कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छुक्माङ्सा ब्रान्ड

०४६ पछि गाउँका झन् धेरै मानिस सहर पसे । पुर्ख्यौली थलो छोड्दा परम्परागत अभ्यास र ज्ञान पनि ‘सिफ्ट’ भयो । खानपानको शैलीमा आएको व्यापक परिवर्तनले धराने बंगुरको मासु किरातीको भान्सा हुँदै रेस्टुरेन्ट छिर्‍यो ।
विद्या राई

मिथक र इतिहास
सहरमा धराने कालो बंगुर ब्रान्ड बनेको छ । हिट छ धराने कालो बंगुरको सेकुवा, भुटुवा, डामेको ‘पोर्क’ इत्यादि । यो बंगुर थुप्रै स्वादिष्ट परिकार बनेर कसरी मान्छेको भान्सासम्म पुग्यो र थालीमा सजियो ? एकछिन यसको इतिहास, योसँग जोडिएका सांस्कृतिक र सामाजिक मूल्यहरूको चर्चा गरौं ।

छुक्माङ्सा ब्रान्ड

पूर्वी नेपालको पहाडी थाकथलो भएका आदिवासी जनजाति समुदायका किरातीहरू प्रकृतिको पूजा गर्छन् । र, बंगुरलाई देउता मानेर पुज्छन् ।

बंगुर, सुँगुर, च्वाँचे, बँदेल, जे नामले पुकारिए पनि किरातीहरूको मुन्दुममा चाहिँ ‘बँदेल’ (रोँभो) नै भनिन्छ । पूर्वी पहाडहरूमा किरातीहरूले बँदेल सिकार गर्थे भन्ने प्रमाण अझै पाइन्छन् । खोटाङको दिप्रुङ गाउँपालिकामा रोभोलुङ भन्ने गाउँ नै छ । लोककथाअनुसार, रिकपालाई सिकार गरेर मारेको बँदेलको आन्द्राबाट पुनर्जीवन प्राप्त गरेको पुर्खा नै किराती मानिन्छन् । बँदेलको सिकारका लोककथा किराती समाजमा प्रशस्तै छन् । यसले बँदेलसँग किरातीहरूको सम्बन्ध आदिमकालदेखि थियो भन्ने देखिन्छ ।

सिकारी युगमा किरातीहरूका पुर्खा घना जंगलमा बँदेलको सिकार खेल्न जान्थे । जंगल जानुअघि सिकार खेल्दा उनीहरू ‘विपत्ति आइनलागोस्, सिकार पाइयोस् त्यसबापत बँदेलको मुटु, कलेजो, मृगौलालगायत मीठो मासु सबैभन्दा पहिले चढाउँछौं’ भनेर ‘माङ’ (पितृ) सँग आशीर्वाद माग्थे । सिकार खेलेर ल्याएपछि सबैभन्दा पहिले माङलाई तीन चुल्होमा चढाउँथे । बँदेलको मुटु, कलेजो, मृगौला, फियोलगायत मासुको परिकारलाई किरातीहरू ‘छुक्माङ्सा’, ‘छ्योरोसा’, ‘हुमासा’ भन्छन् ।

कृषियुग सुरु भएपछि हालका किरातीका आदिम पुर्खा (प्रोटो–भोट–बर्मेली) हरू बसोबास गर्ने ह्वाङ्हो र हुवाई नदीवरिपरि इसापूर्व ७००० तिर बँदेललाई घरमा पाल्न थालियो । पित्रृ पुज्ने संस्कार धान्न किरातीलाई सधैँ जंगल पुगेर सिकार खेल्न सम्भव थिएन । खेतीपातीसँगै जंगलमा पाइने बँदेललाई घर ल्याएर पाल्न थालियो । र, त्यो ‘रोँभो’ (बँदेल) नै ‘बो’ (सुँगुर) हुनपुग्यो ।

परापूर्वकालमा खेती गर्ने आधुनिक प्रविधि थिएन । सुँगुरले थुतुनाले जमिन उधिन्छ, खुकुलो बनाउँछ र दिसापिसाब गरेर उक्त जमिन मलिलो बनाउँछ । त्यसबेला मानिसको बाक्लो बस्ती थिएन । घरघरमा शौचालय बनाउनुपर्छ भन्ने ज्ञान थिएन । मानिसहरू खेतबारीमा दिसा गर्थे । त्यो दिसा खाएर बस्तीमा वरपर दुर्गन्ध हुनबाट सुँगुरले सघाउँथ्यो । यसरी खेतीपाती र पर्यावरणमा सुँगुरको सहयोग अपूरणीय छ ।

अमेरिकी मानवशास्त्री मार्विन ह्यारिसको अध्ययनले भन्छ— पहिलेपहिले सुँगुर काजु, ओखर, कटुसजस्ता जंगली खानेकुरा खान्थ्यो । यसलाई चोखो प्राणीका रूपमा चिनिन्थ्यो । घरपालुवा भएपछि सुँगुरलाई फोहोर, चारो, जाँडको छोक्रा, फ्याँकिएको, सडेगलेको खानेकुरा खाने र फोहोरमै बस्ने फोहोरी भनियो ।

यसैले खसआर्य समुदायका लागि सुँगुर फोहोरी र अछुत जनावर बन्यो । कतिसम्म भने सुँगुरको मासु खानेहरूलाई पनि फोहोरी भनियो । राई, लिम्बूलाई ‘सुँगुर खाने जात’ भनेर खिसी गर्ने जमात अझै छँदै छ ।

पालेको सुँगुर काटमार गर्दा कुलपितृलाई नचढाई नखाने परम्परा अझै छ किरातीमा । जसको घरमा सुँगुर पालिएको हो उक्त घरमुलीले केराको पात र बाँसको अस्थायी थान बनाएर पित्रृलाई ‘छुक्माङ्सा’ अनिवार्य चढाउनैपर्छ । पुर्खाहरूबाट प्राप्त ज्ञानको सम्मानका लागि यसो गरिन्छ । मासु भोजन गर्दा किरातीहरू सुँगुर प्रयोग गर्थे भन्ने पुर्खाहरूले सिकाएको यो ज्ञान पुस्तान्तरण हुँदै आयो । भेजो लगाएर बाँडीचुँडी खाने एउटा चलन खासमा छरछिमेकमा आत्मीयता कायम राख्ने आधार थियो । भेजो भनेको सबै छरछिमेक मिलेर जिउँदो सुँगुर काट्ने र त्यसैलाई भाग लगाएर खाने चलन हो ।

बंगुरको सहर यात्रा

गाउँघरमा भालाले घोचेर बंगुर–वध गरिन्छ । यसरी वध गर्नु स्वास्थ्यका हिसाबले ठीक नभएको तर्क व्यवसायी किरण राईको छ । भन्छन्, ‘त्यसरी तड्पाएर, दुःख दिएर मारेको बंगुरको रगत छिनभरमै शरीरभरि सञ्चार हुन्छ । यसले कतिपय स्वास्थ्यकर एसिड खत्तम पार्छ ।’ वैज्ञानिक हिसाबले तीन प्रकारले बंगुर वध गरिन्छ– हाते बन्दुकले मस्तिष्कमा हानेर, कञ्चटमा कैंचीले च्यापेर, कार्बनडाइअक्साइड प्रयोग गरेर । यसरी वध गरेपछि झुन्ड्याएर बंगुरको रगत निकाल्नुपर्छ । ‘जति नै स्वास्थ्यकर बंगुर भए पनि वध गर्ने वैज्ञानिक विधि अपनाउन नसके उक्त मासु स्वास्थ्यका लागि सुरक्षित मानिँदैन,’ राई भन्छन् । लामो समय डिप फ्रोजन गरिएको मासु स्वास्थ्यकर मानिन्छ । डिप फ्रोजन गरेर ६ महिनासम्म राख्न सकिन्छ । धराने बंगुरको स्वाद चखिलो, मीठो र झरिलो हुन्छ । अन्य बंगुरको मासु स्वादिलो हुँदैन र त्यसलाई लामो समय सुरक्षित राख्न पनि सकिँदैन ।

सुँगुरको मासु, जाँड–रक्सीबिना किरातीको संस्कार र सामाजिक सम्बन्ध चल्दैन । छोरीको मगनी, बिहेवारीलगायत जीवनकालका हरेक सांस्कृतिक गतिविधिमा सुँगुरको मासु प्रयोग हुन्छ । भोजभतेर गर्दा सुँगुर नै काट्ने चलन छ । बिहाबारी मिलाइदिने लमीलाई केटा पक्षले सुँगुरको टाउको दिने चलन छ । आर्थिक रूपमा बलियो परिवारले राँगो ढालेर राँगोको टाउको दिन्छन् । नसक्नेले सुँगुर ढालेर सुँगुरको टाउको दिन्छन् । नयाँ बेहुला–बेहुली पहिलोपल्ट माइती–ससुराली जाँदा रीत बुझाउन सुँगुरको फिला बोकेर जानुपर्छ । फिला कम्तीमा एक धार्नीको हुनुपर्छ भन्ने चलन छ ।

लिम्बूहरू सिंगै सुँगुरको चार खुट्टा बाँधेर लैजान्छन् । सुँगुरको पाठो पाल्न ल्याउँदा पनि त्यसलाई पूजा गरी खोरमा हुलिन्छ । बेच्नुअघि पनि पूजा गरेरै बेचिन्छ । सुँगुर ब्याउँदा कुनै एउटालाई चाहिँ चिनो लगाएर राखिन्छ । देउता पुज्ने बेला चिनो लगाइएको सुँगुरलाई पूजा थानहरूमा बलि दिने गरिन्छ । राईहरू खोला देउताको पूजामा सुँगुर चढाउँछन् ।

प्राकृतिक विपत्ति नआओस् भनी देउतालाई सुँगुरको मासुको आठ चाना, आठ टुक्रा र आठ चोक्टा चढाइन्छ । गर्भवती महिला छिन् भने सुत्केरी हुनुअघि आमा र बच्चालाई दुःखबिराम नलागोस् भनी पूजा गर्दा पनि सुँगुरकै मासुको पकवान बनाएर खुवाइन्छ । कसैको मृत्यु भइसकेपछि बाँचिरहेका र मरिगएकाहरूको साँध छुट्याउन पोलेको सुँगुरको मासु, भात र जाँड चढाइन्छ । बिजुवाहरूले ‘तिमी अलग बस, दुःख नदेऊ’ भन्दै साँध छुट्याइदिन्छन् ।

यसैगरी डुंगा खियाउने माझीहरू दुर्घटना नहोस् भनी सुँगुर काटेर खोला पूजा गर्छन् । जापनिज, कोरियाली आदिवासी जनजातिहरू पनि सुँगुरलाई देउता मानेरै पूजा गर्छन् ।

उसबेला पितृलाई चढाउने सुँगुरको मासु पनि विशेष तरिकाले पकाउने चलन थियो । खोटाङ–हलेसीका पितृपूजक ६५ वर्षीय जगत राईका अनुसार, ३०–३५ वर्षअघिसम्म पितृलाई चढाइने मासु कराईमा राखेर तेलको सट्टा जाँडले छम्किँदै पकाइन्थ्यो । र, मासु स्वादिष्ट बनाउन मसलाको सट्टा रगत मिसाइन्थ्यो । बिहेभोजमा आउने पाहुनालाई रगत मिसाएर पकाएको मासु ‘साहिँलाखुइँ’ र जाँडले स्वागत गर्ने प्रचलन कायमै छ ।

पोलेर, रगतसँग मिसाएर भुटेर, पकाएर, अचार बनाएर, पक्कु बनाएर खाने किरात समुदायको मौलिक तथा परम्परागत तरिका छन् । पकाउने आ–आफ्नै तौरतरिका हुन्छन् । मासुमा भएका हानिकारक कीटाणुलाई नष्ट गर्न डिप फ्रोजन राम्रो मानिन्छ । गाउँघरमा यो अभ्यास छैन । बंगुरको मुटु, कलेजो, आन्द्रा, टाउको, हड्डी, खुट्टा सबै भागको परिकार बन्छ । नेपालमा सबैभन्दा बढीचाहिँ सेकुवा बनाइन्छ । ललितपुर तिखेदेवलका ‘द यलाखिम रेस्टुरेन्ट’ का सेफ अनिल श्रेष्ठ भन्छन्, ‘बंगुरको यति नै प्रकारको परिकार बन्छ भन्ने यकिन छैन, तर मासुबाट बन्ने सबैजसो परिकार बंगुरको बनाइन्छ ।’

ललितपुर विशालचोक बस्ने मणि राईको पहिलो रोजाइमा धराने कालो बंगुरको मासु पर्छ– खानामा धराने कालो बंगुरको मासु छुट्दैन । उनलाई धराने बंगुरबाट बन्ने सबै परिकार मन पर्छ । ‘सेकुवा, भुटुवा, भुटन, कान, जिब्रो, जेजति बन्छ सबै मन पर्छ,’ उनले भने । रातो मासुभन्दा धराने कालो बंगुरको सेतो मासु स्वास्थ्यका लागि फाइदाजनक छ । खसीको मासुको तुलनामा बंगुर सस्तो पनि छ ।

पहिले–पहिले किरातीहरूको भान्सामा बाहेक सहर–बजारमा पनि सुँगुरको मासु पाक्दैनथ्यो । लेखक राजन मुकारुङसँग यस्तै अनुभव छ । सुरु–सुरुमा उनी काठमाडौं बस्दा सुंगुरको मासु काट्नु, खानु, पोल्नु असम्भवजस्तै थियो । ‘यो खानु भनेको सबैबाट हेलोहोचो हुनुजस्तै थियो,’ मुकारुङ भन्छन् ।

बिस्तारै पूर्वका राई, लिम्बूहरूको बस्ती काठमाडौं सर्‍यो । त्यतिबेला पूर्वका धनीहरूमा धरानका ब्रिटिस आर्मीहरू गनिन्थे । उनीहरू अधिकांश राई, लिम्बू हुन्थे । ललितपुरको ताल्चिखेल, सातदोबाटोलगायत क्षेत्रमा उनीहरूको बसोबास बढ्यो । धरानबाट जिउँदो सुँगुर ल्याएर काटिन्थ्यो । उनीहरूले भेजो लगाएर सुँगुर खाने चलन सुरु गरे । ‘पछिल्ला १५ वर्षमा यो चलन यति चाँडो फैलियो कि यसले व्यावसायिक रूप नै लिएको छ, जहाँ गए पनि धराने सेकुवा, धराने बंगुर भन्ने भइसक्यो,’ लेखक मुकारुङ भन्छन् ।

राजनीतिक, शैक्षिक, वैदेशिक सम्बन्ध, खानपानको शैलीमा आएको परिवर्तनले धराने बंगुरको मासु किरातीको भान्सा हुँदै रेस्टुरेन्टमा छिरेको बताउँछन् संस्कृति अध्येता चन्द्रकुमार हतुवाली । ‘२०४६ पछिको राजनीतिक माहोलले बंगुर पाल्ने समुदायका मानिस सहर–बजार छिरे । पुर्ख्यौली थलो छोड्दै सहर पस्दा परम्परागत अभ्यास र ज्ञानहरू पनि सँगै ‘सिफ्ट’ भए,’ उनले भने । पहिचान, संस्कार, संस्कृति सबै व्यापारिक, व्यावसायिक भए । स्वाद, परिकार र पहिचानका दृष्टिले रेस्टुरेन्टको आकर्षण बन्यो बंगुर । पहिलेजस्तो धर्मशास्त्रले निर्देशित गरेको आहारविहार र व्यवहारमा पनि परिवर्तन हुँदै आयो । नयाँ परिवेशअनुसार आफूलाई अनुकूल बनाउँदै जाँदा किरातीबाहेकको समुदायमा पनि बंगुर लोकप्रिय भयो ।

ललितपुरको ताल्चिखेल, सातदोबाटो, तिखेदेवल, विशालचोक, अनामनगर, कपन, सुकेधारा, धुम्बाराही, कोटेश्वरलगायत ठाउँ धराने सेकुवाका लागि प्रख्यात छन् । अनामनगरको धराने सेकुवा कर्नरका मेनेजर विकास राईका अनुसार, मान्छेहरू सेकुवा बढी रुचाउँछन् । १२ वर्षदेखि सञ्चालनमा रहेको यो सेकुवा कर्नरको शाखा ललितपुरको धोलाहिटीमा पनि छ । दुवैमा गरी दैनिक ६० देखि ७० केजी धराने कालो बंगुरको मासुको सेकुवा बिक्री हुन्छ । सबैखाले समुदायका मानिस यसका ग्राहक हुन् । ‘किरातीभन्दा खसआर्यलगायत नेपालको पूर्वदेखि पश्चिमसम्मका ग्राहक आउँछन्,’ मेनेजर राईले भने ।

अनामनगर शाखामा ७५ प्रतिशत नियमित ग्राहक छन् । जब सुँगुरको व्यवसायीकरण हुन थाल्यो तब यसलाई उत्पादनमुखी बनाउन हाइब्रिड प्रजातिको विकास भयो । त्यो हाइब्रिड नै बंगुर हो । स्थानीय सुँगुरलाई ‘पुँडी’ प्रजातिको रूपमा चिनिन्छ । यसको अधिकतम तौल १५/१६ धार्नी हुन्छ । र, यसको मासु पनि रसिलो, मीठो, स्वादिलो हुन्छ । तर, पुँडी सुँगुर लगभग लोपोन्मुख छ । हलेसी क्षेत्रकै नवलपुरमा हिजोआज पनि पितृकार्यमा चाहिने भएकाले बाहिङ राईहरू पुँडी सुँगुर पाल्छन् । कहीँकतै फाट्टफुट्ट मात्रै पुँडी सुँगुर पालिएको छ । अन्यथा अचेल हाइब्रिड बंगुर मात्रै पाइन्छ । त्यो बंगुर सय/डेढ सय केजीसम्मको हुन्छ । पहिले सांस्कृतिक महत्त्व बोकेको सुँगुर अहिले व्यावसायिक भएको छ ।

किरातीलगायत केही आदिवासी–जनजाति समुदायको विशिष्ट खाना र परम्परामा मात्रै सुँगुर सीमित छैन । यो स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ । मासु विशेषज्ञ डा. प्रवीणमान शाक्य भन्छन्, ‘बंगुरको मासु नन ट्रान्स फ्याट भएकाले स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ । रातो मासुले जस्तो हानि यसले गर्दैन । कोलेस्ट्रोल, युरिक एसिड, सुगर भएका मानिसका लागि पनि यो लाभदायी छ ।’ सातामा अधिकतम ३०० ग्राम बंगुरको मासु सेवन गर्नु स्वास्थ्यबर्द्धक मानिने उनले सुझाए ।

०५० सालमा भोजपुरको साविक खैराङ गाविसका किरण राईले ललितपुरको ताल्चिखेलमा धराने बंगुरको मासु बिक्री गर्न थालेका हुन् । स्वादको खोजी गर्दै ग्राहक बढेपछि यसले व्यावसायिक रूप लिँदै गयो । दसैं, तिहारको छेकमा उनी दिनहुँ २ हजार किलो मासु बिक्री गर्छन् । अरू समय दिनहुँ एक हजार किलोभन्दा बढी बिक्री हुन्छ । ‘यो बंगुर धराने जात होइन, धरानबाट ल्याएर खान, बेच्न थालिएका कारण धराने ब्रान्ड बनेको हो’, राई भन्छन्, ‘यो पूर्वी पहाडी भेगमा पाइने हाइब्रिड बंगुर हो । यो यस्तो ब्रान्ड बन्यो कि बंगुरको मासु बिक्री गर्नेलाई धराने बंगुरको बोर्ड टाँस्नैपर्ने बाध्यता छ ।’ उनैले कार्बन र धूवाँरहित सेकुवा बनाउन थालेका हुन् । ०६२/०६३ यता उनले मासु बिक्रीसँगै व्यनवसायिक सेकुवा पसल पनि सुरु गरे । त्यसअघि मासु पसलेहरू बिक्री नभएको मासु बाटोमा आगो बाली पोलेर खाने, खुवाउने गर्थे । त्यो पोल्दापोल्दै सेकुवाको चलन सुरु भयो । यसको कुनै चेन रेस्टुरेन्ट छैन । ग्राहक आकर्षण गर्न रेस्टुराँमा धराने नामको बोर्ड झुन्ड्याएको हुन्छ । किरणले मासु बेच्न थाल्दा बंगुर प्रतिकेजी ६५ रुपैयाँ पर्थ्यो, अहिले ५४० पर्छ । उनले ३० जनाभन्दा बढीलाई रोजगारी नै दिएका छन् । पूर्वी नेपालबाट बंगुर ल्याउन उनले २ वटा गाडीको व्यवस्था गरेका छन् ।

किरातीको संस्कार, संस्कृति, पितृ, प्रकृति पूजासँग जोडिएका कारण यो समुदायमा धराने कालो बंगुरको प्रयोग धेरै भएको ‘द यलाखिम रेस्टुरेन्ट’ की सञ्चालक मञ्जु राई बताउँछिन् । जुन मौसम र समयमा पनि यो मासु बिक्री हुन्छ । कोटेश्वरका किरात मिट सपका सञ्चालक रण किराती भन्छन्, ‘लकडाउनमा पनि यसको माग भइरह्यो, अरू व्यवसायजस्तो बन्दभएन ।’ पछिल्लो समय खसआर्य समुदायका युवासमेत व्यावसायिक बंगुरपालनमा सक्रिय छन् ।

बंगुर मेनु

सेकुवा, भुटुवा, पोर्क साँधेको, पोर्क डामेको, पेरिपेरी पोर्क चप, पोर्क फहिता, पोर्क रिब्स, रोस्टेड पोर्क बेली, मेक्सिकन स्विट एन्ड सावर पोर्क, पोर्क बोइल, पोर्क बेकन, पोर्क कसौडी खाजा सेट, पोर्क चिली, पोर्क ससेज, पोर्क खाना सेट, पोर्क मम, पोर्क चाउमिन, पोर्क फ्राइड राइस, पोर्क थुक्पा, खुट्टाको सुप, हड्डीको सुप, सेरगेम्बा (होम मेड ससेज), पोर्क फ्राई मम, पोर्क चिल्ली मम, पोर्क सुप, पोर्क करी, पोर्क फ्राई, पोर्क अचार, पोर्क सुकुटी, पोर्क पक्कु, कान जिब्रो, पोर्क सादेको अचार, पोर्क सलामी, पोर्क हेम ।

प्रकाशित : कार्तिक ६, २०७८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?