३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘बियोन्ड’ रारा

विद्या राई

रारा तालको पूरै आकृति हेर्न मुर्मा टप जाने भयौं । मैले राराबाटै घोडा चढेँ । कसैले घोडा चढेकै थिएनन् । मेरो पछि–पछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क पनि आइपुगे । टोलीमा ६३ वर्षकी अमेरिकनसमेत पैदलै उक्लिँदै थिइन् ।

‘बियोन्ड’ रारा

एक अपरिचितले मुखै खोलेर भने, ‘यो घोडाको ज्यान कति दुख्दो हो !’ मैलाई नै इंगित गरेर भनिएको थियो यो ।

मुर्मा टपमुन्तिर पर्छ मुर्मा गाउँ । राराको सबैभन्दा नजिकको गाउँ भएर पनि छाया परेको । घरमाथि घर जोडिएका ७६ परिवारको गाउँ । सहरियाका लागि घरको छत । त्यहाँ अर्को परिवारका लागि आँगन । काठका अग्ला भर्‍याङ चढेर उक्लिनुपर्ने । छत भनौं या आँगन, जे भनौं । राजदूतहरू भर्‍याङ चढेर उक्लिए । पँलेटी कसेर बसे । वरिपरि स्थानीयहरू बसे ।

मुर्मावासीले पालैपालो जलवायु परिवर्तनले खेती उत्पादन घटेको, रारा राष्ट्रिय निकुञ्जका जंगली जनावरले क्षति पुर्‍याइरहेको, खानको दुःख, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, रोजगारीलगायत सेवा–सुविधाको अभावका कुरा सुनाए । करिब डेढ घण्टाजतिको बसाइमा मुर्मावासीलाई राजदूतले ध्यान दिएर सुने ।

भोलिपल्ट रारा राष्ट्रिय निकुञ्जको कार्यालयअघि गुनासा सुन्ने कार्यक्रममा पनि राजदूतहरूले सहयोगको कुनै प्रतिबद्धता जनाएनन् । ‘हाम्रो कुरा सुने–सुने केही बोलेनन्, हामीले साह्रै दुःख पाएका छौं, सहयोग देलान् भनेर खुट्टा दुखाई–दुखाई टाढाबाट हिँडेर आयौं, केही न केही, पहिले त नेता आएर भाषण गर्थे, यो दिन्छौं त्यो दिन्छौं भन्थे, तिनले त केही दिएनन्, यिनीहरू (राजदूत) बोल्दै नबोल्ने झन् के नै देलान् !’ एक स्थानीयले आक्रोश पोखे ।

गाउँमा राजदूतहरूको सहज उपस्थिति, सरल प्रस्तुति र उनीहरूसँग स्थानीय झ्याम्मिएका दृश्य भव्य थियो ।

रारा हेर्न रमाइलो छ । तर, यहाँ जीवन जिउन गाह्रो छ । काठमाडौंको आँखाले देख्ने रारा सपना र त्यहाँ पुगेपछि भोक टार्ने संघर्षमा सास अल्झाइरहेका महिला, बालबालिका, सीमान्तकृत समुदायको कथा फरक छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले सडक सञ्जाल पनि जोडिएको छैन मुर्मा गाउँमा । गाउँमा सुत्केरी भए, बिरामी भए उपचार गर्न चार घण्टा हिँडेर मुगुको सदरमुकाम गमगढी पुग्नुपर्छ । सिकिस्तै बिरामीलाई चाँडै गमगढी पुर्‍याउन नसके प्राथमिक उपचार नपाएरै मृत्युवरण गर्नुपर्छ ।

रारा आसपासका बस्ती सदियौंदेखिका हुन् । ती पूर्ण रूपमा कृषि पेसामा संलग्न र आत्मनिर्भर थिए । मुर्मा गाउँकै कुरा गर्ने हो भने स्थानीय अगुवा बिर्ख रोकायाको भनाइमा रारा राष्ट्रिय निकुञ्ज घोषणा भएको ०३२ सालमा यो गाउँमा ३५ परिवार मात्रै थिए । जनसंख्या बढेर अहिले ७६ परिवार भइसकेको छ । जग्गाजमिन बढेको छैन, खाने मुख बढिरहेका छन् ।

हिउँ कम पर्ने, सिजनमा पानी नपर्ने, निकुञ्जका जंगली जनावरले क्षति पुर्‍याउने हुँदा वर्षमा एक बाली मात्रै लाग्ने सिमी, गहुँ, जौ, आलुलगायत स्थानीय उत्पादन पनि घटिरहेको छ । राज्यको आँखा राराको पर्यटन प्रवर्द्धनमा छ । तर, पुस्तौंदेखि बस्दै आएकाको जीवनयापनको वैकल्पिक उपाय, जलवायु अनुकूलन, पर्याप्त क्षतिपूर्तिमा ध्यान पुगेको छैन । हामीले भन्ने ‘वाह ! रारा !’ पर्तिर यो गाउँ साँच्चै ‘सीमान्तकृत’ छ ।

कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्ला भनेपछि मलाई अर्गानिक, रैथाने मार्सी चामल र सिमीको दाल र स्याउ विशेष कोसेली लाग्छन् । मुर्मामा दाल मात्रै पाइयो । मार्सी र स्याउ नफल्ने रहेछ । ताल्चा विमानस्थलतिरका पसलमा पाइने थाहा दिए गाउँलेले । अर्गानिक, रैथाने उत्पादन पाइने ‘रारा कोसेली होम’ मा मार्सी र स्याउ दुवै सकिएछ ।

मुगुको जीवनस्तरबारे जानकार सुर्खेतवासी भुपेन्द्र शाहीले भने, ‘मुगुमा उब्जनी नै कम छ, यहीँका मान्छेलाई वर्षभरि खान पुग्दैन, अनि बेच्न कहाँ पुगोस् ।’ अब राराको तारिफ कसरी गर्नु ? आखिर रारा के नै रहेछ र ! राम्ररी खान पाउनु मात्रै पनि छेउछाउका मान्छेको झिनो सपना रहेछ ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?