समाज

महिनावारी विभेदको बिस्कुन

समाज गतिशील छ । यहाँ विभेद र हिंसाका प्रकृति बदलिइरहन्छन् । शक्ति र पितृसत्तालाई महिनावारी विभेदले रोप्ने मात्रै होइन, मलजल गर्दै हराभरा पनि बनाइरहेको छ । 
बच्चा जन्माउने प्रक्रियाअघिको अवस्था महिनावारीका विषयमा कुरा गर्न मान्छेहरु लजाए । सदिऔंदेखि महिनावारी बहसको विषय बन्न सकेन । 
राधा पौडेल

कोटाकेटी उमेरमा पाका महिलाहरूसँग, आमाका दौतरीहरूसँग, आमाहरूसँग साथे जानु वा मेलापात गर्नुका अनेक फाइदा हुन्थे । सबैभन्दा दीर्घकालीन फाइदा त स्पोन्जले कुनै झोल सोसेजस्तो एकोहोरो उहाँहरूको कथा सुनिरहन, बुझिरहन, मनन गरिरहन पाउनु थियो । यसरी नै थाहा पाएकी हुँ– मेरी आमाले रिक्सामा भाइ बोकेर घर आएको कथा । त्यतिखेर भाइ पाउँदा संसार जितेजस्तो भएको थियो ।

महिनावारी विभेदको बिस्कुन

भाइको थांग्ना धुन हानथाप हुन्थ्यो । वर्तिर–पर्तिर हिँड्दा हामीजस्ता बच्चाकै नाक पनि टिप्न बिर्सेको घिरौंलाजत्रै हुन्थ्यो । कसैले सोधोस्/नसोधोस्, के–के बहाना बनाएर भाइको कुरा सुनाइन्थ्यो, त्यसबेला छाती गर्वले चौडा भएको अनुभूति हुन्थ्यो । पहिलेपहिले घरमै नझुल्किने वा नसुनेका/नचिनेका नातागोता पनि भाइको मुख हेर्न आउन थाले । छोरी–छोरी लर्कन लगाएर हिँड्छे भनेर आमालाई गाली गर्नेहरू, उहाँका कुरा काट्नेहरू पनि नाता–पाता लाएर आउन थाले । भाइ पूर्णिमाको रोशनी लिएर आयो । घर, गाउँ सबै भाइमय भयो । हो भाइमय !

भाइभन्दा पहिलेका हामी पाँच छोरी कोही मकैबारीमा, कोही गोठमा त कोही कता जन्मियौं, तर भाइ अस्पतालमा जन्मियो– झन्डै ४० वर्षअघि । त्यसबेला कसैले न अस्पतालमा सुत्केरी हुन् जाऊ भन्थे न गएबापत भत्ता दिन्थे । न मेरी आमालाई नै दमकी दीर्घरोगी महिलाले धेरै बच्चा पाउँदा खतरा हुन्छ भन्ने थाहा नै थियो । ‘छैटौं सन्तान पनि छोरी भए अस्पतालमै छोडेर भाग्छु’ भन्ने कठोर निर्णय लिएर अस्पताल गएकी थिइन् मेरी आमा । छोरी–छोरी पाउँदा यो समाजले थोपरेको मानसिक, आर्थिक, सामाजिक, राजनीतिक तनाव, दबाब, चोट, अपहेलना यति थियो कि आमा धान्नै नसक्ने अवस्थामा पुगेको हुनुपर्छ ।

त्यसो त छोराहरू छोरीभन्दा धेरै जन्मन्छन् । प्राकृतिक रूपमै सय छोरीहरू जन्मिँदा १०५ जना छोराहरू जन्मिन्छन् भन्ने मान्यता सन् १६६२ बाटै स्थापित छ । तर, हाम्रोजस्तै छोराहरूलाई धेरै मान्यता दिने वा छोराहरूको चाहना राख्ने समाज भएकाले छोराहरूको संख्या अस्वाभाविक किसिमले धेरै देखिएको दृष्टान्त छ । सन् १९८० बाट जब मेसिनले गर्भमै लिंग पहिचान गर्न थाल्यो, त्यसपछि लुकीछिपी भ्रूणहत्याको अभ्यास थालनी भयो । विकसित देशमा झट्ट हेर्दा छोरा–छोरी एकैजस्तो देखिए पनि छोरीहरू/महिलाहरूमाथि परिवार/राज्यले विभेद गरिरहेकै छ । उदाहरणका हेरौं न– समान कामको समान ज्याला छैन, महिलाहरू घर वा कुनै पनि सार्वजनिक स्थानमा साथी, आफ्नै श्रीमान् वा अन्य पुरुषबाटै हिंसामा परिरहेका हुन्छन् । यस्तो किन भइरहेको होला ?

लैंगिकतामा आधारित हिंसा न्यूनीकरणका नाममा आज संसारभरै विभिन्न काम भएका छन् । तर, सोचेजस्तो नतिजा किन हात लागेको छैन ? सबैतिर विषाक्त पुरुषत्व हावी छ । छोराहरूलाई शक्तिशाली ‘राजा’ बनाएर हुर्काइएको छ । परिणाम त्यस्तै देखिन्छ– घर–घरमा ९३ प्रतिशत हिंसाका घटना हुन्छन् भनिन्छ, जहाँ ८२ प्रतिशत घरका पुरुष सदस्यले हिंसा गरिरहेका हुन्छन् (राष्ट्रिय महिला आयोग,२०२०) ।

हाम्रा दाइ/भाइ/बाउलाई पीडक बनाउने कुन त्यस्तो तत्त्व छ, जो घरलाई नै नर्क बनाइरहेका छन् ? महिलालाई शक्तिविहीन, निरीह, तल्लो दर्जामा दर्ज गरिरहने कुन अदृश्य शक्ति हो ? आमाहरूलाई ‘छोरी मरी गालै टरी’ भन्ने उखान बारम्बार प्रयोग गर्न के कुराले बाध्य/उत्प्रेरित पार्‍यो/गर्‍यो ?

मैले माथि उल्लेख गरेको परिवेश व्यक्तिगत वा मेरो गाउँको वा नेपालकै कथा मात्रै होइन । केवल ४० वर्षअघिको कथा होइन । यो कथा मानव सभ्यतासँगै विकसित भएर आयो र अहिलेसम्मै अपवादलाई छाडेर उत्तिकै सशक्त, जटिल र बहुआयामिक रूपमा जकडिएर हामीसँगै बाँचिरहेको छ ।

सोझो ढंगले बुझ्दा महिलाहरूले बच्चा जन्माए, परिस्थितिअनुसार बच्चाको स्याहारसुसार गर्दा उनीहरू कहिले कमजोर ठहराइए/ठहरिए । पाठेघरसँग राजनीति साधियो भनियो र धेरै काम भए पनि । त्यसैले त सन् १९९४ देखि यौन तथा प्रजनन स्वास्थ्यमा विशेष काम हुन् थाले । पाठेघर संग्लग्न भएका केही अयवयहरू (जस्तो सुरक्षित मातृत्व) मा मारेको फड्कोलाई नजरअन्दाज गर्न मिल्दैन । तर, सोचेझैं नतिजा अझै हात लागेको छैन ।

सुरक्षित मातृत्वकै कुरा गरौं न ! किन अधिकांश महिला कहिले बिहे गर्ने, कहिले बच्चा पाउने, कतिवटा बच्चा पाउने, कहिले–कहिले पाउनेजस्ता निर्णय आफैं गर्न सक्दैनन् ? यसको जवाफमा जोडिएर आउँछ– पितृसत्ता । छोरीहरूलाई कलेज पठाउनुपर्छ, सम्पत्तिमा समान अधिकार दिनुपर्छ, राजनीतिमा समान हैसियत दिनुपर्छ भन्ने छलफल गर्ने हो भने अधिकांश मौनमै जवाफ दिन्छन्– यो कसरी सम्भब छ ? त्यसमा अनेक बाहना अघि सर्छन्– घर, छोराछोरी, सवारी–साधनको पहुँच, रातविरातको काम आदि ! परोक्ष–अपरोक्ष रूपमा महिलालाई सधैं कमजोर र असक्षम स्थापित गरियो । यो जटिल पितृसत्ता अत्यावश्यक प्रणाली भएर समाजमा कसरी बनेको होला ?

हाम्रो समाजमा केही संस्कृति विकास भएको छ– महिलाको सुरक्षा पुरुषले गर्नुपर्ने, महिलाले श्रीमान्बाट टीका थाप्नुपर्ने, भान्सामा श्रीमान्/छोरालाई मन पर्ने खानेकुरा पाक्नुपर्ने, श्रीमान्को मृत्युपछि रातो लगाउनै नहुने, मृत्यु संस्कारमा पनि श्रीमान् मरेपछि मात्रै महिलाहरूको सँगसँगै मिसाएर मात्र श्राद्ध (सोह्र श्राद्ध) गर्नुपर्ने आदि ! महिलाहरू बाँचिरहेको यस्तो जीवनशैलीभित्र उनीहरूलाई समान हैसियतका मानवका रूपमा स्वीकार गरिएकै छैन । यो सोचले महिलालाई भयंकर समस्या परेको छ भन्न महिलाहरू नै तयार छैनन् । पितृसत्ताको अहंकारले आफूले भोगेको अप्ठेरो, विभेद, हिंसा स्विकार्न पनि तयार छैनन् महिलाहरू । उनीहरूलाई पितृसत्ताको इज्जत, अहंकार र अलंकार अमूल्य लाग्छ ।

यी सबै मानिएका/भनिएका पितृसत्तापछाडि हामी सबैले बिर्सिएको चुरो कुरा हो, महिनावारीसँग जोडिएको विभेद । शताब्दिऔंदेखि आजसम्मै महिनावारी एक अनिवार्य जैविक प्रक्रियाका रूपमा बसी यो विश्वलाई चलायमान बनाएको छ, चाहे विकसित होस् वा विकासशील देश हामीले महिनावारीबारे खास कुरै गरेनौं । तर, महिनामा एकपटकै सही महिनावारी भइरहने विषयले समाजलाई महिलाहरूको स्मरण गराइरहन्छ । तर, महिनावारीको रगत अशुद्ध र फोहोर हुन्छ, महिला कमजोर अनि शक्तिविहीन छन्जस्ता विम्बहरूमा उनीहरूको स्मरण गरियो । महिलाको पर्यायवाची हो महिनावारी । तर, यस्ता सबालमाथि खुलेर चर्चा गर्नु नहुने सोच र व्यवहार अभ्यासमा आए ।

धर्म विशेष गरी हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियनमा महिनावारीलाई परोक्ष, अपरोक्ष रूपमा अशुद्ध र महिलाको निजी मामला भनी हेरियो, जसको प्रभाव आजसम्मै हाम्रा संस्कृति, परम्परामा छन् । परिस्थिति, अज्ञानताका कारण स्थापित भएका केही अभ्यास शिक्षा, आर्थिक अवस्था र प्रविधिको आगमनसँगै परिमार्जन भए । तर, महिनावारीसँग जोडिएको सवालमा भने परिमार्जन भएन । बाँदरे युगबाट आजसम्म आइपुगेको कुरा स्विकार्ने यो समाज महिनावारी ‘प्राकृतिक’, ‘शुद्ध’ र ‘पवित्र’ विषय हो भन्ने स्विकार्दैन । बरु बहानाबाजी गर्दै महिनावारी विभेदलाई चुस्त–दुरुस्त राखिरहन चाहन्छ । विकसित मुलुकहरूमा पनि महिनावारीसँग जोडिएका विभेदले (निषेध, दुर्व्यवहार, लाज, बार्नुपर्ने अभ्यास, सोच) पितृसत्ता निर्माणमा खेलेको भूमिका र आम मानिसमा पैदा गरेको डरबारे खोजिएन ।

त्यही डरका कारण मौनता, अस्वीकारोक्ति, अज्ञानता हुँदै संस्कृति र धर्मको आड लिएर समाजमा अनवरत रूपमा निर्माण भइरहेको असमान शक्तिको कुरा खोजी गरिएन । करिब ७३ वर्षदेखि बालबालिका, महिला, यौन अल्पसंख्यक, सामाजिक–आर्थिक अधिकार, प्रकोप/महामारीका नाममा थुप्रै अन्तर्राष्ट्रिय/राष्ट्रिय मानव अधिकारका मापदण्ड तयार भए । ती सबैले पितृसत्तालाई दोषी देखे, तर पितृसत्ता बन्छचाहिँ कसरी भन्ने विषय बिर्सिए । बच्चा पाउने प्रक्रियाभन्दा पहिलो अवस्था अर्थात् महिनावारीका कुरा गर्न लजाए । आफैंलाई उधिनेर आफैंले अभ्यास गरिरहेको महिनावारी विभेदको बिस्कुन सुकाउन ती डराए/लजाए ।

देश, काल, परिस्थितिअनुसार महिनावारी प्रक्रिया फरक–फरक भए पनि महिनावारी–विभेद सबैतिर साझा छ भन्ने तथ्य अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् । पक्कै पनि नाम, स्वरूप, मात्रा र गम्भीरता फरक छन् । एकै साइज सबैलाई नमिल्ने भएझैं फरक रणनीति आवश्यक पर्छ, तर अन्तर्निहित कारणलाई नछोई अबको समानता र न्यायको बाटोको रूपान्तरण सम्भव छैन । नेपालकै परिवेश हेर्ने हो भने यहाँ लैंगिक–मैत्री, मानव अधिकारमैत्री संविधान छ, कानुन छ । आंशिक नै भए पनि यहाँ केही संरचना छन्, कतै संरचना बन्दै छन् । तर, अपवादबाहेक समस्या उस्तै छ– सबैभन्दा बढी घर डरलाग्दो छ ।

हुन त समाज गतिशील छ । यहाँ विभेद र हिंसाका प्रकृति बदलिइरहन्छन्/बदलिएका छन् । शक्ति र पितृसत्ता, जसलाई महिनावारी विभेदले रोप्ने मात्र होइन, मलजल गर्दै हराभरा पनि बनाइरहेको छ ।

प्रकाशित : मंसिर २५, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?