२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गीत परम्परा : उही खाता

प्रकृतिलाई मानवीकरण गर्न, नयाँ गीति–विम्ब लेख्न र सूक्ष्म–बृहत्तर भाव एकैसाथ संयोजन गर्न सिपालु छन्– गीतकार ।
छम गुरुङ

हामी समाज–यथार्थभन्दा पर छैनौं, उत्पादन–सम्बन्धमै जेलिएका छौं । गीत उत्पादनसँग पनि हाम्रो सम्बन्ध छ नै । यद्यपि सबै गीतमा सबैको सम्बन्ध नहुन सक्ला । तटस्थ भन्ने के नै होला र ? त्यसकारण गीतको पनि वर्गीय पक्षधरता हुन्छ । अमृत शर्मा ढकालको ‘लजाजु पहाडहरू’ मा पनि त्यो हुनुपर्थ्यो ।

गीत परम्परा : उही खाता

किताबका प्रायः गीत (६७ वटा) पुरानै ढर्रा–खातामा संगृहीत छन् । ती नयाँ खातामा पस्नै बाँकी छन्, तर यी गीत केही त दमदार छन् नै । भूपी, हरिभक्त, ईश्वरवल्लभ, पारिजात, गोपाल योञ्जन, अम्बरका प्रभाव–क्रम नटुटाउनेमा गीत–सर्जक अमृत पनि मुक्त छैनन् । सूत्रबद्ध लेखन–परम्परामा धानिएर पनि कहीँ कतै शैलीगत सीमाभञ्जन भेटिन्छन् । यसमै मजा छ । तथापि लेखकको ‘शास्त्रीय दायरा तोडेको छु’ भन्ने दाबी पूरा लाग्दैन ।

गीत र कवितालाई छुट्याउने सीमा के हो ? रेकर्डभन्दा बाहिरको गीत के हो ? त्यसो त ‘नगीत’ र ‘नरेकर्ड’ भनी उल्लेख गर्छन् गीतकार । गीतको वास्तविक अस्तित्व नै ‘रेकर्ड हुनैपर्ने’ जस्तो गरी गीतकार भूमिकामै जिकिर गर्छन्– ‘संगीतमा मिसाइदिएपछि गीत बनिहाल्छ, सोच्नु गीतको हत्या हो ।’

धूलोमाथि पोखियो भने दूध पनि त हिलो भइजान्छ

पहिरोसँग मिसियो भने गुराँस पनि त डरलाग्दो हुन्छ

माथिको पंक्ति किताब–आवरणमा गीतकारको छायाचित्रमुनि पनि उल्लेख छ । हिलोलाई खराब या अनावश्यकीय हो भन्ने रूपमा लिनु हुँदैन । जस्तो कि किसानका लागि ‘हिलो’ ज्यादै सुन्दर र उपयोगी कुरा हो । गीतको अर्को हरफमा ‘....तिमी पीप भयौ, भरिएर बस्यौ, मेरो जिन्दगी नै पिलोजस्तो भयो...’ भनिएको छ । जबकि ‘पीप’ ले भरिएको यो गीतको पंक्तिमा ‘जस्तो’ ले विम्बात्मक आग्रह गर्दा पनि खासै स्वादको सुनिँदैन ।

‘खर काट्दा खरसँगै’ शीर्षकीय गीतमा जुन मजदुर–कथा बुनिएको छ, त्यो गजबको छ । गीतमा ‘थेगो’, ‘रहनी’ को छनक पनि पाउन सकिन्छ । र, त्यसले गीतलाई थप मिठास दिएको छ । ‘प्रुफ मिस्टेक’ ले पनि बेला–बेला केही पंक्तिमा ठेस दिन्छ । कतिपय हिज्जे–त्रुटिका कारण अर्थ–अलमल हुन पुगेको छ । कहीँ ‘आकार’ छुटेको छ, कहीँ थपिएको । जस्तो ‘काखा’ (हुनुपर्थ्यो : ‘काख’, पृ. ७३), ‘आध’ (हुनुपर्थ्यो : ‘आधा’, पृ. ७७) ।

पुराना राज्य–भाष्यको प्रवर्द्धनात्मक अभिव्यक्ति पनि कतै–कतै नपाइने होइन । सपना, नियति, भाग्य, बतास, सिरानी, जिन्दगीजस्ता शब्दहरूको पुनरावृत्ति–दोष अनेकौं ठाउँमा छ । त्यस्तै, ‘आधा’ भन्ने विशेषणको पुनरावृत्ति पनि उस्तै भेटिन्छ । जस्तो कि ‘आधा हेराइ’, ‘आधा जिन्दगी’, ‘आधा आगो’, ‘आधा भोक’ आदि । यी अभिव्यक्तिले कसरी अर्थ ग्रहणमा सामान्यीकरण गराउँछ, त्यति ठोस प्रस्ट्याउन नसकेको भान पाठक–श्रोतालाई पर्न सक्छ ।

किताबमा क्लिशे कुरा पनि छन् । ‘रात’ लाई पटक–पटक नकारात्मक चित्रण गरिएको छ । जब कि रात प्रकृतिको स्वाभाविक चक्र हो । जस्तो कि ब्रेख्तको ‘अँध्यारोमा अँध्यारोकै गीत गाइन्छ’ भन्ने सत्योद्घाटन सोचनीय लाग्छ । त्यस्तै ‘...म कालो–कालो रातजस्तो....’ मा ‘अँध्यारो’ चाहिँ हुनुपर्थ्यो । ‘औंसी’ भन्ने चक्र पनि सामाजिक निर्मिति नै हो, जुन आफैंमा नकारात्मक होइन । अन्तिम गीत ‘बाटोमा मुटु झिकेर राखें कोही आउला भनेर...’ (पृ. ९१) मा अतिरञ्जित भावुकता प्रकट भएको छ ।

गीतमा विशृंखल कथन–बयान छ, वाक्यगत अर्थकेन्द्रित प्रायः सिंगो कथामा गीत बगेको देखिँदैन । अमूर्त चित्र–भाषामा गीत लेखनमा गीतकारको भारी रुचि छ । अक्सर शरीरका आंगिक बयानको माध्यमबाट कसैको निमन्त्रण या वियोग विवेचना गरिएको छ । केही गीतमा उपभोगवादी संस्कृतिको चर्को प्रभाव छ ।

संग्रहमा प्रायः रूपकेन्द्रित विलास आमन्त्रित गीत ज्यादा छन् । निराश पार्ने र आँसु–खेती गर्ने गीत ज्यादा छन् । भाग्यवादी गीत पनि छन् । तैपनि प्रकृतिलाई मानवीकरण गर्न, नयाँ गीति–विम्ब लेख्न र सूक्ष्म–बृहत्तर भाव एकैसाथ संयोजन गर्न सीपालु छन्– गीतकार ।

प्रकाशित : मंसिर २५, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?