कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
फिल्म समीक्षा: सूर्यवंशी

एउटा ओस्सिएको बारुद

रोहित सेट्टीले दिवाली उत्सवमा ठूलै धमाका दिने सुरले ल्याएको ठूलै पटाका थियो– सूर्यवंशी । तर, त्यसको बारुद कति ओस्सिएको रहेछ, त्यो हलमा झोसिएपछि नै खुल्यो ।
सुशील पौडेल

रोहित सेट्टी फिल्म बनाउँदैनन् । उनी सिन क्रिएट गर्छन् । हिरोको स्टाइलिस इन्ट्री, कमेडी पन्चदेखि एक्सन–डान्स कोरियोग्राफीमा उनी जति तड्का लगाउँछन्, कथा–पटकथाबारे धेरै सोच्दैनन् । त्यसैले त उनी गतिलो फिल्म बनाएर भन्दा फिल्ममा कतिवटा कारलाई बमले हावामा उडाए वा एक्सन सिनमा के नयाँ ल्याए भन्नेमा बढी चिनिन्छन् ।

एउटा ओस्सिएको बारुद

सेट्टी खासगरी निर्देशकभन्दा दृश्य संयोजक हुन् । मन खाएका दृश्य तानतुन पारेर फिल्म तयार पारिदिन्छन् । उनी फिल्मका यस्ता कुक हुन्, जो हरेक खानामा हाल्नका लागि अजिनामोटो पकेटमै लिएर बसेका हुन्छन् । उनका फिल्म मसलेदार हुन्, हेरुन्जेल सिट्टी मार्‍यो, ताली पड्कायो, सकियो ।

निर्देशकमाथि यति निर्मम भइसकेपछि उनैको पछिल्लो फिल्म ‘सूर्यवंशी’ को समीक्षा गर्नु समीक्षकले स्वयंलाई गरेको व्यंग्य ठहरिन सक्छ । तर, समीक्षा नगर्नु पनि अन्याय नै हो । कोरोना कहरका कारण दुई वर्षदेखि मृतप्रायः फिल्म क्षेत्रका लागि सञ्जीवनी बुटी बनेर भारतदेखि नेपालका थिएटरसम्म जो आयो । दर्शक उर्लिएर हल पुगे, बक्सअफिसमा धेरैपछि रिलिजको केही दिनमै सय करोडमाथिको कलेक्सन गरेर ‘सूर्यवंशी’ ले निर्मातालाई पुलकित पार्‍यो ।

‘सूर्यवंशी’ को कथा पनि निर्देशक सेट्टीकै हो । पटकथामा ढालिदिए, युनुस साजवालले । सन् १९९३ मा भारतको मुम्बईमा भएको शृंखलाबद्ध कारबम हमलालाई पृष्ठभूमिमा राखेर फिल्म त्यसको १३ वर्षपछिको समयमा बग्छ । मुम्बईमा ब्लास्ट गर्ने सोही आतंककारी समूह ‘लस्कर’ पुनः त्यस्तै प्रकृतिको आक्रमण गर्दै छ भन्ने सुइँको प्रहरीले पाउँछ । पहिलो आक्रमणकै बेला लस्करले मुम्बई ल्याइएको एक हजार किलो आरडीएक्समध्ये छ सय किलो प्रयोगमा नआएको र भारतमै कतै लुकाएर राखिएको सूचना मुम्बई पुलिसले पाउँछ ।

आतंककारी समात्ने, आरडीएक्स खोज्नेदेखि आक्रमण योजना विफल पार्ने सारा कामको जिम्मा पाउँछन्, एन्टी टेरोरिज्म स्क्वायडका मुम्बई प्रमुख डीसीपी वीर सूर्यवंशी (अक्षयकुमार) ले । उनको भूमिका यतिमै सीमित छैन, पत्नी डा. रिया (कट्रिना कैफ) र छोरा आर्यनको देखभालदेखि बन्दा–नबन्दै भत्कन लागेको आफ्नै घर पनि सम्हाल्नु छ । पेसालाई शिरोपर ठान्ने परिवारप्रति सूर्याको कम चासो र उनैको लापरवाहीले आतंककारीको गोली लागेर छोरा बालबाल बाँचेपछि तर्सिएर अस्ट्रेलिया जान खोज्दै छिन्, रिया । सूर्यालाई अब देश र परिवार जोगाउन पनि लस्कर सिध्याउनु छ ।

लस्कर प्रमुख ओमार हाफिज (जैकी स्राफ) पाकिस्तानमा लुकेर ‘भारतलाई देखाइदिन’ फेरि मुम्बई ब्लास्टको योजना बुन्छन् । मुम्बई बम ब्लास्टका मास्टर माइन्ड बिलाल (कुमुद मिश्रा) स्लिपर सेलमार्फत फेरि एक पटक धमाका

गर्न मुम्बई छिर्छन् । भारतमै धर्मभीरुको छद्मभेषमा बसेका लस्करकै कादर उस्मानी (गुल्सन ग्रोबर) को सहयोग लिन्छन् । अनि सुरु हुन्छ, फिल्ममा निर्देशक सेट्टीमार्काका दृश्य एकपछि अर्को– ट्याक्सी ड्राइभरलाई पक्रिन हिरोको हेलिकप्टर चेजदेखि बमको धमाकामा हावामा उडेका कारसम्म ।

रोहित सेट्टीले सन् २०१८ मै आफ्नै फिल्म ‘सिम्बा’ मार्फत मुख्य चरित्रसहित सूर्यवंशीको हल्ला सुरु गरिसकेका थिए । त्यसो त उनले पहिल्यै ‘सिंघम’, ‘सिंघम रिटर्न्स’ र ‘सिम्बा’ बाटै कप युनिभर्स बनाइसकेका थिए । यसपालि ‘सूर्यवंशी’ मा कप युनिभर्सकै हिरोहरू अजय देवगण र रणवीर सिंहलाई पनि इन्ट्री गराएर फिल्मलाई आफ्ना फ्यानमाझ बहुप्रतीक्षित बनाइसकेका थिए । प्रतिफल फिल्मको ओपनिङ जबरदस्त पनि रह्यो । दुर्भाग्य, वाहवाही ‘सिंघम’ र ‘सिम्बा’ जति पनि पाएनन् ।

पूरा फिल्ममा इस्लामोफोबिया हावी छ । मुसलमानप्रति फिल्म जति डराएको छ, त्योभन्दा बढी उक्त समुदायप्रति दर्शकलाई अनावश्यक घृणा पैदा गर्न समय खर्चिएको छ । टोपी लगाउने, प्रार्थना गर्ने र लामो दाह्री पाल्ने मुसलमानलाई घुमाउरोसँग आतंककारीको बिल्ला भिडाउन फिल्मले खुब कसरत गरेको छ । त्यसविपरीत सफाचट, भारतको वफादार निवृत्त प्रहरी नइम खानजस्ता मुसलमानलाई असल चरितार्थ गरेको छ । कुनै एक समुदायलाई थ्रेटका रूपमा परिभाषित गरेर गुजारा चलाउने ‘सूर्यवंशी’ जस्ता फिल्म खासमा बलिउडका लागि थ्रेट हुन् ।

‘सूर्यवंशी’ मा टर्न एन्ड ट्वीस्ट खास छैन । हुन त तपाईं रोहित सेट्टीका फिल्मको फ्यान हुनुहुन्छ भने तिनमा कथा, पटकथा खोज्दै खोज्नुहुन्न, भन्नै पर्दैन । त्यसो त फिल्मले केही राष्ट्रवादका मसला पनि हालेको छ । मान्छे मार्ने लाइसेन्स पाएका सेट्टीका हिरोवाला पुलिसले बोल्ने देशभक्तिका संवाद, मुसलमान हिन्दु भाइभाइवाला फिलिङ्स दिने केही क्लिशे दृश्य अनि ९० को दशकका हिट नम्बरलाई रि–क्रियट गरेर राखिएका गीतमा हिरोइनको ग्ल्यामर डान्समार्फत पनि फिल्मले भरथेग गर्न खोजेको छ । सुक्खा मनोरञ्जन खोज्ने दर्शकका लागि यो ‘वाह’ लाग्न सक्छ । नत्र साढे दुई घण्टा लामो ‘सूयंवशी’ अझै लामो लाग्नेछ । फस्ट हाफसम्मको स्क्रिनप्ले स्लो छ । क्लाइमेक्सअघि नै डुबिसकेको फिल्मको उद्धारमा निर्देशकले रणवीर र अजयलाई पठाएर अक्षयसँगै डुबाइदिएका छन् । त्रिमूर्ति भएर बन्दुक पड्काउनबाहेक उनीहरूको उल्लेख्य भूमिका छैन ।

रोहित सेट्टीले दिवाली उत्सवमा ठूलै धमाका दिने सुरले ल्याएको ठूलै पटाका थियो– सूर्यवंशी । तर, त्यसको बारुद कति ओस्सिएको रहेछ हलमा झोसिएपछि नै खुल्यो, परिणाम फिस्स ।

प्रकाशित : मंसिर ११, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?