कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘तिम्रो सुन्दर रूपमा बस्छु म’

सबै गीत, कविता वा कथा लेख्दा सधैंजसो रूमानी भावले मात्रै काम गर्छ भन्ने होइन । सृजनाका हकमा सधैंसधैं स्वैरकल्पना मिसिएकै हुन्छ भन्ने केही छैन । गायक गणेश रसिकले साढे ३ दशकअघि बेहोरोको एउटा क्षणसँग कसरी एउटा अमूर्त अनुभूतिले जीवन्त सृजना बनाएको थियो भन्ने दृष्टान्त यहाँ पेस छ । 
गणेश रसिक

४७ वर्ष लामो सहयात्रा र सहचार्यपछि जीवनसाथी नीरा शेरचनले एकाएक साथ छाडिन् । र, म एक महिनायता एक्लिएको छु । संयोग के छ भने काठमाडौंमा डेरा जीवनबाट सुरु भएको नीरासँगको सहयात्रा डेरामै टुंगिएको छ, पत्यारै नहुने गरी । २०३१ सालको एक शुभसाइतमा हामी धोबीचौरको डेरामा थियौं, नवजीवनको तादात्म्य र उन्माद बोकेर ।

‘तिम्रो सुन्दर रूपमा बस्छु म’

लगत्तै कालिकास्थान सर्‍यौं अनि धोबीधारा र त्यसपछि जाउलाखेल । २०३४ सालतिर हामी नक्साल भगवती–बहालछेउको डेराघरमा आइपुग्यौं । कर्नेल गेहेन्द्रजंग थापाको पहेंलो घरमा हामी डेरामा बसेका थियौं ।

यी कर्नेल एक जना इन्जिनियर हुन्, जसले राजविराजको सहरीकरण योजना तय गरेका थिए । कर्नेलको घर नक्साल क्षेत्रकै राम्रो भएकाले ००७ सालदेखि नै त्यहाँ मन्त्री र उच्च पदस्थहरू भाडामा बस्थे । परिस्थितिवश त्यही घरमा म डेरा गर्न पुगें । कस्तो किस्सा चलेको थियो भने त्यो घरमा बस्नासाथै कोही मन्त्री भइहाल्नेछ भन्ने थियो । तर, म त्यो कोटामा परिनँ ।

गणेश रसिककी जीवनसाथी स्वर्गीय नीरा शेरचन

आफ्नो काम र कुदाकुद चलिरहेकै थियो । गायक भइटोपलेको नचाहिँदो ‘भ्रम’ साथैमा थियो, साथमा लेकाली छँदै थियो । त्यही रन्कोमाझ आफूले चाहेको काममा उपलब्धि मिलोस्, मनमा शान्तिले बास गरोस्, मन चञ्चल नबनोस् भन्नैका लागि म घर–आँगनको भगवतीबहाल जान थालेँ । नियमित भगवतीको आराधना गर्न थालेँ । अचम्मैसँग मलाई देवी–देउताप्रति आस्था जाग्न थाल्यो । बहालमा रहेका बूढा–पुराना श्रद्धालु र त्यहाँका पुजारीहरूलाई भगवतीबहाल र त्यहाँको मूर्तिबारे जिज्ञासा राख्न थालेँ । लिच्छविकालीन भगवती मूर्तिबारे अनेक किस्सा रहेछन्, त्यसमध्ये एउटा भने कला सृजना र साधनामा जोडिएको रहेछ, त्यसले मलाई हुरुक्कै पार्ने गरी छोयो । अनि, त्यसैको सोधीखोजीमा म लागेँ ।

...

सोधीखोजीकै क्रममा काभ्रेमा रहेको पलाञ्चोक भगवती, शोभाभगवती र नक्साल भगवतीबारे एउटै युगको एउटै कलाकारको ‘मिथ’ जस्तै सूचना पाएँ । लिच्छविकालीन एक राजाकै पालामा एक स्थानीय कलाकारले पलाञ्चोक भगवतीको मूर्ति बनाएका थिएछन्, मूर्ति बन्दै गर्दा यो खबर राजाकहाँ पुग्नासाथै ‘आफ्नो अनुमति नलिई बनाएको’ अथवा ‘आफूलाई बढी क्षमतासिद्ध देखाउन खोजेको’ भन्दै राजाले त्यो कलाकारको दाहिने हात काटिदिएछन् । तैपनि कला र कलाकारको त्यो ढिट स्वभाव तथा हृदयदेखिको लगाव त बाँचेकै थियो । फेरि अर्को चरणमा त्यही कलाकारले देब्रे हातका भरमा शोभाभगवतीको मूर्ति बनाएछन्, राजाले यो थाहा पाएर उसको देब्रे हात पनि काटिदिए । पलाञ्चोक भगवतीलाई नेपालकै उत्कृष्ट शिल्पी भएको मूर्तिका रूपमा लिने गरिन्छ । नभन्दै दाहिने हातले बनाएको मानिने पलाञ्चोक भगवतीको ‘फिनिसिङ’ निकै राम्रो छ, देब्रे हातले बनाएको शोभाभगवती ठीकै मात्र छ । यो ‘रे’ को कुरा मात्रै हो अथवा यसमा केही ऐतिहासिकता र तथ्य छ भन्ने सरोकार अझै पनि मेरो खोजीमै छ ।

संयोगले काभ्रेनिवासी स्थानीय विषयका जानकार अध्येता गोपीकृष्ण खरेललाई पनि मैले यो मूर्तिको किस्सा र कलाकारको लगावबारे सरोकार राखेको थिएँ । उहाँले यसको ऐतिहासिकता र सुनेबुझेको कुरा सुनाउनुभएको थियो । लाजिम्पाटमा डिल्लीरमण रेग्मी पुस्तकालयमा रहेको ‘लिच्छविकालीन सन्दर्भ’ पुस्तकमा भगवती मूर्तिबारेको ऐतिहासिकतामा केही लेखिएको जानकारीसमेत दिनुभयो (सम्भवतः यो कृति ‘लिच्छविकालीन अभिलेख’ हुन सक्छ ।) यसबारे इतिहासविद् दिनेशराज पन्तलाई पनि एक पटक सोधेको थिएँ, तत्कालै खासै जवाफ पाइनँ । तर, आफ्नै दौडधुप र बीचमा कोरोना संक्रमणको बहानाबाजीमाझ भगवती मूर्ति निर्माणबारे मैले थप जानकारी पाउन सकेको छैन ।

तर, कहीँ–कतैबाट कहानी बन्दै आएको ‘रे’ कै कुरा भए पनि मलाई भगवतीको मूर्तिमा जोडिएको विषयले सधैं खोतलिरह्यो— मन–मस्तिष्कमा । मैले यसमा धार्मिक वा आध्यात्मिक दृष्टिभन्दा पनि मूर्ति सृजनाप्रति कलाकारको प्रेम देखेँ । प्रेम र समर्पण कतिसम्म भने त्यही कलाकारले दुवै हात काट्दा पनि हार नमानेर खुट्टाले समेत मूर्ति बनाएको किस्सा पनि सुनेको थिएँ ।

यही प्रभाव र अलौकिक खालको अमूर्त भावमाझ मैले २०६० सालतिरै एउटा मूर्ति–गीत लेखेँ । भनिन्छ— कवि–गीतकारहरू लहडी हुन्छन्, भावनामा बत्तिहाल्ने । तर, भगवती मूर्तिको कथानकमा मैले जे कुरा लगातारजसो सुन्दै आएको थिएँ— त्यसमा मैले ‘रे’ को अन्तर्य मात्रै भेटिनँ, अरू धेरै कुरा पाएँ । कतिपय बाहिरी विश्वका यस्तै कथानकमा पनि शासकले कलासृजना र सर्जकमाथि गर्ने गरेको अत्याचार र दमनका कथाहरू लुकेकै हुन्थे, इतिहासमा यस्तै पढिएकै हो । जस्तो, दक्षिण भारतको अजन्तादेखि ताजमहल सृजनासम्मका इतिहासमा यस्तै कथा पढिँदै र सुनिँदै आएको हो ।

अनि मैले लेखेँ— मूर्तिको गीत :

तिम्रो सुन्दर रूपमा बस्छु म ।

— यो रूप नै कुरूप भए के गर्छौ ?

— तिम्रो हेर्ने आँखामा बस्छु म ।

— आँखा नदेख्ने भए के गर्छौ ?

— मनको आँखाले हेर्छु म ।

— मनै ढुंगा भए के गर्छौ ?

— त्यही ढुंगामा तिम्रो मूर्ति कुँदेर,

तिमीलाई सम्झी माया गर्छु म,

माया गर्दै बाँच्छु म ।

गीत लेख्दाको सुरुआतमा त्यो ‘बाँच्छु’ भन्ने शब्द थिएन, बरु ‘मर्छु’ भन्ने मात्रै थियो । तर, यो मर्ने र बाँच्ने शब्दावली आएपछि अनायास म रोएको थिएँ, म थामिनै सकेको थिइनँ । त्यही भएर यसलाई ‘माया गर्दै बाँच्छु म’ बनाएको थिएँ ।

...

एक बसाइमा लेखिएको अलि लामो गीत थियो यो, यसमा लय पनि सहजै आयो— भगवतीकै आशीर्वाद रहेझैं । गीत तयार हुनासाथै सीमित आफन्त श्रोतामाझ पहिलोपटक इलाम घरमा यो गीत सुनाएको थिएँ— लगभग १५ वर्षअघि । गीत सुन्नेहरू गीतभित्रको कथा र संवेदना सम्झेर अचम्मित भएका थिए, पछि काँकडभिट्टाको साहित्य महोत्सवमा पनि यो गीत सुनाएपछि केही मर्मज्ञ श्रोतागणले गीतको भावभूमिबारे निरन्तर सोधिरहेकै हुन्थे ।

केही वर्षसम्म यो गीतको गायकी र लयमा परिमार्जन गरेपछि मैले गायिका झुमा लिम्बूसँग मिलेर यसमा स्वर भरेको थिएँ, बल्ल गीत रेकर्डमा आएको थियो । यसरी भन्नुपर्दा यो गीतका शब्द, स्वर वा लयभन्दा पनि यसभित्रको संवेदनाले मलाई सधैं हुँडलिरहेका कारण आज म यसमा पोखिएको हुँ ।

कला र कलाकारका यस्तै मिथकबारे अरूहरूले पनि लेखेका छन् । ‘हाम्रो संस्कृति’ भन्ने पत्रिकामा पनि यसबारे लेखिएको छ । गीतकार यादव खरेलले पनि यो कथा फेसबुकमा हाल्नुभएको रहेछ । पलाञ्चोक क्षेत्रमा यो कथा निकै प्रचलनमा रहेछ । यसका पछाडि यथार्थ कति छ, थाहा भएन । तर, यो सृजना मन–मस्तिष्कलाई संवेदित बनाउने एउटा कथा पक्कै हो, कम्तीमा मेरा लागि ।

यसरी कुनै मिथकभन्दा पनि बारम्बार सुनेको कुरालाई मैले शब्दमा उनेको हुँ । म कुनै दार्शनिक होइन, अथवा व्याख्यातासमेत होइन । यसको व्याख्या गर्न मलाई आउँदैन । मैले एउटा कल्पना गरेँ— यस्तो कल्पना आयो कि मैले थामिनै नसकेर लेखेँ । साँच्चै मैले रुँदै लेखेको हुँ यो गीत । यो गीतको शब्द र भावको संवेदनामा मेरी श्रीमती नीरा पनि भावुक हुन्थिन्, गीत गाइरहँदा नजिकै बसिरहेकी उनी के–के न बितेझैं गरी भान्सातिर लाग्थिन् । म आज सम्झिरहेको छु । यो गीतको कथानक सम्झेर र बुझेर इटहरीका प्रतिभा सम्पन्न कलाकार सोनु जयन्तीले एउटा गीति–नाटक नै बनाएका रहेछन् । कलालय नाटकको मञ्चमा यो थुप्रैपटक प्रदर्शनीमा आइसकेको मैले थाहा पाएँ । तर, आफैंले हेर्न भने पाएको छैन ।

यसरी कहिलेकाहीँ हठात उब्जिएको एकखालको क्षणिक भावना र स्वैरकल्पनाले निकै अप्ठ्यारो परिस्थिति जन्माइदिने रहेछ, एउटा लहड पनि यति ‘विचारणीय’ बन्ने रहेछ कि मैले सोचेकै थिइनँ । धेरै वर्षअघि नक्साल भगवतीका डेरा–घरमा छँदै यो गीतको रचनागर्भमा जोडिएकी मेरी श्रीमती नीरा आज यो जगत्मै रहिनन् । तर, भगवतीको आराधना र कलाकारको सृजनामा पनि नजानेरै आफ्नै जीवनलाई उधिन्ने गरी यो गीत लेखेजस्तो संवेदित मुड–मुद्रामाझ म उभिएको छु । एउटा मूर्तिकारले मूर्तिलाई हेरेर भनेझैं श्रीमती नीराको मूर्तिजस्तो तस्बिर हेरेर नक्साल भगवतीकै सामुमा उभिएर म पनि भनिरहेको छु—

‘तिमीलाई सम्झी माया गर्छु म ।

माया गर्दै जिउँछु म ।’

मूर्तिकार–मूर्ति संवाद

मूर्तिकार : तिम्रो सुन्दर रूपमा बस्छु म ।

मूर्ति : यो रूप नै कुरूप भए के गर्छौ ?

मूर्तिकार : तिम्रो हेर्ने आँखामा बस्छु म ।

मूर्ति : आँखा नदेख्ने भए के गर्छौ ?

मूर्तिकार : मनको आँखाले हेर्छु म ।

मूर्ति : मनै ढुंगा भए के गर्छौ ?

मूर्तिकार : त्यही ढुंगामा तिम्रो मूर्ति कुँदेर

तिमीलाई सम्झी माया गर्छु म ।

माया गर्दै जिउँछु म ।

मूर्तिकार : भोलि तिम्रो मूर्ति देखेर

कतिले देवी सम्झनेछन् ।

आस्था र भक्ति भावले

प्रेमले पूजा गर्नेछन् ।

हजारौं हजार वर्ष पनि

तिम्रो र मेरो प्रेमको कथा

निर्जीव निर्जीव यही मूर्तिमा

सजीव भएर बाँच्नेछ ।

मूर्तिकार : तिम्रो सुन्दर मूर्तिमा कुदिन्छु म ।

मूर्ति : हातै काटे के गर्छौ ?

मूर्तिकार : अर्को हातले बनाउँछु म ।

मूर्ति : दुवै हात काटे के गर्छौ ?

मूर्तिकार : खुट्टाले अर्को बनाउँछु म ।

मूर्ति : खुट्टै काटे के गर्छौ ?

मूर्तिकार : बाँकी यही मुटु छ ।

यही मुटुभित्र तिमीलाई राख्छु म ।

तिम्रो ढुकढुकी भएर बाँच्छु म ।

मूर्ति : तिम्रो हातखुट्टा काट्ने हातहरूले

मेरो मुटुको ढुकढुकी रोक्नेछ ।

ढुकढुकी रोके, भन के गर्छौ ?

मूर्तिकार : त्यही दिनबाट निर्दयी ती हातहरू नै

आफ्तो चिता आफैं बन्नेछ ।

त्यही चितामा आफैले आफैलाई सल्काएर

खरानी भई नदीमा मिल्नेछ ।

सुन, सुन, सुन, सुन...!

एकल संवाद—

जब जब म पलाञ्चोक भगवतीको दर्शन गर्न पुग्छु

जब जब म शोभा भगवतीको दर्शन गर्न पुग्छु

तब तब म तिनै महान् कलाकारको काटिएको दुवै हात सम्झँदै

आफ्नो दुवै हात जोडेर प्रणाम गर्दछु ।

जब जब म नक्साल भगवतीको दर्शन गर्न पुग्दछु

तबतब म तिनै महान् कलाकारको काटिएको दुवै खुट्टा सम्झँदै

उनको पाउमा श्रद्धाले शिर झुकाउँछु ।

प्रकाशित : मंसिर ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?