एक आदि विद्रोहीको अन्त्य- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
छिन्ताङ वियोगान्त

एक आदि विद्रोहीको अन्त्य

आफूविरूद्ध आवाज उठाएपछि तत्कालीन पञ्चायती शासकले ०३६ सालमा धनकुटा छिन्ताङमा १७ जनाको ‘सफाया’ गरेको थियो । मारिएकाहरुको स्मृतिमा कात्तिक २९ गते ‘सहिद स्मृति दिवस’ मनाइन्छ । छिन्ताङ विद्रोहका एक ‘नायक’ गडुल राईलाई २०६३ सालको हिउँदमा भेटेका थिए मानवशास्त्री सुरेश ढकालले । ढकाल लेख्छन्, ‘आफैंले देखेका र प्रेम गरेका सपनाले गडुलको जिन्दगी बिथोलिरहेको थियो । उनमा अझै विद्रोहको भोक बाँकी थियो ।’
सुरेश ढकाल

गड्याङ र गुडुङ मेघ पनि होइन आकाश सफा छ,
छिर्का र छिर्की पानी त होइन रगतको टाटा छ

४२ वर्षअघि (२०३६ को हिउँदमा) धनकुटा खाल्सा क्षेत्र त्रसित थियो । जनता कहालीलाग्दो आतंक र घोर पीडामा थिए । त्यही त्रासदीको सविस्तार वर्णन गर्थ्यो चित्र निरौलाले लेखेको माथिको गीतले, जुन मैले पटक–पटक सुनेको थिएँ रामेश, मञ्जुल आदिका स्वरमा । त्यसबखत यो गीतले मेरो किशोर मनमा समेत एउटा त्रास र आक्रोश पैदा गर्थ्यो । यो खासगरीे ०३७–०३८ साल आसपासको कुरा थियो ।

यो त्यतिबेलाको कुरा थियो, जतिबेला निरंकुश पञ्चायती व्यवस्था उत्कर्षमा थियो । ‘खतरनाक’ अनुदार ठानिने सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । त्यही समय धनकुटाको खाल्सा क्षेत्रमा दर्दनाक नरसंहारको व्यूह रचिएको थियो, जुन पछि छिन्ताङ काण्डको नाममा चर्चित बन्यो ।

छिन्ताङ विद्रोहको त्यो कथा निकट इतिहासको एउटा वियोगान्त कथा हो, जुन बारम्बार भनिएको छ । यो कथा अरू केही वर्षसम्म भनिनेछ वा भनिनुपर्नेछ । यो द्वन्द्व र हिंसाको कथा हो । यो मुक्तिकामी जनताको सपनाको अवसानको कथा पनि हो । यो नेपालमा कम्युनिस्ट पार्टीको विकास र विस्तार बुझ्न सहयोग पुर्‍याउने सन्दर्भको कथा पनि हो । किसान विद्रोह र राजनीतिक दलहरू, खासगरी कम्युनिस्ट राजनीतिको सम्बन्ध केलाउन एउटा दृष्टिकोण दिने कथा पनि हो ।

घटनाको लामो अन्तरालपछि, २०६३ साल हिउँदको यस्तै कुनै एक दिन त्यही त्रासदीको थप कथा जान्न हामी छिन्ताङ पुगेका थियौं । तर, यो यात्रा विवरण वा छिन्ताङ काण्डको नालीबेली भने होइन । त्यसबेला भेटिएका र स्मृतिमा गढेर बसेका छिन्ताङ विद्रोहका एक ‘प्रोटागोनिस्ट’ गडुल राईलाई सम्झिने प्रयास मात्रै हो ।

गडुलसँग जम्काभेट

गडुललाई उनकै शब्दमा सानो ‘खिचिरमिचिर’ दोकानसमेत भएको छिन्ताङको पञ्चकन्यास्थित उनैको घरमा भेटेका थियौं । पहिलोपटक भेट्दा वा देख्दा उनी थोत्रिइसकेको पावरवाला चस्माको सहाराले ध्यानपूर्वक पत्रिका पढिरहेका थिए । त्यो थियो ‘जनादेश’ पत्रिका । हामी काठमाडौंबाट आएको र उनीसँग कुरा गर्न चाहेको बताउँदा गडुल ‘आफ्नो कथा’ सुनाउन तयार भइहाले, मानौं आतुर भएर हामीलाई नै कुरेर बसिरहेका थिए ।

आठ दिन त्यस क्षेत्रमा बस्यौं र उनीसँगको बस–उठ पनि जम्मा त्यति नै दिनको रह्यो । उनीसँगै खोकु छिन्ताङको कान्ला र पाखा हिँड्यौं, उकाली–ओराली गर्‍यौं । उनका तत्कालीन सहकर्मीहरूसँग भेट्यौं । उनका जीवनका केही आरोह–अवरोह बुझ्ने चेष्टा गर्‍यौं ।

उनी माओवादी बनेका रहेछन् त्यसबखत । कथाहरू सुनिरहँदा लाग्थ्यो, आफैंले निर्माण गरेका क्रान्तिका मान्यताहरूबाट बन्दी बनाइएका छन् उनी । आफैंले देखेका र प्रेम गरेका सपनाले उनको जिन्दगी बिथोलिरहेको थियो । उनमा अझै विद्रोहको भोक बाँकी थियो ।

उपलब्ध गणतन्त्र र पछिल्लोपटक आफैंले समर्थन गरेको माओवादी पार्टीप्रति समेत उनको चरम असन्तुष्टि थियो । वर्ग–दुस्मन खत्तम पार्ने भनिएको क्रान्तिको सर्वोच्च नेता प्रचण्डप्रति आक्रोस थियो । भन्थे, ‘प्रचण्डले धोका दिए, क्रान्तिप्रति गद्धारी गरे ।’ यो संवाद विस्तृत शान्ति सम्झौता भएको धेरै समय नहुँदैको थियो ।

सहिदभूमि गाउँपालिकाको छिन्ताङस्थित सहिदपार्क । तस्बिर : बबिता शर्मा

क्रान्तिकारी हुनुको सबैभन्दा सुन्दर र रोमाञ्चक पक्ष भनेकै क्रान्तिकारी हुनु हो भन्ने कुरा सायद उनको हकमा हुबहु लागू हुन्थ्यो । हामीले भेट्दा पनि उनी लडाइँमा निस्किन ठिक्क परेको कुनै योद्धाजस्ता महसुर र वेगवान देखिन्थे ।

जर्ज बनार्ड शले भनेका थिए, ‘क्रान्तिले कहिले पनि बर्बरताको भारी कम गरेको छैन बरु केवल काँध मात्रै सारेको छ ।’ गडुलको अनुभवमा क्रान्तिले उही प्रवृत्तिलाई पुनःस्थापना गर्‍यो, जसको अन्त्य उनले चाहेका थिए । त्यसैले उनमा विद्रोहको आगो अझै बाँकी थियो ।

यो तिनै विद्रोहीको कथा हो अर्थात् छिन्ताङ विद्रोहका तिनै ‘कमान्डर’ गडुल राईको एक कथा ।

विद्रोहको स्वर

गडुल राईले हामीलाई सुनाएको उनको कथाको संक्षिप्त रूप यस्तो थियो ।

०२४ सालदेखि औलो उन्मूलनमा जागिर खाएका उनी ०२७–२८ मा झापातिर काम गर्थे । तलब र भत्ता गरी महिनाको १२० रुपैयाँ कमाइ हुन्थ्यो । त्यति नै बेला उनी एक झापाली विद्रोहीको संगतमा पुगे । ती विद्रोहीले भनका रहेछन्, ‘पैसाको लोभमा फस्ने होइन, देशका लागि बलिदान गर्नुपर्छ ।’ लहैलहैमा गडुलले जागिर छोडे, गाउँ फर्के, गाउँलेलाई जागरुक बनाउन । ‘रातो झन्डा’ भन्नेहरूको सम्पर्कमा पुगे । ‘त्यसपछि जातीय मुक्ति मोर्चा आयो, अनि पूर्व कोसी प्रान्तीय भन्ने आयो, को के (कोअर्डिनेसन केन्द्र) भन्ने पनि आयो, त्यसपछि माले आयो । त्यसैगरी म मसाल बनें । मार्क्सवादीको सम्पर्कमा पनि आएँ...,’ यसरी उनी क्रमशः स्मृतिमा जाने कोसिस गर्थे ।

मालेपछि उनी एमाले बने । र, पछि माओवादी । भन्थे, ‘चौबन्न–पचपन्न सालदेखि माओवादीका नेताहरूको झोला बोक्ने कमारो भएर बसेको छु ।’ माओवादीप्रतिको वितृष्णा प्रस्ट देखिन्थ्यो उनको बोलीमा, ‘माओवादी बन्ने रहर त थिएन, तर काम गर्नुपर्छ भनेर किरात राष्ट्रिय मोर्चाको जिल्ला सदस्य बनाइदिए ।’ ०६० सालमा पुलिसले पक्राउ गर्‍यो, १८ दिन हिरासत बसे । ‘बूढो भएर पनि माओवादी हुने ?’ भन्दै धुस्नो हुनेगरी कुटे र अन्त्यमा तारिखमा छोडे । ‘तर, सबैभन्दा ठूलो गुनासो माओवादीमाथि नै छ,’ उनको निचोड थियो ।

कहिल्यै विद्यालय जान नपाए पनि गडुल सामान्य पढलेख गर्न सक्थे । जतिबेला ‘कमिटी प्रणाली’ बारे थाहा थिएन उनी नरबहादुर कुथुमी, भक्त बोलाना राई, गोविन्द विकल, बम देवान आदिका सम्पर्कमा आए । कम्युनिस्ट पार्टीमा संगठित बने । उनिहरू स्थानीय जिम्वाल मझिया राईको शोषणविरुद्ध संगठीत हुँदै थिए । सम्झिँदै गए, ‘शोषणको स्वरूप निर्दयी खालको थियो । सोझा गाउँलेहरूले दिनहुँ अमानवीय व्यवहार झेलिरहेका थिए । भूमिसुधारको कुनै प्रभाव थिएन । जग्गा जमिन मझियाहरूकै कब्जामा थियो । गाउँले किसान दाससरहका कृषि मजदुर मात्रै थिए । बेठ–बेगारी बुझाउनुपर्थ्यो । गरिबी चरम थियो । भोकै बस्नुपर्ने अवस्था थियो ।’

यस्तै पृष्ठभूमिमा भएको थियो– शृंखलाबद्ध विद्रोह । ०३६ कात्तिक–मंसिरको छिन्ताङ विद्रोहचाहिँ उच्चतम स्वरूप थियो । गडुल तिनै विद्रोहका स्थानीय नेता थिए । सुरा र अन्य गाउँलेका दाँजोमा तराई–मधेश देखेका ‘जान्ने–बुझ्ने हुँ’ भन्ने लाग्थ्यो रे उनलाई । उनी भन्थे, ‘म उहिले नै अहिलेको मिलिसियाको कमान्डरजस्तो थिएँ ।’

‘उहाँमा अलिक समस्या छ,’ उनको विद्रोही स्वभावप्रति लक्षित थियो सहयोद्धाको यो टिप्पणी । तर, गडुललाई लाग्थ्यो– आफ्नो विद्रोही स्वभावमा होइन, समस्या आफ्नै कमरेडहरूमा आएका कारण उनी अझै विद्रोही बनेका हुन् ।

अल्वेयर कामुको ‘म विद्रोह गर्छू त्यसैले मेरो अस्तित्व छ’ भनेझैं गर्थे गडुल ।

‘सामन्तीलाई नगिँडी, सैनिकसँग नभिडी

आउँदैन है जनवाद भाषण ठोकेर’

यो उनीहरूले गाउने गीत मात्रै थिएन विद्रोहको स्वर थियो । र, उनका लागि राजनीतिक बाटो पनि ।

छिन्ताङ : सन्दर्भकथा

जुन विद्रोह भयो र त्यसभन्दा कैयौं गुणा दमन भयो, विद्रोह भएकै ठाउँमा पुगेर सहिद–परिवारलाई सुनिरहँदा हामीलाई त्यो त्रासदीपूर्ण मात्रै होइन, अकल्पनीय नै लाग्यो ।

‘दमनको योजना माथिबाटै बनेको थियो, माथिबाट भनेपछि तपाईंले बुझिहाल्नुभो...’, तत्कालिन पूर्वाञ्चल डीआईजी दिलबहादुर (डीबी) लामाले हामीसँगको भेटमा भनेका थिए । तर, तत्कालीन प्रधानमन्त्री थापाको भनाइमा ‘त्यो राज्यविरुद्धको द्रोह थियो । सरकार प्रमुखका हैसियतले त्यसलाई दमन गर्नु मेरो कर्तव्य हुन्थ्यो । यसमा माथि (दरबार) को कुनै चासो थिएन ।’

यो सन्दर्भले त्यतिबेला छिन्ताङ विद्रोहलाई राज्यले कुन रूपमा लिएको थियो भन्ने उजागर गर्थ्यो । तर, विद्रोहको नेतृत्व लिएको भनिने माले पार्टी त्यो तहमा गम्भीर भएको देखिएन ।

तत्कालीन नेकपा मालेको मुखपत्र ‘वर्ग संघर्ष’ (अंक १५, २०३७) मा त्यस घटनाका सम्बन्धमा यस्तो समीक्षा थियो, ‘सशस्त्र संघर्ष नगरी मुक्ति पाइन्न भन्ने विचारको प्रचार भए पनि कसरी सशस्त्र संघर्ष गर्ने हो भन्ने सवालहरूमा स्पष्ट समझदारी नरहनाले केही दुस्साहासवादी काम भए ।... वास्तवमा बनाइएका केही गोरिल्ला दस्ताहरू पनि सशस्त्र प्रतिरोधका लागि मानसिक र भौतिक रूपले तयार भैसकेका थिएनन् । ...वामपन्थी

भड्काउवाद र अनेक कमजोरी भएको थियो ।’

गडुल भन्थे, ‘यम बराल भन्ने एउटा चटपटे ठिटो थियो । उसैले उकास्यो । ऊचाहिँ बिजुलीको वेगमा कता बेपत्ता भयो ।’

‘टिन–एज’ पनि पूरा नगरिसकेका यम बराल त्यस क्षेत्रमा पार्टीको जिम्मेवारीमा थिए । उनको ढंग नपुगेको भनेर तत्कालीन पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो । उनीविरुद्ध पार्टीभित्रै पनि उजुरी परिसकेको रहेछ । उनको ‘उरन्ठ्यौलो कार्यशैली र चिन्तन’ लाई छिन्ताङमा बेहोर्नुपरेको नोक्सानका लागि जिम्मेवार ठानियो । त्यसो त मदन भण्डारीले समेत पटक–पटक भ्रमण गरेको र सशस्त्र विद्रोहका लागि हतियार जम्मा गर्न ‘उक्साएको’ पनि भनिएको थियो । यद्यपि यम बरालको भनाइमा त्यो सबै पार्टीको योजना र नीतिअनुसार नै भएको थियो । बरालले भनेका थिए, ‘मैले त्यो ठाउँ पार्टीको निर्देशनमा नै छोडेका थिए, भागेको थिइनँ ।’

यस्तो थियो छिन्ताङ विद्रोहलाई हेर्ने सरकारी र तत्कालीन माले पार्टीको दृष्टिकोण । उक्त घटनाप्रति अन्य कम्युनिस्ट घटकहरूको दृष्टिकोण सकारात्मक हुने त कुरै भएन । कांग्रेस र पञ्च एकै कोटीका दुस्मन ठानिन्थे । छिन्ताङ विद्रोह भएको वर्षको दसैंताका ‘राजा र बीपी घाँटी जोडिएका नाग हुन्’ भन्ने आशयको पर्चा छापेर बाँडिएको थियो ।

त्यस क्षेत्रमा २०२७ सालदेखि नै मझिया राईहरूको चर्को शोषण, अत्याचार र व्यभिचारविरुद्ध साना–ठूला प्रतिरोधपूर्ण कारबाही र विद्रोह भइरहेकै थिए । ती शृंखलाबद्ध विद्रोहलाई बृहत्तर रूपमा पञ्चायतविरुद्धको प्रतिरोधको रूपमा पनि हेरिन्थ्यो । त्यस वर्षको सुरुदेखि नै गडुल र उनका केही सहयोद्धाले घरेलु हतियार जम्मा गर्ने, स्थानीय ‘सामन्त’ लाई कारबाही गर्ने, भकारी लुट्ने, बाख्रा, सुंगुर खोरबाट तान्ने, घर–गोठमा आगो लगाइदिने गतिविधि बढाउन थालेको थिए । उनीहरूले जानेको–सकेको प्रतिरोधको स्वरूप त्यस्तै थियो । गडुल ती सबै योजना बनाउने र कारबाहीको नेतृत्व गर्ने प्रमुख व्यक्तिमध्ये एक थिए । तत्कालीन पार्टीले पनि सोहीअनुसारको निर्देशन दिने गरेको थियो । यो सबको सुइँको पाएका स्थानीय पञ्चहरूले सशक्त कारबाहीको मागसहित उजुरी गरेका थिए । बताइएअनुसार, प्रधानमन्त्रीसमक्ष नै अनुरोध गरे– व्यवस्थाविरोधि गतिविधि दबाउन र स्थानीय पञ्चहरूको सुरक्षा गर्न ।

विद्रोहीहरू शान्त हुने सुरमा थिएनन् । बरु उजुरीपछि गाउँ आएका प्रहरीमाथि कारबाहीको तयारी गर्दै थिए । प्रहरीलाई खान, बस्न दिएको र सुराकी गरेको ‘अपराध’ मा व्यक्तिका घर जलाउने, हातपात गर्नेजस्ता ‘कारबाही’ गरे । यसबाट जिल्लाकै प्रहरीहरू पनि आत्तिएका थिए । उनीहरूले पनि ‘ठूलै राज्य द्रोह हुन लागेको’ र ‘ठूलै शक्तिले मात्रै दबाउन सकिने’ रिपोर्ट गरे । पछि माथिल्लो तहमै दमनको योजना बनेको थियो ।

गाउँ नै घेराबन्दी गर्दै विभिन्न नाकाबाट प्रवेश गर्न थाले प्रहरी । कात्तिक २४ मा प्रहरीले गाउँका असल, इमानदार र प्रचुर सम्भावना भएका एक होनाहार स्थानीय युवा नेता गोपाल आनन्द राईलाई घरबाटै पक्राउ गरे र हत्या गरे । गोपाल आनन्दको हत्यासँगै छिन्ताङमा अत्याचारको शृंखला सुरु भएको थियो । मंसिरको पहिलो सातासम्म १७ गाउँलेको हत्या गरिएको थियो । मारिनेमा स्थानीय राई र दलित थिए, जसमध्ये कोही संगठित विद्रोही थिए भने केही निर्दोष पनि प्रहरी ज्यादतीको सिकार भए । पूरै गाउँ सातादिनभन्दा बढी प्रहरीहरूको उन्माद र हत्या शृंखलाले आतंकित बन्यो । थुप्रै युवा गाउँ छाडेर भागे । कत्तिले जंगल र गुफाहरूमा कन्दमूल खाएर तथा भोकभोकै पनि ज्यान जोगाए ।

दुर्दान्त घटना थियो त्यो । यस्तो लाग्थ्यो, त्यस आतंकले अहिलेसम्मै पनि लखेटिरहेकै छ । पीडित जनता खासगरी त्यतिबेलाका विद्रोही–सहिद परिवार राज्यको त्यो आघात र अहिलेको बेवास्ताले झनै पीडित बनेका छन् । यिनैमध्ये कै एक थिए गडुल राई ।

छिन्ताङको त्यसबेलाको सघंर्ष, विद्रोहको ढंग र शैली हेर्दा लाथ्यो, माओवादी सशस्त्र विद्रोहको त्यो प्राग्–स्वरूप थियो र नियति पनि ।

फेरि गडुलकै कथा

उनले हामीलाई सुनाएको कथाको बाँकी अंश यस्तो थियो ।

त्यतिबेला उनी धेरै नेतालाई चिन्थे, तर पछि नेताहरूले उनलाई चिनेनन् । गुनासो त हुने नै भयो । लाग्थ्यो रे, ‘गरिब किसानको मुक्तिका लागि क्रान्तिमा त होमिने हो, मरे सहिद, बाँचे मुलुक हल्लाउनेछौं ।’ तर, ‘व्यवस्थाविरोधी’ भनेर मारिएका ती सहयोद्धा र निर्दोषलाई परिवर्तित राज्यले सहिद घोषणासमेत गरेन । ‘उनीहरू हाम्रा मनमा त अमर छन्, तर राज्यले सम्मान गर्न सकेन । आज सहिद परिवारलाई राज्यको कुनै सहयोग छैन ।’ त्यसैले कहिलेकाहिँ लाग्दोरहेछ, ‘बेकारमा यत्रो दुःख गरिएछ ।’

खासमा माओवादीभन्दा अर्कोलाई ‘राम्रो’ भन्न नसकेको, तर माओवादीले पनि धोका दिएको निष्कर्षमा पुगेका थिए उनी । भन्थे, ‘जनताले अब साँचो क्रान्ति गर्नुपर्छ, मुक्तिका लागि ।’

हामीले गडुलका समकालीन योद्धाहरूलाई पनि भेट्यौं ।

कितापप्रसाद राई गडुलका दौंतरी थिए, छिन्ताङ काण्डका कमान्डरमध्येका एक । उनको त्यतिबेलासम्मको राजनीतिक यात्रा पनि समान । कितापप्रसाद भन्थे, ‘क्रान्तिबाहेक मेरो कुनै सपना छैन, पार्टीबाहेक मेरो कुनै घर छैन ।’ उनको विचारमा गडुल क्रान्तिकारी त हुन् नै, तर ‘अलिक अव्यावहारिक छन्, अलिक आवेशमा आउँछन् ।’ सायद उनको त्यही आवेश थियो, जसले उनलाई जीवनभरि क्रान्तिकारी बनाएको थियो ।

आँखीसल्लाका पञ्चलाल गडुलहरूलाई ‘मिलिटरी’ तालिम दिन्थे रे । भारतीय सेनामा १८ वर्ष काम गरेर फर्केका पञ्चलाललाई ०२७ सालमा धरानमा पेन्सन थाप्न जाँदा अपरिचित दुई ब्यक्तिले माओको रेड बुक थमाइदिएछन् । त्यहीँबाट उनको राजनीतिक जीवन सुरु भएको थियो । त्यसपछि नै स्थानीय तहमा विद्रोह सुरु गरेका उनी जेल परे ६ वर्ष । पछि मालेको सम्पर्कमा पुगे । मसाल बने । अन्ततोगत्वा माओवादी । ७३ वर्षको उमेरमा पक्राउ परे । ‘यस्तो बूढो भएर पनि माओवादी बन्ने ?’ भनेर उनले पनि खपिनसक्नु पिटाइ खाए ।

हामी गडुलका साथ लागेर तिनै पञ्चलाललाई भेट्न उनको घर पुगेका थियौं । माओवादीको जनसरकार उपप्रमुख भइसकेका उनी पछिसम्म पनि माओवादी नै थिए, तर माओवादीले भनेको ‘क्रान्ति पूरा गर्छ’ भन्नेमा शंका गर्थे । भन्थे, ‘माओवादीले नगरे अर्को पार्टी आउँछ, क्रान्ति त हुन्छ हुन्छ ।’ सदाबहार विद्रोही गडुल त्यसैले पनि उनका प्रिय थिए । यो २०६३ सालसम्मको कथा थियो ।

छिन्ताङ वियोगान्त र बाँकी प्रश्न

पाँच वर्षपहिले एउटा समाचार हुर्रिएर आयो, गडुलको मृत्युको खबर बोकेर । सँगै अर्को समाचार पनि थियो, फुटनोटजस्तै । सुन्दा अपत्यारिलो । मान्छेको जीवन विब्ल्याँटो परिस्थितिहरूको योग हो । मरे सहिद बनिन्छ भन्ने आदर्शबाट प्रेरित उनको जीवन संघर्ष र विद्रोहको कथाको अन्त्य हो । एउटा विद्रोहीको वियोगान्त । चुपचाप ।

तर, प्रश्नहरूको अन्त्य भइसकेको छैन । गडुल राईको जीवन नै प्रश्नहरूको शृंखला थियो । क्रान्तिको आकांक्षा र मुक्तिको सपनाको अंकुरण कसरी हुन्छ ? कसरी मौलाउँछ ? कसरी सपना भ्रममा बदलिन्छ र मुक्ति आकांक्षाको अवसान हुन्छ ? ०३६ सालमा १७ जना निर्दोष स्थानीय मारिएको त्यो छिन्ताङ विद्रोह र ६३ सालसम्ममा १७ हजारभन्दा बढीको ज्यान गएको तत्कालीन माओवादी विद्रोहबीच केही समानान्तर नियतिहरू थिए ? यी र यस्तै धेरै प्रश्नहरू बाँकी छन् ।

किसान विद्रोह र वामपन्थी राजनीति एवं पार्टी निर्माणको सम्बन्ध अर्को महत्त्वपूर्ण प्रश्न हो । स्थानीय विद्रोह र किसान आन्दोलनको उपयोग गरेर पार्टी निर्माण त भयो, तर विद्रोह र किसानको नियति किन सधैं असफल मात्र रहिरह्यो ? के सार्वभौम किसान आन्दोलनका रूपमा तिनको विकास हुन सक्दैनथ्यो ? के ती राजनीतिक दलहरूको विस्तारका औजार मात्र थिए ?

प्रश्नहरू अनेक छन् । जवाफका लागि फराकिलो सन्दर्भ, आलोचनात्मक दृष्टिकोण र मिहिन विश्लेषण आवश्यक पर्छ । त्यसका लागि पनि छिन्ताङ विद्रोहहरूको ऐतिहासिक उपादेयता, गडुल राईहरूको निर्माण र विनिर्माणका कथाहरू भनिइरहनुपर्छ । तिनीहरू मान्छेका स्मृतिबाट हराउनु हुन्न । तिनीहरूलाई मान्छेका स्मृतिबाट हटाउनु हुन्न ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

बहस : अयोध्यादेखि अयोध्यासम्म 

विगतबारे दाबी–प्रतिदाबी पर्याप्त प्रमाणबिनै वा अन्वेषकका निष्कर्ष आउनुअघि नै हुने गर्छन् । यस्ता दाबीलाई हो वा होजस्तै बनाउने कार्यचाहिँ शक्ति र सत्ताले गर्छ । शक्ति र ज्ञानको सम्बन्ध यहीँनेर केलाउने हो ।
सुरेश ढकाल

काठमाडौँ — ‘भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ ।’ असारका अन्तिम दिनहरूमा नेपाली पत्रपत्रिकामा सम्भवत सबैभन्दा बढी लेखिएको वाक्य यही हो । कत्तिलाई यो सामान्य रमाइलो मात्रै लाग्यो होला, कत्तिलाई चाहिँ आर्कमिडिजको आविष्कार बराबरको विलक्षण उपलब्धि ।

नेपालका प्रधानमन्त्रीको उपरोक्त अभिव्यक्तिप्रति मलाई त्यतिबेला मात्रै चासो लाग्यो, जब एक प्राज्ञले त्रिभुवन विश्वविद्यालयको एक अनुसन्धान केन्द्रलाई प्रधानमन्त्रीको उक्त दाबीलाई सहयोग पुग्नेगरी अनुसन्धान गर्न निर्देशन दिए । प्रधानमन्त्रीको दाबीपछि नेपालको पुरातत्त्व विभागले त्यस ठाउँमा उत्खनन गर्ने रहर उजागर गर्‍यो । सुन्नमा आयो, केही विद्वान्ले ‘अयोध्या भनेको वीरगन्ज पश्चिमपट्टिको ठाउँ हो’ भन्ने प्रोजेक्टका लागि प्रस्तावनापत्रहरू तयार पार्न थालिसके । शक्ति र ज्ञानबीचको सम्बन्ध बुझ्ने एउटा पहलु र इतिहास पठनको राजनीतिक आयाम थाहा पाउने एउटा पाठ हुन सक्छ यो सन्दर्भ । त्यसैले प्राज्ञ, विश्वविद्यालय र पुरातत्त्व विभाग आदिको तत्परता अर्थपूर्ण लागेको हो मलाई । कुन समय र सन्दर्भको गर्भगृहबाट जन्मिएको थियो यस्तो हुटहुटी भन्ने कुराले यसको अर्थ–विस्तारमा सहयोग पुर्‍याउँछ ।

थप सन्दर्भ, धार्मिक र उन्मादी राष्ट्रवाद दक्षिण एसियामा अत्यधिक चर्चा भएको विषय हो । यसको उद्देश्य र अन्तर्यबारे पनि यथेष्ट बहस भएकै छन् । भन्न परोइन कि यसको केन्द्रमा भारत छ । अझै विशिष्ट रूपमा भन्दा भारतीय जनता पार्टीको सरकार र त्यसका नेतृत्वकर्ता नरेन्द्र दामोदारदासको शासन । धार्मिकताको जगमा ठड्याइएको राष्ट्रवाद निःशृत राजनीतिक अभीष्ट कसैका लागि अनुकरणीय हुनु हुँदैन ।

भ्रमित इतिहास र राजनीतिक लाभ

गत वर्ष सम्पन्न भारतको १७ औं लोकसभाको निर्वाचनमा भाजपाले अत्यधिक बहुमतले चुनाव जित्यो । भारतमा जोडतोडले चलिरहको दक्षिणपन्थी उभारको उच्चतम विन्दु थियो यो परिणाम सायद । चुनावी परिणाम जित्नेको सामर्थ्य एवं चातुर्य र पराजित हुनेको कमजोरीको कसीमै मूल्यांकन गरिने हो । भारतीयहरूले प्रशस्तै विश्लेषण गरेकै छन् यस परिणामबारे । थप कुरा पछि गरौंला । तर, केचाहिँ अहिले नै भनौं भने नेपालको चुनावी सन्दर्भ र परिणामबारे भने पर्याप्त विश्लेषण नै हुने गरेका छैनन्, केवल ठूला–साना विश्लेषकहरूको अनेक बान्कीका टिप्पणीबाहेक ।

तर, म यहाँ भारतीय वा नेपाली चुनावी परिणामको लेखाजोखा गर्दै छैन । त्यो अहिलेको सन्दर्भ होइन । सबैलाई थाहा भएको कुराचाहिँ के हो भने भाजपाको जितमा हिन्दूत्व र राष्ट्रवादको आधारभूमि बलियो थियो । यी दुवैमा समानता थियो त घृणा र पराइकरणको राजनीतिको । त्यस्तो घृणाको निसानामा पर्थे भारतीय मुसलमान । उनीहरू घृणाको मात्रै सिकार हुनुपरेका थिएनन्, त्यसबाट सृजित त्रासदीको पनि सिकार भएका थिए ।

भारतीय राजनीतिमा सामान्य ज्ञान हुनेले पनि जान्ने यथार्थ के हो भने सन् १९९० को दशकको सुरुआती वर्षसम्म भारतीय जनता पार्टीको यस्तो उभारको कमैले मात्र परिकल्पना गरेका थिए । तर, भयो । यसको सुरुआत त्यस्तै एक त्रासदीपूर्ण घटनाबाट सुरु भएको थियो ।

कुरा सिधै सुरु गरौं । धार्मिक उद्दण्डता विनाशको प्रमुख कारकमध्ये एक हो । स्मरण गरौं, भारतको उत्तरप्रदेश, अयोध्यास्थित बाबरी मस्जिद यस्तै एक धार्मिक उद्दण्डताको सिकार भएको थियो । मुगल राजकुमार बाबरले सोह्रौं शताब्दीमा बनाएको उक्त मस्जिद हिन्दू कट्टरपन्थीहरूले ६ डिसेम्बर १९९२ मा ध्वस्त पारिदिएका थिए, हिन्दू महाग्रन्थ रामायणका नायक रामको जन्मस्थल ठानिएको भूमिमा बनेको थियो भन्ने आग्रहका कारण ।

भारतीय पुरातत्त्वविद् बीबी लालले सन् १९७५–७६ मा उक्त स्थानमा उत्खनन गरेका थिए । त्यस उत्खननले कुनै चाखलाग्दो मध्यकालीन तथ्य फेला पार्न सकेको थिएन । तर, जुन १९९२ मा जमिनको सतहभन्दा १२ फुट तल कुँदिएका केही इँटाहरू फेला परे भनियो । केही भारतीय पुरातत्त्वविद्ले हतारमा एउटा पुस्तिका प्रकाशित गरिहाले, ‘रामजन्मभूमि अयोध्या ः न्यू आर्केओलोजिकल डिस्कभरिज’ शीर्षकमा । उक्त पुस्तिकाले के दाबी गर्‍यो भने एघारौं शताब्दीको हिन्दू मन्दिरको भग्नावशेषमा बाबरी मस्जिद ठड्याइएको थियो र उनीहरूले तर्क गरे– उक्त मन्दिर बाबरले नै भत्काएका थिए ।

भाजपा, विश्व हिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ आदिको कट्टरपन्थी धर्मान्धताको आवेगको निसानामा पर्‍यो मस्जिद र सखाप भयो एउटा सम्पदा । त्यसले भारतीय मुसलमानहरूलाई दुःखी र आक्रोशित तुल्याउनु स्वाभाविक थियो । सांस्कृतिक सम्पदा नष्ट गर्नु निन्दनीय कार्य थियो । धार्मिकताभन्दा धार्मिक व्यापार र रोष बढी भएको भारतमा धेरैले यसको खुलेर विरोध गर्न पनि चाहेनन् वा भनौं सकेनन् । आश्चर्य, धेरैको ध्यान के कुरामा गएन भने साँच्चै त्यहाँ भनिएजस्तै एघारौं शताब्दीको राम मन्दिर थियो त ? के त्यहाँ पर्याप्त पुरातात्त्विक प्रमाण फेला परिसकेका थिए, जसले त्यस ठाउँमा राम मन्दिर भएको पुष्टि गरोस् ?

आजभन्दा एक दशकअघि नै इतिहासविद् सुप्रिया वर्मा र जया मेननले ‘इकोनोमिक एन्ड पोलिटिकल विक्ली’ (डिसेम्बर ११, २०१०) मा ‘आर्कियलोजिकल सर्भे अफ इन्डिया’ को अयोध्यामा गरिएको उत्खनन विधि र प्रतिवेदनमाथि नै प्रश्न गरेर लामो बहस गरेका थिए र निचोड निकालेका थिए— त्यहाँ प्राज्ञिक लगनले काम गरेको थिएन । भत्काइएको मस्जिद राम मन्दिरको भग्नावशेषमा खडा गरिएको पूर्वाग्रही मान्यताबाट निर्देशित थियो र प्रतिवेदन सोहीअनुरूप आएको थियो ।

त्यसअघि नै ‘अयोध्या : आर्कियलोजी आफ्टर डेमोलिसन’ (२००३) पुस्तकमार्फत प्राचीन इतिहासविद् धनेश्वर मण्डलले नयाँ र ताजा भनिएको उपरोक्त अन्वेषण र उपलब्धिको खण्डन गरिसकेका थिए । उक्त पुस्तकको प्राक्कथनमा रोमिला थापरले भनेकी थिइन्, ‘राजनीतिक अभीष्टका लागि अनुसन्धान र अन्वेषण लतारिनु हुन्न ।’ सर्वपल्ली गोपाल, रोमिला थापर, विपन चन्द्रा, सब्यसाची भट्टाचार्यलगायत २५ जना ख्यातिनामा इतिहास अन्वेषकले ‘बाबरी मस्जिद : राम जन्मभूमि विवाद इतिहासको राजनीतिक दुरुपयोग हो’ भनेर उतिबेलै वक्तव्य जारी गरेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक ठानिन्छ ।

रमाइलो कुरा त केही प्राप्त पुरातात्त्विक प्रमाणकै आधारमा भनिँदै छ, ‘खासमा त्यो बुद्धस्थल थियो, बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल, जसलाई नासेर राम मन्दिर बनाइएको थियो ।’ विगतबारे यस्ता दाबी–प्रतिदाबी पर्याप्त प्रमाणबिनै वा अन्वेषकका निष्कर्ष आउनुअघि नै हुने गर्छन् । यस्ता दाबीलाई हो वा होजस्तै बनाउने कार्यचाहिँ शक्ति र सत्ताले गर्छ । शक्ति र ज्ञानको सम्बन्ध यहीँनेर केलाउने हो ।

बाबरी मस्जिद विनाशको उक्त घटना राम्रोसँग नसेलाउँदै सन् १९९४ मा नयाँदिल्लीमा वर्ल्ड आर्कियोलोजिकल कंग्रेसको तेस्रो सम्मेलन भएको थियो । त्यस सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न आएकी थिइन्, मेरी नर्वेली गुरुआमा प्राध्यापक हाल्यान्ड । ती प्राध्यापकले नेपालमा पनि केही पुरातात्त्विक अनुसन्धान सुरु गरेकी थिइन् । यद्यपि अर्की प्रसिद्ध जर्मन पुरातत्त्वविद् गुर्डुन कोर्भिनससँगको विवादपछि उनले नेपालको अध्ययनलाई निरन्तरता दिन पाइनन् । यसको पनि रोचक कथा छ, कुनै बेला भन्नका लागि । दुःखद, तिनै कोर्भिनसको बीभत्स हत्या भएको थियो २००६ को जनवरीमा, भारतको पुने सहरमा । उनका अनुसन्धान र प्रकाशित कार्यहरू नेपालको प्रागइतिहासका महत्त्वपूर्ण स्रोत हुन् । जब म मेरी प्राध्यापकसँग प्रसंगहरूमा पुरातत्त्व, पहिचान र विगतको स्वामित्वको राजनीतिबारे बहस गर्ने गर्थें, उनी मज्जा मानेर सुनाउँथिन्, नयाँदिल्ली सम्मेलनका किस्सा । जब त्यस सम्मेलनमा अयोध्याको कुरा उठ्थ्यो, भारतीय पुरातत्त्वविद्हरू यसरी बाझ्न थाल्थे रे, मानौं त्यहाँ अरू कोही छैनन् र सभा हल कुस्तीको मैदान हो । जब मोटाघाटा भारतीय प्राध्यापकहरू टेबुल नाघेर एकआपसमा लाप्पा नै खेल्न तयार भए, तब धेरै विदेशी सहभागी डराएर हल नै छोडेर बाहिर निस्केका थिए रे ! पछि उक्त कंग्रेसको अन्तर्राष्ट्रिय कार्यसमितिले त्यस विषय नै छलफलबाट हटाउने निर्णय गर्नुपरेको थियो ।

इतिहास, धर्म र राजनीतिको गलत अनुपातको मिसावटले निम्त्याउन सक्ने विनाशको मानक कथा थियो, बाबरी मस्जिदको विनाश । त्यहाँ केबल एक सांस्कृतिक स्मारक मात्रै ध्वस्त भएन, हजारौंको ज्यान पनि गयो । त्यही भग्नावशेष र लासहरूबाट उठेको थियो– नयाँ बहस, धर्मको आडमा घृणाको राजनीति र नयाँ द्वन्द्व, जसले भारतीय राजनीतिलाई अर्कै मोडमा पुर्‍याइदियो । त्यही मोडिएको राजनीतिक पथको यात्राबाट आजका मुकामसम्म आइपुगेका थिए— नरेन्द्र दामोदारदास र भाजपा । इतिहास र धर्मजस्ता संवेदनशील विषय जब राजनीतिक सत्ताको लहडका वस्तु बन्न पुग्छन्, कल्पना गर्न सकिने एउटै परिणाम अनिष्ट मात्र हो ।

यो उबेलाको राम र अयोध्याको कथा थियो, भारतको । अहिले हाम्रै भूमिमा अयोध्या र रामको नयाँ कथा भन्ने रहर गरिएको छ, यसको पटाक्षेप कस्तो हुने हो अन्योलै छ । तर, राजनीतिक चातुर्य र प्राज्ञिक चेतनाको बीचमा प्रस्ट सीमा कोर्न नसक्ने हो भने कुनै पनि खाले सुखद कल्पना गर्न सकिन्न । भारतीय सन्दर्भ एक दृष्टान्त मात्र थियो ।

राजनीतिक चातुर्य र प्राज्ञिक चेतना

उपरोक्त दृष्टान्तका आडमा भन्न खोजेको कुरा के मात्र हो भने इतिहास निरन्तर लेखन र पुनर्लेखन गरिने विषय हुन्, किनकि ती अन्तिम र अपरिवर्तनीय सत्य होइनन् । त्यसैले पनि इतिहासले सहजै राजनीतिक चरित्र ग्रहण गर्छ । प्राचीन इतिहास झनै जटिल विषय हो, जसबारे पुरातात्त्विक प्रमाणभन्दा मिथक, धार्मिक विश्वास र लोककथन बढी प्रभावकारी हुने गर्छन् । माथि नै भनियो— जब इतिहास, धर्म र राजनीतिको अस्वाभाविक घुलन हुन्छ, तब त्यहाँ तर्कहरूको अन्त्य र उन्मादी हर्कतले शिर उठाउँछ । शक्तिका बलमा वा शक्तिपूजनका खातिर गरिने अन्वेषण वा लेखिने वृत्तान्त शक्तिमा आउने ह्राससँगै बिलाउन थाल्छन् । कमजोर इतिहास चेत भएको समाजको चरित्र त्यस्तै हुने गर्छ ।

अन्त्यमा

जब राजनीति निश्चित राजनीतिक दर्शनबाट निर्देशित हुन छोड्छ, तब राजनीतिले लक्ष्य निर्क्योल गर्न सक्दैन । लक्ष्यविहीन राजनीतिको बाटो स्वाभाविक रूपमा अन्योलग्रस्त बन्छ र नेता तथा कार्यकर्ता दिग्भ्रमित । नेपालको वर्तमान राजनीतिको मनोदशा पनि यही हो । तर, प्राज्ञ र विश्वविद्यालय, अनुसन्धान, अन्वेषण गर्नेहरू त्यसैगरी दिग्भ्रमित हुन हुन्न । राजनीति गर्नेका रुचि, चातुर्य र अभीष्ट प्राज्ञिक महत्त्व र प्राथमिकताका नहुन पनि सक्छन् । तसर्थ प्राज्ञ र अन्वेषकमा आफ्ना एजेन्डा र प्राथमिकता निर्धारण गर्ने चेत र सामर्थ्य हुनैपर्छ ।

(शनिबार कान्तिपुरमा प्रकाशित हुने प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण ९, २०७७ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×