ग्रेटा राणासँग एउटा खोजी

पोयट लरिएट जोन बेच्जमिनकी श्रीमती नेपाल भ्रमणमा आएकी थिइन् । घोडाबाट लडेर उनको मृत्यु भयो । नेपालको ब्रिटिस सिमेट्रीमा उनलाई समाधिस्थ गरिएको छ रे  ! के उनको सधाधिबारे तपाईंलाई थाहा छ ?
अभि सुवेदी

ग्रेटा राणा (सन् १९४३) एक उपन्यासकार अनि कवि हुन् । ती नारीहरूका अन्तर्कथा, तिनका पीडा र शक्ति विषयमा लेख्ने लेखक हुन् । तिनले राणा एसियाली–ब्यारोक भवनभित्र गुमनाम भएका नारीहरूदेखि लिएर साधारण जीवनका पात्रहरूसम्मका चित्रण गरेर उपन्यास लेखेकी छन् । अझ मैले उनलाई एक कविका रूपमा अध्ययन गरेको छु, तिनका कवितासंग्रहको विमोचन र व्याख्या गरेको छु ।

ग्रेटा राणासँग एउटा खोजी

विद्यार्थीहरूलाई उनका लेखनमा शोध गर्न सल्लाह पनि दिँदै आएको छु । त्यसैले म ग्रेटासँग अनेकौं विषयमा छलफल गर्छु । त्यस्तै एउटा विषयले मलाई घचघच्याइरहेकाले मैले ग्रेटालाई सोध्ने विचार गरेको निकै समय भएछ । सधैं बिर्संदो रहेछु । तर, मलाई त्यो प्रश्न सोध्ने र ग्रेटाको विचार र सहयोग माग्ने चाहना झन् बढेकाले केही वर्षपहिले मैले उनलाई त्यो कुरा सुनाएँ । ब्रिटेनमा निकै वर्षअघि मलाई एक जना महिला कविले साहित्यिक जमघटमा एउटा कुरा सोधिन् । तिनले अकस्मात भनिन्— मैले सुनेको ब्रिटेनका ‘पोयट लरिएट’ (कवि शिरोमणि) जोन बेच्जमिन (सन् १९०६–८४) की श्रीमतीको नेपालमा पर्वत भ्रमणमा जाँदा घोडाबाट लडेर मृत्यु भयो अनि तिनलाई नेपालको ब्रिटिस सिमेट्रीमा समाधिस्थ गरिएको छ रे ।

ती अत्यन्त स्वाभिमानी र संघर्षशील नारी थिइन् रे । के तिनको सधाधिबारे तपाईंलाई थाहा छ ?’ मेरो निम्ति त्यो विषय एकदमै नौलो थियो । मैले त्यो कुरा ग्रेटालाई सुनाएँ अनि तिनको समाधि खोज्न ग्रेटाको सहयोग मागेँ । आफूले अध्ययन गरेका र गराएका अंग्रेजी कविकी श्रीमतीको प्रसंग थियो त्यो । ग्रेटालाई त्यो कुरामा चाख लाग्यो । अनि उनले ब्रिटिस राजदूतावासबाट नक्सा र स्वीकृति लिइन् । अनि हामी शिव रिजाल र म ग्रेटासँग त्यो अनौठो खोजका निम्ति ब्रिटिस सिमेट्री गयौं । त्यो भ्रमण विषयमा लेख्नुपहिले ग्रेटा राणाको लेखन र उनको इतिहाससँगको आफ्नै किसिमको लेखकीय संघर्षको विषयमा केही लेख्छौं ।

ग्रेटा राणा नेपालमा एक प्रख्यात महिला लेखकको नाम हो । ती एक कुशल रंगकर्मी पनि हुन् भन्ने हामी रङ्गमञ्च समाजका कतिपय मानिसलाई समेत थाहा छैन । तर, तिनको आधी शताब्दीको नेपाली जीवनका अनेकौं आयाम हेर्दा र पढ्दा मलाई एउटा कुराले सधैं समातिरहन्छ । ग्रेटा राणालाई मैले धेरै वर्षअघि भेट्दा एकाध कुराले चकित परेको थिएँ । ती साधारण रूपले एक जना नेपालीसँग प्रेमविवाह गरी नेपाल आएकी महिला हुन् । तर, पहिलो भेटमै मलाई लाग्यो, ती एक जना सीमातीत भूमिमा बस्ने पात्र थिइन् ।

बेलायतको पहिलेको कोइलाखानी भएको योर्कसरको एउटा सहरमा जन्मेर हुर्केकी केटीको मधुकरशमशेर भन्ने एक नेपाली विद्यार्थीसँग भेट भयो । अनि तिनैसँग बिहे गरेर सन् १९७१ देखि नेपालमा बसोबास भएको ग्रेटाको कथामा खासै केही जटिलता छैन । सोझो कथा हो । तर, ग्रेटाका निम्ति त्यो सोझो कथा थिएन । त्यो एउटा खोजीको यात्रा र एउटा जीवनशैलीको कथा थियो । एउटा राणा परिवारमा बिहे गरेर आएपछि थाहै नपाई ती एक पात्र भइन् । सुरुका दिनहरूमा ग्रेटाले राणा दरबार परिसरमा उनले कल्पना गरेका वा देखेका छायाहरूका एकाध कथा पनि मलाई भनेको सम्झना छ । मलाई त्यहीबेला लागेको थियो, यी एउटी लेखक हुन्, जो एउटा अभिजात राणा घरको वास्तु रचनाभित्र पसेर त्यसको काल्पनिकीमाथि विचार गरिरहेकी थिइन् । ग्रेटा पश्चिमी शैलीका नवव्यारोक राणाका घरमा बिहे गरेर भित्रिएकी एउटी ब्रिटिस महिला थिइन् । ती लेखक भएकी हुनाले उनले ती भवनको अन्तर्य हेरिन् अनि तिनका भित्री संरचना बुझ्ने कर्ममा लागिन् ।

वास्तुकला र त्यसमा बस्ने मानिसको अनौठो सम्वन्ध हुन्छ भन्ने मानिएको छ । पश्चिमी शैलीका घर बनाएर बस्ने भारतीय उपमहाद्वीपका महाराजा र रजौटाहरूले सोझो पश्चिमी शैलीका महलमा आफैंलाई पहिचान गर्न नसकेपछि ती शैलीलाई परिवर्तित गरे । त्यसलाई हामी एसियाली ब्यारोक भन्छौं । यस्ता एसियाली ब्यारोक शैलीका महल बनाएर बस्ने राणा परिवार र घरानाहरूले ती महलसँग कस्तो सम्बन्ध गरे ? त्यो एउटा अध्ययनको विषय हो ।

मैले यसमा केही लेखेको छु, विस्तृत होइन । मेरो नाटक ‘सान्दाजुको महाभारत’ (२०७२) मा बीपी कोइरालाले अदालतमा बयान दिँदा माथि महलको बुर्जामा बसेर न्याय दिने बहाना गर्नेहरूलाई र तिनको एसियाली ब्यारोक भवनलाई चुनौती दिएको कुरा लेखेको छु । हो त्यस्तै घरभित्र आएकी यी प्रतिभाशाली सरल युवतीले पनि चुनौती दिनुपर्ने आवश्यकता भयो । अनि ग्रेटा यस्तो चुनौती दिन एसियाली ब्यारोकभित्रका विगतका नारी पात्रको खोजीमा लागिन् । ग्रेटाले पहिले आफैंलाई पात्र बनाइन् अनि ती महलभित्रका विगतका नारीका कथा भेटिन् ।

यो लेखको विषय त्यो नभएकाले उनको एउटा महत्त्वपूर्ण उपन्यासको मात्र यहाँ उल्लेख गर्न चाहन्छु । त्यो अर्द्धऔपन्यासिकजस्तो लाग्ने ऐतिहासिक खोज र वर्णन हो । त्यसको नाम ‘राणा वंशका लुप्त शासकीय महिलाहरू’ अथवा ‘हिडेन विमिन : द रुलिनङ विमिन अफ् द राणा डाइनास्टी’ (२०१२) मा ग्रेटाले अनुसन्धान र काल्पनिकी प्रयोग गरेर तिनको विषयमा लेखिन् । नेपालमा सन् १८४६ देखि १९५० सम्मको एक सय चार वर्षको राणा शासनको जग बसाल्ने पहिला राणा प्रधानमन्त्री जंगबहादुर राणासँग जोडिएका नारीहरू उनका पात्र बने । ग्रेटाको लेखन विषयमा यहाँ यत्ति नै ।

हामी ब्रिटिस दूतावासको पश्चिमपट्टिको सिमेट्रीमा गयौं । त्यसमा अनेकौं चिहान वा समाधिहरू हेर्‍यौं । ग्रेटाले कवि बेच्जमिनकी श्रीमतीको समाधि खोज्ने विषयलाई प्राथमिकता दिएकी थिइन् । त्यस क्रममा हामीले निकै जनाका समाधि वा चिहान भेट्यौं । मैले चिनेकी बोरिसकी श्रीमतीको चिहान उनकै पतिको छेउमा रहेछ । उनको मृत्यु भएको पनि मलाई थाहा थिएन । उनी वृद्ध महिला थिइन् मैले चिन्दा । त्यहाँ एउटा निकै फराकिलो चिहान रहेछ । त्यो हेक्टर ओलफिल्ड र उनका नाबालक छोराहरूको हो । जंगबहादुरको आदेशमा त्यो विशेष समाधिस्थल बनाइएको रहेछ । ओलफिल्ड सन् १८५० देखि १८७३ सम्म ब्रिटिस रेजिडेन्सीमा सर्जनको रूपमा कार्यरत थिए ।

उनी चित्रकार पनि थिए । उनको ‘स्केचेज फ्रम नेपाल’ (१८८०) किताब केही वर्षपहिले नेपालमा पुनर्प्रकाशित भएको छ । उनका रंगीन चित्र छन् यसमा । तिब्बत हमला गर्न जाँदा ओलफिल्ड धीरशमशेरसँग गएकाले तिनले तिब्बती परिवेशका चित्र र काठमाडौंको त्यो बेलाको भूचित्रलाई उनका चित्रमा उतारेका छन् । तिनको स्मृतिमा उनको परिवारकै समाधि राम्ररी बनाइएको रहेछ । ओलफिल्डको पारिवारिक जीवन दुःखी रहेछ ।

मैले यो उत्सुकतालाई जारी राखें । अनलाइन खोजी गर्दा कविपत्नीबारे अनेकौं कुरा थाहा पाइने रहेछ । जोन बेच्जामिनकी यी हामीले खोजेकी श्रीमती ग्रेटाको भाषामा उनकी ‘कान्छी स्वास्नी’ थिइन्, जसलाई कविले भारतमा बिहे गरेका थिए । तिनको नाम पेन्लोपी चेटओड थियो । ती ब्रिटिस भारतका उच्च सैनिककी छोरी रहिछन्, जसलाई कविले भेटेर मन पराएर बिहे गरेका थिए । त्यो विवाह खासै लामो टिकेको थिएन । मैले पढेअनुसार, पेन्लोपी कुलु पहाडलाई अत्यन्त प्रेम गर्थिन् । त्यही क्रममा उचाइमा यात्रा गरेका बेला तिनको बाटोमा कुनै दुर्घटना नभई मृत्यु भएको पढें ।

कवि शिरोमणि बेच्जामिनकी यी श्रीमतीको काठमाडौंको सिमेट्रीमा समाधि छ भन्ने कुरामा अहिले मलाई खासै विश्वास लाग्न छोडेको छ । तिनको कुलुको समाधि भएको ठाउँमा लेखिएको एउटा बयान पनि पढें । यो खोजी एक ब्रिटिस कविले भनेको आधारमा गर्न खोजिएका एउटा संयोग हो । यसको अरू ऐतिहासिक महत्त्वभन्दा पनि एउटा अंग्रेजी साहित्यिक प्रसंगबाट आएको हो । ग्रेटालाई भेटेपछि यो कुरा फेरि गर्नेछौं ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?