प्रिय फिल्म

एक लुटेराको कायाकल्प

ठूलो जोहानेसबर्गमा ठूलै दुःखहरु छन् । ‘त्सोत्सी’ ले १५ वर्षअघि नै जोहानेसबर्गकै स्लम एरियाको एउटा चोरको कथा सारा संसारलाई सुनाएको हो । २००५ मा बनेको यसले ओस्कारको विदेशीभाषी फिल्ममध्ये उत्कृष्ट अवार्ड जितेको थियो ।
रमन पौडेल

दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा एउटा स्लम एरिया छ । स्लम अर्थात् एक सुकुम्बासी बस्ती ! यही बस्तीको एक लुटेरा हो– त्सोत्सी । त्सोत्सीको अर्थ नै लुटेरा, अर्थात् चोर ! फिल्मको केन्द्रीय पात्र हो– त्सोत्सी । उसकै संघर्षवरिपरि फिल्मको कथा घुमेको छ ।

एक लुटेराको कायाकल्प

सबैभन्दा पछि विकास भएका संसारका ठूला सहरमध्येको एक हो– जोहानेसबर्ग । सहरमा सुविधा–विलासिता हुँदाहुँदै पनि त्यहाँ थुप्रै सहरवासीले जमिन र घर गुमाएका छन् । अन्ततः सुकुम्बासी बनेका छन् । ठूलो जोहानेसबर्गमा ठूलै दुःखहरू छन् ।

त्यही सहरको स्लम एरियाको एउटा चोरको कथा फिल्म ‘त्सोत्सी’ ले १५ वर्षअघि नै संसारलाई सुनाएको हो । २००५ मा बनेको यस फिल्मले ओस्कारको विदेशीभाषी फिल्ममध्ये उत्कृष्ट अवार्ड जितेको थियो । प्रवेश गरौं फिल्मको कथा र त्यसको सन्दर्भमा । खासमा त्सोत्सी सहरको चोर मात्रै होइन, ऊ हिंस्रक हत्यारा पनि हो । ऊ केही रुपैयाँका लागि मान्छेहरूको ज्यानै लिन्छ । सामान्यतः मान्छेप्रति कुनै मानवीयता देखाउँदैन । प्रेम, करुणा र सद्भाव देखाउँदैन । फिल्मको ‘सेट अप’ मै रेलभित्रको भीडमा त्सोत्सी र उसका साथीहरू एक जनालाई पच्छ्याउँदै लुट्न पुग्छन् । यात्रुको भीडमा छिरेर त्सोत्सी एक जनाको हत्या गर्छ र पैसा चोर्छ । पछि साथीहरूसँग त्सोत्सीको झगडा पर्छ । साथीलाई निर्घात कुट्छ र भट्टीबाट भागेर ऊ टाढा पुग्छ ।

...

त्सोत्सी टुहुरो र एक्लो छ । ऊ सानै छँदा उसकी आमाले एचआईभीका कारण ज्यान गुमाएकी थिइन् । बाबु हिंस्रक थिए । त्सोत्सी बाबुदेखि डराउँथ्यो । उसले आमाको माया महसुस गर्न पाएन । आमाको स्तनपान पनि गर्न पाएन । बाबुबाट त उसले कुटाइ र पीडा मात्रै पाएको थियो । उसले सानैमा घर छाडेर हिँड्नुपरेको थियो । अन्ततः ऊ एक लुटेरा समूहको नाइके बनिसकेको थियो ।

जोहानेसबर्ग समृद्ध हुँदै जाँदा त्सोत्सी भने दिनदिनै हिंस्रक र कठोर बन्दै गएको थियो । उसको समूह झन् आक्रामक र आपराधिक बन्दै थियो । ऊ लुटेराबाट हत्यारा बनिसकेको थियो । चोरी–लुटपाट उसको जीवनशैली थियो, जहाँबाट ऊ पछाडि फर्किने ठाउँ थिएन ।

एक छिन कथाभित्रै पसौं । त्सोत्सी एउटा गाडी चोर्न पुग्छ । महिला चालक चिच्याउँछिन्, तर उनको खुट्टामा गोली हानी कार चोरेर ऊ भाग्छ । कार कुदाएर धेरै पर एकान्तमा पुगेपछि कार पछाडिको सिटबाट दूधे बच्चा (शिशु) रोएको आवाजले त्सोत्सीलाई झस्काउँछ ।

बच्चाको अनपेक्षित आवाजले उसलाई रोकिन बाध्य बनाउँछ । बच्चालाई कार्टुनभित्रै राखि फेरि गाडी कुदाउन खोज्छ । तर, बच्चाको रोदनले उसलाई फेरि रोक्छ । बच्चा फकाउने प्रयास गर्दा पनि नथामिएपछि अन्ततः खुला चौरमा कार छाडेर ऊ बच्चा बोकेर हिँड्छ ।

...

चोरेको कारभित्र भेटिएको बच्चा हुर्काउन एउटा लुटेराले कस्तो संघर्ष गर्छ ? फिल्मको कथा यसैवरिपरि घुम्छ । त्सोत्सी आफैँ पनि सडकमै हुर्किएको एक युवक हो । ऊ हुर्किएको ठाउँमा अहिले पनि टुहुरा बालक खेलिरहेकै छन् । त्सोत्सी त्यो शिशुलाई सुरुमा तिनै सडक बालकको जिम्मा लगाउन खोज्छ । तर, उनीहरूले नमानेपछि आफ्नै घर लैजान्छ ।

चोरेर पेट पाल्ने लुटेराले सम्भ्रान्त परिवारको एक शिशुलाई कसरी हुर्काउला ? फिल्मको मूल जरो यसैमा छ । अवोध शिशुले नामुद लुटेराको जीवन कसरी बदलिदिन्छ ? उसको मन कसरी गलाइदिन्छ ? सहरले सुकुम्बासी बनाइदिएका परिवारका टुहुरा युवक कसरी चोर र हत्यारा बन्न सक्छन् ? र, निःस्वार्थ प्रेमले उनीहरूलाई कसरी बदलिदिन्छ ? यसको साङ्गोपाङ्गो फिल्म ‘त्सोत्सी’ ले देखाउँछ । अभाव, क्रोध, हिंसा र एक्लोपनबाट हुर्किएको पात्रको गहिरो कथा फिल्मले भन्छ । एक लुटेरा र हत्याराभित्र लुकिबसेको प्रेम–करुणाले दर्शकलाई तानिरहन्छ ।

खलनायकलाई केन्द्रीय पात्र बनाएका थोरै फिल्ममध्ये त्सोत्सी एक हो । र, खलनायक अर्थात् लुटेराले पनि दर्शकको सहानुभूति बटुल्न सक्छ । ग्याबिन हुड निर्देशित यो फिल्म एथोल फुगार्डको उपन्यासमा आधारित छ ।

फिल्मले मानवीयता र प्रेमको उच्चतम अनि सुन्दर पक्ष देखाउँछ । समाजमा गलत प्रवृत्तिका मानिसलाई आम मानिसले जसरी हेर्छन्, त्यस्तो मनस्थिति बनाएर वा कुनै पूर्वसर्त राखेर यो फिल्म हेर्नु सम्भवतः उचित हुँदैन । फिल्मको निचोड छ– हरेक मानिस प्रगति र रूपान्तरणबाट उन्नत बन्दै जान्छ ।

त्सोत्सीले संघर्ष मात्रै गरेको छैन, उतारचढावसँगै उसको तीव्र प्रगति पनि देखिएको छ । सामान्यतः पात्र सुरुमा जस्तो सोचाइ र मनस्थितिमा हुन्छन् त्यही अवस्था र सोचाइको तह फिल्मको अन्त्यसम्म पुग्दा परिवर्तन हुनुपर्छ भनिन्छ । त्सोत्सीको मनस्थितिलाई एउटा शिशुको आगमनले युटर्न गरिदिन्छ । चोरभित्रको उन्नत अनुहारसँग दर्शकहरू एकाकार हुन सक्छन् ।

फिल्मले आधुनिक अफ्रिकी सहरको विद्रूप रूप पनि देखाउँछ । आक्रोश र निराशा एकैचोटि आउँछन् । मूलतः एकै पात्रको कथा सुरुदेखि अन्त्यसम्मै सुन्दर ढंगले बुनिएको छ, जहाँ अरू पात्र सहयोगी भएर आउँछन् ।

त्सोत्सी कारमा भेटिएको बच्चालाई आफ्नो साँघुरो कोठाभित्र लैजान्छ । त्यहाँ सुताएर ऊ बजार निस्किन्छ । फर्केर आउँदा बच्चा चिच्याइरहेको हुन्छ । दिसा–पिसाबले निथ्रुक्क भिजेको बच्चाको दिसा पुछेर पत्रिका बेरेर ड्राइपट बनाइदिन्छ । त्यही पत्रिकामा लेखिएको छ– कुकुरका लागि मान्छेको हत्या ! त्यस क्षण बच्चा हुर्काउने जिम्माले त्सोत्सी अत्यन्त निराश देखिन्छ ।

ऊ छिमेकी महिलासँग बच्चालाई दूध पिलाइदिन आग्रह गर्छ । महिलाले नमानेपछि उसको निधारमा गोली तेर्स्याउँछ । बच्चाले दूध पिइरहेको दृश्य सानैमा आमा गुमाएको टुहुरो त्सोत्सी हेर्न सक्दैन ।

‘त्सोत्सी’ बनेको आज १५ वर्ष पुग्यो । यो सुन्दरकथा अझै कैयौं वर्ष उत्तिकै सान्दर्भिक हुनेछ । न्यूनतम रकममा खिचिएको यो फिल्म आज पनि बहस–विमर्शको केन्द्रमै छ ।

सीमित प्रविधि र टिममार्फत काम गरिएको यो फिल्मबाट सिक्नुपर्ने तीन पक्ष छन्– थोरै लगानीमा पनि आफ्नो कथा शानदार ढंगले भन्न सकिन्छ, फिल्म खिच्नुअघि व्यापक काम गर्नु जरुरी हुन्छ र कथासँगै चरित्र निर्माण, अभिनयलगायत थुप्रै अभ्यासले राम्रा फिल्म सम्भव छन् ।

फिल्मले ओस्कार जितेपछि यसको टिमले भनेको थियो– उनीहरूले प्रविधिभन्दा मानवीय भावनाका पक्षमा सूक्ष्म काम गरेका थिए ।

बदला, घृणा र क्रोध मायामा बदलिएको छ फिल्ममा । घृणा, बदला, हिंसा र अस्थिरताले त्सोत्सीलाई कति कठोर बनाएको छ भने फिल्म अवधिभर एकपटक पनि ऊ हाँस्दैन । तर, उसको गहिरो भावना र संवेदनाका पत्रहरूले दर्शकलाई पगाल्छन् ।

प्रकाशित : पुस ३, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?