कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अनि भान्सामा छिर्‍यो ढिक्री

पश्चिमका थारू सादा ढिक्री खान्छन् । पूर्वीया थारू ढिक्रीजस्तै परिकार बनाउँछन्, जसलाई बगिया भनिन्छ । योमरीमा चाकु हालेझैं मसला, दाल पिसेर हालिन्छ– बगियामा । अब ढिक्री सहर पसेको छ, व्यवसायीकरण हुँदै गएको छ । गुलियो, नरिवल आदि मिसाएरसमेत बेच्न थालिएको छ ।
भनिन्छ, जबदेखि थारू समुदायले खान सिक्यो, तबदेखि उसको भान्सामा ढिक्रीले स्थान पायो । नयाँ चामलको पिठोबाट बनेको ढिक्री दसैंमा देवीदेवता तथा पितृलाई पुजेर मात्रै खाने चलन छ ।
बुनु थारु

सैंले संघार टेकिसकेको थियो । सधैं दुःखको जाँतो पिसिरहने गाउँ चाडबाडमा न हो, एकैछिन सुस्ताउन पाउने । यही सुस्ताइमा आफन्त, घरछिमेकीहरू भेटघाट गर्छन्, दुःख बिर्सिएर रमाउने कोसिस गर्छन् ।

अनि भान्सामा छिर्‍यो ढिक्री

चाडबाड त केटाकेटीलाई बढी लाग्नेरहेछ । उत्सवको माहोलमा म पनि मिसिएँ । घरमा विभिन्न थारू परिकार पाक्ने क्रम जारी थियो । मैले आँखा छलेर एउटा भाँडामा हात घुसारेँ, जहाँ बादलको गुच्छाजस्तै बनेर बाफ मेरो अनुहार छोप्न आइपुग्यो । अनुहार रातो भयो, हातमा फोका उठे । फुपूले हात चिसो होस् भनेर जाँड लगाइदिइन् । अहिले बेलाबेला आमा भन्ने गर्छिन्, ‘ढिक्री खाने तिम्रो लालसाले हात पोलेर बनेको घाउले धेरै दिन दुःख दियो ।’ तर, मलाई भने हात बाफिएको अलिअलि मात्रै याद छ ।

खासमा ढिक्री बफ्याउन भाँडो (पैन) मा राखिएको रहेछ । यो परिकारको नाम ढिक्री हो भन्ने मैले पहिलो पटक त्यतिबेला थाहा पाएँ, जतिबेला म दुई कक्षामा पढ्थेँ । विशुद्ध चामलको पिठोबाट मात्रै बनेको लाम्चो आकारको त्यो तातो ढिक्रीको स्वाद अझै जिब्रोमै झुन्डिएको छ ।

दाङ देउखुरीमा जन्मिएकी मेरो हुर्काइ सानैदेखि काठमाडौंमा भयो । राजधानी बस्दा पनि आमाले थारू मौलिक परिकार बनाउन कहिल्यै छुटाउनुभएन । ढिक्री मात्रै होइन घोंगी, खरिया, बरिया, फुलौरी खाने सौभाग्य अझै पाइरहेकै छु ।

कोसेली विशेष

नेवारी परिकार योमरीजस्तै हुन्छ ढिक्री, त्यो पनि चामलकै पिठोबाट बनेको । ममःझैं बफ्याएर बनाइने ढिक्री थारूहरूको मौलिक विशेष परिकार हो । ढिक्री सिद्राको चटनी र घोंगीसँग खान स्वादिष्ट मानिन्छ । थारू अनुसन्धानकर्ता डा. गोपाल दहित भन्छन्, ‘विशेष अवसरमा विभिन्न आकार–प्रकारका ढिक्री बन्छन् । थारूहरूको नयाँ वर्ष माघी, दसैं अनि दीपावलीमा यो टुट्दैन ।’

कोसेलीका रूपमा पनि ढिक्री दिने चलन छ । माइतीबाट बिदाइ हुने छोरीचेलीलाई पाहुर दिने र कुनै खुसीको अवसरमा ढिक्री बनाएर खाने चलन अझै थारू समुदायमा जीवित छ । भनिन्छ, थारू समुदायले जबदेखि खान सिक्यो, तबदेखि उसको भान्सामा ढिक्रीले स्थान पायो । माइतीबाट घर फर्कंदा छोरीचेलीले ढिक्रीको कोसेली लिएर हिँडे बाटोमा कुनै बैरीले दुःख नदिने कथन छ । थारू लोकसंस्कृतिका जानकार डा. कृष्णराज सर्वहारी भन्छन्, ‘ढिक्रीमा पितृको बास हुन्छ, त्यसले छोरीचेलीको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ ।’

ढिक्री भन्नेबित्तिकै पितृ बुझिने बताउँछन् थारू संस्कृतिका अर्का जानकार तथा बुद्धिजीवी सुशील चौधरी । उनका अनुसार, थारूहरूको चोखो परिकार हो ढिक्री । नयाँ चामलको पिठोबाट बनेको ढिक्री दसैंमा देवीदेवता तथा आफ्नो पितृलाई पुजेर मात्रै खाने चलन छ । अन्नप्रति थारू समुदायको सम्मान र आफ्ना पितृलाई गर्ने सांकेतिक सम्मानका लागि ढिक्री विशेष परिकार मानिन्छ । चिल्लो, पिरो वा मरमसला केही नहाली शुद्ध पानीमा बफ्याएर बनाइने ढिक्रीमा कुनै मिसावट नभएकाले यो स्वास्थ्यबर्द्धक पनि छ । ‘ढिक्रीको व्यावसायिक प्रवर्द्धन आवश्यक छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयमा यसमा पाइने तत्त्वको परीक्षण गराएमा अझ सहयोग पुग्थ्यो,’ चौधरीले भने, ‘घोंगीमा सबैभन्दा बढी प्रोटिन पाइन्छ भन्ने पुष्टि भएको छ । त्यस्तै, ढिक्रीबारे पनि प्रचारप्रसार आवश्यक छ ।’

पश्चिमका थारू सादा ढिक्री खान्छन् । पूर्वीया थारू ढिक्रीजस्तै परिकार बनाउँछन्, जसलाई बगिया भनिन्छ । योमरीमा चाकु हालेझैं मसला, दाल पिसेर हालिन्छ– बगियामा । अब ढिक्री सहर पसेको छ । यसको व्यवसायीकरण हुँदै गएको छ । गुलियो, नरिवल आदि मिसाएर ढिक्री बेच्न थालिएको छ ।

भारतमा बस्ने थारूहरूले पनि बनाउँछन्– ढिक्री । पश्चिमा थारूले झैं बनाइने ढिक्रीलाई त्यहाँ पिठा भनिन्छ । बिहार पश्चिम चम्पारण जिल्लाअन्तर्गत जमुनिया गाउँका शिक्षक सत्यनारायण गढवालका अनुसार, उनीहरू पनि पितृलाई पिठा चढाउँछन् ।

ढिक्री : दियोदेखि हात्तीसम्म

ढिक्री बनाउने/खाने परम्परा थारू संस्कृति/संस्कारसँग अन्तरसम्बन्धित छ । ढिक्री बनाउने शैलीमा अनेक विविधता छन्, यसले कलात्मकता पनि झल्काउँछ ।

थारू संस्कृतिका जानकारहरूका अनुसार, ढिक्री विभिन्न आकारप्रकारका हुन्छन् । अनुसन्धानकर्ता डा. गोपाल दहितले ‘थारू संस्कृतिको संक्षिप्त परिचय’ मा ढिक्रीलाई सात प्रकारमा छुट्याएका छन् :

लम्मा (लामो) ढिक्री

सबैभन्दा रुचाइएको ढिक्रीमा पर्छ, लामो ढिक्री । विशेषतः थारू समुदायको नयाँ वर्ष माघीमा लामै ढिक्री मात्र बनाइन्छ । छोरीचेलीले आफ्नो दाजुभाइको लामो आयु होस् भन्दै लामो आकारको ढिक्री बनाउने किंवदन्ती छ । अहिले व्यावसायिक प्रयोजनका लागि थारू रेस्टुरेन्ट तथा होटलमा लामो ढिक्री रुचाइएको छ ।

गुलियार (गोलो) ढिक्री

यो ढिक्री विशेषतः दसैंमा बनाइन्छ । अष्टमीको दिन बेलको काँडाको हाँगामा फलझैं फलाएर देउतालाई चढाएपछि मात्र खाने चलन छ ।

बोझा ढिक्री

पातलो लामो खालको पाँच–पाँचवटा ढिक्री दुई भागमा बाँधेर भारी बनाइएको ढिक्रीलाई बोझा ढिक्री भनिन्छ । दसैंको अष्टमी तथा दीपावलीको लक्ष्मीपूजाका दिन देउतालाई प्रसादको रूपमा चढाउन मात्रै बोझा ढिक्री बनाइन्छ । थारू समुदायको पुर्ख्यौली पेसा कृषि भएकाले भारी बोक्ने काम आइपर्छ । बोझा अर्थात् भारी त्यसैको प्रतीक हो । बोझा ढिक्रीले परिवारका सबै मिली हाँसीखुसी साथ बसौं भन्ने सन्देश पनि दिन्छ ।

दिया (दियो) ढिक्री

दियोजस्तै देखिन्छ यो ढिक्री । गोलाकार ढिक्रीलाई बुढीऔंलाले थिचेर दियो आकारमा ढालिन्छ । अघिपछि प्रायः यो ढिक्री बनाइँदैन । दीपावली (डेवारी) मा लक्ष्मीपूजाका दिन यो ढिक्री देवतालाई चढाएर मात्रै खान पाइन्छ ।

लट्ठी ढिक्री

यो ढिक्री लामो ढिक्रीभन्दा लगभग दोब्बर आकारमा बनाइन्छ– लक्ष्मीपूजाका दिन देउतालाई प्रसादको रूपमा चढाउनका लागि । खासगरी दहित थरका थारूहरूले पूजा गरेपश्चात् घरको दुवैपट्टिको ढोकामाथिको छाप्रोमा लट्ठी ढिक्री घुसार्छन् । यसले घरको रक्षा गर्ने विश्वास गरिन्छ ।

छिट्रही ढिक्री

दसैंको अष्टमीका दिन देउतालाई प्रसादको रूपमा यो ढिक्री चढाइन्छ । ठूलो आकारको दियो ढिक्रीमाथि तीनदेखि पाँचवटा मसिना गोलो ढिक्रीको चाङ लगाएर बनाइएको ढिक्रीलाई छिट्रही भनिन्छ । बोझा ढिक्रीलाई पुरुषले बोक्ने भारीको रूपमा र छिट्रहीलाई महिलाले बोक्ने भारीको रूपमा लिइन्छ ।

हाठिया (हात्ती) ढिक्री

थारूहरूले हात्ती पुज्ने गर्छन् । हात्तीसारमा अझै माहुतेहरू थारू समुदायकै छन् । हात्ती पुज्ने दहित थरका थारूले दसैंमा देउतालाई चढाउन हात्तीको शरीरको आकारझैं हाठिया ढिक्री बनाउँछन् ।

अब मेनुमा पनि

घरघरमा पाक्ने ढिक्री अब रेस्टुरेन्टको मेनुमा पनि अटाउन थालेको छ । थारू होमस्टे तथा थारू बाहुल्य क्षेत्रमा खोलिएका होटल रेस्टुेन्टमा ढिक्री बनाउने क्रम बढ्दो छ । सहरबजारमा आयोजना हुने माघी महोत्सवमा त थारू परिकारको माग बढी हुने भइहाल्यो । त्यसमाथि ढिक्री र घोंगीको माग बढेको छ । थारू विशेष परिकार बेच्ने उद्देश्यले काठमाडौंको कीर्तिपुर पाँगामा खुलेको छ– बरघर थारू रेस्टुरेन्ट, जसका सञ्चालक सीताराम चौधरी राजधानीमा आयोजना हुने माघी महोत्सवमा हरेक वर्ष स्टल राख्छन् । र, थारू खानाको राम्रो व्यापार गर्छन् ।

आफ्नो रेस्टुरेन्टमा आउने थारू/गैरथारूले घोंगी र ढिक्री नै बढी रुचाउने गरेको उनले बताए । भन्छन्, ‘सांस्कृतिक महत्त्वसँगै आर्थिकोपार्जनका लागि पनि ढिक्री राम्रो परिकार हो ।’ रेस्टुरेन्टमा उनी २० भन्दा बढी प्रकारका थारु परिकार बेच्छन् । कोभिडले व्यापार खुम्चिए पनि अघिपछि ढिक्री र घोंगीको व्यापार राम्रो रहेको उनको अनुभव छ ।

प्रकाशित : कार्तिक २७, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?