३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
स्मृतिमा आमा

हररात आकाशमा तारा हेरुँला

अनिल थापा

काठमाडौँ — रेसुंगाको धुरीमा केका बाजा बजेछन्
बाबाले सानीमा ल्याए बरी लै  ।
भित्रछिन् सानीमा बाहिर छिन् मेरी आमा
मलाई पनि लगे है तिमी जानीमा । ।

हररात आकाशमा तारा हेरुँला

झाँक्रीसल्ले युवतीहरूको तीजको भाकाले रातामाटा वन गुञ्जिएको थियो । म भर्खरै बस्तुभाउ लिएर वनमा जाँदै थिएँ । मलाई लाग्यो, उनीहरूले मलाई नै जिस्क्याउन यस्तो गीत गाइरहेका छन् । र, म गोरु, बाख्रा वनमै छोडेर दौडिएँ ।

बाल्यकालभरि मेरो मनोविज्ञान यस्तै थियो ।

केही समय भएको थियो मावल बसाइँ सरेको । मावल बसाइँ सरेपछिका केही समय मेरा लागि निकै पीडादायी भएका थिए आफ्नो घर सम्झेर । सौतेनी आमा र उनको स्वरमा एकबद्ध हुने बाको तनाव सहन नसेकपछि हातमा एउटा फलामको चिम्टा बोकी गुल्मीको पिपलधाराबाट दिनभर हिँडेर पुर्कोट पुगेका जिजुबाको एक्लो संघर्षले बनेको घर छोडेर हिँडेका थियौं । घरको इतिहासका कारण होइन आफू जन्मे हुर्केको घर भएकाले त्यो घर छोड्नुपर्दा म खुबै रोएको थिएँ । साथमा कान्छाबा कान्छीआमा र कान्छाबाकी कान्छी छोरी अनिता खुबै रोएको सम्झिन्छु ।

गाउँमा दु:ख भयो अब भैरहवा बसाइ सर्ने भनेर सहरबाट बा हामीलाई लिन गएका थिए । हुनपनि, म नउठ्दै पानीका लागि डोकोमा गाग्रो बोकेर आमा सखारै चुच्चा ढुङ्गैढुङ्गाको बाटो छिचोल्दै पँधेरो धाउनुहुन्थ्यो । खाना खाएपछि दिनभरि मेलापात । म जन्मिनुको अघिल्लो दिन दिनभर आठ पाथीका दरले खेतबाट बोकेर एक डेढ घण्टा उकालो चढी एक्लै आठ मुरी धान घर पुर्‍याएकी आमाको थाप्लोमा बाल्यकालभर भारि नै देखेँ ।

धानको भारी, घाँसको भारी, मकैको भारी, गोबरको भारी, पीरको भारी, वेदनाको भारी, दु:खको भारी, आँसुको भारी । यी भारीबाट आमालाई मुक्त गराउने भन्दै बाले घरजग्गा, खेत साटफेर, बेचबिखन के के गरेर हामीलाई मावल पुर्‍याए । र आफू भैरहवामा बन्दोवस्त मिलाएर छिटै लिन आउने आश्वासन दिएर फर्किए । बा कहिले नेपालगन्ज, कहिले काठमाडौं, कहिले भैरहवा बस्थे । कहिले पढाइ, कहिले काम त कहिले राजानीतिको सिलसिलामा ।

बेला बेला पैसा चाहियो भने घर आउँथे । पैसाको मतलब आमाका गहना । आमासँग पैसा त कहाँ हुनु र ? पुष्पा दिदीको एसएलसी तयारीका लागि कोचिङ शुल्क ३ सय ऋण लिएकी आमाले केही समयपछि ब्याजसहित १२ सय तिर्नुभएको थियो । आशा दिदीको पाँच कक्षाको शुल्क बीस रुपैयाँ जुटाउन आमालाई चिन्ता परेको देख्दा सोच्थेँ – ‘म पाँच कक्षामा पुगेपछि आमाले २० रुपैयाँ कसरी जुटाउनुहोला ? पढ्न छोड्दिउँ कि ?’ आमा भन्नुहुन्थ्यो–पहिलो पटक ३२/३३ सालतिर बाले आफ्नो इज्जत जोगाउन गहना लगेका थिए ।

बा नेपाल बैंक, नेपालगञ्ज शाखामा म्यानेजर थिए । एक व्यापारीले त्यसै दिन बैंकमा जम्मा गरेको ३ लाख रुपैयाँ चोरेर लेखापाल फरार भयो । उक्त घटनासँगै पत्रिकामा बाको समेत फोटो छापियो । त्यसपछि बा रुँदै घर पुगे । र आमाको गहना बेचेर बैंकलाई ३ लाख रुपैयाँ तिरे । त्यसपछि पढ्दा लागेको ऋण तिर्न भनेर पनि बाले आमाका गहना प्रयोग गरे । हुन त बाले कम्युनिष्ट पार्टीको कोटाबाट रसिया गएर पढेका थिए । र उनको क्यान्सरको उपचार पनि पार्टीले नै रसियामा गराएको थियो ।

नेकपा बर्मा समूहमा नेता थिए उनी । कृष्णराज बर्मा पार्टी प्रमुख थिए । पछि रुसपन्थी भनिने नेपालका कम्युनिस्ट पार्टीहरू नेकपा बर्मा, नेकपा मानन्धर र नेकपा अमात्य समूह मिलेर नेकपा संयुक्त बन्यो । जीवनको लामो समय उनले कम्युनिष्ट पार्टीमा काम गरे । गाउँ गाउँमा धेरैलाई कम्युनिस्ट पनि बनाए । अन्तत: बहुविवाह गरेपछि कम्युनिस्ट पार्टीले कारबाही गर्यो र उनी कांग्रेस हुँदै दरबार पसे । र, अमेरिका भासिए ।

गत भदौ १६ गते अनामनगरस्थित प्रभु बैंकको मुख्य कार्यालयमा गएको थिएँ । एउटा फारम भर्नुपर्ने भयो जहाँ बुवाको मात्र नाम लेख्ने ठाउँ थियो । रातभर अस्पतालमा आमालाई कुरेर दिउँसो घरमा सुत्न जाने क्रममा बैंकमा पसेको थिएँ । सोधेँ–‘आमाको नाम लेखे हुँदैन ?’ ‘हुँदैन दाइ ।’ बैंकका कर्मचारीको अपेक्षित जवाफ थियो ।

मलाई जीवनमा सबैभन्दा पीडा आफ्नो वैयक्तिक विवरणमा बुवाको नाम लेख्दा हुन्छ । सजाय दिएजस्तो लाग्छ । बाल्यकालदेखि आमाका आासु र दु:खका भारी देख्दै हुर्केको भएकोले होला धेरै फारमहरूमा बुवाको नाम काटेर आमाको नाम लेखेको छु । र, अस्वीकृत भएपछि मुटु गाँठो पारेर बुवाको नाम लेखी पुन: लाइन लागेर बुझाएको छु ।

एउटा गीतमा भने झैं –‘छुन मन लाग्छ घाउ दुख्ने जानीजानी ।’ नतिजा थाहा हुँदाहुँदै पनि घाउको सुकेका पाप्रा कोट्याएजस्तो । त्यसैले सोध्नेजति सबैलाई मेरो जवाफ हुन्थ्यो ‘बा हुनुहुन्न । म सानै हुँदा बित्नुभो । मलाई केही सम्झना छैन ।’ यसो भन्दा उक्त प्रसंग फेरि उठ्दैनथ्यो र छोटो हुन्थ्यो । म मनमा आभास ल्याउन चाहँदिनथें । किनकी आभासले पीडा दिन्छ । मेरो उक्त झूठका लागि यसै लेख मार्फत् मेरी छोरी लगायत नातेदारहरू तथा आत्मीय साथीहरू सबैसँग माफी माग्छु ।

पहिलो र दोस्रो संविधानसभाको सुरुदेखि अन्त्यसम्म रिपोर्टिङ गरें । यसैकारण पनि नागरिकताका विषयमा मेरो चासो थियो । आमाको नाममा पनि नागरिकता दिइएला जस्तो लागेको थियो । तर, वित्तीय, सामाजिक, शैक्षिक लगायत संरचनाले त आमालाई चिन्दैनन् संविधानले के चिन्थ्यो ?

नेपाल क्यान्सर अस्पतालमा एक रात दिदीले भन्नुभयो–‘बिहे नहुँदै त आमाले पनि सु:ख पाउनुभयो होला है ? त्यति राम्रो परिवारमा जन्मिनुभएको थियो ।’ हुन पनि हजुरबुवा हजुरआमाले आफ्ना सन्तान मात्र होइन सबैलाई माया गर्नुहुन्थ्यो । दुई छोरी मात्र थिए । आमा जेठी । छोरीलाई नपढाउने बेला हजुरबाले आमालाई पढाउनुभएको थियो । आमाले आफ्नो डायरीमा लेख्नुभएको छ–‘पहिले मूलपानीमा जम्दारबाले अनौपचारिक रुपमा पढाउनुहुन्थ्यो । पछि मलागिरीमा स्कुल खुल्यो । दुवै ठाउँमा छात्रा म एकजना मात्र थिएँ । अरु सबै छात्रहरू थिए ।’

छोरीसँगै कहिले काठमाडौं, कहिले गुल्मी बस्ने भन्दै ९० वर्ष कटेका हजुरबुवा काठमाडौं आउनुभएको थियो । तर आमालाई रोगले पनि झुक्कायो, जिन्दगीले सधैंभरि झुक्काएजस्तै । बाले भैरहवा लैजाने भनेर झुक्काई उतै नयाँ घरजम गरेर बसेजस्तै ।

‘अब त सन्तोषले ध्यान गरेर बस्छु भन्ने बेला अझै यस्तो दु:ख पाउन लेखेको रहेछ ।’ अस्पतालमा झ्यालबाट बाहिर हेर्दै आमाले विगत सम्झिनुभयो । आमा विगत १५/२० वर्षदेखि नियमित विपश्यना गर्दै आउनुभएको थियो ।

अस्पताल बस्दा मेरो मनमा बाल्यकालका स्मृतिमात्र नाचिरहे । चार दशकको यात्रामा आमासँगका धेरै स्मृतिहरू छन् । तर पहिलो एक दशकका घटनाहरू मात्र आँखामा नाचिरहे । जीवनमा न सु:ख मात्र हुन्छ, न दु:ख मात्र । धेरै सु:खका क्षणहरू पनि थिए । तर झल्झली आँखामा मेरो जीवनका पहिलो दशकका क्षणहरू मात्र आए । जतिबेला आमाका लागि सबैभन्दा पीडादायी दिनहरू थिए ।

आमाले बोल्दै गर्दा अस्पतालको बेडबाट देखिने एउटामात्रै सल्लाको रुखबाट परेवा उड्दै आएर झ्यालमा ठोक्कियो । हातका नशामा सुई घोच्न बाँकी कहीँ थिएन । नाकमा पाइप, छातीमा पाइप, कम्मरमुनी पाइप । तनदेखि मनसम्म दुखिरहेको थियो आमालाई ।

गत फागुनदेखि नै आमालाई केही खान नहुने भयो । अलिकति केही खाए वान्ता भैहाल्ने । महाव्याधि बनेको कोभिड–१९ बढ्दो क्रममा थियो । वैशाखसम्म आइपुग्दा आमालाई झनै गाह्रो भयो । पेटमा केही नअडिने । शिक्षण अस्पतालमा देखाइयो । क्षयरोगको शंका गर्‍यो अस्पतालले । क्षयरोगको औषधि खाएको केही हप्ता हल्का सुधार आयो । लाग्यो औषधिको अवधि सकिएपछि ठिक हुन्छ । तर केही दिनपछि फेरि उस्तै भयो । त्यसपछि आयुर्वेद तिर लागियो । त्यसले पनि त्यस्तै नतिजा दियो । केही दिन ठिक भएजस्तो हुने अनि नहुने ।

शिक्षणदेखि भक्तपुर क्यान्सर अस्पतालसम्मले क्यान्सर नदेखिएको बताएपछि हामीलाई लाग्यो, आमालाई गाह्रो भए पनि अहिले कोरानाबाट बचाउनुपर्छ । कोरोनाकै डरले आमालाई समयमै अस्पताल लगिएन । जुन हाम्रो तर्फबाट भएको सबैभन्दा पीडायुक्त र आत्मा अक्षम्य गल्ती हो ।

पहिलो चरणको किमोले राम्रो काम गरेको देखियो । डाक्टरले पनि राम्रो रेस्पोन्स गरेको छ भने । एक महिनाको अस्पताल बसाइ पछि आमाले खान, हिँड्न, बस्न, सुत्न थाल्नुभयो । उल्टी हुने मुख्य समस्या रोकियो । त्यसपछि किमो चढाउन मात्र अस्पताल आउने गरी अस्पतालले घर पठायो । आमाको अवस्थामा सुधार आएको थियो । दोस्रो चरणको किमो सुरु भयो । अस्पताल गयौं । दिउँसो किमो चढाएर साँझ घर फर्कियौँ ।

टाउकोमा फूल राखिदिँदै आर्शीवाद दिएर आमा र हजुरबाले बिदाइ गरेपछि म परदेश फर्किएँ । म फर्किएको १३ औँ दिन । आमा टाठै हुनुहुन्थ्यो तर, प्रेसर र धड्कनमा उतारचढाव देखियो । भाउजूले सुनाउनुभयो, ‘तैपनि किन रिस्क लिने भनेर नजिकैको अस्पतालमा लग्यौँ ।’ त्यसपछि बोल्दाबोल्दै आमा अस्ताउनुभयो सधैँ सधैँको लागि । हामीलाई स्तब्ध पारेर ।

किरिया बसेका बेला अस्पताल बसाइका क्षणहरू सम्झिएँ । यस्तो लाग्यो जाँदाजाँदै आमाले थप शिक्षा दिन चाहनुभयो मलाई– ‘जीवन दु:ख हो । जीवन टुक्रा टुक्रामा छ । र यो अनित्य छ । क्षणभङ्गुर छ ।’ कोदालोले आफ्नो टाउको भन्दा ठूलो माटोको डल्ला फुटाउँदै आमाले खन्दै गरेको बारीको एक छेउमा कापि र सिसाकलम बोकेर परालको चकटीमा बसेको हुन्थेँ म । आमाको मेलो सरेसँगै मेरो बसाइँ पनि सथ्र्यो । यसैगरी मलाई पढाई हुर्काएकी आमाले सायद अस्पतालको बेडसम्म पुग्दा पनि सिकाउँदै हुनुहुन्थ्यो । मरेपछि के हुन्छ, कसैलाई थाहा छैन् । आदि कालो थियो र अन्त्य पनि कालो छ । गौरीमा भनिएजस्तै–

फर्की क्वै पनि आउँदैन र सधैँ पर्खन्न कोही पनि

कालो आदि र अन्त खालि बिचमा झिल्का लिने जीवनी ।

भनिन्छ, आत्मा अम्लानको फूल हो । त्यसैले आमा गुमाएपछि मलाई हरेक दिन रातको पर्खाइ हुन्छ । सपनामा आमालाई देख्न मन आतुर रहन्छ । मन कति टुक्रामा हुन्छ कुन्नी । एउटा टुक्रा अझै विस्वास गर्दैन आमा हामीबीचमा हुनुहुन्न भन्ने । म्यासेन्जरमा कल आयो भने अझै पनि लाग्छ, आमाको पो हो कि ? बेपत्ता परिवारका स्टोरी गर्दाका क्षण सम्झिन्छु र बल्ल बुझ्छु आफैँले डेढ दशक अघि गरेका स्टोरीका मर्म ।

शब्द आफैंमा के नै रहेछ र ? जे हो सबथोक भाव हो । जीवनमा धेरै पटक श्रद्धाञ्जली अर्णण गरेको छु । तर आज आफ्नै आमाका लागि उक्त शब्द टाइप गर्ने हिम्मत छैन । के भावले थिचिएपछि शब्द पहाड झैं गह्रुङ्गो बन्छ ?

बैकुण्ठ बास होस् आमा र म हररात आकाशमा तारा हेरुँला ।

प्रकाशित : कार्तिक १३, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?