दलितका थर राखेर त हेर !- कोसेली - कान्तिपुर समाचार

दलितका थर राखेर त हेर !

घरबाहिर त जो पनि क्रान्तिकारी बन्न सक्छ । साँच्चिकै समाज बदल्न त ऊ घरभित्रै पस्नुपर्छ ।
किरण विक

पढेलेखेका केही ‘उपल्लो जात’का मान्छेहरू पछिल्लो समय भन्ने गर्थे, ‘अब पहिलाजस्तो छुवाछुत छैन, धेरै हटिसकेको छ, हजुरबा–हजुरआमा र बा–आमा पुस्ता सकिएपछि जातभात रहँदैन ।’ हामी दलितहरूले पत्याएका थिएनौं । किनभने गैरदलितले छुवाछुत देख्छ मात्रै, दलितले त भोगेकै हुन्छ ।

भोग्नु र देख्नुमा आकाश–पातालको फरक हुन्छ । यस बावजुद पनि अर्को पुस्ताबाट छुवाछुत हट्छ भन्ने कथ्य बलियो बन्दै गइरहेको थियो । तर, पछिल्ला केही घटनाक्रमले नेपाली समाजको सामाजिक चेतना छर्लङ्ग पारिदिएको छ । रूपा सुनार प्रकरण ठीकसँग सेलाएकै थिएन, फेरि चितवनमा भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बन्नुपरेको छ ।

खासमा हामी केही दलितलाई पनि नयाँ पुस्ताबाट आशा थियो, उनीहरूले जातीय छुवाछुत हटाउन सहयोग गर्लान् भन्नेमा । तर, नयाँ पुस्ता पनि भन्न थालेको छ, ‘समाज बिस्तारै बदलिन्छ, संस्कृतिको जगेर्ना गर्नुपर्छ, म मेरो बाउआमालाई मनाउन सक्दिनँ, कोटा दिएकै छ !’ यसबाट प्रस्ट भयो, अर्को पुस्ताले पनि छुवाछुत जस्ताको तस्तै बोकेको छ । हाम्रो नयाँ पुस्ता यस्तै चेतनामा बग्दै–बग्दै गइरहने हो भने पुस्तौं–पुस्तासम्मै समाज जहाँको त्यहीँ रहने अवस्था देखियो । मलाई/हामीलाई ‘नयाँ पुस्ता’ सँग डर छ ।

पुरानो पुस्तासँग कुनै आशा छैन । नयाँ पुस्तासँगको आशाको बत्ती पनि निभ्न लाग्दै छ । तर, छुवाछुतका घटनामा हामी प्रतिरोध गरी नै रहन्छौं । एक दलितले प्रत्येक दिन डरमर्दो विभेद भोगिरहेको हुन्छ । के हामीले विभेदैपिच्छे मुद्दा हाल्दै हिँडेका छौं त ? तर, जबजब अपमानले हद नाघ्छ, व्यक्तिको मानमर्दन गर्ने स्तरमा विभेद गरिन्छ, हामी चुप लाग्न पनि सक्दैनौं । कत्ति विभेद र छुवाछुत त हामीले त्यसै पचाउँदै आइरहेका छौं । सहनुको पनि सीमा नाघेपछि हामी विस्फोट हुन्छौं नै ! विभेदैपिच्छे मुद्दामामिला गर्ने हो भने प्रत्येक दिन हजारौं मुद्दा चलिरहेका हुन्थे । दलितका लागि समाज नै विपक्षी छ । दलितलाई त न्याय खोजीको मार्गमा हिँड्दा पनि यहाँ अवरोध मात्रै तेर्सिन्छ । संसारका सारा ज्ञान, उपलब्धिसँग जोडेर आफूलाई हेरिरहेको नयाँ युवा पुस्ता ढोंगरहित छैन ।

मैले अनुभव गरेको छु– आजको युवाले पनि भित्र गहिरो रूपमा विभेद बोकेर हिँडेको छ । त्यसले हामीलाई आतङ्कित, त्रसित र आक्रोशित बनाएको छ । युवा पुस्ताले भनिरहेको छ, ‘म बदलिन सक्छु, तर घर बदल्न जबर्जस्ती गर्दिनँ ।’ डर छ– संसारतर्फ लम्किरहेको यो पुस्ताले छुवाछुत र विभेद पनि संसारभर फैलाउने भयो ! पुस्तान्तरणसँगै विभेद पनि पुस्तान्तरण हुने अवस्थामा छ । एउटा व्यक्ति, समाज र राष्ट्रलाई मात्र होइन, मानव सभ्यतालाई नै लज्जित बनाउने विषय हो यो ।

घरबाहिर त जो पनि क्रान्तिकारी बन्न सक्छ । साँच्चिकै समाज बदल्न त ऊ घरभित्रै पस्नुपर्छ । अन्यथा दलितमाथिको ओठे–भक्तिमा मानवीय समानताभन्दा दया प्रतिविम्बित हुन्छ । दलितका लागि यो अर्को अपमान हो । दलितले दया होइन, मानवीय समानता खोजेका हुन् ।

घरभित्रै हुने अमानवीय छुवाछुत हटाउन नसक्नेले दुनियाँ बदल्छु भन्नु मुर्ख्याइँ हो । हामीलाई घरभित्रै क्रान्ति गर्ने युवा चाहिएको छ । रूढिग्रस्त चेतना बोकेको युवाले सामाजिक क्रान्ति गर्न सक्दैनन् । समाज बदल्छु भन्ने युवा नै सबैभन्दा पहिले बदलिन जरुरी छ । जसले घरका अघिल्लो पुस्तालाई छुवाछुत ठीक होइन, छुवाछुत गरे कानुन लाग्छ भनेर बुझाउन सक्दैन, उसले समाज परिवर्तन गर्छु भन्नु गम्भीर ठट्टा हो ।

समाज विवेकशील होला, कुरीति हट्ला भनेर हामीले लामो समय कुर्‍यौं, तर समाजले यसको निर्मूलमा कुनै चासो देखाएन । फलत हामीले औपचारिक कानुनको सहारा लियौं । अब हाम्रासामु कानुन नै विभेद र छुवाछुतविरुद्धको एक मात्रै हतियार बनेको छ ।

म गैरदलितलाई भन्छु– एकपटक तपाईंहरू नयाँ ठाउँमा घुम्न जाँदा, पाहुना जाँदा प्रस्ट दलित बुझाउने थर जोडेर आफ्नो परिचय दिनोस् । र, त्यसपछिका प्रतिक्रिया अनुभव गर्नुस् । यो सानो प्रयास मात्रैले पनि तपाईंलाई दलित हुनुको तनाव र दलितमाथि अपमान कति गहिरो हुँदोरैछ भन्ने बोध गराउँछ ।

एउटा लोककथाको सम्झनु सान्दर्भीक हुन्छ– एउटा राजालाई बगैंचामा जाँदा खुट्टामा काँडा बिझेछ । उनले दरबार फर्केर भारदार र मन्त्री, पण्डितहरूको बैठक बोलाएछन् । बगैंचा जाँदा काँडा बिझेको कुराले दरबारमा खैलाबैला भयो । बगैंचा जाँदा कसरी राजालाई काँडाबाट जोगाउने भन्ने विषयमा सोच्ने भनेर त्यस दिनको बैठक उठेछ ।

एक मन्त्रीले राजा जहाँजहाँ जान्छन्, त्यहाँत्यहाँ गलैंचा बिछ्याउन सुझाव दिएछन् । राजाले त्यस प्रस्तावलाई स्विकारे । तर, व्यावहारिक रूपमा त्यो निकै झन्झटिलो भएछ । सबै ठाउँमा गलैंचा बिछ्याउन सम्भव पनि त हुँदैन ।

एक पण्डितले राजा जाने बगैंचामा काँडा नभएको फूल मात्रै रोप्न भनेछन् । त्यो पनि गरिएछ । तर, त्यसरी त राजालाई मन पर्ने फूल नै नहुने भयो । र, बगैंचा नै नहुने भयो । एउटा भारदारले राजाले जहाँजहाँ टेक्छन्, त्यहाँत्यहाँ हात थाप्नुपर्ने सुझाव दिएछन् । त्यो पनि व्यावहारिक भएनछ ।

राजा समस्यामा परेको, तर समाधान ननिस्केको विषय देशैभर फैलिएछ । त्यसपछि एउटा सार्कीले छालाको जुत्ता राजालाई उपहार दिँदै भनेछ, ‘जहाँजहाँ जानुहुन्छ त्यहाँत्यहाँ यो जुत्ता लगाएर जानुस् महाराज, काँडाले केही गर्दैन ।’

हो रै’छ, छालाको जुत्ताले काम गर्‍यो । र, काँडा बिझेन । राजाले सार्कीलाई दरबारमा बोलाएर प्रशंसा गरेछन् । तर, भारदार, मन्त्री र पण्डितहरू शंका र तनाव भयो, ‘हामीजस्ता विद्वान्ले गर्न नसकेको कुरा कसरी यसले सक्यो ? पक्कै यसले षड्यन्त्र गरेको हुनुपर्छ !’ ‘विद्वान्’ हरूको शंकाले काम गर्‍यो । त्यस सार्कीलाई सजाय दिई राज्यबाटै लखेटियो !

आज पनि हामी दलित त्यही सार्कीको नियति भोगिरहेका छौं ।

प्रकाशित : कार्तिक २७, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

मसानघाट

रिमा केसी

जीवनको अस्ताचल अर्थात् मसानघाटन कुनै जात धर्म वा लिंगको भेदभावन त रुपरंग अथवा दौलतको अहंकार बिना कुनै नापतौल प्रवेश नि:शुल्क छ

बोर्डिङ पासको आवश्यकता छैन

न त उत्तीर्ण गर्नुपर्छ कुनै प्रवेश परीक्षा नै

जरुरी छैन उच्चसंयन्त्रको आकस्मिक बैठक

जहिल्यै खुला छ मसानघाटको प्रवेशद्वार


मान्छेका लाशको पर्खाइमा छन

केही टुक्रा रुखका लाशहरु यत्रतत्र

आगोको मिलनमा धुँवा बन्नका लागि

बस खरानी हुनु छ

खरानी हुनु भनेको सकिनु होइन

परम शान्तिमार्गमा महाप्रस्थान गर्नु हो

आत्मिक हुनु हो

ब्रम्हाण्डको सत्तासँग एकाकार हुनु हो


आगोमा भस्मीभूत भइरहँदा

देहसँगै समाधिस्त हुन्छ

मानिसको मोहमायाको संसार

धमिराको घर जस्तै ढल्छ

सारा घमण्ड रिस र लोभको साम्राज्य


एक धरो सेतो कात्रोमा बेरिएर

मसानघाटमा खरानी हुनु

अनन्त शून्यतामा विलीन हुनु हो

अथाह रिक्तताले भरिनु हो

जीवनको पूर्णताप्राप्ति हो

शाश्वत सत्यको रंगभूमि हो

जहाँ कात्रोको कुनै खल्ती हुँदैन

न हुन्छ कुनै उपभोक्तावादी ब्राण्ड .....!

प्रकाशित : कार्तिक २७, २०७८ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×