मिलारेपा–गुफाको यादमा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिलारेपा–गुफाको यादमा

मिलारेपा केवल तिब्बतका बौद्ध धर्म गुरू थिएनन् । उनी एक ठूला तन्त्र–साधक पनि मानिन्थे । ‘द ग्रेट गेम इन द बुद्धिस्ट हिमालयज्’ मा लेखिएको छ, ‘हाम्रा हिमाली क्षेत्रहरुमा अभ्यास गरिएको बौद्ध धर्ममा गुरू मिलारेपा र मारपाको प्रभाव छ ।’
लीला न्याइच्याईं

हामी गुरु मिलारेपाको यादमा लप्ची गाउँतर्फ यात्रारत थियौं । लप्ची गाउँ तीनैतिरबाट घेरिएको छ– चिनियाँ भूभागले । नेपालको अन्तिम गाउँ भने हुन्छ लप्चीलाई । एघार सय वर्षभन्दा अघिदेखि तिब्बती समुदाय बस्छन् यहाँ । उनीहरू नेपालमा शेर्पा भनेर चिनिन्छन् ।

भनिन्छ– प्रसिद्ध बौद्ध गुरु मिलारेपा आएसँगै लप्ची गाउँमा मान्छेहरू बस्न थालेका हुन् ।

मिलारेपा केवल तिब्बतका बौद्ध धर्म गुरु थिएनन् । उनी एक ठूला तन्त्र–साधक पनि मानिन्थे । फुन्चोक स्टोबडानको किताब ‘द ग्रेट गेम इन द बुद्धिस्ट हिमालयज्’ मा लेखिएको छ, ‘हाम्रा हिमाली क्षेत्रहरूमा अभ्यास गरिएको बौद्ध धर्ममा गुरु मिलारेपा र मारपाको प्रभाव छ ।’ एउटा कथाले भन्छ– मानसिक शान्तिका लागि मिलारेपाले लप्ची गाउँका गुफामा वर्षौं–वर्षसम्म ध्यान गरे । ती गुफा अहिले पनि यहाँ छन् । र, उनी ध्यान बसेकैले लप्ची गाउँ पवित्र स्थल मानिन्छ । बौद्ध धर्ममा तीन महत्त्वपूर्ण तीर्थस्थानमध्ये एक यही गाउँको लप्ची गुम्बा हो ।

...

राति बास बस्न टेन्ट टाँगिसकेपछि छेउमै मुढा बालेर आगो तापिरहेका थियौं ।

हातमा तातो चियाको कप थियो । ठीक अघि कुर्लीकुर्ली झरिरहेको थियो झरना । जुङ खोला बेतोडले भीमकाय ढुंगामा छाल हानिरहेको थियो । खोलामाथि झोलुंगे पुल र चारैतिर चराचुरुंगीका मधुर आवाज । म थिएँ त्यसकै रसपानमा मग्न । नेपाली भूगोलका सुन्दर पाटा नियाल्नकै लागि यात्रा थालेको थिएँ । त्यो थियो यात्राको १३ दिनपछि घर फर्किरहेको अन्तिम हिँडाइ ।

हामी दोलखा जिल्ला बिगु नगरपालिकाको लप्ची गाउँ पुगेर फर्केका थियौँ । मेरो पूरै परिवार, दुई साथी र तीन स्थानीय मित्र यात्रामा थियौं । वरपर थियो खोला, झरना, पुल, जंगल अनि हामी आठ मनुवा मात्रै । जंगली जनावर थिए होलान्, हामीले नदेख्नेगरी ! दुई असाध्यै ठूला ढुंगामुनि टेन्ट टाँगेका थियौं । जंगलका भीमकाय ती ढुंगा, झरना, खोला हुन् हाम्रा सम्पदा ।

कठिन यात्राको सम्झना

दोलखा जिल्लामा साना–ठूला जलविद्युत् परियोजना बनिरहेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् परियोजना एक उदाहरण हो, जुन गत वर्ष २०२० जुलाईमा केपी ओलीले उद्घाटन गरे । यसको बाँध लामाबगरमा निर्मित छ । यही बाँधको पानी भरिएर लामाबगरबाट लप्चीतिर जाने पुरानो बाटो पानीमुनि पुरियो । तर, नयाँ बाटो बनिसकेको छैन । लामाबगरको बाँधभित्रबाट सिँढीहरू बनाइएका छन् । यी सिँढी उक्लनेबित्तिकै सीधै चिप्लो ढुंगामा हिँड्नुपर्थ्यो, जहाँ फलामका डन्डी ठोकिएका थिए । र, त्यसैको कापमा पाइला अड्काएर हामी हिँडेका थियौं । एकैछिन मात्र त्यसरी हिँड्नुपरेको भए त्यो हिँडाइ यहाँ नसम्झिए पनि हुन्थ्यो । तर, बाटो भन्न नमिल्ने एकदमै चिप्लो ढुंगा, चिप्लो माटोमा पूरै पाँच घण्टा हिँड्नुपरेको थियो ।

सहयात्री चारपटकसम्म चिप्लिएर झुन्डिए । संयोगले अरू सहपाठीले सहयात्रीको पाखुरा समातेर जोगिए । सम्झेर अहिले पनि तर्सिन्छु, नत्र हाम्रा सहयात्री तल तामाकोसीको बाँधले भरिएको पानीमुनि पुग्नेथिए । अर्का एक साथी भारीसहित लडे । धन्न निगालाको झ्याङमा अड्किए । डरैडरमा काँप्दै हिँड्न हामी अभिशप्त थियौं । मन नआत्तिओस् भनेर आफैंलाई खुब सम्हाल्थें । जतिसक्दो चाँडो त्यो लम्बाइ सकियोस् भन्ने सोच्दै हिँडेँ । कहिले सँगै हिँडिरहेको छोराको पीरमा हिँडे । कहिले आफ्नै पाइला दरिलोसँग सारेँ कि सारिनँ भन्ने चिन्तामा हिँडेँ ।

त्यो हिँडाइको एकदमै सानो गल्ती पनि जिन्दगीको अन्तिम गल्ती हुन सक्थ्यो । खासमा रमाइलोका लागि हिँडेका थियौं । नत्र यात्रा भयानक खतरनाक थियो । बीच बाटोबाट फर्किनु पनि सही निर्णय हुने थिएन । बस् अगाडि तेर्सिएको बाटो हिँड्नु थियो । मेरो अनुहार रातो देखिएन होला, तर आफूमा पूरै तातो आगो महसुस गरिरहेको थिएँ ।

कठिन परिश्रमपछि हामी तामाकोसी किनारमा पुग्यौं । त्यहाँको चिसो पानीमा खुट्टा डुबाएपछि बल्ल शान्त र शीलत अनुभूति भयो । कठिन पहाडको पहाराबाट झर्न सकेकोमा सन्तोष लिएँ । खासमा त्यो बाटो जंगली जन्तुका लागि थियो । मान्छे हिँड्नयोग्य थिएन त्यो बाटो । यद्यपि स्थानीय मान्छेहरू भारी बोकेरै त्यो पहरामा ओहोरदोहोर गरिरहका थिए । बाटो छिचोल्न कठिन छ भन्ने जान्दाजान्दै पनि कोही कपडाको जुत्तामा त कोही सामान्य चप्पलै त्यो भीर पार गरिरहेका थिए । पहारोमा एक मात्र सहारा थियो निगालोको । निगालोलाई मनैदेखि धन्यवाद दियौं ।

निगालोका बोटहरू मजस्ता यात्रीका सहारा भएका थिए । र, ती जरैदेखि उखेलिएका थिए । जुङ खोला तरिसकेपछि दुई ठूला पहिरा पार गर्नुपर्थ्यो । बल्ल यात्राको कठिन समय समाप्त भयो । तर, लम्बाइ त बाँकी नै थियो । अघिल्लो दिनसम्म यात्रामा हामी आठ जना मात्रै एकनास हिँडिरहेका थियौं । लुमनाङमा बास बस्दा अरू केही यात्रु भेटिए । बाटो खन्दै गरेका ती नेपालीहरूलाई भेट्न पाउँदा, सँगै बास बस्न पाउँदा एउटा सानो गाउँ नै जमघट भएको अनुभव भएथ्यो ।

लुमनाङको कथा

इतिहासमा तिब्बतअन्तर्गत पर्थ्यो लप्ची गाउँ । गाउँलेहरूले जाडोमा चौरी झार्ने स्थान थियो– लुमनाङ । लुमनाङ नेपालतिर पर्थ्यो । गाउँले भन्छन्– त्यसपछि उनीहरूले नेपालमै बस्ने सोचे । चीन–नेपालको सीमा सन्धिपछि लप्ची गाउँ नेपाली सरहदभित्र परेको थियो । सीमाविद् बुद्धिनारायण श्रेष्ठको किताब ‘बोर्डर म्यानेजमेन्ट’ मा लेखिएको छ, ‘लामाबगर सन् १९६१ भन्दा पहिलाको नेपाल–चीनको सीमा हो ।’

सन् १९६१ मा सिमानासम्बन्धी सन्धि गरी नेपाल–चीनका सबै सीमा विवाद सल्टिएको थियो । त्यस सीमा सन्धिबाट नेपाललाई दोलखा जिल्लामा १०४.२५ वर्ग किमि चीनबाट प्राप्त भयो । र, चीनले नेपालबाट २८.२५वर्ग किमि साटेको थियो । युद्धकालीन समयमा भारत–चीनबीचको सीमा सन्धिपछि भारतले नेपाली भूमिमा सैन्य पोस्टहरू राखेको थियो । त्यही कालखण्डमा दोलखाको लामाबगरमा पनि भारतीय सेनाले सन् १९५९ देखि १९६९ सम्म उत्तरी चेकपोस्ट राखेको कुरा ‘बोर्डर म्यानेजमेन्ट’ मा लेखिएको छ । हाल नेपालको सीमा अनुगमन पोस्ट पनि लामाबगरमै राखिएको छ ।

लामाबगर कटिसकेपछिको पहिलो मानव बस्ती हो लुमनाङ । यो शेर्पाहरूको गाउँ हो । ती शेर्पा लप्ची गाउँकै हुन् । लुमनाङ हिउँदमा बस्ने बस्ती हो भने लप्ची गृष्मकालीन बसाइँ गर्ने गाउँ हो । यसरी मौसमी बसाइँ गरी जिउने नेपाली समुदायसँगको साक्षात्कार मेरा लागि पहिलो थियो । बालबच्चाको लालनपालन, स्कुल, दैनिकी अनि हरेक वर्ष सरिरहने जीवनशैली !

त्यो जान्नु मेरा लागि फरक अनुभूति थियो । खेतीपातीमा हुर्केको मेरो जीवन–अनुभवभन्दा भिन्न थियो– चौंरीपालन र चौंरीसँगै बितिरहेको उनीहरूको जीवन ।

महिलाहरू लामो शेर्पिनी कपडामा र पुरुषहरू सामान्य पाइन्ट–ज्याकेटमा थिए । त्यो हिमाली क्षेत्रको ठाडो उकालो चढेपछि भेटिने खुला चउरजस्ता खर्कहरूमा घाँस काटिरहेका महिला–पुरूषहरू थिए । बिरलै भेटिने ती अनजान मान्छेहरू धेरै समयपछि भटिएका आफन्तीजस्ता लाग्थे । ढुंगाका छाप्राहरूमा काठको छानो लाएर बस्ने उनीहरू चौंरीका लागि घाँस बन्दोबस्ती गर्न निकै समय मिहिनेत गर्दारहेछन् । आफैंले मात्रै घाँस काटेर नभ्याउने हुँदा लामाबगर पारिका तामाङ बस्तीबाट समेत ज्यामी लगाउँदा रहेछन् । ती निजी घाँसे मैदानको उनीहरू मासिक रूपमा प्रतिरोपनी करिब पन्ध्र सय रुपैयाँ भाडा तिर्छन् । बाटोमा भेटिएका ती रमाइला खुला खर्क व्यक्तिकै निजी जमिन रहेछन् ।

फोन सम्पर्कको एउटै माध्यम

लुमनाङ गाउँलाई दायाँ छोडेर हामी लप्ची गाउँका लागि बिहानै हिँड्यौं । जंगल र खर्कहरू हुँदै हिँडेका हामीले त्यो दिन खानामा ताजा हरियो साग खान पाउने भयौं । एक्लै सानो छाप्रोमा बसेका बाजेले प्लास्टिकभित्र साग फलाएका थिए । उनकै छाप्रोको आँगनमा हामीले लप्ची गाउँका एक जना दाजु भेट्यौं, जो नेपाल–चीन सिमानाको ५७ नं पिल्लर राख्ने बेला गएका थिए । त्यो पिल्लरमा पुर्‍याइदिन अनुरोध गर्‍यौं । तर, हिमालमा हिउँ भरिइसकेकाले त्यो मौसममा जान नसकिने उनले बताए ।

त्यो दिन लप्ची गाउँसम्म पुग्न पनि गाह्रो भयो । हामी थेसिङ भन्ने ठाउँमा बनाइएको पोटर हाउसमा बास बस्यौं, जहाँ भिस्याट फोनको व्यवस्था थियो । तीन दिन लगातार घरबाट सम्पर्कविहीन बनेका हामी फोन सुविधा पाउँदा हर्षित भयौं । लप्ची गाउँका गाउँलेका लागि यही फोन नै हो, एक मात्रै सम्पर्कको माध्यम । विदेशबाट लप्ची गाउँको गुम्बामा ध्यान गर्न आएका लामाहरूलाई पनि यही फोनको भर थियो । हामी पुगेको दोस्रो दिन कश्मीर र काठमाडौं घर भएका केही लामालाई हामीले गुम्बामा भेटेका थियौं, जो अघिल्लो रात थेसिङ पुगेका थिए फोन गर्न । त्यहाँ इन्टरनेट सुविधाबारे सोच्नु बेकार थियो । सम्पर्क सञ्चारका कुनै पनि माध्यम थिएन लप्ची गाउँमा ।

गाउँको गुम्बा–गुम्बाको गाउँ

लामाबगर माथि जति गोरेटा बाटा थिए, जति पुल–पुलेसा, खुड्किला थिए– सबै लप्ची गुम्बाको अगुवाइमा बनाइएका थिए । गुम्बा धार्मिक आस्थाको केन्द्र मात्र थिएन, त्यहाँको स्थानीय भौतिक–सामाजिक आवश्यकता पूरा गर्ने स्थानीय संस्था पनि थियो । गुम्बावरपर वृद्धाश्रम पनि थियो । गुम्बा नै एक मात्र त्यस्तो संस्था थियो, जसले लप्ची गाउँवासीका लागि सार्वजनिक कामको अगुवाइ गर्थ्यो । धर्म केवल धर्ममा सीमित थिएन, त्यो सामाजिक दायित्व वहन गर्ने एउटा केन्द्र पनि थियो । त्यसबाहेक दोस्रो कुनै संस्था थिएन त्यहाँ ।

गाउँलेहरू सधैं काममै व्यस्त रहन्छन् । उनीहरूको खास काम हो– चौंरीपालन । गाउँमा काम गर्न नसक्ने मात्रै भेटिन्थे । त्यहाँका साना नानीहरू, नवजवानहरू पढ्न या काम गर्न काठमाडौं, भारतको देहरादुनजस्ता सहरमा छन् । दुई वर्षका एक नानीबाहेक अरू साना नानी हामीले गाउँमा भेटेनौं । सबै घर खाली–खाली थिए । लप्चीमा गाउँमा ३० घरधुरी छ । सबै एकअर्काका कुटुम्ब हुन् । उनीहरूको बिहेबारी गाउँभित्र चल्दैन । पहिले नायलम (तिब्बत), कुतीतिर बिहेवारी चल्थ्यो । तिब्बती प्रशासनले ०७२ को भूकम्पपछि अन्तरदेशीय विवाह गर्न रोक्यो । एक लामा भन्छन्, ‘बिहे गर्ने उमेरका यहाँका १३ जनाले वर पाएका छैनन् ।’ लप्ची गाउँका मानिस तिब्बतमा चौंरी बेच्छन् । तिब्बतको आलु उनीहरू खान्छन् ।

लप्ची गुम्बा व्यवस्थापनका अध्यक्षसँग गुम्बामा भेट भयो । गाउँका नानीहरूको पढाइ व्यस्थापनमा ध्यान दिएको उनले सुनाए । सबैजसो नानीलाई तिब्बती भाषा र बौद्ध शिक्षा दिइएको उनले सुनाए । काठमाडौंबाट एक जना लामा रिम्पोचे पनि त्यहाँ पुगेका थिए । डोल्पा, काठमाडौ, गोर्खालगायतका बौद्ध अनुयायी एवं कर्नाटक, कश्मीर, लद्दाखलगायतका विदेशी बौद्ध अनुयायी बौद्ध ज्ञान सिक्न महिनौं–वर्षौंदेखि त्यहाँका गुम्बा र गुफामा ध्यानमा मग्न थिए ।

बौद्ध ज्ञानको प्रयोग–अभ्यास हुँदै आएको त्यो ठाउँमा नेपालको बौद्ध विश्वविद्यालयको पनि कुनै अनुसन्धान र अध्ययन केन्द्र बनेको भए कस्तो गजब हुनेथियो । नेपालका परम्परागत धार्मिक चिन्तन, दर्शन र त्यसका प्रयोगबारे वैज्ञानिक एवं शैक्षिक अध्ययन–अनुसन्धानको असाध्यै कमी छ । लप्ची गाउँ पुग्दा बौद्ध धर्मको चिन्तन गर्ने अत्यन्तै उपयोगी स्थान भेटेको अनुभव भयो । यो स्थानबारे विदेशीहरू जति जानकार छन्, नेपालीहरू बेखबर छन् ।

अघि भेटिएका रिम्पोचेले बताएका थिए, ‘विकटता नै हो यो क्षेत्र पवित्र भइरहनुको कारण ।’ अब यो ठाउँले नयाँ परिवर्तन माग गरिरहेको लाग्यो । गाउँका एक युवा (जो तिब्बतसँग सानो व्यापार गर्छन्) ले भने, ‘तिब्बततिर जाँदा एक दिनमै चार लाइनको राजमार्ग भेटिन्छ, तर नेपालमा दुई दिनको बाटोमा बल्ल सामान्य मोटरबाटो भेटिन्छ । अबको पाँच वर्षमा हामी पनि बाटोको पहुँचमा पुग्ने आशा छ ।’

अहिले लामाबगरबाट दुई हजार रुपैयाँको समान खरिद गरी लप्चीसम्म लैजान भरियालाई सात हजार रुपैयाँ ज्याला तिर्नुपर्छ । खाद्यान्न असाध्यै महँगो भएको गुम्बाका लामाको दुखेसो थियो । उमेरले ८० नाघेका एक वृद्धले भनेका थिए– दुई वर्षदेखि तिब्बतको सीमा खुलेको छैन । त्यसैले यो गाउँ सुनसान र एकाकी छ ।

अतिथि भेटेर खुसी भएका लप्ची गाउँका मान्छेहरूले हामीलाई रैथाने छुर्पी दिए, १० वर्षे बालकलाई चाउचाउ, चक्लेट दिए । ५६ नं को नेपाल–चीन सीमास्तम्भ हेरेर–छोएर फर्कंदा हामीले चिनियाँ चाउचाउ र चकलेट पायौं– उपहारमा । चिनियाँ बजारसँगको नेपाली सामीप्य त्यो सिमानाको गाउँमा प्रत्यक्ष भेटिन्छ ।

प्रकाशित : मंसिर ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

जात्राको स्थगन पनि संस्कृति हो

हरेक धर्म र संस्कृतिको आधारभूत उद्देश्य नै मानव समाजलाई सुखी बनाउनु हो।
लीला न्याइच्याईं

सानो क्षेत्रफलमै प्रशस्त जैविक र सांस्कृतिक विविधता हुनु नेपालको विशिष्ट परिचय हो । विविध भाषा र संस्कृतिले भरिपूर्ण देश भएकैले हरेक दिनजसो कुनै न कुनै जाति, समुदायको उत्सव परिरहेको हुन्छ ।

हरेकजसो जाति, समुदायका आफ्नै संस्कृति भए पनि जात्रा, भोज र उत्सवका लागि नेवाः समुदाय प्रसिद्ध छ । समयक्रममा देशैभर छरिएर रहे पनि काठमाडौं उपत्यका नेवाः समुदायको मूल भएकाले यहाँ नै बढीजसो जात्रापर्व, भोज र उत्सव हुने गर्छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका ऐतिहासिक सहर नै यी सांस्कृतिक अभ्यासका केन्द्र हुन् । यी सांस्कृतिक अभ्यासलाई नेवाः समुदायले केवल आफ्नो पहिचानगत परिचयमा सीमित राखेको छैन । आफ्नो सांस्कृतिक अभ्यासलाई संरक्षण गर्ने सिलसिलामा यसैलाई जीविका र जीवनका अन्य आयामको पाटो बनाउने प्रयत्नमा भक्तपुर नगरपालिकाको प्रयत्न उल्लेखनीय छ । उसले सांस्कृतिक धरोहरको संरक्षण–संवर्द्धन गरेरै आयस्रोत बनाइरहेको छ । भक्तपुर नगरपालिकाको ८० प्रतिशत आय सांस्कृतिक क्षेत्रको पर्यटनबाटै हुन्छ । यही आयबाट उसले शैक्षिक संस्था, शिशु स्याहार केन्द्र र स्वास्थ्य संस्थाहरू सञ्चालनदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

स्थानीय सरकारको सक्रियता र प्रत्यक्ष नेतृत्वमा नभए पनि संस्कृति संरक्षणमा ललितपुर र काठमाडौंको नेवाः समुदाय पनि उत्तिकै प्रयत्नशील छ । विभिन्न संघ–संगठन बनाएर परम्परा र संस्कृतिलाई नयाँ पुस्तामा प्रवाह गर्ने क्रम नियमित छ । नेवाः सांस्कृतिक अभ्यासको निरन्तरतामा यस वर्ष भने गतिरोध सिर्जना भएको छ । कोभिड–१९ का कारण यसपालि भने नेवाः समुदायले सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन पाएन । भक्तपुर नगरमा हरेक वर्षको अन्तिमतिर मनाइने वर्षभरिकै ठूलो जात्रा बिस्केट पनि मनाइएन । भैरवको रथ बनाइएन । बिस्केटको लिंगो उभ्याइएन । हरेक बिस्केट जात्रामा श्रद्धालुहरूको भीडले खुट्टा राख्ने ठाउँ नहुने भक्तपुरका आदिम गल्लीहरू सुनसान भए । अति महत्त्वपूर्ण मानिने देवाली कुलपूजाहरू घरभित्रै सीमित भए । सुकुलमा लहरै बसेर आफन्त र इष्टमित्रसँग गफ चुट्दै खाइने नेवारी भोज परिवारजनमा सीमित भयो ।

गाथामंगलहरू अति कम निकालिए । गुँलाबाजा निकालिएनन् । गाईजात्रामा कुनै बाजा बजाइएन । मृतकका परिवारजनले सादा रूपमा अनुशासित भई नगरपालिकाको आह्वानअनुसार गाईजात्रा परिक्रमा गरे । टोलटोलका रथ खट यात्रा रोकिए । यमद्यो उठाइएनन् । जात्राको त चरित्र नै भीडभाड, होहल्ला हो । तर भक्तपुर नगरपालिका, स्थानीय सांस्कृतिक समूहका अगुवा र गुरुहरूको संयोजनकारी अगुवाइमा जात्राको त्यो चरित्रले निरन्तरता पाएन । भक्तपुरका टोलटोलमा रहेका पुराना दाफा र भजनहरूले साथ दिएकाले नै महामारीविरुद्ध लड्न स्थानीय सरकार धेरै हदसम्म सफल भयो । नगरपालिकाको अनुरोध नै नमान्ने जनता नभएका पनि होइनन् तर स्थानीय सरकारले यस्तो बेला जनतालाई केन्द्रमा राख्यो । उसले सांस्कृतिक गतिविधिलाई औपचारिकतामा सीमित गर्न नगरवासीलाई हौस्यायो । काठमाडौंमा पनि यस्तै अभ्यास भयो । स्थानीय सरकारको भन्दा पनि स्थानीय नेवाः समुदायको प्रयत्नले बर्सेनि बडो धुमधामका साथ निकालिने इन्द्रजात्रा स्थगित भयो ।

रातो मच्छिन्द्रनाथ जात्रा गर्नैपर्छ भन्ने जोडबलले पाटनमा भने भिडन्त निम्त्यायो । महामारीको संकट बिर्सेर मानिसहरू जम्मा भए । उनीहरूले भौतिक दूरी राख्न त परै जाओस्, मास्क नै नलगाएको वा चिउँडोमा झुन्ड्याएको देखियो । पाटनको ज्यापू समुदाय र टोलवासीलगायत विभिन्न नेवाः समूहले त्यो भीडमा आफ्नो सहभागिता नभएको प्रस्ट्याइसकेका छन् । उनीहरूले त्यसरी जबरजस्ती रथ तान्न खोजिएकोप्रति खेदसमेत जनाएका छन् ।

आखिर को थिए त ती आक्रोशित मानिसहरू ? शंकाका अन्य ढोका बन्द गर्ने हो भने पनि एउटा तथ्य प्रस्ट छ— ती रैथाने नेवाः नै थिए । संस्कृति र परम्परालाई निरन्तरता दिनुपर्छ भन्ने मानसिकताले उद्वेलित थिए । सम्भवतः उनीहरूलाई बुङद्यःलाई मलमास सुरु हुनुअगावै बुङमतीसम्म नपुर्‍याए भक्तपुरले देवता लगिदिन्छ भन्ने मिथकले पनि प्रभावित पार्‍यो । तर, यो प्रवृत्तिले एउटा गम्भीर प्रश्न सिर्जना गरेको छ । आखिर संस्कृति कसका लागि हो ? जनताका लागि कि केवल संस्कृतिका लागि ? भेन्टिलेटरमा सास अडिरहेका कोभिड बिरामीको संख्या बढिरहेको छ । महामारीको केन्द्र उपत्यका नै भएको छ । अस्पतालमा संक्रमित राख्ने ठाउँ छैन । यो विषम परिस्थितिमा पनि जसरीतसरी जात्रा गर्नैपर्छ भन्ने मानसिकताले के अभिव्यक्त गर्छ ? जात्रा मानिसका लागि कि केवल जात्राकै लागि ?

त्यसो त नेपालभाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा क्रियाशील मानिसहरूबीच पहिलेदेखि दुई थरी मान्यता छ । एक थरीको विचारमा भाषा बाँचे जनता बाँच्छ । अर्को थरी भन्छन्, जनता बाँचे भाषा बाँच्छ । यी दुवै मान्यतामा जनता र भाषाको अन्तरसम्बन्ध चर्चा गरिएको छ । एक थरीले भाषालाई केन्द्रमा राखेका छन् भने अर्का थरीले जनतालाई । भाषा र संस्कृतिले कसको सेवा गर्ने भन्ने विषयले नै यी दुई फरक मान्यता सिर्जना गरेको छ ।

हरेक समुदायको भाषा, संस्कृति, परम्परा, चालचलनले जनताको सेवा गर्नुपर्छ । जनता बाँचे मात्र सांस्कृतिक अभ्यासहरूले निरन्तरता पाउने हुन् । संस्कृति र परम्परा धान्नुको अर्थ हिजो जसरी मनाइन्थ्यो आज पनि त्यसरी नै मनाउनुपर्छ भन्ने होइन । महामारीसँग जुध्न आवश्यक मापदण्ड अपनाउनु पनि संस्कृति नै हो । हामीले आज बडो श्रद्धाका साथ मनाउने संस्कृति र परम्परा पनि लामो समय लगाएर मानिसले नै बसालेका हुन् । संस्कृति भनेकै मानवनिर्मित अभ्यास हो । कुनै पनि समुदाय बसेको भूगोलको बनावट, स्रोत–सामग्रीको उपलब्धता र उत्पादन प्रणालीअनुसार संस्कृति–परम्परा बन्दै/बस्दै आएका हुन् । काठमाडौं उपत्यकाजस्तो उब्जाउ हुने भूमिमा वर्तमान नेवाः समुदायको विकास नभएको भए सम्भवतः भोज र जात्रा भन्ने नै हुँदैनथे । त्यसैले संस्कृति सधैं परिवर्तनशील हुन्छ । विडम्बना, धेरै मानिस यसको परिवर्तनशील चरित्रलाई स्विकार्न चाहँदैनन् ।

विगतको संस्कृति र परम्परा धान्नु मात्र हाम्रो संस्कृति होइन । मानवजीवनको रक्षाका लागि परम्परा र संस्कृतिलाई समयअनुसार परिमार्जन गर्नु वा आवश्यकताअनुसार क्षणिक विराम दिनु पनि संस्कृति हो । हरेक धर्म र संस्कृतिको आधारभूत उद्देश्य नै मानवसमाजलाई सुखी बनाउनु हो । परिस्थितिजन्य कारणले मानवजीवन रक्षार्थ यस्ता परम्परालाई अल्पकालीन विराम गर्नु पनि उच्च कोटिको संस्कृति हो । मानवसमाजको हितका लागि स–साना इच्छा त्याग गर्न हामीलाई संस्कृतिले सिकाएकै छ । जनता बाँचे भने मात्र हाम्रो भाषा, संस्कृति र संस्कार रहनुको अर्थ पुष्टि हुनेछ ।

स्वास्थ्य र जीवनरक्षाकै सबैभन्दा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौं हामी । यो महामारीको चरित्र नै भयावह छ । यससँग जुध्न कुनै एक ठाउँमा मात्र जमघट वा भीड कम गरेर पुग्दैन । सबै नेपालीको जीवनशैली नै अनुशासित हुनुपर्ने भएको छ । हो, हामी सबैलाई स्वतन्त्रता प्यारो छ तर हामी भयरहित स्वतन्त्रताका पक्षपाती हौं । जीवनकै त्रास रहेको स्वतन्त्रता पक्कै पनि प्रीतिकर हुँदैन । हामी राजनीतिक स्वतन्त्रताबाट कुण्ठित बनेका छैनौं । विचार, बहस, र छलफल गर्न–गराउनका लागि सूचना प्रविधिका नयाँ उपलब्धिले साथ दिएकै छन् ।

जात्रा मनाउन उत्सुक जात्रालुहरूले मानवजीवनलाई केन्द्रमा राख्न जरुरी छ । यसको अर्थ राज्यसंयन्त्रबाट महामारी प्रतिकार्यको अभ्यासमा गरिएको हेलचेक्र्याइँ र गैरजिम्मेवारीपनलाई बेवास्ता गरिनुपर्छ भन्ने होइन । महामारीसँग जुध्ने सुरक्षाका उपाय सबै व्यक्तिले त्यति बेला मात्र अपनाउन सक्छन्, जति बेला उनीहरूको दैनिक जीवनचर्या सुनिश्चित हुन्छ । खुलामञ्चमा एक छाक खानाका लागि लाम लाग्न बाध्य जनताको भोकलाई सम्बोधन गर्न नसक्ने सरकार लाचार र अकर्मण्य मात्र होइन, असफल पनि हो ।

प्रकाशित : भाद्र २२, २०७७ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×