२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
कोसेली

विभूति : तथ्य कम, मिथ्या बढी

पञ्चायतकालदेखि छनोट थालिएको राष्ट्रिय विभूतिको उपाधि सधैं विवादमा छ । इतिहासकार महेशराज पन्त लेख्छन्– पञ्चायतपछिको कालमा पनि केही विवादास्पद व्यक्ति राष्ट्रिय विभूतिमा छानिएका छन् । अहिले त्यो क्रम बढ्दै गएको देखिन्छ । राष्ट्रिय विभूति छनोटको खास मापदण्ड के हो ?
डा. महेशराज पन्त

आफ्नो देशको उन्नतिमा सार्थक र असन्दिग्ध अवदान भएको देशवासीलाई ‘राष्ट्रिय नायक (न्याशनल हीरो)’ भनी सम्मान गर्ने चलन आधुनिक सभ्य राष्ट्रमा चलेको छ । त्यसैको अनुकरणमा नेपालमा पनि ‘राष्ट्रिय विभूति’ भन्ने संज्ञाले देशवासीलाई सम्मान गरिन थालेको आधा शताब्दीभन्दा बढी समय बितिसकेको छ । तर, अङ्ग्रेजीको ‘हीरो’को अर्थमा ‘विभूति’ शब्द किन चलाइयो, बुझ्न सकिएन !

विभूति : तथ्य कम, मिथ्या बढी

भाववाचक ‘विभूति’ शब्दको खास अर्थ ‘ऐश्वर्य’ हुने भएकाले ‘व्यक्ति’को अर्थमा ‘विभूति’ शब्द चल्नुको कारण ‘हीरो’का अर्थमा ‘वीर’ शब्द चलाउँदा जम्मै खालका नायकलाई नबुझाई अव्याप्तिदोष लाग्ने भएकोले अङ्ग्रेजीको ‘यासेट्स्’ शब्द मनमा राखी ‘विभूति’ शब्द चलाएको हुन सक्छ । यस विषयमा म बढी जान्नँ, किनकि ‘हीरो’को अर्थमा पहिलोपटक ‘विभूति’ शब्द चलाउने टोली बितिसके पनि ‘राष्ट्रिय विभूति’ थप्ने काम गर्दै गएको सरकारी निकाय नै ‘विभूति’ शब्दको औचित्य सिद्ध गर्न जिम्मेवार छ ।

कुरा २०२४ सालको हो । पञ्चायती शासनको जल्दोबल्दो समय थियो । शहरको मात्र विकास नगरी ग्रामीण समाजलाई पनि जाग्रत् गर्ने नारासहित ‘गाउँ फर्क राष्ट्रिय अभियान’को नाउँले नयाँ कार्यक्रमको शुरूवात त्यस वेला गरियो । ‘राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई व्यापक र सुदृढ बनाउने’ उद्देश्य लिई ‘देशको गौरवमय इतिहास र पुर्खाहरूका महान् चरित्रहरूप्रति जनताको हृदयमा श्रद्धा र कृतज्ञता जगाउने प्रसङ्ग’मा सरकारले विशिष्ट भनी ठानेका १३ जना व्यक्तिलाई विभूतिको संज्ञा दिई तिनीहरूको ‘गाथा प्रकाशित गरिने’ आदि उद्देश्य राखी ‘राष्ट्रिय विभूति’को प्रतिष्ठापन गरियो ।

कविवर बालकृष्ण सम (वि.सं. १९५९–२०३८)ले लेखेको ‘हाम्रा राष्ट्रिय विभूतिहरू’ भन्ने पुस्तक त्यही साल पूस १ गते सरकारी तवरबाट सूचनाविभागमार्फत एकैपल्ट १० हजार प्रति प्रकाशित गरियो । ‘गाउँ फर्क राष्ट्रिय अभियान’को पुस्तिकामा जजसलाई राष्ट्रिय विभूतिमा दरिएको थियो, ती तीको संक्षिप्त गाथा त्यसमा परेको छ । ‘श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको ‘गाउँ फर्क’— राष्ट्रिय अभियानबाट २०२४’ भनी त्यस पुस्तकको मुखपृष्ठमै छापिएकोले र पुस्तकमा गाउँ फर्क राष्ट्रिय अभियानको केन्द्रीय कार्यालयको छाप लगाई वितरण गरिएकोले राष्ट्रिय विभूतिसम्बन्धी व्यवस्था ‘गाउँ फर्क’कै अविच्छेद्य अङ्ग भएको देखिन्छ ।

जुन वर्ष राष्ट्रिय विभूतिको छनोट भयो, त्यसभन्दा १६ वर्षअगाडि नै नयराज पन्त (वि.सं. १९७०–२०५९)ले राष्ट्रिय विभूतिमा पछि छानिने १३ जनामध्ये बडाकाजी अमरसिंह थापा (वि.सं. १८०८–१८७३) र कपतान बलभद्र कुँवर (वि.सं. १८४६–१८७९)लाई अङ्ग्रेजसँग भएको लडाइँमा ‘हरूवा फौजका सेनापति’ भनी आफ्नो विचारोत्तेजक निबन्ध ‘अन्धो कल्लाई भन्ने’मा लेखिसकेका थिए (‘पुरुषार्थ’, २००८, ५–६ पृ.) । कुरा के भने, वि.सं. १८७१ मा ब्रिटिश भारतले ६ मुख भएर नेपाल हान्न आफ्नो फौज पठाएको थियो । नयराजकै शब्दमा ‘तीन ठाउँमा थुप्रा अंग्रेजहरूको थोरै नेपालीहरूबाट दुर्गति भएर भागाभाग भयो । तीन ठाउँमा थुप्रो अंग्रेजी फौजको सामुन्ने प्रशस्त नोक्सान पारी हार्‍यो ।’ यस लडाइँमा जुन सेनापतिहरूले अङ्ग्रेजी फौजलाई हराए, तिनीहरूको नाउँ पनि अङ्ग्रेजहरूले राम्रोसँग लिएका छैनन् । लडाइँमा आफूले हराएका अमरसिंह थापा, बलझद्र वुँवर जस्ता सेनापतिहरूको अङ्ग्रेजले प्रशस्त तारीफ गरेका छन् । आफूसँग हार्ने शत्रुहरूको यस्तो तारीफको कारण आठौँ शताब्दीका प्रसिद्ध कवि दण्डीको अलङ्कारशास्त्रको ग्रन्थ ‘काव्यादर्श’ (१।२२)मा नयराज भेट्टाउँछन् । काव्यमा नायकको विषयमा लेख्दा ‘शत्रुको कुलघरान, पराक्रम, विद्याहरूको बयान गर्दा शत्रुलाई जित्नाले हुन गएको नायकको उत्कर्षको बयान पनि हामीलाई मन पर्ने हुन्छ’ भनी दण्डीले महाकाव्यको लक्षणको प्रसङ्गमा लेखेकाले शत्रुपक्षको राम्रो बयान गर्दा नायककै बयान हुन्छ भन्ने स्पष्ट हुन्छ ।

नाताले बलभद्र कुँवरका मातामह अर्थात् आमाका बाबु अमरसिंह थापा र अमरसिंहका दौहित्र अर्थात् छोरीका छोरा बलभद्र तथा ओहदाको हिसाबले पनि बाजे निकै माथि भए पनि असाधारण वीरताको प्रदर्शनले गर्दा बलभद्रको ख्याति बाजेको भन्दा निकै बढी भयो । यसैले नालापानीको लडाइँमा अङ्ग्रेजसँग हारी किल्ला छोडी गएका बलभद्र पछि नौशेराको लडाइँमा परिसकेपछि उनको सम्झनामा अङ्ग्रेजहरूले शिलापत्रसहित त्यहाँ स्मारक चि≈न खडा गरेका थिए ।

अङ्ग्रेजी शासनबाट उन्मुक्ति पाउने जोडदार इच्छाले अभिप्रेरित भारतीय मसीजीवीहरूले आत्मगौरव बढाउन आ–आफ्नो ढङ्गले आफ्नो देशको प्राचीन र अर्वाचीन गाथा गाउने प्रथा चल्दा नेपालसँग सीमाना जोडिएको बङ्गालका एकाध मसीजीवीहरू पनि नेपाल र अङ्ग्रेजको लडाइँको इतिवृत्ततर्फ आकृष्ट भए । त्यसैले प्रसिद्ध बङ्गाली लेखक जलधर सेन (वि.सं. १९१६–१९९५)ले र बङ्गालका विश्वविश्रुत वैज्ञानिक जगदीशचन्द्र वसु (वि.सं. १९१५–१९९४)ले बङ्गाली भाषामा बङ्गाली पत्रिकामा नालापानीको लडाइँको विषयमा लेख प्रकाशित गरे ।

बङ्गाली बुद्धिजीवीहरूको यस्तै कामबाट उत्प्रेरित भएर बङ्गालमा बसी जीविकोपार्जन गरिरहेका सूर्यविक्रम ज्ञवाली (१९५५–२०४२)ले आफूले वीर भनी ठानेका नेपालीहरूको चरित प्रकाश गर्न थाले । यसै क्रममा उनले बलभद्र कुँवरको चरित वि.सं १९९९ मा र अमरसिंह थापाको चाहिँ वि.सं. २००० मा दार्जिलिङबाट नेपाली साहित्यसम्मेलनमार्फत प्रकाशित गरे । अमरसिंह थापाको चरित प्रकाश गरेको लगत्तैजसो सूर्यविक्रम ज्ञवालीको पुस्तक ‘नेपाली वीरहरू’ दार्जिलिङबाट त्यही साल प्रकाशित भयो । आठ अध्यायमा बाँडिएको त्यस पुस्तकमा पछि राष्ट्रिय विभूतिमा गनिएका १३ जनामध्ये जनक, बुद्ध (वि.पू ५०६–४२६), अंशुवर्मा (निश्चित शासनकाल वि.सं. ६५२–६७९), अनिको (अहिले चलनचल्तीमा अरनिको) (वि.सं. १३०२–१३६२), पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल १७९९–१८३१), अमरसिंह थापा, बलभद्र कुँवर र भानुभक्त आचार्य (वि.सं. १८७१–१९२५) गरी ८ जनाको चरित परेको छ । नपरेकाचाहिँ सीता, राम शाह (निश्चित राज्यकाल वि.सं. १६७१–१६९३), भीमसेन थापा (वि.सं. १८३२–१८९६, शासनकाल वि.सं. १८६३–१८९४), मोतीराम भट्ट (वि.सं. १९२३–१९५३) र श्री ५ त्रिभुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११) हुन् । सूर्यविक्रमले छनोट गरेका ८ जनामध्ये भानुभक्तलाई छोडेर अरू सबै राजा, राजकुमार वा राज्यका हर्ताकर्ता भएकाले ‘वीर’ शब्दभित्र उनले सबै प्रकारका नायकलाई समेटेको देखिन्छ ।

सूर्यविक्रम ज्ञवालीको एक प्रकारको हालीमुहाली भएको दार्जिलिङको नेपाली साहित्यसम्मेलनसँग नेपालका कवि अर्थात् आजभोलिको भाषामा साहित्यकारहरूको राम्रो सम्बन्ध थियो । नेपालमा नेपाली भाषाको उन्नतिका लागि खास प्रयास नभएको त्यस जमानामा ‘आज दार्जिलिङ जे सोच्छ, भोलि नेपाल त्यही सोच्छ’ भन्ने भनाइ चलेको थियो । नेपालका कविहरूले लेखेका कथाको सङ्ग्रह गरी वि.सं. १९९५ मा ‘कथाकुसुम’ नाउँले नेपाली साहित्यसम्मेलनबाट पुस्तक छपाइदिने काम गरी सूर्यविक्रम नेपाली कविहरूसँग नजीकिएका थिए । यसैले ‘गाउँ फर्क’को सन्दर्भमा प्रेरणास्रोतको रूपमा राष्ट्रिय विभूति उभ्याउनुपर्दा सूर्यविक्रमको ‘नेपाली वीरहरू’ बालकृष्ण समले अवश्य पल्टाए होलान् भन्ने अनुमान गर्न प्रशस्त ठाउँ छ ।

राष्ट्रिय विभूतिको यो छनोटमा मलाई पहिलेदेखि नै चित्त नबुझेकोले वि.सं २०३६ माघमा ‘के राष्ट्रिय विभूतिहरूको छनोट ठीक छ त ?’ भन्ने लेख तयार गरेँ । अनि फागुन महीनामा ३ किस्ता गरी ८ गतेदेखि २२ गतेसम्म हरेक बुधबार साप्ताहिक ‘नेपाल पोस्ट्’मा त्यो लेख प्रकाश भयो । छानिएका १३ जना विभूतिमध्ये जनक, अनिको, राम शाह, अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापा, भानुभक्त आचार्य र मोतीराम भट्ट गरी ८ जनाको नायकत्वमा मैले प्रश्न उठाएको थिएँ ।

जनकको छनोटको विषयमा होइन कि सीताका बाबु र रामचन्द्रका ससुरा जनक तथा याज्ञवल्क्यका संरक्षक ब्र≈मवादी जनक एउटै हुन् त ? किमार्थ होइनन् । हो, यी दुवै जनकवंशका हुन्, यी दुवै विदेहका राजा हुन् । तर, तिनीहरूको समयमा धेरै अन्तर छ । यी दुइ व्यक्ति हुन्, हामीले मानेजस्तो एकै व्यक्ति होइनन् भनी दुइ भिन्नाभिन्नै जनकलाई एउटै मानी विभूति बनाएकोमा मेरो विप्रतिपत्ति थियो ।

पक्कै पनि अनिकोले भोट र चीनमा आफ्नो शीपले गर्दा खूप नाउँ कमाएका हुन् । नेपालबाट ८० जना कालीगड साथ लिई अनिको भोट गए, उनको कालीगडीको त्यहाँ खूप प्रभाव पर्‍यो, त्यसपछि उनी चीनतिर लागे र त्यहीँ रमाए । यी सबै कुराको सारांश के हो भने, उनको विदेशमा कदर भयो र त्यसले गर्दा धनमान कमाए । त्यसको नतीजा के भयो भने, उनले आफ्नो देश बिर्से, जहाँ उनको जन्म भयो, जहाँ उनी हुर्के बढे, जहाँ उनले शिक्षादीक्षा पाए, त्यस देशले उनीबाट केही पाएन । त्यसमाथि, उनले आफ्नो परिवार बिर्से, आफ्नी स्वदेशी तरुनी स्वास्नीको आँसु बिर्से, उनले त्यहाँ अर्कै गुँड बनाए, त्यहाँ उनी आठ जना विदेशी स्वास्नीका साझा पोइ बने । हुँदा हुँदा, उनले आफ्नो माटो पनि उतै बिसाए । छोटकरीमा भन्ने हो भने, चिनियाँ धनमानले उनी यति तिरमिराए कि उनी चिनियै भए, नेपाली रहेनन् । उनको नेपाली नाउँ सुद्धा बिर्सियो । त्यस्तै, नेपालले पनि उनलाई यति चटक्कै बिर्स्यो कि कुनै पनि स्वदेशी लिखतमा उनको अवदानको गर्व गरेर लेख्नु त कता हो कता, उनको नाउँगोता सुद्धा पाइँदैन । अर्को शब्दमा भनौँ, उनी लाहुरे बने । आफ्नो शीप विदेशीलाई बेच्ने कामको श्रीगणेश गर्ने उनी नै हुन् कि क्या ?

पटक पटक भएको विदशी हमलाबाट जर्जर नेपालखाल्डोमा दरिलो शासन कायम गरेर स्थितिराज मल्ल (वि.सं. ?–१४५२, राज्यकाल १४३७–१४५२)ले कमाल गरेका हुन् । दक्षिण भारतमा विधर्मी प्रभाव हटाएर विजयनगरका सम्राट्हरूले सनातन धर्मको जुन पुनरुत्थान गरेका थिए, त्यसैको प्रतिध्वनिको रूपमा वैदिक वाङ्मयको पनि पुनरुत्थान हुन गयो । कुरा के भने, विजयनगरको विद्वत्परिषद्ले विभिन्न वैदिक ग्रन्थको व्याख्या तयार गरी विजयनगरको नाउँ संस्कृतवाङ्मयको इतिहासमा अमर पारेको छ । त्यति त होइन, अलि सानो काँटको भए पनि स्थितिराज मल्लको उदयले गर्दा नेपालमा पुनर्जागरण आयो । फलस्वरूप विद्याको क्षेत्रमा केही तेज आयो । लोकभाषामा जमाना सुहाउँदो गरी धर्मशास्त्रको व्याख्या तयार गरियो । कालक्रमले शिथिल हुँदै गएको लौकिक व्यवस्था जसले गर्दा नियमित हुन गयो ।

स्थितिराज मल्लले नेपालखाल्डोमा जे गरे, त्यस्तै काँटको काम अलि सानो रूपमा उनीभन्दा दुइ सय वर्षभन्दा पनि पछि गोरखामा राम शाहले गरे । स्थिति बाँध्ने काम गरेबापत राम शाहले राष्ट्रिय विभूतिको सम्मान पाए । तर, राम शाहभन्दा दुइ सय वर्षभन्दा पनि अघि त्यही काम गर्ने स्थितिराज मल्लचाहिँ कति कारणले यो सम्मान पाउन योग्य ठहरिएनन् ?

अङ्ग्रेजसँग लडाइँ हुँदा हाम्रा जुन जुन सेनापतिहरूलाई अङ्ग्रेजहरूले हराए, तिनीहरूको अत्यन्त तारीफ उनीहरूले गरेका छन्, हाम्रा जुन जुन सेनापतिसँग उनीहरूले हारे, उनीहरूको नाउँ पनि उनीहरूले राम्रोसँग लिएका छैनन् भने पनि हुन्छ । शत्रुको बयान गर्दा नायकको उत्कर्षको बयान आफसेआफ हुन्छ झनी दण्डीले लेखेको वुरा त माथि परिसकेको छ ।

रामचन्द्र वनवासबाट अयोध्या फर्केपछि उनीसँग भेटघाट गर्न आएका ऋषिमुनिहरूको मुखबाट आफूले मारेका आफ्ना शत्रु रावणको जन्मदेखिको चरित्र उनले सुने भनी कालिदासले ‘रघुवंश’(१४।१८)मा लेखेका छन् । मजाको कुरा के छ भने, कालिदासले रावणको चरित्रमा ‘रामचन्द्रको गौरव बढाउने’ भन्ने विशेषण जोडेको र मल्लिनाथले त्यसको टीका गर्दा ‘विजितको उत्कर्षबाट जेताको उत्कर्ष हुन्छ’ भनी बोलेको ।

दण्डी, कालिदास र मल्लिनाथ पढेपछि अब स्पष्ट जवाफ मिल्छ, अङ्ग्रेजहरूले आफूले हराएका नेपाली सेनापतिहरूको किन बयान गरे भन्ने सवालको । मल्लिनाथले स्पष्टै भनिदिएका छन्, विजितको उत्कर्षमा जेताको उत्कर्ष हुन्छ । विजेता अङ्ग्रेजहरूले विजित अमरसिंह थापा र बलभद्र कुँवरको अत्यन्त तारीफ गरी लेखेको कारण अब स्पष्ट भएन त ?

अङ्ग्रेजहरूको स्वार्थबुद्धिले गरेको अमरसिंह थापा र बलभद्र कुँवरको गुणगानमै बहकिएर आयुधजीवी देशभक्तहरूको लामो सूची हुँदा हुँदै अमरसिंह र बलभद्रलाई नै राष्ट्रिय विभूति बनाइएको हो । हो, यी दुवै जरूर वीर थिए, देशभक्त थिए, त्यसको साथसाथै हरूवा पनि त थिए । त्यसमाथि, बलभद्र त साँच्चिकै लाहुरे पनि भए, किनकि अब नेपालमा उनको रणकौशलको खास जरूरत भएन, किनभने अङ्ग्रेजसँगको सन्धिपछि राज्य बढाउने काममा ब्रेक लागिहाल्यो । उमेर थियो, शीप थियो, अन्त पनि काम पाइने नै भयो । उनी पञ्जाबकेसरी रणजित् सिंह (वि.सं. १८३७–१८९६, राज्यकाल वि.सं. १८५७–१८९६)को सेनामा भर्ती भए । जमानामा उनी दिनको दश रुपियाँ खाने भए । पछि प्रमोशन भई उनको तलब १५ रुपियाँसम्म पुग्यो । लाहुरे अवस्थामै पञ्जावको तर्फबाट अफगानिस्तानसँग लड्दै पेशावरनजीकको नौशेरामा उनले प्राण छोडे ।

भीमसेन थापाले नगरेको कुनचाहिँ बिराम जङ्गबहादुर (वि.सं. १८७४–१९३३, शासनकाल वि.सं. १९०३–१९३३)ले गरे ? भीमसेन थापालाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने र जङ्गबहादुरलाई अत्यन्त निन्दनीय पुरुषको रूपमा बयान गर्नेहरूसँग यसको जवाफ के छ ?

जङ्गबहादुरले राजालाई आफ्नो अधीनमा राखी खूप थिचोमिचो गर्ने परम्परा बसाए झन्ने वुरा जताततै सुनिन्छ । के यसको थालनी भीमसेन थापाबाटै भएको होइन र ? रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५)को दुर्विनयले गर्दा हुन गएको उनको अकालमृत्युबाट उत्पन्न राजव्यसनको आगोको रापलाई आफ्नो अनुकूल बनाएर ३१ वर्षसम्म राजा र आफूभन्दा बढी अवदान भएका भारदारहरूलाई दबाएर एकलौटी शासन भीमसेन थापाले चलाएनन् र ?

जङ्गबहादुरले आफ्ना प्रतिद्वन्द्वीहरूलाई सिद्ध्याए भने भीमसेन थापाले पनि त रणबहादुर शाहलाई मार्नेका मतियार भनी आफ्ना प्रतिद्वन्द्वीहरूलाई सिद्ध्याउन बाँकी राखे र ? जङ्गबहादुरले आफ्ना प्रतिद्वन्द्वीहरूलाई मात्र मारे, उनीहरूका शाखासन्तानै ≈मासेनन् । भीमसेन थापाले त आफ्ना प्रतिद्वन्द्वीहरूका नाबालग सन्तानहरूलाई सुद्धा बाँकी राखेनन्, आफ्ना प्रतिद्वन्द्वीहरूका स्त्रीहरूलाई तल्लो जातमा मिलाउने जस्तो निन्दनीय काम सुद्धा गरे ।

जङ्गबहादुरले जहानियाँ शासन शुरू गरे भन्ने खूप प्रचार गरिन्छ । भीमसेन थापाले पनि आफ्नो शक्तिले भ्याएसम्म जहानियाँ शासन चलाउन बाँकी राखेका थिएनन् नि ! भीमसेन थापाले आफू र आफ्ना बाबुलाई जर्नेल बनाई आफ्नो वंशबाहेकका अरूहरूलाई होच्याउने प्रथाको श्रीगणेश गरेनन् र ? काँगडाको लडाइँमा अमरसिँह थापाले गरेको काम छोपी आफ्ना भाइ नयनसिंह थापा (वि.सं. १८३४–१८६३)को काम बढाइचढाइ गराउन भीमसेन थापाले बाँकी राखे र ? लड्दा लड्दा जिन्दगी बिताएका भारादारहरूको नाउँ सुद्धा नलिई मेरा बाबुले अङ्ग्रेजको बललाई रोकिरहेछन् भन्ने प्रचार गर्न उनले के बाँकी राखेका छन् र ? पद र अधिकारको दुरुपयोग गरी सरकारी लिखतहरूमा आफ्नो र बाबुको र भाइहरूको बढाई चढाई बयान गराउने काम उनले गरेका होइनन् र ? आफू, आफ्ना बाबु र चार भाइसमेत जम्मा छ जनाले राजाको र सारा नेपालको रक्षा गरिरहेछन् भन्ने प्रचार गराई उनले के जहानियाँ शासनलाई प्रश्रय दिएनन् र ?

बहादुर शाह (वि.सं. १८१४–१८५४)को नायबीमा नेवारहरू पनि पल्टनमा थिए । पाटने काजी धनवन्त प्रधानका नाति त्रिभुवन प्रधान भीमसेन थापा सरहका काजी थिए । त्यस्तै नरसिंह गुरुङ पनि भीमसेन थापा सरहकै काजी थिए । रणबहादुर शाह मारिएपछि उनलाई मार्ने शेरबहादुर शाह (वि.सं. १८३४–१८६३)का मतियार भनी त्रिभुवन प्रधान, नरसिंह गुरुङहरूलाई अत्यन्त निर्दयतापूर्वक भीमसेन थापाले मराए । यसरी आफ्नो राज्य चार वर्ण ३६ जातको फूलबारी हो भन्ने पृथ्वीनारायण शाहको उक्तिको विरुद्ध अरू जातलाई पन्छाई नेपाललाई एक वर्गको भोग्यभूमि बनाउने कामको शुरूवात भीमसेन थापाबाटै भएको होइन र ?

जङ्गबहादुरले राष्ट्रिय सम्पत्तिमा तर मारी बडे बडे महल बनाई खूप सोखसयल गरे भन्ने व्यापक प्रचार छ । के यस्तो काम भीमसेन थापाले पनि गरेका थिएनन् र ? दुनियाँका छोराहरूका प्रशस्त घरखेत लिई गजबको महल बनाई सत्तासीन विलासीहरूका लागि आदर्श खडा गर्ने भीमसेन थापा नै होइनन् र ?

भीमसेन थापा जरूर देशभक्त थिए, जङ्गबहादुर पनि कम देशभक्त थिएनन् । पृथ्वीनारायण शाहको शिक्षाको थोरबहुत असर रहेसम्म जयच्चन्द्र (वि.सं. ? – १२५१, आसन्न राज्यकाल वि.सं. १२२७–१२५१) र मीर जाफर (वि.सं १७४८–१८२१) नेपालमा जन्मेनन् । भीमसेन थापा र जङ्गबहादुर दुवैले आ–आफ्ना तरीकाले देशको स्वतन्त्रता बचाउन भ्याएसम्म उद्योग गरे । कति भने, यी दुवैको नीतिले र कामकार्वाइले देश निकै पिछडियो र केही चतुरा झेलीहरूको भोग्यभूमि यो देश बन्न गयो ।

छोटकरीमा भन्ने हो भने, भीमसेन थापा र जङ्गबहादुरले लिएको बाटो उही हो र यी दुवै स्वार्थी हुन्, तर भीमसेन थापाभन्दा जङ्गबहादुर बढी सफल हुँदा जङ्गबहादुरले धेरैको ईष्यापात्र हुनुपर्‍यो । जबकि कम चलाख भएकाले भीमसेन थापा त्यति सफल हुन नसक्दा उनको अन्त दयनीय ढङ्गले हुन गयो र उनी धेरैको दयापात्र बन्न पुगे ।

राणाशासनको कति विरोधाझास रहेछ हगि ! त्यस त्रूर अत्याचारी शासनमा विद्याको त निकै उन्नति भएछ, किनभने राष्ट्रिय विभूतिमा असिजीवी अर्थात् सैनिकहरूका तर्फबाट अरू समयका महापुरुष परे पनि मसीजीवी त राणाशासनका नै परेछन् । राष्ट्रिय विभूतिमा छानिएका भानुभक्त आचार्य र मोतीराम भट्टमध्ये भानुभक्त राणाशासनमा जरूर जन्मेका होइनन्, राणाशासन शुरू हुँदा उनी ३२ वर्षका भइसकेका थिए तापनि भानुभक्तले बढी काम राणाशासनमै गरेका हुन् । भानुभक्त र मोतीरामको अवदान नेपाली वाङ्मयमा नभएको होइन, जरूर छ । कुरा के हो भने, तिनीहरूलाई मात्र मसीजीवीका प्रतिनिधि मान्दा नेपालमा राष्ट्रिय विभूतिमा दरिन लायकका मसीजीवीहरू पहिले कहिल्यै भएनन् भन्ने भ्रम त पर्दैन ?

राष्ट्रिय विभूतिको चयनमाथि मैले उठाएको कुराको लिखित रूपमा चर्चा कसैले गरेको वर्षौंसम्म मैले देखिनँ । एकैचोटि झण्डै २१ वर्षपछि देवेन्द्र भट्टराईले नयराज पन्तको विषयमा लेख्दा उनको ‘अन्धो कल्लाई भन्ने’ र मेरो ‘के राष्ट्रिय विभूतिको छनोट ठीक छ त ?’ भन्ने लेखको चर्चा गरेका थिए

(‘कुवाभित्रको संसार कसलाई थाहा छ ?’, ‘कान्तिपुर’ दैनिक, २०५७।९।१५।७, ख पृ.≠‘स्रष्टा र समय’ काठमाडौँ : रत्नपुस्तकभण्डार, २०६२, १४ पृ.) । फेरि यसको झण्डै २ वर्षपछि नयराज परलोक भएको तेह्रौँ दिन पारी ‘कान्तिपुर’ले उनीबारे चारवटा लेख प्रकाश गरेको थियो । तिनमध्ये एउटा उनका दुवै छोरासँग गरेको कुराको आधारमा उनै देवेन्द्रले तयार गरेको लेख पनि थियो । त्यस लेखमा पनि नयराजको ‘अन्धो कल्लाई भन्ने’ र मेरो राष्ट्रिय विभूतिसम्बन्धी लेखको चर्चा गरिएको थियो (महेशराज/दिनेशराज पन्त, ‘हाम्रा असफल पिता’, २०५९।७।३०।७, क पृ.) ।

राजतन्त्र गयो, गणतन्त्र आयो । पछि काङ्ग्रेसी शासनकालमा संस्कृतिमन्त्रीको पहलमा विभूतिनिर्धारणसमिति बनेछ । त्यस समितिमा प्रसिद्ध ऐतिहासिक ज्ञानमणि नेपाल, एक जना भूतपूर्व संस्कृतिसचिव, त्रिभुवनविश्वविद्यालय र रोनास्टका बहालवाला भाइस्चान्सलर, बहालवाला संस्कृतिसचिव सदस्य रहेछन् । पहिलो बैठकमा के निर्णय भएछ भने ‘राजाहरूबाट पूर्वघोषित विभूतिहरूलाई नचलाउने’, तर समीक्षाचाहिँ गर्ने । दोस्रो र तेस्रोपल्टको बैठक बसेपछि मन्त्रिमण्डल विघटन भएछ । त्यसपछि बनेको नयाँ मन्त्रिमण्डलका संस्कृतिमन्त्रीले विभूतिनिर्धारणसमितिको काम अघि बढाएनछन् । ज्ञानमणिले त्यस समितिमा प्रस्तुत गर्न भनी आफ्नो दृष्टिमा विभूति हुन लायकका २१ जनाको फेहरिस्त तयार गरेका रहेछन् । तिनमा पुरानामा साङ्ख्य दर्शनका प्रवर्तक कपिल मुनिदेखि लिएर नयाँमा स्वामी प्रपन्नाचार्य (वि.सं. १९८०–२०७२) सम्म परेका रहेछन् (‘विभूति कसलाई मान्ने ?’ ‘कान्तिपुर’ दैनिक, २०७५।१।१५।७ क–ख पृ.) ।

यहाँनिर एउटा कुरा भन्नु छ । जुन वेला पहिलोपटक नेपालमा राष्ट्रिय विभूतिको छनोट भएको थियो, त्यसपछिको अन्तरालमा वाग्मतीमा धेरै पानी बगिसकेको छ । सङ्घराज्यात्मक र ऐहलौकिक अर्थात् आजभोलिको भाषामा धर्मनिरपेक्ष भइसकेको नेपालले राजाले छानेका राष्ट्रिय विभूतिलाई छुन नसक्नु एक ठाउँमा छ, त्यसमाथि ज्ञानमणि नेपालले छनोट गरेका विभूतिमध्ये धेरै जनाको नाउँमा वर्तमान शासनव्यवस्थाका पक्षपातीहरूले समर्थन नगर्नेमा शङ्का छैन ।

जनकको अभिज्ञानमा मैले उठाएकै जस्तो शङ्का, सीता भारतकी बुहारी भएकीले सीता र राम नेपाल–भारतका सबै स्त्रीपुरुषका श्रद्धेय पूजनीय हुँदा हुँदै पनि ‘सीतालाई विभूति भनिनु विचारणीय हुन सक्छ’ भनी ज्ञानमणि नेपालले लेखेका छन् । अमरसिंह थापाको विभूतित्वको विरोध नगरे पनि बलभद्र कुँवरको उनले चर्को विरोध गरेका छन् । भीमसेन थापाको विभूतित्वमा कत्ति पनि चित्त नबुझाउने ज्ञानमणिले सिफारिश गरेका २१ जनामध्ये जङ्गबहादुर पनि परेका छन् । भीमसेन थापालाई विभूति बनाउनमा ‘राजाको इतिहासप्रति अज्ञान र सल्लाहकारको अबुझपनाको कारण भीमसेनलाई ‘राजसंस्थाको संरक्षक, अङ्ग्रेजको प्रखर विरोधी’ भनेर सम्मानित गरिएको हुन सक्छ’ भनी उनले अड्कल गरेका छन् । अनिकोको विभूतित्वमा मैले जस्तै उनले पनि शङ्का उठाएका छन् । तर, किन हो, बलभद्रको नायकत्वमा शङ्का उठाउने नयराज पन्तको र जनक, अनिको, भीमसेन थापा, बलभद्र कुँवरको छनोटमा असहमति जनाउने मेरो नाउँ ज्ञानमणिको लेखमा कतै नआएको देख्दा उदेक लाग्छ (‘कान्तिपुर’ दैनिक, २०७५।१।१५।७) ।

वि.सं. २०२४ मा १३ जनालाई राष्ट्रिय विभूतिको सम्मान दिइएको थियो । वि.सं. २०५६ देखि वि.सं. २०७८ भित्र थप ४ जनालाई राष्ट्रिय विभूतिको सम्मान नेपाल सरकारले दिएकोले अब जम्मा १७ जना विभूतिमा दरिन पुगेका छन् । ती चारै जना राष्ट्रिय विभूतिको प्रतिष्ठापन वर्गविशेषलाई सन्तुष्ट पार्ने उद्देश्यले गरिएको हो भनी सिद्ध गर्न नसकिने होइन । त्यसमाथि, अङ्ग्रेजसँगको लडाइँमा हार खाएका अमरसिंह थापा र बलभद्र कुँवर सरह अहिले भक्ति थापालाई झण्डै २२ वर्षपछि राष्ट्रिय विभूति बनाइएकाले असिजीवीहरूको लागि विभूतिमा दरिन अङ्ग्रेजसँग हार्नैपर्ने रहेछ कि भन्ने देखिन गएको छ ।

प्रकाशित : कार्तिक २७, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?