‘कलिजुगमा केको तपस्या ?’

आमाले भन्नुभयो, ‘छोरीमान्छेले तपस्या गर्दैनन् कान्छी ! गरे पनि आफ्नै पति र सन्तानका लागि गर्छन् । तपस्या त देउताको पालाको कुरो, सत्यजुगको !’
सम्झना वाग्ले भट्टराई

सानो छँदा गाउँमा मनोरञ्जनका साधन ज्यादै सीमित थिए । गाउँमा बिजुली आएको थिएन, त्यसैले टेलिभिजन हुने कुरै भएन । रेडियोका कार्यक्रमहरू केटाकेटी लक्षित थिएनन् । सुत्नेबेला धेरैजसो आमा र कहिलेकाहीँ बाले सुनाउने लोककथा नै मनोरञ्जनको अडिलो आधार थियो । ‘स्वस्थानी’ पढ्ने दिनहरूमा एकजनाले सस्वर पढ्ने र घरका सबैले सुन्ने चलन थियो । खासै नजाने पनि हामी केटाकेटी पढ्न तम्सिन्थ्यौं र त्यो समय उत्सवजस्तै लाग्थ्यो ।

‘कलिजुगमा केको तपस्या ?’

कुनै–कुनै वर्ष खेतबारीमा खासै काम नहुने हिउँदका पछिल्ला दिनहरूमा ‘रामायण’–‘महाभारत’ का किताब पढ्ने गरिन्थ्यो । ‘स्वस्थानी’ को किताब घरमा थियो । तर, ‘महाभारत’–‘रामायण’ का किताब माथ्लाघरे ठूलोबाकहाँबाट ल्याइन्थ्यो र तीन/चार घरका मान्छे जम्मा भएर सुनिथ्यो, त्यहाँका कथा ।

‘स्वस्थानी’ वर्षैपिच्छे पढिने भएर पनि हो कि ममा त्यसको प्रभाव बढी परेको थियो । त्यस किताबमा धेरै प्रसंग भए पनि सोलोडोलोमा मैले त्यतिबेला बुझेको विषय यत्ति थियो– ‘कथामा राक्षस हुन्थ्यो, उसले लामो समयसम्म कठोर तपस्या गरेपछि अजेय हुने वा त्यस्तै ठूलो शक्ति आर्जन गर्थ्यो र त्यसै शक्तिको आडमा देवताहरूलाई दुःख दिन्थ्यो ।’ देवताहरूले पनि ब्रह्मा, विष्णु, महादेव आदिको तपस्या गरेर शक्ति आर्जन गर्थे वा आफ्नो वैभव फिर्ता लिन्थे ।

तपस्या र वरदान प्राप्तिका कथाले मेरो केटाकेटी मनमा गहिरो प्रभाव पारेको थियो । तपस्या गरेर अजेय हुने भावनाले मनमा स्थान बढाउँदै थियो । तर, तपस्या गर्न जाने कहाँ ? कसरी पुग्ने हिमालयसम्म ? यस्ता कुरा मनमा आउँदा घरमाथिको जंगलमा भएको ठूलो ढुंगाको अक्कर सम्झिएँ । बाख्रालाई घाँस काट्न हिँडेकी आमाको पछिपछि जंगल जाँदा देखेको थिएँ त्यो ढुंगा । मलाई लाग्यो, पानी पर्दा ओत लाग्न पनि मिल्ने त्यो अक्कर नै तपस्या गर्ने उपयुक्त स्थान हो ।

मनमा धेरै दिनसम्म कुरा खेलाएपछि एक शनिबार बिहानै कसैलाई केही नभनी म घरबाट हिडेँ । सायद आमा गोठतिर के–के काम गर्दै हुनुहुन्थ्यो, अरू कोही उठेकै थिएनन् । म सरासर त्यही अक्करमा पुगेँ र पलेँटी कसेर बसेँ । तपस्यामा के गर्छन् त थाहा थिएन, तर पनि एकोहोरो ‘ॐ नम शिवायः’ मनमनमा दोहोर्‍याउँदै आँखा चिम्लेर बसिरहेँ ।

त्यसबेला ९ वर्षकी थिएँ, चार कक्षा पढ्थेँ । घाम चर्किंदै गयो, बेस्सरी भोक लाग्न थाल्यो । तर, तपस्या कठोर हुन्छ, सामान्य भोक लाग्दैमा आत्तिनु हुन्न भन्ने मलाई बोध थियो । जाडोमा हिमालयमा गएर र गर्मीमा पञ्चाग्नी तापेर तपस्या गर्छन् भनेर जो सुनेकी थिएँ । त्यसै विश्वासमा भोकको औडाहा एकै छिनमा हराएर गयो ।

पारिलो डाँडाको त्यो पहरोको अक्करमा ज्यादै गर्मी थियो (सायद गर्मी महिना सुरु भइसकेको हुनुपर्छ) । हाई–हाई आइरहेको थियो । कतिखेर निदाएछु पत्तै भएन । सतह नमिलेको ढुंगामा पल्टेर निदाएकाले होला बिउँझँदा गाला र घुँडा दुखिरहेको थियो । भोक, तिर्खा दुवै कडा थियो । यी सबका बाबजुद तपस्याप्रतिको प्रतिबद्धतामा कुनै कमी आएको थिएन ।

दिन ढल्दै गयो । अन्ततः साँझ पर्‍यो । अलिअलि हावा चलेको थियो । सुकेको सालका पातहरूले अनौठो आवाज निकाल्थे । भोक र तिर्खाको औडाहामा अब डर पनि थपियो । मैले आफूलाई रोक्न सकिनँ । र, जुरुक्क उठेर खुरुरु दौडिएँ घरतिर ।

म पुग्दा घर सामान्य थिएन । मलाई देख्नेबित्तिकै आमा रुन थाल्नुभयो । दाइ–दिदीले रिसाएर हेरेका थिए । थाहा भयो, म बिहानै घरबाट हराएपछि गाउँमा व्यापक हल्ली–खल्ली र सोधखोज सुरु भएछ । मेरा साथीका घरहरू, नजिकैको बजार र अन्य सम्भावित ठाउँमा पनि नभेटेपछि सबैको मनमा एउटै डरले स्थान बनाएको रहेछ । गाउँमा कतैबाट आएको एउटा हल्ला थियो– गाउँनजिकै कतै केटाकेटीको बलि दिन्छन् ! ‘लाने मान्छे आउँछ’ भन्थे । गाउँमा नौलो मान्छे देख्नेबित्तिकै केटाकेटीहरूको भागाभाग हुन्थ्यो । त्यसदिन म हराएपछि ठूला मान्छेको मनमा चिसो पसेछ– हल्ला कतै साँच्चै त भएन ? अझ त्योबेला बुवा कामको सिलसिलामा बाहिर कतै जानुभएको थियो । त्यसैले म घर पुगेपछि पनि सायद आमाले आफूलाई थाम्न सक्नुभएन । उमेर बढ्दै गएपछि थाहा पाएँ, त्यो हल्ला उडन्ते थियो ।

ठीक त्यति नै बेला ठूलीआमाको छोरा दिनेश दाइ घर आइपुग्नुभयो । घरमा पाहुना आएपछि सबैले केही नभएजस्तो गर्न थाले । र, म थप गाली खानबाट बचेँ ।

सामान्य कुराकानीपछि दाइले मलाई सोध्नुभयो, ‘दिउसो कता गएकी थिइस्, कान्छी ? बाख्रा चराउन ?’

मैले गर्वका साथ भनेँ, ‘तपस्या गर्न !’

म सबै कुरा भन्न हौसिँदै थिएँ । दाइले मेरो कुरामा खासै चासो नदिईकन भन्नुभयो, ‘तपस्या त सबैले गर्नैपर्छ कान्छी ! तैंले र दाइले पढ्न लेख्नमा तपस्या गर्ने र कक्षामा पहिला हुने ! आमाले खाना बनाउन र घाँस काट्न तपस्या गर्ने ! दिदीले आमालाई सघाएर तपस्या गर्ने ! बुबाले जागिरमा तपस्या गर्ने !’

त्यसपछि तपस्याको कुरा सकियो । दाइ आमासँग अरू गफ गर्न थाल्नुभयो ।

म भने झस्याङ्ग भएँ । मैले बुझेको तपस्या र दाइले भनेको तपस्याबीच निकै फरक थियो । म दाइले भन्नुभएको तपस्या–तर्कबाट प्रभावित भएँ । तपस्या कहाँ र कसरी गर्ने भन्ने मेरो द्विविधा अन्त्य भएझैं लाग्यो । मैले दाइको कुरा बुझेँ ।

भोलिपल्ट आमाले मलाई स्कुल पठाउनुभएन । र, हिजोबारे सोध्नुभयो । मैले सविस्तार बताइदिएँ । ‘छोरीमान्छेले कुनै तपस्या गर्दैनन् कान्छी ! तपस्या नै गरे पनि आफ्नो पति–सन्तानका लागि गर्ने हो । पार्वतीले पनि महादेव पति पाउन पूजा गरेकी हुन्, तपस्या होइन,’ आमाले दिक्क मानेर भन्नुभयो, ‘त्यो तपस्या पनि देउताको पालाको कुरो, सत्यजुगको । यो कलिमा केको तपस्या ? त्यै पनि आइमाई मान्छेले !’

आमाले कुरा टुंग्याउनुभयो, ‘अब एक/दुई वर्षमा दिदीको बिहे गर्दिने हो, त्यसको पाँच/छ वर्षमा तेरो । त्यतिखेरसम्म राम्रोसँग पढ् ।’

आमाको कुरा सुनेँ मात्रै, केही बोलिनँ । मेरो मनमा भने दिनेश दाइका कुरा खेलिरहेको थियो । आमाको कुरा झल्याँस्स सम्झेँ, ‘छोरीमान्छेले तपस्या गर्दैनन् कान्छी !’

किन गर्दैनन् छोरीमान्छेले तपस्या ? मैले मेरा कक्षाका केटाहरू सम्झेँ । दीपक, विक्रम, सुरेन्द्र, माधव– म कोभन्दा कम छु ? किन नगर्ने केटी मान्छेले तपस्या ? त्यसमाथि हाम्रो ‘क्लास फस्ट’ पनि केटी नै थिई– इन्दु । आमाको कुरा चित्त बुझेन । दिनेश दाइको कुरा नै ठीक लाग्यो ।

केही वर्षपछि ८ कक्षा पढ्दाको कुनै दिन कक्षाकै साथीको बिहे हल्लाको विषय बन्यो । हामीसँगै पढ्ने ज्योतिले भागेर बिहे गरिछ, नेपाल प्रहरीको हवल्दारसँग । त्यही दिन हो, अधिकारी सरले हामीसँग हाम्रो भविष्य र लक्ष्यबारे सोध्नुभएको थियो । केटाहरूले डाक्टर, इन्जिनियर, वकिल, ब्रिटिस आर्मी यस्तै–यस्तै भन्दै थिए । सर केटीहरूतर्फ फर्कनुभयो । राधिकाले डाक्टर बन्ने लक्ष्य सुनाई ।

‘बन्छेस् डाक्टर ! तँलाई झ्याइँकुटी पार्न कुनै पुलिस स्कुल वरिपरि घुमिराको होला । होइन भने पनि एसएलसी दिएको वर्षै बिहे गर्दिन तेरै बा–आमाले कोही केटा ठिक्क पार्लान् । अनि कसरी हुन्छेस् डाक्टर ?’ अधिकारी सरले कुरा टुंग्याए । राधिकाको अनुहार कालो–नीलो भएको थियो । अरू केटीहरूले पनि मुन्टो निहुर्‍याएका थिए, उनीहरूको बोली बन्द भएको थियो । केटाहरूको हाँसोले भने कक्षा थर्किरहेको थियो ।

अधिकारी सरसँग कक्षामा भएको छलफल मेरो मनमा गढेर बस्यो । राधिका र म दुवै जना कक्षामा औसत विद्यार्थी थियौँ, गाउँ पनि एउटै । भविष्यमा गणित–शिक्षक बन्ने लक्ष्य थियो मेरो । के सरले भनेजस्तै कुनै प्रहरी स्कुल वरिपरि घुमिरहेको छ मलाई भगाउन ? कि एसएलसी दिएको वर्षै बिहे गरिदिन आमा–बाले कुनै केटा खोजिरहनुभएको छ ?

छ/सात कक्षाबाट मैले पढाइमा अलि ध्यान दिन थालेको थिएँ । र, पढाइ पनि सुध्रिएको थियो । तर, सरको कुराले पढाइमा तपस्या गर्ने मेरो ध्यान खल्बलिएको थियो । हुन पनि गाउँमा धेरैजसो केटीको बिहे एसएलसी परीक्षाकै सेरोफेरोमा हुनेगर्थ्यो । तर, मलाई त्यति छिट्टै बिहे गर्नुथिएन । मलाई हाइस्कुलमा गणित पढाउने शिक्षक हुनु नै थियो । त्यसै दिन मैले सुरज सरसँग सोधेँ, ‘माध्यमिक विद्यालयको शिक्षक बन्न कति पढ्नुपर्छ ?’ सरले भन्नुभयो, ‘बीए पास गर्नुपर्छ !’ मैले प्रण गरेँ, ‘जे नै भए पनि बीए पास नगरेसम्म बिहे गर्दिनँ ।’

प्रकाशित : कार्तिक १३, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?