका थिए) लाई सानो छँदा हजुरआमाको हात समाउँदै राणाको दरबार पुगको सम्झना ताजै छ । रविशमशेर, थापाथली दरबारका गृहेन्द्रमान र रंगविक्रमका कपडासँग हजुरआमाको साइनो थियो । खड्गबहादुर सम्झनाको पुरानो पोयो खोल्छन्, ‘उतिबेला राणाहरूका घर सबै ब्रिटिस डिजाइनमा हुन्थे । अहिले त धेरै दरबार भत्किसके ।’ लैनचौर पीपलबोटनजिकै पुरानो इँटा र परालले छाएको झिंगटीको घर थियो खड्गबहादुरको । लस्करै थिए अन्य तीन घर । घरपछाडि आफ्नै ढुंगेधारा । घरअगाडि ठूलो खेल मैदान र खेतका फाँट । त्यहीँ बरालिएर बित्यो उनको बाल्यकाल ।

धानको भारीजसरी राणाहरूका घरको कपडाको कुम्लो बोकेर घर फिरेकी बूढी हजुरआमा अहिले पनि उनको आँखामा नाचिरहन्छिन् । सुती र खद्दरका कपडा मात्रै हुन्थे ती । हजुरआमा खुला बाटुलेचौरमा बसेर साबुन लगाउँथिन्, कपडा माड्थिन् । घाममा सुकाएपछि सकीनसकी पखाल्थिन् । नीरमा हालेर रातभर राख्थिन् । प्रायः बिहानैदेखि बेलुकीसम्मै खड्गबहादुरले हजुरआमालाई बाटुलेचौर र ढुंगेधारामै घोप्टो परेको दखे । उमेरले शताब्दी पार गर्दा पनि हजुरआमाले कपडा धोइरहिन् भन्ने सम्झनाले खड्गबहादुरलाई विस्मित पार्छ । हजुरआमाले उबेला २० देखि ३० रुपैयाँसम्म तलब पाएको उनलाई याद छ । खड्गबहादुर भन्छन्, ‘हजुरआमा ११९ वर्षमा बित्नुभएको हो । उहाँको कपाल फुलेर पनि कालो हुन थालिसकेको थियो, नयाँ दाँत पलाइरहेका थिए ।’ हजुरबाबाको संगत भने उनको नसिबमा थिएन ।

त्यतिबेलासम्म नेपालमा साबुन भित्रिसकेको थियो, जसलाई ‘भोटे साबन’ भनिन्थ्यो । फलामको गोल राखेर आइरन गरिन्थ्यो । त्यसअघि आगोमा फलाम तताएर आइरन गर्ने प्रविधि थियो । ‘एक रुपैयाँको साबुन किन्यो भने एक महिना पुग्थ्यो’, खड्बहादुर त्यतिबेलाको विनिमय बताउँछन्, ‘मुख्य बजार असन थियो । १८ सालतिर दुई रुपैयाँमा एक पाथि चामल, एउटा अन्डा, एक मुठी चिउरा र सख्खर पनि आउँथ्यो ।’ ताप्के लिएर असन बजारमा तेल थाप्न गएका दिनहरू खड्गबहादुरको स्मृतिमा ओहोरदोहोर गरिरहन्छन् ।

धोबी समुदायमा पढ्ने चलन थिएन । खड्गबहादुर भने स्कुल जान थालेका थिए । ‘हामीलाई उपल्लो नेवार समुदायले छिःछिः दुरदुर गर्थ्यो, छोइछिटो गर्थ्यो । म विभेद भोगेरै हुर्कीएको हुँ’, उनी विगतमै छन् । स्कुल पढ्न पनि उनलाई त्यति सजिलो त थिएन, तर एसएलसी पास गरिछाडे । ०१७ सालमा उनले आफ्नै लाउन्ड्री सञ्चालनमा ल्याए ।

००७ सालमा प्रजातन्त्र स्थापना भएलगत्तै ‘माई सप ड्राई क्लिनर’ नेपाल प्रवेश गर्‍यो । ‘लुगा धुन भारतबाट २००८ सालतिर माई सप आएको थियो, लाउन्ड्री शब्द पनि माई सपले नै ल्याएको हो’, खड्गबहादुर भन्छन्, ‘उनीहरूले भारतीय धोबी लिएर नेपाल आएका थिए ।’

‘माई सप’ भित्रिएसँगै केही धोबी परिवारले लाउन्ड्रीलाई पच्छाए । दोस्रो दशकको सुरुआतमै रामबहादुर रजकले न्युरोडमा ‘एभरेस्ट ड्राई क्लिनर’ सञ्चालनमा ल्याएका थिए, जसलाई ‘ग्रिफिन ड्राई क्लिनर’ का नाममा अहिले पनि ताम्सीपाखामा सञ्चालन गरिरहेका छन् राजेन्द्रले । न्युरोडमै ‘मुनलाइट ड्राई क्लिनर’ सञ्चालनमा आयो । दोस्रो दशकमा त धोबीहरूले दर्जनभन्दा बढी लाउन्ड्री सुरु गरिसकेका थिए । ‘ड्राई क्लिनर वा लाउन्ड्री, जे भने पनि कपडा धुने धोबीहरू नै थिए । वासिङ मेसिन त धेरैपछि नेपाल भित्रिएको हो’, खड्गबहादुर भन्छन्, ‘त्यसबेला एउटा सर्ट २५ र पाइन्ट ७५ पैसामा धुने गरिन्थ्यो, अहिले त किलो सिस्टम छ ।’

खड्गबहादुरले ‘हिमालय ह्वाइट हाउस’ नाममा लाउन्ड्री सञ्चालन गरेका थिए । बिहान छ बजेदेखि साँझ १० बजेसम्मै पसलमै व्यस्त हुन्थे । ‘दिनमा १०० वटा पाइन्ट र सर्ट आउँथ्यो । धोबीचौर, कालधारा, पाटन, चाबहिलको धोबीकहाँसमेत कपडा धुन पाठाउँथेँ’, उनी भन्छन्, ‘यत्तिका कपडा धुन कम्तीमा तीन जना धोबी जरुरत पर्थ्यो ।’

जति जति ठूला होटल खुल्दै गए त्यति ड्राई क्लिनर्सका संख्या बढ्न थाले । कपडा भने धोबीहरूले नै धुन्थे । पिस्कोर भोलिन्टियर नेपाल आएसँगै वासिङ मेसिन भित्रिन थालेको खड्गबहादुर बताउँछन् । उनी भन्छन्, ‘पिस्कोर भोलिन्टियर आफू एक्लै आएनन् । वासिङ मेसिन र एक जना वास म्यान पनि सँगै लिएर आए । उनीहरूले नै वासिङ मेसिनको संस्कृति भित्र्याए ।’ खड्गबहादुरले ०४५ सालसम्म लाउन्ड्री सञ्चालन गरे ।

उता पाटनका विनोद रजकका पिता सूर्यमानले २०३६ सालतिर ‘एसियन लाउन्ड्री सर्भिसेस’ सञ्चालनमा ल्याएका थिए । विनोदका हजुरबुबा जगतमान राजा त्रिभुवनका ‘पोसाके’ थिए । सूर्यमान हिमालयप्रताप वीरविक्रम शाहको कपडा धुन्थे । हिमालयको मृत्युपछि उनले लाउन्ड्री सञ्चालनमा ल्याए । विनोद भन्छन्, ‘बुबाले होटल समिटको लाउन्ड्री लिएपछि हामीले व्यवसायीकरण गर्‍यौं, होटल अन्नपूर्ण, भृकुटीलगायत थुप्रै होटलका काम गर्‍यौं ।’

माओवादी ‘जनयुद्ध’ को रापले व्यवसाय खस्किएपछि विनोद परदेश पुगेका थिए । उनका भाइ भने अहिले पनि त्यही लाउन्ड्री सञ्चालन गर्छन् । रजक समाजका अध्यक्षसमेत रहेका विनोद भन्छन्, ‘यो पेसाले जीवन निर्वाह त भयो तर, कसैले पनि आर्थिक फड्को मार्न सकेनन् । आर्थिक उन्नतिका लागि प्रायः धोबी विदेशै जानुपर्‍यो ।’

अहिले पनि प्रायः धोबीले यो पेसा कुनै न कुनै रूपमा अपनाइरहेकै छन् । किरण मगैया भन्छन्, ‘८० प्रतिशत धोबी यही पेसामा छन्, कति लाउन्ड्रीबाट कपडा धुन्छन्, कति होटल वा घरमै गएर ।’ ढुंगेधाराको पानीको मुहान सुकेसँगै पेसालाई निरन्तरता दिन धोबीलाई सकस छ । इनारबाट पानी तानेर भए पनि ढुंगेधारामै काम गर्न भने छोडेका छैनन् । ‘यो कामको परिचय हाम्रो हो, हामीबाट संरक्षण भएको हो । तर, हाम्रो अधिकार, संरक्षण, आरक्षणबारे सरकारले कुनै कदम चालेन । त्यसैले धोबीहरू दुःखी छन्’, विनोद पीडा पोख्छन् ।

अहिले उपत्यकाको चोकचोकमा वासिङ मेसिनसहित ड्राई क्लिनर छन् । धोबीहरूको परम्परागत पेसामा गैरधोबीको वर्चस्व छ । किरण ड्राई क्लिनर व्यवसायमा आफ्नो समुदायको हिस्सा २० प्रतिशत पनि नरहेको गुनासो गर्छन् । पानी र चौरको समस्याले कतिपय धोबी पेसा परिवर्तन गर्न बाध्य भए । किरण भन्छन्, ‘विभिन्न निकायबाट हाम्रो चौर खोस्ने, काम गर्ने ठाउँ हडप्ने हुन थालेको छ । हाम्रो समुदायलाई सरकारले व्यावसायिक अनुदान व्यवस्था गर्नुपर्छ ।’

...

धोबी समुदायको अलग्गै इतिहास, योगदान र विरासत छ । तर, इतिहासका पाठहरूमा धोबी उति भेटिँदैनन्, योगदानअनुसारको मूल्य पाउनबाट वञ्चित छन् । धारा, ढुंगा, खोला र बस्तीहरूमा भने उनीहरूको इतिहास जीवित छ । खड्गबहादुर पुरानो कथा सुनाउँछन्, ‘राणाहरू घुम्न जाँदा एउटा खोलामा धोबीहरू कपडा धोइरहेका रहेछन् । र, राणाहरूले भनिदिए– अब यो धोबीखोला भयो ।’ वाग्मती, विष्णुमती, टुकुचालगायत नदीमा शिवशक्ति आकारमा गराहः (बालुवाबाट पानी छान्ने धोबीको मौलिक विधि) बनाएर सफा पानीमा लुगा धुने धोबीको सभ्यता नदी–प्रदूषणपछि लोप भइसक्यो । ढुंगेधाराहरू पनि बिस्तारै लोप हुँदै छन् । र, ट्युबवेलबाट पानी थुतेर ट्याङ्करमा बेचिँदै छ । धोबीको पछिल्लो पुस्ता शिक्षित भइसक्यो र उनीहरू अन्य पेसामा तातेताते गर्दै छन् । तर, राज्यसत्ताको पहुँचबाट निकै लामो दूरीमा छन् । राजतन्त्रको अन्त्य भएर देश संघीय गणतान्त्रिक बनेको छ । रेनु भने अहिले पनि पूर्वराजपरिवारकै कपडा पखाल्दै छिन् । राजा महेन्द्रका ‘पोसाके’ रामलालको मृत्युपछि त्यो जिम्मा छोरा गणेशलाल (६३) को पोल्टामा आएका थियो । तर, ‘सरकार’ बाट गुजारा नचल्ने देखेपछि ‘सरकार’ सामु बिन्तीपत्र चढाएर उनी विदेश लागे । ‘सरकार’ को काम रेनु र उनकी सासूले सम्हाल्न थालिन् ।

रेनु भन्छिन्, ‘त्यहीँ तल्तिरको छिमेकीले हप्ताको एक दिन मान्छेभन्दा अग्लो कपडाको भारी बोकेर ल्याउँथ्यो । बिहान १० बजे हिँडेको मान्छे साँझ छ बजेतिर मात्र भारी बिसाउन आइपुग्थ्यो ।’ रेनुले रानी ऐश्वर्यलगायत राजपरिवारका पाँच जना सदस्यको कपडा धुनुपर्थ्यो । राजा वीरेन्द्रको कपडा धुने काम भने रेनुकै आफन्तले सम्हालेका थिए । चार दिनमा दरबारमा कपडा पुगिसक्नुपर्थ्यो । त्यतिबेला रेनु मासिक ३५ सय रुपैयाँ तलब पाउँथिन् । ‘मेरो हजुरआमाको तलब ८० रुपैयाँ थियो भन्ने सुनेको हुँ’, गणेशलाल भन्छन्, ‘तर, सरकारले केही बक्सेको मलाई थाहा छैन । आम्दानीभन्दा पनि सामाजिक प्रतिष्ठाका लागि हामीले सरकारको काम छाडेनौं ।’

वीरेन्द्रको वंश नाशपछि रेनुले राजा ज्ञानेन्द्रको पनि दर्शनभेट गरिन् । राजदरबारको कपडा धुन छाडिनन् । रेनु भन्छिन्, ‘सरकारको सेवामा पैसा त छैन तर, भविष्य हेरेर गर्नुपर्छ ।’ दरबारमा उनको पद अनुचर थियो ।

राजतन्त्र अन्त्यपछि रेनुसहित दरबारको सेवा गर्ने आधा दर्जन धोबीलाई नयाँ सरकारले नारायणहिटी संग्रहालयमा नियुक्ति दिलायो । रेनुले गाइड र सरसफाइको काम गर्न थालिन् । उनको ड्युटी थियो– राजाको सिंहासनमा । पुस्तौंदेखि दरबारको ‘पोसाके’ का रूपमा सेवा गरे पनि सिंहासन देख्ने रेनु पहिलो धोबी बनिन् । ‘१४ वर्ष सेवा गरेर उपदानमा अवकाश लिएँ । अवकाश लिने समयसम्म साढे १७ हजार तलब पुगेको थियो’, रेनु वर्तमानमा फर्किन्छिन्, ‘म अहिले पनि ज्ञानेन्द्र सरकारको कपडा भने धोइरहेको छु ।’

पूर्वराजा ज्ञानेन्द्र–परिवारको कपडा धुन हरेक बुधबार रेनु निर्मलनिवास पुग्छिन् । संग्रहालयमा हुँदा पनि उनले ज्ञानेन्द्रका कपडा धोएकै थिइन् । कपडाको भारी ल्याउने–लैजाने झन्झटबाट भने अहिले मुक्ति मिलेको छ । तर, हिजोआज रेनुको शरीर असाध्यै कमजोर भएको छ, फतक्कै गलेकी छन् उनी । एकैछिन पानीमा बस्दा पनि उनलाई चिसो लाग्छ, खुट्टा सुन्निन्छन् र ढाड कटकटी दुख्छ । छोराको सहारामा पुग्छिन् निर्मलनिवास । थाहा छैन– आफ्नो ‘सरकार’ लाई (उनकै भाषा) रेनु कहिलेसम्म रिझाउन सक्छिन् !

प्रकाशित : पुस १०, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?