आमासँग एकालाप
सम्झिन्छु,
पिँढीमा राखिएको खाटमा बसेर
दिनभरि जिन्दगीको एक धरो धागो समातेर
पारि डाँडाको बुद्धको मूर्ति हेर्थिन्
र, त्यसैत्यसै खुसी हुन्थिन् मेरी आमा ।
कंशले देवकी र वासुदेवलाई बन्दी बनाएझैं
समयको जञ्जिरले
मलाई कक्रक्क जकडेका बेला
मेरा कानहरुबाहेक
सारा ज्यान शिथिल भएका बेला
ज–जसले जे खबर सुनाए,
लल्याकलुलुक भएर लाचारीका साथ सुन्नुबाहेक
मैले केही गर्न सकिनँ,
अरु त के कुरा, मैले भन्न चाहेर पनि,
उनीहरुलाई ‘झुठो खबर सुनाउने
तिमीहरु ढाँट हौ’ भन्न सकिनँ ।
मेरो मनमा
मेरी आमा अहिले पनि
उज्यालो नहुँदै जागा हुन्छिन्
र, जगत्लाई ब्युँझाउँछिन्–
‘उठ ए उठ, घाम डाँडामाथि आइसके
बेंसीखेत र पाखाबारी रोप्न जानु पर्दैन ?
भकारो सोहोर्यौ, पैह्राको काभ्रो झार्यौ ?’
याद आउँछ– एउटै विषयमा दिनमा
तीनचोटि हाँस्थिन् आमा,
र, चौथोचोटि ‘ए अघि नै यही कुरामा हाँसेको,
फेरि हाँसेछु’ भन्ने सम्झेर
फेरि मुसुक्क हाँस्थिन् ।
वर्तमान र आगतले होइन
विगतले धेरै आनन्द ल्याउँथ्यो आमाको मुहारमा
उनको आँखाको झ्यालबाट हाम्फालेको मुस्कान
जब मेरो संसारमा ओर्लिन्थ्यो,
ठ्याक्कै मैले कल्पना गरेजस्तै
अलौकिक देखिन्थ्यो मेरो संसार ।
कुनै दिन त मेरा खुट्टा तङ्ग्रिनेछन्,
कुनै दिन त मैले बाटो पहिल्याउनेछु
र, तिमीसम्म आइपुग्नेछु,
तिमीलाई मन पर्ने स्वादको
एक पोका पिपरमिन्ट लिएर
म त्यै पिँढीको खाटमा बसिरहेकी
तिम्रो चरणमा टाउको बिसाउन आइपुग्नेछु,
अनि तिमि,
बाले लाहुरबाट ल्याइदिएको
बुलाकीको कथा सुनाउली,
म हाम्रो भैंसी मल्लाते वनको भीरबाट खस्दा
गाउँलेहरुसँग मिलेर मामाले
काँध हालेर निकालेका दिनको
खुसीबारे सोधौंला ।
म नआउन्जेल
आमा, त्यही पारि डाँडाको
बुद्धमूर्ति हेर्दै मलाई कुरेर बस्नू है !
प्रकाशित : मंसिर ११, २०७८ ११:२१