कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

जंगबहादुरको त्यो जनगणना

काठमाडौं उपत्यकाका तीन सहरमा गरिएको जंगबहादुर युगको त्यो जनगणना घर संख्याका आधारमा भएको थियो । घरहरू दुई प्रकारमा विभाजन थिए– झिंगटी घर, परालको घर ।
हिमेश

जंगबहादुर राणाले विसं १९१० मा गराएको जनगणना के ‘जनगणना’ थिएन ? त्यसलाई होइन भन्ने हो भने ५८ वर्षपछि चन्द्रशमशेरको पालामा भएको जनगणना पनि ‘जनगणना’ थिएन । यदि चन्द्रशमशेरको जनगणनालाई ‘जनगणना’ मान्ने हो भने जंगबहादुरको जनगणना पनि ‘जनगणना’ नै हो । यत्ति ठोकुवा गर्छन्, इतिहासकार त्रिरत्न मानन्धर । अहिले पनि हाम्रोमा जनगणना चलिरहेको छ र यतिबेला जंगबहादुर–युगको ‘जनगणना’ सम्झिनु सान्दर्भिक हुन्छ ।

जंगबहादुरको त्यो जनगणना

भन्दै आएका छौं, चन्द्रशमशेरले विक्रम संवत् १९६८ मा गराएको जनगणना नै पहिलो हो । त्यो भनेको सन् १९११ को कुरा भयो । तर, हामीसँग जंगबहादुर–पालाको त्यस्ता दस्ताबेज उपलब्ध छन्, जसले भन्छ– उनकै पालामा नेपालमा पहिलो जनगणना भएको थियो । त्यो पक्कै पनि अहिलेजस्तो ‘वैज्ञानिक’ विधि, प्रक्रिया पुर्‍याएर गरिएको थिएन । जंगबहादुरका छोरा पद्मजंगले लेखेका छन्– जन्म र मृत्युको अभिलेख राख्न जनगणना गरिएको थियो ।

जंगबहादुर सन् १९०७ को अन्त्यतिर बेलायत यात्राबाट फर्केका थिए । बेलायतमा उनले धेरै थोक देखे, अनि त्यसबाट उनी प्रभावित पनि भए । सम्भवतः त्यसकै आधारमा उनले जनगणना गराएको हुन सक्छ । त्यसअघि जंगबहादुरले सन् १९१० मा नेपालको पहिलो मुलुकी ऐन जारी गरे । त्यसपछि उनले जनगणना गराएको देखिन्छ, वर्षको अन्त्यतिर । यसमा मुख्य गरी काठमाडौं उपत्यकाका तीन सहरको जनगणना गरिएको छ ।

पश्चिमतिर दाङ, सल्यान र प्यूठानसम्म पनि जनगणना गरिएको छ । यस्तै पाल्पा, अर्घाखाँचीसम्म पनि जनगणक पुगेका थिए । तर, आश्चर्यको कुरा के छ भने पूर्वतिर कतै जनगणना गरिएको देखिन्न । यस्तो किन भयो, यसको उत्तर छैन । हुन सक्छ, पहिले काठमाडौं र पश्चिमको काम सकाएपछि पूर्वतिर काम गर्ने योजना बनाइएको थियो । त्यतिबेला अहिलेजस्तो स्रोतसाधन थिएन, त्यसैले एकैचोटि सबै काम गर्न नसकिएको पनि हुन सक्छ ।

जंगबहादुरले विशेष गरी काठमाडौं सहरको जनगणनामा ध्यान दिएका छन् । त्यतिबेला काठमाडौं सहर कस्तो थियो ? इतिहासकार मानन्धर भन्छन्, ‘इन्द्रजात्राका बेला बौद्ध नेवार उपाकु यात्रामा निस्कने गर्छन् । यसक्रममा सहर घुम्ने काम गर्छन् । यो मध्यकालदेखि चल्दै आएको छ । त्यही सहरी क्षेत्रलाई जंगबहादुरले काठमाडौं सहर भनेर मानेका छन् ।’ काठमाडौंमा टुकुचा, पश्चिम बाग्मती उत्तर, विष्णुमती पूर्व, ठमेल चौकी सडक, दक्षिण सहरलाई काठमाडौं साँध सीमा मानेर जनगणना गरिएको देखिन्छ ।

पश्चिमी सीमा विष्णुमतीलाई मानिएको छ । विष्णुमती नदी भनिए पनि जनगणनाको काम न्ह्योखासम्म मात्र गरिएको छ । अहिलेको भुराख्यसम्म पनि जनगणना गरिएको छैन । सम्भवतः त्यतिबेला न्ह्योखाभन्दा पर बस्ती थिएन । भुराख्यः नेवारको देवाली मनाउने ठाउँ हो । त्यहाँ बस्ती नै बसेको थिएन होला । उत्तरी सीमा ठमेल चौकी लेखिएको छ । तर, ठमेल चौकी लेखिए पनि जनगणना ठंहितिसम्म मात्र गरिएको थियो । अहिलेको ठंहितिको उत्तरमा नजिकै क्वाबहाः छ ।

त्यो वस्ती मध्यकालकै हो । तर, त्यसमा यसबारे उल्लेख छैन्, खालि ठंहितिसम्म मात्र छ । दक्षिणमा भने वाग्मती नदीलाई सीमा मानिएको छ । तर, वाग्मती नदी भनिए पनि जनगणना लगन, ब्रह्मटोलसम्म गरिएको छ । यो पनि ठ्याक्कै उपाकु यात्रा गर्ने घेराभित्रै पर्छ । यही चार किल्लालाई जंगबहादुरले काठमाडौं सहर मानेका छन् । त्यतिबेला जगगणना घर संख्या र मानिसको संख्याको आधारमा गरिएको थियो ।

घरलाई पनि दुई प्रकारमा विभाजन गरिएको थियो । एउटा झिंगटी घर, अर्को परालको । धेरैको परालको घर थियो, केहीको पनि झिंगटी र पराल दुवैको घर भएको उल्लेख छ । मानिसको जनगणना गर्दा लोग्ने मानिस र स्वास्नी मानिस भनेर छुट्याइएको छ । घरमूलीको नामदेखि पसलहरूको विवरण, पसल साहुजीको नाम, उक्त टोलका मठ–मन्दिर, देवालय, पाटी, सत्तल, ईनार, धारा र पोखरीको पनि विवरण जनगणनामा समेटिएको थियो । विसं १९१०, १९११ र १९१३ मा गरिएको त्यस हस्तलिखित जनगणनामा भक्तपुरका २४ टोल, पाटनका २५ टोलको विस्तृत विवरण समेटिएको छ । जनगणनामा त्यतिबेला काठमाडौंको घर संख्या ७ हजार ८ सय ८२ र जनसंख्या ४६ हजार ७ सय ७५ रहेको उल्लेख छ ।

स्रोत के ?

त्यो जनगणनाको कागजात खोज्ने श्रेय जगदीशचन्द्र रेग्मीलाई जान्छ, उनले यसबारे धेरैअघि लेखेका थिए । मानन्धर भन्छन्, ‘यो तथ्य स्पष्ट खुलाउनैपर्छ । जंगबहादुरको जनगणनाको कागजात मलाई उहाँले दिनुभएको पनि थियो । भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय अभिलेखालयमा रहेको कागजातले पनि जंगबहादुरले गरेको जनगणनाको संकेत गर्छ ।’ ठीक यहाँनिर पद्मजंगले आफ्नो पुस्तकमा लेखेको पनि उल्लेख हुन आवश्यक छ । जंगबहादुरको जीवनीसम्बन्धी पुस्तकमा सन् १८६४ मा जनगणना गरिएको थियो भनी लेखिएको छ । त्यो भनेका विक्रम संवत्मा १९१९–१९२० तिर । तर, हामीसँग भएको कागजातले अर्कै तथ्य भन्छ, काठमाडौं सहरको जनगणना विवरण विक्रम संवत् १९११ जेठ सुदी २ मा तयार भएको भनेर उल्लेख छ ।

त्यसको अर्थ जनगणना १९१० मै भएको मान्न सकिन्छ । विवरण तयार पार्दा त्यो काममा खटिएका दुई कर्मचारीको नामसमेत छ । ती हुन्, कप्तान सताराम खत्री र सुवेदार जगतबहादुर खत्री । सताराम जंगबहादुरका निकै नजिकका विश्वासिला कर्मचारी थिए । जंगबहादुरको प्रसंगमा उनको नाम धेरैपल्ट आउँछ । इतिहासकार मानन्धरको निचोड छ– चन्द्रशमशेरको पालामा विधिवत् रूपमा जनगणना सुरु भएको हो, तर जंगबहादुरले गरेको जनगणनालाई नै पहिलो मान्नुपर्छ ।

जंगबहादुरलाई जस

चन्द्रशमशेरको पालामा भएको जनगणनाबारे पनि हामीसँग अहिलेको जस्तो पर्याप्त जानकारी छैन । उनीपछि भने नियमित प्रत्येक १०/१० वर्षमा जनगणना भयो । तर, जंगबहादुरको जनगणनाको ऐतिहासिक महत्त्वलाई कसरी कम आँक्न मिल्छ ? त्यो १९ औं शताब्दीको मध्यसमय थियो, जतिबेला इटाली र जर्मनीको एकीकरण पनि भएको थिएन । अनि पूरै युरोपभरि अत्याचारी राजतन्त्रकै शासन थियो ।

मानन्धर भन्छन्, ‘यस्तै बेला जंगबहादुरले भएको प्रविधि प्रयोग गरेर जनगणना गरे । बेलायतबाट फर्केपछि उनले सबैभन्दा पहिले मुलुकी ऐन जारी गरे, अनि तुरुन्तै जनगणना गरे । यो सबै काम जंगबहादुर शक्तिमा आएको आठ वर्षपछि भएको हो ।’

प्रकाशित : मंसिर ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?