शंकरसँग संकट–संवाद- कोसेली - कान्तिपुर समाचार

शंकरसँग संकट–संवाद

लेखक जस्तोसुकै विचार भएको होस् उसले जीवनको चित्रण गर्ने सहज बाटो मात्र देख्यो भने त्यो लेखमा ज्यान हुँदैन । लेखन संकट संवाद पनि हो ।
अभि सुवेदी

मलाई भर्खरै एकैसाथ दुईवटा संकथन प्रस्तुत गर्नुपर्‍यो । पहिलो थियो, शंकर लामिछानेलाई म अहिलेको लेखनको परिस्थितिमा कसरी सम्झिन्छु ? दोस्रो थियो, लामो लकडाउनकालमा मैले के समालोचना लेखें ? संकथन लामै थिए, तर यहाँ शंकर लामिछानेको संकट सिद्धान्तलाई मात्र संक्षेपमा लेख्न चाहन्छु । लकडाउनमा मैले लेखेको समालोचनाबारे उल्लेख मात्र गरेको छु ।

अहिले नेपालमा लेखकहरूले सामना गर्नुपरेका द्वन्द्व र संकट भाषा प्रयोग र लेखन दुवैमा देखिएका छन् । साहित्य सिर्जनाका निम्ति यो चुनौतीपूर्ण अवस्था हो । सबैतिरका अनुभवले देखाएका छन्, संकटको पहिचान र सामना गरेर लेख्न सकियो भने त्यो साहित्यले केही भन्छ । होइन भने त्यसले कि त साहित्यकारहरूलाई अलमलमा पारेर यसोउसो लेखेर आफैं मख्ख पर्ने अवस्थामा पुर्‍याइदिन्छ कि त सुकाएर छोडिदिन्छ । प्रश्न गरौं, हामी लगभग अहिले त्यस्तै चुनौतीको स्थितिमा त छैनौं ? अर्को चुनौती हो हाम्रा मानसमा सिर्जना र कल्पनाहीन भाषा प्रयोगले पार्दै गएको प्रभाव ।

नेपालमा भाषा प्रयोगको जिम्मा राजनीति गर्ने र शक्तिको प्रतिस्पर्धा गर्नेहरूले लिएका छन् । तिनका भाषा मिडिया र जनबोलीमा पनि व्याप्त हुँदै गएका छन् । भाषाशास्त्रीहरूले तिनको विश्लेषण गरेको पढेको छैन । तर एउटा प्रसिद्ध दैनिकले अहिले तिनले प्रयोग गरेका र फैलाएका भाषिकाको सूची दिएर सम्पादकीय लेखेको पढें । शंकर लामिछाने साहित्यको यस्तो संकट र भाषिकाको प्रयोग विषयमा जानकार र सचेष्ट लेखक थिए । म शंकर लामिछानेसँगका संस्मरण र टिपोटको आधारमा उनीसँग भएका साहित्यमा संकट संवादबारे केही लेख्न लागेको छु ।

अनुभवभन्दा, मैले यो लामो लकडाउनको बेला केही लेखकहरूलाई लिएर स्मृति लेखन गर्दै आएको छु । केही छोटा प्रकाशित संस्मरणहरूमा छन्, केही प्रकाशित हुने क्रममा छन् । केही किताबभित्र लामा लेख र भूमिकाको रूपमा पनि प्रकाशित भएका छन् । त्यसो त शंकर लामिछानेका निबन्ध र लेखहरू विषयमा पहिला केही समालोचना लेखिसकेको छु । मैले यसरी अखबारमा शंकर दाइमाथि लेखेकामध्ये दुईवटा अखबारका लेखहरूको नाम राख्न चाहन्छु । ती हुन् ‘कान्तिपुर’ को ‘कोसेली’ (१५ माघ २०७३) मा प्रकाशित ‘लामिछाने र अर्वेलका निबन्ध : विधाको अनौठो संवाद’ र ‘एब्स्ट्रयाक्ट चिन्तन’ को स्वर्णजयन्तीमा ‘लामिछानीय प्याज’ शीर्षकमा ‘नयाँ पत्रिका’ (२५ असोज २०७६) मा प्रकाशित लेख ।

ती दुवै दैनिक अखबारहरूमा प्रकाशित भएको कुराले अरू अर्थ खोल्छ । निकै वर्षदेखि हामी साहित्य समालोचना लेख्नेले साहित्यिक पत्रिका छोडेर अखबारमा लेख्न थालेका कथा छन्, जुन कुरा साहित्यमा चाख भएका अखबारका केही सम्पादकहरूको कारणले गर्दा सम्भव भएको हो । अहिले त लगभग अखबारहरूका केही स्तम्भहरूमा नै समालोचना विधा लेखिने गरेका छन् । यो एउटा अर्कै छलफलको विषय हो ।

मैले शंकर लामिछानेलाई अहिले सम्झेर लेख्नुपर्ने केही कारणहरूमध्ये तिनले गरेका कर्मको आफूले गरेको अनुशीलन एक हो । म निकै वर्षदेखि शंकर दाइले जस्तै अखबारहरूमा साहित्य विषयका कृति र विचार, चुनौती र जीवनमा प्रयोग विषयमा लेखिआएको छु । निकै लेखिसकेंछु, जुन मैले लेखेका ती लेखका केही सम्पादन गरेर प्रकाशित निबन्धसंग्रहका किताबहरूले देखाउँछन् । शंकर दाइका अखबारमा लेखेका लेखहरू किताबमा प्रकाशित भएपछि त्यो तरिकालाई साहित्यकारले अपनाउने प्रभावकारी विधि हो भन्ने निकै जना लेखकहरूलाई विश्वास भएको देखियो ।

दोस्रो कारण, संकटमा कसरी साहित्य लेख्ने भन्ने शंकर दाइको धारणा र अभ्यास हो । शंकर लामिछाने साहित्य संकटबाटै लेख्नुपर्छ भन्ने फ्रान्सेली लेखक अल्बेर कामुको विचारबाट प्रभावित थिए । उनले रूप–रेखा साहित्यिक पत्रिकाको अंक २४ वा २५ मा जस्तो लाग्छ, कामुको यो लेखलाई ‘सिर्जना गर, खतरनाक रूपबाट’ शीर्षक दिएर अनुवाद गरेर छपाएका थिए । शंकर दाइले त्यो बेला नै साहित्यले सामना गर्नुपर्ने विषयलाई बुझेर त्यो विचारको प्रयोग गरेको कुरा महत्त्वपूर्ण थियो । हैटी मूलकी अमेरिकी लेखक एडविज दान्तिकातले आफ्नो किताब ‘संकटबाट सिर्जना गर’ (२०१०) मा आफ्नो कठोर र संघर्षशील लेखनको अनुभवबारे लेख्दा कामुको यो सिद्धान्तको प्रयोग र व्याख्या गरेको कुरा पढ्दा शंकर दाइलाई सम्झिएँ । उनले धेरै पहिले नै नेपाली साहित्यमा त्यो विषयको प्रवेश गराएका थिए ।

शंकर दाइले मेरा प्रश्नका उत्तर दिँदा र आफैं साहित्य सिर्जनाको ‘खतरनाक’ रूपको मलाई व्याख्या गर्दा भनेका कुरा दान्तिकातका व्याख्यामा पढ्दा चकित परेको छु । अरू पनि धेरै लेख र ग्रन्थ लेखिएका छन्, तर यी लेखकको व्याख्याले मलाई शंकर दाइको त्यही बेलाको बोध गर्ने क्षमता सम्झाउँछ । दान्तिकात भन्छिन्, ‘खतरनाक रूपले पढ्नेका निम्ति खतरनाक रूपबाट लेख । मलाई लेखक हुनु भनेको त्यही हो भन्ने सधैं लागिरहन्छ । शब्दहरू जतिसुकै साधारण भए पनि कुनै दिन तिनलाई पढ्नेले जोखिम मोलेर पढ्छ ।’ लेख्नुजस्तै पढ्नुका पनि जोखिम हुने अवस्था हुन्छन्, जसका उदाहरण दिने यहाँ ठाउँ छैन ।

‘रूप–रेखा’ का सम्पादक उत्तम कुँवर ढोकाटोलको गुर्जुको एउटा घरको फराकिलो भाडाको फ्ल्याटमा बस्थे । म त्यहाँ बरोबर जाने गर्थें । त्यहाँ शंकर दाइलाई पनि भेट्थें । त्यो पटक उनले अनुवाद गरेर ‘रूप–रेखा’ मा प्रकाशित कामुको लेख ‘सिर्जना गर खतरनाक रूपबाट’ को विषयलाई मैले उठाएँ । उनले कामुको भनाइको सारतत्त्व यसरी राखे, ‘लेखक जस्तोसुकै विचार भएको होस् उसले जीवनको चित्रण गर्ने सहज बाटो मात्र देख्यो भने उसको लेखमा ज्यान हुँदैन । लेखन संकट संवाद पनि हो ।’ त्यसको केही वर्षपछि शंकर दाइसँग एउटा महत्त्वपूर्ण संवाद भयो । उनी त्यो बेला केही चर्चामा थिए । उनलाई कुमुदिनी नामधारी पाठकले उनका लेखनबारे कुरा उठाएको बेला थियो । शंकर दाइले

‘गोरखापत्र’ र ‘रूप–रेखा’ मा लेख्न छोडें भनेर लगभग उद्घोष नै गरेका थिए । लेखन र मौलिकता विषयमा उनले धेरै महत्त्वपूर्ण कुरा भने । पाठहरूको मौलिकता विषयमा शंकर लामिछानेले भनेका कुरा फ्रान्सेली दार्शनिक र समीक्षक जाक डेरिडाको पाठहरू पुनरावृत्ति हुन् भन्ने दर्शनसँग मिलेको कुरा मैले पोस्टग्य्राजुअट कक्षाहरूमा पटक पटक भनेर आएको छु । टिपोटहरू गरेको छु । मैले शंकर दाइलाई त्यो दिन धेरै कुरा सोध्ने अवसर पाएँ । कुनै बेला लेख्नु छ ।

पहिलो त उनको मुड नै त्यस्तै थियो । दोस्रो, मैले आफैं उनीबाट केही जान्ने अवसर थियो त्यो । मैले उनलाई पारिजातको शिरीषको फूल मा उनले लेखेको भूमिकाको भाव र विचारको कलेवरबारे प्रश्न गरें । उनको भूमिकावारे मार्क्सवादी लेखकका विचारका कुरा पनि उठे । उनको भूमिका बुझाउन शंकर दाइले मलाई अंग्रेजी उपन्यासकार लरेन्स डरेलको उपन्यास ‘जस्टिन’ को प्रसंग ल्याएर व्याख्या गरे । अंग्रेजी साहित्यको विद्यार्थी भए पनि मैले शंकर दाइले भनेको डरेलको यो उपन्यास पढेको थिइनँ । उनका चारवटै उपन्यास पढेँ । पछि जस्टिनबारे मैले उनलाई सुनाएँ । र, थप कुरा सुनें । डरेलको लेखनमा हेगेलको द्वन्द्वात्मक दर्शनका कुरा पनि उठे । लामो लेखमा साहित्यिक व्याख्या चाहिन्छ ।

अहिले शंकर दाइसँगको साहित्य विषय र चिन्तनलाई लिएर गरेको संकट संवाद सम्झनुको सन्दर्भ फेरि उठाएर लेख अन्त गर्छु । अहिलेको विश्वमा साहित्य लेखनमा सीमा, लडाइँ, अधिकार हनन, वातावरणको फटाफट विनाश, विभेद र निर्वासन अनि हत्या र युद्धको विभीषिकाको चित्रण गर्नु छ । भाषाको प्रयोगमा चुनौती आएका छन् । फेरि भाषा नै सबभन्दा ठूलो शक्ति भएर आएको छ, साहित्यमा । यो माथि छलफल

भएजस्तो ‘खतरनाक रूपमा सिर्जना गर’ भनिएको अवस्था हो । शंकर दाइले धेरै पहिले उच्चारण गरेको भाष्य थियो, यो ।

प्रकाशित : कार्तिक १३, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

अफगानी लेखकहरू सम्झेर

अफगानिस्तानको उदाहरण र अनुभवबाट साहित्य लेख्नेले सिक्ने विषय हो– मुक्तिको चेतनाले ज्यान भरेर लेख ! कवि पार्तो नादेरीको कविताले भन्छ– 'तिम्रा हत्केलाका रेखाहरूमा/उनीहरूले घामको कर्म लेखिदिएका छन्/जाग/उठाऊ हात/यो लामो रात अब अति भो मलाई !'
अभि सुवेदी

अफगानिस्तानको संकटले सवैका मनमा तरङ्ग जन्माएका छन् । उत्तरभन्दा प्रश्न धेरै उठ्ने रहेछन्, यस्तो किसिमको अकस्मात् परिवर्तनमा । मेरो मनमा पनि अनेकौं प्रश्न उठेका छन् । ती राजनैतिकभन्दा साहित्यिक प्रकृतिका छन् । आफूले सम्झिने न अफगानी राजनेता हुन्, न पत्रकार र सरकारी मानिस । ती हुन् साहित्यिकार, जोसँग यस्तै संगमहरूमा भेट गरियो । कविताको गोधूलिमा भावना, पीडा र आह्लाद बुझ्ने प्रयास गरियो । तिनका विषयलाई लिएर अफगानिस्तानको अहिलेको स्थितिमाथि कल्पना गर्ने जमर्को हो यो लेख ।

काबुलमा तालिबानको विजयपछि हामीले बुझेका र बुझ्नै नपाएका विषयहरू चक्रवातजस्तो उठेका छन् । धेरै छलफल र अध्ययन भएका छन् । अमेरिकी र नेटो शक्तिले २० वर्षदेखि धानेको काबुल सरकार किन त्यसरी मौसम सकिएको फलजस्तो फ्यात्त खस्यो ? मैले भेटेको उत्तर यस्तो छ । अफगानिस्तानमा अमेरिकाले धन खन्याएर शासन व्यवस्था र चुनावमा आधारित सरकार बनायो । मानिसको जीवनमा परिवर्तन आयो । अब स्वतन्त्र भयौं भन्ने विश्वास भयो सबैमा । खास गरी महिलाको अवस्थामा नाटकीय परिवर्तन भयो । मेरो अफगानी लेखक, कलाकार र एकेडेमिकहरूसँग यही अवधिमा चिनजान र सहकर्म भएको हो । उनीहरूमा स्वतन्त्र भएर काम गर्दै छौं भन्ने पूरै विश्वास थियो ।

उनीहरूका कविता र कथामा त्यो विश्वास थियो । तर, यसरी अफगानको सरकार ढल्ने कारण पनि त्यही विश्वासमा लुकेको ग्रीक त्रासदीमा प्रयोग गरिने एउटा ‘ह्यामर्सिया’ वा कर्मदोष थियो, जसको नाम भ्रष्टाचार हो । धन हाम्रो हातमा परेको छ भन्ने विश्वासले शक्तिमा बसेकाहरू अन्धा हुने रहेछन् । अनि त्यसमा शासनको सत्ता पनि हातमा परेपछि त पूरै भ्रममा परेर काम बिगार्ने रहेछन् । अरू देशहरूका पनि उदाहरण छन् ।

यसमाथि केही राम्रा किताबहरू पनि पढिए । तर, मलाई यो संयोगको चर्चा भएपछि लाग्यो— नेपालमा पनि त्यो ह्यामार्सिया बलियो गरी हावी हुँदै गएको छ । शक्तिमा आसीनहरूले राजनैतिक सिध्दान्त र नैतिकताका आवरणले छोपेर भ्रष्टाचार गरिआएका छन् । यो अवस्थामा परिवर्तन हुन्छ भन्ने खासै आधार छैनन् । अहिलेको अवस्थामा नेपाल देशलाई के हुँदै छ भन्ने कुराको संवेदना पनि गुम्दै गएको देखिँदै छ । यसको अर्थ अमुक शक्ति आएर शक्तिको बागडोर बन्दुक देखाएर नलिए पनि नेपाल धन र भ्रष्टाचारको भुँवरीमा निकै फसिसकेको छ । यसबाट निस्किन सकेन भने, अफगानिस्तानको उदाहरण लिएर भन्दा, नेपालमा पनि ‘लो मोराल’ व्याप्त हुँदै छ, जसबाट संकटको स्थिति आउनेे सम्भावना हुन सक्छ ।

मैले अफगानी लेखकहरूलाई सार्क लेखक सम्मेलनहरू अनि त्यसपछिका सम्पर्क, विचार र लेखनका आदान–प्रदानबाट चिनेर आएको छु । सन् २००७ मा दिल्लीमा सार्क लेखक सम्मेलन भइरहेको थियो । उता विज्ञान भवनमा सार्क राष्ट्रहरूको सम्मेलन पनि चलिरहेको थियो, जहाँ नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अक्सिजन बोकेर भाग लिइरहेका थिए । ‘अब अफगानिस्तान पनि सार्कको सदस्य भयो, बधाई छ’ भन्न एकजना लेखक सम्मेलनमा आइपुगेका थिए ।

अर्को वर्षदेखि आफगानिस्तानबाट धेरै लेखक आउन थाले । तिनमा महिला कविको सहभागिता अत्यन्त महत्त्वपूर्ण थियो । ती राम्रा कविता लेख्थे । तिनका कवितामा मुक्ति सबभन्दा बलियो विम्ब थियो र छ । तिनले कविता सुनाउने सेसन जीवन्त हुन्थे । तिनका कविताको सामर्थ्य प्रस्ट देखिन्थ्यो । तिनीहरू हरेक वर्ष खुल्दै गए । साधारणतया उनीहरू कविता लेख्नु अनि भन्नुलाई नै घटनाजस्तो मानेर प्रस्तुत हुन्थे । मैले अनेकौं देशमा लेखक सम्मेलनमा जाँदा देखें— एकथरी लेखकहरूका कवितामा बन्धनबाट मुक्त भएको चेतनाका उद्घोष हुन्थे । जानेर होस् वा भित्रैबाट स्वतःस्फूर्त आएर होस्, त्यो चेतना नै उनीहरूको कविता हुन्थ्यो । अथवा भनौं, हुनेरहेछ ।

मझौलो उमेरका पार्तो नादेरी भन्ने कविसँग मेरो नजिकको सम्बन्ध भयो । तिनले मलाई प्रिन्ट गरेका कविताहरू दिए अनि प्रतिक्रिया दिनू भने । आफूले कविगोष्ठी सञ्चानल गरेको कार्यक्रममा उनका कवितावारे बोलें । अफगानी महिला कविहरूका कवितामा अर्को किसिमको सामर्थ्य थियो । सोमइया रामिस र जोरा जाहिर नामका दुईवटी युवा पुस्ताका कविहरूको प्रयोगवादी चाहना थियो । उनीहरू त्यसलाई उत्तरआधुनिक भन्न रुचाउँथे । यो विषयमा मेरो उनीहरूसँग छलफल हुन्थ्यो । थाहा पाएँ, आफू एक शिक्षकजस्तो बोल्दै जाँदो रहेँछु ।

वास्तवमा उत्तरआधुनिक भन्ने उनीहरूको रूपक रहेछ, एक स्वतन्त्र र अराजक भएर लेख्ने र वोल्ने चाहना रहेछ, जसमा अफगानी समाज र खास गरी नारीको उन्मुक्तिको भावना रहेछ । अरू दुईवटी नारी कविहरू निलुफर निक्सियर र खालेदा फ्रोआघका कवितामा सोमैया र जोराको जस्तो उत्ताल काल्पनिकी थिएन तर, मुक्ति चेतनाको वाचाल प्रयोग थियो । सोमइया रामिश र जोरा जाहिर कवितालाई स्वतन्त्र किसिमले लेख्नुलाई एउटा आवश्यकता ठान्थे । अहिले झन् त्यो विश्वासले लेख्छन् होला । कफीमा छलफल भइरहेका बेला त्यहीं सहभागी नेपाली कवि शारदा शर्माको मैले अंग्रेजीमा अनुवाद गरेको कविता उनीहरूले चाहेकाले दिएँ । उनीहरूले शारदाको त्यो कविता अफगानी वा फार्सीमा अनुवाद गरे कि गरेनन् मलाई थाहा भएन ।

यी अफगानी महिला कविहरूलाई नेपालका सहभागी नेपाली महिला कविहरूका कविता मन पर्थे । नेपाली महिलाहरूका कविता शान्त, कलात्मक र गम्भीर छन् भन्ने उनीहरूको बुझाइ थियो । तर, लाग्थ्यो— यी अफगानी महिलाहरूको निम्ति कवितामा त्यस्तो आनन्द र ध्यानजनिन सौन्दर्य उपासना गर्ने समय थिएन । उनीहरूको समयको मूल स्पन्दन हतार थियो । आज बुझ्दै छु, तिनीहरूको त्यो चेतनाको अर्थ । ती महिला कवि यो भर्खरको परिवर्तनपछि कहाँ छन्, के अवस्थामा छन् जान्ने कुनै आधार रहेनन् । पार्तो नादेरी पनि कहाँ छन्, त्यो पनि भन्न सकिएन । ठेगाना नभएकाले थाहा पाउने आधार पनि रहेन ।

मैले पार्तो नादेरी र सोमैया रामिशका एक एकवटा कविता नेपालीमा अनुवाद गरें अनि नेपालको साहित्यिक पत्रिका ‘मधुपर्क’ (मंसिर २०७१) मा प्रकाशित गरें । यहाँ ती कविता राख्न चाहन्छु । पहिलो कविता रामिशको छ । यसको शीर्षक छैन : ‘पिँजडामा थुनिएको चरा/घरभित्र झुन्डिएको पिँजडा/सडकछेउमा घर/घर यो विश्व जगत्मा/अहो, कत्रो ठूलो जेलखानमा/म सास फेरिरहेकी छु !’

अर्को कविता पार्तो नादेरीको छ । शीर्षक छ– हिंसाले रञ्जित चिहानको आलेख : ‘यो ताडको रूखमा बसन्त आउने कुनै आशा छैन/यो ताडको रूख/सय चोटहरूमा फुल्छ—/हजार त्रासदीका दैनिक चोटहरू/हजार विपत्तिका रात्रिचोटहरू/यो ताडको रूख/शताब्दीको दोबाटोमा उभिएको/एउटा रक्तरञ्जित चिहानको आलेख !’

अहिले पढ्दा उनीहरूका कवितामा व्यक्त पिँजडा र बन्दी जीवन अनि सय चोटहरूमा फुल्ने फूलका झन धेरै अर्थ खुल्दै जान्छन् । ‘कविताले केही गर्दैन, यो आफ्नै भनाइको उपत्यकामा बस्छ’ भनेर अंग्रेजी कवि डब्लूएच अडेनले आइरिस कवि डब्लूबी यिट्सको मृत्युमा लेखेको कविता यहाँ सम्झिन्छु र अलिक फरक धारणा राख्छु । अफगानी कविहरूले कवितालाई अभिव्यक्ति र परिवर्तनको आधार मानेको कुरा कविताले केही गर्छ भन्ने विश्वासबाटै जन्मेको छ । जलाल मुहमद रुमीको भूमिमा अर्को स्पन्दन भएका कविताको परम्परा छैन भन्न सकिँदैन । तर, कवितालाई सोझै जीवनका निम्ति प्रयोग गर्ने यी कविहरू अहिले कहाँ र कुन अवस्थामा छन् भन्न नसके पनि ती अविजेय छन् र कविता लेखिरहेका छन् भन्ने मेरो विश्वास छ । अफगानिस्तानको उदाहरण र अनुभववाट साहित्य लेख्नेले सिक्ने कुरा हो— निरन्तर लेख, मुक्तिको चेतनाले ज्यान भरेर लेख ! पार्तो नादेरीको यो ‘उजाड’ शीर्षकको कविता बोल्छ, ‘तिम्रा हत्केलाका रेखाहरूमा/उनीहरूले घामको कर्म लेखिदिएका छन्/जाग/उठाऊ हात/यो लामो रात अब अति भो मलाई !’

प्रकाशित : आश्विन ९, २०७८ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×