कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

५० वर्षअघिको कर्णाली

जुम्लामा तीनथरी मानिस थिए– एक उनीहरु आफैं, दोस्रो इष्ट र तेस्रो सरकारी कर्मचारी जसलाई जुम्लीहरु ‘गोर्खाली’ भन्थे ।
जनकराज सापकोटा

आईए पास भएपछि नायब सुब्बाको जागिर सुरु गरेका विहारीकृष्ण श्रेष्ठको पहिलो पोस्टिङ थियो– त्रिभुवन ग्राम विकास विभागमा । संयोग कस्तो पर्‍यो भने त्यतिबेलै अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका मानवशास्त्री जोन हिचकक एक मानवशास्त्रीय अध्ययनका लागि नेपाल आएका थिए । ती मानवशास्त्रीलाई दोभासे उपलब्ध गराउने जिम्मेवारी थियो, ग्राम विकास विभागको ।

५० वर्षअघिको कर्णाली

विभागका हाकिमले अंग्रेजी जानेका विहारीलाई सोधे– तिमी दोभासे भइदिन्छौ ?

भोलिपल्ट जोनले एकसरो अन्तर्वार्ता लिएपछि विहारी छनोटमा परे । मानवशास्त्री जोन उतिबेला स्याङ्जा जिल्लामा पर्ने किहुँ र वागलुङको ढोरपाटनका मगर जातिको तुलनात्मक सांस्कृतिक अध्ययन गर्दै थिए । उनी जोनसँग ३ महिना किहुँ र ६ महिना ढोरपाटन बसे । रुचिपूर्वक मानवशास्त्रीय अध्ययनमा संलग्न भएकाले उनी दोभोसेबाट रिसर्च असिस्टेन्टमा बदलिए । त्यही अध्ययनपछि हिचककले ‘द मर्गस अफ बन्याल हिल’ किताब लेखे ।

त्रिचन्द्र क्याम्पसबाट बीएको पढाइ सकेपछि विहारीले अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) को सहयोगमा अमेरिकाको मिसिगन स्टेट विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गर्ने अवसर पाए । पढाइ सकेर फर्केपछि तत्कालीन गृह पञ्चायत मन्त्रालयमा काम थाले । मन्त्रालयले उनलाई पञ्चायती व्यवस्था पढाउन सरकारी तवरबाटै खोलिएको एक समितिमा काम गर्ने गरी चितवन सरुवा गरिदियो । चितवनमा एकवर्षे जागिरमा हाकिमसँग कुरा नमिलेपछि गृहमै फर्किए । उनलाई के काम दिने होला भनेर मन्त्रालयका हाकिमहरू रनभुल्ल परिरहेका बेला तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट ‘मानवशास्त्री उपलब्ध गराइदिने’ भन्ने व्यहोराको पत्र मन्त्रालयमा आएको रहेछ ।

प्रतिष्ठानका सह–सदस्य रहेका सत्यमोहन जोशीले कर्णालीको सामाजिक, सांस्कृतिकलगायतका विषयमा पाँच फरक–फरक अध्ययन गर्ने काम अगाडि बढाएका थिए । कर्णाली लोक संस्कृति सर्वेक्षण नाम दिइएको उक्त अध्ययनमा इतिहासको अध्ययन गर्न जोशी आफैं कस्सिएका थिए भने भौगोलिक दृष्टिकोणको अध्ययन गर्न स्थिर जंगबहादुर सिंह, भाषाको अध्ययन गर्न चूडामणि बन्धु, साहित्य, संगीत–कलाको अध्ययन गर्न प्रदीप रिमाल छानिएका थिए । अब जोशीलाई खाँचो थियो, मानवशास्त्रीको । प्रतिष्ठानको पत्र देखाएर हाकिमले सोध्नेबित्तिकै विहारी जुम्ला जान तयार भइहाले ।

२०२७ जेठमा पाँच जनाको टोली जुम्ला जाने भयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत काम गरिरहेको विदेशी संस्था सर इन्स्टिच्युट अफ लिङ्गुइस्टिक्ससँग सानो एक इन्जिन भएको ६ सिटे हवाईजहाज थियो । त्यही जहाज चढेर उनीहरू काठमाडौंबाट जुम्लाको सदरमुकाम खलंगा पुगे । एअरपोर्टबाट सोझै अञ्चलाधीश बद्रीविक्रम थापाको क्वार्टर पुगे । प्रशासनिक काम बोकेर सरकारी कर्मचारीबाहेक अरू मुस्किलले पुग्ने जुम्लामा उनीहरू आएको देखेपछि अञ्चलाधीशले छक्क परेझैं सोधे, ‘तपाईंहरू यहाँ किन आउनुभएको ? यहाँ त हेर्ने केही कुरै छैन ।’

विहारीले सम्झनाको पत्र उप्काउँदै सुनाए, ‘जुम्ला त अर्कै ग्रहजस्तो थियो । न बजार थियो, न कुनै कारोबार ।’ उनका अनुसार, जुम्लामा त्यतिबेला तीनथरी मानिस थिए, एक उनीहरू आफैं, दोस्रो इष्ट र तेस्रो गोर्खाली अर्थात् सरकारी कर्मचारीहरू, जसलाई जुम्लीहरू ‘गोर्खाली’ भन्थे ।

उनका अनुसार, लामो समय कुमाउ गढवालका खस शासकहरूबाट शासित कर्णाली क्षेत्र गोर्खा राज्यमा विलीन भए पनि आफ्नै विशेष अस्तित्व भएको छुट्टै सांस्कृतिक क्षेत्रको रूपमा रहिरहेको थियो । कर्णाली प्रशासनिक रूपमा काठमाडौंसँग जोडिए पनि अन्य प्रभावबाट भने अलग्गै थियो ।

सदरमुकामबाट पाँचै जना अनुसन्धानकर्मी पाँच दिन हिँडेर हाडसिंजा पुगेका थिए । विहारीका अनुसार, त्यतिबेला स्थानीय भरियाहरू, जसलाई ‘भारी फाल्ने’ भनिन्थ्यो, जो गाउँको साँधसम्म पुगेर भारी फाल्थे र फर्किन्थे । अनि अर्को गाउँसम्मका लागि नयाँ भारी फाल्नेहरू खोजिन्थ्यो । गाउँ–गाउँमा उनीहरूका लागि बास र खानाको व्यवस्था भने स्थानीयको परम्परागत रूपमा बाँधिएको पालोअनुसार हुन्थ्यो । विहारीले सुनाए, ‘आफूहरू जौ र गौं खाने भए पनि गोर्खाली आउँदा ख्वाउन चामल जोगाएर राखेका हुन्थे । परम्परागत पालोअनुसार कसैले चामल दिने, कसैले दाल र कसैले भाँडाकुँडा त कसैले दाउरा पानी दिएर चुलो बल्थ्यो ।’

पश्चिम बगेको तिला नदी पछ्याउँदै सिन्जा खोलाको दोभानबाट उकालो लागेर अनुसन्धानकर्मीको टोली हाडसिन्जा गाउँ पुगे । सबैको आ–आफ्नो विषय क्षेत्रअनुसार अध्ययन सुरु गरे । विहारीले भने मानवशास्त्रीय अध्ययनअनुसार, ठकुरीहरूको आँखाबाट मिश्रित समाजको अध्ययन गरे । त्यहाँ कथित तल्लो जातका भनिने कामी, दमाई र सार्कीजस्ता जातकालाई कमसेल भन्थे भने कथित उपल्लो जातका मानिने बाहुन–क्षत्रीलाई चोखा । उनका अनुसार, त्यहाँका कमसेलको काम चोखाको सेवकजस्तो हैसियतमा थियो ।

उनीहरू करिब एक महिना हाडसिन्जा बसे । विहारीले भने २८ दिन लगाएर २१ घरको अध्ययन गरे । त्यहाँ एक घरबाहेक २० घरकै श्रीमतीहरू दोस्रो वा तेस्रो विवाह गरेर आएका थिए । यस्तो अभ्यासबारे अचम्म मानेर उनले एक स्थानीयसँग चासो राखेछन् । तिनले बडो सानका साथ बताएछन्, ‘मर्दले त हो अर्काकी स्वास्नी ल्याउने ।’ विहारीले हाँस्दै सुनाए, ‘अर्काकी स्वास्नी ल्याउनुलाई मर्दपना ठानिने चलन पो रहेछ ।’

अध्ययनका क्रममा पारिवारिक र निजी कुराहरू पनि लेख्नुपर्ने हुन्थ्यो । व्यक्तिगत गोपनीयता खुल्ने डरले उनले मानवशास्त्रीय अध्ययनको नियमअनुसार गाउँको नाम बदलेर किताबको नाम ‘दियारगाउँका ठकुरीहरू’ राखे । उनीसँगै गएका अन्य चारले पनि विभिन्न चार शीर्षकमा पुस्तक तयार पारे, जसलाई तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले २०२८ सालमा प्रकाशित गर्‍यो । यी पाँचै पुस्तकले २०२८ सालमा मदन पुरस्कार पाए ।

पचास वर्षअघि छापिएका यी पाँचै पुस्तक केही साताअघि अनुसन्धानमूलक काम गर्ने संस्था सोसल साइन्स बहाः र हिमाल किताबले पुनः मुद्रण गर्‍यो । पाँचै पुस्तकको नवसंस्करण विमोचनमा जुम्लाका सासंद छक्कबहादुर लामाले कर्णाली भनेको विलुप्त संसार भएको बताउँदै यी पुस्तकले ‘त्यो संसारलाई’ अनुसन्धानमार्फत बाहिर ल्याइदिएको सुनाए । कर्णालीको अद्वितीय र रहस्यमय संसार किताबले उजागर गरेको बताउँदै उनले भनेका थिए, ‘कर्णालीको पुनर्जागरणमा यी किताबले मद्दत पुर्‍याउनेछन् ।’

विहारीले पुराना दिन सम्झिँदै भनेका थिए, ‘हामीले देखे–भोगेको जुम्ला अर्कै ग्रहको संसारजस्तो थियो । सायदै त्यो अब कसैले देख्न पाउला ।’

अध्ययन सकेर फर्केपछिका कैयन वर्षसम्म विहारीका निम्ति हाडसिन्जावासी इष्टजस्तै भएका थिए । केही जुम्लीहरू कामविशेषले काठमाडौं आएका बेला विहारीलाई भेटिहाल्थे । एक जना जुम्ली व्यापारी त काठमाडौं आएका बेला विहारीकै बैंक खातामा पैसा जम्मा गर्थे र चाहिएका बखत विहारीलाई भनेर निकाल्थे । आफूमाथि उनले देखाएको विश्वास सम्झेर विहारी अहिले पनि मुसुक्क मुस्काउँछन् ।

अध्ययन सकेको २० वर्षपछि पनि हाडसिन्जाले विहारीलाई बोलाएजस्तै भयो । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को नेपाल प्रमुख थिए, एक समय एसियाली विकास बैंकमा कार्यरत एक जर्मन नागरिक । अमेरिकन दूतावासले दिएको एउटा रिसेप्सनमा विहारीको भेट तिनै जर्मनसँग भयो । पुरानै चिनाजानीको फेरो समातेर ती जर्मनले उनलाई भने, ‘विहारी तिमी फेरि जुम्ला गएर तुलनात्मक अध्ययन किन गर्दैनौ ?’

नभन्दै त्यो भेटपछि इसिमोडले फोर्ड फाउन्डेसनको लगानीमा विहारीलाई हाडसिन्जाको बदलिँदो स्वरूपबारे अध्ययन गर्न पठायो, विसं २०४७ सालमा । त्यो थियो पञ्चायत सकिएर प्रजातन्त्र आएपछिको समय । विहारी फेरि हाडसिन्जा पुगे ।

२० वर्षको अन्तरमा जुम्ला धेरै फेरिएको थियो । परिवर्तनको बाछिटाबाट हाडसिन्जा पनि अछुतो थिएन । दुई दशकअघि १२ दिनको पैदल नापेर हाट गर्न नेपालगन्ज जाने जुम्लीहरूको पैदलयात्रा छोटिएर ६ दिनको भएछ । किनकि त्यतिबेला सुर्खेतसम्म मोटरबाटो पुगिसकेको थियो । स्थानीयले सरकारी कर्मचारीलाई गोर्खाली भन्न छाडिसकेका थिए । ऐंचोपैंचोमा चल्ने प्रणालीको सट्टा दोकानहरू खुल्न थालिसकेका थिए । रैथानी बालीबाट गुजारा चलाउने जुम्लीले ओखर र स्याउजस्ता नगदेबाली लगाउन सुरु गरेछन् ।

दोस्रोपटक उनले ४२ घरको विस्तृत अध्ययन गरे । विहारीले अध्ययनको सार खिचेझैं सुनाए, ‘गरिब त झनै गरिब भएछन्, धनी झन् धनी । बाहिरबाट जाने विकास र निर्माणको पैसामा पनि ठालुहरूकै हालीमुहाली हुने भएकाले उनीहरू झनै धनी भएछन् ।’ विहारी पुग्ने बेला प्रजातन्त्र स्थापनापछिको पहिलो चुनाव हुँदै थियो । कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार भोट माग्दै घर घर पुगिरहेका थिए । भोट नदिए ठीक नहुने भनेर उनीहरूले घुर्की पनि लगाइरहेका थिए । विहारीले सुनाए, ‘उम्मेदवार रिसाउँलान् भनेर अधिकांश कमसेल अर्थात् दलितहरूले परिवारको भोट बाँडेर तीनैवटा पार्टीलाई दिएछन् ।’

त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन संस्थान (सिनास) मा रिडरका रूपमा समेत एक वर्ष काम गरेका र तीन दशक समय सरकारी सेवामा बिताएका विहारी उतिबेलाको बेग्लै स्वरूपको जुम्लालाई आफूले जसरी नजिकबाट देख्न र अनुभव गर्न अब कसैले नसक्ने बताउँछन् । डाक्टर हर्क गुरुङका अनुसार, तेह्रौं शताब्दीतिर निर्माण भएको दुई कोस लामो जचौरी कुलोको व्यवस्थापन स्थानीय समुदायले कसरी गरिरहेको छ भनेर विहारीले त्यही अध्ययनका क्रममा जान्न–बुझ्न पाए । त्यही बुझाइले उनलाई विसं २०३९ मा विकेन्द्रीकरण ऐन तर्जुमा गर्ने बेला उपभोक्ता समूहको अवधारणा समावेश गर्न सघायो । एक समय राजदरबारको जाँचबुझ केन्द्रमा विशेष अधिकृतका रूपमा काम गरेका र २०४७ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा पजनीमा परेर पदमुक्त भएका विहारी अहिले पनि जुम्लाको मानवशास्त्रीय अध्ययनमा संग्लन भएको समयलाई जीवनकै सबैभन्दा गतिलो कामका रूपमा सम्झिन्छन् ।

८० वर्षीय विहारीले भने, ‘साबिकको कुमाउ गढवाल सम्मिलित सांस्कृतिक क्षेत्रलाई धेरै पहिले नै छोडिसकेको, तर नेपाल अधिराज्यको सांस्कृतिक मूल प्रवाहमा नमिसिइसकेको जुम्लाको समाज देख्न र भोग्न पायौं । कमैले पाउने त्यो अवसर मैले पनि पाएँ । थ्याक्स गढ !’

प्रकाशित : मंसिर ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?