दलितका थर राखेर त हेर !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलितका थर राखेर त हेर !

घरबाहिर त जो पनि क्रान्तिकारी बन्न सक्छ । साँच्चिकै समाज बदल्न त ऊ घरभित्रै पस्नुपर्छ ।
किरण विक

पढेलेखेका केही ‘उपल्लो जात’का मान्छेहरू पछिल्लो समय भन्ने गर्थे, ‘अब पहिलाजस्तो छुवाछुत छैन, धेरै हटिसकेको छ, हजुरबा–हजुरआमा र बा–आमा पुस्ता सकिएपछि जातभात रहँदैन ।’ हामी दलितहरूले पत्याएका थिएनौं । किनभने गैरदलितले छुवाछुत देख्छ मात्रै, दलितले त भोगेकै हुन्छ ।

भोग्नु र देख्नुमा आकाश–पातालको फरक हुन्छ । यस बावजुद पनि अर्को पुस्ताबाट छुवाछुत हट्छ भन्ने कथ्य बलियो बन्दै गइरहेको थियो । तर, पछिल्ला केही घटनाक्रमले नेपाली समाजको सामाजिक चेतना छर्लङ्ग पारिदिएको छ । रूपा सुनार प्रकरण ठीकसँग सेलाएकै थिएन, फेरि चितवनमा भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बन्नुपरेको छ ।

खासमा हामी केही दलितलाई पनि नयाँ पुस्ताबाट आशा थियो, उनीहरूले जातीय छुवाछुत हटाउन सहयोग गर्लान् भन्नेमा । तर, नयाँ पुस्ता पनि भन्न थालेको छ, ‘समाज बिस्तारै बदलिन्छ, संस्कृतिको जगेर्ना गर्नुपर्छ, म मेरो बाउआमालाई मनाउन सक्दिनँ, कोटा दिएकै छ !’ यसबाट प्रस्ट भयो, अर्को पुस्ताले पनि छुवाछुत जस्ताको तस्तै बोकेको छ । हाम्रो नयाँ पुस्ता यस्तै चेतनामा बग्दै–बग्दै गइरहने हो भने पुस्तौं–पुस्तासम्मै समाज जहाँको त्यहीँ रहने अवस्था देखियो । मलाई/हामीलाई ‘नयाँ पुस्ता’ सँग डर छ ।

पुरानो पुस्तासँग कुनै आशा छैन । नयाँ पुस्तासँगको आशाको बत्ती पनि निभ्न लाग्दै छ । तर, छुवाछुतका घटनामा हामी प्रतिरोध गरी नै रहन्छौं । एक दलितले प्रत्येक दिन डरमर्दो विभेद भोगिरहेको हुन्छ । के हामीले विभेदैपिच्छे मुद्दा हाल्दै हिँडेका छौं त ? तर, जबजब अपमानले हद नाघ्छ, व्यक्तिको मानमर्दन गर्ने स्तरमा विभेद गरिन्छ, हामी चुप लाग्न पनि सक्दैनौं । कत्ति विभेद र छुवाछुत त हामीले त्यसै पचाउँदै आइरहेका छौं । सहनुको पनि सीमा नाघेपछि हामी विस्फोट हुन्छौं नै ! विभेदैपिच्छे मुद्दामामिला गर्ने हो भने प्रत्येक दिन हजारौं मुद्दा चलिरहेका हुन्थे । दलितका लागि समाज नै विपक्षी छ । दलितलाई त न्याय खोजीको मार्गमा हिँड्दा पनि यहाँ अवरोध मात्रै तेर्सिन्छ । संसारका सारा ज्ञान, उपलब्धिसँग जोडेर आफूलाई हेरिरहेको नयाँ युवा पुस्ता ढोंगरहित छैन ।

मैले अनुभव गरेको छु– आजको युवाले पनि भित्र गहिरो रूपमा विभेद बोकेर हिँडेको छ । त्यसले हामीलाई आतङ्कित, त्रसित र आक्रोशित बनाएको छ । युवा पुस्ताले भनिरहेको छ, ‘म बदलिन सक्छु, तर घर बदल्न जबर्जस्ती गर्दिनँ ।’ डर छ– संसारतर्फ लम्किरहेको यो पुस्ताले छुवाछुत र विभेद पनि संसारभर फैलाउने भयो ! पुस्तान्तरणसँगै विभेद पनि पुस्तान्तरण हुने अवस्थामा छ । एउटा व्यक्ति, समाज र राष्ट्रलाई मात्र होइन, मानव सभ्यतालाई नै लज्जित बनाउने विषय हो यो ।

घरबाहिर त जो पनि क्रान्तिकारी बन्न सक्छ । साँच्चिकै समाज बदल्न त ऊ घरभित्रै पस्नुपर्छ । अन्यथा दलितमाथिको ओठे–भक्तिमा मानवीय समानताभन्दा दया प्रतिविम्बित हुन्छ । दलितका लागि यो अर्को अपमान हो । दलितले दया होइन, मानवीय समानता खोजेका हुन् ।

घरभित्रै हुने अमानवीय छुवाछुत हटाउन नसक्नेले दुनियाँ बदल्छु भन्नु मुर्ख्याइँ हो । हामीलाई घरभित्रै क्रान्ति गर्ने युवा चाहिएको छ । रूढिग्रस्त चेतना बोकेको युवाले सामाजिक क्रान्ति गर्न सक्दैनन् । समाज बदल्छु भन्ने युवा नै सबैभन्दा पहिले बदलिन जरुरी छ । जसले घरका अघिल्लो पुस्तालाई छुवाछुत ठीक होइन, छुवाछुत गरे कानुन लाग्छ भनेर बुझाउन सक्दैन, उसले समाज परिवर्तन गर्छु भन्नु गम्भीर ठट्टा हो ।

समाज विवेकशील होला, कुरीति हट्ला भनेर हामीले लामो समय कुर्‍यौं, तर समाजले यसको निर्मूलमा कुनै चासो देखाएन । फलत हामीले औपचारिक कानुनको सहारा लियौं । अब हाम्रासामु कानुन नै विभेद र छुवाछुतविरुद्धको एक मात्रै हतियार बनेको छ ।

म गैरदलितलाई भन्छु– एकपटक तपाईंहरू नयाँ ठाउँमा घुम्न जाँदा, पाहुना जाँदा प्रस्ट दलित बुझाउने थर जोडेर आफ्नो परिचय दिनोस् । र, त्यसपछिका प्रतिक्रिया अनुभव गर्नुस् । यो सानो प्रयास मात्रैले पनि तपाईंलाई दलित हुनुको तनाव र दलितमाथि अपमान कति गहिरो हुँदोरैछ भन्ने बोध गराउँछ ।

एउटा लोककथाको सम्झनु सान्दर्भीक हुन्छ– एउटा राजालाई बगैंचामा जाँदा खुट्टामा काँडा बिझेछ । उनले दरबार फर्केर भारदार र मन्त्री, पण्डितहरूको बैठक बोलाएछन् । बगैंचा जाँदा काँडा बिझेको कुराले दरबारमा खैलाबैला भयो । बगैंचा जाँदा कसरी राजालाई काँडाबाट जोगाउने भन्ने विषयमा सोच्ने भनेर त्यस दिनको बैठक उठेछ ।

एक मन्त्रीले राजा जहाँजहाँ जान्छन्, त्यहाँत्यहाँ गलैंचा बिछ्याउन सुझाव दिएछन् । राजाले त्यस प्रस्तावलाई स्विकारे । तर, व्यावहारिक रूपमा त्यो निकै झन्झटिलो भएछ । सबै ठाउँमा गलैंचा बिछ्याउन सम्भव पनि त हुँदैन ।

एक पण्डितले राजा जाने बगैंचामा काँडा नभएको फूल मात्रै रोप्न भनेछन् । त्यो पनि गरिएछ । तर, त्यसरी त राजालाई मन पर्ने फूल नै नहुने भयो । र, बगैंचा नै नहुने भयो । एउटा भारदारले राजाले जहाँजहाँ टेक्छन्, त्यहाँत्यहाँ हात थाप्नुपर्ने सुझाव दिएछन् । त्यो पनि व्यावहारिक भएनछ ।

राजा समस्यामा परेको, तर समाधान ननिस्केको विषय देशैभर फैलिएछ । त्यसपछि एउटा सार्कीले छालाको जुत्ता राजालाई उपहार दिँदै भनेछ, ‘जहाँजहाँ जानुहुन्छ त्यहाँत्यहाँ यो जुत्ता लगाएर जानुस् महाराज, काँडाले केही गर्दैन ।’

हो रै’छ, छालाको जुत्ताले काम गर्‍यो । र, काँडा बिझेन । राजाले सार्कीलाई दरबारमा बोलाएर प्रशंसा गरेछन् । तर, भारदार, मन्त्री र पण्डितहरू शंका र तनाव भयो, ‘हामीजस्ता विद्वान्ले गर्न नसकेको कुरा कसरी यसले सक्यो ? पक्कै यसले षड्यन्त्र गरेको हुनुपर्छ !’ ‘विद्वान्’ हरूको शंकाले काम गर्‍यो । त्यस सार्कीलाई सजाय दिई राज्यबाटै लखेटियो !

आज पनि हामी दलित त्यही सार्कीको नियति भोगिरहेका छौं ।

प्रकाशित : कार्तिक २७, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

अन्ततः बदलिन्छ फैसला

क्लासिक फिल्म
किरण विक

निकै सिनेमा–प्रेमीले रुचाएको अर्थपूर्ण हिन्दी सिनेमा हो ‘एक रुका हुवा फैसला’ । यो थियो सिड्नी ल्युमेटले बनाएको ‘ट्वेल्भ एन्ग्री मेन’ (सन् १९५७) को रिमेक । नेपालीमा पनि यसको नाटक बन्यो— राजन खतिवडाको निर्देशनमा ‘बाह्र दुर्वासा’ भनेर । वास्तवमा, ‘ट्वेल्भ एन्ग्री मेन’ नाटककै रूपमा लेखिएको थियो । सन् १९५४ मा रेगिनाल्ड रोजले एउटा अमेरिकी टीभी च्यानलका लागि लेखेको नाटक जुन विभिन्न भाषामा अनुवाद भएर विभिन्न मुलुकमा नाटककै रूपमा यसको थुप्रै प्रदर्शन भइसकेको छ । सन् असीको दशकमा रञ्जित कपुरले यसलाई हिन्दीमा उल्था गरे । र, सन् १९८६ मा वासु चटर्जीले सिल्भर स्क्रिनमा उतारे । 


न्यायविधिमा एउटा त्यस्तो व्यवस्था हुन्छ जसलाई एमिकस क्युरी भनिन्छ, जसअन्तर्गत आवश्यक मानिएको खण्डमा समाजका लब्धप्रतिष्ठित र निष्पक्ष व्यक्तिहरूबाट जटिल मुद्दाहरूको फैसला सहज बनाउन सहयोग लिइन्छ । फैसलामा त्यस समूहका सबैको एकै राय हुनुपर्छ । फिल्म र नाटक यही समूहको आपसी छलफल र द्वन्द्वको कथा होः एक जना युवक आरोपित छ आफ्नै बाउको हत्या गरेकोमा ।

जटिल परिस्थितिका कारण अदालतले १२ जना प्रतिष्ठित व्यक्तिको एमिकस क्युरी खडा गर्छ । उनीहरू एउटा कोठामा जम्मा हुन्छन् र सुरु हुन्छ बहस । समूहमध्ये एक जनाले सही–गलतको निष्कर्ष निकाल्न पूरै केस सुरुदेखि अध्ययन गर्नु जरुरी छ भनेपछि मुद्दाको चिरफार सुरु हुन्छ । समूहको एघारै जना एकमत हुन्छन् केटो दोषी भएकोमा । तर, एक जना त्यसको विपक्षमा हुन्छ । द्वन्द्वको सुरुआत यहीँबाट हुन्छ ।

सिनेमामा कुनै पनि पात्रको नाउँ दिइएको छैन, नम्बर दिइएको छ । पात्र नम्बर एक छलफलको अनौपचारिक नेतृत्व गर्ने भूमिकामा छ । ऊ कुनै हाइस्कुलमा फुटबल कोचका रूपमा काम गर्छ । तर, ऊ सभाको प्रमुखचाहिँ होइन । सभामा सबैको बराबर हैसियत छ । दोस्रो नम्बरको पात्र युवक दोषी हो भन्नेमा एकोहोरो रूपमा विश्वस्त छ, उसलाई कारणको वास्ता छैन । ऊ बैंकमा काम गर्ने कर्मचारी हुन्छ । तेस्रो नम्बरको पात्र यस फिल्मको एक जना महत्त्वपूर्ण पात्रमध्येको एक हो । ऊ स्वयं सिनियर वकिल हो । ऊसले यसप्रकारका अनेकौँ केस लडिसकेको छ । ऊ पनि दोषी युवकलाई नै ठान्छ, किनभने सबै प्रमाण युवकको विरुद्धमा छ । युवकले किनेको चक्कु, बाउ–छोराको चर्काचर्की सुन्ने छिमेकी बूढो र झगडापछि घरबाहिर निस्केको देख्ने छिमेकी आइमाई यस केसका मुख्य प्रमाण हुन् । चौथो नम्बरको पात्र अरूभन्दा अलि भिन्न स्वभावको छ । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न हिच्किचाउँदैन । ऊ स्टक मार्केटको दलाल हुन्छ । तर, ऊ पनि युवकलाई नै दोषी ठान्छ । पाँचौ पात्रको आफ्नो कुनै राय हुँदैन । अरूको लहैलहैमा आफ्नो राय राख्छ । आरोपित युवकजस्तै ऊ पनि सुकुम्बासी बस्तीमै हुर्केको हुन्छ । छैटौं पात्र पनि केटोको विपक्षमै रहन्छ । ऊ हाउस पेन्टर हो । सातौं पात्र पनि पटकपटक जेल गएको युवकको पृष्ठभूमिका कारण उसैलाई दोषी ठान्छ । ऊ सेल्सम्यान हो । आठौं नम्बरको पात्र सुरुदेखि नै युवक दोषी वा निर्दोष भन्नेमा निश्चित छैन । ऊ आर्किटेक्ट हो । एक जना तन्नेरी ठिटोलाई फाँसी दिइन लागेको हुनाले यो मुद्दालाई उसले गम्भीरतापूर्वक लिएको छ । ऊ अलि भावुक पनि छ । केटाको पक्षबाट सित्तैंमा लडिदिने अवैतनिक वकिलले बिनापैसा लड्नुपरेकाले केटाको पक्षमा राम्ररी लडेकै छैन भन्ने उसको जिकिर हुन्छ । नवौं नम्बरको प्रौढ मान्छेलाई आठौं नम्बरका तर्कहरू जायज लाग्छन् । दसौं नम्बरको पात्रको बोली चर्को छ, ऊ मोटर–गराज व्यवसायी हो । ऊसको रायमा अहिलेका पुस्ता आपराधिक मनोवृत्तिका छन् । त्यसैले उसको विचारमा युवक दोषी छ । एघारौं नम्बरको पात्रको युरोपमा जन्मिए तापनि अमेरिकी नागरिकता लिएर अमेरिकामै घडीको व्यापारी हुन्छ । बाह्रौं नम्बरको पात्र एडभर्टाइजिङ एजेन्सीमा काम गर्छ । यो छलफलमा आफूलाई सामेल गरेकोमा ऊ खिन्न छ । बेलाबेलामा ऊ पत्रिकामा शब्द–पहेली खेलेर बस्छ । सुरु भएको सिनेमामा आठपटक मतदान गरिन्छ । चर्को बहस र तर्कसँगै बिस्तारै एकको संख्या बढ्दै जान्छ । अलग पृष्ठभूमि, फरक उमेर र भिन्न मनस्थितिमा पात्रहरू भएकाले उनीहरूको विचार पनि पृथक् छ । उनीहरूको तर्कका आधार पनि भिन्नाभिन्नै छन् ।

पूरै फिल्म जम्मा दुईवटा कोठामा सिध्याइएको छ । एउटा बैठककक्ष र अर्को शौचालय जानुअघिको कक्ष । यति सानो स्पेसमा यति गम्भीर कथा बुन्न सक्नु लेखकको कौशल र निर्देशकको कल्पनाशीलताबिना सम्भव थिएन । तर, एउटै फ्रेममा विविध क्रियाकलाप देखाइएकाले पनि स्पेस सानो महसुस हुँदैन । बहस गर्दागर्दै पहिले जुन आधारमा केटो दोषी मानिएको थियो, ती प्रमाणहरू नै फितला हुादै जान्छन् । बहसका क्रममा तेस्रो पात्रले पटकपटक युवकले बाउलाई ‘तँलाई नमारी छाड्दिनँ’ भनेको कुरा दोहोर्‍याइरहन्छ । ऊसको नजरमा यो कारण नै पर्याप्त छ केटोलाई हत्यारा साबित गर्न । एक ठाउँ पुगेपछि आठौं पात्रले तेस्रो पात्रलाई कुराकानीको क्रममा यति उत्तेजित र आक्रोशित बनाइदिन्छ कि तेस्रो पात्रको मुखबाट ‘तँलाई नमारी छाड्दिनँ’ भन्ने वाक्य फुस्किन्छ । तर, उसको मनसाय मार्छु नै भन्ने थिएन । यही कुरा संवादको क्रममा उसलाई बोध हुन्छ । ऊ पनि केटो निर्दोष भएको टुंगोमा पुग्छ । ‘तँलाई नमारी छाड्दिनँ’ भन्ने सुनेको प्रौढ छिमेकीले बडो मधुरो आवाजमा सुनेको हुन्छ । त्यो आवाज जसको पनि हुन सक्छ भन्ने टुंगो लाग्छ । आँखा कमजोर भएकी महिलाले बिनाचस्मा केटोलाई निस्किँदै गरेको देख्नु पनि तर्कसंगत नभएको कुरा बहसमै स्विकारिन्छ । आ–आफ्ना पूर्वाग्रहका कारण युवकलाई फाँसी दिनुपर्छ र ऊ दोषी हो भन्ने पक्षमा रहेका प्रतिष्ठितहरूको राय समयसँगै बदलिँदै जान्छ ।

कुनै पनि व्यक्तिको, घटनाको, मुद्दाको विश्लेषण गर्दा पहिलो विचारलाई नै अन्तिम बनाउनुहुँदैन, अरूको आँखाबाट त्यसलाई हेर्नु हुँदैन भन्ने कुरा लेखकले राखेका छन् । निर्देशकले बडो सुझबुझका साथ रोचक ढंगले यसलाई सिनेमामा रूपान्तरण गरेका छन् । क्लासिक सिनेमाको लर्कोमा यो सिनेमा पनि आफ्नो अर्थपूर्ण स्थान बनाएर बस्नेछ । गम्भीर र विचारोत्तेजक सिनेमाका प्रेमीका निम्ति यस फिल्मको महत्त्व सम्झाइरहनु नपर्ला ।

प्रकाशित : चैत्र ८, २०७६ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×