कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
कविता

जनगणना

तिमीले कहिले मान्छे गन्यौ र हामीलाई ?

जनगणना

केन्द्रमा पलेटी कसेर बसेको छ –

तथ्याङ्क विभाग

हरेक १० वर्षमा घरघर पठाउँछौ

र, भन्न लगाउँछौ, ‘तँ पनि जनगणनामा समेटिनुपर्छ’


गणक पठाएर सोध्छौ र सम्झाइदिन्छौ

गुमनाम हुनै लागेको आफ्नै नाम

जन्ममिति सोध्छौ र उमेरले बनाएका चाउरीसँग हातका औंलाका चक्रहरु घर्षण गर्न पुग्छन्

स्थायी ठेगाना सोधेर बेठेगान जिन्दगी सम्झाउँछौ

मर्दै/मार्दै गरेको भाषाको याद दिलाउँछौ

शिक्षा किन सोध्छौ, पढेलेखेर पनि साक्षर हुन नसकेको पीडा सम्झाउन ?

या अक्षर चिन्न नपाएको पीडामा डुबाउन ?

सम्पत्ति विवरण सोधेर गरिबीको खिल्ली उडाउँछौ

रिनधन सोध्छौ र नवसामन्तहरुको अनुहार आँखाभरि झल्किन्छन्

छोराछोरीको बारेमा सोध्छौ र आँखा रसिला हुन्छन्


यसरी पनि त तिमी हाम्रो हुर्मत लिन्छौ !


बाँच्ने सूचीबाट हटे पनि

जिन्दगीबाटै छुटे पनि

सुख र समृद्धिबाट विमुख भए पनि

छुट्नु हुन्न नाम गणनामा

अझ छुट्नु हुन्न नाम मतदाता नामावलीमा

छुट्नै हुन्न पार्टी सदस्यतामा


मान्छेको मूल्य नपाए पनि

एक अमूल्य मतको हिसाब

एक क्रियाशील सदस्यको दर्जा

एक नागरिक मानिएको प्रमाण

एक महान् योद्धाको सूचीमा नाम

हामी केवल उसका लागि

फगत उसका लागि

यो जुनी यो जन्म उसैका लागि


उसले उहिल्यैदेखि ठान्दै/मान्दै आएको एउटा यथार्थ


समय बदलिएको छ

चेतनाका जराहरु फेरिएका छन्

मान्छेले अब जनता होइन मान्छे हुनुको मूल्य

खोज्ने समय आएको छ


मान्छेको मूल्यमा गणना गरेको दिनमा

स्वीकार हुनेछ तिम्रो गणना

अन्यथा

तिम्रो हिसाबबाट सदाका लागि अलग हुनेछ

एउटा मत

एक सदस्य

एक योद्धा


तिम्रो विरूद्ध सुरू भइसकेको छ

अवज्ञा आन्दोलन ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?