२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११
कविता वार्ता

‘म धेरै अण्डा फोरेर निस्केको चल्ला’

कथा, उपन्यासमा कविको इमेज यसरी चित्रण गरिएको हुन्थ्यो— प्रतिभासम्पन्न, तर विपन्न ! कुनै उपन्यासमा धनाढ्य केटीले प्रेम गरेकी हुन्छे, तर केटो बिपन्न र जहिल्यै शोकाकुल भावको कवि परिदिन्छ । यसले सब कुरा गडबड भइहाल्छ— सिनेमामा देखिनेजस्तै ।

नेपाली साहित्यमा आख्यान–पुरुषका नामले कहलिएका ध्रुवचन्द्र गौतम आश्चर्यमयी ढंगमा यतिखेर कवि(अवतारमा उदाएका छन्, त्यो पनि उमेर र सृजनाको उँधौलीमा । लेखन सुरुवातका हकमा पहिलो (२०२१), तर प्रकाशनमा पछिल्लो कवितासंग्रह ‘ह्यांगरमा झुन्डिएको आकाश’ यसै साता बजारमा आएपछि कवि ध्रुवचन्द्र मनमगन मुद्रामा भेटिएका छन् । २०२१ वैशाखमा संग्रह छाप्नका लागि मदन पुरस्कार पुस्तकालयमा बुझाएकोमा वर्षौं–वर्ष यो पाण्डुलिपि यतै–कतै हराइरहेको थियो । अचानक, ५६ वर्षपछि पुस्तकालयको भण्डारणमा पाण्डुलिपि भेटिएपछि र लगत्तै सांग्रिला बुक्सबाट पुस्तक छापिएपछि कवि ध्रुवचन्द्रको कवि–छवि एकाएक बौरिएको छ– कविजी रूपमा ।  

‘म धेरै अण्डा फोरेर निस्केको चल्ला’

२०१० साल अर्थात् १० वर्षकै उमेरदेखि लेख्न थालेकाले आफू लेखनको आठौं दशकको पूर्वसन्ध्यामा रहेको कुरो सुनाइरहने गौतमसँग पुस २ मा पर्ने उनको ७९ औं जन्मोत्सव अवसरमा देवेन्द्र भट्टराईले कवि र कविता संवाद गरेका छन् :

तपाईंमा कवि–चेतना, कवि(आत्मा कसरी प्रवेश भएको थियो ?

यो सबै सम्झन मुस्किल छ, तर एकाएक मभित्र कवि छिरेको थियो । १० वर्षकै उमेरमा कक्षामा बसिरहेका बेला पहिलो कविता ‘सरस्वती बन्दना’ लेखेको सम्झन्छु । त्यहीताका ‘युवर एम इन लाइफ ?’ भनेर कसैले राखेको जिज्ञासामा म आफूलाई ‘आई वान्ट टु बी अ म्युजिसियन’ भन्थें । गायक बन्छु भन्न खोजेको थिएँ, भावार्थ नबुझेर धेरै समय ‘म्युजिसियन’ भनिरहें ।

एउटा घटना सम्झन्छु, १०–१२ सालतिरकै होला । दाजु धच गोतामेले कविताको एउटा हस्तलिखित पाण्डुलिपि तयार पार्नुभएको थियो, ‘निहारिका’ नाममा । हिन्दीमा लेखिएका ती कविताले मलाई नजानेरै आकर्षित गरे । पछि दाजु बनारसमा गएर राजनीतिक आन्दोलनमा लाग्नुभयो । त्यो पाण्डुलिपि पनि कता हरायो, पत्तै भएन । अझ आमाको निधन भएपछि (२००७) मलाई बढी संवेदनशील बनायो, जसका कारण म कवि भएँ । झन्डै आशु–कवि बनेको थिएँ ।

वीरगन्जको घरेलु माहोलबाहेक काठमाडौं केन्द्रमा कवि बनेर कसरी प्रवेश पाउनुभएको थियो ?

खासमा यसको कारण छ, अलि पछि २०१९ सालमा कवि भूपी शेरचन वीरगन्ज आएका थिए । मैंले व्यक्तिगत रूपमा चिनेको होइन, तर त्यसबेलाका ‘नयाँ समाज’ जस्ता पत्रपत्रिकामा भूपीका अन्तर्वार्ताहरू छापिएका हुन्थे, उनको ‘हामी’ भन्ने कविता पनि छापिएको थियो । त्यही आधारमा मेरो राजा(चिनाइ थियो भूपीसँग । भूपीको व्यक्तित्व, बोलीचाली र शैलीका कारण फ्यान–फलोवर (र, थुप्रै युवती फ्यानहरूसमेत) उनलाई भेट्न अपहत्ते गर्नेमा हुन्थे । उसबेला वीरगन्जमा एउटै मात्र होटल थियो, अलिक सुविधायुक्त—हिमालय होटल । हो, म पनि त्यही होटलमा गएको थिएँ, भूपी भेट्न । र, आफ्नो कवि चेतना देखाउँदै केही कविता सुनाएको थिएँ । त्यहीबेला भूपीले ‘कविता राम्रा रहेछन्, छाप्नुस् न’ भनेपछि मौका पाएझैं मैले नि भनेको थिएँ— खोइ, छापिदिँदैनन् । कविता छाप्न पनि सोर्स चाहिन्छ भन्छन् ।

‘होइन, त्यसो होइन । रूपरेखा पत्रिकाले कविता विशेषांक निकाल्दै छ । म चिठी लेखिदिन्छु नि’, भूपीको आश्वासन थियो । नभन्दै ‘रूपरेखा’ का सम्पादक उत्तम कुँवरलाई सम्बोधन गरेर भूपीले चिठी पनि लेखिदिए । त्यो पत्र लिएर म काठमाडौं गएँ, अनि रूपरेखामा मेरो जीवनकै पहिलो कविता छापियो— ‘तटस्थता : असफलता’ शीर्षकमा । (संयोग के भने मैले रूपरेखामा पठाउन चाहेको कविताको शीर्षक ‘नयाँ वर्ष’ थियो । तर, भूपी आफैंले ‘मैले नि यही शीर्षकमा रूपरेखालाई कविता दिँदैछु, तपाईं अरू नै पठाउनोस् है’ भनेपछि मैले अलग कविता पठाएको थिएँ । पछि रूपरेखामै ‘रानीपोखरीको किनारमा’ शीर्षक कविता पनि छापिएको थियो, जुन मेरो भर्खरै प्रकाशित संग्रहमा छ ।)

यस अर्थमा, उसबेला कवि बन्नै पनि सोर्सफोर्स लाग्ने रहेछ ?

हो नै । त्यसअघि (२०१८ सालतिर) पनि म ‘रूपरेखा’ गएको थिएँ । त्यहाँ बादेपा (बालमुकुन्ददेव पाण्डे) भेटिनुभयो । उहाँले ‘ठीकै छ, कविता यहीं छाडे हुन्छ । हामीकहाँ ‘फक्रँदो कोपिला’ स्तम्भ छ, त्यसमा छापिनेछ’ भन्नुभएको थियो । मैले आफ्नो वीरगन्जमा कत्रो क्रेज रहेको, नाम–मान रहिसकेको र धेरैले गायक/कवि भनेर चिन्न थालिसकेकाले कोपिला बन्न नचाहेको दम्भ राखेरै कविता नदिई फर्केको थिएँ । अझ २०१६ सालमा हेटौंडामा एउटा कविता प्रतियोगितामा प्रथम भएको थिएँ । त्यसपछि मैले लेखेको नाटक ‘पिकनिक’ (२०१८) को मञ्चनले वीरगन्जमा ठूलै हंगामा मच्चाएको थियो । अब यत्रो नाम–काम भएको कवि ‘फक्रँदो कोपिला’ स्तम्भमा आउने ? मनले मानेन । त्यहीकारण पछि कवि भूपीले पत्र लेखिदिएको सोर्सले काम गर्‍यो ।

(यसरी कोपिलाकै रूपमा त हामीले २०१३/१४ सालमा वीरगन्जको कुमालटोलमा खोलेको जुनेली पुस्तकालयमै हस्तलिखित ‘जुनेली’ पत्रिकामा कविताहरू छापिएकै थिए, यसरी मेरो कोपिला–कविको इतिहास हुँदै नभएको पनि होइन । तीमध्ये एक कविताको अंश म सम्झन्छु— शुभ्र हिमालयको काखामा, बसेको हाम्रो देश नेपाल/यसको एकएक चप्पामा रिपुहरूको बस्दछ काल...) ।

वीरगन्जमा ‘रूपरेखा’ को नाम–काम कसरी थाहा हुन्थ्यो ? के त्यो पत्रिका काठमाडौंबाट त्यहाँ जान्थ्यो ?

म काठमाडौं २०११ सालदेखि नै आइजाइ गरेको हुँ । धच दाजुको संगत, साहित्यिक सर्कल र पत्रपत्रिकाको अन्दाज त थोरबहुत थियो नै । नयाँ सडक, फसिकेवको एउटा घरमा ‘रूपरेखा’ सुरुमा खुलेको हो, २०१७ सालतिर निजी तहमा खुलेको राष्ट्रिय पुस्तकालयले सुरुमा ‘रूपरेखा’ छापेको थियो । ‘रूपरेखा’ जस्ता पत्रिका त वीरगन्जमा पुग्दैनथे । तर, ‘नयाँ समाज’, ‘समाज’, ‘समीक्षा’ जस्ता पत्रपत्रिका जान्थे, जहाँ कवि, साहित्यकारबारे समाचार वा अन्तर्वार्ता छापिन्थे । भूपीको अन्तर्वार्ता पनि ‘नयाँ समाज’ मैं पढेको थिएँ । त्यो अल्लारे उमेरमा यस्ता खुराक निकै आत्मसात् गरिहाल्थ्यौं । ‘ओहो, अन्तर्वार्ता दिने लायकको कवि’ भनेसि सक्किहाल्यो ।

भूपी धेरै नपढे पनि उनको अन्तर्वार्ता त पढिएकै थियो । अन्तर्वार्तामा भूपीले ‘तपाईंलाई मन पर्ने कवि को हो ?’ भन्ने प्रश्नमा मोहन कोइराला, कृष्णभक्त श्रेष्ठहरूको नाम लिएका थिए । यसरी कोइराला, श्रेष्ठ पनि मन पर्न थाले, तिनको कवितै नपढीकन । लाग्थ्यो— भूपी निकै ठूला कवि हुन्, अब उनले प्रशंसा गरेका कवि झनै ठूला भइहाले । बरु मोहन कोइरालाको भने २०१४ सालमा निस्केको ‘इन्द्रेणी’ पत्रिकामा नाम पढेको थिएँ । देवकोटाको ‘पागल’, कोइरालाको ‘उषा: रक्सीको एक झोल’ जस्ता कविता त्यहाँ छापिएका थिए । हामीलाई जो छापिएको छ, त्यही ठूलो मान्छे भइहाल्थ्यो— गुदी जेसुकै होस् ।

२०१६ देखि २०१९ सम्मका झन्डै ३ दर्जन कविताको संग्रह तयार पारेपछि (२०२० पछि) किन तपाईंको कवि–रूप कतै विलीन भयो ?

हो, २०२१ सालमा किताब छापिएला कि भनेर कविताको पाण्डुलिपि मदन पुरस्कार पुस्तकालयमा बुझाइसकेको थिएँ, तर कुनै संकेत आएन । त्यहीबेला म उपन्यास लेखनतिर लागिसकेको थिएँ । ‘बालुवामाथि’ उपन्यास लेख्ने क्रममै थिएँ । आज यो रहस्य भनिदिऊँ, मैले लगातार समय दिएर र एकलतमा काम सकेको भए यही ‘बालुवामाथि’ पहिलो प्रकाशित उपन्यास हुने थियो तर, भइदियो पहिलो ‘अन्त्यपछि’ (२०२४) ।

तपाईं वीरगन्ज छँदै कुनै कार्यक्रम लिएर वा अतिथि बनेर को–कति कवि वीरगन्ज आएका थिए ? अथवा, आउने गर्थे ?

मैंले कविशिरोमणि लेखनाथलाई वीरगन्जमै देखेको थिएँ, महाकवि देवकोटा पनि रुस भ्रमणपछि वीरगन्ज आएका थिए— २०१५ सालमा । देवकोटाको सम्मानमा कार्यक्रम राखिएको थियो, उनले धाराप्रवाह प्रवचन दिएका थिए । दौलतविक्रम बिष्टलाई वीरगन्जमै देखेको थिएँ । महानन्द सापकोटाको पनि वीरगन्जमा सम्पर्क थियो । कतिपय लेखकको त वीरगन्जतिर, मधेशतिर जग्गाजमिन रहेको र त्यो रेखदेखमा आइरहने कुरा सुनेको थिएँ ।

काठमाडौंमा छापिएका पुस्तक वा पत्रपत्रिकासमेत पुग्न मुस्किल पर्ने वीरगन्जमा हिन्दी किताब पाउन कसरी सम्भव थियो ?

हो, वीरगन्ज छँदै कैलाश बाजपेयी, सर्वेश्वर दयाल सक्सेना (काठकी घण्टिया), धर्मवीर भारती (मानव मूल्य और साहित्य) का पुस्तकहरू मगाएर पढेको थिएँ । पार्सलमा आउने पुस्तकका लागि ‘वीरगन्ज, नेपाल, जिल्ला चम्पाहरण, बिहार, भारत’ भन्ने ठेगाना लेखिन्थ्यो । त्यसरी मगाइएका पुस्तक रक्सौलको डाक विभागसम्म जान्थ्यो । अनि त्यहाँबाट लिएर आउनुपथ्र्यो । भनौं न, म धेरै अण्डा फोरेर निस्केको चल्ला हुँ, एउटै अण्डाबाट होइन । म लामै यात्राको हमसफर हुँ, धेरै आरोह–अवरोह मेरासामु आए–गएका छन् ।

काठमाडौं आएपछि भने अलि बुझेर–देखेर रोजेका (रोज्जा) कवि को थिए ?

पक्कै पनि देवकोटै थिए । देवकोटाका विचारधारा, रोमान्टिकदेखि प्रगतीशिल शिल्पीसमेतको प्रभावले पनि ती कविप्रति असाध्यै सम्मान थियो । पछि संगत भएपछि र पढ्ने क्रम बढेपछि भूपी शेरचन, मोहन कोइराला, द्वारिका श्रेष्ठ, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, पारिजातको प्रभाव व्याप्त थियो, यिनको सृजनाप्रति म पनि निकै लोभिएको थिएँ ।

कवयित्रीका रूपमा भने म पारिजात (लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र) र प्रेमा शाह (आऊ मलाई सम्भोग गर) जस्ता कविता निकै रुचाउँथे, भाव र शिल्पीका आधारमा ।

त्यसबेलाका कतिपय जल्दाबल्दा कवि त पछि गएर सेलाए नि ?

हो, मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, प्रेमा शाह, वानीरा गिरिहरू निकै जल्दाबल्दा थिए । ती पछि कविका रूपमा अलिक सेलाए । पारिजातका हकमा ‘शिरीषको फूल’ उपन्यास आएपछि त कवि चिनारी र व्यक्तित्व त्यसैले ढाकिहाल्यो, पूरापूर ।

पुतलीसडक बस्ने कवि पारिजातसँग भेट गराउन मलाई वानीरा गिरिले लैजानुभएको थियो—भारतबाट कवि सर्वेश्वर दयाल सक्सेना आएका बखत (२०२२ सालतिर) । मलाई पनि कवि ध्रुवचन्द्रकै रूपमा चिनाइएको थियो, पुस्तक प्रकाशन वा चिनारीमा म कवि बनिनसकेको भए पनि ।

त्यो सुरुवाती दिनमा के तपाईं मोहन कोइरालाको कविता बुझ्नुहुन्थ्यो ?

अहँ, बुझ्नै मुस्किल रह्यो । आ–आफैंले अर्थ लगाउनुपर्ने हुन्थ्यो । मैले सुनेको हुँ— देवकोटा स्वयम्ले पनि मोहन कोइरालालाई ‘खोइ, तपार्इंको कविता त्यति बुझिँदैन’ भनेका थिए रे ! जबकि देवकोटाकै कविता बुझ्न सकस परिरहेको हुन्थ्यो । तर, कस्तो हो भने पश्चिमा कविहरू टीएस इलियट, एज्रा पाउन्ड, डाइलन टमस, सिल्भिया प्लाथहरू पनि झट्टै बुझिने कवि थिएनन् । सायदै त्यस्तै अमूर्तताको प्रभाव हाम्रा कविमा पनि परेको हो कि ? अमूर्तबाट पनि एउटा प्रभाव उत्पन्न हुन्छ भन्ने थियो, त्योबेला ।

कवि–कर्म र पहिचानबाट आफू तिरोहित भएपछि नेपाली कविका कविता कत्तिको पढ्नुभयो ? हिन्दी वा अंग्रेजीको प्रभाव कत्तिको रह्यो ?

वीरगन्जकै जल्दोबल्दो कवि विमल निभा धेरै पढेको छु, त्योबेलाका श्यामल, विमल कोइराला, विजय बजिमय, दिनेश अधिकारी आदि पढेको छु । पछिल्लो पुस्ताका कुरा गर्दा श्रवण मुकारुङ (बिसे नगर्चीको बयान) देखि अझपछि नवराज पराजुली (सगरमाथाको गहिराइ) सम्म पढेको छु । यत्ति भनौं, मेरा लागि सृजनाको पहिलो प्रभाव र झट्टै छोइहाल्ने बिधा भनेको कवितै थियो, अझै छ । त्यसमा पनि मेरा हकमा सुरुको सृजन प्रभाव भनेको हिन्दी भाषाको थियो, हिन्दी कवि–कविता मात्रै ओढ्दै–ओछ्याउँदै हिँडेको अनुभव मसँग छ । मैथिलीशरण गुप्तोदेखि जयशंकर प्रसाद, गोपालसिंह नेपाली, रवीन्द्रनाथ, बंगिमचन्द्र, अमृता प्रितम, उमर खैयाम, महादेवी वर्मा र प्रसाद(पन्त–निराला कण्ठै हुन्थ्यो ।

पुरानो कुरा सम्झौं— ७ कक्षा पढ्दै गर्दा कले किवर भन्ने कविको ‘क्यालेरेन्डन रिडर’ पुस्तकको ‘द ब्लाइन्ड बोई’ भन्ने कविता थियो, निकै मीठो लाग्ने । त्यो पढेर म रोएको छु । मेरो चेतनामा पहिलो धक्का लागेको कविता त्यही थियो ।

अब चिनारी वा पहिचानकै कुरामा ‘ओ कविजी’ भनिएमा त उपहास गरिएजस्तो स्थिति होला नि ! तपाईंलाई यस्तो लाग्दैन ?

होला, पहिलेको समयमा कविको यस्तै प्रकारको इमेज पनि थियो । कवि भन्नेबित्तिकै झुत्रेझाम्रे, गरिब–विपन्न यस्तैयस्तै । प्राय: कथा, उपन्यास, कवितामा कविको इमेज यसरी चित्रण गरिएको हुन्थ्यो— प्रतिभासम्पन्न, तर विपन्न † कुनै उपन्यासमा धनाढ्य केटीले प्रेम गरेकी हुन्छे, तर केटो विपन्न र जहिल्यै शोकाकुल भावको कवि परिदिन्छ । यसले सब कुरा गडबड भइहाल्छ— सिनेमामा देखिनेजस्तै । तर, मेरा हकमा त कवि भूपी निकटस्थ थिए, जो काठमाडौंको पारस होटलमा महिनौं बस्थे । कवि द्वारिका वा कृष्णभक्त वा मदन रेग्मीहरू सम्पन्न थिए र, छन्— कसले ‘हेय चिनारी’ दिने ? मोहन कोइराला, माधव घिमिरेहरू पनि राम्रै ठाँटमा हिँड्थे । देवकोटा त काठमाडौंमा त्यो बेला ‘रेले ब्रान्ड’ को साइकलमा हिँड्थे रे, रोचक घिमिरेसँग पनि रेले साइकल थियो । त्यो एउटा कविका निम्ति सानो प्रतिष्ठाको कुरा थिएन । तर, अहिले आएर त यो पहिचान फेरिएझैं लाग्छ, ‘ओ कविजी’ भन्दैमा सबै चिनारी सकिहाल्लाजस्तो लाग्दैन ।

तपाईंले आफ्नै केही गीत पनि गाउनुभएको थियो ? रेकर्डमा रहे कि ?

मैंले लेखेको, संगीत भरेको र आफैं गाएको एउटा गीत थियो, जुन निकै पपुलर भयो वीरगन्जतिर । यो गीत लेखिनुमा एउटा प्रभाव थियो । सन् ६० को दशकमा आएको ‘वर्षातकी रात’ हिन्दी फिल्ममा एउटा गीत थियो— ‘जिन्दगीभर नहीं भूलेगी ये वर्षातकी रात ।’

यसैबाट निकै छोइएर गीत लेखेको थिएँ । यो गीत धेरैले आफ्ना डायरीमा सारे, बिशेषत: केटीहरूले । पोस्टकार्डमा पनि लेखेर पठाएका थिए कतिले । गीतको स्थायी थियो—

'बिर्सन सक्छु यो संसार

म आफैंलाई

तिम्रो मीठो अनुहार

बिर्सन सक्दिनँ ।'

‘ह्यांगरमा झुन्डिएको आकाश’ को इमेज र यसमा भरिएको कवि–कल्पना के थियो ?

सिंगो आकाशलाई एउटा नीलो कपडा भन्ठानेर र त्यही आकाशलाई ह्यांगरमा राखेको विम्ब कोरेको हुँ । यो संग्रहभित्र एक लामो आख्यान लुकेको छ । हो, म कविता केटाकेटी बेलादेखि नै लेख्थेँ । त्यसबखत मेरा कविता भावुक आदर्श, रुमानी बाल्यरसमिश्रित हुन्थे । ०१५ सालसम्म यस्तै चल्यो । त्यहीताका मैले रचेको ‘को ठूलो ?’ कविताले भुटनदेवी हाइस्कुल, हेटौंडाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार पाएको थियो । पुरस्कारमा पैसा थियो–थिएन, सम्झना छैन ।

विशुद्ध चाँदीको मेडल थियो, त्यो म सम्झन्छु जुन अहिले मसँग छैन । यसरी हराउनु मेरा लागि सामान्य कुरा हो । मैले कति वस्तु, नगद र पुस्तक हराएको छु । त्यसको हिसाब छैन । पुस्तक कतै राखेर राखेको ठाउँ बिर्सिनु त मेरो यस्तो बानी भएको छ, मलाई लाग्छ— मेरो एक चौथाइ जीवन पुस्तक खोज्नमै व्यतीत भएको छ ।

शनिबार प्रकाशित हुने परिशिष्टांक 'कोसेली'बाट

प्रकाशित : पुस २, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?