कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एक सबाल्टर्न चिन्तना

राउटेहरू पखेटा नभएका मौरी हुन् । यिनको एउटै गोलो छ । मिलेमतो छ । लोभलालच, अहंकार र दम्भ छैन ।
अनन्त वाग्ले

सुर्खेतबाट एकाध घण्टा पर लेखफर्साको लामो झोलुङ्गे पुल तर्दै गर्दा पारि केही झाम्लाङ्झुम्लुङ पोसाकधारीको खाम्लाङ्खुम्लुङ सुनिँदै थियो । भेरीको सुसाइमै थपिइरहेथ्यो तिनको अस्पष्ट लवज । हो, यी तिनै भुइँमान्छे थिए, जसको आवाज बसेर बोल्दा भुइँमै बिलाइजान्थ्यो, उठेर बोल्दा हावाले उडाइलान्थ्यो । हामी पारि पुग्दा उनीहरू डोकामा बोकेका झिटीझाम्टा बिसाएर बसेका थिए । अनि बाटो बिराएका यात्रीझैँ अलमलमा थिए ।

एक सबाल्टर्न चिन्तना

खासमा लेखफर्सा, भेरी किनारको काँसघारी घाटबाट उनीहरू बसाइँ सर्दै रहेछन् । दुई महिनादेखि बस्दै आएको थलो सर्नुपर्ने कारण रहेछ– भर्खरै विवाह गरेका पाँच जोडी नवदम्पती ! विवाहपछि परिवारबाट अलग्गिएर बेग्लै राउटी खडा गर्न नयाँ ठाउँ खोज्दै थिए उनीहरू । अलिबेरको सरसल्लाहपछि जङ्गलमा पानी पाइने ठाउँ छैन भन्ने ठहर भयो । मौसमले चिसोलाई बिदाइ र न्यानो यात्रा तय गर्दै थियो । त्यसैले उनीहरूले त्यही झोलुङ्गे पुलमुनि भेरी बगरमै बस्ने निधो गरे । अनि काँसघारी घाटका राउटीहरू भत्किए । खाँबो र बलो ओसारियो । कोसी, मदुस र ठेकी त्यही पुलमुनि पुगे । कसैकसैले आफूले जोहो गरेका कुखुरा, पाठा र भेडा पनि सारे । पाल, कम्बल र ओढ्ने ओछ्याउने ओसारियो । तसला, ताउलो र अँगेनो उठ्यो । नयाँ चम्का गाडिए । यो क्रम, दुई, तीन दिनसम्म चलिरह्यो र बस्ती सर्‍यो ।

‘भै लुगा, भै जाडो, नै लुगा नै जाडो, लुगा हुन्यालाई मात्त हुन्या हो जाडो,’, गादोभित्रको अर्धानो सुइटर तन्काउँदै आफूलाई मुखिया मैनबहादुरको भाइ ठालु धनबहादुर बताउने ७४ वर्षीयले भने । यति कुरा भनिसक्दा–नसक्दै उनी ख्वाङ्ख्वाङ् खोक्न थाले । ‘चुरोट नखानु, झन् खोकी लाग्छ’, बाहिरबाट गएको कसैले भन्यो । ‘खोकी लाग्यो भन्या, झन् खान्या, झन् खान्या, अनि निको होइजान्छ’, यसो भन्दै धनबहादुर हाँसे ।

यत्तिकैमा रुन्चे अनुहारमा दुई महिला आए । जिङ्ग्रिङ्ग कपाल, मैलो चोली र गुन्युले ढाकेको मैलै शरीरका, उमेरले युवती र ज्यानले पाका तिनीहरू गाउँलेले दाउरा ल्याउन नदिएको गुनासो गर्न थाले । धनबहादुरले तिनको कुरा सुने । अनि जुरुक्क उठेर हिँडे । महिलाले तिनलाई पछ्याए । हामी पनि पछि लाग्यौँ । धनबहादुरले गाउँलेसँग आदरपूर्वक अनुरोध गरे । केहीबेरको कुराकानीपछि गाउँलेले दाउरा लैजान दिए । अनि ती दुई महिला मुस्कुराउँदै दाउरा बोकेर राउटीतिर लागे । धनबहादुर पनि हाँसीहाँसी दाउरा च्यापेर फर्किए ।

समाजशास्त्रका विद्यार्थी रतन देवकोटा र फोटो पत्रकार आरके अदीप्त गिरीका साथ पंक्तिकार पनि तीन वर्षअघिको एक साँझ गोंगबुबाट रात्रिबस चढेको थियो, राउटे बस्ती पुग्न । रतनको उद्देश्य थेसिसका लागि तथ्याङ्क सङ्कलन गर्नु र भिडियो खिच्नु थियो । आरके एक लोपोन्मुख जातिको जीवनशैलीमाथि फोटोग्राफीको स्कुप मार्न चाहन्थे भने पंक्तिकार एउटा नलेखिएको आख्यान उधिन्न चाहन्थ्यो । त्यसो त यी आदिमानवबारे गैरआख्यानमा प्रशस्तै साहित्य स्वदेशी र विदेशी लेखकले लेखिसकेकै थिए । इन्टरनेटमा अनगिन्ती भिडियो र डकुमेन्ट पनि उपलब्ध थिए । र, पनि यी फिरन्ता अल्पसंख्यकबारे आख्यान पुस्तक नदेख्दा एउटा अभावको महसुस भइरह्यो । राज्यको प्राथमिकतामा कहिल्यै नपरेको मात्र होइन, ठूला र सफल लेखकहरूको समेत विषय नबनेको खास भुइँमान्छेको जीवनकथालाई आख्यानीकरण गर्न सक्छु, सक्दिन थाहा नभए पनि आफैं कस्सिएको थिएँ म ।

लेकबेंसी, दशरथपुरका वृद्ध दलबहादुर अधिकारी काँसघारी घाटमै भेटिए । आफूलाई जङ्गलका राजा बताउने यी भुइँमान्छेसँग सानैदेखि निकट रहेका दलबहादुरले भने, ‘राम्ररी हेर्ने हो भने यी पखेटा नभएका मौरी हुन् । यिनको एउटै गोलो छ । मिलेमतो छ । लोभलालच र अहंकार, दम्भ छैन ।’ उनले फेरि थपे, ‘तर, यी सुग्घरी हुन सकेनन् । गु धुँदैनन् । यिनको थलो आसपास माखा भन्केर हिँडी नसक्नुहुन्छ ।’ हुन पनि उनले भनेजस्तै भुनभुन झिँगा भन्किरहेका थिए । बस्ती उठेको ठाउँमा जाँड, खानेकुरा र मानव मलमूत्र छरीबरी थिए । पालले छोपेको सानो राउटी, त्यहीमुनि चुलो, ताउलो । त्यसकै बगलमा ओछ्यान । ओछ्यान के भन्नुँ म्याटका टुक्रा, अनि पुराना कम्बलका फ्याङ्ला । उनीहरूकैमा बस्ने सोचले गएका हामीले त्यो नाजुकावस्था बोधपछि जहरेस्थित होम स्टेजस्तै सानो होटलमा बसेर साता बिताएका थियौँ ।

केही वर्षअघिसम्म एक सय चालीस पचासको संख्यामा स्थिरजस्तो रहेको राउटेको संख्या घट्दो छ । अल्पायुमै ज्यान जानु यो समुदायमा नयाँ कुरा नभए पनि पछिल्ला वर्षमा मानव बस्तीनजिक बस्न थाल्नु तथा रक्सी र पैसाको मोह बढ्नु उनीहरूको संख्या ओरालो लाग्नुको एक प्रमुख कारक बनेको छ । हामी पुग्दा पनि के बालक, के युवा र वृद्ध सबै जना पैसा माग्थे । सुर्ती र रक्सी किनिदिन भन्थे । बालबालिकादेखि महिलासम्म पनि रक्सीले झुलिरहेका देखिन्थे । सरकारले दिने भत्ताले रक्सीको लत बढाएको दलबहादुरको भनाइ थियो । आफैंले अन्नले बनाएको जाँड खानु उनीहरूको संस्कृति भए पनि सुर्ती र बजारिया रक्सीले पैसाको दुरुपयोग मात्र होइन, धेरैलाई रोगी बनाएको सहजै थाहा पाइन्थ्यो । कुपोषणले यसै पनि कमजोर र रोगी राउटे रक्सीका कारण अकालमा मर्न थालेका छन् ।

भत्ता र बाहिरी मानिससँगको खुला सम्पर्कले उनीहरू अल्छी र परनिर्भर पनि बनिरहेका छन् । यिनले भत्ता थाप्ने समयमा रक्सीको बजार नै यिनका राउटी आसपास सर्ने एक जना सञ्चारकर्मी बताउँदै थिए । अर्कातिर यिनलाई रक्सी खुवाएर र केही लुगाफाटो, रसदपानी दिएर यिनका सूचना दुहुने र आफ्नो खाने भाँडो बनाउने एनजीओ र विकासे पनि यिनको बानी बिगार्नमा कम जिम्मेवार छैनन् । कोसी, मदुस, सन्दुस, खाट, पिर्का, ठेकीलगायत काठका सामान बनाएर, गाउँघरमा अन्नसँग साटेर जीविका चलाउने उनीहरूमा हिजोआज काठका सामान बनाउने जाँगर हराउँदै गएको छ । अनि ब्वाइलर कुखुरा खान थालेपछि गुना सिकारको दुःख पनि किन गरिरहने भन्ने सोचले घर गर्दै छ तिनमा ।

राउटे वास्तबमा नेपाली जीवित सम्पदा हुन् । यिनलाई बाहिरी मानिसको सहज र खुला पहुँचमा राख्नु हुँदैन । उनीहरूको खास क्षेत्र छ । दैलेख, सुर्खेत, सल्यान, जाजरकोटलगायतको उनीहरू सर्दै हिँड्ने सेरोफेरोलाईलाई राष्ट्रिय निकुञ्जजस्तै गरी विकास गरिनुपर्छ, जसले गर्दा बाहिरी मानिसको खुला र सीधा पहुँच नहोस् । भेट्न, देख्न, अध्ययन, अनुसन्धान गर्न चाहनेले निश्चित शुल्क तिरेर मात्र भेट्न पाउने व्यवस्था होस् । अनि राउटे पदमार्ग या राउटे पर्यटनको नै विकास गरी विश्व समुदायलाई नै यो डिजिटल युगमा यस्तो जीवन्त सम्पदातर्फ आकर्षित गरी पर्यटनको बलियो उद्योग नै बनाउन सकियोस् ।

यिनै अति कम संख्यामा रहेका सबाल्टर्नको पहिचान, दैनिकी, बदलिँदो जीवनशैली, संस्कृति र भविष्यको बारेमा एउटा चिन्तना–प्रयास हो मेरो उपन्यास– ‘कदम’ । ‘कदम’ एक झ्याल हो, जहाँबाट सामुन्ने भएरै पनि नदेखिएको, नस्विकारिएको एउटा अस्तित्व बोध गर्न सकिएला । यो एक ऐना पनि हो, जहाँ नदेखिएको एउटा प्रतिविम्ब देख्न सकिएला । र, यो एक ढोकासमेत हो, जहाँबाट एउटा अन्योलमय भविष्यको आकलन गर्न सकिएला ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?