तः मुंज्या : रैथाने प्रतिपक्षी स्वर

अभय श्रेष्ठ

हरेक सिर्जनाको आफ्नै खालको राजनीति हुन्छ । कतिपयले आफ्नो सिर्जनामा कुनै राजनीति नभएको दाबी गर्छन् । तथापि तिनको अराजनीतिकताले आफैंमा अर्को खालको राजनीति गरिरहेको हुन्छ । भक्तपुरमा प्रत्येक वर्ष हुँदै आएको नेपालभाषा साहित्य तः मुंज्याका आयोजकहरूले भने हाकाहाकी आफ्नो सम्मेलनलाई साहित्य र सांस्कृतिक कार्यक्रममार्फत किसान र मजदुरबीच जागरण ल्याउने अभियान भनेका छन् ।

तः मुंज्या : रैथाने प्रतिपक्षी स्वर

नेपाल संवत् ११०० (विसं २०३७) देखि प्राचीन नगर भक्तपुरका विभिन्न भेगमा प्रत्येक वर्ष नेपाल संवत्को कौलाथ्व द्वादशी र त्रयोदशीमा तः मुंज्या (विशाल सम्मेलन) हुँदै आएको छ । नेपालभाषा, साहित्य, कला र संस्कृतिको संवर्द्धन एवं विकासका लागि भइरहेको प्रयासमा टेवा दिनु र त्यसमार्फत मजदुर, किसानहरूलाई जागृत गर्नु सम्मेलनको ध्येय हो ।

विजया दशमीपछिको द्वादशी र त्रयोदशी अर्थात् असोज ३१ र कात्तिक १ गते यसपालि भक्तपुर देकोचामा भएको ४१ औं सम्मेलनमा यसले समाजमा व्याप्त असमानता, व्यवस्थाका विकृति र सङ्कट, अन्याय, अत्याचार, खतरामा पर्दै गएको देशको सार्वभौम सत्ता, देशको सीमा अतिक्रमण र एमसीसी सम्झौताको प्रतिरोधमा केन्द्रित गरेको थियो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष गणेशराम थुसाले एक अन्तर्वार्तामा भनेकै थिए, ‘तः मुंज्या कामदार वर्गको साझा डबली हो । यसको उद्देश्य साहित्य र संस्कृतिमार्फत कामदार वर्गको जागरण र उत्थान हो । त्यसैले त स्थापनाकालदेखि नै यसले ‘जनता म्वासा भाषा म्वाई’ (जनता बाँचे भाषा बाँच्छ) नारा तय गरेको छ ।’

जैविक नगरमा साहित्य उत्सव

भक्तपुर नगरलाई प्राचीनताको अजायब घर भन्दा फरक पर्दैन । खासमा यो मौलिकता सुरक्षित रहेको एक जैविक नगर हो । मल्लकालीन दरबार क्षेत्रमा प्रवेश गर्ने हो भने आज पनि झन्डै तीन सय वर्षअघिको मल्लकालसँग साक्षात्कार गर्न सकिन्छ । दुई–दुइटा महाभूकम्प थेगेर पनि यहाँको प्रसिद्ध ङ्यातापोल (पाँचतले मन्दिर) कसरी सुरक्षित रह्यो ? वास्तुकलाको औपचारिक शिक्षा नै नभएको युगमा निर्मित ङ्यातापोलको वास्तुकला आधुनिक वास्तुकलाभन्दा किन उत्कृष्ट थियो ? यी गम्भीर खोज र अनुसन्धानका विषय हुन् । नगरपालिकाले सस्तो, सुलभ र स्तरीय कलेज तथा अस्पताल स्थापना गरेको छ । देशमा एउटा आधारभूत चिकित्सक उत्पादन गर्न कम्तीमा ६० लाख रुपियाँ खर्च हुन्छ ।

भक्तपुर नगरले भने ख्वपः विश्वविद्यालय स्थापना गरेर १० लाख रुपियाँले चिकित्सक उत्पादन गर्ने योजना बनाएको छ, जसलाई मेडिकल माफियाको जालमा परेर सरकारले स्वीकृति दिएको छैन । सम्पदा र मौलिक संस्कृतिमा त यो अत्यन्त धनी सहर हुँदै हो । इँटा वा समथर ढुङ्गा बिच्छाइएका यहाँका सडक, दाःछी इँटाले बनेका कलात्मक झ्यालयुक्त घर, तेली इँटा बिच्छाइएका मन्दिर र घर परिसर अनि माटोका कलात्मक भाँडाले अहिले पनि हामीलाई मल्लकालीन प्राचीनतासँग साक्षात्कार गराउँछन् । प्राचीनता जोगाउने मौलिक शैलीका घर बनाउन अनुदान दिएरै नगरपालिकाले प्रोत्साहित गरिरहेको छ ।

सिद्धपोखरी, कमलपोखरी, रानीपोखरी र सहरका टोल–टोलमा रहेका साना–ठूला पोखरी अनि सिनित्त सफा पारिएका सडक, चोक र गल्ली, हरेक बिहान टोलटोलमा गुन्जने दाःफा भजन, सालैभरि चलिरहने मौलिक चाडपर्व र जात्राहरू यसका सुन्दर गहना हुन् । समाजवादको मौलिक अभ्यास गरिरहेको यस नगरमा विगत ४१ वर्षदेखि नेपालभाषा साहित्य तः मुंज्या हुँदै आएको छ । नगरका उत्साहित जनतालाई सांस्कृतिक रूपले प्रशिक्षित गर्न र मजदुर, किसान वर्गको जुझारु आवाजलाई साहित्यमार्फत वाणी दिन तः मुंज्याले गरेको प्रयास मननयोग्य छ ।

विशाल जमघट

हरेकपल्ट खेतीपातीको काम सुरु हुन लाग्दा शरीरमा ऊर्जा भर्ने र सकिँदा उत्सव मनाउने चलन नै नेवारहरूको चाडका रूपमा विकसित भएका हुन् । दसैंकै बेला पर्ने उनीहरूको मोहनी नखः धानबाली भित्र्याउनलाई शरीरमा ऊर्जा भर्ने चाड हो । यही चाडको रमझमबीच भक्तपुरका जागृत किसान र बुद्धिजीवीहरू भने तः मुंज्यामा अभिरुचिपूर्वक सहभागी हुन्छन् ।

मिडियामा विस्तृत प्रचार पाएका ‘लिटेरेचर फेस्टिबल’ हरूमा श्रोताको सङ्ख्या सारै सानो हुन्छ । यहाँको श्रोता सङ्ख्या सधैं विशाल हुन्छ । माथि मञ्चमा कविले कविता सुनाउँदा होस् वा विशेषज्ञले विचार व्यक्त गर्दा हरेक क्षण १५ सयभन्दा बढी श्रोताले दर्शकदीर्घाबाट सुनिरहेका हुन्छन् । स्थानीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्नेको समेत हिसाब गर्ने हो भने श्रोताको सङ्ख्या अगणित हुन्छ । यो भव्य कार्यक्रम सम्पन्न गर्न स्थानीय आयोजक समितिले गर्ने मिहिनेत र तयारी सानो हुँदैन ।

यसपालि गणेशराम थुसाको अध्यक्षतामा अनिता जधारी, डा. सत्यनारायण सुवाल, कमला सिजख्व, चण्डेश्वरी याकामी, विष्णुकेशरी दुवाललगायतको बहुसङ्ख्यक आयोजक समितिले अथक मिहिनेत गरेको थियो, जसलाई आशाकुमार चिकंबन्जारको अध्यक्षतामा रहेको तः मुंज्या मूल गुथिले सघायो । जनसहभागिता बढाउने उद्देश्यले आयोजक समितिले सम्मेलनको पूर्वसन्ध्यामा सहरका टोल टोल परिक्रमा गर्दै सुकुन्दा र्‍याली गरेको थियो । आयोजकका हरेक प्रस्तुतिमा भक्तपुरको स्थानीय पहिचान कायम गर्ने प्रयास प्रशंसनीय थियो । कहाँसम्म भने अतिथि सत्कारमा समेत यःमरी, चःतामरी, मुस्या–पालु (कालो भटमास र अदुवा) र जुजुधौजस्ता नेवार संस्कृति झल्काउने खाद्य अनिवार्य राखिएका थिए ।

पूर्वन्यायाधिश गौरीबहादुर कार्की तथा अधिवक्ता कृष्णप्रसाद भण्डारीले भ्रष्टाचार, अनियमितता र अदालतमा हुने विसङ्गतिबारे तथ्यमूलक मन्तव्य राखे भने पत्रकार भैरव रिसाल तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको सीमा अतिक्रमण, एमसीसीको वास्तविकता र नेपाल सरकारले उठाउनुपर्ने मुद्दाबारे छर्लङ्ग पारे । डा. विश्वबन्धु शर्मा, डा. राजेन्द्र कोजू, डा. पुकारचन्द्र श्रेष्ठ, डा. सानुमाया श्रेष्ठ, डा. शम्भु पहाडी, डा. ऋषिकेशनारायण श्रेष्ठले स्वास्थ्य नीति र जनताले अपनाउनुपर्ने स्वास्थ्य सावधानीबार, डा. पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृतिबारे प्रस्ट पारे । अतिथि तथा स्थानीय साहित्यकारले रचना सुनाइरहे भने संस्कृतिकर्मीहरू सङ्गीत र नृत्य प्रस्तुत गरिरहे । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’, सङ्घीय सांसद प्रेम सुवाल, प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाई तथा सृजना सैंजूलगायत भक्तपुरका विशिष्ट व्यक्तित्व दर्शक दीर्घामा रहेर निरन्तर सुनिरहे ।

जैविक बुद्धिजीवीको अभिनन्दन

हल्लाको संसारमा कला र बुद्धिका असली साधकभन्दा नक्कलीहरू नै बढी चिनिन्छन् । तः मुंज्याले हरेक वर्ष त्यस प्रवृत्तिलाई तोड्दै आएको छ । यसपालि उसले कृषि विशेषज्ञ बाबुकाजी भोमी र सांस्कृतिक गुरुहरू कृष्ण सितिखु, न्हुच्छेकुमार अवाल, हरिभक्त सुवाल, हरिराम सुवाल, तुल्सी शाही र कृष्णप्रसाद दथेपुथेलाई तः मुंज्याको भव्य समारोहबीच अभिनन्दन गर्‍यो । खासमा देशले यस्ता रैथाने जैविक बुद्धिजीवीलाई चिन्दैन । हामी पनि चिन्दैनौं । मिडियाले पनि चिन्दैन ।

मिडिया सही पात्रको खोजी गर्दैन । ‘तिर्खा मेट्न खोला धाउने’ कमसल पात्रलाई नै ऊ हिरो बनाउँछ । यसले गर्दा कीरोहरू हिरो हुन्छन् । वास्तविक हिरोहरू मिडियामा जिरो हुन्छन् । कला–साहित्यको बजारमा सधैंजसो लफङ्गाहरूकै राज हुन्छ । ठूला मिडियामा हाँसको स्वर भएका गायक र कमजोर चेतनास्तरका लेखककै बढी प्रचार देखिन्छ । कलाचेत भएको कुनै व्यक्ति अध्ययन गर्न पस्यो भने उसले त्यहाँ केवल चर्चित व्यक्ति भेट्छ, लेखक वा कलाकार भेट्दैन । यस्तो बेला त.मुंज्याले देशका तिनै गुमनाम सांस्कृतिक गुरु र कृषि विशेषज्ञलाई अभिनन्दन गरेर कथित मूलधार प्रवृत्तिको खण्डन गर्‍यो ।

नेताले जनतालाई सुन्ने उत्सव

स्तरीय साहित्य लेखिए पनि अल्पमत भाषाका साहित्य राष्ट्रिय स्तरमा चिनिँदैनन् । कवितामा नेपालभाषाको उपलब्धि नेपाली भाषाको जत्तिकै छ । खोजी पस्दा मैथिली, भोजपुरी, थारू र अन्य भाषामा पनि यस्ता उदाहरण भेटिन सक्छन् ।

नेपाली साहित्य र कलाको वास्तविक रूप हेर्ने हो भने खस नेपाली भाषाबाहिर पनि पुग्नु अनिवार्य छ, जसरी विश्वको साहित्य, कलाको वास्तविक रूप हेर्न अङ्ग्रेजी भाषाबाहिर छिर्नु जरुरी छ । तः मुंज्याले नेपालभाषाबाहेक खस नेपाली, तामाङ, मैथिलीलगायत सीमान्तकृत भाषाका साहित्यलाई पनि समेटेर दिन खोजेको सन्देश यही हो ।

तर, भक्तपुरमा बर्सेनि हुने विराट् नेपालभाषा साहित्य सम्मेलन, नेपालभाषा साहित्य तः मुंज्याका खबर मुस्किलले मिडियामा आउँछन् । यिनले दिन खोजेको सन्देश भने सारा देशवासीले सुन्नु जरुरी छ । त्यहाँ प्रसिद्ध र नयाँ लेखकका रचना, विशेषज्ञका कुरा नेताहरू तल जनतासँगै बसेर धैर्यपूर्वक सुनिरहेका हुन्छन् ।

प्रकाशित : कार्तिक १३, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?