यहुदी संहारको त्रासद अलिगोरी

अस्ट्रियन यहुदी बाउ र हंगेरियन यहुदी आमाबाट जन्मिएकी किशोरीको अर्धआख्यानात्मक जीवनी हो– ‘द सर्च वारेन्ट’ । हृदयविदारक र साँच्चै विक्षिप्त तुल्याउने एक बेजोड आख्यान !
बलराम अधिकारी

काठमाडौँ — पेरिसको १८औं जिल्लामा बस्दै आएकी डोरा ब्रुडर इसाई धार्मिक विद्यालयबाट भागी । ऊ हराएको सूचना डिसेम्बर ३१, १९४१ मा स्थानीय पत्रिकामा छापियो— हराएको किशोरी–डोरा ब्रुडर, उमेर– १५, उचाइ– १.५५ मि., अण्डाकार अनुहार, फुस्रो खैरो आँखा, फुस्रो स्पोर्टस ज्याकेट, गाढा रातो स्वेटर, गाढा नीलो फ्रक र टोप, खैरो जिम जुत्ता । कुनै जानकारी भए सम्पर्क– श्रीमान् तथा श्रीमती ब्रुडर, ४१ बुलभार्ड ओर्नानो, पेरिस ।

यहुदी संहारको त्रासद अलिगोरी

यहुदी किशोरी हराएको यसै सूचनाबाट प्याट्रिक मोदियानोको ‘द सर्च वारेन्ट’ (तलास आदेश) उपन्यास आरम्भ हुन्छ । फ्रान्सेली भाषामा सन् १९९७ मा डोरा ब्रुडर शीर्षकमा छापिएको यो लघु आकारको उपन्यासलाई तीन वर्षपछि जोअन्ना किलमार्टिनले अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् । सन् २०१४ को नोबेल पुरस्कार विजेता मोदियानोका झन्डै तीन दर्जन आख्यानमध्ये द सर्च वारेन्ट सम्भवतः सबैभन्दा चर्चित किताब हो । लेखक, राजनीतिज्ञ जोर्ज सेम्परनका विचारमा यो एक असाधारण सृजना हो । ‘फिगारो’ पत्रिकाले यसलाई हृदयविदारक, प्रशंसनीय र साँच्चै विक्षिप्त तुल्याउने आख्यान भनेको छ । गातामा लेखिएका यी र अन्य टिप्पणी पढेर म उपन्यासभित्र छिर्न उत्सुक हुन्छु ।

डोरा हराएको ४७ वर्षपछि सन् १९८८ मा उक्त सूचना लेखकको आँखामा पर्छ । सूचनामा देखिएको बुलभार्ड ओर्नानोले आख्यानभित्रको लेखकलाई एकाएक विगतमा पुर्‍याउँछ । ऊ सम्झिन्छ, बाल्यकालमा आमासँग ओर्नानोको सस्तो बजार डुलेका दिनहरू, क्लिगनानकोर्ट व्यारेक बाहिरका लहरै उभिएका रूखहरूको छायामा तेर्सिएका सडक पेटीहरू, पर्यटकको फोटो खिच्ने मोटे फोटोग्राफर । आफू बालक हुँदा र किशोरावस्थाको सिँढी चढ्दै गर्दा हिँडेका पेरिसका सडक–गल्लीहरू, देखेका भवनहरू, अनि डुलेका बजारसँग टाँसिएका उसका स्मृतिका त्यान्द्राहरू सल्बलाउन थाल्छन् ।

डोरा हराउँदाको १९४० को पेरिस र उसले बाल्यकाल बिताएको १९६० को पेरिस उसलाई उस्तैउस्तै लाग्छ । मात्र फरक के हो भने डोरा बाँचेको, भागेको, लुकेको पेरिस नाजीको सैन्य प्रशासनको दमनमा निस्सासिरहेको थियो । हरेक दिन हजारौं फ्रान्सेली यहुदी सडकबाट पक्राउ पर्थे कुनै न कुनै बाहनामा । श्रम शिविरमा लगिन्थे, कालकोठरीमा थुनिन्थे र अन्ततः आस्चविट्ज वन्दी शिविरमा कसिङ्गरझैं नष्ट गरिन्थे । डोरा ब्रुडर पनि तीमध्ये एक थिई । लेखकको बाल्यकालको पेरिस नाजी दमनको दृश्य–अदृश्य खतहरू बोकेर बाँचेको छ । फ्रान्सेली यहुदी संहारका खतहरू आफ्नो गर्भमा लुकाएर अभिशप्त हाँसोमा छ ।

तीस वर्षअघिको ओर्नानो चौरास्ताका क्याफे घरहरू, तीनका अगाडि लामबद्ध उभिएका ग्राहकहरू, क्लिगनानकोर्ट स्क्वायरका रूखमुनि वसन्त ऋतुको साँझ उसका कानमा ठोकिएका वार्तालापका अंशहरू उसको मस्तिष्कको गर्तबाट सतहमा तैरिन थाल्छन् । उसलाई लाग्छ, डोरा आफ्ना बाआमासँग पेरिसका यिनै गल्लीका भीडमा कतै थिई, अदृश्यप्रायः । उसलाई भान हुन्छ, ब्रुडर परिवारको पदचाप यिनै गल्लीहरूमा टाँसिएका छन्, जहाँ ऊ तीन दशकदेखि ओहोरदोहोर गरिरहेको छ । क्लिगनानकोर्टको फुटपाथ, जहाँ ऊ आमाको साथ लागेर सस्तो बजारमा सामान किन्न जान्थ्यो, त्यही ठाउँमा डोरा पनि बीस वर्षअगाडि आएकी थिई होली । डोरा विद्यालयबाट भाग्नुको रहस्य पहिल्याउनु अब उसको मिसन बन्छ । यसका निम्ति पेरिसको गल्ली चाहर्छ, सरकारी कार्यालयका रजिस्टरहरू पल्टाउँछ, डाइरेक्टोरीको मिहिन अध्ययन गर्छ, डोराका आफन्तहरूसँग अन्तर्वार्ता लिन्छ, ब्रुडर परिवारको दशकौं पुराना फोटाहरू खोज्छ । आठ वर्षको अथक खोजतलासपछि उसलाई एउटा महत्त्वपूर्ण जानकारी हात लाग्छ । त्यो के भने १९४२ मा आस्चविट्ज बन्दी शिविरतर्फ लगिएका यहुदीको सूचीमा डोराको नाम पनि भेटिन्छ । लेखक बताउँछ— १८ सेप्टेम्बरमा हजारौं स्त्री र पुरुषको साथमा बा र छोरीले ड्रान्सि छाडे । यी फ्रान्सेली यहुदीहरूलाई बोकेर रेलको एउटा समूह आस्चविट्जतर्फ लाग्यो । त्यसको पाँच महिनापछि डोराको आमालाई पनि उही बन्दी शिविरमा पुर्‍याइयो ।

विद्यालयबाट भागेको एक वर्षपछि नाजी बन्दी शिविरमा १६ वर्षीया डोराको इहलिला समाप्त भएको अनुमान लगाउँदै म यस आख्यान भूमिबाट बाहिर निस्कन्छु । विद्यालयबाट भागेपछि र आस्चविट्जको नारकीय क्याम्पतर्फ लैजानुबीचको कष्टप्रद दिनहरूमा डोरा कहाँ लुकी होली, र ती भयप्रद दिनहरू कोसँग कसरी बिताइहोली भन्ने खोजी र अनुमानवरिपरि समग्र कथा घुमेको छ । मूल रहस्यको उद्घाटन नभई उपन्यास टुङ्गिन्छ— मलाई कहिल्यै थाहा हुनेछैन पहिलोपटक भाग्दा हिउँदका चिसा महिना ऊ कहाँ लुकी, वसन्त ऋतुमा दोस्रोचोटि भाग्दाका दिनहरू उसले कहाँ र कसरी बिताई । उसले ती दिनहरू कसको साथमा बिताइहोली । यो रहस्यमा नै रह्यो । एउटा क्षीण र अमूल्य रहस्य, जसलाई उसबाट हर्न सकेन मानिसलाई विकृत पार्ने, ध्वंस्त पार्ने कुनै जल्लादले, कुनै आदेशले, कुनै अतिक्रमणकारीले, कुनै सैनिक केन्द्रले, कुनै ब्यारेकले, शिविरले, इतिहासले, समयले ।

कथाको यस टुङ्ग्याउनीले मेरो पाठक हृयदलाई रत्तिभर आनन्द दिँदैन, दिन्छ त केवल उकुसमुकुस । एक किसिमको चेतनाशून्य अवस्थामा छाडेर उपन्यास सकिन्छ । नाजी नरसंहार शिविरमा पुर्‍याइएपछि डोरा के भइहोली ? मेरा मनमा अनेकौं तर्कना उठ्न थाल्छन् । ट्रेनबाट झर्नासाथ सीधै विषाक्त ग्यास च्याम्बरमा हुलिई कि ? यसो सोच्छु— सोह्रवर्षे उमेर, शारीरिक रूपले पक्कै पनि सख्त थिई । त्यसैले दास श्रम–शिविरमा पो लगिई कि ? कैयौं दिनको भोक प्यासले रन्थनिँदै त्यहीँ कतै अचेत पल्टिरहिहोली । उसको जीवनको अन्त्य जसरी भए पनि हरेक दिन मारिएका हजारौं यहुदीमध्ये १६ वर्षीया डोरा पनि एक थिई ।

‘द सर्च वारेन्ट’ अस्ट्रियन यहुदी बाउ र हंगेरियन यहुदी आमाबाट जन्मिएकी किशोरीको अर्धआख्यानात्मक जीवनी हो । सरकारी दस्तावेजहरूमा टाँसिएर रहेका समयका टुक्राहरूलाई जोड्दै, पारिवारिक फोटाहरूमा जमेर रहेको समयलाई पुनः पगाल्दै र वार्तालापका सहायताले विगतलाई आगतमा ओराल्दै न्यारेटर डोराको नियतिको उत्खननमा लाग्छ । डोराको जीवनसँग जोडिएको सुराकको खोजीमा बाहिर भौतारिँदै गर्दा लेखक आफ्नै विगतमा पुग्छ । कथा डोराको जीवनी र लेखकको आत्मकथाबीच डोलिँदै अघि बढ्छ । डोराबारे लेख्दै गर्दा अन्वेषक लेखक बताउँछ— म यी पृष्ठहरू नोभेम्बर १९९६ मा लेखिरहेछु । वर्षात् यदाकदा मात्र रोकिन्छ । भोलिबाट डिसेम्बर लाग्छ । भोलि डोरा भागेको ४५ वर्ष हुन्छ । अचेल चाँडै अँधेरो हुन्छ । के यो दिन हो र जस्तो लाग्छ, अथवा दिन र रातको दोसाँधमा छौंझैं लाग्ने । एक प्रकारको उदास ग्रहण साँझसम्म कायम रहन्छ । रातले झरीको दिनको उदासी र उच्चाटलाई मेटाइदिन्छ । त्यसपछि बाटाका बत्तीहरू बल्छन्, पसलका झ्याल र काफेहरू उज्यालिन्छ्न् । साँझको हावा ताजा हुन्छ । वरिपरिका आकारहरू गाढा देखिन थाल्छन् । चौबाटोमा गाडीको भीड छ, अनि अगाडि सडकमा हतारमा अघि बढिरहेको मानिसको भीड । यी बत्तीहरू, यो भीडभाड नियाल्दै गर्दा मलाई विश्वास गर्न निकै कठिन हुन्छ यो त्यही सहर हो, जहाँ डोरा आफ्ना आमाबासँग बस्थी, जहाँ मेरा बा बस्थे । लाग्छ उतिबेलाको पेरिसलाई अहिलेको पेरिससँग जोड्ने काममा म एक्लै छु, एक्लै ती विस्तृत विवरणहरू सम्झिरहेको छु (४५) ।

डोरा परिवारको यहुदी हुनुको नियतिसँगै गाँसिएर आउँछ समग्र फ्रान्सेली यहुदीको नियतिको कथा । दोस्रो विश्वयुद्धमा नाजीको कब्जामा उकुसमुकुस पेरिसका खण्डित दृश्यले पाठकलाई आख्यानको काल्पनिक भूमिबाट इतिहासको यथार्थतर्फ लैजान्छ । ब्रुडर परिवारको गिरफ्तारी र नाजी नरवधशालातर्फको पीडादायी यात्रा एउटा परिवारको दुःखान्त कथाभन्दा पनि हिटलरको सिकार बनेका समग्र यहुदीहरूको जीवनको त्रासद अलिगोरी अर्थात् प्रतीक कथा बन्छ । यस विन्दुमा प्याट्रिक मोदियानोको ‘द सर्च वारेन्ट’ इतिहासको पुनर्भ्रमण र उत्खननको एक अब्बल नमुनाका रूपमा देखापर्छ । ती बेपत्ता पारिएका मानिस र तिनीहरूसँगै बेपत्ता भएका कथाहरूको झझल्कोले पाठकलाई सताइरहन्छ । उपन्यासको आरम्भदेखि अन्त्यसम्म गहन क्षयको अनुभव भइरहन्छ ।

जे मेटिएको छ, त्यसलाई सहतमा ल्याउन समय लाग्छ । मोदियानोको अन्वेषक लेखक पाठकलाई बारम्बार सम्झाउँछ । इतिहासका अवशेषहरू रजिस्टरमा जीवित रहन्छन् । थाहा छैन विगतको अवशेष बोकेर मौन लडिरहेका ती रजिस्टरहरू कहाँ लुकाइएका छन्, कसको नियन्त्रणमा छन् । लेखकका यी प्रश्नले मलाई आफ्नै भूमिमा चलेको दसवर्षे युद्धको सम्झना गराउँछन् । कुनै जवाफ नआउने प्रश्न आफैंलाई गरी हेर्छु । भैरवनाथ गण, बाँदरमुडे, दोरम्बा, बर्दियाहरूमा मञ्चित त्रासदीका अवशेषहरू कुन रजिस्टरमा होलान् ? ती रजिस्टरहरू कसकोमा होला ? मोदियानोले पाठकका लागि अधिक रिक्त स्थान छाडेका छन् । आख्यानसँग जोडिएको राजनीतिक र ऐतिहासिक पक्षहरू कतै पनि खुलेका छैनन् । यी पक्ष नखुलेसम्म आख्यानभित्र प्रवेश गर्न कठिन छ । यसका लागि थप सामग्रीको खोजतलास र अध्ययन आवश्यक पर्छ । फ्रान्सेली चिन्तक रोलाँ बार्टको पठन सिद्धान्तको फेरो समाएर भन्नुपर्दा द सर्च वारेन्ट राइटर्ली टेक्स अर्थात् लेखकीय पाठ हो । यस्तो पाठ, जहाँ लेखकले छाडेको रिक्त स्थान भर्न पाठक आफैं सक्रिय हुनुपर्छ, यस्तो पाठ जसले पठनको गति धीमा गराउँछ, र पुनर्पठनको अपेक्षा गर्छ । अर्कातर्फ रिडर्ली टेक्समा भने पठनसँगै पाठकको यात्रा पूरा हुन्छ । कुनै सृजना पढिन्छ, आनन्द लिइन्छ, त्यसैमा तृप्त भइन्छ । आनन्द मात्र दिने सृजनाले पाठकलाई कुनै चुनौती दिँदैन ।

पाठक उपभोक्ता मात्र हुन्छ । लेखकीय पाठ अटेरी स्वभावको हुन्छ । यसले पाठकलाई चुनौती दिन्छ, सोच्न बाध्य बनाउँछ, उसलाई मानसिक रूपले अस्थिर बनाउँछ । पाठकलाई उपभोक्ताबाट उत्पादक बन्न प्रेरित गर्छ । केवल सुस्पष्ट र पारदर्शी सृजनाको अपेक्षा गर्नेहरूका लागि भने मोदियानो त्यति रुचिकर नहोलान् । लेखकले सबै कुरा तयार पारेर पाठ्य प्लेटमा पस्किदिएपछि म–पाठक त्यसलाई आरामले ग्रहण गरौंला भन्ने उपभोक्तावादी पठन संस्कारमा मोदियानोको स्थान त्यति माथि नहोला ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?