कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

‘पेसेवर’ हरूकै अनुवाद टीठलाग्दा

अनुवाद भएर मात्रै नेपाली साहित्यले विश्व साहित्यमा आफ्नो पहिचान बनाउन सक्छ भन्ने होइन । अनुवाद धेरै हुनुपर्छ, राम्रो साहित्यको हुनुपर्छ अनि राम्रोसँग हुनुपर्छ ।

भारतीय मूलका नेपाली लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’ लाई ‘सङ अफ द सोयल’ शीर्षकमा अंग्रेजी–अनुवाद गरेका छन् लेखक/प्रकाशक अजित बरालले । पहिचान र गोर्खाल्यान्ड आन्दोलनमाथि लेखिएको ‘फातसुङ’ सन् २०१९ मा नेपालीमा प्रकाशित भएको थियो । बरालसँग गरिएको वार्ता :

‘पेसेवर’ हरूकै अनुवाद टीठलाग्दा

अन्तर्राष्ट्रिय ‘पब्लिसिङ ट्रेन्ड’ बुझ्न, प्रकाशित ‘इनोभेसन’ हरू थाहा पाउन, लेखक र ‘लिटरेरी एजेन्ट’ सँग सम्पर्क बढाउन हामीले धेरै वर्षअघिदेखि अन्तर्राष्ट्रिय पुस्तक तथा ‘राइट्स’ मेलामा भाग लिँदै आएका छौं । मेलामा सहभागी हुँदा विभिन्न लेखकका पुस्तकको ‘राइट्स’— चाहे त्यो फिल्म राइट्स होस् या अनुवाद या अर्को टेरिटोरी (स्थान) का लागि होस्— किनबेच भइरहेको देख्यौं । हामी आफैंले पनि नेपाली अनुवाद अधिकार किन्दै आएका छौं । तर, सबैभन्दा खट्किने कुरा, अधिकार बेच्न हामीसँग पुस्तक हुँदैन । किनकि हाम्रा पुस्तक (ब्रिज ल्याङ्ग्वेज) अङ्ग्रेजी भाषामा अनूदित छैनन् । यो त हाम्रो उपभोग्य वस्तुको अवस्थाजस्तै भयो— निर्यात गर्ने केही नहुने, खालि आयात मात्रै गर्ने !

यो स्थितिलाई केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्छ भनेर हामीले प्रकाशन गरेका राम्रा साहित्य, जसलाई अन्तर्राष्ट्रिय साहित्यको कसीमा दाँज्न सकिन्छ, तिनलाई बिस्तारै अनुवाद गर्न थालेका छौं । खुसीको कुरा, ‘फातसुङ’ को अङ्ग्रेजी अनुवाद आइसक्यो, त्यो पनि नेपाल, भारत र यूकेबाट । बुद्धिसागरको ‘कर्नाली ब्लुज’ को अनुवाद अर्को महिना आउँदै छ । नयनराज पाण्डेको ‘उलार’ र अमर न्यौपानेको ‘सेतो धरती’ अनुवाद भइसकेका छन् । शिवानीसिंह थारूको ‘काठमाडौंमा एक दिन’, पाण्डेको ‘लू’, ‘सल्लीपिर’ अनुवाद हुने क्रममै छन् ।

हाम्रो ध्वस्त अनुवाद

केही अपवाद छाड्ने हो भने विदेशी भाषाबाट गरिएका नेपाली अनुवादले मलाई सन्तुष्ट पारेका छैनन् । अधिकांश अनुवाद अनधिकृत रूपमा भइरहेका छन् । त्यसरी भइरहेका अनुवादबाट हामी गुणस्तरको आशा गर्न सक्दैनौं । मलाई लाग्छ, अनुवादकमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण स्रोत भाषा (जुन भाषाबाट अनुवाद गरिन्छ) र लक्ष्य भाषा (जुन भाषामा अनुवाद गरिन्छ) माथिको पकड हो । अर्को महत्त्वपूर्ण गुण पाठ (टेक्स्ट) प्रतिको वफादारी । मुख्यतः यी दुई गुणले अनूदित पुस्तक कति ‘अथेन्टिक’ छ भन्ने निर्धारण गर्छ ।

अनुवादका लागि मैले ‘फातसुङ’ छान्नुका कारण छन् । पहिलो, छुदेन काविमोको भाषिक मीठास, जुन हामीले ‘फातसुङ’ मा मात्र होइन, उनका फुटकर रचनामा पनि पाउँछौं । दोस्रो, पहिचानका लागि नेपालभाषी भारतीयले गरेको गोर्खाल्यान्ड आन्दोलन र हाम्रै माओवादी सशस्त्र युद्धबीचका समानताहरू, जसका कारण यसको कथा ममा अझ बढी प्रतिध्वनित भएको लाग्यो । तेस्रो, उपन्यासको आकार । सानो, चिटिक्कको ‘फातसुङ’ ले अनुवाद सुरु गरेर सक्न सक्छु भन्ने आँट दियो ।

अनुवाद जटिल कार्य हो । उपन्यासमा प्रयुक्त लवजलाई लक्ष्य भाषामा ठ्याक्कै उतार्न गाह्रो हुन्छ । त्यो कमजोरी उपन्यासमा पक्कै छ । नेपाली उखानलाई कसरी अनुवाद गर्ने भन्नेमा म अलमलमा थिएँ । झ्याम्पल, खुर्मीजस्ता स्थानविशेषका शब्दको अर्थ नबुझेर लेखकलाई सोध्नुपरेको थियो । ‘आलु काटी तरकारी तामालाई, नचलाउनू गोर्खाली आमालाई’ भन्ने गीतांश अनुवाद गर्न नजानेर त्यसलाई नेपालीमै राखिदिएको थिएँ । तर, छुदेनको लेखाइ सरल भएकाले अनुवाद कार्य एकदम दुरूहचाहिँ भएन ।

अनुवादमा लगाव भएका, स्रोत भाषा र लक्ष्य भाषा दुवैमा राम्रो पकड भएकाहरूले भन्दा ‘पेसेवर’ हरूबाट अनुवाद भइरहेकाले नेपालको अनुवादको गुणस्तर टीठलाग्दो छ । ध्वस्त अनुवादमा किताबको मौलिकता खोज्न सकिँदैन ।

अनुवादकको इमानदारी

अनुवादक पाठप्रति वफादर हुनुपर्छ । उसले पुस्तकमा जे छ, त्यही अनुवाद गर्नुपर्छ, त्यसमा मनलागी थपघट गर्न पाउँदैन । त्यसैले अनुवादकले पुस्तकको विषयबारे थप अनुसन्धान गर्नु पर्दैन । तर, विषयगत ज्ञान भए अनुवादलाई सहज हुने भएकाले उसले सम्बन्धित पुस्तक पढ्दा राम्रो हुन्छ ।

राम्रा नेपाली साहित्यहरू फाट्टफुट्ट मात्रै अङ्ग्रेजीमा अनुवाद भएका छन् । हामीले अनुवादको गति र गुणस्तरलाई बढाउँदै लैजानुपर्छ । तब मात्रै हाम्रो साहित्यले अन्तर्राष्ट्रिय साहित्यमा आफ्नो स्थान बनाउन सक्नेछ ।

अनुवाद–चुनौती

मूल कृतिको शैली, भ्वाइस समात्नु र संस्कृतिविशेष विषयलाई अति–व्याख्या नगरी लक्ष्य भाषाका पाठकलाई बुझाउनु अनुवादकका मुख्य चुनौती रहेछन् । अनुवाद सिर्जनात्मक काम हो कि विशुद्ध प्राविधिक भन्ने बहस उहिल्यैदेखि छ । तर, अहिले अनुवाद सिर्जनात्मक कार्य हो भन्नेहरूको मत बढी हुँदै आएझैं लाग्छ ।

अनुवादकलाई लेखकसरह नै व्यवहार गरिनुपर्छ, अनुवादकको नाम लेखकको नामसँगै कभरमा लेखिनुपर्छ भन्ने मान्यता प्रखर रूपमा उठिरहेको छ । मलाई पनि लाग्छ, अनुवाद लेखनजत्तिकै सिर्जनात्मक कार्य हो । अनुवाद कार्य मूल पाठको प्रतिलेखनजस्तो भए पनि यसका लागि यथेष्ट सिर्जनात्मकता चाहिन्छ— विशेषगरी मूल किताबको शैली, भ्वाइस, भाषिक र सांस्कृतिक विशेषतालाई अर्को भाषामा रूपान्तरण गर्दा ।

धेरै अनुवाद हुनुपर्छ

मलाई सधैं लाग्छ, अनुवाद नभएरै नेपाली साहित्य नेपालको सीमाबाहिर जान सकेन । तर, अनुवाद भएर मात्रै नेपाली साहित्यले विश्व साहित्यमा आफ्नो पहिचान बनाउन सक्छ भन्नेचाहिँ होइन । त्यसका लागि अनुवाद धेरै हुनुपर्छ, राम्रो साहित्यको हुनुपर्छ अनि राम्रोसँग हुनुपर्छ ।

नेपालीमा अनुवाद गर्नैपर्ने किताब सयौंमा होइन, हजारौंमा छन् । अहिलेको आवश्यकता भनेको हाम्रो विचारलाई दिशा र आकार दिने, हाम्रो समाज, इतिहास, साहित्य, अर्थराजनीतिलाई बुझ्न सघाउने पुस्तक हुन् । त्यस्ता पुस्तकको अनुवाद हुनुपर्छ भन्ने लाग्छ ।

प्रकाशित : मंसिर ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?