आख्यानकार महात्मा बुद्ध !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आख्यानकार महात्मा बुद्ध !

धान रोप्ने बेला खडेरी र काट्ने बेला डुबानको समस्या भोगेका किसानका कथा सुनेर विरक्तिएको मनमा मल्हम लगाउन सिद्धार्थ गौतमको जन्मस्थल पुगेका पत्रकार मोहन मैनालीका तरङ्गमा ख्यातिप्राप्त पाकिस्तानी लेखक इन्तिजार हुसेन आए । हुसेनले उनलाई गौतम बुद्धको अर्को अवतार देखाइदिए— महान् आख्यानकार बुद्ध ! 
मोहन मैनाली

०७१ असोज २९ गते, लुम्बिनी !
साँझ मायादेवी मन्दिरलाई पश्चिम छाडेर उत्तर जाने बाटोमा यत्तिकै टहलिँदै गर्दा मैले बाटो पूर्वबाट पेट्रोलियम पदार्थले चलाएको पानी तान्ने पम्पसेटको आवाज र गन्ध सुनेँ, सुँघेँ । कात्तिकमा धान काट्ने बेलामा खेतमा पम्पसेट !

हो, त्यो पम्पसेट नै थियो । त्यो पम्पसेट र खेतका धनी पम्पसेट–छेउमै बसेका थिए ।

‘बर्खामा धान रोप्ने बेलामा पानी परेन र पम्पसेटले पानी तान्नुपर्‍यो । अहिले धान काट्ने बेला हावा चल्यो, धान ढालिदियो । पानी फाल्न पम्पसेट चलाउँदै छु । किसानलाई दोहोरो मार,’ उनले भने । केही दिन पहिले हिमालयसँग जुध्न भनेर बंगालको खाडीबाट दौडेको हुदहुद आँधी यही बाटो आएछ । बेला न कुबेला हावा चलाएछ, पानी पारेछ, किसान र धान दुवैलाई ढालेछ, डुबाएछ ।

यस्ता समस्या किन आउँछन् र यिनबाट मुक्ति पाउन के गर्नुपर्छ भन्नेबारे मै हुँ भन्ने विद्वान्, सरकार र किसान कसैलाई पनि ज्ञान छैन । त्यसैले यस्ता सांसारिक दुःख देखेर हामी विरक्त हुन मात्र सक्छौं । यस्तै विरक्ति आएका बेला मेरा खुट्टा उनै सिद्धार्थ गौतम जन्मेको ठाउँतिर चले ।

बुद्ध जन्मिएको ठाउँछेउ पुगेर म थुचुक्क बसेँ । यस्तैमा एक जना अलि वृद्ध मानिस मेरो तन्द्रामा आएर भने, ‘संसारकै महान् आख्यानकार महात्मा बुद्ध जन्मेको ठाउँमा बसेर के कस्तो आख्यानका लागि सामग्री बटुल्न लागिस् ?’

‘आख्यानकार बुद्ध ?’ मलाई आश्चर्य लाग्यो ।

‘हो, महान् आख्यानकार महात्मा बुद्ध ! यसमा आश्चर्य मान्नुपर्ने के कारण छ र !’

‘तिमी पनि आख्यानकार हौ कि क्या हो ?’ दुर्गालाल श्रेष्ठको यो एक लाइन–फूलको आँखामा फूलै संसार– सम्झिएर मैले सोधेँ ।

‘हो, म पनि आख्यानकार हुँ । पाकिस्तानमा बस्छु । उर्दू भाषामा साहित्य र पत्रिकामा कोलम लेख्छु । मेरो नाम इन्तिजार हुसेन ।’

‘मलाई असाध्यै मन परेको एउटा किताब तिम्रैजस्तो नाम भएका मानिसले लेखेको हुनुपर्छ । दिल्ली था जिसका नाम थियो त्यस किताबको नाम ।’

‘हो, दिल्ली था जिसका नाम लेख्ने इन्तिजार हुसेन मै हुँ ।’

‘सलाम वालेकुम, मेरा प्रिय लेखक !’

दाहिने हात छड्के पारेर औंलाले निधारको छेउ छोएर मैले भनेँ । ‘दिल्ली था जिसका नाम मा निर्जन खांडू वनमा इन्द्रप्रस्थ नगर कसरी बसाइयो र यो नगर कसरी उजाडियो भनेर वर्णन गर्दा तिमीले कमाल गरेका छौ । तिमीले लेखेका दुईवटा वाक्य– महाभारतले क्या कमाल गरेको छ ! एक एक सर्पका नाम लेखेको छ !– म अहिले पनि सम्झन्छु ।’

‘मैले त्यो किताब उर्दूमा लेखेको थिएँ । उर्दू किताब, त्यो पनि पाकिस्तानी किताब नेपाल आइपुग्छन् ? अनि आम नेपालीले उर्दू किताब पढ्न सक्छन् ?’

‘म उर्दू कामचलाउ बुझ्न सक्छु, तर लिपिले गर्दा उर्दू भाषामा लेखिएका कुरा पढ्न सक्दिनँ । मैले तिम्रो त्यो किताब युट्युबमा राखेको अडियो बुकमा पढेको हुँ ।’

‘हो, अडियो बुकले भाषाको सिमाना अलिकति भए पनि मेटिदिएको छ रे । हिन्दी बुझ्ने, तर फारसी–अरबी लिपि नबुझ्नेले पनि अडियो बुक सुनेर उर्दूको स्वाद लिन सक्छन् रे । इन्टरनेटले ठाउँको दूरी हटाइदिएको छ रे, उर्दू साहित्य लेखिने ठाउँभन्दा टाढाका मानिसले पनि यसको स्वाद लिन पाएका छन् रे ।’

‘रे चाहिँ किन थपेको नि, इन्तिजार सा’ब ?’

‘म तिमीहरू जस्तो हिजोअस्तिको मानिस हुँ र ! महाभारतको लडाइँ अन्त्य भएर जसरी कुरु अधिराज्य दुई भागमा बाँडियो त्यसरी नै आजभन्दा धेरै वर्षअघि इंग्लिसस्तानसँगको लडाइँ सकिएपछि हिन्दुस्तान दुई भागमा बाँडिँदाखेरि नै म पच्चीस वर्षको भइसकेको थिएँ । त्यसैले नब्बे कटेपछि अहिले मलाई अडियो बुक र इन्टरनेटजस्ता नयाँ कुरा सिक्ने रहर र जाँगर छैन । मेरा रचना अनुवादका लागि अनुमति माग्दै इमेल आउने गर्छन् । ती इमेल पढ्ने र तिनको जवाफ दिने कामको जिम्मा मैले अरु (फारुखी सा’ब) लाई नै दिएको छु ।’

‘मोहम्मद पैगम्बरका समयमा इन्टरनेट र अडियो बुक हुन्थे भने उनले पनि तिनलाई हराम (वर्जित) ठान्दैनथे होला, हलालै (वैध) ठान्थे होलान् । त्यसैले तिमीले पनि यिनलाई छुनै हुँदैनजस्तो नगरे हुन्थ्यो ।’ यत्ति भनेर मैले यो प्रसंग टुंग्याएँ । बुद्ध कसरी महान् आख्यानकार भए भनेर उनलाई सोधेँ ।

उनले आफ्नो कथामार्फत मेरो प्रश्नको जवाफ दिए ।

‘कथा लेख्न थालेका बेलामा म कथा भन्ने शैलीबारे घोत्लिन थालेँ । त्यसो गर्दा (हाल भारतको उत्तरप्रदेशमा रहेको मेरो घरवरपर हुने) रामलीला याद आयो । त्यसपछि मैले रामायण पढ्न थालेँ । त्यो पढ्दै जाँदा मलाई महाभारत पनि पढ्नुपर्छ भन्ने लाग्यो । त्यसका अठारै पर्व मैले धेरै पटक पढेँ । अठारै पर्व महाभारत छिचोल्ने मानिसले गंगामा डुबुल्की मार्दा जति नै पुण्य पाउँछ रे । मैले त्यति त्यति पुण्य पाएको छु ।’

‘त्यसपछि मलाई मैले महात्मा बुद्धका कुरा पढ्नुपर्छजस्तो लाग्यो । त्यतिबेला म आफैंलाई मलाई के हुँदै छजस्तो लाग्यो । म त सीधासाधा मुसलमान थिएँ । अहिले मलाई के कस्ता कुरा पढ्ने चाहना हुँदै छ भन्ने लाग्यो । मेरा एक जना साथीले मलाई सोधे— तँ त इस्लामको कुरा बहुत गर्थिस् । अहिले आएर तँ के गर्दै छस् ?

‘हो, म सीधासाधा मुसलमान थिएँ । तर, जब बदमास मानिस पनि मुसलमान भएको देख्न थालेँ तब मैले सोचेँ— मेरो लक्ष्य पूरा भयो । अब मैले इस्लामबाहिर निस्केर शयर गर्नुपर्छ, त्यहाँका साहित्यमा के छ, हाम्रा छिमेकी साहित्यमा के छ, इसाई के भन्छन्, श्रीकृष्णजी कुन अवतार थिए, बुद्धले के भनेका छन् भनेर खोतल्नुपर्छजस्तो लाग्यो । यसो गर्दा म मेरो पुग्ने ठाउँबारे एकदमै स्पष्ट थिएँ । त्यो हो— फर्केर

आफ्नै ठाउँमा आउनु ।’

‘मेरा एक जना साथी थिए— शलोद्धिन मेहबुब । उनी पक्का मुसलमान थिए । उनी जतिबेला हजरत (इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर) को नाम लिन्थे, उनको अनुहार चम्किन्थ्यो । तर, उनी मीरा बाईका भजन बडा जोसहोसका साथ सुन्थे । एक पटक उनले मीरा बाईको भजनको नयाँ रेकर्ड फेला पारेछन् । त्यस खुसियालीमा उनले हामीलाई एक रात उनीकहाँ बोलाए । बिजुली बत्ती निभाएर कोठा अँध्यारो बनाएर उनले हामीलाई मीरा बाईको भजनको रेकर्ड एकाग्र चित्तले सुन्न लगाए, उनले पनि सुने ।’

‘मैले उनलाई सोधेँ— तिमी यति सच्चापक्का मुसलमान भएर पनि मीरा बाईका भजन सुन्छौ ?’

‘मीरा बाईको भजनबिना मेरो इस्लाम पूर्ण हुँदैन’, उनले जवाफ दिए ।

‘उनको जवाफ सुनेपछि मेरो हकमा पनि यही कुरा लागू होलाजस्तो लाग्यो । म आफ्नो ठाउँमा मुसलमान त हुँ, तर अरू धर्मसँग मेरो दुश्मनी छैन । मलाई के लाग्छ भने धेरथोर सच्चाइ तिनमा पनि हुन सक्छ । त्यसैले मैले महात्मा बुद्धका उपदेश पढेँ ।’

‘खासमा कथा भन्ने कला मैले दुई जनाबाट सिकें ः मेरी हजुरआमा र महात्मा बुद्ध ।

‘मलाई आफ्नो गाउँ याद आएका बेला (हिन्दुस्तानको अंशबन्डा हुन लागेपछि उनी आफ्नो

गाउँ छाडेर हालको पाकिस्तान गएका थिए । त्यसैले पनि उनलाई आफ्नो गाउँको याद बढी नै आउँथ्यो) मलाई ती रातको पनि याद आउँथ्यो, जति बेला हजुरआमाले कथा सुनाउँथिन् । मैले उनले सुनाएका कहानी सम्झिएँ । तिनले मलाई पुराना कहानीप्रति रुचि जगाइदिए ।’

‘ती कहानी पढ्दा मलाई हिन्दु परम्पराले जन्माएका कहानी याद आए । ती पढ्दै जाँदा मलाई लाग्यो— यहाँ कहानीको समुद्र मडारिएको छ । रामायण र महाभारतमा कथा भन्ने कस्तो बेजोड परम्परा छ भने कथा सुरु हुन्छ तर खत्तम हुने छाँटछन्दै आउँदैन ।’

‘यस्तै बेला मैले सम्झिएँ— महात्मा बुद्ध उपदेश दिन्थे । उपदेश दिँदा उनी कहानीमार्फत पो दिन्थे कि ? खोज्दै जाँदा जातक कथाबारे सुनेँ । जातक कथा के हो भन्ने कुरा मैले अंग्रेजीमा पढेँ । उनका केही उपदेश पढेपछि मैले त्यहाँ पनि कथाकहानी छन् भन्ने थाहा पाएँ । मैले किताबका मामलामा धेरै धनी मेरा एक जना साथीलाई महात्मा बुद्धको जातक कथाको संग्रह खोजिदिन भने । उनले खोजिदिए । त्यो पढ्न थालेँ ।’

‘जातक कथा (यस्ता कथा साढे पाँच सय जति छन् भनिन्छ) पढ्दै जाँदा मलाई अर्कै दुनियाँमा पुगेजस्तो लाग्यो । कथा पढ्न बीचमै छाडेर म आफ्ैं कथा लेख्न बसेँ । महात्मा बुद्धका जातक कथाले ममा कस्तो प्रभाव पारे भने म

आफ्नै किसिमका जातक कथा लेख्न थालेँ । उनका बाँकी कथा खोज्दै पढ्न थालेँ ।’

‘महात्मा बुद्धको कथा भन्ने तरिका मलाई अनौठो लाग्यो किनभने उनी भिक्षुहरूका बीचमा बसेका हुन्थे । गाउँ/नगर घुमेर आएका एक जना भिक्षुले आज मैले यस्तो यस्तो अनौठो कुरा सुनेँ भनेर भन्थे ।’

‘त्यो सुनेर महात्मा बुद्ध भन्थे— यस्तो कुरा पहिले पनि भएको थियो ।’

‘कहिले ?’ भिक्षुहरू सोध्थे ।

‘एक लाख वर्षपहिले । एक जना अजिब राजा थिए । उनले आफ्ना प्रजाको समस्यालाई यसो यसो गरेर हल गरेका थिए ।’

‘भिक्षु छक्क पर्थे र भन्थे— ओहो यति गम्भीर विषय ! त्यस्ता महान् राजा पनि थिए ?’

‘तिमीहरूलाई थाहा छ ती राजा को थिए ?’ बुद्ध सोध्थे र जवाफ दिन्थे, ‘त्यो राजा म थिएँ ।’

‘अच्छा, तपाईं हुनुहुन्थ्यो ?’

‘हो, म थिएँ ।’

‘एक लाख वर्षपहिले ?’

‘हो, एक लाख वर्षपहिले म थिएँ ।’

‘उनी कहानी भन्थे, त्यसपछि मैले चोला बदलेँ । म बाँदरको योनिमा जन्मिएँ ।’

‘कुनै भिक्षुले कुनै बेला बाँदरका किस्सा ल्याउँथे । त्यसपछि महात्मा बुद्ध भन्थे, बाँदरको एउटा कहानी मलाई याद छ । एक पटक बाँदरका हूललाई गंगा नदी नतरी नहुने भयो, तर भेल उर्लेको गंगा तर्ने उपाय उनीहरूले कसै गरी पत्ता लगाउन सकेनन् । त्यस्तैमा एउटा बुज्रुक बाँदरसँग उनीहरूको भेट भयो । उसले ती बाँदरलाई भन्यो— फलाना ठाउँमा एउटा रूख छ । त्यसका हाँगा नदीको बीचसम्म फैलिएका छन् । त्यसको पारिपट्टि अर्को रूख छ । त्यसका हाँगा पनि नदीका झन्डै बीचसम्म आइपुगेका छन् । दुईवटा हाँगाका बीचमा अलिकति ठाउँ छ । म यताको हाँगामा खुट्टाले र उताको हाँगा हातले समातेर झुन्डिन्छु । तिमीहरू मेरो जीउमा चढेर गंगा पार गरौला ।’

‘असंख्य बाँदर त्यस बाँदरको ढाडमा टेकेर गंगा तरे । त्यो बाँदर लखतरान भयो ।’

‘त्यो बाँदर को थियो ?’ बुद्धले भिक्षुलाई सोधे । ‘त्यो बाँदर म थिएँ ।’

‘तपाईं हुनुहुन्थ्यो ?’

‘हो, म थिएँ, बुद्धले जवाफ दिए ।’

‘त्यसपछि के भयो ?’

‘मेरो आखिरी समय आइसकेको थियो । त्यसपछि मैले बट्टाईको कोखमा जन्म लिएँ ।’

‘उनी यसरी कथा भन्थे । कस्तो कथाकार ! एक ठाउँमा बसेको छ । उसको सम्झनामा यति धेरै कुरा छन् । संसारमा भएका हरेक घटनामा आफू संलग्न भएको बताउँछ । मुस्किल परेका बेला आफूले सहयोग गरेको बताउँछ ।’

‘कथा भन्ने यो शैली मलाई रोमाञ्चक लाग्यो । मैले जातक कथा पढेका बेलासम्म साहित्यमा अहिले भनिएजस्तो म्याजिक रियालिजमको चलन आइसकेको थिएन । मैले महात्मा बुद्धका कहानीमा यसको स्वाद पाउन लागेँ । मैले त्यही शैलीमा कहानी लेख्न थालेँ, जानी नजानी उनको सिको गर्न कोसिस गरेँ । मेरा कहानीमा महात्मा बुद्ध र भिक्षु ज्यादा आउँछन्, हिरोइन कम आउँछन् ।’

‘जातक कथा, रामायण र महाभारत पढेपछि मलाई हिन्दुस्तानका अहिलेका कथाकार/उपन्यासकार अजिबका लागे । कथाकहानी भन्ने हिन्दुको यति महान् परम्परा छ त्यसबारे उनीहरूलाई थाहै छैन । उनीहरू चेखव, डिकिन्सन, मोपाँसा, गोर्की आदिका पछि लागेका छन् । उनीहरू पो महात्मा बुद्ध बनेका छन् हिन्दुस्तानका कथाकारका लागि । आफ्ना धर्तीमा यति ठूला कथाकार पैदा भएका थिए भन्ने ख्याल उनीहरूलाई छँदै छैन ।’

महात्मा बुद्ध महान् कथाकार भएको कुरा मानेँ । पोहर साल मेन बुकर प्राइजको सर्ट लिस्टमा परेका, उर्दू साहित्यको चेहरा बदल्ने यी उम्दा साहित्यकारसँग कुरा गर्ने अवसर मिलेका बेला शेरशायरीबारे कुरा किन नगरौं भन्ने लाग्यो । मैले सोधेँ— महात्मा बुद्ध कवि पनि थिए कि ?

‘त्यो त मलाई थाहा भएन । तर हामी मुसलमानका चाहिँ रगतका कण कणमा शेरशायरी छ । युवा जोसको विद्यार्थी, जवानीभर बन्दुक र आदेशसँग मात्र उठबस गरी थाकेर रिटायर भएको जर्नेल अनि नाफा नोक्सानसँग मात्र सरोकार राख्ने उद्योगपति सबैले शेरशायरी लेख्छन् । त्यस्ता शेरशायरीलाई भुलिदिनु नै बेस हुन्छ । जस्तो कि, मैले पनि शेरशायरी लेखेको थिएँ भने पनि त्यो मैले भुलिसकेको छु ।’

अकविता लेखेर त्यसलाई कविता भन्ने/भन्न लगाउने कविहरूलाई इन्तिजारले निःसर्त आममाफी दिए भने बुद्ध र कवितालाई जोडेर बढी कुरा किन कोट्याउनु भन्ने लाग्यो । इन्तिजार आफ्नो बाटो लागे । यहाँबाट ६०० किलोमिटर जति सीधा पश्चिम, भारतको उत्तरप्रदेशको उनी जन्मे–हुर्के–बढेको बुलन्द सहरतिर गए कि यहाँबाट ४०० किलोमिटर दक्षिण रहेको, सिद्धार्थ गौतमले बुद्धत्व पाएको ठाउँ बोधगयातिर थाहा भएन ।

एक्लै बसेर मैले सोचेँ— धान रोप्ने बेलामा खेतमा पानी लाउन र धान काट्ने बेलामा खेतको पानी फाल्न पम्पसेट लगाउनुपर्ने दिन प्रकृतिले वा मानवले कसरी सिर्जना गर्‍यो र यसबाट मुक्ति पाउने उपाय के हो भन्ने प्रश्नका जवाफ नपाए पनि बुद्धको जन्मभूमिमा आएको मलाई फाइदै भयो । एक जना सच्चापक्का मुसलमानका वचनबाट बुद्धत्वको सानो अंश मैले पाएँ । त्यो हो— आफ्नो ठाउँमा पुग्न, आफूलाई राम्रोसँग चिन्न अरूका ठाउँ घुम्नू । आफ्नो उज्यालो पहिल्याउन अरूले उज्यालो पारेका ठाउँको विचरण गर्नू ।

(इन्तिजार हुसेनसँग लुम्बिनीमा मेरो भेट भएको कुरा मात्र तन्द्राको हो । इन्तिजारका कुरा उनकै जिब्रो र कलमबाट लिएको हुँ ।)

प्रकाशित : मंसिर २५, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

विज्ञान विचार : सही विचार

दिशा उल्टो परेपछि धेरै कुरा उल्टो हुन्छ । अनि सबै दिशाको ख्याल नगरेर चारवटा मात्र दिशा ख्याल गर्दा अझ धेरै कुरा झूटा हुन्छन्, जसलाई सत्य हो भन्ने ठानी हामी भ्रम बोकिहिँड्छौँ । 
मोहन मैनाली

घरबाहिर निस्कन पाउँदैनस् भनेर सरकारले नभनेको भए डुल्ने रहर त्यति औधी लाग्दैनथ्यो होला । तर, यसपालि कोरोनाको डरले घरभित्र लुक्नुपरेका बेला घरबाहिर निस्कौँ, निस्कौँ लाग्यो । एउटा उपाय निस्कियो– कुर्सीमा बसेर नेपाल घुम्ने । घुम्ने तलतल मेटाउन मलाई मन पर्ने लेखक डा. तीर्थबहादुर श्रेष्ठको पुस्तक पल्टाएँ– नेपाल : नखुलेका पाटाहरू (विचार–विज्ञान लेख संग्रह) । 

मैले सुन्दा सुन्दा गरेको गीतको एउटा गेडाबाट सुरु भएको छ यो किताब । त्यस गीतले भन्छ,

विश्वमा अग्लो हिमाल काखमा हाम्रो नेपाल

हाम्रा राजा ठूला छन्, हाम्रै देश विशाल ।

किताबले भन्छ, नेपालका जडीबुटी खोज्ने जागिर खान थालेका बेला पहाड र हिमाल हिँड्दा डा. तीर्थबहादुर श्रेष्ठ यो गीत मनमनै गुनगुनाउँदा रहेछन् । मनन पनि गर्दा रहेछन् किनभने त्यसले दिएका ज्ञानका आधारमा दिशा छुट्याउँदा रहेछन् । अर्थात्, हिमाल हेरेका बेला मुख भएतिर उत्तर, दाहिने हात भएतिर पूर्व, देब्रे हात भएतिर पश्चिम र घुच्चुक भएतिर दक्षिण ।

माथिल्लो डोल्पाको अग्लो भञ्ज्याङ सेसुला पुगेका बेला यो तरिकाले दिशा छुट्याउने बानीले उनलाई अप्ठ्यारोमा पारेछ । उनी पूर्व जान खोज्थे उनका पाइला पश्चिमतिर सर्थे र उत्तर लाग्छु भन्दा दक्षिणतिर ।

चेत नगुमाएका बेला पनि उनलाई यस्तो किन भयो भने उनी नेपालको त्यस भागमा पुगेका थिए, जहाँबाट हिमाल दक्षिण पर्थ्यो, नेपालका अधिकांश भूभागबाट झैं उत्तर पर्दैनथ्यो । उनी हिमालपारि पुगेका थिए, जहाँबाट हिमाल हेरेका बेला मुख भएतिर दक्षिण र दाहिने हात भएतिर पश्चिम पथ्र्याे । त्यहाँका मानिसले माथिको गीतलाई यसरी सच्याउनुुपथ्र्याे : विश्वमा अग्लो हिमाल ढाडमा हाम्रो नेपाल ।

यसरी डा. श्रेष्ठले नेपालमा स्थापित गलत मान्यताबारे सटीक टिप्पणी गरेका छन् । यसपालि उनको यो लेख पढ्दा मलाई लाग्यो— राजनीति, समाज, अर्थतन्त्रलगायतका नेपालका विभिन्न क्षेत्रमा यस्ता कति र कस्ता गलत मान्यतालाई हामीले अहिले पनि सही मानेका हौंला ? त्यसो गर्दा हामीले हिँड्ने बाटो कति भ्रमित भएको होला ?

दिशा उल्टो परेपछि धेरै कुरा उल्टो हुन्छ । अनि सबै दिशाको ख्याल नगरेर चारवटा मात्र दिशा ख्याल गर्दा अझ धेरै कुरा झूटा हुन्छन्, जसलाई सत्य हो भन्ने ठानी हामी भ्रम बोकिहिँड्छौँ ।

गीतको पहिलो लाइन असत्य ठहरियो । दोस्रो लाइनको पहिलो अंश पनि अब उप्रान्त सही ठहरिएन । बाँकी रह्यो— हाम्रै देश विशाल । सो किताबको दोस्रो लेखमा डा. श्रेष्ठले नेपालको विशालता अर्थात् यसको क्षेत्रफलबारे हामीले बोकिहिँडेको भ्रमबारे बताएका छन् ।

पश्चिम नेपालमा चुच्चो पलाउनुअघिको नक्साअनुसार नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भनिन्थ्यो, अहिले १,४७,५१६ वर्ग किलोमिटर भनिन्छ । डा. श्रेष्ठका विचारमा यो ‘नेपालको पीँध कत्रो छ वा यसको जग कति छ अथवा भूतलमा यसको क्षेत्रफल कति छ ?’ भन्ने प्रश्नको उत्तरको हो । नेपालको क्षेत्रफल कति छ भन्ने प्रश्नको उत्तर होइन । डा. श्रेष्ठले यो कुरा बुझाउन घर भएको जमिन र घरको क्षेत्रफल बीचको अन्तरको उदाहरण दिएका छन् । घर कत्रो छ भनेर कसैले सोध्दा कसैले ६ आना (घरको जगको क्षेत्रफल) भन्छ भने उसले घरको होइन जगको मात्र आकार र आकृतिबारे बताएको हुन्छ । त्यही ६ आना जग्गामा एकतले, दुईतले वा तीनतले घर बनेको हुन सक्छ ।

यसलाई स्पष्ट पार्न उनले भनेका छन्, ‘दुई पैतालामा उभिएको मान्छे मरेपछि ...उसको चिता बनाउनुपरेमा दुई पैताला होइन दुई गज जमिन चाहिन्छ... एउटा जिउँदो मान्छेको पूर्ण आयाम पैतालाको नापो मात्र होइन, त्यस निम्ति उसको कदको पनि बोध हुन आवश्यक छ ।’

नेपालको क्षेत्रफल जुन मान्यताका आधारमा निकालिएको छ, त्यस मान्यताका आधारमा कोरोना क्वारेन्टिन घर बनाउँदा एक जना मान्छेका लागि उसको पैतालाको लम्बाइ र चौडाइ बराबरको बेड बनाउनुपर्छ । त्यस्तो क्वारेन्टिन बेड कति उपयुक्त हुँदो हो ?

डा. श्रेष्ठका विचारमा नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व र पहाडी भेगको वनको क्षेत्रफलजस्ता आँकडा तथ्यांक होइन ‘झुक्यांक’ हुन् । तिनका आधारमा कुनै काम गर्नु पैताला मात्र अट्ने क्वारेन्टिन बेड बनाउनुजस्तै हो ।

देशको क्षेत्रफल निकाल्ने यो तरिका ती समथर देशका लागि मात्र उपयुक्त छ, जसको उचाइ हुँदैन, चौडाइ र लम्बाइ मात्र हुन्छ । मधेसबाट उत्तर लागेपछि नेपालको क्षेत्रफल नाप्न यसको उचाइ ननापी हुँदैन । यहाँनेर हामीले भन्ने गरेका दस दिशामध्येको ऊध्र्व दिशा अर्थात् अकाशतिरको दिशा पनि ख्याल गर्नुपर्छ ।

‘यो तथ्यांक यकिन नभएसम्म नेपाल कत्रो छ भन्ने प्रश्नको उत्तरमा ‘नेपाल विशाल छ, विशालभन्दा टड्कारो केही पनि छैन’ भन्ने उत्तर नै हाम्रा विद्यार्थीहरूलाई सिकाइयोस् र क्विज मास्टरले त्यसैलाई पूर्णांक दिऊन् । नत्रभने नेपाल कत्रो छ भनेर कसैले कसैलाई नसोधून्,’ डा. श्रेष्ठले सुझाव दिएका छन् ।

कहिलेकाहीँ फुर्सदले, कहिलेकाहीँ बाध्यताले, कहिलेकाहीँ रहरले दोहोर्‍याईतेहेर्‍याई पढ्ने पुस्तकमध्येमा पर्छ यो । जतिपल्ट पढ्यो त्यतिपल्ट नयाँ स्वाद पाइन्छ, जतिपटक पढ्यो त्यतिपटक नेपालका नखुलेका पाटा खुल्छन् । यसपालि यही किताबका पेजमा कालीगण्डकी नदीको तीरमा बसेको कागबेनी गाउँ पुगेँ । आठ हजार मिटरभन्दा अग्ला दुुईवटा हिमाल बीचबाट ती टाकुराभन्दा पाँच हजार मिटर गहिरो ठाउँबाट आफ्नो बाटो खनेर ओरालो लागेको कालीगण्डकीको किनारमा पाइने शालिग्रामसित भेट गराइदिए डा. श्रेष्ठले । अनि दिमागमा प्रश्न हालिदिए, ‘कुन समुद्रको कति गहिराइमा जीवात्माका अवशेषहरू कसरी पत्थररूपी शालिग्राममा परिणत भए ? समुद्रको पीँधबाट यिनीहरू कसरी आकाश छुने भूभाग चुमेर कालीगण्डकीको धारसँग सलबलाउन आइपुगे र त्यहाँबाट बगेर किन समुद्रैतिर लाग्दै छन् ?’

यस किताबमा भएका सुरुका दुईवटा लेखमा भएका केही कुराको चर्चा गर्न मात्र यति बेर लाग्यो भने यस किताबमा भएका पचासैवटा लेखका थोरै कुराको मात्र चर्चा गर्दा पनि धेरै दिन लाग्छ । तिनको अर्थ लगाउन झन् धेरै दिन लाग्छ । नेपालको भू–प्राकृतिक संरचना विषयका लेख पढ्दा म बसेको धर्ती, त्यसका विशेषता, त्यसमा मैले गर्न हुने र नहुने कामको बोध हुन्छ । विज्ञान, प्रविधि र परम्परा तथा जैविक सम्पदाका अथाह भण्डारबारे थाहा पाउँदा प्रकृति र पुर्खाले आफूलाई कस्ता अमूल्य सम्पत्ति र ज्ञान दिएका रहेछन् भन्ने लाग्छ । ती सम्पत्ति र ज्ञान ‘बाँदरका हातमा नरिवल’ भएको देख्दा आफैं र आफ्नो समयलाई धिक्कार्न मन लाग्छ । यी सम्पत्ति र ज्ञानको उपयोग गर्न थोरै मिहिनेत गर्न, त्यसो गरेर आफ्नो जीवन सरल र समृद्ध बनाउन हामीलाई केले रोकेको होला भन्ने विचारले रन्थन्याउँछ ।

विज्ञान पढेका, विज्ञान विषयमा जिन्दगी बिताएका लेखकले प्रकृति र विज्ञानका जटिलताबारे यति सरल र सरस ढंगले बताउन सकेको देख्दा अनौठो लाग्छ । हरेक लेखको सुरुमा कविताका प्रासंगिक गेडा राखिएका छन् । त्यो देख्दा लेखक कविताका गम्भीर अध्येता रहेछन् भन्ने लाग्छ ।

त्यहाँभन्दा तल रहेका जानकारी देख्दा लाग्छ— लेखकमा नेपालका प्रविधि, परम्परा र जैविक विविधताको अथाह भण्डारसम्बन्धी ज्ञानको अथाहै भण्डार छ । गलत परम्परा, गलत तरिकाबारे उनले गरेका प्रश्न देख्दा लाग्छ— यी लेखक सच्चा विद्रोही हुन् । अनि सोच्दा लाग्छ- विज्ञानको ज्ञान भएको, साहित्यमा चुर्लुम्म डुबेको र दिमागमा प्रश्न बोकेको मान्छे लेखक भएपछि यस्तो किताब जन्मँदो रहेछ जसले नेपालका नखुलेका पाटा खुलाउँछ, नसोधिएका प्रश्न सोध्छ र पाठकको मनको अन्धकार हटाउँछ ।

प्रकाशित : आश्विन १७, २०७७ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×