१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
सिरिज समीक्षा

बदलिँदो संसारको कथा

समाजबाट कसरी मानवता हराइरहेको छ ? पैसाको पछि दौडिरहेका मान्छेले कसरी जीवनको मौलिक आनन्द गुमाइरहेका छन् ? ‘स्क्विड गेम’ ले यी प्रश्नमाथि विमर्श गरेको छ ।
रीना मोक्तान

समाज दुई वर्गमा विभाजित छ, ‘हुने खाने’ र ‘हुँदा खाने’ । ‘हुने खाने’ ले सधैं ‘हुँदा खाने’ माथि अधिकार जमाएको छ । संसारको ठूलो संख्या ‘हुँदा खाने’ समूहमै छ । दुई वर्गबीचको संघर्ष शताब्दिऔंदेखि जारी छ । दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ दुई वर्गबीचको कथा हो ।

बदलिँदो संसारको कथा

‘हुँदा खाने’ वर्ग छाक टार्न मजदुरी गर्छन्, उद्योगमा काम गर्छन् । ‘हुने खाने’ वर्ग भने त्यही उद्योग चलाउँछन् । गरिबीको रेखामुनि जसोतसो जिन्दगी चलाइरहेका पात्र हुन् संकिहुन् । उनी वृद्धा आमाको भरमा बाँचिरहेका छन् । श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । १० वर्षीया छोरीलाई श्रीमतीले नयाँ पतिसँगै राखेकी छन् । गाडी चलाएर घर खर्च जुटाउन नसक्ने संकिहुन्को टाउकोमा ऋणको थुप्रो छ । बिरामी आमाको उपचार गर्ने पैसासमेत छैन । पैसा भएको प्रमाणित गर्न सके छोरीलाई घर फिर्ता गर्न सकिन्छ । तर, पैसाकै कारण जीवनको लय खलबलिएको छ । र, उनी अनेक अभावका पहाडको सामना गर्न बाध्य छन् ।

एक दिन उनी एउटा खेलको निमन्त्रणा पाउँछन्, जसमा खेल जित्नेले कल्पना गरेभन्दा बढी पैसा घर ल्याउन सक्छ । संकिहुन् खेल खेल्न तयार हुन्छन् । खेल आयोजक को हुन् ? कसैलाई थाहा छैन । खेललाई निगरानीमा राख्ने एक जना ‘फ्रन्टम्यान’ हुन्छन् । खेलाडीबाहेक अन्यको परिचय लुकाइएको छ ।

खेलकै लागि अपरिचित स्थानमा पुग्दा संकिहुन्ले ऋणमा डुबेका अन्य २५५ खेलाडी भेट्छन् । बाल्यकालका साथी सांघुसँग पनि त्यहीँ भेट हुन्छ । सेक्युरिटिज कम्पनीका पूर्वमालिक सांघु, जसलाई ग्राहकको पैसा चोरेर लगानी डुबाइदिएको आरोप छ । र, उनलाई प्रहरीले खोजिरहेको छ । सेब्युक, जसलाई ठूलो रकम चाहिएको छ– उत्तर कोरियाको सीमाबाट आमालाई सकुशल दक्षिण कोरिया ल्याउन । पाकिस्तानबाट कोरिया आएका अब्दुल पनि परिवारका खातिर खेलमा सहभागी छन् । एक वृद्धा छन्, जो मृत्युको पर्खाइमा उसै बस्नुभन्दा खेलमा सहभागी हुन चाहन्छन् । वृद्धालाई ब्रेन ट्युमर भएको छ ।

यी पात्रलाई बाल्यकालमा खेलिएका ६ वटा सरल खेल खेल्न लगाइन्छ । खेलबाट बाहिरिनेहरू घर फर्किंदैनन्, संसारबाटै बिदा हुन्छन् । उनीहरूलाई त्यहीँ मारिन्छ । खेल्दै जाँदा खेलाडीले थाहा पाउँछन्– प्रत्येक व्यक्तिको मृत्युसँगै १ सय मिलियन वन (कोरियाली मुद्रा) आफूले जित्ने रकममा जोडिँदै जानेछ । ४५६ जना खेलाडीको हिसाब गर्दा उपहार रकम ४५.६ बिलियन वन हुन्छ । ४५६ मध्ये कुन खेलाडी ६ वटै खेल जितेर घर फिर्ता होलान् ? जितेको रकमले समस्या समाधान होला ? ‘स्क्विड गेम’ यिनै कथावरिपरि घुमेको छ ।

सेप्टेम्बर १७ मा प्रदर्शनीमा आएको ‘स्क्विड गेम’ ले नेट्फ्लिक्सको अहिलेसम्मकै भ्युइङ–रेकर्ड तोडेको छ । प्रदर्शनको २८ दिनमै यो सिरिज १.६५ बिलियन घण्टा हेरिएको रेकर्ड छ । यसअघि नेटफ्लिक्सकै अर्को सिरिज ‘ब्रिजर्टन’ २८ दिनमा ६ सय २५ मिलियन घण्टा हेरिएको रेकर्ड थियो । ‘ब्रिजर्टन’ को दाँजोमा यस सिरिजको भ्युइङ–रेकर्ड २.६ गुणा बढी छ ।

बालबालिकाका खेललाई हिंसात्मक रूपमा प्रस्तुत गरिएको यो सिरिज सस्पेन्स र थ्रिलरले भरिएको छ । ऋणको भारीले थिचिएका ती पात्रहरू नेपालकै सामान्य मानिसझैं लाग्छन् । कुनै न कुनै पात्रमा दर्शकले आफैंलाई भेट्टाउँछन् र ती पात्रलाई प्रेम गर्न थाल्छन् । दृश्यहरूमा आउने ‘ट्वीस्ट एन्ड टर्न’ ले दर्शकमा झनै उत्सुकता थप्छ । एक शृंखला सकिएपछि आउने अर्को शृंखलाको कथाबारे दर्शकले सहज अनुमान गर्न सक्दैनन् । हिंसाप्रधान यो सिरिजमा ‘कथार्सिस’ को प्रयोग बेजोड ढंगले गरिएको छ । दर्शक पात्रसँग एकाकार हुन्छ । र, सिरिजको अन्त्यसम्मै पात्रसँगै यात्रा गर्छ ।

‘भीआईपी’ को प्रवेशपछि सिरिजमा वर्गीय विभेद झल्किन्छ । धनीले अति गरिबलाई कसरी वस्तुको रूपमा हेर्छन् ? र, गरिबलाई कसरीआफ्नो मनोरञ्जनका साधन बनाइरहेका छन् ? सिरिजले वर्गीय खाडलको भेदमाथि केही प्रश्न छाडेको छ । एक दृश्यमा गरिब र लाचार व्यक्तिहरूलाई ‘चेस’ सँग दाँजिएको छ । गरिबहरू धनीका अघि ‘दास’ बनेर झुकेका छन् । र, गरिबका ढाडमा धनीहरूले गोडा अड्याएर खेल हेरिरहेका छन् । गरिब खेलाडीले सास गन्दै खेलिरहेको खेल धनाढ्य वर्गका लागि खास मनोरञ्जनको विषय हो । वर्गबीचको विभेद, असमानता र संघर्ष सिरिजको खास कन्टेन्ट हो । वर्तमान विश्वको वास्तविक समाज सिरिजमा देखिएको छ ।

हिन्दी फिल्म ‘लक’ हेरेका दर्शकका लागि यो सिरिज नौलो र विशेष नहुन सक्छ । थ्रिलिङ कथाको नौलो प्रस्तुतिका लागि ‘स्क्विड गेम’ हेरे हुन्छ । पैसाको मोहमा समाजले कसरी आफ्नो खास चरित्र बदलेको छ ? समाजबाट कसरी मानवता हराइरहेको छ ? पैसाको पछि दौडिरहेका मान्छेले कसरी जीवनको मौलिक आनन्द गुमाइरहेका छन् ? ‘स्क्विड गेम’ ले यी प्रश्नमा विमर्श गर्ने जमर्को गरेको छ ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?