कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘मिथ्या’ जगत्‌को परिभ्रमण

यथार्थ छाडेर स्वैरकाल्पनिक र मायिक धरातलमा आख्यान प्रवेश गरे पनि त्यसलाई सत्य–विश्वासयोग्य तुल्याउन सक्नुपर्छ । ‘मिथ्या’ को कथ्य कतै विश्वासयोग्य लाग्छ, कतै अतिरञ्जित !
सरस्वती प्रतीक्षा

सत्य र मिथ्याबीचको द्वन्द्व मानव समाजमा अनादिकालदेखि नै चल्दै आएको हो । देवासुर संग्रामको प्रतीकात्मक अर्थ यही सत्य र मिथ्याबीचको द्वन्द्व हो, जुन मान्छेभित्र घटित हुन्छ र मान्छेबाहिर पनि । लेखक दीपक पराजुलीको नवीनतम उपन्यास ‘मिथ्या’ को परिभ्रमण गर्दा मिथ्या जगत्मा विभिन्न परिदृश्य देखा पर्छन् । एकातिर सत्य कमजोर छ, निरीह छ, अनेकन बनावटी पत्र–पत्रले छोपिएर निस्सासिँदो छ । अर्कोतिर अहिलेको विश्वमा दिनानुदिन शक्तिशाली बन्दै प्रभुत्व जमाइरहेको छ– मिथ्या । मिथ्या जगत्का परिदृश्य अलिअलि बुझिने, अलिअलि नबुझिने जादुयी फिल्मका दृश्यजस्तै छन् ।

‘मिथ्या’ जगत्‌को परिभ्रमण

परिदृश्य १

‘मिथ्या’ उपन्यासको मूलकथ्य नै मिथ्या जगत्को स्वैरकाल्पनिक प्रस्तुति हो । मिथ्या सरकार, मिथ्या प्रकाशन, प्रेम कविता लेख्नु गैरकानुनी काम, तर मिथ्या कविता र मिथ्या कथालेखनको बोलवाला ! अरू त अरू मिथ्यामार्ट पनि, जहाँ केवल भ्रम किन्न पाइन्छ– यी सब मिथ्या उपन्यासका काल्पिनिकी हुन् । मिथ्या दुनियाँसित वाक्क भएर ‘अब त उठ सुतिरहेका मान्छेहरू’ भन्दै चिच्याउने र विद्रोह गर्ने बर्बरिकको गोली हानेर हत्या गरिएसँगै मिथ्याको कथा अघि बढ्छ । उपन्यासको मुख्य पात्र मोहदत्तको हाकिमको रहस्यमय तवरले मृत्यु हुन्छ । उता हाकिमको कोठाबाट निस्कँदा मोहदत्तको जीउ मान्छेको भए पनि टाउको गिद्घको भइसकेको हुन्छ र ऊ अचानक अलप हुन्छ । मोहदत्त फरार अपराधी हो । मोहदत्तको खोजमै सारा उपन्यास घुम्छ र सकिन्छ ।

परिदृश्य २

अक्सर उपन्यासहरू कि चरित्रप्रधान हुन्छन् कि घटनाप्रधान । ‘मिथ्या’ चाहिँ चिन्तनप्रधान उपन्यास हो । उपन्यासका सबै चरित्र स्वाभाविक र यथार्थ होइन, वैचारिक चरित्रका रूपमा आएका छन् । उपन्यासकारको वैचारिक चरित्रको इसारामा पात्रहरूले क्रिया गर्छन् ‘मिथ्या’ मा । बर्बरिक, मोहदत्त, श्रापित यक्षणी, भुलभुलैया, लाचिदा, अज्ञानन्द, तोरणघाटको बूढो माझीजस्ता पात्र त्यसैका उदाहरण हुन् ।

परिदृश्य ३

‘मिथ्या’ को भूमिमा प्रेम वर्जनाको विषय बन्न पुगेको छ । उपन्यासकै मुख्य पात्र मोहदत्त कवि भएको हुनाले उसकी पत्नीले आफ्ना लागि प्रेमकविता लेख्न अनुरोध गर्छे । प्रेम कविता गैरकानुनी विषय हो भन्दै मोहदत्त आफूलाई गालीको कविता मात्रै लेख्न आउने बताउँछ । आफ्ना निम्ति सुटुक्क प्रेमकविताहरू लेख्दै दिने प्रेमीसित एक दिन मोहदत्तकी स्वास्नी भागेर जान्छे । यक्षणी, भुलभुलैयाका प्रेम प्रसंगले पनि मिथ्या जगत्मा प्रेम मूल्यहीन र अभिाशापग्रस्त रहेको संकेत गर्छन् । प्रेम वर्जनाका यस्ता अन्य थुप्रै घटना भेटिन्छ उपन्यासमा, जहाँ प्रेमको कुरा गर्नु वा प्रेम गर्नु ठूलो अपराध मानिन्छ । प्रेमजस्तो सुन्दर र पवित्र कुरा पनि फगत एक अभिशाप मानिन्छ मिथ्या जगत्मा । विश्वमा मान्छेहरूभित्र घट्दै गइरहेको प्रेमको संवेदनशीलतालाई पनि मिथ्याले व्यङ्ग्यात्मक तवरले पस्केको छ ।

परिदृश्य ४

उपन्यास स्वैरकाल्पनिक र तिलस्मी संरचनामा संरचित छ । परिच्छेदपिच्छे उपन्यासकारले कथाको विश्वसनीयता विस्तार गर्नपट्टिभन्दा चामत्कारिक नवीनता उत्पन्न गर्ने प्रयास गरेका छन् । चामत्कारिक स्वाद पस्कने ध्याउन्नमा थुप्रै कथा, उपकथा बढी नै तिलस्मी बन्न पुगेका छन् । तिलस्मी कथा पढ्दा पाठकहरू जति रोमाञ्चक भएर उपन्यास पढ्नेछन्, त्यति नै मात्रामा ‘उडन्ते कथाहरू पढिरहेछु’ सोचेर बोर हुने सम्भावना पनि उत्तिकै छ । आफ्नो पहिलो उपन्यासमै यसरी प्रयोगको जोखिम उठाउने साहस गर्ने साहसी उपन्यासकार हुन् दीपक पराजुली ।

परिदृश्य ५

‘मिथ्या’ मुख्य रूपले स्वैरकल्पना र तिलस्मितालाई समकालीन सन्दर्भमा प्रयोग गरिएको उपन्यास हो । यसमा उपन्यासकारको प्रयोगवादी चेतनाको प्रचुरता हर कोही पाठकले महसुस गर्न सक्छन् । यसमा प्रयुक्त मध्यकालीन तिलस्मी कथालेखन शैलीको प्रयोगले गिरीशवल्लभ जोशीको उपन्यास ‘वीरचरित्र’ सम्झाउँछ । आधुनिकताको परिपेक्ष्यमा मिथ्या उपन्यासको प्रयोगधर्मिता ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त–अग्निदत्त’ र सरुभक्तको ‘समय त्रासदी’ द्वारा प्रेरित र प्रभावित देखिन्छ । अग्दिदत्त यस उपन्यासमा रूप र नाम परिवर्तन भई मोहदत्त भएका छन् । यस उपन्यासको मिथ्या जगत्को परिकल्पना सरुभक्तको ‘समय त्रासदी’ को घृणाभूमिजस्तै छ । सरुभक्तको घृणाबजारमा घृणाको मात्रै किनबेच हुन्छ र माया, मानवताजस्ता कुरा वर्जित हुन्छन् । यता दीपक पराजुलीको मिथ्यामार्टमा केवल भ्रमको किनबेच हुन्छ, जहाँ सत्य वर्जित हुन्छ । आगामी उपन्यास लेखनमा थप मौलिकता सन्धान गर्न उपन्यासकारले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

परिदृश्य ६

दार्शनिक बुद्घ भन्छन्, ‘हामी जे सोच्छौं, त्यही बन्छौं ।’ बुद्घको यही दर्शन मिथ्याको कथासार पनि हो । मोहदत्तको खोजीमा निस्केको सरकारी एजेन्टसापेक्ष अन्तिममा आफैँ मोहदत्त बन्न पुग्छ । पाताल प्रदेशको गोलपोखरीको पानीको ऐनामा जब सापेक्षले आफ्नो अनुहार हेर्छ, उसले त्यहाँ आफ्नो होइन, मोहदत्तको अनुहार देख्छ र तर्सिन्छ । मोहदत्तबारे सोच्दासोच्दै र मोहदत्तलाई खोज्दाखोज्दै आफैँ मोहदत्त बनिसकेको हुन्छ सापेक्ष ।

ठीक त्यही पल उपन्यासकी अर्की पात्र स्वरूपा भन्छे, ‘सापेक्ष तिमी जुन अनुहारलाई खोज्दै हिँडेका थियौ, त्यसैलाई पायौ । आखिर जे खोजिन्छ, त्यही नै पाइन्छ, होइन र ? आफूलाई खोजेको भए आफैंलाई पाउने थियौ होला ।’

बुद्घको दर्शनलाई यसरी स्वरूपाको मुखारविन्दबाट सरल भाषामा व्यक्त गरेका छन् उपन्यासकारले र मोहदत्तको माध्यमबाट फराकिलो क्यानभासमा कथा पस्केका छन् । कथा पस्किन विभिन्न पात्रको माध्यमबाट लेखकले बोलाएका कुराहरू, आठवटा दस्तावेज र वर्तमानमा हाम फाल्न प्रयोग गरिएको कथा वाचनको टेक्निक तारिफयोग्य छ ।

परिदृश्य ७

उपन्यासकार कानुन व्यवसायी भएकाले होला, यसमा कानुनी पाराका आठ दस्तावेजमा फरक–फरक कथा समेटिएका छन् । पहिलो परिच्छेद ‘भाइरल’ मा उपन्यासले ‘कतिपय अवस्थामा दस्तावेजमा प्रस्तुत तथ्यहरू घटनाको मूल विषयवस्तुसँग सान्दर्भिक हुन पनि सक्छन् र नहुन पनि सक्छन्’ भनेजस्तै कतिपय सन्दर्भ असान्दर्भिक र अशृंखलित पनि लाग्न सक्छ पाठकलाई ।

प्रयोगधर्मी लेखनको सबैभन्दा ठूलो समस्या कथ्यमा विश्वसनीयताको अभाव हो । उपन्यासकारले यथार्थ धरातल छोडेर स्वैरकाल्पनिक र मायिक धरातलमा प्रवेश गरे पनि त्यसलाई सत्य र विश्वासयोग्य तुल्याउन सक्नुपर्छ । मिथ्याको कथ्य कहीँकतै विश्वासयोग्य लाग्छ, कहीँकतै अतिरञ्जित !

परिदृश्य ८

कविता र आख्यानबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । हरेक कविता आफैंमा छोटो आख्यान हो भने हर आख्यान आफैंमा लामो कविता । जति नै छोटो कविताले पनि कुनै न कुनै कथा बोकेको हुन्छ । कविता सुन्दर हुन कविताभित्र सुन्दर कथा पनि हुनुपर्छ । यसै गरी आख्यान राम्रो हुन आख्यानभित्र सुन्दर कविता पनि हुनु जरुरी छ । आख्यानभित्रको काव्यात्मकताले आख्यानमा निखारता ल्याउँछ । मिथ्या उपन्यास सबैभन्दा बढी कहीँ चुकेको छ भने यहीँनेर छ । मिथ्याको आख्यानभित्र आख्यान त छ, तर उतिसारो मिठास छैन, काव्यात्मकता छैन । अभिव्यक्तिमा त्यो झंकार छैन, जसले तपाईंको दिललाई झनन्न बनाओस् । लाग्छ, उपन्यास लेख्दा लेखकले एकदमै बढी दिमागको प्रयोग गरे र जानेजति ज्ञान, विचार, दर्शन निरूपण गर्ने प्रयास गरे । तर, मनैदेखि चाहिँ एकदमै कम वाक्य लेखे ।

परिदृश्य ९

इशुलाई सूलीमा चढाउने, सुकरातलाई विषसेवन गराउने, बुद्घलाई विषाक्त भोजन गराउने हामी हौं भन्दै सगर्व कुर्लंने मिथ्या जगत्का मान्छेहरूविरुद्घ बुलन्द र व्यङ्ग्यात्मक विद्रोह हो– मिथ्या उपन्यास । मिथ्या जगत्को विसंगतिपूर्ण चित्रण गर्दै उपन्यासकारले सत्यको तरफदारी गरेका छन् । आफ्नो उमेरअनुसार त प्रेमको कुनै रुमानी कथा पस्कनुपर्ने हो लेखकले । तर, कलकलाउँदो उमेरमै गम्भीर विषयवस्तु र चिन्तन समेटेर चिन्तनको जुन परिपक्वता किताबमा देखाएका छन्, त्यसबाट नेपाली साहित्यले दीपक पराजुलीबाट थप वैचारिक किताबको सहजै अपेक्षा गर्न सक्छ । आगामी दिनमा उपन्यासकारले कथ्यलाई अरू स्पष्ट र विश्वसनीय बनाउने सवालमा अझै मिहिनेत गरे उपन्यासकार पराजुलीको उडानलाई रोक्न कसैले सक्दैन ।

परिदृश्य १०

आम पाठक सबैले रुचाउने खालको किताबभन्दा पनि मिथ्या केही बौद्घिक र प्रयोगधर्मिता रुचाउने पाठकको खास रोजाइको किताब बन्नेछ भन्नेमा शंका गर्ने ठाउँ छैन । यो त्यति सरल किताब होइन । त्यसैले सबैको मगजमा सहजै घुस्दैन । मिथ्यालाई प्रेम गर्ने पाठक केही जटिलतालाई प्र्रेम गर्ने पाठक हुनु जरुरी छ । अलिकति दुर्बोध्य, जटिल र चिन्तनयुक्त किताबलाई प्रेम गर्ने पाठकले मिथ्यालाई अवश्य प्रेम गर्नेछ ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?