ह्वाइट हाउसको निद्रा बिथोल्दै ‘हवाना सिन्ड्रोम’- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वाइट हाउसको निद्रा बिथोल्दै ‘हवाना सिन्ड्रोम’

‘हवाना सिन्ड्रोम’ को गूढ पत्ता लगाउन वैज्ञानिकहरू केही व्यक्तिमा माइक्रोवेभ पठाउने र त्यसले उनीहरूको मस्तिष्कमा पार्ने प्रभावबारे अध्ययन गर्दै छन् ।
पाँच वर्षयता अमेरिकी कूटनीतिक अधिकारीहरुलाई सताइरहेको ‘हवाना सिन्ड्रोम’ जति रहस्यमय छ, यसमाथिको अनुमान र आशंका उत्तिकै व्याप्त छ
विमर्श कँडेल, डा. शम्भु खनाल

सन् २०१७ को डिसेम्बर, रुसको मस्कोस्थित होटल मेरियट । मार्क पोलिमरोपोलोस (५१) ले त्यो रात ऐठनमा बिताए । ‘त्यस रात मलाई कसैले पटकपटक गोली हानिरहेजस्तो लागिरह्यो । सायद मेरो जीवनकै त्यो डरलाग्दो अनुभव थियो,’ अमेरिकी रेडियो एनपीआरसँग उनले भनेका छन् । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) मा २६ वर्षसम्म अधिकृतको भूमिकामा रहँदा उनले इराक, सिरिया र अफगानिस्तान क्षेत्रमा यस्तै भयानक युद्ध अनुभव लिइसकेका थिए ।

अमेरिका–रुसबीच शीतयुद्धदेखि नै तनावपूर्ण सम्बन्ध छ । सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनपछि पोलिमरोपोलोसलाई सीआईएले मस्को खटाएको थियो । अमेरिकी निर्वाचनमा रुसले प्रत्यक्ष हस्तक्षेप गरेको खुलासा भएपछि युरोप, युरेसिया क्षेत्रका प्रमुख उनी विशेष मिसनसहित त्यहाँ पुगे । जहाँ उनी रुस र उसको प्रमुख गुप्तचर निकाय (जीआरयू) का गुप्त रणनीति बुझ्ने उद्देश्यसहित गएका थिए । तर अचानक ‘त्यो’ रात उनलाई ऐंठन भएको थियो । उनका लागि अवस्था यति खपि नसक्नु भयो की मस्कोको १० दिने भ्रमण नै छोट्याएर देश फिर्नुपर्‍यो ।

सुरूमा ‘फुड पोइजनिङ’ होला भन्ने ठानेका उनी केही दिनपछि फेरि उस्तै समस्या भोगेपछि भने आत्तिए । दुई महिनापछि टाउको दुख्ने समस्या पनि थपियो । त्यसपछिका लगातार तीन वर्ष उनले पटक–पटक एमआरआई, सिटीस्क्यान, एक्स–रे गराए, तर न समस्या पहिचान हुन सक्यो, न त उपचार नै । अन्ततः खराब स्वास्थ्य अवस्थाकै कारण उनले सन् २०१९ मा जागीर छोड्नुपर्‍यो ।

पोलिमरोपोलोसलाई समस्या देखिनु ठीक एक वर्षअघि पनि क्युबाको हवानास्थित अमेरिकी दूतावासमा खटिएका सीआईएका अधिकारीलाई यस्तै भएको थियो । यो क्रम यति बढेर गयो, त्यसपछिका दुई वर्षमा त क्युबामा कार्यरत २६ अमेरिकी अधिकारी र उनका परिवारमा पनि सोही समस्या देखियो । कतिपय समाचार संस्थाले पीडितको संख्या ४० भन्दा धेरै भएको दाबी गरेका छन् ।

क्युबाको हवानाबाट सुरु भएकाले यस समस्यालाई ‘हवाना सिन्ड्रोम’ भन्न थालिएको हो । रिंगटा लाग्ने, अत्यधिक टाउको दुख्ने, थकान हुने, बान्ता हुने, बेचैनी बढ्ने, दृष्टि, स्मरण शक्ति र मानसिक अवस्था खस्किँदै जाने लगायत समस्या यसका लक्षण हुन् । पीडितले सुरुवातमा कानमा भुनभुन आवाज (हमिङ साउन्ड) सुनेको समान बयान दिएका छन् । क्युबापछि चीनमा कार्यरत १५ अमेरिकी अधिकारीमा पनि हवाना सिन्ड्रोम देखियो ।

सन् २०१७ मा ग्वाङजाउस्थित अमेरिकी कन्सुलेट कार्यालयमा कार्यरत विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का सुरक्षा अधिकारी मार्क लेन्जीले नोभेम्बरमा आफ्नो अपार्टमेन्टमा अनौठो आवाज सुन्न थाले । साथै रहेकी उनकी श्रीमतीले पनि उनले जस्तै मेटल फनेलमा मार्बल ठोक्काउँदाको जस्तो लाग्ने तेजिलो आवाज सुनिन् । अचम्म त के भने, यस्तो आवाज कोठाको निश्चित स्थानमा मात्रै सुनिन्थ्यो । ‘छोरा सुत्ने गरेको खाटमा र हाम्रो बिस्तरा नजिकै सुनिन्थ्यो,’ लेन्जीले सीबीएस न्युजसँगको कुराकानीमा भनेका छन्, ‘पछि हामी दुवै जनामा टाउको दुख्ने समस्या आयो । कुनै पनि कुरा छिनको छिनमै बिर्सन्थ्यौं ।’ लेन्जीको काम उच्च गोपनीय साधनको प्रयोग गरी कूटनीतिक मिसनमा विद्युतीय खतराको विश्लेषण गर्नु हुन्थ्यो ।

लेन्जीको फ्ल्याटभन्दा एक तलामाथि बस्ने क्याथरिन वार्नरले भने महिना दिनअघि नै यस्तै समस्या झेल्दै आएकी थिइन् । वार्नर अमेरिकी वाणिज्य विभागमार्फत ट्रेड अफिसरका रूपमा खटिएकी थिइन् । ‘कन्चटको दुवैतिर असह्य गरी दुख्थ्यो । फरक खालको मधुरो आवाज सुन्नु, रिंगटा लाग्नु बरोबर हुन थाल्यो,’ वार्नरले अनुभव सुनाइन्, ‘यो क्रम यति बढेर गयो, हरेक मध्यरातमा ब्युँझँदा नाकबाट रगत बगिरहेको हुन्थ्यो, बान्ता आउँथ्यो ।’ हुँदाहुँदा उनको कुकुरले समेत रगतै बान्ता गर्न थाल्यो । पछि वार्नरको हेरचाहमा पुगेकी आमालाई समेत उस्तै भएपछि उनीहरू तीन महिनामै चीन छोड्न विवश भए । वार्नरको समस्या सुनेपछि न्युरोलोजिस्ट डा. टिना सेट्टीसमेत अचम्ममा परिन् । वार्नरमा त्यसअघि न गम्भीर मानसिक आघात पर्ने कुनै घटना भएको थियो, न त टाउकोमा कुनै चोट नै । तर लक्षण मस्तिष्कमा मध्यमखालको चोट लाग्दा हुने जस्तो थियो । ‘वार्नरलाई फङ्सनल ब्रेन इन्ज्युरी भएको हुन सक्ने मेरो प्रारम्भिक अनुमान हो,’ डा. सेट्टीले भनेकी छन् ।

अन्ततः २०१८ को मे २३ मा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ग्वाङजाउमा कार्यरत अमेरिकी अधिकारीमा देखिएका लक्षण क्युबामा अमेरिकी अधिकारीलाई देखिएको जस्तै भएको घोषणा गरे । तर, यसको कारणबारे भने स्पष्ट नभएको बताए । हवाना सिन्ड्रोम ह्वाइट हाउस पनि छिर्‍यो । गत वर्ष दुई अधिकारी यसबाट पीडित भए । हनोईस्थित अमेरिकी दूतावासमा कार्यरत अधिकारीमा हवाना सिन्ड्रोमसँग मिल्ने लक्षण देखिएपछि गत अगस्ट २४ मा भियतनाम जान लागेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस तीन घन्टा सिंगापुरमै रोकिइन् । सेप्टेम्बरमा भारत आएका एक सीआईए अधिकारीसमेत यसको चपेटामा परेको बताइएको छ । पछिल्लो झन्डै ५ वर्षमा क्युबा, चीन, उज्वेकिस्तान, रुस, पोल्यान्ड, जर्जिया, अस्ट्रेलिया, ताइवान, कोलम्बिया, किर्गिस्तान, अस्ट्रिया, जर्मनीलगायत मुलकमा खटिएका झन्डै दुई सय अमेरिकी कूटनीतिज्ञ, गुप्तचर, सैनिक, दूतावासका कर्मचारी तथा उनीहरूका परिवार हवाना सिन्ड्रोमको ‘सिकार’ भइसकेका छन् । क्युबास्थित क्यानडाली दूतावासमा खटिएका १४ अधिकारीबाहेक अन्य सबै पीडित अमेरिकी छन् ।

अधिकांश अधिकारीले त्यस्तो आवाज पहिलो पटक आफू बस्दै आएको घर वा होटलमा सुनेको बताउँछन् । ह्वाइट हाउसका एक अधिकारी भने कार पार्किङ स्थलमा यसको चपेटामा परेका थिए । विभिन्न अध्ययनअनुसार, यस्तो समस्या भोग्ने आधाभन्दा धेरै अधिकारी केही दिन, हप्ता वा महिना मात्रै यस्तो पीडाबाट गुज्रिएका छन् । केही ३/४ वर्षदेखि अस्पताल र चिकित्सक कक्षको चक्कर काटिरहेका छन् । व्यक्तिगत, पारिवारिक र जागिरे जीवन अस्तव्यस्त हुने अधिकारी भने धेरै छन् । खासमा यो व्यक्तिगत स्वास्थ्य समस्या मात्रै थियो या सुनियोजित रूपमा गरिएको आक्रमण ?

अध्ययनमै ‘कमजोरी’

विदेशी भूमिमा खटिएका नागरिक समस्यामा पर्दा सुरूमा ट्रम्प सरकारले खासै चासो दिएन । कतिपय अवस्थामा राजनीतिक रङ दिने कोसिस पनि भयो । घटना प्रकाशमा आएको १० महिनापछि अक्टोबरमा राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई आक्रमणको संज्ञा दिए । तर, तथ्य पस्किन सकेनन् । ‘यो निकै असामान्य आक्रमण हो । मलाई पक्का लाग्छ, यसमा क्युबा जिम्मेवार छ,’ ट्रम्पले भनेका थिए ।

आफ्ना कर्मचारीमाथि आक्रमण भइरहेको भन्दै अमेरिकाले सन् २०१८ को सेप्टेम्बरमा हवानास्थित दूतावासमा ‘अर्डर डिपार्चर स्टाटस’ लागू गर्‍यो । यसलाई बन्द भएकै बराबर मानिन्छ । उक्त घोषणाअघि जनवरीमा तत्कालीन अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले परराष्ट्र क्षेत्रमा कार्यरत अधिकारीसँग जोडिएका स्वास्थ्य सुरक्षासम्बन्धी घटनाको विश्लेषण गर्न एक बोर्ड गठन गरेका थिए, जसको नेतृत्व लिबियाका लागि राजदूत रहिसकेका पेटर बोडलाई दिइएको थियो । यसका अलावा एफबीआई, सीआईए, सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) लगायतले पनि अध्ययन गरिरहेका थिए ।

सन् २०१८ को जनवरीमा समाचार संस्था एसोसियट प्रेस (एपी) ले एफबीआईको अति गोप्य रिपोर्टमा हवाना घटनामा नियोजित सोनिक (ध्वनि) आक्रमणको कुनै प्रमाण नभेटिएको दाबी गरिएको जनायो । सीआईए र विदेश मन्त्रालयको आन्तरिक टकरावबाट अनुसन्धान प्रभावित बनेको त्यही वर्षको नोभेम्बरमा न्यु योर्करले एक रिपोर्टमार्फत जनायो । यो अनुसन्धानबाट विभिन्न अमेरिकी सरकारी विभाग तथा कर्मचारीको विवरण बाहिरिन सक्नेमा सीआईए संशकित थियो । कर्मचारीहरूको स्वास्थ्य विवरणसम्बन्धी दस्तावेज गोप्य राख्नुपर्ने अमेरिकी संघीय नियमले पनि अनुसन्धानमा बाधा गरेको थियो ।

जर्ज वासिङ्गटन विश्वविद्यालयको राष्ट्रिय सुरक्षा संग्रहालयले सूचनाको हक प्रयोग गरेर प्राप्त अमेरिकी विदेश मन्त्रालयको सन् २०१८ को प्रारम्भिक अध्ययन प्रतिवेदन प्रकाशन गरिदियो, जसले यो घटना नियन्त्रण गर्न मन्त्रालय पूर्ण असफल भएको संकेत गरेको छ । घटना र पीडितबारेको अध्ययन अराजक, अव्यवस्थित र अधिक गोप्य राख्न खोजिएको प्रतिवेदनमा औंल्याइएको छ ।

गत वर्षको अक्टोबरमा न्युयोर्क टाइम्सले अमेरिकी कर्मचारीमा देखिएको स्वास्थ्य जटिलताको प्रकृति र कारणको विषयमा मन्त्रालयका अगुवा, गुप्तचर अधिकारी, तत्कालीन सीआईए निर्देशक तथा ट्रम्प सरकारले नियुक्त गरेका अधिकारीबीचमै टकराव रहेको रिपोर्ट प्रकाशन गरेको थियो । मन्त्रालयले यी घटना र बिरामीको स्वास्थ्य अवस्थालाई सामान्य आँकेको, चिकित्सकीय अनुसन्धानमा बेवास्ता गरेको तथा कंग्रेसले बिरामीको व्यक्तिगत विवरण दिन नमानेको पाइएको भन्दै टाइम म्यागजिनले पनि अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेको थियो ।

घटना बाहिरिने अमेरिकी चिन्ता

कतिपय पीडितले घटनाबारे ह्वाइट हाउसका उच्च अधिकारीलाई बताउँदा बाहिर कसैलाई नभन्न र चिकित्सकको परामर्श पनि नलिन भनिएको बताएका छन् । यस्तो जवाफ पाउनेमा सान्ड्रा एडम्स र ब्यांक्स एड्रियन (परिवर्तित नाम) समेत थिए । सन् २०१९ मे अन्तिमतिर ट्रम्पको लन्डन भ्रमणका क्रममा खटिँदा दुवैले एकसाथ यो समस्या भोगेका थिए । अमेरिका फर्किएपछि सुरुमा ह्वाइट हाउसकै मेडिकल युनिटमा जाँच गराए, तर चिकित्सकले तनावका कारण सामान्य टाउको दुखाइ मात्र भएको जनाउँदै आइब्रुफिन (दुखाइ कम गर्ने औषधि) खान र आराम गर्न सल्लाह दिए । त्यसले समस्या ठीक भएन, झन् बढ्दै गयो । उनीहरू व्यक्तिगत तवरमा विभिन्न चिकित्सक र क्लिनिकमा पटकपटक धाए । ‘तर कहीं पनि हाम्रो समस्यालाई गम्भीरतापूर्वक लिइएन,’ एडम्सले सुनाइन् ।

सन् २०१७ अगस्टमा सीआईएकी एक उच्च अधिकारी क्युबाको हवानास्थित होटल नासिओनलमा बसिरहेको बेला उस्तै समस्याबाट गुज्रिइन् । आफ्नो विभागकै उच्च अधिकारी पीडित बनेपछि भने सीआईए केही गम्भीर देखिएको थियो । तर, यसपटक पनि उसले आन्तरिक रूपमै व्यवस्थापन गरेर थामथुम पार्ने प्रयत्न गर्‍यो । विश्वमै सुदृढ र शक्तिशाली मानिने आफ्ना संयन्त्रहरूको कमजोरी प्रकट हुने डरका कारण अमेरिकाले आफ्नै नागरिक अप्ठेरोमा पर्दासमेत धेरै चासो नदिएको मिडिया विश्लेषण छ ।

कतिपय बिरामीले उपचार गराउनै सकस भोग्नुपर्‍यो । न त आफू कार्यरत विभागबाटै कुनै सहयोग पाए । यसमध्येमै पर्छन्, पोलिमरोपोलोस । धेरै चिकित्सकलाई देखाउँदा पनि निको नभएपछि उनले वाल्टर रिडस्थित नेसनल मिलिटरी मेडिकल सेन्टरमा मस्तिष्कको बृहत् रूपमा उपचार गराउन एक वर्षसम्म सीआईएमा बारम्बार अनुरोध गरिरहे, तर अनुमति मिलेन । मस्तिष्कसम्बन्धी गम्भीर रोगको उपचार गराउन यो सेन्टर सुविधासम्पन्न मानिन्छ । ‘त्यहाँ मलाई उपचार गराउन अनुमति नदिनु रहस्यमय छ,’ उनले भनेका छन् । कतिपय पीडितलाई विदेश मन्त्रालयले आधिकारिक पत्र नै दिएर उनीहरूको मानसिक अवस्थामै आशंका जनाएको थियो ।

पत्रमा उल्लेख भएका कारण पत्यारिलो नभएको चीनमा अमेरिकी वाणिज्य विभागको ट्रेड अफिसरको रूपमा कार्यरत रहँदा पीडित बनेका रोविन गारफिल्ड बताउँछन् । ‘मलाई १७ वर्षअघि बेसबल खेल्दा लागेको चोटलाई कारण औंल्याइएको छ । तर, मसँगै बस्दै आएका श्रीमती र छोरीहरूलाई कसरी यस्तो भयो भन्नेमा चिकित्सक मौन छन्,’ उनले भनेका छन् । लेन्जी पनि चीनसँगको कूटनीतिक र व्यापारिक सम्बन्ध थप बिग्रने भएका कारण अमेरिकाले यी घटनालाई दबाउन खोजेको मान्छन् । ‘क्युबा सानो मुलुक हुनु र व्यापार तथा कूटनीतिक सम्बन्ध पनि फराकिलो नभएकाले त्यहाँका घटनालाई सहजै स्विकारियो, आक्रमणको तानाबाना बुनेको आरोपसमेत लगाइयो,’ उनले भनेका छन् ।

सिनेटर जिन सहिन भने पीडितहरूको पक्षमा उभिइन् । सिनेटको परराष्ट्र सम्बन्ध समितिकी सदस्यसमेत रहेकी सहिनले कतिपय पीडितले आफूलाई सरकारले नहेरेको मात्रै होइन, बाहिर कसैलाई नभन्न दबाब दिएको जनाउँदै तत्कालीन विदेशमन्त्री पोम्पेओलाई पत्र नै लेखेकी थिइन् । ‘केही पीडितलाई राम्रो व्यवहार गरिएको पनि पाइएको छ । म जान्न चाहन्छु, यसको सम्बन्ध क्युबा, चीन र रुससँगको परराष्ट्र सम्बन्धमा रहेको राजनीतिक संवेदनशीलतासँग छ ?,’ पत्रमा भनिएको छ, ‘खास प्रश्न नै यही हो कि किन केही व्यक्तिलाई मात्रै फरक व्यवहार गरियो ? के फरक–फरक मुलुकका लागि हाम्रो नीतिअनुसार यस्तो गरिएको हो ?’

विदेशमन्त्री पोम्पेओले यसको खण्डन गर्दै राजनीतीकरण नभएको स्पष्ट पारेका थिए । उनले आफ्ना कर्मचारीको उपचार र हेरचाहमा निरन्तर सहयोग गरिरहेको दाबीसमेत गरेका थिए । तर, चीनमा बिरामी परेकाहरूलाई वास्तविक पीडित मान्न मन्त्रालय तयार भएन । ‘क्युबामा बिरामी भएकाहरू वास्तविक पीडित हुन् । तर, मन्त्रालयले चीनमा बिरामी परेकाहरूलाई उही दर्जामा राखेको छैन,’ विदेश मन्त्रालयका एक उच्च अधिकारीले सीबीएस न्युजसँग भनेका छन् ।

सत्ताबाट ट्रम्प बाहिरिने समय हुनै लाग्दा रक्षा मन्त्रालयले अमेरिकी सैनिक र उनीहरूको परिवारमाथि आइपरेको स्वास्थ्य समस्याको अध्ययन गर्न कार्यदल गठन गर्‍यो । घटनाको विषयमा सीआईए र विदेश मन्त्रालय गम्भीर नभएको अवस्थामा रक्षा मन्त्रालय एक कदम अगाडि सरेको थियो । तत्कालीन रक्षामन्त्री क्रिस्टोफर सी मिलरले गत डिसेम्बरमा पीडितहरूसँग साक्षात्कार गरेपछि भने बिरामी र उनीहरूको पीडालाई उच्च प्राथमिकतामा राखेको बताएका थिए ।

डिसेम्बरमै सीआईएले पनि टास्क फोर्स बनायो । तर, यसले जो बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि मात्रै सक्रियता पायो । बाइडन नेतृत्वले हवाना सिन्ड्रोमलाई गम्भीरतापूर्वक लिँदै विभिन्न पाटोबाट विस्तृत अध्ययन थालेको जनाएको छ । नेसनल सेक्युरिटी काउन्सिल, सीआईए र डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सले दुईवटा छुट्टाछुट्टै प्यानल बनाई अनुसन्धान सुरू गरेका छन्, जसमध्ये एउटाले घटनाको सम्भावित कारण खोज्नेछ भने अर्कोले विदेशी भूमिमा काम गर्नेहरूका लागि प्रतिरक्षासम्बन्धी रणनीति विकास गर्नेछ ।

काउन्सिलका अनुसन्धाता कुन उपकरणलाई कसरी प्रयोग गर्दा मस्तिष्कसम्बन्धी खराबी देखा पर्छ, जो हवाना सिन्ड्रोमसँग मेल खान्छ भन्नेबारे अध्ययन गरिरहेका छन् । न्यु योर्करका अनुसार, वैज्ञानिकहरू केही व्यक्तिमा माइक्रोवेभ पठाउने र त्यसले उनीहरूको मस्तिष्कमा पार्ने प्रभावबारे अध्ययन गर्दै पनि छन् । सीआईएले हवाना सिन्ड्रोमबाट पीडित व्यक्तिहरूको उपचार र अध्ययनमा चिकित्सकको संख्यासमेत उल्लेख्य थपेको जनाएको छ ।

पीडितको उपचार र क्षतिलाई फेडरल इम्प्लोइज कम्पेन्सेसन एक्टले समेट्न नसकेको भन्दै गत जुनमा सिनेटले अर्को कानुन नै बनाएको छ । ‘द हेल्पिङ अमेरिकन भिक्टिम्स एफ्लिक्टेड बाई न्युरोलोजिकल एट्याक्स (हवाना) एक्ट’ नाम दिइएको नयाँ कानुनमा सीआईए र विदेश मन्त्रालयले मस्तिष्क र मुटुमा क्षति पुगेका पीडितको उपचार र आर्थिक सहयोग गर्नुपर्ने उल्लेख छ ।

सेप्टेम्बर १५ मा पेन्टागनले हवाना सिन्ड्रोमसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिए तुरुन्तै जानकारी दिन आफ्ना सैन्य तथा निजामती कर्मचारी र सँगै काम गर्ने ठेकेदारलाई आग्रह गरेको छ । रक्षामन्त्री लोयड जे अस्टिनद्वारा हस्ताक्षरित यस्तो आग्रहसहितको सूचना २९ लाख जनालाई पठाइएको छ । यसबाट बाइडन प्रशासनले विश्वभरका पीडितहरूको पछिल्लो तथ्यांक र अवस्था थाहा पाउन, पीडित भेटिए बेलैमा उपचार गर्न र प्रतिरक्षा रणनीति बनाइरहेका अधिकारीहरूका लागि पर्याप्त जानकारी संकलन गर्न खोजेको देखिन्छ ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

बास बस्दै बस्दै नेपाल

पछिल्लो समय विकास भएको जेनेटिक (आनुवंशिक) अध्ययनले आधुनिक मानवका पुर्खा अफ्रिकाबाट विश्वभरि फैलिएको प्रमाणित गरेको छ । हाम्रा पुर्खा चीन र भारततिरबाट नेपाल आइपुगे । त्यसरी बसाइा सर्दै आएको मौखिक इतिहास नेपालका थुप्रै जातजातिमा सुरक्षित छ । मौखिक इतिहासले गर्ने त्यो संकेत र जेनेटिक अध्ययनले दिएको निचोडका आधारमा कुन जाति कहााबाट कहिले नेपाल आइपुग्यो— अध्येता भोगीराज चाम्लिङले खुट्याउने प्रयास गरेका छन् ।
भोगीराज चाम्लिङ

एउटा सुखद संयोगबाट विषय प्रवेश गरौं । भारतीय सेनाबाट अवकाश लिएर घर फिरेपछि ओखलढुंगाका बुद्धिकुमार ह्वङ्गुलाई आफ्ना जातीय संस्कारहरूमा सहभागी हुन समय मिल्यो । नत्र बिदामा घर आयो, फर्किहाल्यो मात्रै हुन्थ्यो ।

भारतीय सेनामा छँदा जम्मु–कश्मीर क्षेत्रमा लामो समय ‘ड्युटी’ मा खटिनुपरेकाले त्यहाँको भूगोलसँग उनी राम्रै परिचित थिए । कस्तो अचम्म भने बायुङ (बाहिङ) राईहरूको पाँच दिने पितृसंस्कार ‘सेग्रो’ गर्दा वाचन गरिने मुन्दुममा ‘जम्मुमा लाम’, ‘जोजिला लाम’ भनेर खुद आफैं पुगेको जम्मु र जोजिला पहाडको उल्लेख भइरहेको ! मनमा गहिरो जिज्ञासा पैदा भयो, ‘यो पितृकार्य गर्ने नक्सो न त्यहाँ पुगेको छ, न उसलाई त्यो ठाउँ कहाँ पर्छ भन्ने नै थाहा छ । मुन्दुममा कसरी ती ठाउँहरूको नाम आयो ?’ त्यसपछि बुद्धिकुमारले विभिन्न संस्कारहरू गर्दा ध्यानपूर्वक मुन्दुम सुने, मनमा गुने र संकलन पनि गरि किताब प्रकाशन गरे– ‘किरात बाहिङ (बायुङ) तुम्लो’ (२०६९) ।

यो किताब पढेपछि फेरि म पनि अचम्ममा परेँ । त्यहाँ जम्मु र जोजिलाको मात्रै कुरा थिएन, बुद्धिकुमारले नै चिन्न नसकेको थप दुई हिमाली नाका (घाँटी) हरूको पनि कुरा थियो– पैतिप लाम र खैबर लाम । ‘लाम’ अर्थात् बाटो । ‘खैबर’ चाहिँ पाकिस्तान र अफगानिस्तानको सिमानामा पर्ने हिमाली नाका हो । मेरो अनुमानमा ‘पैतिप’ भनेको अहिले पारपिक भनेर चिनिने चीन र भारतबीचको हिमाली सीमा–नाका हो, जुन कश्मीरभन्दा अझै उत्तरमा पर्छ । भन्नुको अर्थ हो, उहिले नै हाम्रा पुर्खाहरू ती नाकाहरूबाट हिँडेका थिए ।

यो कुराले निश्चय नै चाम्लिङ राईहरूमा ‘वाइको’ (पानीमा बस्ने पुर्खाहरूको पूजा) मुन्दुममा उल्लेख हुने ‘योंला’ भनेर सिन्धु नदीको किनारमा विकास भएको सभ्यतालाई संकेत गरेको हुनुपर्छ भन्ने मेरो तर्कलाई थप बल पुग्यो । किनभने जम्मु र खैबरभन्दा दक्षिणतर्फ पर्छ– मोहनजोदाडो र हरप्पा । यसमा थप बल फेरि बायुङ

(बाहिङ) राईहरूको मुन्दुमले नै दिएको छ । लोकबहादुर राईका अनुसार, ‘सेग्रो’ गर्दा मुन्दुममा ‘मोहनझाडी’ को उल्लेख हुन्छ । सम्भवतः मोहनझाडी भनेको अहिलेको मोहनजोदाडो हुनुपर्छ, जुन खस–नेपाली भाषासँग संगत बढेपछि अपभ्रंस भएर ‘मोहनझाडी’ बन्न पुग्यो । तर, सिन्धुघाँटीको सभ्यता किरात पुर्खाहरूले विकास गरे भन्ने मेरो तर्क होइन । सिन्धुघाँटीको सभ्यतासँग किराती पुर्खाहरू राम्रै परिचित थिए र अन्तरघुलन भएका थिए भन्ने तर्क हो मेरो ।

जे होस्, मुन्दुम संकलन र अध्ययनमा लागेपछि यस्ता थुप्रै ‘अचम्म’ सँग जम्काभेट भइरहेको छ । सन्दर्भवश आएका यी विषय यहीँ छोडिदिऊँ । र, नेपालका विभिन्न जातिको मौखिक ज्ञान–परम्परामा उल्लेख हुने आदिम बसाइँसराइ र प्राग्ऐतिहासिक थातथलोबारे आनुवंशिक (जेनेटिक), पुरातात्त्विक तथा भाषाशास्त्रीय अध्ययनबाट प्राप्त निचोडहरूसँग दाँज्नतिर लागौं ।

...

अहिले आनुवंशिक (जेनेटिक) अध्ययनले कोष (सेल) मा हुने डीएनए (डिअक्सिराइबो न्युक्लिक एसिड) केलाएर मान्छेहरूको सुदूर विगतबारे बताउँछ । प्राचीन हाडका अवशेषहरूबाट समेत डीएनए निकालेर अध्ययन गरिन्छ, जसले प्राग्ऐतिहासिक मानवबारेको अध्ययनलाई झन् फराकिलो बनाइदिएको छ ।

हाम्रो शरीरमा मातृवंश र पितृवंशबाट प्राप्त डीएनए हुन्छ । मातृवंशबाट प्राप्त डीएनएलाई ‘मिटोचोन्ड्रियल’

(एमटी) डीएनए र पितृवंशबाट प्राप्त डीएनएलाई ‘वाई क्रोमोजोम’ भनिन्छ । अफ्रिकीहरूमा पाइने मातृवंशीय डीएनए विश्वका सबै आधुनिक मानवमा पाइएकाले अफ्रिकाबाट आधुनिक मानवहरू संसारैभर फैलिएका हुन् भन्नेमा विद्वान्बीच मतैक्यता छ । अफ्रिकामा पाइने त्यो मातृवंशीय डीएनएको उमेर लगभग २ लाख वर्ष पुरानो देखिएकाले (पिटर बेलवुड, द ग्लोबल प्रिहिस्ट्री अफ् ह्युमन माइग्रेसन, २०१५) आधुनिक मानवका पुर्खाहरू बढीमा २ लाख वर्षपहिले अफ्रिकाबाट बाहिर जान थालेको र लगभग १ लाखदेखि ७०–८० हजार वर्षअघिसम्म त्यो क्रम निरन्तर चलेको विद्वान्हरूको मत छ (डेबिड रेच, हाउ वी आर एन्ड हाउ वी गट हिअर, २०१८) ।

त्यही क्रममा अफ्रिकाबाट आधुनिक मानवका पुर्खाहरू चीनमा ८० हजार वर्षभन्दा पछि आइपुगे भनिन्छ । किनभने अफ्रिकामा ८० हजार वर्षअघि विकास भएको डीएनए अहिलेका चिनियाँहरूमा पाइन्छ (एलिस रोबर्ट्स्, द इन्क्रेडिबल ह्यमुन जर्नी, २०१०) । त्यही क्रममा भारतमा आधुनिक मानव होमो सेपियन्सका पुर्खा लगभग ८० हजार वर्षअघि आइपुगेका थिए । त्यस्तै दोस्रो समूह ५० हजार वर्षअघि आइपुगेको थियो (टोनी जोसेफ, अर्ली इन्डियन्स, २०१८) । चीन र भारत आइपुगेका तिनै आधुनिक मानवका पुर्खाहरू बसाइँसराइका क्रममा नेपाल आइपुगेका हुन् भनिन्छ ।

बिङ सु (सन् २०००) सहितले गरेको आनुवंशिक अध्ययनले नेपालका भोट–बर्मेलीभाषीहरू चीनको ह्वाङहो

(यल्लो रिभर) नदीबाट फैलिएको देखाएको छ । त्यस अध्ययनले भन्छ– हालका चिनियाँ–तिब्बती मूलका मान्छेहरूको पुर्खा १० हजार वर्षपहिले ह्वाङ–हो नदी उपत्यकामा बस्थ्यो । क्याभाल्ली–स्फोर्जा र पियज्जाले गरेको पुरातात्त्विक अध्ययन तथा वाङले गरेको भाषाशास्त्रीय अध्ययनले अहिलेका चिनियाँ र भोट–बर्मेली छुट–भिन्न भएको लगभग ६ हजार वर्ष मात्रै हुँदै छ ।

अहिलेका भोट–बर्मेली भाषीहरूका पुर्खा ह्वाङ–हो नदी छोडेर पश्चिमतर्फ लागे । त्यहाँबाट फेरि दक्षिणतिर मोडिएर हिमालय क्षेत्रमा बसोबास गर्न थाले । सम्भवतः प्राग्ऐतिहासिक बसाइँसराइका क्रममा झाङ

(तिब्बत)–मेन कोरिडरको बाटो पछ्याए । भोट–बर्मेली भाषा परिवारभित्र पनि ब्यारिक समूह भनेर चिनिनेहरूचाहिँ हिमालबाट अझ दक्षिणतर्फ लागेर भुटान, नेपाल, उत्तर–पूर्वी भारत र उत्तरी युन्नानमा बसोबास गरे

(वाङ, सन् १९९४) ।

जर्ज भानड्रिमले चाहिँ फरक मत राख्दै नेपाल प्रवेश गर्ने भोट–बर्मेली भाषीहरूको आदिम भूमि याङ्जी नदीले सिञ्चित गरेको सिचुवान हो भन्ने तर्क अघि सारेका छन् । जर्जका अनुसार, त्यहाँबाट उनीहरू ह्वाङ–हो नदीको उब्जाउ मैदानमा आए । त्यहाँबाट तिब्बत, कश्मीर हुँदै नेपालका पहाडहरूमा र भारतका सिक्किमलगायत क्षेत्रमा आइपुगे (टिबेटो–बर्मन भर्सेज इन्डो–चाइनिज) । भोट–बर्मेलीभाषीका पुर्खाहरू ह्वाङ–हो कि याङ्जी नदीको उपत्यकाबाट नेपाल आइपुगे भन्ने विषय बिस्तारै निचोडमा पुग्ने नै छ । अहिलेलाई चाहिँ यति भनिराखौं– नेपाल भनेको चीन र भारत दुईतिरबाट आएका आधुनिक मानवहरूको जम्काभेट भएको एउटा थलो हो ।

...

पछि के होला भन्न सकिन्न, तर अहिलेसम्मको आनुवंशिक अध्ययनका आधारमा भन्ने हो भने नेपाल प्रवेश गर्ने सबैभन्दा प्राचीन जाति तामाङ हो । तेन्जिन गेइदेन (सन् २००७) सहितको समूहले गरेको अध्ययनले यो तथ्य सार्वजनिक गरेको छ । तिब्बतबाट १५६, काठमाडौंका तामाङबाट ४५, नेवारबाट ६६ र पुराना बासिन्दाबाट ७७ गरि ३४४ जनाको रगत नमुना संकलनपश्चात् गरिएको अध्ययनपछि उनीहरू यस्तो निचोडमा पुगेका हुन् ।

तेन्जिन गेइदेनहरूको अध्ययनले नेवारहरूको डीएनएमा भारतीयहरूको अंश ४० प्रतिशत रहेको देखाएको छ । आश्चर्य नेवारहरूको छिमेकी भएर पनि तामाङहरूमा भने भारतीय डीएनए शून्य देखिएको छ । बरु तामाङमा भोट–बर्मेलीभाषीहरूमा पाइने डीएनए ८६.६ प्रतिशत छ । उनीहरूको डीएनए बढीमा १६,४०० र कम्तीमा ५,२०० वर्ष प्राचीन देखिएको छ । त्यस्तै नेवारहरूको डीएनए बढीमा १०,४०० र कम्तीमा ४,८०० वर्ष प्राचीन देखिएको छ । यसको अर्थ हो, तामाङका पुर्खा १६ हजार ४ सय र नेवारका पुर्खा १० हजार ४ सय वर्षअघि काठमाडौं उपत्यकामा आइपुगेका थिए ।

नेवार र आर्यहरूको रक्तमिश्रण पछिल्लो चरणसम्म पनि भइरहेको देखिन्छ । जस्तो कि मध्य–एसिया

(कजाखस्थान, किर्गिज, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान) को मैदानमा बस्ने इन्डो–आर्यहरूको डीएनए काठमाडौंका नेवारहरूमा २५.७ प्रतिशत पाइन्छ, जुन १००० वर्ष मात्रै पुरानो हो ।

...

अब गरौं कुरा, पूर्वका किरातीहरूको । बैरागी काइँलाद्वारा सङ्कलित ‘लिम्बू मुन्धुम’ (लिम्बू जातिमा कोखपूजा, २०४८) मा एउटा श्लोक छ–

खवालुम् गऽ थाक्पुत माङ्बे

उन्छोन थो मुनाफेन नु

लासा तेम्बे नु

सिन्युक्केन गऽ मुदेन्तेन् नु

सुःसुयुमा के यसुल्ले गऽ

(भावार्थ ः जीवनका रक्षक बूढा–बाजे देवता, आदौमा तिब्बतको लासा हुँदै चीनबाट लसलस हिँड्दै आयौं ।)

यो मुन्दुमले लिम्बू (किराती) का पुर्खाहरू मुनाफेन (चीन) बाट लासा (तिब्बत) हुँदै नेपाल आइपुगेको संकेत गर्छ । त्यस्तै चाम्लिङ मुन्दुममा किरातीहरूको पुर्खा नियामाबाट आएको वर्णन छ । मुन्दुमका रिसिया (श्लोक) मा यस्तो भनिन्छ–

निवामाडा सुर्लुमी, मुबुमी, कुबुमी

हय डयाच्युपा, रुङ्झीच्युपा लिसा कुन्योउ

(स्रोतव्यक्ति ः शिवराज राई)

(भावार्थ ः निवामामा सुर्लुमी, मुबुमी–कुबुमीजस्ता धामीहरू पैदा भए । अगेना पुज्ने र अजिङ्गर पुज्नेहरू पैदा भए ।)

आसो नियामाडा लुडाको वाबुरी छिबुरीडा

आसो नेवाचा/निवाचा, धिरिचा, टाम्माचा निवावासिमङोम्

(स्रोतव्यक्ति ः कम्पध्वज राई)

(भावार्थ ः अब नियामामा उम्रिएको चिन्डोमा नियामामै फलेको सबैभन्दा पुरानो अन्न सायुङ्मा (कागुनी) र धानको जाँड राखेका छौं है पितृहरू ।)

यी दुई रिसियाबाट नियामाबारे चार कुरा स्पष्ट हुन्छ– नियामामा छँदा नै धामीप्रथा सुरु भएको थियो, चुला पूजा सुरु भएको थियो, अजिङ्गरको पूजा हुन्थ्यो र कागुनी खेती हुन्थ्यो । अरु कुरा नगरी खालि अजिङ्गर पूजा र कागुनीकै कुरा गरौं । चीनमा अजिङ्गर पूजा हुन्छ, अजिङ्गरको देश नै भनिन्छ भन्ने सर्वविदितै छ । त्यस्तै ह्वाङ–हो नदी उपत्यकामा १० हजार वर्षपहिले विश्वमै सर्वप्रथम कागुनी खेती सुरु भएको पुरातात्त्विक अध्ययनले प्रमाणित गरिसकेको छ । त्यति मात्रै होइन, कागुनीलाई चिनियाँ भाषामा ‘फ्रें’ भनिन्छ, चाम्लिङ राई भाषामा ‘फेंरो’ । किरातीहरूमा पितृहरूलाई चढाउने पवित्र अन्न मानिन्छ– कागुनी । अहिले पनि आदिम मातृ

(उमो) को पूजा गरिने ‘ढ्वाङ्कुमो’ मा वाम्बुले राईहरू कागुनीको भात चढाउँछन् । यी सांस्कृतिक तथ्यले किरातीलाई ह्वाङ–हो नदीमा विकास भएको सभ्यतासँग सम्बन्धित देखाउँछ, जुन आनुवंशिक र पुरातात्त्विक अध्ययनले पनि लगभग प्रमाणित गरेको छ ।

पूर्वी एसियामा नवपाषाण युग १० हजार वर्षअघि सुरु भएको थियो (वाङ, सन् १९९४) । त्यसमध्ये एउटा थियो– ह्वाङ–हो नदीको माथिल्लो र मध्य क्षेत्रमा विकास भएको संस्कृति, जुन याङसाओ संस्कृतिको नामले परिचित छ । यो संस्कृतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष कागुन र कोदोको खेती हो, जसलाई भोट–बर्मेलीभाषीहरूको संस्कृतिको जननी (आमा) नै मानिन्छ ।

प्राग्ऐतिहासिककालमा नेपालमा आवादीका लागि हिमालयले खेलेको भूमिकाबारे केन्द्रित भएर हुवा–वेई वाङ

(सन् २०१२) सहितले काठमाडौंबाट २०० र पूर्वी नेपालबाट ४६ गरी २४६ जनाको रगतको नमुना संकलन गरे । र, मातृवंशीय डीएनए अध्ययन गरे । त्यस अध्ययनले नेपाली (नेवार र किराती) तथा तिब्बतीको मातृवंशीय वंशाणु (जिन) मा निकै धेरै निकटता रहेको देखायो । अध्ययनबाट के पनि थाहा भयो भने भोट–बर्मेलीभाषी नेपालीमध्ये वंशाणु (जिन) मा ह्याप्लोग्रुप (जी टु ए टु) भएकाहरू ५,७०० र अर्कोथरि ह्याप्लोग्रुप

(एम नाइन ए वान ए टु ए) भएकाहरू ६,००० वर्षपहिले नेपाल आइपुगेका थिए । त्यस अध्ययनले किरातीहरू लगभग ६ हजार वर्षअघि नेपालका पूर्वी पहाडहरूमा आइपुगेका थिए भन्ने देखाउँछ ।

यी तथ्यहरूसँग जोडेर यसो भन्न सकिन्छ– किरातीका पुर्खाहरू चीनको नियामाबाट हिँड्न सुरु गरे । पैतिप

(पारपिक) नाका पार गरी दक्षिणतर्फ लागे । त्यसपछि जोजिला, जम्मु, खैबरतिर पुगे । त्यहाँबाट सिन्धु नदीको किनारमा विकास भएको सभ्यता (योंला) को मोहनजोदाडो हुँदै गंगा मैदान आइपुगे । र, नेपालको तराईबाट सप्तकोसी तरी पहाड उक्लिए । यद्यपि यसबारे विस्तृत अध्ययन भने जरुरी छ ।

...

मौखिक शास्त्र ‘पेताँ ल्हुताँ/लुताँ’ (पेदा लुदा) ले भन्दोरहेछ– गुरुङहरूको पुर्खा ‘कोकोली माह्रस्यो’ बाट आएका हुन् । त्यो उनीहरूको आदिम उत्पत्तिस्थल भएकाले मरेपछि सातो (हंस) पहिले त्यहाँ पुग्छ भन्ने विश्वास छ । ‘कोकोली माह्रस्यो’ भनेको अहिलेको चीनको कोको नोर (चिन्हाई) ताल हो भन्ने विश्वास गुरुङहरूमा छ । मौखिक शास्त्रले गुरुङहरूका आदिम पुर्खाहरू ‘कोको नोर’ ताल क्षेत्रको चों इलाकाबाट तिब्बत हुँदै नेपाल आइपुगेको बताउँछ (डिल्लीजङ तमु, तमु जातिको इतिहास, २०७१ ! सुदर्शन तमु ‘घान्द्रुके’, तमु गुरुङ इतिहास, २०७१) । कोको नोर विशाल ताल हो, जसको लम्बाइ १०५ किलोमिटर, चौडाइ ६५ किलोमिटर छ । पानी भरिँदा यो तालले ६,००० वर्ग किलोमिटर र घट्दा ४,२०० वर्ग किलोमिटर भू–भाग ओगट्छ (ब्रिटानिका डट कम() । यसको भव्यताले आदिम समयमा तालवरिपरि पक्कै मान्छे बसोबास गर्थे भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

हालै चीनबाट आनुवंशिक अध्ययनमै पीएचडी गरेका टेक गुरुङले यो अनुमानलाई प्रमाणित गरेका छन् । उनले चीनको युन्नान र नेपालका गुरुङ, मगरहरूको पितृवंशीय डीएनएबीच तुलनात्मक अध्ययन गरे । आजका मंगोलियनहरूसँग २६.३ प्रतिशत, युन्नानका नासी, इलगायत जातिसँग ३४.२६ प्रतिशत र अहिले तिब्बती भनेर चिनिनेहरूसँग १५ प्रतिशत डीएनए मिल्न पुग्यो । समग्रमा मंगोल, चिनियाँ–तिब्बतीहरूसँग गुरुङहरूको डीएनए ७५ प्रतिशतभन्दा बढी मिल्दोरहेछ । अन्य विद्वान्ले गरेका आनुवंशिक अध्ययनसँग तुलना गरी डा. गुरुङले निकालेको निचोड छ– गुरुङका पुर्खाहरू करिब ८,००० वर्षअघि कोकोनोर ताल क्षेत्रवरिपरि थिए, करिब ६,००० वर्षअघि दक्षिण–पश्चिम चीनको युन्नानतिर आइपुगे, करिब ५,००० वर्षअघि तिब्बत (लोखा) तिर थिए । र, करिब ३००० वर्षअघि मुस्ताङ आइपुगे ।

गुरुङका पुर्खाहरू मुस्ताङ आइपुगेको कुराचाहिँ पुरातात्त्विक र आनुवंशिक अध्ययनमै आधारित भएर भनिएको हो । मुस्ताङका गुफाहरूमा मान्छेका आठवटा दाँत फेला परेका थिए । चुङओन जिओन (सन् २०१६) लगायतको समूहले आनुवंशिक अध्ययन गर्दा ती दाँतमध्ये चोखोपानी गुफाबाट प्राप्त दाँत बढीमा ३,१५० र कम्तीमा २,४०० वर्ष प्राचीन देखियो । र, त्यो दाँतको वंशाणु तिब्बती, युनानका नासी, इ जातिसँग धेरै मिल्दो देखियो । तिब्बती तथा नासी, इ जातिसँग गुरुङहरूको पनि वंशाणु मिल्ने भएकाले चोखोपानीमा फेला परेको दाँत गुरुङका पुर्खाहरूको हुन सक्ने सम्भावना प्रवल छ । फेरि ‘पेताँ लुताँ’ ले पनि मुस्ताङलाई नै गुरुङहरूको पहिलो थलो मानेको छ (तमु जातिको इतिहास, २०७१) ।

...

इतिहासकार बाबुराम आचार्यका विचारमा थारूहरू पनि किरात नै हुन् । पश्चिमबाट पूर्वतर्फ कोसी नदीको जलप्रवाहसम्म फैलिने क्रममा घना जंगलमा बस्ने आदिवासीहरूलाई ‘स्थानीय’ भन्ने अर्थमा भारतीय आर्यहरूले ‘स्थल’ भनी सम्बोधन गरे । त्यही ‘स्थानीय’ बोधक ‘स्थल’ शब्द प्राकृत भाषामा अपभ्रंस भएर ‘थारू’ बन्न पुग्यो (नेपालको सांस्कृतिक परम्परा, २०५४) । इतिहासकार बाबुराम आचार्यको यो मतलाई आनुवंशिक अध्ययनले पनि प्रामाणिक साबित गरिदिएको छ ।

नेपालका जातजातिमध्ये सबैभन्दा धेरै आनुवंशिक अध्ययन थारूहरूको भएको छ । ती अध्ययनहरूबाट निस्किएको निचोड एकमुष्ठमा यस्तो छ–

एक, थारूहरूको मातृवंश हिन्दु हो भन्ने भनाइको सत्यता परीक्षण गर्न गुइसेप पस्सारिनो (सन् १९९३) सहितले मोरङ र चितवनका थारू तथा चितवन र दिल्लीका हिन्दुबीच तुलनात्मक आनुवंशीय अध्ययन गरेका थिए । त्यसले देखायो– थारूहरूको वंशाणु ७० प्रतिशतभन्दा बढी पूर्वी एसियाली (चीन, जापान, कोरियालगायत) हरूसँग मिल्दोजुल्दो छ । यसले प्रमाणित भयो– थारूहरूको मातृवंश हिन्दु होइन ।

दुई, ज्ञानेश्वर चौबे (सन् २०१४) सहितले नेपाल र भारतका थारूहरूको आनुवंशीय अध्ययन गर्दा उनीहरूको वंशाणुमा ‘एम फोर थ्री’ ह्याप्लोग्रुप पनि रहेको पत्ता लगाए । यो ह्याप्लोग्रुपलाई दक्षिण एसियाकै सर्वप्राचीन मानिएको छ । यसबाट थारूहरूको रक्तमिश्रण उनीहरूभन्दा अझ अघिका रैथाने बासिन्दासँग भएको थाहा हुन्छ । जे होस्, थारूहरूमा दक्षिण एसियाका सर्वप्राचीन बासिन्दाहरूको वंशाणु (जिन) पनि छ ।

तीन, भारतका उत्तरखण्ड र उत्तर प्रदेशका थारूहरूमा पाइएको डीएनएको स्रोत फरकफरक छ । उत्तर प्रदेशका थारूहरूमा इन्डो–युरोपियन र द्रबिडभाषीहरूमा पाइने वंशाणु बढी छ भने उत्तराखण्डका थारूहरूमा पूर्वी र दक्षिण–पूर्वी एसियाका भोट–बर्मेलीभाषीहरूमा पाइने वंशाणु बढी छ । जस्तो कि उत्तर प्रदेशका थारूहरूमा पूर्वी एसियामा पाइने डीएनए वंशाणु ३.७३ प्रतिशत मात्रै छ भने उत्तराखण्डका थारूहरूमा ५२.९ प्रतिशत पाइन्छ । यसले पूर्वी एसियाबाट फैलिएका जनसंख्यासँग थारूहरूको मिश्रण सघन रहेको देखिन्छ । थारूहरूमा पाइने पूर्वी र दक्षिणपूर्वी एसियाली वंशाणु तिब्बत हुँदै नेपालबाट उत्तर भारततर्फ फैलिएको हो । त्यसैले अहिले थारूहरू उत्तर भारतसँग नजिक भए पनि उनीहरू उत्तरतर्फको हिमालय क्षेत्रबाट तल ओर्लिएका हुन् ।

चार, थारूहरूमा धेरै जातिको वंशाणु मिसिएको छ । यो तथ्य सिमोना फोर्नारिनो (सन् २००९) सहितले पूर्वी, मध्य र पश्चिम तराईका थारूहरूको अध्ययन गर्दा स्पष्ट भएको हो । सिमोना फोर्नारिनोहरूले त्यसको कारण मलेरियालाई मानेका छन् । थारुहरूमा मलेरिया प्रतिरोधी क्षमता भएकाले उनीहरू मात्रै यो क्षेत्रमा टिके, तर अन्य जातजातिका लागि चाहिँ प्राग्ऐतिहासिक कालको त के कुरा गर्नु, ऐतिहासिक कालमै पनि तराई उत्तम मार्ग मात्रै बन्न पुग्यो । यो विषयलाई चाम्लिङ मुन्दुम (शिवराज राई) मा स्पष्टसँग संकेत गरिएको छ– ‘ठारुहों लाम, बाजिहों लाम/साम्भातालैं आबो रोंसा’ (थारुहरूको थलो, वृज्जिहरूको थलो बाँसको धनुकाँड लिएर हिँड्दै छु) । यसरी प्राग्ऐतिहासिक कालमा तराईमा हिँड्ने थुप्रै समूहसँग थारुहरूको रक्तमिश्रण हुन पुग्यो । फोर्नारिनोसहितको अध्ययनले भन्छ– भोट–बर्मेलीभाषीहरू ४,२०० वर्षपहिले यो क्षेत्रमा प्रवेश गरेपछि यस्तो रक्तमिश्रण हुन पुगेको हो ।

खासमा समाजमा जीवित रहेका मिथक र मौखिक ज्ञानहरू इतिहासका कुनै न कुनै यथार्थकै जगमा निर्माण भएको हुन्छ भन्ने मुन्दुम र पेताँ लुताँले संकेत गरेका कुरा पुरातात्त्विक, भाषाशास्त्रीय तथा आनुवंशिक अध्ययनहरूले प्रमाणित गरेबाट स्पष्ट हुन्छ । खासमा मानवशास्त्री ब्रोनिस्ल मलिनोस्कीले मिथक विगतको यथार्थबाट निर्माण हुन्छ र मिथक जीवित यथार्थ हो, जुन संस्कार र नैतिकता (आचारविचार) का रूपमा क्रियाशील हुन्छ (सेक्स, कल्चर एन्ड मिथ, १९६२) भनेर सोह्रै आना सही भनेका रहेछन् ।

...

इतिहासकार बाबुराम आचार्यले आर्यहरू इसापूर्व ७५० (२७५० वर्षपहिले) तिर नेपाल प्रवेश गरेको अनुमान गरेका छन् (नेपालको सांस्कृतिक परम्परा) । नेपालका आर्यहरूको आनुवंशिक अध्ययन नभइसकेकाले यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । तर, यसमा लगभग सत्यता हुन सक्छ भन्ने अनुमानचाहिँ भारतलगायतमा गरिएका आनुवंशिक अध्ययनबाट गर्न सकिन्छ । आनुवंशिक अध्ययनद्वारा के थाहा हुन आएको छ भने आर्यहरू लगभग ४,१०० वर्ष पहिले कज्जाखस्तानको मैदानबाट हिजोआजको तुर्कमेनिस्तान, उज्बेकिस्तान र ताजिकिस्तानमा बसाइँ सरेका थिए । त्यहाँबाट ४,००० देखि ३,००० वर्षबीचमा दक्षिण एसियामा आइपुगेका थिए (टोनी जोसेफ, अर्ली इन्डियन्स, २०१८) । भारतबाट नेपालतर्फ प्रवेश गर्न पक्कै पनि २–४ सय वर्ष लाग्यो भन्ठान्ने हो भने बाबुराम आचार्यको अनुमान लगभग सही देखिन आउँछ ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×