२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
अभिलेखालय–कथा

इतिहासको वर्तमान

विभिन्न कालखण्डमा अभिलेख संकलन गर्ने अनेकन अड्डा थिए, जसको आधुनिक स्वरुपमध्येको हो— राष्ट्रिय अभिलेखालय । इतिहासमा अनेक उपायबाट जोगिएका महत्त्वपूर्ण दस्तावेज अभिलेखालय आइपुगेका छन् । पाँचौं शताब्दीको बौद्ध धर्म र जयस्थिति मल्लको न्याय विकाससम्बन्धीको पुस्तक, आठौं शताब्दीअघिका दशभूमीश्वर, स्कन्दपुराण, सद्धर्मपुण्डरिकसूत्र पनि यहीं भेटिन्छन् ।
ज्ञान उत्पादनमा राष्ट्रिय अभिलेखालयको भूमिका विस्तार भएको छ कि छैन ?
रवीन्द्र ढकाल

सर्वोच्च अदालतछेउकै राष्ट्रिय अभिलेखालयभित्र छिर्दा मक्किएका नेपाली कागजमा हात र आँखा एकसाथ डुलाइरहेका थिए, दुई जनाले । तिनको लय नबिगारी म नजिक पुगेँ ।

इतिहासको वर्तमान

‘के खोज्नुभएको ?’ मैले सोधें ।

‘बाजेको नामको लालपुर्जा,’ तीमध्ये एकले जवाफ दिए ।

उनीहरू थिए— विकास राई (बाबु), मोहन राई (छोरा) । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट आएका । विसं १९९३ मा बाजेले नाप गराएको जमिन २०३२ को नापीमा नभेटेपछि उनीहरू अभिलेखालय आइपुगेका थिए । सरकारी प्रशासनले पोको पारेर ल्याएका चीजबिज सामान्यजनका लागि त यति बहुमूल्य हुन्छन् भने देश–समाजका लागि त झनै बहुमूल्य हुने नै भए । तर, पुराना दस्तावेज, अभिलेखहरूको महत्त्व राई बाबु–छोराले झैं सम्बन्धित निकायले बुझेको छ त ?

...

कोभिडकालअघिको कुरा । पहिलो लकडाउनअघि म अभिलेखालय धाइरहन्थेँ । त्यहाँ के–के रहेछ भन्ने खुलदुलीले म डोरिएको थिएँ । कैयौं दिन म ती सामग्रीहरूमै हराएँ । केही लेख्न भनेर छिरेको म त्यहाँ लामै समय बिताएकाले के लेख्ने, के नलेख्नेको दोधारमा रहिरहेँ । मनमनैको रिपोर्ट, अनुभव बनेर लामो समय थन्किरह्यो । अहिले त्यसै अनुभवको फेद–टुप्पो समाएर यहाँ फुकाउन खोजेको छु ।

तपाईं हामीलाई थाहै छ, जवाफ दिनुपर्ने ठाउँमा रहेका परराष्ट्रमन्त्रीसम्मले हालै सुगौली सन्धिलगायतका दस्तावेजहरूको सक्कल कहाँ छ भनेर प्रश्न गरे । सरकारले नै नभेट्टाउने गरी बेपत्ता भएका दस्तावेजहरू, जसरी मूर्ति फिर्ती अभियानले अहिले रफ्तार पक्डिरहेछ, त्यसै गरी ‘दस्तावेज बेपत्ता आयोग’ बनाएरै यतापट्टि पनि कुद्नैपर्ने भएको छ । बेपत्ता भएका त गइहाले, बाँकी भएकाहरूलाई पनि प्रयोगमा नल्याउँदा, चलनचल्तीको इतिहासमा नयाँ–नयाँ सन्दर्भहरू जोड्दै लैजान सकिएको छैन ।

इतिहासका विभिन्न कालखण्डमा अभिलेख संकलन गर्ने अनेकन अड्डा थिए, जसको आधुनिक स्वरूप हो— राष्ट्रिय अभिलेखालय । यसले सार्वजनिक तथा प्राथमिक दस्तावेजहरू थुपार्ने, सुरक्षा दिने र प्रयोगयोग्य बनाउने जिम्मा पाएको छ ।

यसको पुरानो रूपमध्येको एक, कुमारीचोक अड्डा मल्लकालमा राज्यको ढुकुटीमा हुने अनियमितता तथा हिनामिना नियन्त्रण एवं लेखापरीक्षण गर्न स्थापना भएको मानिन्छ । यसलाई विधिवत् भने पृथ्वीनारायण शाहले बनाए । उनले त्यसबेला ठाउँठाउँमा हिसाब जाँच गर्ने टोल खडा गरी वसन्तपुरको कुमारीदेवी रहेको मन्दिरमा मूलजाँचकीको नाममा हिसाब जाँच अड्डा स्थापना गरेका थिए । मल्ल एवं शाह राजाहरूले पूजापाठ प्रयोजनका लागि ग्रन्थहरू संकलन गर्ने गर्थे, ती धेरै हस्तलिखित हुन्थे, गुठी परम्पराले यस्ता ग्रन्थहरूलाई सुरक्षा दिइरह्यो । लामो समय कसो–कसो गरी जोगिएका यस्ता सामग्री अभिलेखालय आइपुगेका छन् । पाँचौं शताब्दीको बौद्ध धर्म र जयस्थिति मल्लको न्याय विकाससम्बन्धीको पुस्तक, आठौं शताब्दीअघिका दशभूमीश्वर, स्कन्दपुराण, सद्धर्मपुण्डरिकसूत्र पनि यहीं भेटिन्छन् ।

पृथ्वीनारायण शाहको शासनकालमा हिसाबकिताबका संरचनाहरू देशैभरि फैलन थालेको भनिन्छ । सँगैसँगै अभिलेख पनि उत्पादन भयो । वीरशमशेरको पुस्तकालय हुँदै यी सामग्री २०२४ सालमा अभिलेखालयको विधिवत् स्थापना भएपछि यहाँ थन्किएका छन् । २०४६ सालमा अभिलेख संकलन गर्ने जुनसुकै सरकारी निकायले २५ वर्ष पुराना काजगपत्र अभिलेखालयलाई दिनुपर्ने व्यवस्थासहित अभिलेखालय संरक्षण ऐन आयो । तर, ऐनको व्यवस्थाअनुरूप कागजात भने अभिलेखालय आइपुगेका छैनन्, सरकारी कार्यालयले दिँदैनन् पनि । अभिलेखालय र सरकारी निकायबीच यही विषयमा बेलाबेला घम्साघम्सी परेको सार्वजनिक पनि भइरहन्छ ।

ऐन बन्नुभन्दा अगाडिका, विशेषतः राणाकालको उत्तरार्द्ध र पञ्चायतकालको पूर्वार्द्धसम्म सिन्धुलीमा मात्र होइन, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, सुर्खेत, दैलेख, डडेलधुरा, डोटी, बाजुरा, अछाम, बझाङ, सल्यान, रोल्पा, दाङ, प्यूठान, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, तनहुँ, लमजुङ, स्याङ्जा, नुवाकोट, रसुवा, दोलखा, उदयपुर, भोजपुर र पाँचथरका प्रशासनिक कार्यालयमा जम्मा भएका कागजपत्र अभिलेखालयमा छन् । ती दस्तावेजहरू राज्यसँगको कागजी कारोबार भए पनि, यिनबाट समाजकेन्द्रित इतिहास पनि सँगसँगै पहिल्याउन सकिन्छ ।

सामाजिक इतिहासका भिन्न–भिन्न पाटाबारे अध्ययन गरिरहेकी वन्दना ज्ञवाली अचेल जिल्ला प्रशासन कार्यालय, पाल्पामा रहेका सन् १९५९ का कागजातहरूमा घोत्लिरहेकी छन् । उनले त्यहाँको मोटरबाटो निर्माण, टेलिफोन जडान र अदालतलाई फर्निचर दिने बेहोराका कागजात भेटेकी रहिछन् । सन् १९६३ को अर्को कागजपत्र त्यहाँको मोहनकन्या विद्यालय निर्माणसम्बन्धी रहेछ । डोटी, जुम्ला र पर्वतबाट महिला दासहरू, मजदुरका गुनासाहरूसँग सम्बन्धित कागजपत्रहरू पनि फेला पारेकी छन् । मसँग उनको जस्तो अभिलेखालय जानुको एउटै मात्र उद्देश्य थिएन । तर, प्राथमिक दस्तावेजहरूमा अनुसन्धाता ज्ञवालीजसरी एकोहोरिने धैर्य भएकालाई सामाजिक–सांस्कृतिक इतिहास पहिल्याउन पर्याप्त स्रोत अभिलेखालयमा छन् ।

अब राई बाबु–छोरा भेटकै दिनमा फर्कौं, उनीहरूसँगको कुराकानीपछि म अभिलेखालयको क्याटलग हेर्न गएँ । छुट्टाछुट्टै ढड्डामा ऐतिहासिक चिठी, भूमिसम्बन्धी तमसुक, कौशितोषखानाबाट प्राप्त लालमोहरहरू र परराष्ट्र मन्त्रालयका कागजातहरूको सूची थिए त्यहाँ । विषयसूचीको छेउमा डिजिटल भइसकेका कागजातको रिल नम्बर थियो, नभएकाहरूका कोठा र पोका नम्बर । डिजिटल कपी माइक्रोफिल्म शाखामा हेर्न मिल्छ, ठूलो स्क्रिनमा हाते लुगा सिलाउने कलको बिँड घुमाएजसरी ती रिल घुमाउँदा दस्तावेजहरूको डिजिटल कपी पनि घुम्छ ।

प्रकाशनकै समयदेखिका ‘गोरखापत्र’ तथा हुलाक टिकटहरू, केशर पुस्तकालय र विभिन्न क्षेत्रका मठ–मन्दिर, गुम्बाहरू तथा विभिन्न व्यक्तिको निजी संग्रहमा संरक्षित मूल ग्रन्थहरूलाई माइक्रोफिल्ममा उतारी यहाँ संग्रह गरिएको छ । मैले हेर्दै गर्दा भेटेका केही रोचक बेहोराका चिठी यस्ता थिए— पठाउने : अहमद खाँ, बेहोरा : ‘हात्ती पठाइ दिनु’, पाउने : पृथ्वी नारायण शाह; पठाउने : श्री जयप्रकाश, पाउने : पृथ्वीनारायण शाह, बेहोरा : ‘भोटमा गोर्खा र काठमाडौंमा वकिल राख्ने बारेको धर्मपत्र र त्यसको नक्कल’, विसं १८१४ पौष वदी ९ रोज ३; पठाउने : पृथ्वीनारायण शाह, पाउने : मुकाम नुवाकोट राजधानीबाट काभ्रे सुनथान फूलबारी र नाम्राका द्वारेहरू, बेहोरा : ‘लडाइँमा मद्दत पठाउने बारे’, मार्ग वदी ४ रोज ४ (साल थिएन); पठाउने : श्री छो आपोजोर ढेवा नरु ढेवा फंजोराप्तुन कुती, पाउने : पृथ्वीनारायण शाह, बेहोरा : ‘सुनको भाउ बारे’, विसं १८१२ पौष सुदी १४ रोज ६ ।

३५ रुपैयाँ तिरेपछि नेपाली नागरिकले त्यसका डिजिटल कपी हाताहातै पाउन सक्छन्, विदेशीले भने ६५ रुपैयाँ तिर्नुपर्छ । २०२८ सालमा सुरु भएको नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत माइक्रोफिल्म बनाइएका हुन्, यसको एउटा कपी जर्मनीमा पनि छ र जर्मन नागरिकले नै यस्ता अभिलेखको नक्कल लिनुपर्‍यो भने यही रकममा यसरी सजिलै त्यहाँ हेर्न पाउँदैनन् । अभिलेखालयको अर्को प्रयोगकर्ता सस्तोमा अभिलेखको नक्कल लिन आउनेहरू पनि हुन् ।

दस्तावेजलाई डिजिटल बनाउने प्रक्रिया निकै सुस्त गतिमा अघि बढेझैं लाग्छ, अझै पनि । कुमारी चोकका धुजा–धुजा परेका दस्तावेज डिजिटल बनाउनुअघि ती कागज फुकाइन्छ, आइरन लगाएर सोझ्याइन्छ र फोटो खिचेर त्यसलाई नकुहिने बट्टामा सर्लक्क राखिन्छ अनि त्यस्ता बट्टाहरू अभिलेखालयको कुनै भवनमा थन्क्याइन्छन् ।

माइक्रोफिल्म हेरिसकेपछि मैले कुमारीचोक अड्डाको १९९० सालको भूकम्पसम्बन्धी दस्तावेज र १९९३ सालतिरको सनद भएको पोका हेर्न निवेदन दिएँ । ती दस्तावेज छुट्टै भवनमा राखिएका छन् । कर्मचारीले म बसिरहेको रिडिङ रुममा रातो पोको ल्याइदिए । बाहिरको कपडा खोल्नेबित्तिकै गुजुमुज्ज परेका भूकम्पसम्बन्धी कागजपत्रमा ९० सालको भूकम्पले काठमाडौं उपत्यकामा पुर्‍याएको जनधनको क्षतिका एकएक विवरण थिए । च्यातिन्छ कि भन्ने डरले खोलिनँ, बाहिरबाटै नियालेँ । हामीले ९० सालको भूकम्प ब्रह्मशमशेर जंगबहादुर राणाको किताबमा पढ्यौं, अरू सामग्री भेट्न मुस्किलै छ । यस्ता सामग्रीलाई परिमार्जन गरे, यसबाट तत्कालीन समाजका धेरैखाले जानकारी आउँथे । यी कागजातले त्यसबेला काठमाडौं उपत्यकामा भएको क्षति र दिइएको राहतबारे जानकारी दिन्छन् । उसबेला राज्यले कसरी रेकर्ड राख्थ्यो, भूकम्पको व्यवस्थापन कसरी गर्‍यो, यिनै दस्तावेज बोल्छन् ।

कुमारीचोककै अर्को पोकामा सनदका चाङ छन् । पानैपिच्छेका अक्षर फरक–फरक छन्, लेख्नेले पनि फेरि पढ्यो भने नबुझिने खालका । त्यो खुट्याउन मलाई मुस्किलै पर्‍यो । त्यहाँ दुई पैसाको मिठाई किन्दाको पनि सनद थियो । श्री ३ महाराजले ‘त्यसका लागि यति पैसा दिनु’ भनेपछि मात्रै सनद जारी हुँदोरहेछ । राणाहरूले आफ्नो दरबार बनाएपछि पूजाका लागि सिन्दूर, अक्षता, सुपारी किन्नसमेत राज्यकोष प्रयोग गरेको विवरण भेटियो । कुनै इतिहासकारले खोज्ने जाँगर चलाउने हो भने यहाँको सनदमा दरबार बनाउँदा कति मान्छे लागे, खर्च कति भयो, मान्छेहरू कहाँकहाँबाट आए भन्ने पाईपाई हिसाब निकाल्न सकिन्छ । यी सनदबाट संगीत, फोटोग्राफी, खेलकुद, साहित्य–नाटक आदिमा राणा प्रशासनले गरेका खर्चका आधारमा तत्तत् इतिहास प्रस्ट बनाउन सकिन्छ । कथा हालेर लेखिएका इतिहासलाई तथ्यसँग भिडाउन पनि यी कागजपत्र चाहिन्छन् ।

यहाँका हरेक महत्त्वपूर्ण कागजपत्रभित्र पस्ने उपयुक्त वातावरण इतिहासकार वा विद्यार्थीहरूले पाए भने हाम्रै इतिहास फराकिलो हुने थियो । अभिलेखालयमा इतिहासकारहरूसँग खासै जम्काभेट भएन । महेशराज पन्त, दिनेशराज पन्त र काशीनाथ तमोट अभिलेखालयका नियमित प्रयोगकर्ता हुन् भन्ने त्यहाँका कर्मचारीबाट थाहा पाइयो ।

अभिलेखालयमा मैले सजिलै र छिट्टै दस्तावेजहरू हेर्न पाएँ । यस अर्थमा हाम्रो अभिलेखालय सहज छ । तर, ज्ञान उत्पादनमा यसको भूमिका विस्तार भएको छ/छैन ? यो प्रश्न पनि सामुन्ने छ । यहाँको अभिलेखबाट हालसम्म कतिले थेसिस गरे ? कति किताब छापिए ? लेख कति आए ? सरकारी प्रयोजनका लागि यसको कति प्रयोग भइरहेको छ ? यी रेकर्ड अभिलेखालयसँग छैन । रेकर्ड नभएपछि, यसको सार्वजनिक उपस्थिति कस्तो छ भन्ने आकलन गर्न पनि मुस्किल पर्छ । अभिलेखालयका पुराना लिपि पढ्नुपरे त्यो लिपीका अक्षर बुझाउने मान्छे कोही भेटिँदैनन्, त्यसका लागि कर्मचारी–दरबन्दी भएपनि त्यो पुर्ति भएको छैन । र, अभिलेखालय–पुस्तकालयका किताबहरू भूइँमै असरल्ल भेटिन्छन् ।

...

‘अभिलेखालय उपयोगी छ है’ भन्ने तर्क दिन सजिलो छ । तर, त्यो तर्कलाई सिद्ध गर्न न अभिलेखालयले सकेको छ, न प्रयोगकर्ताले । यसको जति प्रयोग हुनुपर्ने हो, त्यो भएको छैन वा हुने वातावरण नै बनाइएको छैन । उपयोगिता नै सिद्ध नभएपछि अभिलेखालयमा जे–जे भए पनि कसलाई के मतलब ?

प्रकाशित : पुस ३, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?