१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अजिब यात्रा–वृत्तान्त

किताब हिप्पीकालीन समयको एक साहसिक नेपाली केटोको रोमाञ्चक यात्रा–कथा हो ।
बीएन जोशी

ममोहन श्रेष्ठको किताब ‘काठमाडौं–पेरिस–काठमाडौं बस र रेल यात्रा’ ले पाठकलाई सन् १९७० को समाज र त्यसबेलाका मान्छेको कथा भन्छ । यो हिप्पीकालीन समयको एक साहसिक नेपाली केटोको रोमाञ्चक यात्रा हो ।

अजिब यात्रा–वृत्तान्त

किताबको बाहिरी गातामा धेरै कुरा एकै ठाउँ लेखिएको छ, त्यसैले पाठक अलमलमा पर्न सक्छन्, किताबको खास नामचैं के हो भन्नेमा । जस्तो गातामै छ– ‘साहस र आँटले डोर्‍याएको जिन्दगी’, ‘आँटे सम्भव नहुने के रहेछ !’, ‘एउटा नेपाली केटाको साहसिक यात्रा’ !

किताबले ५० वर्षदेखिका अनेक परिघटना समेटेको छ । किताबमा श्याममोहन श्रेष्ठले व्यक्तिगत जीवन र यात्रा मात्र नभई उसबेला नेपालका लागि फ्रान्सका राजदूतले खेलेको भूमिका र फ्रान्ससँग नेपालको सम्बन्धमाथि पनि लेखेका छन् ।

२०२७ सालमा ७ महिना लगाएर गरेको नेपाल–युरोप यात्रा एक पाना लेखाइमै सीमित भएपछिको नैराश्यतापछि श्याममोहनले ती दिनमाथि एउटा किताब लेख्ने अठोट गरे । साथीभाइले उनलाई राम्रो घोस्ट राइटर पनि नसुझाएका होइनन् । उनले मानेनन् । किताबमा लेख्छन्, ‘म संसारको करिब एक करोड किलोमिटर एक्लै यात्रा गरिसकेको मान्छेले किन मेरो जीवनयात्रा अरू कसैलाई लेख्न लगाऊँ ?’

असन नजिक त्यौडको एक ठूलो परिवारमा २००४ सालमा जन्मिएका हुन्– श्याममोहन । २०२२ सालमा जब फ्रेन्च हिप्पी युवाहरूसँग सामीप्य बढ्यो, त्यसपछि उनमा फ्रान्सप्रतिको लगाव व्यापक बढ्न थाल्यो । सोल्टी होटलमा खुलेको क्यासिनोको जागिरले फ्रान्स जाने उत्कण्ठालाई आर्थिक रूपमा सहज बनाइदिएको थियो । फलस्वरूप उनले २३ वर्षमै पेरिसको यात्रा शुभारम्भ गरे ।

भारतको पटना, दिल्ली हुँदै अफगानिस्तान पहिलो चरणको यात्रा थियो । त्यतिखेर अफगानिस्तान हब थियो, हिजोआजको दुबई र दोहाजस्तै । जुन देश पुगिन्छ, त्यहीँको राजदूतावासबाट अर्को देशको भिसा लिन पाइने कुरा सुन्दा नेपाल आजको तुलनामा हिजो निकै शक्तिशाली रहेछ भन्ने महसुस हुन्छ । दिल्लीमा भेटिएका एक जर्मन बूढाले अफगानिस्तानको टिकट लिँदा फकाउँदै उनलाई १० डलर दिन्छन् । र, बदलामा काबुलको होटलमा एकै बेडमा सुत्ने प्रस्ताव राख्छन् । प्रस्तावपछि उनी पैसा फिर्ता गरिदिन्छन् ।

कलिला युवक देख्दा घुटुक्क थुक निल्ने मान्छे असंख्य थिए र छन् । उनले बसबाट पाँच दिन लगाएर तेहरान हुँदै इस्तानबुल पुग्दाको रोमाञ्चकता, नौला भूगोलसँगको साक्षात्कार, इस्तानबुल बसाइमा ओट्टोमनकालीन ऐतिहासिक स्थल (ब्लु मस्क, बोसफोरस, ग्रान्डबजार, ताक्सिम स्क्वायर) को भ्रमणका चर्चा सुन्दर ढंगले गरेका छन् ।

श्याममोहन इस्तानबुलतिर बरालिँदै गर्दा भेटिएकी एक छोरीकी आमासँगको सम्बन्धले नाटकीय रूप लिएको छ । आमाको मनसाय छ– छोरीको बिहे उनै यायावर युवा श्यामसँग होस् ! आमाले उनको साथ नछोडेको र अन्त्यमा छुट्टिनुपरेको विषयले भावुक बनाउँछ । टर्कीको बसाइलाई बिट मारेर बुल्गेरिया, युगोस्लाभिया, इटालीको मिलान हुँदै रेलमार्फत १८ एप्रिल १९७० को दिन फ्रान्सको मर्सिल्ले प्रवेश गरेर श्याममोहनले आफ्नो लक्ष्य पूरा गरे । खल्तीमा पैसा रित्तिसक्दासमेत पेरिसबाट बेलायत र अमेरिका जाने योजनाले उनको अजिबको दृढता देखाउँछ ।

अनेक अभावका बावजुद पनि एकपछि अर्को राष्ट्रको भ्रमण गर्दै अघि बढ्नुमा उनको लगाव गजबको छ । अल्लारे उमेरमा गरिएको त्यो यात्रालाई उनी आफैंले अदूरदर्शी भनी मूल्यांकन गरेका छन् । तर, जतिसुकै हन्डर खानुपरे पनि ती दिनलाई अनेक अनुभवका उपलब्धि ठानेका छन् ।

फ्रान्सबाट नेपाल फर्किएपछि साथीभाइले श्याममोहनमाथि अनेक नकारात्मक टिप्पणी गरे । उनको हुलिया–हाउभाउ पूरै बदलिएको थियो । एयर फ्रान्सको जागिरमा मस्त रहँदा उनको जीवनमा एक अमेरिकी युवती क्याथीको आगमन हुन्छ । नेपालमै बस्ने भएपछि क्याथीले भाषा सिक्नु जरुरी थियो । क्याथीलाई नेपाली भाषा पढाउने गुरु खगेन्द्र संग्रौला रहेछन् ।

क्याथीसँग श्याममोहनको बिहे हुन्छ । बिहेपछि पाँच–छ वर्ष उनीहरू सँगै बस्छन् । र, सहमतिमै अलग हुन्छन् । त्यसपछि श्याममोहनको जीवनमा सिन्धुपाल्चोक, सेर्माथानकी शेर्पिनी ठोक्किन आइपुग्छिन् । त्यसपछिका पारिवारिक उतारचढाव प्रशस्तै छन् । ३७ वर्ष बसेको बूढानीलकण्ठको आफ्नो मिराबेल दरबार बेच्न बाध्य हुन्छन् । गुमाउने–जमाउने क्रममा श्याममोहन धुलिखेलमा मिराबेल होटल खोल्छन्

(सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मिराबेल होटल उद्घाटन गरेका थिए) । माओवादी युद्धको असर होटलमा परेपछि श्याम आर्थिक समस्यामा पर्छन् । अन्त्यमा होटल बेच्नुपरेको अवस्था र बैंकको लिलामबाट बचाएर बिक्री गर्न खोज्दाको संघर्ष ज्यादै कष्टपूर्ण छ । लामो समयको हवाई क्षेत्रको अनुभव र उच्च व्यापारिक घरानासँगको उनको उठबसका कथा रोचक छन् । कतिपय साथीभाइले उनको सहयोगलाई व्यापक दुरुपयोग गरेको लेखेका छन् । अनेक देशी–विदेशी उच्च ओहोदाका व्यक्तिसँग राम्रो सम्बन्ध छँदासमेत उनले कुनै लाभ नलिएको लेखेका छन् । उनले कति इमानदार भएर किताब लेखे, त्यो उनैको जिम्मा ।

श्याममोहन कुनै बेला दिल्ली जानुपर्ने मान्छे कोलकाता पुगेका छन् । अति सामान्य झन्झटबाट मुक्ति पाउन अमेरिकी ग्रिनकार्ड त्यागिदिएका छन् । किताबमा घटना र किस्सा कति छन् कति ! सयौंको संख्यामा फोटोहरू छन्, जसले तत्कालीन परिवेशलाई यथार्थमा परिणत गराउँछ । किताबमा केही गडबडी अवश्य छन् । कतिपय हरफ दोहोरिएका छन् । दुईथरी मितिले पाठकलाई अलमल गराउँछ । अर्को संस्करणमा ती गल्ती सच्याउन सकिन्छ, तर बितेका जीवन र क्षण कसैगरी पनि सच्याउन सकिँदैन ।

प्रकाशित : कार्तिक १३, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?