कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मसानघाट

रिमा केसी

जीवनको अस्ताचल अर्थात् मसानघाट
न कुनै जात धर्म वा लिंगको भेदभाव
न त रुपरंग अथवा दौलतको अहंकार
बिना कुनै नापतौल प्रवेश नि:शुल्क छ

मसानघाट

बोर्डिङ पासको आवश्यकता छैन

न त उत्तीर्ण गर्नुपर्छ कुनै प्रवेश परीक्षा नै

जरुरी छैन उच्चसंयन्त्रको आकस्मिक बैठक

जहिल्यै खुला छ मसानघाटको प्रवेशद्वार


मान्छेका लाशको पर्खाइमा छन

केही टुक्रा रुखका लाशहरु यत्रतत्र

आगोको मिलनमा धुँवा बन्नका लागि

बस खरानी हुनु छ

खरानी हुनु भनेको सकिनु होइन

परम शान्तिमार्गमा महाप्रस्थान गर्नु हो

आत्मिक हुनु हो

ब्रम्हाण्डको सत्तासँग एकाकार हुनु हो


आगोमा भस्मीभूत भइरहँदा

देहसँगै समाधिस्त हुन्छ

मानिसको मोहमायाको संसार

धमिराको घर जस्तै ढल्छ

सारा घमण्ड रिस र लोभको साम्राज्य


एक धरो सेतो कात्रोमा बेरिएर

मसानघाटमा खरानी हुनु

अनन्त शून्यतामा विलीन हुनु हो

अथाह रिक्तताले भरिनु हो

जीवनको पूर्णताप्राप्ति हो

शाश्वत सत्यको रंगभूमि हो

जहाँ कात्रोको कुनै खल्ती हुँदैन

न हुन्छ कुनै उपभोक्तावादी ब्राण्ड .....!

प्रकाशित : कार्तिक २७, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?