१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चारआँखेको पन्ध्र हजार वर्ष

हिमालयको दक्षिण भिरालोमा पन्ध्र हजार वर्षअघि सुरू भएको कुकुरपालनले विश्वव्यापी रुपमा ल्याएका सांस्कृतिक रुपान्तरण र मिथकीय धारणा यत्रतत्र छरिएका छन् । तिनलाई सहजै समेट्न उति सजिलो छैन, सूक्ष्म अध्ययनले मात्र पहिल्याइने विषय हुन् ती, अनि नेपालका लागि गौरव पनि ।
सौरभ

शीर्षक परिचय
चारआँखे अर्थात् दुई आँखामाथि दुई पहेँला थोप्लाहरू भएको भोटेकुकुर (मंगोलियन डबल आइड) नै महाभारतमा वर्णित युधिष्ठिरको साथी हुनुपर्छ भन्ने निर्क्योल थियो पंक्तिकारको । जुन लेख असहमति–२ मा मुद्रित छ । तर, देवनागरीमा टाइप गर्न नआउने र पुस्तक छापिने क्रम पनि ढिलो हुन जाँदा उक्त सामग्रीलाई युनिभर्सिटी अफ टेक्सस, अस्टिन अमेरिकाको एक वैज्ञानिक शोधले लगभग एक वर्षले उछिनिसकेको रहेछ । तैपनि उसको निर्क्योल पनि उही टुंगोमा पुगेको देखिन आयो— कुकुरको घरेलुकरण नेपाल–मंगोलिया सिमानामा सुरु भएको हो र त्यो घटना १५ हजार वर्षअघिको हो ।

चारआँखेको पन्ध्र हजार वर्ष

उक्त निबन्ध ‘प्रसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज’, खण्ड ११२ अंक ४४ को पेज नं. १३६३९–१३६४४ बीच प्रकाशित छ । लेखमा उल्लिखित मंगोलियालाई बृहद् मंगोलिया अर्थात् तिब्बतको सीमा वा हिमालयको नागी भनेर बुझियो भने विषयवस्तु अरू स्पष्ट हुनेछ ।

२२ नंग्रा भएको भोटे कुकुरलाई लच्छिनको मान्ने पहाडी चलन छ भनेर पनि पंक्तिकारले लेखेको थियो । बागलुङको उत्तरी भेगका एक मगरबाट आएको जानकारीमा परेका ती थप दुई नंग्रा कुकुरको अघिल्लो कुइनाको एक–दुई अंगुल तल यदाकदा पाइने रहेछ । तर, ब्रायन हज्सनले बेलायत पठाएको नमुना हेरेपछि यही नंग्रा (ड्यु क्ल) लाई लिएर चार्ल्स डार्बिनले हज्सनलाई प्रश्न सोध्दै पत्राचार पनि गरेका रहेछन् ।

यही बीच १३ कात्तिक २०७८ को कान्तिपुर ‘कोसेली’ मा ‘१५ हजार वर्षदेखिको मानव सारथि’ शीर्षकमा तीर्थबहादुर श्रेष्ठको कुकुरसम्बन्धी लेख छापियो पनि । यसपछि पंक्तिकारलाई लाग्यो, नेपालकै पहिलो कुकुरपालनका कारण विश्वव्यापी रूपमा विस्तारित भएका सांस्कृतिक रूपान्तरणहरूबारे पाठकहरूसँग केही कुराहरू सेयर गर्नु जरुरी छ । त्यही जरुरीबोधको नतिजा हो यो लेख ।

लाखेको मूल अर्थ

भृंगी शिवका एक गणको नाम हो । तर, यो खासमा भेडा हो, जसको अंग अर्थात् सिङबाट भेरी नामको बाजा बन्छ । भेडा मार्ने भएकाले हिन्दीमा फ्याउरोलाई भेडिया भनिएको हो र यही फ्याउरोबाट भेडा बथानको रक्षा गर्ने भएकाले कुकुर भैरवमा रूपान्तरण भएको हो । न कि पाणिनिको धातु भीरु+अणबाट । भैरव शब्द बन्दा सम्भवतः पाणिनि जन्मिएकै थिएनन् ।

ल्हाको अर्थ तिब्बतीमा देवता हो । र, खी/क्लीँको अर्थ दिसा वा दिसा खाने पात्र हो । यही लाखे हुन जाने हो । मनाङ दक्षिण भेगका ग्याल्सुम्दोवासीहरूले कुकुरलाई से भन्छन्, यही नेपाली चेइ हुने हो । उत्तरी गोरखाको चुमवासीहरूले खी, नेवारहरूले खिचा र सगरमाथा जिल्लाको उत्तरी भेगका कुलुङ राईहरूले खेप भन्छन् । लार्स रोमन परम्परामा क्षेत्रपाल हो, जसलाई कुकुरको छालाको लुगा लगाइदिइन्थ्यो भनेर इस्वीको पहिलो शताब्दीका ग्रिक दार्शनिक प्लटार्क (न कि अर्का प्रख्यात दार्शनिक प्लेटो) ले लेखेकै छन् । र, काठमाडौं उपत्यकामा क्षेत्रपाल भनेको क्षेत्रपाल भैरव नै हो । जसको नेवारी अपभ्रंस हो छ्वासः । यसर्थ लंकाबाटै लाखे बनेको लाग्छ भन्ने टिप्पणी (नेपाली निर्वचन–बालकृष्ण पोखरेल) सही होइन ।

सस

बेबिलोनियनहरूका प्रमुख देवता हुन् मार्दुक (मार दुःख), उनको निकटतम सहयोगी हो मुसुसु नामको कुकुर । मार शब्द लद्दाखी हो । इजानागी (इशान) को नाकबाट जन्मेको छोरा हो जापानी सुसानो । अर्थ हो, सुँघ्ने शक्ति भएको सहयोगी कुकुर हो शिवको । ऊ मृतहरूको इलाकाको द्वारपाल पनि हो । संस्कृतमा ससको अर्थ टोक्नु हो । कटुञ्जे, भक्तपुरमा एक देवता छन्– सुसिइलाखा भैरव । रोमन र ब्रिटिसहरूको कुनै बेलाको महत्त्वपूर्ण देवता सुसेलस यही कुकुरको भैरवकरण हो ।

हर्म्य

पहाडी क्षेत्रको पैदलयात्रा गर्नेहरूले पूर्वदेखि पश्चिम पहाडसम्म प्रशस्त देखेको हुनुपर्छ एउटा ठूलो ढुंगामाथि अलि सानो, त्यसमाथि अलि सानो गरी सात–आठवटा ढुंगाका धरहराहरू उभ्याइरहेको । मुक्तिनाथ परिसरमा एक वर्गफिटमा ५–७ वटासम्म पनि यस्ता निर्माणहरू छन् । हर्म्य हो यसको संस्कृत नाम । नभन्दै हर्म्यम हो संस्कृतमा विशाल भवन या महल । रुसी प्रसिद्ध कला संग्रहालय हर्मिटाज यसैबाट बनेको हो । मन्दिरको माथिल्लो भागलाई भनिने हर्मिका यसैबाट आएको हो । तर, यो सबै अर्थ कुकुरलाई दिइएको संज्ञा हर्मनबाट आएको हो । जसको अर्थ हो बेस्सरी मुख बाउनु, हाई गर्नु ।

भन्न खोजेको, ढुंगाको थुप्रोरूपी रक्षक जनावर स्थापना गर्ने ‘हर्मन’ परम्परा नै हर्म्यम र हर्मिटाजमा परिणत भएको हो । हर अर्थात् शिवको सहयोगी भएकाले बन्न पुगेको हो हर्मन भन्ने नाम । कुकुरको यही वैयक्तीकरण ग्रिक देव सोपानमा हर्मिस नामको देवता बन्न पुगेको छ, बाह्र ओलम्पियनमध्ये एक । अहिले गुगलमा हेर्‍यो भने हर्मिसको रूप विचित्रको देखिन्छ— पौराणिक नारद र मकर दुइटाको अज्ञानतावश भएको जथाभावी मिश्रणको एक चुट्किला ।

पहाडी देउरालीमा ढुंगा चढाइने कारण नै यही हर्म्यको अर्थात् रक्षक देवता कुकुरको निर्माणको अज्ञानतावश भएको अनुकरण हो । ग्रिकहरू हर्मिस स्थानमा ढुंगा नै चढाउँथे । यो ठ्याम्मै हिमालयको संस्कृतिको अनुकरण हो ।

हर्म्यको चलन १८ हजार फिट हिमरेखा भएको तिब्बतमा पाइँदैन । अहिले केर्न भन्ने संज्ञा दिइएका ढुंगाका थुप्राहरू चैत्य र स्तूपहरूका भग्नावशेषहरू हुन् । यसैले पनि कुकुरको घरेलुकरण हिमालयको दक्षिण भिरालोमा भएको हो भन्ने देखिन्छ । र, अर्को कुरा हर्म्य ‘माने’ को प्रतिरुप होइन । मानेको प्रादुर्भाव भएको बढीभन्दा बढी १२ सय वर्ष भयो, हर्मिसको उल्लेख ३ हजार वर्षअघि नै भइसकेको छ । चैत्यचाहिँ आएको हो संस्कृतको चिताबाट । र, स्तूप संस्कृतको स्थापत्यबाट । ती कुनै हर्म्यका आधुनिक रूप होइनन् ।

भुलाँ

भुलाँ नेवारी कृषक समाजमा खेतहरूबीचको एउटा त्यस्तो सानो टुक्रा हो, जहाँ पूजा गरेपछि मात्रै खेती सुरु गरिन्थ्यो । गरिन्थ्यो भन्नुपरेको कारण हो, यी भुलाँहरू लोप भइसके । ४० वर्षअगाडिसम्म चक्रपथबाहिर फाटफुट देखिँदै थिए । एउटा भुलाँख्यको नाम बिग्रिएर अहिले भुरुङखेल भइसकेको छ । आजका बहुसंख्यक नेवारहरूलाई भुलाँ शब्दसमेत थाहा भएको पाइँदैन ।

भुलाँ अर्थात् स्थानीय रक्षक देवता, जो भैरवको रुपान्तरण हो । छ्वासः यही भुलाँको अर्को रूप मात्र हो । छ्वासः उपत्यकाका गल्ली, बस्ती, चोकपिच्छे हुने गर्थे, यत्रतत्र सर्वत्र । खेत र बारीका कुनापिच्छे यस्ता हुन्थे । प्रत्येक ५० मिटरजस्तोमा एक छ्वासः भेटिन्थ्यो । अहिले संरक्षण गरिएको मध्ये एक टड्कारो नमुना जाउलाखेलबाट कुमारीपाटी लाग्दाको देब्रेपट्टिको तफालोहँ हो ।

यकिन भन्न सकिन्न, ती भुलाँ उपत्यकामा दसौं हजार थिए र उपत्यकाका तीन सहर र त्यसबाहिरका बाह्र गाउँ गरी छ्वासः अर्को दसौं हजार थिए होलान् । तर, नेवार संस्कृतिको संरक्षणको कुरा गर्दा डबली र पाटीलाई मात्र सम्झिनु दुःखलाग्दो कुरा हो ।

भोँकर

दुई शब्द छन्– भोन्नाक र भोँकर । भोन्नाकको अर्थ तिब्बतियनमा सेतो बोन हो । बोन धर्मको सात्विक धार हो । भोँकरको अर्थचाहिँ प्रायः गुम्बामा बजाइने नर्सिंगाजस्तो लामो शुषिर बाजा हो । यसको ध्वनि मिठासपूर्ण हुँदैन— भ्यार्र परेको हुन्छ भूपि शेरचनले भैरहवालाई दिएको उपमाजस्तो ।

नभन्दै संस्कृतमा भुँकारको अर्थ हो कुकुरको स्वर । भोँकर यही भुँकारको रूपान्तरण हो । भोँकरको प्रयोग कथित भूतप्रेत भगाउनका निम्ति हो । किनभने कुकुरले भूतप्रेत देख्छ भन्ने नेपाली मान्यता छ । यसैले पनि कुकुर भूतेश (शिव) को सहयोगी बन्न पुगेको हो । यो धारणा ग्रिकहरूमा पनि छ । होमरले २८०० वर्षअघि नै उनको कृति ‘अडिसी’ को अध्याय १६ मा कुकुरले देवी एथेनालाई देखेको, तर अरूले नदेखेको भन्ने विवरण लेखेबाट पनि कुकुर र अलौकिक वस्तुबीच सम्बन्धको समान धारणाको पुष्टि हुन्छ ।

ल्यान्ड डिसिर र ल्यान्ड भेटिर

यो आइसल्यान्डको रक्षक देवता हो, अर्थ हो जमिनको रक्षक (भूदेव र भूभट्टारक) । आइसल्यान्डमा देवता मानिने विशेष ढुंगाहरू छन् । जसमाथि पनि चारवटा विशेष नाम गरेका विशेष ढुंगा देशका चार कुनामा छन् । यो ठ्याक्कै हर्म्यकै अनुकरण हो ।

ल्यान्ड भेटिरचाहिँ नर्वेजियन, आइसल्यान्डिक र जर्मन परम्परामा जमिनका आत्मा मानिने ढुंगाहरू हुन् । जो उनीहरूको धारणामा जमिनका रक्षक र उन्नतिकर्ता हुन् । यी साना ढुंगादेखि खेतका कुनामा उभिएको ढुंगा, र अझ गाउँका एउटा ठूलै ठाउँ ढाक्ने ढुंगासम्म हुन्थे । बाह्रौं शताब्दीको तिनको लेखोटअनुसार, यसले साँढे (शिवको नन्दी) र लठ्ठी बोकेको एक पहाडी साधु (त्रिशूलधारी शिव) सँग सम्बन्ध राख्छ । एक मुख्य ल्यान्ड भेटिरको नाम बेरग्रिसी भएबाटै थाहा हुन्छ, संस्कृतको वृषा हो ।

भक्कु

भक्कु शब्द भैरवकै रूपान्तरण हो । मदिराले मातेका दुई–चार भक्कु नामधारी हिंस्रक मानवहरूले खड्ग, तरबार लिएर मात्तिएको राँगोलाई छ्याकछ्याक पार्दै लखेट्ने र अन्तमा ढालेर घाँटीबाट रगत पिउने यो त्रासदपूर्ण पर्वलाई २००५ सालमा प्रधानमन्त्री मोहनशमशेर राणाले बन्द गराए ।

यो वनकुकुर अर्थात् ढोले र अर्नाबीचको जैविक तारतम्यको नक्कल हो ।

लाइल्याप

ल्यापल्यापे वा लपाक नेपालीमा भुस्याहा कुकुरलाई भन्ने चलन छ ।

मठ्याहाबाट बनेको अंग्रेजीको मोङ्ग्रेल र भुस्याहा मिसाएर कुकुर बिक्रेताहरू भुङ्ग्रेलो भन्छन् अचेल । भुस्याहा यस्तो कुकुर हो, जो उन्नत नस्लको जस्तो साहस देखाउन सक्दैन र अनुशासनबद्ध पनि हुँदैन ।

लाइल्याप ग्रिक पुराकथाको त्यो कुकुर हो, जो जनावरलाई लखेट्छ तर कहिल्यै पनि त्यसलाई भेट्टाउन भने सक्दैन । अन्ततः लुरुक्क परेर फर्किन्छ । यो ठ्याम्मै नेपाली ल्यापल्यापेको अनुकरण हो । कुकुरको वैज्ञानिक नाम नै पनि यसैबाट बनेको छ– क्यानिस लपस फेमिलारिस वा डोमेस्टिकस । क्यानिसको अर्थ कुकुर दाँत भएको भन्ने हो, फेमिलारिसको अर्थ पारिवारिक र डोमेस्टिकसको अर्थ घरेलु भन्ने हो ।

लाक म्युएङ

थाई क्षेत्रपाललाई लाक म्युएङ भनिन्छ, जुन लाखे शब्दकै रूपान्तरण बुझिन्छ । एक स्तम्भका रूपमा हुन्छ, हर्म्य वा हर्मिसजस्तो । यो स्थानीय रक्षक देवता वा क्षेत्रपाल हो, जो बर्मा, क्याम्बोडिया, लाओस, मलेसिया, इन्डोनेसिया, भियतनाम र फिलिपिन्समा यत्रतत्र पाइन्छ । युरोप नै पूरै हिमालयको कुकुरलाई देवतामा वैयक्तीकरण गरेर बसेको छ भने एसियायी देशहरू त्यो परम्पराबाट प्रभावित नहुने कुरै आएन ।

तर, पश्चिमा अंग्रेजीभाषीहरूले कुरै नबुझी यस्ता क्षेत्रपालहरूलाई ‘स्पिरिट हाउस’ भन्ने अनर्थ गरिरहेका छन् ।

लार्स

माथि रोमन लार्स र प्लटार्कको कुरा गरिएको थियो । त्यति मात्रै होइन, लार्सले सोमरस पिउने सिङ र एउटा पात्र बोकेको छ । यो ठ्याक्कै रक्सी चढ्ने र हातमा एउटा पात्र लिएर उभिने भैरवसँग ठ्याम्मै मिल्छ । हनुमानढोकाको कालभैरवको मूर्ति नै एक उदाहरण हो ।

लार्सको पूजा गर्दा पुजारीले रक्सी पिएको हुनुपर्थ्यो । यो ठ्याक्कै यहीँको चलन हो ।

हेकेट

‘कुकुर मारक’ हर्मिस चोरहरूको देवता हो— यस्तो कुरा २८०० वर्षअघि नै ग्रिक मूलका हेसियोडले उनको कृति ‘थियोगनी’ मा लेखिसकेका थिए । अब युरोपमा हेकुवा वा हेकेट देवीको उत्पत्ति भयो । यो यथार्थमा संस्कृतको हस अर्थात् वेगवान, वेगमा श्रेष्ठ भन्ने अर्थले बनेको हो । ‘हेकेट चौबाटोहरूकी रक्षिका देवी हुन्, जसलाई कुकुरको बलि दिइन्थ्यो’— मारिया गिम्बुटाज लेख्छिन् (पेज १९७, द गडेसेज एन्ड गड अफ ओल्ड युरोप) । स्वर्गीय गिम्बुटाज युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापिका र प्रसिद्ध पूरातत्त्वविद् हुन् ।

उनले यहाँ हेकेटका प्रिय वनस्पति भनेर दिएका दुइटामा स्मिलाक्स र एकोनाइट पनि परेको छ । (द लिभिङ गडेसेजको अध्याय शीर्षक द ग्रिक रिलिजन— गिम्बुटाज) स्मिलाक्स भनेको नेपालीमा कुकुर डाइनो नै हो र एकोनाइट भनेको निर्विषी । निर्विषी उच्च हिमालयको भेडाखर्कमा भेटिने विषालु वनस्पति हो । टड्कारो नमुना अन्नपूर्ण बेसक्याम्पको खर्क हो ।

वनस्पतिशास्त्रको कोणले जिनस (मूल जाति) मिल्न गए पनि स्पेसिज (प्रजाति) मिल्नुपर्छ भन्ने छैन । तर, निर्विषी ग्रिक सेर्बेरस (अलौकिक कुकुर) सँग मिल्न जान्छ भन्ने कुरा लेख्दा धेरै पर जानुपर्ने हुन्छ । यसैले तलको एक उपशीर्षक मात्र जोडौं ।

सेर्बेरस

सेर्बेरस ग्रिक मर्त्यलोकको देवता हेड्सको सहयोगी कुकुरको नाम हो ।

यो शब्द नेपालीको छिरबिरेकै रूपान्तरण हो, जसलाई भोटे कुकुर (मंगोलियन डबल आइड) भन्दछौं । यही हिन्दीमा चितकबरा हुन्छ, चितुवा शब्द यहीँबाट आउँछ । सेर्बेरस, छिरबिरेको रूपान्तरण हो त्यसै लेखिएको होइन, ग्रिक अर्थ नै त्यही हो ।

हेड्स, महाभारतको सभा पर्वमा आउने हाटकेश (शिव) बाट आएको हो । जसलाई गुह्यकहरूका देवता भनिएको छ । यो गुह्यक कागबेनीबाट मुक्तिनाथ जाँदाका भित्ते गुफाहरूलाई भनिएको बुझिन्छ । म्याग्दीको तातोपानी, त्यसको ठीक उत्तरमा पर्ने मुस्ताङको लेतेखोला र मनाङको भ्राताङ तलको म्लेक्यु (बिर्साउने खोला) कसरी २८०० वर्षअघिकै ग्रिक पुराकथामा आउँछन् ? भन्ने कुराका लामो तुलनातालिका यहाँ दिनुपर्ने हुन्छ । विषयान्तर हुने डर छ ।

यतिबेलालाई यति मात्र लेखौं— सेर्बेरस जुन मैदानमा बस्छ, त्यो मैदान आस्फोडेल (आस्फोडेलस एलबस) को फूलले भरिएको छ । हाटकेशको प्रिय फूल रैथाने आस्फोट (सेतो आँक वा क्यालाट्रपिस प्रसेरा) हो । दुवै फूल सेतो रङका हुन्छन्, झाडी वर्गमा पर्छन् ।

केर्न

ढुंगाका थुप्राहरूको बनोट र कुकुरको एक प्रजाति दुवैलाई अंग्रेजी हिज्जेमा केर्न लेखिन्छ । यो बनोट पूरै युरोपभरि पाइन्छ । जुन संस्कृतको चार आँखायुक्त सरमाबाट बनेको हो । जो ऋग्वेदमा परेको एक कुकुर्नीको नाम हो ।

यसो किन पनि भनियो भने सरकराको नेपाली अर्थ बालुवा वा ढुंगाहरूले भरिएको जमिन हो । कुलुङ राई भाषामा सेरोङ र नाछिरिङ राई भाषामा सेरोङ्ल ससाना ढुंगा हो । कुलुङ राई भाषामा समाकेको अर्थ पनि कुकुर नै हो । संस्कृतको ‘स’ युरोपका विभिन्न भाषाहरूमा ‘क’ हुन गएका प्रशस्तै उदाहरण छन् ।

सम्बर

ऋग्वेदले यमराजका दुई सहयोगी भनेर स्वान र सबल नामका दुई कुकुर तोकेको छ, जुन सरमाका सन्तान हुन् (दसौं मण्डल, चौधौं शुक्त, दसौं ऋचा) । यो सबलको शुद्ध रूप सम्बर हो, जुन इन्द्रद्वारा वध गरिएका पहाडी क्षेत्रका शासकका रूपमा महाभारतमा आएको छ ।

सम्बर आएको हो ‘सम्ब’ माने आबद्धताबाट । अर्थात् लामो समय यौनरत रहने प्रकृतिबाट, जुन कुकुरकै चरित्र हो । यसैले सम्बरहरूलाई त्यही आसनमा चित्रित गरेको पाइन्छ, महाभारतको भनाइ ‘कामदेवको शत्रु’ का विपरीत । यही कारण महाभारतपछिको भागवतले सम्बरको मालिक शिवलाई पनि कामदेवको शत्रुका रूपमा स्थापित गर्न पुग्यो ।

शिव इनु

माथि लेखियो शिवको सहयोगीको रूपमा कुकुर भैरवमा रूपान्तरण भएको हो । नभन्दै जापानको एक प्रसिद्ध स्थानीय प्रजातिको कुकुरलाई शिव इनु भनिन्छ ।

इजानागी त्यो पात्र हो, जो आफ्नी दिवंगत पत्नी लिन योमी पुग्छ । इजानागी इशान (शिव) को रूपान्तरण हो, योमी यमलोकको । अर्थात् यो शिव र सतीदेवीको कथाको जापानी आवृति हो (ग्रिक अर्फियस र युरिडाइसको कथा ठ्याम्मै यही हो, दुवै नाम संस्कृतको स्वरबाट बनेको हो) । योमीको अपवित्रता पखाल्न ऊ तातो पानीमा नुहाउँछ, हेड्सको पुराकथाको तातो कुण्डजस्तै । योमीको प्रमुख बनाउँछ उसले सुसानो नामको कुकुरलाई ।

पुछारमा

पारसीहरूको जेन्द आवेस्तामा परेको कुकुरबारेको त्यो लामो बयानमाथि यहाँ स्थानाभावले टिप्पणी गरिएन, जसले कश्यपसंहितामा भएको लसुनको लामो बयानलाई सम्झाउँछ । यहाँ मध्यएसियामै पनि पाइने अन्य व्यापक रूपान्तरणहरूमाथि पनि टिप्पणी गर्न सकिएन । तर, एउटा कुरा भन्नु जरुरीचाहिँ छ— जापान र दक्षिण युरोपमा सांस्कृतिक समानताहरू छन्, हाम्रै पितृ पूजा क्याम्बोडियाको काम्पोङ खाम प्रान्तसँग मिल्छ । यसो हुनुमा इसापूर्वका भूमध्यसागरीय फोनेसियन व्यापारीहरू र त्यसपछि इस्वीको दसौं शताब्दीवरपरका दक्षिण इन्डियन चालुक्य साम्राज्यको देनचाहिँ छ ।

संसारकै सबैभन्दा बढी असी प्रतिशत संस्कृत शब्द भएको लिथुआनियन भाषाकी प्राकृतिक वक्ता गिम्बुटाज कथित प्रोटोइन्डोयुरोपियन सभ्यताको ‘कुर्गान सिद्धान्त’ की प्रवर्तक हुन्, जसलाई मूलधारको सिद्धान्त मानिन्छ, तर कुर्गान आएको हो संस्कृतको ढिकुरोबाट । आखिर मरिस विन्टरनित्जले भनेकै छन्— जर्मनहरूले संस्कृत ओसारेर अन्यत्र विस्तार गरे ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?