कोलम्बसमा ‘नेपाली गाउँ’

भुटानबाट लखेटिएका नेपालभाषी भुटानीको सबैभन्दा ठूलो जनसंख्या अमेरिकाको ओहायो राज्यको राजधानी कोलम्बस वरिपरि छ 
ऋषिराम कट्टेल

कोलम्बसका नेपालभाषी भुटानी–परिवार झापाको बेलडाँगी शरणार्थी शिवीरमा बस्दा आईओएम (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन) ले अमेरिका लैजान खोज्यो, तर मानेनन्– भगीरथ धितालले । ‘नचिनेको ठाँउमा कहाँ पुर्‍याउने हो थाहा थिएन, श्रीमती अर्कैले कहाँ लान्छ भन्थे, भाषा नि अर्कै, बरु दुःखजिलो बसिएकै छ भन्ने थियो,’ ओहायोको रेनोल्सबर्गमा रेन्टुरेन्ट व्यवसाय गरेर बसेका भगीरथले सम्झिए, ‘धेरैले केही हुँदैन भनेर धेरैपटक सम्झाएपछि यता आइयो, अहिले यहाँ जता पनि नेपाली देख्दा औधी खुसी लाग्छ ।’ सन् २०१२ मा अमेरिकाको युटाहाको साल्ट लेक सिटी पसेका भुटानको सर्बाङ जिल्ला गेलेफु दानाबारीका धिताल ७ वर्षअघि कोलम्बस आएका थिए ।

कोलम्बसमा ‘नेपाली गाउँ’

अहिले भगीरथले व्यवसाय गरिरहको रेनोल्सबर्गको मेनस्ट्रिटबाट केवल १५ मिनेट पैदल हिँड्ने हो भने एक दर्जन नेपाली ग्रोसरी पसल, ६ नेपाली रेस्टुरेन्ट, ४ कपडा पसल, केही ब्युटिपार्लर, सुन पसलदेखि ग्यास स्टेसनसम्म भेटिन्छ । यहाँ भुटानी नेपाली व्यवसायीको संख्या ७८ पुगेको छ । यहाँ बाटैभरि नेपाली हिँडिरहेको देख्न पाइन्छ । ३० वर्षदेखि कोलम्बस नजिकको डब्लिन बस्दै आएका गैरआवासीय नेपाली संघ अमेरिकाका संस्थापक उपाध्यक्ष तथा ओहायो राज्य सरकारको कर्मचारीका रूपमा २३ वर्षदेखि कार्यरत मुकेशकुमार सिंह भन्छन्, ‘तपाईंलाई त्यहाँ घुम्दा म अमेरिका छु भन्ने महसुस नहुन सक्छ । नेपालमै रहेको अनुभूति हुन्छ ।’

रेनोल्सबर्गसँगै सेन्ट्रल ओहायोका कोलम्बस, पिकरिन्टन, क्यानल विन्चेस्टर, पटासकला,एट्ना, ब्ल्याकलिक, गाहानामा झन्डै ३० हजार भुटानी नेपाली रहेको अनुमान छ । ओहायो स्टेट युनिभर्सिटीले २०१७ को जुलाईमा प्रकाशन गरेको तथ्यांकले २३ देखि २५ हजार भुटानी नेपाली यहाँ रहेको बताएको थियो । कोलम्बसको डब्लूओएसयू मिडियाले २०१९ मार्चमा प्रकाशन गरेको एक रिपोर्टमा यहाँ २७,००० भुटानी रहेको उल्लेख गरेको थियो । सिटी अफ कोलम्बसले आफ्नो वेबसाइटमा विगत ८ वर्षदेखि ४०० प्रतिशतले कोलम्बसमा भुटानी नेपाली बढेको उल्लेख गरेको छ ।

अहिले पनि निरन्तर यस क्षेत्रमा ठूलो संख्यामा आउनेको चाप घटेको छैन । भुट्निज कम्युनिटी अफ सेन्ट्रल ओहायोका पूर्वअध्यक्ष तथा रेनोल्सबर्गको सिटी काउन्सिल सदस्य भुवन प्याकुरेल यो संख्या बढेर अहिले लगभग ३० हजारमाथि पुगेको बताउँछन् । अमेरिकाको मिड वेस्ट राज्य ओहायोको राजधानी कोलम्बस र यस आसपासका सहरहरू (जसलाई सेन्ट्रल ओहायो भनिन्छ) भुटानी नेपालीको खास हब बनेका छन् । भुटानबाट नेपाल हुँदै आएको ३० प्रतिशतभन्दा बढी जंनसंख्या यही क्षेत्रमा छ ।

शरणार्थीको पुनर्वासमा सहयोग गर्दै आएको संस्था क्रिस (कम्युनिटी रेफ्युजी इमिग्रेसन सर्भिसेज) का सहनिर्देशक तारा ढुंगाना भन्छन्, ‘भुटान छोडेर आएको सबैभन्दा ठुलो जनसंख्या कोलम्बसमै बस्छ ।’ उनका अनुसार, अमेरिकामा रहेका एक लाखभन्दा बढी नेपाली मूलका भुटानीको केन्द्र कोलम्बस हो । ‘यो संख्या भविष्यमा अझै बढेर जाने देखिएको छ’, उनी भन्छन् । नेपालबाटै यहाँ आउने नेपालीको संख्या भने झन्डै एक हजार हाराहारी छ ।

किन यति धेरै ?

सुरुमा आईओएमले जर्जिया राज्यको एटलान्टा, टेक्टासको ह्युस्टन, ड्यालस, अस्टिन, एरिजोना, युटाहाको साल्ट लेक सिटी, कोलोराडोमा सबैभन्दा बढी तेस्रो पुनर्वास गराएको थियो । अमेरिकामा जम्मा ९२ हजार हाराहारी भुटानी शरणार्थीलाई ल्याइएको थियो । सन् २००८ बाट सुरु भएको पुनर्वास कार्यक्रम २०१३/१४ बाट पहिले ल्याइएको ठाउँदेखि ओहायो, पेन्सिलभेनियाजस्ता राज्यमा सर्‍यो । पहिले ‘रिसेटल’ गरिएका स्थानमा भुटानीको संख्या अहिले पातलिएको छ । युटाहा राज्यको साल्ट लेक सिटीबाट कोलम्बस सरेका व्यवसायी पूर्ण गौतम आफ्ना समुदायका धेरै साथीभाई, आफन्त यतै भएकाले आफू पनि यता सरेको बताउँछन् । भन्छन्, ‘व्यवसाय गर्न राम्रो ठाउँ, कामको अवसर प्रशस्त । सबै एकै ठाउँमा बसौं भनेर यहाँ आइयो ।’

न्युयोर्क राज्यको बफेलो सहरमा केही वर्ष बिताएर ८ वर्षअघि ओहायोका रेनोल्सबर्गमा आमा बुबासँगै बसाइँ सरेका गोविन घिमिरे अहिले बफेलो सहरमा भुटानी नेपालीहरू रित्तिँदै गएको बताउँछन् । ‘आफन्त, नरनाता, चिने–जानेका यतै सर्ने, कामको धेरै अवसर, सस्तो आवास, सरकारी सेवासुविधा ! यसैले धेरै यहीँ बसाइँ सरेर आएको देखिन्छ,’ रेनोल्सबर्ग सिटी काउन्सिलका सदस्य भुवन प्याकुरेल भन्छन् । आफैं कोलोराडोबाट कोलम्बस सरेका प्याकुरेलका अनुसार, स्थानीय सरकार, हस्पिटल, प्रहरी प्रशासनदेखि ठूला फ््याक्ट्रीले भाषा, संस्कृति, संस्कार चाडपर्वलाई कतिपय अवस्थामा ‘कन्सिडर’ गर्छन् । उनी भन्छन्, ‘अब नेपालभाषी भुटानीको मूल ठाउँ नै कोलम्बस हो कि जस्तो अनुभव हुन्छ ।’

चिनारी बनाउँदै

सेन्ट्रल ओहायोमा बाहिरी मुलुकबाट आएकामध्ये तेस्रो बढी बोलिने भाषामा पर्छ नेपाली । अंग्रेजीपछि स्पेनिस पहिलो, सोमालियन दोस्रो र नेपाली तेस्रो । बढ्दो नेपालीको जनघनत्वसँगै यहाँको स्थानीय सिटी काउन्सिलको चुनावमा नेपालभाषीले जिते । रेनोल्सबर्गको सिटी काउन्सिलमा भुवन प्याकुरेलले २ वर्षअघि सदस्य पदमा चुनाव जितेको थिए । मातृभूमिबाट लखेटिएपछि नेपालको शरणार्थी शिविरमा वर्षौंको दुःखदायी जीवन झेलेका भुटानी नेपाली तेस्रो मुलुकमा आफ्नो, बल, मिहिनेत र पौरखले समृद्घितर्फ लम्किरहेका छन् ।

सेन्ट्रल ओहायोमा ४० हाराहारी ग्रोसरी स्टोर, कपडा पसलदेखि १ दर्जनभन्दा बढी रेस्टुराँ, एक दर्जन होम केयर, आधा दर्जन सुन–गहनाका पसल, ब्युटिपार्लर, फार्मेसी, घरजग्गाका कारोबार गर्ने दुई दर्जन रियल्टरदेखि गाडी मर्मत केन्द्रसम्म नेपालीकै छन् । हिन्दु मन्दिरदेखि गीत–संगीत रेकर्ड गर्नका लागि रेकर्डिङ स्टुडियो पनि स्थापना भइरहेका छन् । कतिपयले केही कृषि फार्म पनि सञ्चालन गरेका छन् । रेनोल्सबर्गमा नेपाली बस्ने एउटा ठाउँलाई नेपाली समुदायमाझ बाह्रघरे भनेर चिनिन्छ । बेलडाँगी शरणार्थी शिविरमा भुटानी नेपाली बसेपछि उनीहरूले राखेको नाम थियो– बाङ्गे बजार । पटासकलामा पसलको नाम नै बाङ्गे बजार राखिएको छ । शरणार्थी पुनर्वास कार्यक्रममा छिटो आर्थिक प्रगति गर्नेमा ओहायो राज्यका नेपालभाषी भुटानी नै अगाडि छन् । न्यु अमेरिकन इकोनोमी नामक संस्थाको रिपोर्टअनुसार, अन्य शरणार्थीभन्दा भुटानी अग्रपंक्तिमा छन् ।

बढी मिहिनेती र काम गर्न सक्ने भएकाले भुटानी नेपालीहरू विभिन्न कम्पनीका रोजाइमा छन् । अहिले लिमिटेड ब्रान्ड, अमेजन, एसके फुड, जुलिली, जेसिपेनी, केडीसी, एक्जुम प्लास्टिकजस्ता ठूला कम्पनी/फ्याक्ट्रीमा नेपाली पहिलो रोजाइमा पर्छन् ।

रेनोल्सबर्ग सिटीले यस सहरका मेयर जो बेगेनीको उपस्थितिमा नेपालीभाषीमाझ हालै तिहारको शुभकामना कार्यक्रम आयोजना गरेको थियो । त्यसो त यही सिटीले गत वर्ष अमेरिकामा पहिलोपटक तिहारलाई हिन्दु फेस्टिभलका रूपमा‘रेकग्नाइज’ गरेको थियो । काउन्सिल सदस्यप्याकुरेल भन्छन्, ‘यो नेपालभाषीका लागि गौरवको विषय हो ।’ कोलम्बसबाहेक मुख्यतः ओहायो राज्यकै सिन्सिनाटी, एक्रोन, पेन्सिलभेनिया राज्यकाह्यारिसबर्ग, पिट्सबर्ग सहरमा धेरै नेपालीभाषी भुटानी बस्छन् ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?